सोमबार, ०८ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KF7T0QDSXT5DX02TCR91E64N.jpg

इरानमा प्रदर्शनका क्रममा हजारौँको मृत्यु भएको खामेनीको स्वीकारोक्ति

काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले हालै देशभर भएका प्रदर्शनका क्रममा हजारौँ मानिसको मृत्यु भएको पहिलोपटक सार्वजनिक रूपमा स्वीकार गरेका छन् ।

कडा दमनका कारण अन्तर्राष्ट्रिय रूपमा आलोचना भइरहेको बेला आएको यो स्वीकारोक्ति इरानी नेतृत्वका लागि असामान्य मानिएको छ । शनिबार टेलिभिजनमार्फत सम्बोधन गर्दै खामेनीले गत डिसेम्बरको अन्त्यतिर आर्थिक सङ्कट र व्यापक राजनीतिक असन्तोषका कारण सुरु भएका प्रदर्शनमा “केही हजार” मानिसको ज्यान गएको बताएका हुन् ।

उनले केही मृत्यु “अमानवीय र निर्दयी अवस्थाका कारण” भएको उल्लेख गरे पनि यसको दोष इरानी सुरक्षा निकायमाथि नलगाई अमेरिका तथा अन्य विदेशी शक्तितर्फ संकेत गरे । खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनलाई उक्साएको आरोप लगाउँदै उनलाई “अपराधी” को संज्ञा दिए । प्रारम्भमा महँगी र जीवनयापनको बढ्दो खर्चविरुद्ध सुरु भएका प्रदर्शन पछि सरकारविरोधी आन्दोलनमा रूपान्तरित भएको खामेनीको भनाइ छ । उनले प्रदर्शनकारीहरू विदेशी शक्तिद्वारा प्रयोग गरिएको दाबी गर्दै ‘अपराधी’लाई कारबाहीबिनाको छुट नदिइने चेतावनी पनि दिए ।

मानव अधिकार संस्थाहरूले भने प्रदर्शन र सुरक्षा बलबीचको झडपमा ३ हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरेका छन् । इन्टरनेट सेवा पटक–पटक बन्द गरिएकाले वास्तविक तथ्याङ्क पुष्टि गर्न कठिन भएको जनाइएको छ । खामेनीको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै ट्रम्पले इरानमा “नयाँ नेतृत्व खोज्ने समय आएको” टिप्पणी गरेका छन् । पोलिटिकोसँगको अन्तर्वार्तामा ट्रम्पले खामेनीलाई हिंसाका लागि जिम्मेवार ठहर गर्दै नेतृत्व गर्न अयोग्य भएको आरोप लगाए ।

“एक देशको नेताका रूपमा उनले देशलाई पूर्ण रूपमा नष्ट गरेका छन् र कहिल्यै नदेखिएको स्तरको हिंसा प्रयोग गरेका छन्,” ट्रम्पले भने । “नेतृत्व डर र मृत्यु होइन, सम्मानमा आधारित हुनुपर्छ।” उनले इरानलाई कमजोर नेतृत्वका कारण विश्वकै सबैभन्दा खराब बसोबासयोग्य देशमध्ये एकसमेत भने ।

यसैबीच, खामेनीले सामाजिक सञ्जाल ‘एक्स’ मा पनि अमेरिका विरुद्ध आरोप दोहो¥याउँदै हालको आन्दोलन अमेरिकाद्वारा योजनाबद्ध भएको दाबी गरेका छन् । “हालको विद्रोह अमेरिकाले योजना बनाएको हो। अमेरिकाको लक्ष्य इरानलाई निल्नु हो,” उनले लेखेका छन् ।
यद्यपि, केही साताको प्रदर्शन र सुरक्षा कारबाहीपछि तेहरानसहित प्रमुख सहरहरूमा जनजीवन क्रमशः सामान्य बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । एएनआई

प्रकाशित मितिः आइतबार, ०४ माघ २०८२
https://jawaaf.com/storage/01KF7SC08M4F814PT1V20C82V1.jpg

