पहिरोमा परी घाइते भएका लिम्बूको हेलिकप्टरमार्फत उद्धार
ताप्लेजुङ, १६ असार I पहिरोमा परेर घाइते हुनुभएका सिरिजङ्घा गाउँपालिका–६ मामाखेका ६३ वर्षीय पदमबहादुर लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । वडा कार्यालयले वितरण गरेको राहत सामाग्री बुझेर घर फर्किने क्रममा माथिबाट झरेको पहिरोमा परेर गम्भिर घाइते हुनुभएका लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नोवेल अस्पताल विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार शुक्रबार साँझ राहत सामग्री लिएर घर फर्किने क्रममा माथिबाट झरेको पहिरोले बगाएको थियो । पहिरोले करिब १५ मिटर तल बगाएर हाङ्खोलामा पुगेका लिम्बूको टाउकोमा गम्भीर चोट लागेको थियो ।
लिम्बूलाई गाउँलेले उद्धार गरेर स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गराएका थिए । गएको जेठ ३२ देखि असार ४ गतेसम्मको पहिरोले मामाखेमा धेरै क्षति पुगेको छ ।
पाँच वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य
चितवन, १६ असार I यहाँका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नु परेको थियो ।किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरिएको थियो । उक्त समूहले अण्डाको लागत १६ रुपैयाँ ५६ पैसा ञलागत मूल्य निकालेको थियो । गत हप्तादेखि किसानले प्रतिक्रेट (३० वटाको) ठूलो रु चार सय ९५ र मध्यम रु चार सय ७० पाउन थालेका छन् ।
नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलले किसानले पाँच वर्षपछि लागत मूल्य पाएको बताउनुभयो । “विसं २०७६ मा किसानले लागत मूल्य हाराहारी पाएका थिए । त्यतिबेला अण्डाको मूल्य प्रतिक्रेट रु चार सय पाँच पुगेको थियो ।” त्यसपछिका दिनमा कोरोना महामारी, बर्डफ्लूलगायतका कारण किसानले लागत मूल्य पाउन नसकेको उहाँको भनाइ छ ।
विसं २०७९ असोजमा देशभरका लेयर्स कुखुरा पालक किसान भेला भएर सङ्घ गठन गरी बजारीकरण अभियान सुरु गरिएको थियो । त्यतिबेला अण्डाको मूल्य प्रतिक्रेट रु दुई सय ३० थियो । उक्त मूल्यमा अण्डा बिक्री गर्दा धेरै किसानले घाटा बेहोरेका थिए ।
उहाँका अनुसार ७५ प्रतिशत लेयर्स कुखुरा पालक किसानले पेसानै छाडेको अवस्था थियो । उहाँले भन्नुभयो “हामी सङ्गठित रुपमा नलागेको भए अहिले दैनिक करोडौंको अण्डा बाहिरबाट ल्याउनुपर्ने बाध्यता हुन्थ्यो ।”
नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने लामो समयपछि किसानले लागत मूल्य पाएको बताउनुभयो । पछिल्लो समय किसानले व्यावसायिक रुपमा ठूलो सङ्ख्यामा कुखुरा पालन गरेकाले माग धानिरहेको उहाँको भनाइ छ ।
हाल अहिले ५० लाख लेयर्स कुखुरा रहेको र दैनिक २५ लाखभन्दा बढी अण्डा उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । कुनै समय ६० लाख कुखुरा पुगेका थिए । किसान नै पेसाबाट बिमुख भएकाले कुखुराको सङ्ख्या घटेको उहाले बताउनुभयो ।
चितवन उद्योग सङ्घका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल किसान सङ्गठित भइ प्रधानमन्त्री, मन्त्री, सचिवलगायतका सरोकारवालाको ध्यानाकर्षण गराएका कारण अण्डाको अवैध आयात घटेको बताउनुहुन्छ । साथै पछिल्लो समय ऋणको ब्याजदर घट्दा पनि किसानलाई राहत पुगेको हो I उहाँले भन्नुभयो “हाम्रो दुई वर्षको अथक प्रयासपछि किसानमा आशा पलाएको छ । पेसा व्यवसाय छोड्छु भनेकाहरुले समेत ऋण गरेर पुनः व्यवसायमा फर्किने तयारीमा छन् ।”
