आज माघे सङ्क्रान्ति, घिउ,चाकु,तरुल खाएर मनाइँदै
काठमाडौं । आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति तथा माघी पनि भनिन्छ।
माघे सङ्क्रान्तिमा घिउ, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकार खाने प्रचलन छ। जाडो मौसममा शरीरलाई न्यानो र सुदृढ राख्न यी परिकार उपयोगी हुने आयुर्वेद चिकित्सकहरू बताउँछन्।
नेपालका विभिन्न जातजातिले माघे सङ्क्रान्तिलाई आ–आफ्नै संस्कार र परम्पराअनुसार मनाउने गर्छन्। विशेष गरी थारू समुदायले यस दिनलाई नयाँ वर्ष (माघी) का रूपमा मनाउने परम्परा छ।
आजको दिन घिउ, चाकु, तिलका परिकार नखाने, दान नगर्ने, स्नान र ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने जनविश्वास रहेको छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा शरीरका दूषित पदार्थ बाहिर निस्कने तथा नाडी, स्नायु र हड्डी मजबुत हुने विश्वास छ।
तराईवासीहरूले माघ १ लाई नहान पर्व का रूपमा मनाउने गर्छन्। बिहानै तीर्थस्थलमा स्नान गरी तिल दान गर्नाले विशेष पुण्य प्राप्त हुने धार्मिक मान्यता छ।
आजदेखि उत्तरायण सुरु हुने भएकाले दिन लामो र रात छोटो हुँदै जान्छ। उत्तरायणको दिन स्नान, दान, जप, तप र ध्यानलाई विशेष पुण्यदायी मानिने भएकाले देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी र रिडी लगायतका तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको छ। यी स्थानमा विशेष मेला पनि लाग्ने गर्छ।
महामन्त्रीद्वय ५ वर्षका लागि पार्टीबाट निष्कासित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ५ वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ ।
बुधबार सानेपामा बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय सहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको प्रचारप्रसार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।
उनले भने, ‘उहाँहरुलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी आजैदेखि लागू हुनेगरी निष्कासित गर्ने निर्णय भएको छ ।’
पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आव्हान गरेकोले उनीहरूलाई केन्द्रीय कार्य समिति बैठकबाट निष्कासन गर्ने निर्णय गरिएको हो । बैठकले विशेष महाधिवेशनमा गएकाहरूलाई फर्किनसमेत आग्रह गरेको छ ।
‘आकर्षण र लहैलहैमा लागेर साथिहरुले पार्टीको हित विपरित कार्य गर्ने अन्य पदाधिकारीहरुलाई पार्टीमा फर्कन आव्हान गरेको छ ।’ उनले भने
वार्ता गर्दा पनि उचित निर्णयमा पुग्न नसक्दा यो कठोर निर्णयमा पार्टी पुगेको उनले बताए ।
यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला
काठमाडौं । आज भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं. ८५२ (जहाज ९ एन–एएमडी) ढिला भएको छ।
बुद्ध एयरका अनुसार यात्रु सुमन गौतमले अनाधिकृत रूपमा जहाजको आपतकालिन ढोका खोलेका कारण उडान प्रभावित भएको हो।
घटना पश्चात उक्त यात्रु तत्काल विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ। जहाजको सुरक्षा र प्राविधिक परीक्षण सुनिश्चित गर्न काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ भने परीक्षण पूरा भएपछि मात्र जहाजले उडान भर्ने बुद्ध एयरले जनाएको छ ।
नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालिन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध मानिन्छ। यस घटनाले यात्रुवर्गमा पारेको असुविधाप्रति बुद्ध एयरले क्षमाप्रार्थी गरेको जनाएको छ।
आज राष्ट्रिय भाक्का दिवस मनाइँदै, राजवंशी समुदायको परिकार भाक्का सबै जातजातिमा लोकप्रिय
काठमाडौं । राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले प्रत्येक वर्ष पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउँदै आएका छन्।
यो वर्ष पनि विभिन्न स्थानमा प्रवद्र्धनात्मक कार्यक्रमसहित भाक्का दिवस मनाइँदै छ।
