सोमबार, ०८ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KENVB5D16B1G1YD80M27F9GB.jpg

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं । नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो ।

तामाङको निधनप्रति गायक प्रमोद खरेलले सामाजिकमा लेखेका छन्,‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्यो । प्रिय प्रसान्त तामाङ हामी बीच रहनु भएन छ । उफ.. वैकुण्ठमा वास होस् ।’

त्यस्तै, संगीतकार अर्जुन पोखरेलले पनि दुःख व्यक्त गर्दै लेखेका छन्,‘नेपाली मन मुटुमा बस्न सफल प्रशान्त खड्का हामी माझ रहेनन् भन्ने खबर आयो । मन भारी भयो अति नै नरमाइलो लाग्यो । यो खबर असत्य होस भन्छु , आत्माको चिर शान्तिको कामना गर्दछु ।’ प्रशान्तको जन्म भारतमा दार्जीलिङको तुङ्सुङ भन्ने ठाउँमा भएको थियो ।

प्रकाशित मितिः आइतबार, २७ पुस २०८२
https://jawaaf.com/storage/01KENQ65RMN1DBCA6YXDNS0YGV.jpg

इटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा

विराटनगर । कोशी प्रदेशको एक केन्द्र सुनसरीको इटहरीमा शनिबार कवि, लेखक र पाठकहरू एकैठाउँ भेला भएका छन् । लेखक, पाठक र सिर्जनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित ‘फाइनप्रिन्ट फिभरः घुम्ती साहित्य उत्सव’ आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् ।

पूर्वका पाठकलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त उत्सवमा फाइनप्रिन्ट प्रकाशनबाट प्रकाशित ६ वटा कृतिमाथि संवाद गरिएको जनाइएको छ । महानायक राजेश हमालको आत्मकथात्मक कृति ‘युगदेखि युगसम्म’ माथि कवि मनु मञ्जिलले संवाद सञ्चालन गरेका थिए । संवादमा हमालको जीवन, प्रेम, कला, समय र सार्वजनिक व्यक्तित्वभित्रको निजी यात्रामाथि चर्चा गरिएको छ ।

त्यस्तै, २०८१ सालको मदन पुरस्कार विजेता उपन्यास ‘उरमाल’ का लेखक छुदेन काविमोसँग नाट्यकर्मी प्रज्वल पराजुलीले संवाद गरे । काविमोले कविता र उपन्यासलाई ‘सबैलाई सजाउने फूल’ का रूपमा व्याख्या गरेको आयोजकले जनाएको छ ।

डा. नवराज केसीको ‘स्वस्पर्श’ कृतिमाथि केन्द्रित संवादमा जीवन, पीडा र आनन्दका विभिन्न तहबारे चर्चा गरिएको जनाइएको छ । नाट्यकर्मी सोनु जयन्तीको सहजीकरणमा डा. केसीले जीवनलाई अलिक परबाट हेर्ने दृष्टि आवश्यक हुने बताएका थिए । कर्णालीमा कार्यरत बालरोग विशेषज्ञ केसीले दुःखका बीच पनि जीवनमा खुशी खोज्नुपर्ने धारणा राखेको जानकारी दिइएको छ ।

पद्यश्री पुरस्कार विजेता कृति ‘छालबाटो’ का लेखक रमेश भुसालसँग डा. अस्मिता विष्टले संवाद गरेको जनाइएको छ । यस्तै, ददि सापकोटाको ‘ज्ञानिका’ माथि पत्रकार मिलन बुढाथोकीले सहजीकरण गरेका थिए भने सुबिन भट्टराईका कृति ‘चमेलीको फूल’ र ‘बैजनी रुमाल’ माथि कवि धीरज राईले संवाद सञ्चालन गरेको आयोजकले जनाएको छ ।