‘कला, साहित्यमा मदन भण्डारी’ विमोचित
काठमाडाँै, १६ असार I राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपाल र मकालु प्रकाशन गृहले जननेता मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्तीका अवसरमा ‘कला साहित्यमा मदन भण्डारी’ ग्रन्थ प्रकाशनमा ल्याएको छ । महासङ्घद्वारा शनिबार आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले उक्त कृति विमोचन गर्नुभएको हो ।
बहुआयामित व्यक्तित्व भण्डारीका रचना तथा कला साहित्यमा उहाँले दिएका सिर्जना र योगदालाई समेटेर विज्ञ एवं समालोचकहरूबाट लिखित अनुसन्धानमूलक सामग्री उक्त ग्रन्थमा राखिएका छन् । सोही अवसरमा महासङ्घद्वारा प्रकाशित ‘मदन’ शोककाव्यको दोस्रो संस्करणको लोकार्पण पनि गरिएको थियो ।
नेता ज्ञवालीले आवश्यक परेमा पद होइन, जीवन नै बलिदान गर्ने उद्घोष गर्ने नेपाली राजनीतिका अत्यन्त सुस्पष्ट वक्ताको छवि मदन भण्डारीले निर्माण गरेको र छोटो जीवन बाँचेका कारण कला, साहित्य र संस्कृतिका बारेमा उहाँले थोरै तर महत्त्वपूर्ण एवं रुपान्तरणकारी रचना पस्किएको बताउनुभयो ।
एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले ‘माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने विचारका प्रणेता, वर्गीय र जनमुखी प्रजातन्त्रका पक्षधर र नेपाल राष्ट्रले खोजेको नेताका रूपमा विश्वमा परिचित स्वर्गीय भण्डारीले कला साहित्यमा पनि उत्तिकै योगदान दिएको बताउनुभयो ।
महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले आगामी दिनमा ‘जबज र समृद्ध नेपाल सुखी नेपाली’ शीर्षकमा बृहत्तर ग्रन्थ प्रकाशन गर्नेसमेतको सोच रहेको जानकारी दिनुभयो ।
वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए
झापा, १६ असार I पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो ।
सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएका वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताउनुभयो । ‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौँ उपभोक्ताले आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहरलगायत फलका बिरुवा रोपिएको उहाँले जानकारी दिनुभयो ।
जिल्लाको उत्तरी भेगमा जङ्गली क्षेत्र छ । जहाँ भारतबाट बर्सेनि आउने सयौँ हात्ती विचरण गरेर फर्किने गरेका छन् भने दुई दर्जनको सङ्ख्यामा रहेको रैथाने जङ्गली हात्तीले यही जङ्गललाई बासस्थान बनाउने गरेका छन् । हात्तीबाहेक जङ्गलमा बस्ने बाँदरबाट पनि जङ्गल नजिकका बासिन्दा पिरोलिँदै आएका छन् । अहिले रोपिएका फलफूलका बिरुवा हुर्किएपछि बाँदर पनि आहारको खोजीमा गाउँ नआउने स्थानीयवासीले ठानेका छन् ।
जङ्गली जनावर जङ्गलमै रमाउन् र उनीहरूलाई आहारको कमी नहोस् भन्ने सोचका साथ फलफूलका बिरुवा रोपिएको हो । आगामी वर्ष २० हजार बिरुवा रोप्ने योजना रहेको उहाँले बताउनुभयो । हाल जङ्गलमा हात्ती र बाँदरका खानलायक बोटबिरुवा मासिइसकेका कारण समस्या भएको छ ।
