शुक्रबार, १२ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J1F0T5F80RQTGZQE0092AH61.jpg

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने

जनकपुर, १४ असार I मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २१ गते विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सिंहले यही २१ गते विश्वासको मत लिने तय भएको हो । 

संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री सिंहले २२ गतेभित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्ने छ । तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट बहुमत प्राप्त नगरेपछि जनमत पार्टीका सिंह बहुमत सदस्यको  समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गत जेठ २५ गते मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री सिंहलाई एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल सङ्घीय समाजवादी पार्टीका गरी ५५ जना प्रदेशसभा सदस्यले समर्थन गर्नुभएको छ ।

प्रकाशित मितिः शुक्रबार, १४ असार २०८१
https://jawaaf.com/storage/01J1EXZTNF9YSP1MWQTEGMVJPX.jpg

जापानस्थित नेपाली विद्यालयबाट जाम्बियाका छात्र एसइई उत्तीर्ण

काठमाडौँ, १४ असार I जापानको टोकियोस्थित नेपाली विद्यालयबाट जाम्बियाका एक विद्यार्थीले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन् । टोकियोको मध्यभागमा रहेको एभरेष्ट इन्टरनेशनल विद्यालयमा अध्ययनरत छात्र चिसा टाइरिस कावेजाले २.९५ जिपिए प्राप्त गरेका विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्टले राससलाई जानकारी दिनुभयो ।     
     
सो विद्यालयबाट यस वर्ष नौ छात्र र १४ छात्रा गरी २३ जनाले एसइई परीक्षा दिएकामा शतप्रतिशत उत्तीर्ण भएका छन् । उक्त विद्यालयबाट एसइई परीक्षा दिएका अधिकांश विद्यार्थीले ३.८ जिपिएभन्दा माथि नतिजा ल्याएका उहाँले जानकारी दिनुभयो । “शतप्रतिशत विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका छन्”, प्राचार्य भट्टले भन्नुभयो ।     
     
राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीबार प्रकाशित २०८० को एसइर्ई परीक्षामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् । कूल परीक्षार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका बेला प्रवासमा रहेको त्यस विद्यालयबाट अफ्रिकी मुलुक जाम्बिायाका छात्रसहितका परीक्षार्थी उत्तीर्ण हुनुलाई सकारात्मकरुपमा हेरिएको छ ।     
     
सन् २०१३ मा स्थापना भएको विद्यालयबाट यस वर्ष चौथो समूहले परीक्षा दिएको थियो । स्थापनाकालमा १६ जना विद्यार्थीबाट सुरु भएको उक्त विद्यालयमा हाल नेपाली र विदेशी गरी चार सय ५० विद्यार्थी अध्ययनरत छन् । हाल विद्यालयमा छ जना जापानी विद्यार्थी पनि अध्ययनरत छन् ।     
     
नेपाली पाठ्यक्रमअनुसार पढाइ हुँदै आएको सो विद्यालयलाई जापान सरकारले अन्तर्राष्ट्रियस्तरको विद्यालयका रुपमा मान्यता प्रदान गरेको छ । त्यस विद्यालयमा सञ्चालित एसइई परीक्षाको अनुगमन टोकियोस्थित नेपाली दूतावासले गर्दै आएको छ ।     
     
सो विद्यालयमा नेपाल, जापान, भारत, फिलिपिन्स, अमेरिकालगायत मुलुकका ६२ शिक्षक प्राध्यापनरत छन् । उक्त विद्यालय नेपाल बाहिर रहेको नेपाली पाठ्यक्रममा सञ्चालित एक मात्र माध्यामिक विद्यालय भएको प्रधानाध्यापक भट्ट बताउनुहुन्छ ।     
     
प्रश्न पत्रको ढाँचा परिवर्तन भएका कारण पनि एसइई परीक्षाको समग्र नतिजा केही फरकपन देखिएको प्रतिक्रिया दिँदै उहाँ भन्नुहुन्छ, “पहिलो घोकन्ते खालको थियो, यसपटक विद्यार्थीले पाठ्यक्रमलाई बुझेर उत्तर दिनुपर्ने खालका प्रश्न आएका छन्, यो राम्रो पक्ष हो ।”     
     
