शुक्रबार, १२ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J1D3HXH7CJFS1ZXM31ZCKEND.jpg

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको अध्यक्षमा घर्तीमगर

काठमाडौँ, १३ असार I नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्वाचित हुनुभएको छ ।

महासङ्घको असार ११ र १२ गते काठमाडौँमा सम्पन्न प्रथम महाधिवेशनबाट घर्तीमगरको नेतृत्वमा एक सय सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । महासङ्घको उपाध्यक्षमा युवराज गुरुङ, मोहन छन्त्याल र विश्वदीप लिङ्देन, महामन्त्रीमा जगतबहादुर बराम, रामजी कोङरेन र मनहरि श्रेष्ठ निर्वाचित हुनुभएको निर्वाचन संयोजक विनोद गुरुङले जानकारी दिनुभयो ।

सहमहामन्त्रीमा दुर्गा सुनुवार, सुवासचन्द्र राई, श्रुती कुमाल, अभिषेक चौधरी राजवंशी, पेम्बा ग्याल्जेन शेर्पा, चेम चेपाङ, मनोज सिंह दनुवार र तेजबहादुर धिमाल निर्वाचित हुनुभएको छ ।    

यसैगरी, सदस्यमा सात प्रदेशबाट सदस्य निर्वाचित हुनुभएको संयोजक गुरुङले बताउनुभयो । महासङ्घको प्रथम महाधिवेशनको मङ्गलबार कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । 

प्रकाशित मितिः बिहिबार, १३ असार २०८१
https://jawaaf.com/storage/01J1CQP1FFQV0ZAR2REGS64A3B.jpg

‘बजेटमा राखिएका सुझाव सम्बोधन भएनन’

काठमाडौँ, १३ असार I राष्ट्रियसभाका सदस्यहरुले बजेटपछिको विनियोजन विधेयकमाथि भएको छलफलमा दुबै सदनका सांसदले दिएको सुझावलाई सामावेश नगरिएको भन्दै आपत्ति जनाएका छन् । आज बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८१ माथि  बिचार गरियोस्’ भन्ने प्रस्तावको छलफलको क्रममा उनीहरुले गुनासो गरेका हुन् । 

राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले नेपाल सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको र प्रतिनिधिसभाबाट सन्देशसहित आएको विनियोजन विधेयकमा अर्थ मन्त्रालयले सिधैँ रकम रकामन्तरण गर्ने प्रावधान रहेकाले यसलाई मन्त्रिपरिषद्ले रकमान्तरण गनुपर्ने सुझाव दिनुभयो । 

सांसद उर्मिला अर्यालले विनियोजन विधेयकमा बजेट कार्यन्वयनका लागि सहजीकरण गर्न वियेध आएको उल्लेख गर्दै खर्च व्यवस्थित गर्न आएको विधेयक आवश्यक र सान्दर्भिक रहेको बताउनुभयो । 

राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले बजेटको विषयमा दुबै सदनमा छलफल गर्ने र पास हुने भएकाले सांसदले जनताको भावना बुझेर विचार राखे पनि त्यो छलफलमा नसमेटिएको बताउनुभयो । 

“संसद्प्रति जनताको विश्वास बढेको छैन, यो प्रक्रिया बदल्नुपर्छ, सांसदको सुझाव समेट्नु पर्छ,” उहाँले भन्नुभयो, “कति सांसदले बजेट अघि प्रस्ताव गर्नुभएको योजना पर्छ उहाँहरु खुसी हुनुहुन्छ तर कतिपय सांसदले प्रस्ताव गर्नुभएको योजना पास हुँदै निराश हुनुहुन्छ, प्रथामिकताको आधारमा बजेट विनियोजन हुनुपर्छ ।”

राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले आयोजना कार्यान्वयनका लागि स्रोत परिचालनको आधार रहेको भन्दै कार्यान्वयन गर्ने पक्षमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । 