कार्यक्रमको पहिलो चरणमा ११ जना कविहरूले कविता वाचन गरेका थिए । धीरज राई, टीका आत्रेय, तीर्थराज विश्वकर्मा, शुभलक्ष्मी लम्साल, विवेक विवश रेग्मी, अस्मिता विष्ट, अमित थेबे, सकुन्तला मञ्जरी, सुदीप पाख्रिन, मनु मञ्जिल र देवान किरातीका कविताले कार्यक्रमलाई भावनात्मक बनाएको जनाइएको छ ।

कवि बद्री भिखारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाइनप्रिन्टका सञ्चालक नीरज भारीले आफ्ना प्रकाशनका पाठक सबैभन्दा धेरै पूर्वमा रहेको बताए । पाठकप्रतिको सम्मानस्वरूप घुम्ती साहित्य उत्सव आयोजना गरिएको उनले जनाएका छन् ।

प्रकाशित मितिः आइतबार, २७ पुस २०८२
https://jawaaf.com/storage/01KENPYX9SVF0VM9NN6AD2TPET.jpg

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । महाधिवेशनमा सहभागी हुन बिहान ८ बजेबाट सुरु भएको महाधिवेशन प्रतिनिधिको नाम दर्ताका क्रममा ९ बजेसम्म करिब १० प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । “अहिले ९ बजेसम्म करिब १० प्रतिशत प्रतिनिधिले दर्ता गराइसक्नुभएको छ,” उनले भने, “७ वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ । अहिले पनि लामो लाइन छ, यसले सहभागिता उत्साहजनक हुने संकेत गर्छ ।”
शिवाकोटीका अनुसार महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । देशभरबाट प्रतिनिधि आउने क्रम जारी रहेको र भृकुटीमण्डप क्षेत्र पूरै महाधिवेशनमय बनेको उनले बताए । शुभेच्छुक तथा कांग्रेस कार्यकर्ताहरू समेत महाधिवेशन स्थलमा भेला हुन थालेका छन् ।

उता, विशेष महाधिवेशनको उद्घाटनअघि सहभागीहरूले काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी गरेका छन् । महाधिवेशन आयोजक समितिका अनुसार आज मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन सत्र सुरु हुनेछ । उद्घाटनअघि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गर्न लागिएको हो ।

सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ । जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम सुरु हुनेछ । आजै बन्दसत्र पनि प्रारम्भ गरिनेछ । विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ ।

दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ ।

प्रकाशित मितिः आइतबार, २७ पुस २०८२
https://jawaaf.com/storage/01KENF2VZ7XJGEAP8ES291S17S.jpg

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ । आइतबार काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे उद्घाटन भई विशेष महाधिवेशनको सुरु हुन लागेको हो ।
विशेष महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नाम दर्ता बिहान ८ बजेदेखि शुरू हुनेछ । कार्यक्रमस्थल भृकुटीमण्डपको मूल गेट सँगैका स्टलहरूबाट नाम दर्ता गरिने छ भने नाम दर्ताको लागि परिचय खुल्ने कागजात, पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रुपैयाँ लाग्ने छ ।

विशेष महाधिवेशनका लागि सबै जिल्लाबाट पक्षधर प्रतिनिधि काठमाडौंं आइसकेका छन् भने उनीहरुको लागि काठमाडौँका फरक फरक स्थानमा ३६ सय प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ ।
गत असोज २९ गते ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए । त्यसको अगुवाइ महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले गरेका थिए ।

कांग्रेसको विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मितिः आइतबार, २७ पुस २०८२
https://jawaaf.com/storage/01KEKS35NSQ21NT002VH93JV10.jfif

द ब्रिटिश कलेजमा आन्दोलनका नाममा रकम मागेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ परेका छन् ।  कलेजको व्यवस्थापनसँग ३० लाख रुपैयाँ मागेको र नदिए कलेज नै बन्द गराइदिने धम्की दिएका काभ्रेपलाञ्चोक जिल्ला चौंरीदेउराली गाउँपालिका वडा नं.४ स्थायी घर भई हाल जोरपाटी बस्दै आएका वर्ष २८ का ढकाल पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।