दिउँसो जुकेखाडी जङ्गलमा बस्ने भोका हात्ती राति आहारको खोजीमा गाउँ आउँदा मानव–हात्ती द्वन्द्व हुने भएकाले ती बिरुवाले हात्तीलाई जङ्गलमै अल्मल्याउने जुकेखाडी सामुदायिक वन समितिका उपभोक्ता दिपीन राईले बताउनुभयो । उहाँले भन्नुभयो, “आहारको खोजीमा बस्तीमा पसेर हात्तीले दुःख दिने गरेका छन् । जङ्गलमा नै आहार पाएपछि ती गाउँ पस्न छाड्छन्, यसो हुँदा मानव–हात्ती द्वन्द्व घटाउन सहयोग पुग्छ ।”
समितिका अध्यक्ष श्रेष्ठका अनुसार सामुदायिक वनमा तीन हजार पाँच सय ५८ उपभोक्ता छन् । जङ्गलमा बिरुवा रोप्न सामुदायिक वनका उपभोक्ता आफैँले घरबाट बिरुवा सङ्कलन गरेका थिए । जिल्ला डिभिजन वन कार्यालयले थप तीन हजार बिरुवा दिने भएको समितिले जनाएको छ ।
उक्त कार्यालयका प्रमुख मेघराज राईले जिल्लाका सबै सामुदायिक वनले आ–आफ्ना क्षेत्रमा हात्तीलाई मनपर्ने केरा, बासँलगायत बिरुवा रोप्ने गरेका जानकारी दिनुभयो । वन कार्यालयको पनि उनीहरूलाई बिरुवा उपलब्ध गराएर सहयोग गर्ने नीति रहेको उहाँले बताउनुभयो ।
भारतले जित्यो विश्वकपको उपाधि
काठमाडौँ, १६ असार I दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत आइसिसी टि–२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन बनेको छ । भारतले १७ वर्षपछि विश्वपकको ट्रफी उचालेको हो । यसअघि भारतले सन् २००७ मा पहिलेपटक टि–२० विश्वकपको उपाधि जितेको थियो ।
वेष्टइन्डिजको बार्बाडोसस्थित कोन्सिङ्टन ओभलमा भारतले दक्षिण अफ्रिकालाई एक सय ७७ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिका निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदा मात्र एक सय ६९ रनमा समेटियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ५२ रनको योगदान दिए । उनले २७ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ५२ रन बनाएका हुन् । त्यस्तै क्विन्टर डि ककले ३९ र क्रिस्टन स्टब्सले ३१ रन बनाए ।
भारतका हार्दिक पांड्याले सर्वाधिक तीन विकेट लिए भने अरसदीप सिहं र जसप्रित बुमराहले समान दुई–दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनाएको थियो । भारतका लागि विराट कोहीले कोहलीले ५९ बलमा छ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७६ रन बनाए । यसैगरी अक्षर पटेलले ४७ र शिवम दुबेले २७ रन जोडे ।
दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्ट्जेले समान दुई–दुई विकेट लिए भने मार्को यानसन र कागिसो रबाडाले समान एक–एक विकेट लिए ।
‘संसद्लाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाऔँ’
काठमाडौँ, १६ असार I संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जोड दिनुभएको छ ।
संसद् दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा अध्यक्ष दाहालले जनताका प्रतिनिधिहरूको सर्वोच्च थलो संसद्मा विविध विचार, दर्शन र राजनीतिक दलहरूको प्रतिनिधित्व रहने उल्लेख गर्दै हाल नेपालमा विभिन्न समयमा भएका सशक्त र सशस्त्र आन्दोलनका बलमा हामी गणतन्त्रात्मक सङ्घीय शासन प्रणालीको प्रक्रियामा रहेका बताउनुभएको छ ।