राष्ट्रियसभा सदस्य श्रीकृष्णप्रसाद अधिकारीले  अर्थतन्त्रका सम्भावना र चुनौतीकाबीच आएको विनियोजन विधेयकको समर्थन गर्नुभएको छ । राष्ट्रियसभा सदस्य गोपाल भट्टराईले छलफलमा उठेका विषयमा संशोधन गर्नुहुन्न भन्ने चलन  अन्त्य हुनुपर्ने बताउनुभयो । 

राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटाले पनि विनियोजन विधेयकमा सांसदले दिएको सुझाव समावेश नहुने गरेको भन्दै आपत्ति जनाउनुभयो । 

राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले सेवा प्रदायकलाई सहज बनाउन आएको विधेयकमा टिप्पणी गर्दै बजेट विनियोजन गर्ने क्रममा सन्तुलित रुपमा बजेट विनियोजन हुन नसकेको बताउनुभयो । राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले सन्तुलित रुपमा बजेट विनियोजन भएको भन्दै विधेयकको स्वागत गर्नुभयो । 

प्रकाशित मितिः बिहिबार, १३ असार २०८१
https://jawaaf.com/storage/01J1CQ6VEHWSGAXFE52137KR3X.jpg

उत्तर कोरियाद्वारा धेरै सङ्ख्यामा विष्फोटक पदार्थ बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण

सियोल, १३ असार  I प्योङयाङबाट फोहर बोकेका दर्जनौँ बेलुन दक्षिण कोरियामा पठाएको केही दिनपछि उत्तर कोरियाले एकै पटक धेरै सङ्ख्यामा बिष्फोटक पदार्थ बाक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेको सरकारी सञ्चारमाध्यमले बिहीबार बताएका छन् ।     
      
प्योङयाङले हतियार परीक्षणलाई तीव्रता दिएको छ । दक्षिण कोरियाका अधिकारकर्मीले उत्तरतर्फ पठाएका मानव अधिकार सुरक्षासम्बन्धी सन्देशसहितका बेलुन पठाएको प्रतिशोधस्वरूप प्योङयाङले दक्षिण कोरियामाथि फोहोरले भरिएको बेलुनहरू पाठाएको थियो ।     
      
बेलुनले सियोलको प्रमुख हब इन्चोन विमानस्थललाई बुधबार बन्द गर्न बाध्य बनाएको थियो र लगातार प्रक्षेपणहरूको प्रतिक्रियामा, दक्षिणले तनाव कम गर्ने सैन्य सन्धिलाई पूर्ण रूपमा निलम्बन गरेको छ र सीमा नजिकै प्रोपोगान्डा लाउडस्पीकर प्रसारण र प्रत्यक्ष–फायर अभ्यास पुनः सुरु गरेको छ ।     
      
उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार उत्तर कोरियाले ‘व्यक्तिगत मोबाइल वारहेडको पृथक्करण र मार्गदर्शन नियन्त्रण परीक्षण सफलतापूर्वक सम्पन्न गरेको’ दाबी गरेको छ । अघिल्लो दिन गरिएको परीक्षणका क्रममा ’छुट्टाछुट्टै मोबाइल वारहेडलाई सही तरिकाले तीन वटा ‘कोअर्डिनेट टार्गेट’मा डोरÞ्याइएको बताइएको छ ।     
      
केसीएनएले भनेको छ, “यो परीक्षण एमआईआरभी क्षमता सुरक्षित गर्ने उद्देश्यले गरिएको हो । यसमा धेरै स्वतन्त्र रूपमा टार्गेट गर्न सकिने रिएन्ट्री भेहिकल टेक्नोलोजी वा एउटै ब्यालेस्टिक क्षेप्यास्त्रमा धेरै वारहेड प्रहार गर्ने क्षमता उल्लेख गरिएको छ । दक्षिण कोरियाली सेनाले यसअघि बुधबार उत्तर कोरियाले गरेको परीक्षण हाइपरसोनिक क्षेप्यास्त्रको जस्तो देखिएको बताएको थियो ।     
      