प्रश्नको ढाँचा परिवर्तन भएसँगै शिक्षकलाई पनि सूचना प्रविधिसम्बन्धी अभिमुखीकरण आवश्यक रहेको उहाँको भनाइ छ । पूर्वाधार तयार नहुँदासम्म पुराना र नयाँको बीचको प्रश्नपत्रबाट सुरु गरेर विस्तारै आधुनिकीकरणतर्फ लैजान उहाँ सुझाव दिनुहुन्छ । विश्वव्यापीरुपमा विद्यार्थीलाई परीक्षामा अनुत्तीर्ण गर्ने अभ्यास नरहेको दृष्टान्त दिँदै प्रधानाध्यापक भट्टले माध्यामिक परीक्षामा उत्तीर्ण सङ्ख्या बढाएर लैजानुपर्ने सुझाव दिनुभयो ।     
     
सो विद्यालयले शिक्षामार्फत नेपालीपन, नेपाली मन, भूगोल, संस्कार र संस्कृति तथा वेषभूषा, रहनसहन, गीतरसङ्गीत जापानलगायत अन्तर्राष्ट्रिय समुदायमा पु¥याउने काम गर्दै आएको टोकियोस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी बताउनहुन्छ ।     
     
बाह्र वर्षअघि जापानमा नेपाली नागरिक अध्ययनका अतिरिक्त विभिन्न पेसा व्यवसायसँग जोडिएर पुग्नेक्रम देखिएपछि सन्तानको शिक्षाका लागि परिवार छाड्न नपरोस् भनी गैरनाफामूलक संस्थाका रुपमा त्यहाँको नेपाली समाजको अगुवाइमा उक्त विद्यालय स्थापना गरिएको हो । अध्ययनसहित विभिन्न पेसा व्यवसाय गरी हाल जापानमा एक लाख ७५ हजारभन्दा बढी सङ्ख्यामा नेपाली बस्दै आएका छन् ।     

प्रकाशित मितिः शुक्रबार, १४ असार २०८१
https://jawaaf.com/storage/01J1ETFG49YSGQ4XR998GYMM78.jpg

रामेछापमा बस दुर्घटना हुँदा आठ जना घाइते, तीनको अवस्था गम्भीर

मन्थली (रामेछाप), १४ असार I रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएका छन् ।  सोही वडाको गैरी हुँदै मन्थलीतर्फ आउँदै गरेको बा५ख ५६२४ अरनिको यातायात प्रालिको बस हिलोमा चिप्लिएर दुर्घटना भएको र घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताउनुभयो ।     
      
दुर्घटनामा घाइते भएकालाई खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र मन्थली अस्पतालमा उपचार भइरहेको र गम्भीर भएकालाई काठमाडौँ पठाइएको छ । बसमा २५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, १४ असार २०८१
https://jawaaf.com/storage/01J1ERSEHRW8XVDVKTVPMD734C.webp

इरानमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु

तेहरान, १४ असार I इरानमा गत महिना हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार विहानैदेखि मतदान सुरू भएको छ । स्थानीय समयअनुसार बिहान ८:०० बजे देशभरका ५८ हजार ६४० मतदान केन्द्रमा मतदान सुरु भएको होे । मतदान केन्द्रहरू १० घण्टाका लागि खुला रहनेछन्, यद्यपि अधिकारीहरूले विगतका चुनावहरूमा जस्तै मतदाताको चाप हेरेर मतदानको समय बढाउन सक्नेछन् ।

शनिबार बिहानसम्ममा प्रारम्भिक र आइतबारसम्ममा औपचारिक नतिजा आउने अनुमान गरिएको छ । मतदानमा करिब छ करोड १० लाख इरानी नागरिक मतदानका लागि योग्य रहेका छन् । सुधारवादी नेता ६९ वर्षीय मसूद पेजेशकियान विभाजित कन्जरभेटिभ खेमाविरूद्ध सशक्त देखिनुभएको छ । उम्मेदवारहरूको जाँच गर्ने गार्जियन काउन्सिलले उहाँलाई सभामुख मोहम्मद बघेर गालिबाफ र पूर्व आणविक वार्ताकार सइद जलिलीको प्रभुत्व रहेको कन्जरभेटिभको क्षेत्रविरुद्ध लड्न अनुमति दिएको थियो।