कलेज बन्द गर्न राजनीतिक र प्रशासनिक पहुँच प्रयोग गर्ने धम्की दिँदै रकमको बार्गेनिङ गर्ने ढकाल मुलुकी अपराध संजहता, २०७४ को दफा २५३ बमोजिम आपराजधक लाभ (एक्सिसइन) सम्बन्द्धी कसूरमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

ढकालले २०८२ साल पुस १६ र १७ गते नक्सालस्थित एक होटलमा कलेजको व्यवस्थापकसँग भएका भेटघाटका क्रममा डर, त्रास र दबाब सिर्जना गर्दै रकम नदिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको कलेज प्रशासनको भनाइ छ ।

ढकालविरुद्ध सामाजिक सञ्जाल तथा सीमित अनलाइन समाचार पोर्टलमार्फत कलेजको प्रतिष्ठा, विश्वसनीयता र छविमा नकारात्मक प्रभाव पार्ने सामग्रीहरू फैलाएको आरोप पनि लागेको छ । त्यस्तै, गत पुस ८ गते ब्रिटिश कलेज रहेको भवन ट्रेड टावर परिसरमा नारा जुलुस, तोडफोड तथा सवारी साधनमा क्षति पु¥याउने गतिविधिमा ढकाल पनि संलग्न भएको कलेजको दावी छ ।

ढकाल किल युनिभर्सिटीको सम्बन्धनमा सञ्चालन भइरहेको ब्रिटिश इन्टरनेशनल कलेजका पूर्व विद्यार्थी समेत हुन् । पीडित पक्षले दिएको जाहेरीमा धम्कीपूर्ण ह्वाट्सएप म्यासेज, अडियो रेकर्डिङ, समाचार सामग्रीका लिङ्क तथा अन्य कागजातहरू प्रमाणका रूपमा प्रहरीसमक्ष पेश गरिएको थियो । सोही आधारमा ढकाल पक्राउ परेका हुन् ।

प्रकाशित मितिः शनिबार, २६ पुस २०८२
https://jawaaf.com/storage/01KEKGHGJEHWWAZBB0FVRJYAB9.jpg

दुई भारतीय चलचित्र ओस्कार अवार्डको सूचीमा समावेश

काठमाडौं । दुई भारतीय चलचित्र ९८ औं ओस्कार अवार्डको सूचीमा समावेश भएका छन् । ऋषभ शेट्टी निर्देशित ‘कान्ताराः ए लेजेन्ड च्याप्टर १’ र अनुपम खेर निर्देशित ‘तन्वी द ग्रेट’—९८ औँ ओस्कारका लागि योग्य ठहरिएका २०१ फिचर फिल्महरूको सूचीमा परेका हुन् ।

यी चलचित्रहरूले एकेडेमीका सबै योग्यता मापदण्ड पूरा गरेका छन् । जसमा निश्चित समयावधिमा सिनेमाघरमा प्रदर्शन, गोप्य ‘आरएआईएसई’ फारम बुझाउने र चारमध्ये कम्तीमा दुई समावेशी मापदण्ड पूरा गर्नुपर्ने शर्तहरू समावेश छन् । प्रारम्भिक प्रदर्शनपछि ४५ दिनभित्र अमेरिकाका शीर्ष ५० बजारमध्ये कम्तीमा १० स्थानमा प्रदर्शन भएको हुनुपर्ने पनि आवश्यक थियो ।

‘कान्ताराः च्याप्टर १’ होम्बाले फिल्म्सद्वारा निर्मित चलचित्र हो, जसले भारतको तामिलनाडु क्षेत्रमा प्रचलित दैव आराधनाको उत्पत्ति र चौथो शताब्दीको कदम्ब वंशकालसम्मको कथा प्रस्तुत गर्दछ ।