सन्देशमा उहाँले संसद्को गरिमालाई उच्च बनाउन र विधिको शासनप्रति इमान्दार रहन हामी सबैले संसद् दिवसका अवसरमा सामूहिक प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा जोड दिनुभएको छ । अध्यक्ष दाहालले जनतालाई वास्तविक लोकतन्त्रको अनुभूति गराउन र परिवर्तनको आभास दिलाउनसके मात्रै संसद् दिवस मनाउनुको सार्थकता हुने बताउनु भएको छ ।
संसद् दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै सन्देशमा उहाँले लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न ऐतिहासिक जनस¬ङ्घर्ष, जनयुद्ध र जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुभएका महान् सहिदहरूप्रर्ति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । साथै सङ्घर्षका क्रममा बेपत्ता हुनुभएका तथा घाइते भई अपाङ्गता जीवन बिताइरहनुभएका सम्पूर्ण योद्धाहरूप्रति उहाँले सम्मान व्यक्त गर्नुभएको छ ।
नेपालमा संसदीय अभ्यास सुरु भएको यस दिनले संसदीय सर्वोच्चता, विधिको शासन र लोकतन्त्रप्रति अझ इमान्दार, प्रतिबद्ध र जिम्मेवार बन्न जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज र पत्रकारलगायत सबैलाई प्रेरणा दिने विश्वास अध्यक्ष दाहालले सन्देशमा व्यक्त गर्नुभएको छ ।
विसं २०१६ असार १६ गते नेपालको पहिलो जननिर्वाचित संसद्को पहिलो बैठक बसेको थियो । सोही दिनको स्मरण गर्दै हरेक वर्ष आजकै दिन संसद् दिवस मनाउने गरिएको छ ।
कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
काठमाडौँ, १६ असार I हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र देशका बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी,बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा देशका केही स्थानमा भारी वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न तथा त्यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छः प्रधानमन्त्री
काठमाडौँ, १५ असार I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै कम्युनिष्ट एवं वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्नेमा आफू र आफू नेतृत्वको पार्टी स्पष्ट रहेको बताउनुभएको छ ।
नेकपाका संस्थापक महासचिव पुष्पलालको ‘पुष्पलाल जन्मशताब्दी’ समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रयासमा कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूले भूमिका खेल्दै आएको बताउनुभयो ।
“विगतमा नेपाल दुई ठूला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने प्रयासस्वरूप नेकपा निर्माण गर्यौँ । तर, कतिपय हाम्रा सीमा तथा कतिपय सन्दर्भमा वैचारिक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण र बुझाइ कायम गर्ने कुरामा हतारिँदा एकता दीगो हुन सकेन”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “विगतका अनुभवबाट समेत शिक्षा लिँदै वामपन्थी शक्तिहरूबीचको समीकरण सुदृढ गर्ने र सहकार्यलाई बलियो बनाउँदै जानुपर्छ ।”
व्यवस्थामा आएको परिवर्तनअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने कोशिस जारी रहेको बताउँदै प्रधानमन्त्रीले सामन्ती व्यवस्थाको अन्त्यपछि देशले पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सामाजिक न्याय लगायतका क्षेत्रमा गुणात्मक प्रगति हासिल गरेको बताउनुभयो ।