तेहरानका मेजर अलिरेजा जकानी र रईसीका पूर्व उपराष्ट्रपति अमिर होसेन गाजिजादेह हाशेमीले पनि कट्टरपन्थी संगठनबाट राजीनामा दिएपछि धर्मगुरु मुस्तफा पोरमोहम्मदी पनि विवादमा तानिएका छन् । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले मतदान सुरु भएलगत्तै मतदान गर्नुभएको छ । “निर्वाचनको दिन हामी इरानीका लागि हर्ष र खुशीको दिन हो,” उहाँले टेलिभिजनमा सम्बोधन गर्दै भन्नुभयो । 

उहाँले भन्नुभयो, “हामी हाम्रा प्रियजनहरूलाई मतदानको मुद्दालाई गम्भीरतापूर्वक लिन र भाग लिन प्रोत्साहित गर्दछौं ।” प्रतिबन्धको चपेटामा परेको इरानमा इस्लामिक गणतन्त्र र यसका कट्टर प्रतिद्वन्द्वी इजरायल र संयुक्त राज्य अमेरिकाबीच गाजा युद्ध जारी रहँदा उच्च क्षेत्रीय तनाव भइरहेका बेला निर्वाचन हुन लागेको हो ।

यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गरेनन् भने जुलाई ५ मा दोस्रो चरणको मतदान हुनेछ । सन् २००५ को मतदानपछि इरानी चुनावी इतिहासमा दोस्रो पटक मतदान भएको छैन । केही समय अघिसम्म सापेक्षिक रूपमा अनिश्चित रहेको पेजेस्कियानको उम्मेदवारीले रूढÞिवादी र अतिरूढिवादी खेमाहरूको वर्षौंको प्रभुत्वपछि इरानको सुधारवादी पक्षका लागि आशाहरू पुनर्जीवित गरेको छ ।

इरानका अन्तिम सुधारवादी राष्ट्रपति मोहम्मद खातामीले उहाँलाई ‘इमानदार, निष्पक्ष र मायालु’ व्यक्तिका रूपमा प्रशंसा गरेका छन् । सन् १९९७ देखि २००५ सम्म काम गरेका खातामीले उदारवादी हसन रौहानीलाई पनि समर्थन गर्नुभएको थियो । उहाँको समर्थका कारण रौहानीले राष्ट्रपतिको निर्वाचनमा विजय हाँसिल गर्नुभएको थियो । रौहानीलाई सन् २०१५ मा शक्तिराष्ट्रसँग भएको इरानको आणविक सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । -रासस/एएफपी

प्रकाशित मितिः शुक्रबार, १४ असार २०८१
https://jawaaf.com/storage/01J1EP1J14CDPPBW8A0XH7RJ4G.jpg

रहगाड खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

मान्म (कालीकोट), १४ असार I जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं १ कोटवाडा र वडा नं ६, ७, ८ र ९ लालु, माल्कोट जोड्ने रहगाड खोलाको झोलुङ्गे पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ ।     
     
झोलुङ्गे पुल बनाउन स्थानीय सरकारले चासो नदिँदा आवागमनमा समस्या भएको हो । विसं २०७८ को बाढीले झोलुङ्गे पुल बगाएपछि कुनै निकायले पुल बनाउने चासो नदिँदा समस्या भएको नरहरिनाथ गाउँपालिका–१ का पूर्वजिल्ला विकास समितिका सदस्य कटकबहादुर विष्टले बताउनुभयो । “झोलुङ्गे पुल बनाउनका लागि प्रत्येक वर्ष बजेट आएको सुन्छु”, उहाँ भन्नुभयो, “पुल भत्किएको लामो समयमा कुनै निकायले चासो नदिँदा अहिले लालु, माल्कोट र कोटवाडा गाउँको आवातजावतमा समस्या भएको छ ।”     
     