उक्त क्षेप्यास्त्रबाट सामान्यभन्दा बढी धुवाँ निस्केको देखिएको र यसले दहनको समस्या निम्त्याउने सम्भावना बढेको अधिकारीहरूले बताएका छन् । केसीएनएका अनुसार यो परीक्षण १७० देखि २०० किलोमिटरको परिधिभित्र मध्यम दूरीको ठोस इन्धन ब्यालिस्टिक क्षेप्यास्त्रको पहिलो चरणको इन्जिन प्रयोग गरेर गरिएको थियो । उत्तर कोरियाले लगातार तीन दिनदेखि सयौं फोहोर बोक्ने बेलुन दक्षिणतर्फ उडाएको छ । सियोलको सेनाले बिहीबार बिहानसम्म उत्तरी ग्योन्गी प्रान्त र सियोल क्षेत्रमा करिब ७० वटा बेलुन अवतरण भइसकेका जनाएको छ ।     
“करिब १० किलोग्राम तौल भएका बेलुनहरू द्रूत गतिमा तल झर्दा खतरा हुन्छ,” उसले भनेको छ ।     
      
पछिल्ला बेलुनहरूको प्रतिक्रिया ‘रणनीतिक र परिचालन स्थितिको आधारमा लचिलो हुनेछ । यो उत्तर कोरियाको गतिविधिमा निर्भर गर्छ,” विज्ञप्तिमा भनिएको छ । दक्षिण कोरियाको मरिन कोरले बुधबारदेखि पश्चिमी अन्तरकोरियाली सीमा नजिकका टापुहरूमा प्रत्यक्ष फायर अभ्यास पुनः सुरु गरेको छ । सन् २०१८ मा उत्तर कोरियासँगको तनाव कम गर्ने सैन्य सम्झौता पछि यो अभ्यास पहिलो पटक सुरू गरिएको हो ।  

प्रकाशित मितिः बिहिबार, १३ असार २०८१
https://jawaaf.com/storage/01J1CGYEMXYJDFTXP0SNH8JVJ3.jpg

डेङ्गु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा कामपा

काठमाडौँ, १३ असार I काठमाडौँ महानगरपालिका स्वास्थ्य विभाग डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायमा सचेतना बढाउने अभियानमा जुटेको छ । नियमित पानी पर्न थालेसँगै यो रोगको जोखिम बढ्न सक्ने भन्दै कामपाले यही असार ९ गतेदेखि सबै वडामा उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । डेङ्गु नियन्त्रण्क ‘फोकलपर्सन’ ऋषि भुसालका अनुसार यस अभियानमा ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।

“रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्छन्, त्यसैले अभियान सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो ।

भुसालका अनुसार पानी जमेका खाल्डा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानमा क्रममा भइरहेका छन् ।

रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गर्नुभयो । “पानी परेको समयमा सडक र सडक किनाराका खाल्डाखुल्डीमा फोहर पानी जम्मा हुन्छ । यस्तो पानीमा लामुखट्टेको सङ्ख्या वृद्धि हुन्छ । लार्भा खोज्ने तथा नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो ।
   
लार्भा नष्ट गर्न लार्भिसाइड औषधिको प्रयोग गरिएको जनाउँदै भुसालले यो जैविक औषधि रहेको बताउनुभयो । “यसले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादी होइन । औषधिलाई पानीको माथिलो भागमा छर्किने गरिन्छ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ”, उहाँले भन्नुभयो ।

डेङ्गुको सङ्क्रमणका बारेमा परामर्श दिनका लागि कामपाले निःशुल्क हटलाइन टेलिफोन ११८० चौबीसै घण्टा सञ्चालनमा राखेको जनाएको छ । अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्थासमेत गरिएको छ  । एक्कासी उच्च ज्वरो आउनु डेङ्गुको मुख्य लक्षण हो । यससँगै धेरै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा बिमिरा आउनेलगायत यसका मुख्य लक्षण रहेका छन् ।