“दशकौँ लामो सङ्घर्षका बलमा समाजवादउन्मुख संविधान निर्माण गर्न सफल भएका छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “सामन्ती राजतन्त्रको ठाउँमा समावेशी गणतन्त्र, एकात्मकताको ठाउँमा विकेन्द्रिकरणसहितको सङ्घीय प्रणाली, एकल भाषा, धर्म र संस्कृतिको ठाउँमा बहुभाषिकता, धर्मनिरपेक्षता र प्रगतिशील संस्कृतिको निर्माणलगायतका उपलब्धी प्राप्त गरेका छौँ ।”
क्रान्तिले आम जनसमुदायमा शीघ्र परिर्वतनको आकाङ्क्षा जगाइदिएको परिस्थितिमा जनताको आकाङ्क्षाबमोजिम परिवर्तनको बेगलाई बढाउनुपर्ने जिम्मेवारी र चुनौती रहेको बताउँदै प्रधानमन्त्रीले जनआकांक्षा पूरा गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूले थप जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।
“म यही मञ्चमार्फत् सबै कम्युनिस्ट घटक र नेताहरूमा अपील गर्दछु– साझा मुद्दाहरूमा सहकार्य गर्दै अगाडि बढौँ । वैचारिक प्रश्नहरूमा गहन छलफल गरौँ र समान दृष्टिकोण निर्माणको दिशामा अगाडि बढौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “इतिहास, हाम्रा स्कुल र पूर्वाग्रहका आधारमा होइन, नेपालमा समाजवादी क्रान्ति पूरा गर्ने सङ्कल्पका साथ खुला हृदयले बहस गरौँ र उचित निष्कर्षमा पुगौँ ।”
निरङ्कुता विरोधी योद्धा, श्रमजीवी वर्गप्रति झुकाव उदार प्रजातन्त्रवादी, सिद्धान्तनिष्ठ, सरल तथा मिलनसार, इतिहास, समाजशास्त्र, मानवशास्त्रका ज्ञाता कमरेड पुष्पलालका योगदानहरूको सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सहकार्यका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।
इरानको राष्ट्रपतीय मत गणनामा पेजेस्कियन र जलिलीको प्रतिस्पर्धा
तेहरान,इरान, १५ असार I इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियन र अति परम्परावादी समूहका सईद जलिलीले राष्ट्रपतीय निर्वाचनकोे मत गणनामा अग्रता कायम गरेको शनिबार आन्तरिक मन्त्रालयद्वारा जारी प्रारम्भिक परिणामले देखाएको छ ।
पछिल्लो परिणामअनुसार पेजेस्कियनले ८३ लाखभन्दा बढी मत प्राप्त गर्नु भएको छ भने पूर्व आणविक वार्ताकार जलिलीले ७१ लाखभन्दा बढी मत प्राप्त गर्नुभएको छ ।
हालको प्रवृत्ति जारी रहेको अवस्थामा दुवै उम्मेदवार जुलाई ५ हुने दोस्रो निर्वाचनमा प्रतिस्पर्धा गनुपर्नेछ । इरानी संविधान अनुसार यदि कुनै उम्मेद्वारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् भने दोस्रो चरणको चुनाव गर्नु पर्ने प्रावधान रहेको छ ।
सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि इरानमा भएको १३ वटा राष्ट्रपतीय चुनावमध्ये सन् २००५ मा भएको एउटा मात्र निर्वाचनमा दोस्रो चरणको मतदानबाट राष्ट्रपतिको चयन गरिएको थियो ।
आन्तरिक मन्त्रालयका अनुसार अहिलेसम्म एक करोड ९० लाखभन्दा बढी मत गणना भइसकेको छ ।
प्रारम्भिक परिणाममा कन्जरभेटिभ संसदका अध्यक्ष मोहम्मद बाघेर घालीबाफ लगभग २६ लाख मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । यसैगरी चौथो स्थानमा परम्परावादी धर्मगुरु मुस्तफा पौरमोहम्मदीले १५ लाखभन्दा बढी मत प्राप्त गर्नुभएको छ ।