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च अदालत जाने

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत जाने भएको छ ।

शनिबार बसेको देउवा समूहको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

बैठकले कानुनी पाटोको जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो ।

खड्काले रिट तयार पार्नका लागि कानुन व्यवसायीहरुसँग छलफल समेत गरिसकेका छन् । त्यसमा बरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसी लगायतले साथ दिने बताइएको छ ।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले गरेको विशेष महाधिवेशनको औचित्य नहुने भन्दै देउवा पक्ष विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आइरहेका छन् ।

प्रकाशित मितिः आइतबार, ०४ माघ २०८२
https://jawaaf.com/storage/01KF7E1D7S6EH3BNRJMKHJCXTV.jpg

एमाले सचिवालय बैठक : भावी प्रधानमन्त्रीका रूपमा ओली अगाडि, प्रदेश र जिल्लागत उम्मेदवार टुङ्गो

काठमाडौं । हिजो (शनिबार) बसेको नेकपा (एमाले) को सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ।

बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पूर्ण बहुमत हासिल गर्ने आधार मजबुत रहेकाले त्यसलाई जोगाउन संगठनात्मक तथा राजनीतिक रूपमा दृढतापूर्वक अघि बढ्ने निष्कर्ष निकालेको हो ।

पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार सोही बैठकले प्रदेश र जिल्लागत रूपमा उम्मेदवारहरूको प्रारम्भिक सूचीसमेत टुङ्गो लगाएको छ ।
यस्तै, भट्टका अनुसार सुदूरपश्चिम प्रदेशका कैलालीबाट द्वारिका न्यौपाने, सूर्यबहादुर थापा, गौरीशंकर चौधरी, लेखराज भट्ट र यज्ञराज ढुङ्गाना उम्मेदवार सिफारिस भएका छन्।

कञ्चनपुरमा कमला बोहरा, वचनबहादुर सिंह र दीपक भट्ट अगाडि सारिएका छन्। अछाममा झपटबहादुर बोहरा र यज्ञ बोगटी, बाजुरामा लालबहादुर थापा, डोटीमा दीपक धामी, डडेल्धुरामा चक्र स्नेही, बझाङमा अफिलाल ओखेडा, बैतडीमा दामोदर भण्डारी तथा दार्चुलामा गणेशसिंह ठगुन्ना उम्मेदवार तय भएका छन्।

कर्णाली प्रदेशका सल्यानमा गुलाबजंग शाह, रुकुम पश्चिममा नन्दराम देवकोटा, सुर्खेतमा धुर्व शाही र कुलमणि देवकोटा उम्मेदवार छन्।
कालिकोटमा नागेन्द्र शाही (नेसनल), जुम्लामा शान्तिलाल महत र शान्तिबहादुर महत, मुगुमा पूर्णबहादुर रोकाया, हुम्लामा दल फडेरा, डोल्पामा लङ्क रोकाया चयन भएका छन्।

दैलेखमा रविन्द्रराज शर्मा र लक्ष्मीराज शर्मा तथा जाजरकोटमा डम्मरबहादुर सिंह उम्मेदवार तय भएका छन्।

लुम्बिनी प्रदेश क्षेत्रका नवलपरासीबाट रामप्रसाद पाण्डे र भगवतीप्रसाद यादव उम्मेदवार बनेका छन्। रुपन्देहीका केही क्षेत्रमा उम्मेदवार टुङ्ग्याउने जिम्मा अध्यक्षलाई दिइएको छ भने बासुदेव घिमिरे र खिमलाल भट्टराई सिफारिसमा परेका छन्।

कपिलवस्तुमा विश्राम चौधरी र बिरेन्द्र कडौनिया, दाङमा घनश्याम पाण्डे, बाँकेमा सूर्य ढकाल र दलबहादुर सुनार, बर्दियामा सालिकराम अधिकारी र विमला विक उम्मेदवार छन्।

पाल्पामा नारायण आचार्य र विष्णुप्रसाद पोडेल, रोल्पामा गोकुल घर्ती, प्यूठानमा सूर्यबहादुर थापा, अर्घाखाँचीमा पिताम्बर भुसाल तथा गुल्मीमा प्रदीप ज्ञवाली र गोकर्ण बिष्ट सिफारिस भएका छन्।