प्रकाशित मितिः बिहिबार, १३ असार २०८१
https://jawaaf.com/storage/01J1CAX2N0TCFZ5K69QCXBN79Z.jpg

एकीकृत समाजवादीद्वारा महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल

काठमाडौँ, १३ असार I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न महाधिवेशनमा प्रस्तुत गरिने चार प्रतिवेदनमाथि सातै प्रदेशमा छलफल सम्पन्न गरेको छ । राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनलाई साझा दस्तावेज बनाउन सबै प्रदेशका मातहतका कमिटीमा प्रतिवेदनमाथि छलफल गर्न पठाइएको थियो । सबै प्रदेशले सुझाव समावेश गरी केन्द्रमा पठाएका छन् ।     
      
सबै प्रदेशमा खुला छलफल गरी मातहत कमिटीले केन्द्रमा पठाएका सुझाव समावेश गरी केन्द्रीय चारवटा प्रतिवेदनलाई केन्द्रीय सचिवालय बैठकले सर्वसम्मतिले अनुमोदन गरेपछि एउटै दस्तावेज बनाएर महाधिवेशनमा लैजाने पार्टी स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो । असार १६ देखि २० सम्म काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनमा प्रस्तुत गरिने छ । पार्टीका नीति तथा कार्यक्रम पारित तथा नयाँ नेतृत्व चयन गर्ने विषयमा थप एकताबद्ध गर्ने विश्वास गरिएको छ ।     
      
पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले साङ्गठनिक प्रतिवेदन तयार पार्नुभएको हो ।     
      
 राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक, सांस्कृतिक पक्ष उल्लेख गरिएका छन् । उक्त प्रतिवेदनमा मुलुकको समसामयिक परिस्थिति, राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको आगामी कार्ययोजनासमेत प्रस्तुत गरिएको छ ।     
      
प्रतिवेदनमा समाजवादको स्वरुप, आर्थिक रुपान्तरणका साथै वैज्ञानिक समाजवादका विषय छन् । मुलुकमा सामाजिक न्याय, समानतासहित विकास तथा समृद्धिका लागि समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिइएको छ ।     
      
विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ । कायम रहेको ७० वर्षीय उमेरहद हटाउने भनिएको छ । युवा सहभागिता वृद्धि गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।     
      
साङ्गठनिक दस्तावेजमा देशभर पार्टी सङ्गठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त सङ्गठन निर्माणका विधि, महाधिवेशन केन्द्रित अभियान उल्लेख छन् । सशक्त पार्टी निर्माणका लागि सङ्गठनको महत्त्वपूर्ण भूमिका उल्लेख गरिएको दस्तावेजमा पार्टी निकट सबै सङ्गठन जनहितमा परिचालन गर्नुपर्नेमा जोड दिइएको छ ।     
      
पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले मातहतका अन्य १३ कमिटीले गरेका सम्पूर्ण काम महाधिवेशन केन्द्रित गर्न भनिएको छ । उक्त समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ ।     
      
पार्टी तथा जनसङ्गठनका सबै तहका कमिटीहरूले सम्पूर्ण कामलाई महाधिवेशन केन्द्रित गर्ने र महाधिवेशन प्रभावित हुनेगरी पार्टी सङ्गठनका कुनै गतिविधि नगर्न निर्देशन दिएको स्थायी समिति सदस्य रायमाझीले जानकारी दिनुभयो ।     
      
पार्टीले देशभरबाट एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरेको छ । छनोट गरिएका प्रतिनिधिको कुल सङ्ख्याको पाँच प्रतिशत अर्थात् ९५ जना प्रतिनिधि मनोनयन गर्ने व्यवस्था छ । केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने जनाइएको छ ।     
      
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट करिब तीन वर्षअघि विद्रोह गरी गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ । विसं २००६ मा कोलकातामा स्थापना भएको कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारी मानेको एकीकृत समाजवादी पार्टीले अहिलेसम्म सम्पन्न भएका नौवटा अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको छ ।

प्रकाशित मितिः बिहिबार, १३ असार २०८१
https://jawaaf.com/storage/01J1C5VR2502CEW6EY7A1NDVGX.jpg

मन्त्रीले सांसद पर्खनुपर्दा ...

