युवालाई कृषि पेसामा आकर्षित गर्नुपर्छ : मुख्यमन्त्री कार्की
मोरङ, १५ असार I कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले कृषि पेसाप्रति युवापुस्ताको आकर्षण वृद्धि गर्न विशेष जोड दिएको बताउनुभएको छ । मोरङको जहदा गाउँपालिका–३ मा आज आयोजित २१औँ राष्ट्रिय धान दिवस कार्यक्रममा उहाँले युवाका लागि तालिम, अनुदान, कृषिमा आधुनिक प्रविधि, व्यावसायिकता र बजारीकरणमा विशेष ध्यान दिने नीति प्रदेश सरकारले लिएको छ भन्नुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशलाई कृषिउपजमा आत्मनिर्भर बनाउन विशेष योजनाका कार्य सुरु गरेको जानकारी दिँदै उत्पादकत्व वृद्धि गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने धारणा राख्नुभयो ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो, “जलवायु परिवर्तनको असरका कारण कृषि उत्पादन घटेकाले यसबाट मानव जीवन कष्टकर बन्दै गएको छ । यसतर्फ हामी सबैले ध्यान दिनु जरूरी छ ।” सो अवसरमा उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा लेखराज दाहालले कृषि उत्पादन वृद्धि गर्न उन्नत जातको बीउ उत्पादन वृद्धि हुने विचार राख्नुभयो । कृषि विकास निर्देशनालय विराटनगरका प्रमुख प्रकाशकुमार डाँगी र जहदा गाउँपालिकाका अध्यक्ष जीतेन्द्र साहले कृषिमा आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुभयो ।
एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन भोलिदेखि
काठमाडौँ, १५ असार I नेकपा (एकीकृत समाजवादी) को आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।
महाधिवेशनका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिनुभयो । ती दस्तावेज कम्युनिष्ट पार्टीकोे इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट पारित हुने वैचारिक दृष्टिकोण तथा कार्यक्रमका आधारमा नेतृत्व चयन गरिने जानकारी दिनुभयो । उहाँले नेतृत्वमा सहमति हुन नसके लोकतान्त्रिक पद्धतिबाट प्रक्रिया अगाडि बढाउनुपर्छ भन्नुभयो । महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ । पार्टी अध्यक्ष नेपालले आइतबार महाधिवेशन उद्घाटन गर्नुहुने कार्यक्रम छ ।
पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ । काठमाडौँ उपत्यका बाहिरका प्रतिनिधिहरू आइसकेको जनाइएको छ ।
महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ । महाधिवेशनस्थललाई आकर्षक बनाउन सिगारिएको छ । करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ । एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको छ ।
ताप्लेजुङमा पनि धान दिवस मनाइयो
ताप्लेजुङ, १५ असार I पहाडी जिल्ला ताप्लेजुङमा पनि असार १५ अर्थात् धान दिवस मनाइएको छ । राष्ट्रिय कृषक समूह महासङ्घ जिल्ला समन्वय समितिको आयोजनामा रोपाइँ गरेर धान दिवस मनाइएको हो ।
फुङ्लिङ नगरपालिका–३ केनिममा नौमती बाजासहित भएको रोपाइँ कार्यक्रमको सहायक प्रमुख जिल्ला अधिकारी टङ्क भट्टराईले उद्घाटन गर्नुभयो । कार्यक्रममा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त कार्की, फुङ्लिङ नगरपालिका उपप्रमुख भीमादेवी ओझालगायत विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू र स्थानीयको सहभागिता थियो ।