नियमित तालिका अनुसार सन् २०२५ मा हुनुपर्ने निर्वाचनका लागि करिब छ करोड १० लाख इरानी मतदान गर्न योग्य थिए ।
इस्लामिक गणतन्त्रमा चुनावी उम्मेद्वारहरूको जाँच गर्ने गार्जियन काउन्सिलले सुरुमा छ जना उम्मेदवारलाई अनुमोदन गरेको थियो तर चुनावको एक दिन अगाडि दुई उम्मेदवारहरू अलिरेजा जाकानी र अमिर–हुसेन गाजीजादेह हाशेमी दौडबाट बाहिरिएका थिए । रासस/एएफपी
धरानको कृषि बजारमा खसी, बोकाको बिक्री बढ्दै
धरान (सुनसरी), १५ असार I धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै खसी, बोका किनबेच बढ्न थालेको छ । साताको दुई दिन खसी, बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण र पहाडी भेगबाट व्यापारी आउने गरेका छन् ।
मोरङको केराबारी गाउँपालिकाबाट खसी, बोका बिक्री गर्न धरान आउनुभएका जय लिम्बूले दुई वर्षदेखि पशुपालन गर्दै आउनुभएको छ । “केराबारीमा महिनाको दुई पटक खसी, बोका बिक्री गर्दै आएको छु । यहाँ पहिलो पटक आएकाले चार वटा खसी मात्र ल्याएको छु”, उहाँले भन्नुभयो, “साना खसी रहेकाले जोडीको रु १५ हजारमा बिक्री गरिरहेको छु ।” उहाँका अनुसार अहिले फार्ममा १६ वटा खसी छन् ।
धनकुटा सागुडीगडी–७ का किसान ममता राईले धरानस्थित कृषि बजारमा खसी, बोका बिक्री गर्न सधैँ आउने गरेको सुनाउनुभयो । खसी, बोका बिक्रीबाट वार्षिक रु छ लाखभन्दा बढी आम्दानी भइरहेको उहाँले जानकारी दिनुभयो । पशुपालन पुख्र्यौली पेसा भएकाले यसलाई निरन्तरता दिइएको राईले बताउनुभयो । “घाँसभन्दा अन्न र दाना बढी खुवाउने गरेकी छु । घाँस खुवाउँदाको तुलनामा खर्च बढी भए पनि प्रशस्त नाफा हुने गरेको छ”, उहाँले भन्नुभयो ।
मोरङको कानेपोखरीबाट व्यापारी चन्द्र खड्का प्रत्येक साता कृषि बजारमा खसी, बोका किन्न आउनुहुन्छ । एक सयदेखि एक सय ५० वटासम्म खसी, बोका किनेर लैजाने गरेको उहाँले जानकारी दिनुभयो । “यहाँबाट किनेका खसी, बोका जिल्ला बाहिर निर्यात गर्दै आएको छु । यसरी खसी, बोका खरिद गरी बिक्री गर्न थालेको २३ वर्ष भइसकेको छ”, उहाँले भन्नुभयो ।
काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरूवा पोखरालगायत क्षेत्रमा खसी, बोका बिक्री गर्ने गरेको खड्काले सुनाउनुभयो । उहाँका अनुसार सबै खर्च कटाएर मासिक रु ७० हजारसम्म नाफा हुने गरेको छ ।
बिहीबार र शुक्रबार लाग्ने उक्त खसी बजारबाट सतामा करिब तीस हजारभन्दा बढी खसी, बोका बिक्री हुने गरेको कृषिउपज बजार व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको असारको १० गतेसम्ममा रु दुई अर्बको कारोबार भएको छ ।
व्यवस्थापक अध्यक्ष भट्टराईले भन्नुभयो, “पछिल्लो समय धरानमा पशुपालन बढेसँगै खसी, बोकाको किनबेच पनि बढिरहेको छ । वार्षिक एक लाख ६० हजार वटासम्म बिक्री हुने गरेको छ ।” धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुमका साथै तराईका इटहरी, मोरङको कानेपोखरी, बेलबारीलगायत स्थानबाट कृषक तथा व्यापारी किनबेचका लागि यहाँ आउने गरेका उहाँको भनाइ छ । यहाँबाट मुलुकको ठूला सहरका साथै भारतसम्म खसी, बोका निर्यात हुने गरेको उहाँले जानकारी दिनुभयो ।-रासस