पहिले कोच राजवंशी समुदायमा मात्र सीमित रहेको भाक्का खाने परम्परा पछिल्लो समय अन्य जातजातिमा समेत लोकप्रिय बन्दै गएको छ। विभिन्न समुदायले भाक्कालाई रुचाउन थालेपछि यसको पहिचान र संरक्षणका लागि पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउने परम्परा सुरु गरिएको हो।
भाक्का राजवंशी समुदायको परम्परागत परिकार हो, जुन विशेषगरी हिउँद याममा बढी खाने गरिन्छ । चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिने भाक्का सामान्यतया चटनीसँग खाने गरिन्छ । स्वादिलो मात्र नभई स्वास्थ्यका दृष्टिले पनि उपयोगी मानिने भाक्कालाई पूर्वी नेपालको एक प्रमुख परिकारका रूपमा लिइन्छ।
भाक्काको मौलिकता, पोषणीय गुण र सांस्कृतिक पहिचानलाई जोगाउँदै नयाँ पुस्तामा यसको महत्व स्थापित गर्नुपर्ने आवश्यकता रहेको छ ।
रौतहटमा तीन दिन ‘माघी महोत्सव’ हुने
रौतहट । आगामी माघे संक्रान्ति (माघी) पर्वको अवसरमा रौतहटको गुजरा नगरपालिका वडा नं. ९, दयालपुरमा भव्य ‘माघी महोत्सव २०८२’ आयोजना हुने भएको छ । थारु कल्याणकारी सभा लगायत विभिन्न थारु संघ–संगठनहरूको संयुक्त आयोजनामा प्रत्येक वर्ष झैँ यस वर्ष पनि माघीलाई विशेष उत्सवका रूपमा मनाउन लागिएको हो ।
गुजरा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष प्रेम चौधरीका अनुसार महोत्सव आगामी माघ १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुनेछ । थारु कल्याणकारी सभा जिल्ला कार्य समितिको दयालपुरस्थित नवनिर्मित भवनको प्राङ्गणमा कार्यक्रमको तयारी भइरहेको छ । महोत्सवमा विशेष गरी ख्यातिप्राप्त थारु कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति रहने वडाध्यक्ष चौधरीले जानकारी दिए ।
पछिल्लो समय थारु समुदायका युवा पुस्ता आधुनिक पश्चिमा संस्कृतितर्फ आकर्षित हुँदै गएपछि आफ्नो मौलिक संस्कृति ओझेलमा पर्न थालेकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । वडाध्यक्ष चौधरीले भने, ‘हाम्रा युवाहरूले आफ्नो परम्परा र संस्कृति नबिर्सुन् भन्ने मुख्य उद्देश्यका साथ यस वर्ष हामीले सांस्कृतिक कार्यक्रम र प्रदर्शनीलाई विशेष प्राथमिकता दिएका छौँ ।’
महोत्सवको मुख्य आकर्षण थारु जातिको ऐतिहासिक एवं मौलिक पहिचानको प्रदर्शनी रहनेछ। कार्यक्रममा थारु समुदायले दैनिक कार्यमा प्रयोग गर्ने परम्परागत सामग्रीहरू, प्राचीन पहिरन तथा ऐतिहासिक नाचहरूको प्रदर्शन गरिनेछ । यसका साथै थारु समुदायका मौलिक परिकारहरू जस्तैः घोंगी, माछाको सिध्रा, माछाको सुकुटी, मासु र भुजाको लड्डु (लाई) का स्टलहरू समेत राखिनेछन् ।
थारु समुदायले माघीलाई नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । यस दिन ठुलो परिवारका सदस्यहरू एकै ठाउँमा भेला भई आगामी वर्षको योजना बुन्ने, सगोलमा बस्ने वा छुट्टिने भन्ने जस्ता पारिवारिक निर्णयहरू लिने परम्परा रहेको छ ।
रौतहटका जुडिवेला, सन्तपुर, मोथियाही, बसन्तपुर, मैरा, कटानी, चोचा, रंगपुर र राजपेडा लगायतका क्षेत्रहरू थारु बहुल्यता छ । यी क्षेत्रका स्थानीयहरू माघी महोत्सवलाई लिएर निकै उत्साहित देखिएका छन् । महोत्सवले थारु समुदायको कला, संस्कृति र खानपानको प्रवद्र्धन गर्नुका साथै जातीय एकतालाई अझ मजबुत बनाउने विश्वास लिइएको छ ।
नेप्से सामान्य अंकले घटेर २६३५ विन्दुमा बन्द, कारोबार रकम भने बढ्यो
काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार बढेर बन्द भएको नेप्से, यस दिन भने ५.५४ अंकले घट्दै २६३५.०० विन्दुमा झरेको हो ।
यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंकले घटेका छन् । नेप्से घटेपनि सोमबार कारोबार रकममा भने उल्लेख्य वृद्धि देखिएको छ ।