काठमाडौं, १३ असार I  प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका गणपूरक सदस्यहरु निर्धारित समयमा उपस्थित नहुँदा आजको बैठक एक घण्टापछि सुरु भयो । बैठकका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ भने ठिक समय (बिहान ७ः३०) बजे समितिको सभाकक्ष, सिंहदरबारमा उपस्थित हुनुभएको थियो । 

निर्धारित समयमा २४ सदस्यीय समितिका सभापति अम्बरबहादुर थापासहित  छ सांसद मात्रै उपस्थित भएपछि बैठक सुरु हुनसकेन । ‘नेपाल विश्वविद्यालय सम्बन्धमा व्यवस्था गरेको विधेयक’माथिको छलफलका लागि राखिएको बैठकमा १०ः३० बजेपछि समितिका लागि शिक्षामन्त्री श्रेष्ठले आफ्नो अन्यत्र बैठक रहेकाले जान अनुमति माग्दा सभापति थापाले मन्त्री र सांसदहरुको समय मिलाउन आफूलाई हम्मेहम्मे पर्ने गरेको दुःखेसो गर्नुभयो । 

“म यो विधेयक छिटो पारित गरेर विद्यालय शिक्षासम्बन्धी विधेयकमा छलफलमा जाउँ भन्ने सोचेको हो तर सोचे जस्तो भइरहेको छैन ।’’, सभापति थापाले भन्नुभयो, “समयप्रति सबैले उत्तिकै चासो र गम्भीरता देखाउन आवश्यक छ ।’’ समितिको आजको बैठकमा उक्त प्रस्तावित विश्वविद्यालयका लागि कुलपति प्रधानमन्त्री राख्ने नराख्ने, उपकुलपतिका अधिकार कसरी व्यवस्थित गर्ने भन्ने लगायत विवाद भएको थियो । उक्त विवादलाई आपसी छलफल गरेर सहमतिको खाका पेस गर्न समितिले सदस्य विद्या भट्टराईलाई जिम्मेवारी दिएको छ । राष्ट्रियसभाबाट पारित सो विधेयकको दफा २८ सम्म छलफल भएको छ ।

प्रकाशित मितिः बिहिबार, १३ असार २०८१
https://jawaaf.com/storage/01J1BQX7KSAMH7FM2JA7WD393A.jpg

मदन भण्डारी राजमार्ग: झापा–सुनसरी खण्डमा २२ पुल निर्माण

झापा, १३ असार I मदन भण्डारी राजमार्गअन्तर्गत झापा –सुनसरी खण्डमा निर्माणधीन पुलको वित्तीय प्रगति ८५ प्रतिशत र भौतिक प्रगति ९० प्रतिशत भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार निर्धाणधीन ३७ वटा पुलमध्ये २२ वटा पूरा भएका छन् । निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर लामा छन् । निर्माण पूरा हुन बाँकी १५ पुलमध्ये नौ वटाको ‘एप्रोच’ सडक मात्र बन्न बाँकी छ । उहाँले संरचना निर्माण हुने क्षेत्रमा बन परेको र कटानको अनुमति नपाएका कारण काम रोकिएको बताउनुभयो । छ वटा पुलको भने आधारभूत संरचना नै बन्न बाँकी रहेको उहाँले बताउनुभयो ।     
      
मोरङ, सुनसरी, झापा र इलामका खोलामा पुल निर्माण भएका छन् । डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ् तेली, बिजुवा, बुकुवा, रतुवा खोलामा पुल निर्माण सम्पन्न भएको छ ।     
      
सूचना अधिकारी दत्तका अनुसार नौ वटा पुलको मूल संरचना सकिए पनि रूख कटान अनुमति लिने झन्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको छ । सबै पुलको लागत रु. छ अर्ब १२ करोड ६२ लाख ५४ हजार छ ।     
      