चलचित्रमा ऋषभ शेट्टीले कान्तारा वन र त्यहाँका आदिवासी समुदायका संरक्षक ‘बर्मे’ को भूमिका निर्वाह गरेका छन् । अनुपम खेर निर्देशित ‘तन्वी द ग्रेट’ मा शुभांगीले तन्वी रैना नामक मुख्य पात्रको भूमिका निभाएकी छन् । चलचित्रले अटिज्म र भारतीय सेनासँग सम्बन्धित विषयवस्तु उठान गरेको छ ।

यसमा अनुपम खेर, ज्याकी श्राफ, बोमन इरानी र करण ट्याकरले पनि प्रमुख भूमिका निर्वाह गरेका छन् । ९८औँ एकेडेमी अवार्डका मनोनयनहरू जनवरी २२ मा सार्वजनिक गरिनेछन् । एएनआई

प्रकाशित मितिः शनिबार, २६ पुस २०८२
https://jawaaf.com/storage/01KEJWENC6VQKMJDK9NYG86XM8.jpg

विशेष महाधिवेशनले कांग्रेस सक्रिय, आज र्‍याली प्रदर्शन

काठमाडौं । आइतबार र सोमबार हुन लागेको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा तयारी तीव्र पारिएको छ। शुक्रबारदेखि महाधिवेशन स्थल वरपर पार्टी गतिविधि बढेका छन्।

विशेष महाधिवेशनमा सहभागी हुन देशभरका विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । शुक्रबार दिनभर भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षका नेताहरूको चहलपहल देखिएको थियो।

यसैबीच, विभिन्न जिल्ला कार्यसमितिहरूले विशेष महाधिवेशनको समर्थनमा विज्ञप्ति सार्वजनिक गर्ने क्रम पनि जारी छ। महाधिवेशन नजिकिँदै जाँदा पार्टीका विभिन्न समिति र संरचनाहरू सक्रिय भइरहेका छन्।

शनिबार कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठन समन्वय समितिले विशेष महाधिवेशनको समर्थनमा ¥याली निकाल्ने भएको छ।
समिति संयोजक तथा कांग्रेस नेतृ प्रतिमा गौतमका अनुसार ¥याली शनिबार दिउँसो १ बजे विशेष महाधिवेशन स्थल भृकुटीमण्डपबाट सुरु भई बागबजार परिक्रमा गरेर पुनः भृकुटीमण्डपमै आएर टुंगिनेछ।

र्‍यालीमा सहभागी हुन समितिले महाधिवेशन प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेको छ।

कांग्रेसको नियमित महाधिवेशन तोकिएको मितिमा हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए। विशेष महाधिवेशनको पक्षमा कांग्रेसको १४औँ महाधिवेशनका ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका छन्।

कांग्रेस विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था रहेको छ।

प्रकाशित मितिः शनिबार, २६ पुस २०८२
https://jawaaf.com/storage/01KEHB155N2JAENB2S6KQ7SBR2.jpeg

बराहक्षेत्रमा जंगली हात्तीको आक्रमण, दुई महिला घाइते

सुनसरी । बराहक्षेत्र नगरपालिका–३ अन्तर्गत पर्ने कालिन्द्र सामुदायिक वन क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट दुई स्थानीय महिला घाइते भएका छन्।

प्राप्त जानकारीअनुसार २०८२ माघ २५ गते दिउँसो करिब १२ः२० बजे घाँस काटेर घर फर्कने क्रममा बराहक्षेत्र–३ निवासी ३४ वर्षीया पूजन विश्वकर्मामाथि जंगली हात्तीले आक्रमण गरेको हो। नडाह–धरान सडकखण्डअन्तर्गत नडाह (टेकाने) नजिक हात्तीले आक्रमण गर्दा उनको निधार र दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही वडाकी ७२ वर्षीया मैयाँ बी.क. पनि घाँस काट्न जंगल गएकै क्रममा जंगली हात्तीको आक्रमणमा परेकी छन्। आक्रमणबाट उनको दाहिने खुट्टा भाँचिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघटीका प्रहरी निरीक्षक दिवश कुँवरले जानकारी दिए।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक कुँवरको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले दुवै घाइते महिलाको उद्धार गरी प्रहरीकै गाडीमार्फत उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा धरान पुर्‍याएको जनाएको छ।