गण्डकी प्रदेशको नवलपुरबाट भागीरथ सापकोटा र तिलबहादुर (तिलक) महत क्षेत्री उम्मेदवार छन्।

गोरखामा आर.सी. लामिछाने र मिलन गुरुङ, लमजुङमा पृथ्वी सुब्बा गुरुङ, तनहुँमा भगवती न्यौपाने र केदार सिग्देल चयन भएका छन्।

स्याङ्जामा मिनप्रसाद गुरुङ र खिमबहादुर थापा, म्याग्दीमा हरिकृष्ण श्रेष्ठ, कास्कीमा बैणबहादुर क्षेत्री, कृष्ण थापा र दामोदर बैरागी उम्मेदवार छन्।

बागलुङमा हिरा केसी र मञ्जु शर्मा चालिसे, मुस्ताङमा इन्द्रधारा बिष्ट, मनाङमा पोल्देन सोताङ गुरुङ तथा पर्वतमा पदम गिरी उम्मेदवार बनेका छन्।

बागमती प्रदेशमा भने सिन्धुलीबाट प्रदीप केसी (कटुवाल) र मनोजजंग थापा, रामेछापमा माधवप्रसाद ढुङ्गेल, दोलखामा पार्वत गुरुङ उम्मेदवार छन्।

सिन्धुपाल्चोकमा आङदोर्जे शेर्पा र शेरबहादुर तामाङ, धादिङमा भूमी त्रिपाठी र धनबहादुर घले चयन भएका छन्। नुवाकोटमा बद्री मैनाली र केशव पाण्डे, रसुवामा प्रेमबहादुर तामाङ, मकवानपुरमा रामेश्वर राना र महेश बर्तौला उम्मेदवार छन्।

चितवनमा कृष्णराज (कमल) पाठक, अस्मिन घिमिरे र शंकरराज थपलिया तथा भक्तपुरमा सोमप्रसाद मिश्र र महेश बस्नेत सिफारिस भएका छन्। काठमाडौं र काभ्रेका केही क्षेत्रमा उम्मेदवार अध्यक्ष ओलीले टुङ्ग्याउने निर्णय भएको छ।

मधेश प्रदेशको सप्तरीमा सुमन प्याकुरेल, सतिश सिंह, ताराकान्त चौधरी र बालकृष्ण चौधरी उम्मेदवार छन् भने सिराहामा केदार यादव, नविनकुमार यादव, लिलानाथ श्रेष्ठ र बिल्टु यादव चयन भएका छन्।

धनुषामा रामचन्द्र मण्डल, उमाशंकर अग्रहरि, जुली महतो र रघुवीर महासेठ उम्मेदवार छन्। महोत्तरी, सर्लाही र पर्साका केही क्षेत्रमा उम्मेदवार टुङ्ग्याउने जिम्मा अध्यक्ष ओलीलाई दिइएको छ।

कोशी प्रदेशको पाँचथरमा ऐन्द्रसुन्दर नेम्वाङ, इलाममा काजिमान कागते र सुहाङ नेम्वाङ उम्मेदवार छन्। झापामा रामचन्द्र उप्रेती, देवराज घिमिरे, मनोज ताम्ली र पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयं उम्मेदवार सूचीमा छन्।

संखुवासभामा डा. अर्जुन कार्की, धनकुटामा राजेन्द्र राई, भोजपुरमा शेर्दन राई, तेह्रथुममा भानुभक्त ढकाल चयन भएका छन्।
मोरङ, सुनसरी र ताप्लेजुङका केही क्षेत्रमा उम्मेदवार अध्यक्षले टुङ्ग्याउने निर्णय गरिएको छ ।

पार्टीले छिट्टै बाँकी क्षेत्रका उम्मेदवार टुङ्ग्याएर चुनावी अभियानलाई तीव्र बनाउने पनि उपमहासचिव भट्टले जानकारी दिए ।

प्रकाशित मितिः आइतबार, ०४ माघ २०८२
https://jawaaf.com/storage/01KF50B1PXFYXBH65GPP1NKYDG.jpg

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा शनिबार बिहान ८ बजे बस्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थिति रहने जनाइएको छ ।