गत बिहीबार ४ अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा यस दिन ३३३ स्टकको ७८ हजार ८०८ पटकको कारोबारमा ६ अर्ब ४७ करोड २६ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड २३ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन दुई कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । एसवाई प्यानल नेपाल र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर मूल्य सकारात्मक सर्किटमा पुगेको हो । त्यस्तै, रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर मूल्य साढे ८ प्रतिशतले बढेको छ भने सिटिजन्स म्युचुअल फण्ड–३ को इकाई मूल्य करिब ६ प्रतिशतले वृद्धि भएको छ । यता, कारोबारमा आएको सुपर मादी हाइड्रोपावरको शेयर मूल्य भने ४.२५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सोमबार एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४२ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसपछि राधी विद्युत कम्पनीको साढे ३१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम साढे २७ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये सोमबार ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक, होटल तथा पर्यटन तथा म्युचुअल फण्ड उपसमूहका परिसूचक सामान्य रूपमा बढेका छन् । यता, व्यापार उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक १.१६ प्रतिशतले घटेको छ ।
गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो
काठमाडौं । दिल्लीमा निधन भएका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सोमबार बिहान सिलिगुडीस्थित बागडोगरा विमानस्थल ल्याइएको छ । विमानस्थलमा दार्जिलिङका भाजपाका सांसद राजु बिष्टसहित मनोरञ्जन क्षेत्रका विभिन्न व्यक्तित्वहरूले दिवंगत तामाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।
गोर्खा शहीद सेवा समितिका राष्ट्रिय अध्यक्ष एन्ड्र्यु गुरुङका अनुसार तामाङको पार्थिव शरीर विमानस्थलबाट दार्जिलिङ लगिनेछ । त्यहाँ चौरास्ता, दार्जिलिङमा सर्वसाधारण र प्रशंसकहरूका लागि अन्तिम दर्शनको व्यवस्था गरिनेछ । त्यसपछि परिवारजन र स्थानीय बासिन्दाको उपस्थितिमा अन्त्येष्टि गरिने कार्यक्रम छ ।
सांसद राजु बिष्टले तामाङको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै भने, ‘प्रशान्त तामाङको योगदान अतुलनीय छ । उनले आफ्नो गायन र कलाकारितामार्फत सम्पूर्ण गोरखा समुदायलाई एकताबद्ध गरे । यो हाम्रो लागि ठूलो क्षति हो, कठिन घडीमा हामी उनको परिवारसँगै छौँ ।’
दार्जिलिङका स्थायी बासिन्दा तामाङको आइतबार दिल्लीस्थित निवासमै निधन भएको थियो । यस विषयमा दक्षिण–पश्चिम दिल्लीका एडीसीपी अभिमन्यु पोस्वालले जानकारी दिँदै भने, ‘आइतबार दिउँसो ३ः१० बजे माता चनन देवी अस्पतालबाट एमएलसी प्राप्त भएको थियो ।
अस्पतालमा प्रशान्त तामाङलाई ‘ब्रोउट डेड’ घोषणा गरिएको थियो । घटनास्थलमा अपराध अनुसन्धान टोली र एफएसएल टोलीले प्रमाण संकलन गरेको छ । मृत्युको कारण पुष्टि गर्न पोस्टमार्टमका लागि शव डीडीयू अस्पताल पठाइएको थियो ।’
उनका अनुसार, पोस्टमार्टम रिपोर्ट नआएसम्म कुनै पनि शंकास्पद कारणबारे निष्कर्ष निकाल्न कठिन रहेको छ । तामाङसँगै उनकी पत्नी र छोरी बस्दै आएका थिए र पत्नीले नै उनलाई अस्पताल पु¥याएकी थिइन् ।
यसैबीच, तामाङकी पत्नी मार्था एली तामाङले निधनप्रति आएका शुभेच्छा र समवेदनाप्रति आभार व्यक्त गर्दै मृत्यु प्राकृतिक भएको स्पष्ट पारेकी छन् । ‘कुनै पनि शंकास्पद अवस्था थिएन । उनी सुतिरहेकै अवस्थामा हामीबाट बिदा भए । म त्यही बेला उनको छेउमै थिए’, उनले भनिन् ।
इन्डियन आइडल सिजन–३ का विजेता तामाङले संगीतमा उल्लेखनीय सफलता हासिल गर्नुका साथै अभिनय क्षेत्रमा पनि आफ्नो पहिचान बनाएका थिए ।
उनी ‘पाताल लोक सिजन २’मा देखिएका थिए भने सलमान खानको आगामी फिल्म ‘ब्याटल अफ गलवान’मा पनि देखिने अपेक्षा गरिएको थियो । उनको निधनले संगीत तथा मनोरञ्जन जगत मात्र होइन, समग्र गोरखा समुदायलाई शोकमा डुबाएको छ । एएनआई