झोलुङ्गे पुल नहुँदा हिउँदमा खासै समस्या नभए पनि वर्षायाममा खोलाको पानीको बहाव बढ्ने र आवातजावतमा समस्या हुने गरेको नरहरिनाथ गाउँपालिका–८ का प्रकाश विष्टले बताउनुभयो ।     
     
झोलुङ्गे पुल बनाउन स्थानीयले तीनवटै तहका सरकारसँग पटक–पटक माग गरेको भए पनि अहिलेसम्म खासै चासो नदिएका कारणले नागरिक तहबाट पहल थाल्नुपर्ने नरहरिनाथ गाउँपालिका–९ लालुका नागरिक समाजका अगुवा किशोरकुमार रावलले बताउनुभयो । पुल नहुँदा फलेकको साँघुबाट जोखिपूर्ण यात्रा गर्नुपरेको उहाँले बताउनुभयो ।     
 

प्रकाशित मितिः शुक्रबार, १४ असार २०८१
https://jawaaf.com/storage/01J1ENVFDXYEWK7ASWQ5YWKH99.jpg

तीन करोड ५७ लाखमा पक्की पुल निर्माण

भोजपुर, १४ असार I राउते खोला पक्की पुल निर्माण भएको छ । भोजपुरको टेम्केमैयुङ–९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले रु तीन करोड ५७ लाख लागतमा पुल निर्माण गरेको हो ।     
     
“राउते खोला पक्की पुल निर्माणअवधिभन्दा १५ महिनाअघि सम्पन्न गर्न सफल भएका छौँ, स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो । पुल बनेसँगै स्थानीयलाई सहज भएको छ”, उक्त कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले भन्नुभयो ।     
     
राउते खोला पुलले साविकको वडा नं ७ राउते र साविकको वडा नं ५ लेखर्कलाई जोडेको छ । पक्की पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहजता भएको सवारीचालक मिलन तामाङले बताउनुभयो ।     

प्रकाशित मितिः शुक्रबार, १४ असार २०८१
https://jawaaf.com/storage/01J1ENN3DDS0VHBGEWKRR06JM1.jpg

नेकपा एस महाधिवेशनः सर्वसम्मत नेतृत्व चयनको प्रयास

काठमाडौँ, १४ असार I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको छ । नेतृत्वपङ्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा छ । 

राजनीतिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक प्रतिवेदनलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा लैजाने समझदारी भएपछि पार्टी केन्द्रीय नेतृत्वमा पनि निर्विरोध उम्मेदवारको खोजी गरिएको हो ।

पार्टीको आन्तरिक एकता बलियो बनाउन, वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले पार्टीको नेतृत्व साथै देश र जनताको हितमा काम गर्न सक्ने स्वच्छ छवि भएको नेतालाई नेतृत्वमा लैजानुपर्ने पार्टीका सातै प्रदेशका अध्यक्षले सुझाव दिनुभएको छ । 

सम्मानित नेता झलनाथ खनालले सबै प्रदेश अध्यक्षसँग गर्नुभएको छलफलमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग विभाजित हुनुको औचित्य पुष्टि गर्नसक्नुपर्ने सुझाउनुभएको छ ।

कोशीबाट बलदेव चौधरी, गण्डकीका श्रीनाथ बराल, बागमतीका सावित्रा भुसाल, मधेस प्रदेशका रामचन्द्र यादव, लुम्बिनीका सोमप्रसाद पाण्डे, कर्णालीका अम्बर थापा र सुदूरपश्चिमका हर्कबहादुर सिंह छलफलमा सहभागी हुनुहुन्थ्यो ।

पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबीच समझदारीका साथ सर्वसम्मत नेतृत्व चयनका लागि पुस्तान्तरणका विषयमा पनि छलफल गरिएको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो ।

यही असार १६ देखि २० गतेसम्म पार्टीको महाधिवेशन हुँदैछ । 

प्रकाशित मितिः शुक्रबार, १४ असार २०८१
https://jawaaf.com/storage/01J1EBCQV894GN7V2ZCKRSWXHF.jpg