प्रकाशित मितिः शनिबार, ०३ माघ २०८२
https://jawaaf.com/storage/01KF501R9GEPBFKVMSRK65W5S4.jpg

कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पछिल्लो समय लोकप्रिय बन्दै गएको सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित बोराबाँधमा सूर्यास्त अवलोकनका लागि आइतबार साँझ पुगेका मुख्यमन्त्री कार्कीले यहाँको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले आधारभूत संरचना निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश सरकार, निजी क्षेत्र र स्थानीय तहको सहकार्यमा विकास अघि बढाइने उल्लेख गर्दै उनले कोशी नदीसँग जोडिएका सम्भावना र चुनौतीको पहिचान गरी प्रदेश सरकार आवश्यक भूमिका निर्वाह गर्न तयार रहेको धारणा व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले स्थानीय पर्यटन समितिलाई क्षेत्रका समस्या र आवश्यकताबारे लिखित रुपमा सरकारलाई जानकारी गराउन आग्रह गरे । सरकार कोशी नदीमा आधारित पर्यटन विकासको योजना बनाइरहेका स्थानीय तह र जनस्तरबाट भएको प्रचार, प्रसार तथा प्रवद्र्धन प्रशंसनीय रहेको उनको भनाइ छ । बोराबाँधको पर्यटन प्रवद्र्धनले अन्य सम्भावनायुक्त गन्तव्यलाई समेत प्रेरणा दिने विश्वास व्यक्त गरे ।

कोशी भ्रमण वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बोराबाँध क्षेत्रमा आवश्यक भौतिक तथा आधारभूत संरचना निर्माणमा प्रदेश सरकारको सहयोग रहने स्पष्ट पारे ।

प्रकाशित मितिः शनिबार, ०३ माघ २०८२
https://jawaaf.com/storage/01KF35797H7S60WRTHC8N59PB3.jpeg

मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मुगु । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि जिल्ला अदालत मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार स्थापना गरिएको छ । मुगु क्षेत्र नम्बर १ अन्तर्गत सञ्चालन हुने उक्त कार्यालय सदरमुकाम गमगढीस्थित जिल्ला अदालत परिसरभित्र रहनेगरी स्थापना गरिएको हो ।

निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन प्रशासनले आवश्यक तयारी तीव्र पारेको मुख्य निर्वाचन अधिकृत माननीय जिल्ला न्यायाधीश निमबहादुर कुवरले जानकारी दिए ।

उनका अनुसार जिल्लाभरि कुल ६७ वटा मतदान स्थल र ६९ वटा मतदान केन्द्र तोकिएका छन्, जसबाट मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । मुख्य निर्वाचन अधिकृत कुवरले निर्वाचन प्रक्रियालाई मर्यादित बनाउन सबै राजनीतिक दल, उम्मेदवार, मतदाता, सञ्चारकर्मी तथा सरोकारवाला निकायको सक्रिय सहयोग आवश्यक रहेको बताए ।

उनले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै डर, दबाब, प्रलोभन तथा अवाञ्छित प्रभावबाट मुक्त भई मतदान गर्न मतदातालाई अनुरोध गरे । उनका अनुसार निर्वाचनलाई भयरहित र विश्वसनीय बनाउन सुरक्षा व्यवस्था, कर्मचारी परिचालन, मतदान सामग्री व्यवस्थापन तथा मतदाता शिक्षासम्बन्धी कार्यक्रमलाई समेत प्राथमिकताका साथ अघि बढाइएको छ ।

निर्वाचनसँग सम्बन्धित कुनै गुनासो वा समस्या भए तत्काल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराउनसमेत आग्रह गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल, स्वच्छ र पारदर्शी रूपमा सम्पन्न गर्न निर्वाचन प्रशासनले सबै पक्षको सहकार्य अपेक्षा गरेको छ ।

प्रकाशित मितिः शुक्रबार, ०२ माघ २०८२
https://jawaaf.com/storage/01KF2QZ31GS031EPX8M5073XS1.jpg