यसैगरी, सडकको भौतिक प्रगति भने न्यून रहेको छ । हालसम्म सडकतर्फको भौतिक प्रगति ४५ प्रतिशत मात्र भएको छ भने वित्तीय प्रगति ४५ दशमलव ८१ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । उहाँले रु. १० अर्ब १३ करोड लागतमा झापाको बाहुनडाँगीदेखि सुनसरीको चतरासम्म एक सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइएको बताउनुभयो । उहाँका अनुसार निर्माण व्यवसायीलाई काम सम्पन्न भएका अधिकांश आयोजनाको रु. २९ करोड भुक्तानी दिन बाँकी छ । पर्याप्त बजेट प्राप्त नहुँदा भुक्तानीमा विलम्ब भएको हो ।  

प्रकाशित मितिः बिहिबार, १३ असार २०८१
https://jawaaf.com/storage/01J1BQK4M8C65ARAG2XWEKR8BS.jpg

दिक्तेल–साप्सुखोला सडकमा श्रमदान

खोटाङ, १३ असार I दिक्तेल–साप्सुखोला सडकमा यातायातका साधन सञ्चालनमा समस्या भएपछि साकेला गाउँपालिकाका बासिन्दाले श्रमदान गरेका छन् । साकेलाका स्थानीयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ को लफ्याङ खण्डमा मर्मत गरेका हुन् ।     
     
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट साप्सुखोला हुँदै साकेला गाउँपालिकाको मानेभञ्ज्याङ–पाँचधारे तथा दिप्रुङ चुइचुम्मा हुँदै तराईका जिल्ला जोड्ने सडकअन्तर्गत लफ्याङ क्षेत्रको केही भागमा वर्षायाममा समस्या भएपछि स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय प्रमुख तथा प्रतिनिधि, नेपाल प्रहरी, कर्मचारी, स्थानीय व्यवसायी र नागरिक समाजका एक सय ५ जनाभन्दा बढी सदस्यले श्रमदान गरेका हुन्     
     
दिक्तेल–साप्सुखोला दश किलोमिटर सडकलाई असार अगावै मर्मत गरेर नियमित रूपमा यातायातका साधन सञ्चालन हुने वातावरण तयार गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले प्रतिबद्धता जनाउनुभएको छ ।     
     
यसैबीच, दिक्तेलस्थित अस्पतालचोक–लफ्याङको दुबेचिवा (तीन किलोमिटर) र दुबेचिवा–साप्सुखोला (चार किलोमिटर)सडक स्तरोन्नतिको काम पूरा नहुँदै सडक विभागले योजना कटौती गरेको छ ।  

प्रकाशित मितिः बिहिबार, १३ असार २०८१
https://jawaaf.com/storage/01J1AGZWGJ3REKAMSVWFM7AVE2.jpg

मुन्दुम पदमार्गको थप विकासमा जोड दिँदै टेम्केमैयुङ

भोजपुर, १२ असार I सरकारको घुम्नैपर्ने सय गन्तव्यभित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा रु एकरोड ९० लाख बढीको लागतमा विभिन्न संरचना निर्माण हुने भएको छ । टेम्केमैयुङ गाउँपालिका, स्वीस सरकार, प्रदेश र सङ्घ सरकारको रु एक करोड ९० लाख ५० हजार लगानीमा पदमार्गको थप विकास गर्न लागिएको हो ।   
  