विगतका वर्षदेखि नै सदरमुकाम नजिकैपर्ने केनिममा धान दिवसका अवसरमा कार्यक्रम हुँदै आएको छ । कार्यक्रममा सहभागी स्थानीय कृषकले कृषिमा युवाको आकर्षण बढ्ने योजना तथा कार्यक्रमको आवश्यकता रहेको बताएका थिए । कृषि उत्पादन वृद्धि तथा कृषकलाई प्रोत्साहन गर्ने प्रभावकारी योजना नहुँदा कृषिप्रति युवाको आकर्षण घट्दै गएकामा चिन्ता व्यक्त गरेका थिए ।
जिल्लामा पर्याप्त वर्षा भएसँगै यहाँका किसानलाई रोपाइँको चटारो छ । जिल्लाको अधिकांश जनसङ्ख्या खेतीकिसानी गरेर जीवननिर्वाह गर्दै आएको छ ।
श्रीलङ्कामा खाद्यान्नको मूल्य वृद्धि
कोलम्बो, १५ असार I सङ्कटग्रस्त श्रीलङ्काको वार्षिक मुद्रास्फीति मे को ०.९ प्रतिशतको तुलनामा जुनमा करिब दोब्बर भई १.७ प्रतिशत पुगेको छ । श्रीलङ्काले आफ्ना ऋणदातासँग १० अर्ब अमेरिकी डलरको ऋणको पुनर्संरचना गर्न सम्झौता गरेको केही दिनपछि जनगणना तथा तथ्याङ्क विभागको यो तथ्याङ्क सार्वजनिक भएको हो ।
खाद्यान्नमा अघिल्लो बर्षको जुनको तुलनामा १.०४ प्रतिशतले मूल्य वृद्धि भएको विभागले जनाएको छ । सन् २०२२ मा श्रीलङ्काले आफ्नो विदेशी ऋण नतिरेपछि आर्थिक सङ्कट उत्कर्षमा पुगेको बेला मुद्रास्फिति बढेर करिब ७० प्रतिशत पुगेको थियो । श्रीलङ्काको केन्द्रीय बैंकले सन् २०२४ का लागि समग्र मुद्रास्फीति ५.० प्रतिशतभन्दा तल राख्न सक्षम हुने आशा व्यक्त गरेको छ ।
देशमा यसै वर्ष राष्ट्रपतिको निर्वाचन हुन लागेको छ र विपक्षी दलहरूले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को बेलआउटका शर्तहरूमा पुनः छलफल गर्ने प्रतिबद्धता जनाएका छन् । यसले गर्दा कडा मितव्ययिताका उपायहरू अपनाइएका छन् । आईएमएफले प्रतिद्वन्द्वी राजनीतिक दलहरूको वैकल्पिक प्रस्तावहरू सुन्न इच्छुक रहेको बताएको छ, तर बेलआउटमा निर्धारित महत्वपूर्ण शर्तहरू पालना गर्नुपर्नेमा जोड दिएको छ ।-रासस/एएफपी
शीतल निवासमा धान रोपाइँ
काठमाडौँ, १५ असार I एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आज आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी हुनुहुन्थ्यो । रोपाइँ शुभारम्भ गर्नुहुँर्दै राष्ट्रपति पौडेलले कृषि पेसा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताउनुभयो ।
“पहिला देशमा फलफूल तरकारीभन्दा धान बढी उत्पादन हुन्थ्यो । पहिला धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो । पछि जब करेसाबारी बढ्न थाल्यो, धान बाहिरबाट आयात गर्न थालिएको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “यसले पनि असन्तुलन भयो । त्यही भएर अब सन्तुलित खानपीनका लागि फेरि धानको उत्पादन, कृषि पेसा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको हुँ ।”
स्याङ्जामा घर पुरिँदा आमा–छोरीको मृत्यु
काठमाडौँ, १५ असार I स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । गए राति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बाङ्गेमा पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । पहिरोमा परेर आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसाको मृत्यु भएको घट्नास्थलमा रहनुभएका प्रहरी सहायक निरीक्षक अमृत भुजेलले राससलाई जानकारी दिनुभयो । “राति सुतेका बेला पहिरो खसेको हो”, उहाँले भन्नुभयो । घटनाका बेला आमा र छोरी मात्र घरमा रहेका र छोरो गाउँमा आफन्तकहाँ बास बस्न गएकाले उनको ज्यान जोगिएको उहाँले बताउनुभयो । पहिरोले ढुङ्गामाटो र जस्तापाताले छाएको एक तले घर र घरनजिकै रहेको गोठ पुरिएको छ । पहिरोमा परी एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ ।
गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता
गुल्मी, १५ असार I गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपना पहिरोमा पुरिएका हुन् ।
पहिरोमा पुरिएकामध्ये भेषबहादुर, सीता र सपनाको शव फेला परेको छ । सुन्तली र विपनाको अवस्था भने अज्ञात छ । इस्मा प्रहरीचौकीबाट उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ । स्थानीयको सहयोगमा अहिले प्रहरीले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेको मालिका–६ का वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिनुभयो । सदरमुकाम तम्घासबाट पनि नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल
टक्सार (भोजपुर), १४ असार I भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यो खेतीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यहाँका किसान जग्गा भाडामा लिएर पनि खेती गर्न थालेका छन् । त्यसमध्येका एक हुन्, भोजपुर नगरपालिका–८, दुम्सिका कमल भुजेल । उहाँले दुई रोपनी जग्गामा व्यवसायीक स्ट्रबेरी खेती सुरु गर्नुभएको छ । नुवाकोटको ककनीबाट दुई हजार बिरुवा ल्याई आफूले व्यवसायीकरुपमा खेती सुरु गरेको उहाँले बताउनुभयो ।
राम्रो उत्पादन र आम्दानी हुने गरेको जानकारी पाएपछि यस खेतीमा आकर्षित भएका भुजेलले हाल दैनिकजसो १० देखि २५ किलोग्राम (केजी) सम्म स्ट्रबेरीको कारोबार गर्ने गरेको बताउनुभयो । आफ्नो उत्पादनले माग धान्न नसकेपछि उहाँले खेती विस्तार गरी १० हजार बिरुवा थप्ने योजना बनाइरहेको सुनाउनुभयो । “ग्राहकको माग बढ्न थालेको छ । स्थानीयस्तरमै कुनै विषादी प्रयोग नगरी उत्पादन भएकाले पनि ग्राहकको माग बढ्न थालेको हो”, भुजेलले भन्नुभयो,“यसले निकै उत्साहित भएको छु । त्यसैले खेती विस्तार गर्ने योजना बनाइरहेको छु ।”
उहाँको उत्पादन र माग देखेर जिल्लाका अन्य किसान पनि कृषिखेती गर्ने योजनामा छन् । सरकारले उत्पादित स्ट्रबेरीको बजारीकरण र प्याकेजिङका लागि सहुलियतमा यन्त्र खरिद गर्न सहयोग गरेमा यहाँका धेरै किसान यसतर्फ आकर्षित हुने भुजेलले बताउनुभयो । “मेरो उत्पादन देखेर अन्य किसानले पनि दिनहुँ यसको खेती गर्नेबारे राय सुझाव लिइरहनुभएको छ । मैले पनि लगनका साथ लाग्ने हो भनेर राम्रो आम्दानी हुन्छ गर्नुस् भनेर यहाँ आउनेहरुलाई सल्लाह दिने गरेको छु”, उहाँले भन्नुभयो ।
विशेषगरी पर्याप्त घाम लाग्ने जमिनमा उत्पादन हुने स्ट्रबेरीका लागि पहाडी जिल्ला भोजपुर उपयुक्त हुने जानकारहरु बताउँछन् । हाल यहाँ प्रति केजी रु पाँच सयका दरमा स्ट्रबेरी बिक्री हुने गरेको छ ।
कोशीमा १४ प्रतिशत रोपियो धान
बेलबारी (मोरङ), १४ असार I अन्नको भण्डार मानिने कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । यहाँ दुई लाख ७६ हजार तीन सय ८३ दशमलव ७२ हेक्टर जमिनमा धान रोपिने भए पनि हालसम्म ३७ हजार आठ सय ८० दशमलव ३५ हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको कोशी प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । कोशीमा गतवर्ष असार १४ गतेसम्म १६ दशमलव ९६ प्रतिशतमा धान रोपाइँ गरिएको थियो ।