वैधानिकता पाउन कांग्रेसभित्र रस्साकस्सी : ‘विशेष’ र ‘नियमित’ सम्बन्धी व्याख्याले अन्योलता

काठमाडौं । नेपाली कांग्रेस यतिबेला इतिहासकै गम्भीर मोडमा उभिएको छ । ०५९ असारमा विशेष महाधिवेशनपछिको यो दोस्रो महाधिवेशनपछि पार्टी विधिवत रुपमा पुनः विभाजित अवस्थामा छ ।

संकटकालको अवधि बढाउने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव कांग्रेस केन्द्रीय समितिले अस्वीकार गरेपछि विकसित घटनाक्रमले कांग्रेसको अनुशासन समितिले देउवालाई साधारण सदस्य समेत नरहनेगरी निष्कासित गरेको थियो । तर देउवाले महाधिवेशन प्रतिनिधिहरू डाकेर ०५९ असारमा विशेष महाधिवेशन आयोजना गरेर पार्टी विभाजन गरेका थिए ।

हाल फेरि कांग्रेस पुरानै अवस्थामा फर्किएको छ । २७ र २८ पुसलाई तोकिएको विशेष महाधिवेशन ३० पुससम्म आइपुग्दा विभाजनमा पुगेको छ । गगन थापा र विश्वप्रकाश शर्माले अगुवाइ गरेको दोस्रो विशेष महाधिवेशनले कांग्रेसलाई स्पष्ट रुपमा दुई कित्तामा विभक्त गरिदिएको छ ।

शुक्रबार मात्र विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वबारे निर्वाचन आयोगमा अद्यावधिक विवरण पेस भएको छ । सभापतिमा निर्वाचित थापा आफैँ निर्वाचन आयोग पुगेर आधिकारिकताका लागि पहल सुरु गरेका छन् । कांग्रेस चोइटिने र गुटगत रुपमा विभाजित हुने श्रृखंला पुरानै भएपनि यसपटक ठूलो तप्का छिन्नभिन्न बनेको छ । पार्टी पुनः सम्हालिएर बलियो र सुधारिएको कांग्रेस बन्न कठिन देखिएको छ ।

विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वका सवालमा कानुन व्यवसायीहरु पनि विभाजित देखिएका छन् । कांग्रेस पार्टीको विधानभित्रका धारा र उपधारालाई आ–आफ्नै तरिकाले व्याख्या गरिरहेका छन् । केही बरिष्ठ अधिवक्ताहरु गगन पक्षको खुलेर समर्थनमा छन् ।

वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले विशेष महाधिवेशनबाट चुनिएको कार्यसमिति नै वैधानिक रहेको दाबी गरिरहेका छन् । उनले गगन थापाको टिम विधिवत र सर्वसम्मत् ढंगले निर्वाचित भएकाले सोही समिति मान्य हुने दाबी गरिरहेका छन् ।

अर्का अधिवक्ता केशवराज जोशी २०७८ साल मंसिर २८ गते महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वको कार्यसमिति शतप्रतिशत वैधानिक रहेको दाबी गरिरहेका छन् । हालको विशेष महाधिवेशनमा कार्यविधि, कानून, विधान नअपनाइ गरिएको बोलाइएको भेलाले गठन गरेको कार्यसमिति नचिन्ने उनी बताउँछन् ।

नेपाल बारका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे पनि कांग्रेसको विधानअनुसार वैधानिक रुपमा विशेष महाधिवेशन सम्पन्न भएकाले चाँडै वैधानिकता पाउने बताउँदै आएका छन् ।

उनले नेतृत्व चयनको विषय पनि विवादको विषय नभएको भन्दै विशेष महाधिवेशनले ध्वनिमतबाट पारित गरेर कार्यविधि बनाएको र सोहीअनुसार नेतृत्व चयन गरिएको दाबी गरेका छन् । केन्द्रीय समितिले बोलाउनुपर्ने विशेष महाधिवेशन महामन्त्रीले बोलाएको हुँदा वैधानिकता हुनेमा कुनै समस्या नभएको उनको भनाइ छ ।