म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण

म्याग्दी, १४ असार I जिल्लाको मङ्गला गाउँपालिका–३ पखेरमा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण भएको छ । सङ्घीय र गण्डकी प्रदेश सरकारको लगानीमा खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जिल्लामा पहिलोपटक ‘डिपबोरिङ’ प्रविधिको सिँचाइ आयोजना निर्माण गरेको हो ।     
      
कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले डिपबोरिङ, लिफ्ट, भूमिगत र भूसतही प्रविधिको संयोजन गरिएको आयोजनाको परीक्षण सफल भएको जानकारी राससलाई दिनुभयो । “डिपबोरिङ प्रविधि म्याग्दी जिल्लामा पहिलोपटक पखेरमा भित्र्याएका हौँ”, उहाँले भन्नुभयो, “जमिनभित्र पाइप राखेर विद्युतीय उपकरणको सहायताले तानेको पानी पोखरीमा सङ्कलन गरी, नहर र पाइप लाइनबाट खेतबारीमा सिँचाइ गर्ने व्यवस्था मिलाएका छौँ ।” लगातार १२ घण्टासम्म डिपबोरिङ गर्ने उपकरण सञ्चालन गर्दा परीक्षण सफल भएको ओझाले बताउनुभयो ।     
      
सुक्खा याममा भूमिगत र बर्खामा खोल्सा तथा मुहानको पानी प्रयोग गरेर सिँचाइ गर्न मिल्ने संरचना तयार पारिएको उहाँले बताउनुभयो । म्याग्दी नदी किनारमा प्वाल पारेर राखिएको दुई सय एमएम क्षमताको जिआइ पाइपभित्र प्रतिसेकेण्ड १२ दशमलव पाँच लिटर पानी तान्न सक्ने २५ ‘हर्सपावर’ क्षमताको ‘सम्पवेल पम्प’ (पानी तान्ने उपकरण) जडान गरिएको छ ।     
      
पानी तान्ने उपकरण सञ्चालन गर्न नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले ५० केभीए क्षमताको ट्रान्सफर्मर र विद्युत् लाइन जडान गरेको छ । डिपबोरिङ राखेको ठाउँबाट एक सय ५० मिटर उचाइमा रहेको ४८ हजार लिटर क्षमताको ट्याङ्कीमा पानी लैजान एक सय १० एमएम क्षमताको एचडिआई (पोलिथिन) पाइप जडान गरिएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका सबइन्जिनियर अञ्जन खत्रीले बताउनुभयो ।     
      
अठचालीस हजार लिटर क्षमताको ट्याङ्कीभन्दा ७० मिटरमाथि दुई सय १८ मिटर पाइपबाट प्रतिसेकेण्ड दुई लिटरका दरले तान्ने पानी सङ्कलन गर्न २२ हजार पाँच सय लिटर क्षमताको अर्को ट्याङ्की बनाइएको छ । आयोजनामार्फत पाँच सय ५० मिटर पक्की नहर निर्माण भएको छ । थप एक सय मिटर नहर निर्माण गर्न बाँकी छ ।     
      
तेह्र हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुगेको पखेर सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष नरबहादुर थापाले बताउनुभयो । पचास किसान लाभान्वित भएका छन् । पखेरको खेतीयोग्य जमिन सिँचाइ सुविधा अभावमा प्रयोग भएको थिएन ।     
      
स्थानीय किसान छवीलाल भुसालले विगतका वर्षमा अकासे पानीको भरमा साउनमा धान रोपाइँ गर्ने किसानले यसपालि असारमै रोपाइँको तयारी गरेका बताउनुभयो । पर्याप्त पानी भएपछि रोपाइँ र सिँचाइका लागि पालो कुर्नुपर्ने समस्या हटेको छ । पानीका कारण उत्पन्न हुने विवाद हटेको र सामाजिक सद्भाव कायम भएको छ ।     
      
चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट सशर्त अनुदानमा रु ३० लाख र प्रदेश सरकारले रु १० लाख बजेट विनियोजन गरेको यो आयोजनालाई थप रु ५० लाख बजेट रकमान्तरण गर्न प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्रस्ताव गरिएको कार्यालय प्रमुख ओझाले बताउनुभयो ।  