प्रदेशका १४ जिल्लामध्ये सबैधन्दा धेरै झापामा र सबैभन्दा कम सोलुखुम्बुमा धान रोपिने गरेको निर्देशनालयकी सूचना अधिकृत पूर्णमाया गुरुङले जानकारी दिनुभयो । झापामा सबैधन्दा धेरै ७५ हजार सात सय ५९ दशमलव १८४ हेक्टरमा र सोलुखुम्बुमा सबैभन्दा कम एक हजार दुई सय २५ हेक्टरमा धान रोपिने गरेको उहाँले बताउनुभयो । हालसम्म झापामा ११ दशमलव ३५ प्रतिशत, मोरङमा १०, सुनसरीमा ११, ताप्लेजुङमा २९ दशमलव ४०, सङ्खुवासभामा सात प्रतिशत, सोलुखुम्बुमा ३५, पाँचथरमा २९, इलाममा ३०, भोजपुरमा २७, तेह्रथुममा २५, धनकुटामा १२, उदयपुरमा १५ दशमलव २५ प्रतिशत, ओखलढुङ्गामा १२ दशमलव २५ प्रतिशत र खोटाङमा १३ दशमलव ४० प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।
असार १५ गते ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २१औँ राष्ट्रिय धान दिवस मनाइने तयारी रहेको कृषि विकास निर्देशनालय कोशी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगीले जानकारी दिनुभयो । विगतका तुलनामा कम रोपाइँ भए पनि यसवर्ष धानमा हाल्ने रासायनिक मलको भने अभाव नरहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय धान दिवसको अवसरमा मोरङको जहदा गाउँपालिकास्थित कृषि ज्ञान केन्द्र मोरङको आयोजनामा धान रोपाइँ कार्यक्रम राखिएको कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले जानकारी दिनुभयो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतको सहभागिता रहने प्रमुख सिंहले बताउनुभयो ।
गाजाबासीलाई स्वास्थ्य सेवाको चरम आवश्यकता भएको राष्ट्रसङ्घीय अधिकारीको भनाइ
गाजा, १४ असार I गाजा पट्टीको प्यालेस्टिनी तटीय क्षेत्रमा स्वास्थ्य अवस्था बिग्रँदै गएकोले त्यहाँका बासिन्दालाई स्वास्थ्य सेवाको चरम आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकायले जनाएको छ । प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य निकाय (युएनआरडब्लुए) ले सामाजिक सञ्जाल एक्समा गाजामा थोरै सङ्ख्यामा युएनआरडब्लुए स्वास्थ्य केन्द्र मात्र सञ्चालनमा रहेको बताएको छ ।
मध्य गाजाको नुसिरातमा टोलीहरूले स्थानीय परिवारको सेवा गर्न जारी राखेपनि औषधि र इन्धनको गम्भीर अभावले जीवन रक्षाको कार्यमा बाधा पुगेको छ । युएनआरडब्लुएले गाजामा प्यालेस्टिनीलाई फोहोर र ढलले घेरिएको जनाएको छ । “भीडभाड भएको आश्रय, खाना, पानी र इन्धनको अभाव, चिकित्सा आपूर्तिमा न्यूनतम पहुँच र गर्मीका कारण स्वास्थ्य अवस्था बिग्रँदै गएको छ,” युएनआरडब्लुएले उल्लेख गरेको छ ।
क्यान्सर भएका २१ जना प्यालेस्टिनी बालबालिका बिहीबार विदेश उपचारका लागि केरेम सालोम हुँदै गाजाबाट निस्किए । मे महिनाको सुरुमा रफाह सीमाबाट आवतजावत बन्द भएपछि गाजापट्टीमा रहेका बिरामीहरूले पहिलो पटक गाजा छोडेकोस्वास्थ्य अधिकारीहरूले बताए । बिरामीहरू बाहिर निस्कन ‘गाह्रो र जटिल भएकाले रफाह सीमा पारको विकल्प नभएको गाजा क्षेत्रका अस्पतालहरूका महानिर्देशक मोहम्मद जकाउटले पत्रकार सम्मेलनमा उल्लेख गर्नुभयो ।
इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमामा हमासले गरेको हिंसा विरुद्ध बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । आक्रमणका कारण करिब एक हजार दुई सय मानिस मारिएका थिए र २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो । द्वन्द्वबाट प्यालेस्टिनी भूमिमा मृत्यु भएका व्यक्तिको सङ्ख्या ३७ हजार ७८१ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीले बताएका छन् । -रासस/सिन्ह्वा