यता, युवा पुस्ताका अधिवक्ताहरु पनि विशेष महाधिवेशनका सन्दर्भमा विभाजित देखिएका छन् । अधिवक्ता नारायण पौडेल विशेष महाधिवेशनको ६० प्रतिशत बढी केन्द्रीय प्रतिनिधिहरु सहभागी भएको भेलाले चयन गरेको नीति र नेतृत्व वैध हुने दाबी गर्छन् ।

‘दुई महामन्त्रीलाई गरिएको कारवाही नै विधान विपरित छ । अघिल्लो दिन हलले कार्यसमिति भंग गरेको र भोलिपल्ट कुनै स्पष्टिकरण पनि नसोधी कारवाहीको निर्णय गरिएको कुरा नै वैध छैन् । यसमा व्यक्तिगत इगोले काम गरेको छ,’ उनले अगाडि भने,‘कांग्रेसको विधानको दफा १७(१)मा महाधिवेशन प्रत्येक चार बर्ष हुने भनिएको छ । सोही दफाको उपदफा(२)मा केन्द्रीय समितिले आवश्यक ठानेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको लिखित माग गरेका विशेष महाधिवेशन हुनुपर्छ । सोही अनुसार महाधिवेशन भएको हो । अहिले तीन महिना पुगेकाले विधानसम्मत अधिवेशन भएको हो । यसलाई अवैध कायम गर्न सक्छ जस्तो लाग्दैन् ।’

केन्द्रीय समितिले आफैं विशेष महाधिवेशन बोलाएको भए हालको अवस्था नआउने उनको जिकिर छ । कार्य सम्पादन समितिको बैठकले गरेको निर्णय केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्ने भएपनि त्यो नभएकाले देउवा नेतृत्वले गरेको निर्णय अवैध हुनसक्ने उनले अनुमान गरे ।
नियमित र विशेष महाधिवेशनका बारेमा विधान स्पष्ट नभएकाले अन्योलता सिर्जना गरेको पनि उनको भनाइ छ । हुनत कांग्रेस अझै विभाजित अवस्थामा नभएकाले निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म पुग्दा फरक अवस्था हुने उनले बताए ।

अर्का अधिवक्ता वोधविक्रम थापा विशेष महाधिवेशन सहभागी भएका प्रतिनिधि नै अवैध भएको दाबी गर्छन् । ‘शेर बहादुर देउवा नेतृत्वको कार्यसमिति एक बर्ष म्याद थपेर काम गरिरहेकाबेला विशेष महाधिवेशनका नाममा अर्को नेतृत्व चयन गर्नु वैधानिक देखिदैन् । नियमितका लागि तोकिएको कार्य तालिका सार्वजनिक गर्नेको हिस्सेदार महामन्त्रीद्वय भएकाले विशेषमा गएर नयाँ नेतृत्व चयन गर्ने काम व्यवहारिक नहोला । यसका लागि राजनीतिक दल सम्बन्धि ऐन आकर्षित हुन्छ,’ उनले भने ।

विवाद निरुपण सम्बन्धी सुनुवाइ हुने भएकाले सबै विवाद निर्वाचन आयोगको कोर्टमा पुगेको उनले बताए । पार्टीको आधिकारिताबारे तत्काल छिनोफानो संभव नहुने भएकाले तत्कालका लागि शेर बहादुर देउवाकै नेतृत्वमा रहेको कांग्रेस चुनावमा जानसक्ने उनले अनुमान गरे ।

यद्यपी, कानुनलाई कति मान्ने भन्दापनि आवश्यक्ताको सिद्धान्तलाई मान्नुपर्ने अवस्था आउनसक्ने उनले आंकलन गरे । निर्वाचन आयोगलाई पनि कांग्रेसको विधानले अफ्ठयारो पार्नेसक्ने दाबी गरे । किनकी नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको र विशेष महाधिवेशनका लागि कुनै कार्यविधि नभएकाले अवस्था पेचिलो बन्ने उनको भनाइ छ ।