प्रकाशित मितिः शुक्रबार, १४ असार २०८१
https://jawaaf.com/storage/01J1EB1AF0QDP20M40J9T6P9KY.jpg

कायरोमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी

काठमाडौँ, १४ असार I कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना भएको छ । नेपाल–इजिप्ट द्विपक्षीय सांस्कृतिक आदानप्रदान प्रवर्द्धन कार्यक्रमअन्तर्गत तार, काठ र ढुङ्गाबाट सृजना गर्ने इजिप्टका कलाकार गलाल गोमाको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा फोटो पत्रकार तथा वृत्तचित्र निर्माता अशरफ तलात र फोटोग्राफर यासेर अला मुबारकले नेपालमा खिचेका तस्बिर र मुहार चित्र एवं फौजी मोर्सीलगायत १८ जना कलाकारका मुहारचित्र राखिएको उक्त दूतावासका तृतीय सचिव माधवराज काफ्ले जानकारी दिनुभयो ।     
     
प्रदर्शनीमा अशरफ तलातले गत मार्च र मेमा मुस्ताङ र लुम्बिनीमा खिचेका तथा यासेर आलाले गत शिवरात्रिमा पशुपतिनाथ मन्दिरको वरिपरि खिचेका तस्बिर समावेश गरिएका थिए ।  त्यस अवसरमा इजिप्टका सांसद डा माई अल–बत्रानले नवीन अवधारणाको प्रयोगसहितको कला प्रदर्शनीले दुई मुलुकबीचको जनस्तरको सम्बन्धलाई सुदृढ गर्न टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।     
     
इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफर र कलाकारप्रति आभार व्यक्त गर्नुभयो । उहाँले कलाकारका सृजनाले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई प्रवर्द्धनमा योगदान पुग्ने बताउनुभयो । साथै उहाँले सहभागी कलाकारलाई कदरपत्र प्रदान गर्नुभयो ।     
     
प्रदर्शनीमा सहभागी फोटोपत्रकार अशरफ तलत र यासेर अलाले आफूहरूको नेपाल भ्रमणबारे वर्णन गर्दै दुई देशबीच जनस्तरमा भ्रमण आदानप्रदान बढ्दै गएको बताउनुभयो ।     
     
प्रदर्शनीमा कलाकार गलाल गोमाको तार मूर्तिकलाका साथै फौजी मोर्सी, खालेद अल मार्सफी, खालेद सलाह, शिमा शफेई, अहमद गेसा, मारवा इब्राहिम, नौरा मकराम, सफिया याह्या, हानी हसन अब्देलगा, हनी हसन अब्देलगाको क्यारिकेचर कलाको विविध सङ्ग्रह प्रदर्शन गरिएको थियो ।     
     
प्रदर्शनीमा व्यङ्ग्य चित्रकारहरूद्वारा सृजना गरिएका राजर्षि जनक, पासाङल्हामु शेर्पा र सन्दुक रुइतलगायत १५ जनाभन्दा बढी नेपालीप्रति समर्पित ‘क्यारिकेचर’ समावेश गरिएको थियो । कायरोस्थित युनाइटेड ओइल कम्पनीमा कार्यरत नेपाली वैज्ञानिक डा प्रकाश अधिकारीले विदेशमा नेपालबारे प्रचारप्रसार गर्न आयोजित यस्ता प्रदर्शनीले सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा कलाकार तथा कलाप्रेमी, कूटनीतिज्ञ, स्थानीय पत्रकार, विद्यार्थी, नेपाली समुदायका सदस्यसहित एक सय जनाको सहभागिता थियो ।     
 

प्रकाशित मितिः शुक्रबार, १४ असार २०८१
https://jawaaf.com/storage/01J1EAE5VW7A1ZM6CMNB58GV4R.webp

कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा धेरै पानी पर्ने पूर्वानुमान, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, १४ असार I हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । 

साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र  बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

यसैगरी, आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाका साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । 

आगामी २४ घण्टामा देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी–पहिरोको जोखिमबाट बच्न तथा त्यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मितिः शुक्रबार, १४ असार २०८१