स्वीस सरकारसँगै तीनवटै तहका सरकारले विकासमा जोड दिएको यस क्षेत्रमा पदमार्ग विस्तार तथा पुनःनिर्माण, स्थानीय वस्तुकला, सूचना बोर्ड, खानेपानी, शौचालयलगायत संरचना निर्माण गरिने टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ । यसका लागि गाउँपालिकाको रु ४५ लाख, प्रदेश सरकारको रु ५२ लाख १५ हजार, सङ्घीय सरकारको रु १० लाख ५० हजार र स्वीस सरकारको रु ४२ लाख ५० हजार बजेट लगानी हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिनुभयो । बजेटबाट पदमार्ग घुम्न आउने पर्यटकलाई लक्षित गरेर थप संरचना निर्माण हुने उहाँले बताउनुभयो । “मुन्दुम पदमार्ग देशकै स्थापित पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको छ”, प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो, “पछिल्लो समय यो पदमार्ग पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । यो बजेटबाट यसको थप विस्तार र विकास हुनेछ ।”   
  
गाउँपालिका उपाध्यक्ष रमादेवी राईले आगामी आर्थिक वर्षका लागि प्राप्त भएको बजेटबाट पर्यटन प्रवर्द्धनका लागि थप काम गरिने बताउनुभयो । मुन्दुम पदमार्गमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिका र प्रदेश सरकारको लगानीमा चखेवामा पर्यटन सूचना केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको उपाध्यक्ष राईले जानकारी दिनुभयो । “हाम्रो गाउँपालिका कृषि र पर्यटनको राम्रो सम्भावना बोकेको स्थानीय तह भएकाले त्यसलाई लक्षित गरेर योजनाबद्ध विकासमा जुटेका छौँ । मुन्दुम पदमार्ग पर्यटकको प्राथमिकतामा पर्ने गन्तव्यका रुपमा स्थापित हुँदै गएकाले यसको थप विस्तार र व्यवस्थापन गर्नुपर्ने आवश्यकता महसुस गरेर थप लगानी सुनिश्चितता गरिएको छ”, उहाँले भन्नुभयो ।   
  
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्गको बृहत्तर विकास गरेर गाउँपालिकाको दिगो आम्दानीको स्रोत स्थापित गर्ने योजनाको साथ काम गरिरहेको बताउनुभयो । यो पदमार्गबाट अग्ला हिमशृङ्खला, अग्ला डाँडा, तराईका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले छोटो समयमा नै पर्यटकको रोजाइमा पर्न थालेको र त्यसलाई थप व्यवस्थित गर्न आफूहरुले जोड दिइरहेको उहाँले बताउनुभयो । “मुन्दुम पदमार्ग सरकारको घुम्नैपर्ने सय गन्तव्यभित्र पर्न सफल पर्यटकीय क्षेत्र हो”, अध्यक्ष बस्नेतले भन्नुभयो, “यो पदमार्गको थप विकासका लागि हामीले योजनाबद्धरुपमा काम गरिरहेका छौँ । यसलाई गाउँपालिकाको दिगो आम्दानीको स्रोतकारुपमा स्थापित गराउने लक्ष्य छ ।”   
  
मुन्दुम पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । त्यस्तै पदमार्गको आसपासमा निर्माण भएका किरात राईहरुको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, घाँसेमैदान, स्थानीय गोठवालाले पालेका चाँैरी, भेडीचोकलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने गरेका छन् ।  

प्रकाशित मितिः बुधबार, १२ असार २०८१
https://jawaaf.com/storage/01J1AAEJFQHVY5GFPH6BQ1X5R1.jpg

एसइईको नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय

भक्तपुर, १२ असार I परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले  बिहीबार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “नतिजा आज सार्वजनिक गर्ने तयारी रहेको र बैठक बसेर नमुना अभ्यास पनि गरियो, केही प्राविधिक काम बाँकी भएकाले भोलि बिहान पुनः बैठक बसेर नतिजा सार्वजनिक गर्ने छौँ ।” असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका रहेको थियो । 

बोर्डले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक बताउनुभयो । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको ग्रेड सिट आउने उहाँले जानकारी दिनुभयो । 

आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा ४० प्रतिशतअर्थात् १० अङ्क ल्याउनुपर्छ । ‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् । विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अङ्क ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष ‘एनजी’ लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् । गतचैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार विद्यार्थीले परीक्षा दिएका छन् । ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।

प्रकाशित मितिः बुधबार, १२ असार २०८१