‘नियमित महाधिवेशनका लागि त अलग्गै कार्यविधि, नियमावली छ तर विशेषका सवालमा बोलाउनुपर्नेछ मात्र भनिएको छ । आब्हानकर्ताहरुले पनि नेतृत्व परिवर्तन गर्ने वा महामन्त्री परिवर्तन गर्ने वा पूर्ण कार्यसमिति नै परिवर्तन गर्ने सवालमा विशेष महाधिवेशनले केही बोलेको छैन् । त्यसैले विशेषले परिवर्तन गरेको कार्यसमिति वैध हुने अवस्था देखेको छैन्,’ उनको दाबी छ ।

प्रकाशित मितिः शुक्रबार, ०२ माघ २०८२
https://jawaaf.com/storage/01KF29B0Y40KMTAG3ATTBYHW1C.jpg

निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी र अधिकार के के हुन् ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता मतदान केन्द्र पुग्दा सबै प्रक्रिया व्यवस्थित र सुरक्षित देखिन्छ।
तर, यो व्यवस्थाको केन्द्रमा रहने व्यक्ति हुन्– मतदान अधिकृत । मतदान केन्द्रको सम्पूर्ण व्यवस्थापन, सुरक्षा र निष्पक्षताको जिम्मेवारी उनकै काँधमा हुन्छ ।

निर्वाचन आयोगले जारी गरेको ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, २०८२’ अनुसार मतदान अधिकृत नियुक्त भएपछि निर्वाचनसम्बन्धी अनिवार्य तालिममा सहभागी हुनुपर्छ। साथै, मतदानका लागि आवश्यक मतपेटिका, मतपत्र, मतदाता सूची, छापलगायतका सामग्री रुजु गरी बुझिलिनुपर्ने व्यवस्था छ।

मतदान अधिकृतले आफूलाई तोकिएको मतदान केन्द्रमा पुगेर सहायक मतदान अधिकृत, कर्मचारी, स्वयंसेवक तथा सुरक्षाकर्मीसँग समन्वय गर्छन्। मतदान केन्द्र समयमै निर्माण गर्ने, मतदानअघि मतदाता परिचयपत्र वितरण गर्ने तथा कर्मचारीहरूलाई कामको बाँडफाँट गर्ने जिम्मेवारी पनि उनकै हुन्छ।

मतदान सुरु भएपछि मतदातालाई मतपत्र दिनुअघि त्यसमा हस्ताक्षर गर्ने, मतदान प्रक्रिया शान्त, व्यवस्थित र निष्पक्ष ढंगले सञ्चालन भइरहेको छ कि छैन भन्ने विषयमा निरन्तर अनुगमन गर्ने दायित्व मतदान अधिकृतको हुन्छ। मतदानको अवस्थाबारे समय–समयमा निर्वाचन अधिकृतलाई जानकारी गराउनुपर्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख छ।

मतदानका दिन केन्द्रमा आउने पर्यवेक्षक, पत्रकार, अनुगमनकर्ता तथा घुम्ती टोलीलाई मतदानको अवस्थाबारे जानकारी गराउने, निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउने र कुनै पनि गैरकानुनी गतिविधि हुन नदिन सतर्कता अपनाउनु मतदान अधिकृतको अर्को महत्वपूर्ण जिम्मेवारी हो।

मतदान सम्पन्न भएपछि मतपेटिका शिलबन्दी गरी मुचुल्कासहित सुरक्षित तरिकाले निर्वाचन अधिकृतलाई बुझाउनुपर्छ। साथै, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिमको अधिकार प्रयोग गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउनु मतदान अधिकृतको प्रमुख कर्तव्य हुने निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित मितिः शुक्रबार, ०२ माघ २०८२
https://jawaaf.com/storage/01KF0HSK8ZBQBJ5T3GY8TRVNKA.jpg

आवश्यक सबै कागजात निर्वाचन आयोगमा बुझाइसकेको छौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशनबाट भएका निर्णय नै पार्टीका लागि सर्वोपरी हुने दाबी गरेका छन् ।
विशेष महाधिवेशनका निर्णयहरू अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै विधानअनुसार नै विशेष महाधिवेशन सम्पन्न गरिएको बताए । उनले नेतृत्व परिवर्तनसम्बन्धी आवश्यक सबै कागजात आयोगमा बुझाइसकेको जानकारी दिए ।