प्रहरीका अनुसार हाल दुवै घाइतेको उपचार भइरहेको छ। उनीहरू दुबै होसमा छन्, बोल्न सक्ने अवस्थामा रहेको र अवस्था चिन्ताजनक नरहेको जनाइएको छ।

यस क्षेत्रका सामुदायिक वन आसपास जंगली हात्तीको आवतजावत बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। वन्यजन्तुबाट हुने जोखिम न्यूनीकरणका लागि दीर्घकालीन उपाय अपनाउन स्थानीयवासीले सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रकाशित मितिः शुक्रबार, २५ पुस २०८२
https://jawaaf.com/storage/01KEH5ZN3HKDYC680C87VMWZA0.jpg

कांग्रेस विशेष महाधिवेशन केन्द्रित मिडिया सेन्टर सञ्चालनमा

काठमाडौँ । नेपाली कांग्रेसको आगामी विशेष महाधिवेशनलाई केन्द्रमा राखेर मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ। मिडिया सेन्टर शुक्रबारदेखि काठमाडौँको प्रदर्शनीमार्गस्थित कार्यालयबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो।

नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा मिडिया सेन्टर सञ्चालन गरिएको हो । महाधिवेशन सम्बन्धी सूचना, समाचार तथा अन्य सामग्रीको प्रभावकारी प्रसार–प्रसारमा सहयोग गर्ने उद्देश्यले मिडिया सेन्टर स्थापना गरिएको संयोजक भण्डारीले जानकारी दिए ।

उनका अनुसार मिडिया सेन्टरमार्फत विशेष महाधिवेशनसँग सम्बन्धित समाचार, विज्ञप्ति, फोटो, भिडियो तथा अन्य सूचना सामग्री सञ्चार माध्यमसम्म सम्प्रेषण गरिनेछ । नेपाली कांग्रेसको विशेष महाधिवेशन यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

प्रकाशित मितिः शुक्रबार, २५ पुस २०८२
https://jawaaf.com/storage/01KEH3S2QENBMGWSD594KJ5ZAM.jpg

ट्रम्पलाई भेट्न भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडो वाशिंगटन जाने

काठमाडौं । भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडो आगामी साता अमेरिकाको राजधानी वाशिंगटन डीसी जाने भएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माचाडो अमेरिका आउन लागेको र उनले आफुलाई भेट्ने अपेक्षा व्यक्त गरेको बताएका छन् ।

ट्रम्पले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा,‘म बुझ्छु उनी अर्को साता कुनै समय आउँदैछिन र म उनलाई ‘भेट्नको लागि उत्सुक छु,’ भनि बताएको अमेरिकन सञ्चारमाध्यमले जनाएका छन् ।

यो भेट ट्रम्प र माचाडोको पहिलो प्रत्यक्ष भेट हुनेछ । माचाडोले अक्टोबर २०२५ मा नोबेल शान्ति पुरस्कार जितेपछि ट्रम्पसँग त्यो समयदेखि ट्रम्पसँग सीधा कुरा नभएको बताएकी थिइन् ।

ट्रम्पले माचाडोलाई ‘अति राम्रो महिला’ भनेका छन् तर भेनेजुएलामा उनको नेतृत्व क्षमताप्रति शंका पनि व्यक्त गरेका छन् । ट्रम्का अनुसार, देशभित्र उनले पर्याप्त समर्थन र सम्मान पाउने अवस्था छैन ।

माचाडोले फक्स न्यूजसँग दिएको अन्तरवार्तामा उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो समातिएको घटनाप्रति ट्रम्पलाई व्यक्तिगत रूपमा धन्यवाद भन्न चाहेको बताएकी थिइन् ।

प्रकाशित मितिः शुक्रबार, २५ पुस २०८२