उनले भने, ‘विशेष महाधिवेशनले नेतृत्व चयनसम्बन्धी निर्णयसमेत गरेको छ, जसका कारण विद्यमान केन्द्रीय कार्य समिति परिवर्तन भइसकेको छ । नयाँ केन्द्रीय कार्य समितिको विवरण राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ । सोही अनुसार हामीले आयोगमा निवेदन दिएका हौं ।’

थापाका अनुसार कांग्रेस पार्टीको विधानको धारा १७ को उपधारा २ अनुसार विशेष महाधिवेशन आयोजना गरिएको हो । उनले पार्टी विधानको धारा १५ अनुसार महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गरेका निर्णय नै अन्तिम र सर्वोपरी हुने स्पष्ट पारे ।

थापाले आयोगमा आवश्यक सबै विवरण तथा प्रमाण बुझाइसकिएको बताउँदै माघ ६ गते उम्मेदवारी मनोनयनको कार्यक्रम रहेकाले भोलि वा पर्सीसम्म अद्यावधिक प्रक्रिया टुंगिने विश्वास व्यक्त गरे । उनले विशेष महाधिवेशनका निर्णयहरू सार्वजनिक भइसकेको पनि उल्लेख गरे ।

उनले भने,‘हामीले आज निर्वाचन आयोगमा त्यही कुरा हाम्रो विशेष अधिवेशन सम्पन्न भयो र त्यसले लिडरसिप परिवर्तन गरेको छ । केन्द्रीय कार्यसमिति नै नयाँ आएको छ । त्यसलाई अद्यावधिक गरिदिनुहोला भनेर आयोगमा निवेदन लिएर आएका हौं । चाहिने सबै विवरण हामीले बुझाएका छौं । माघ ६ गते उम्मेदवारी मनोनयनको कुरा छ । त्यसैले भोलि ढिलोमा पर्सीसम्ममा अद्यावधिकको काम टुङ्गिन्छ भन्ने विश्वास छ । हामीले सबै तथ्य प्रमाणसहित बुझाएका छौँ । बाहिर पनि सार्वजनिक छन् ।’

त्यस्तै,महामन्त्री प्रदीप पौडेलले कांग्रेस पार्टी विधानले निर्दिष्ट गरेअनुसार चल्नेपार्टी भएको भन्दै सोही अनुसार नै पार्टी चलिरहेको दाबी गरे । विधानभन्दा बाहिर गएर संवाद गरेर सहमति खोज्न सम्भव नुहने उनको भनाई छ ।

उनले भने,‘कांग्रेस पार्टी त विधानले निर्दिष्ट गरेअनुसार चल्ने होला नि त । सोही अनुसार नै पार्टी चलिरहेको छ । विधानभन्दा बाहिर गएर संवाद गरेर सहमति खोजौं भनेर सम्भव हुँदैन ।’

प्रकाशित मितिः बिहिबार, ०१ माघ २०८२
https://jawaaf.com/storage/01KF0CEWJQ8AJRH79D37JK55PG.jpg

गगन नेतृत्वको काँग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त

काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली काँग्रेसले पार्टीको प्रवक्तामा देवराज चालिसेलाई नियुक्त गरेको छ । आज विहिबार कुपण्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले चालिसेलाई पार्टीको प्रवक्तामा नियुक्त गरेको हो । प्रवक्ता चालिसेले बैठकले सभापति गगन थापाको अध्यक्षतामा पार्टीको घोषणापत्र निर्माणको लागि घोषणा समिति निर्माण गरेको जानकारी दिए ।
उनले भने,‘सच्चीएको कांग्रेस निर्माण गर्दै पार्टीको घोषणापत्र निर्माणको लागि सभापति ज्यूको अध्यक्षतामा घोषणा समिति निर्माण गरेको छौं ।’ त्यस्तै उनले उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा निर्वाचन परिचालन समिति पनि गठन गरिएको जानकारी दिए ।
उनका अनुसार आजै पार्टीलाई अध्यावधिक गर्न गगन नेतृत्वको काँग्रेस निर्वाचन आयोग जाँदैछ ।

प्रकाशित मितिः बिहिबार, ०१ माघ २०८२