विशेष महाधिवेशनमा महामन्त्री थापाले पेस गरे प्रतिवेदन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गरेका छन् । जारी महाधिवेशनमा विशेष महाधिवेशन वैधानिक भएको दाबी गर्दै राजनीतिक प्रस्ताव पेस गरेका हुन् । केन्द्रीय समितिबाटै बोलाउँदा उपयुक्त हुन्छ भनेर अन्तिमसम्म प्रयास गर्दा पनि नसकेको कारणले बाध्यकारी भएर आफूहरूले बोलाएको उल्लेख छ ।
यस्तो छ समसामयिक राजनीतिक प्रस्ताव र विशेष महाधिवेशनको नीतिगत संकल्प
इतिहास साक्षी छ नेपाली कांग्रेस पार्टीले नेपाली जनताले सुम्पिएको हरेक युगान्तकारी र चुनौतीपूर्ण अभिभारा इमान्दारी र निष्ठापूर्वक निर्वाह गर्दै आएको छ ।
यस विशेष महाधिवेशन ‘कांग्रेस बदल्न’का लागि बदलिएको कांग्रेसमार्फत देश बदल्नको लागि हो । यस विशेष महाधिवेशनबाट हामीले सन्देश दिनुपर्नेछ हामी सच्चिन्छौं, हामी बदलिन्छौं र हामी सक्छौं । समयले हामी प्रत्येक सदस्यबाट फेरि त्यही निष्ठा, उच्च नैतिक आदर्श र समर्पण खोजेको छ, जुन हाम्रा अग्रजले कहिल्यै कमजोर हुन दिएका थिएनन् । यसको लागि पार्टीलाई गतिशील बनाउनु पर्नेछ । सङगठनभित्र प्रत्येक सदस्यलाई ऊर्जा र न्यायको अनुभूति दिलाउनु पर्नेछ । समर्थक र शुभेच्छुकको स्नेहभाव कायम राख्नुपर्नेछ । आम जनता र नवयुवामा विश्वास र आशाको किरण छर्नु पर्नेछ ।
देश र पार्टीका लागि असाधारण परिस्थितिमा हुन गइरहेको यो विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई केवल एउटा राजनीतिक पार्टीको रूपमा मात्र सीमित नभई लोकतन्त्रप्रति पूर्ण निष्ठावान, समाजप्रति प्रतिबद्ध जनताप्रति उत्तरदायी र स्थापनाकालीन जनमुखी आदर्शमा कृतसंकल्पित समुन्नत नेपालको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम र विश्वासयोग्य शक्तिका रूपमा पुनः स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी लिएको छ ।
त्यसैले पार्टीभित्र र बाहिरका आम कांग्रेसजनमा देखिएको उदासिनताको बादललाई हटाउदै नवीन ऊर्जा उत्साह, एकता र रूपान्तरणसहित समुसत नेपाल निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न बाब हामीले संकल्पः
१. जेन–वी विद्रोह र कांग्रेसको संकल्पः
बि.सं. २०८२ साल भदौ २३ र २४ गते नवयुवा पुस्ता (जेन जी को आह्वानमा भएको आन्दोलनले नेपाली राजनीतिमा नयाँ चेतना र जागरण स्थापित गरेको छ । भाद्र २३ र २४ गते घटेका अकल्पनीय र दुःखद घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै दमन र हिंसात्मक घटनाबाट सहादत प्राप्त गर्नेहरूप्रति उच्च सम्मान व्यक्त गर्दछ । उक्त आन्दोलनले उठाएका न्यायोचित मागहरू, सुशासन प्रवद्र्धन, सेवा प्रवाह र युवा पुस्ताको अर्थपूर्ण प्रतिनिधित्वको सवाललगायतलाई नेपाली कांग्रेस दृढताका साथ आत्मसात गरी देहायको संकल्प गर्दछ ।
क. भाद्र २३ को दमन र २४ को विध्वंशका क्रममा भएका घटना र गम्भीर मानव अधिकार उल्लङ्घन
तथा हिंसाजन्य ज्यादतीका घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गरी सत्य र न्याय निरूपण गर्नुपर्दछ, घटनामा संलग्न दोषीमाथि कानूनी कारवाही गर्नु पर्दछ भन्ने बारेमा नेपाली कांग्रेस प्रष्ट र कटिबद्ध रहनेछ ।
समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा परेका उम्मेदवारलाई आज अन्तिम पटक उम्मेदवारी फिर्ता लिने अवसर दिइएको छ।
निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पुस १३ र १४ गते पेस गरेको बन्दसूचीमा समावेश उम्मेदवारहरूले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्।
आयोगले यससम्बन्धी जानकारी सबै सम्बन्धित उम्मेदवारलाई गराइसकेको समानुपातिक निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिए। उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई प्रक्रिया पूरा गर्नुपर्नेछ।
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–१८ बमोजिमको ढाँचामा निवेदन दिएर नाम फिर्ता लिन सकिने व्यवस्था छ। कुनै कारणवश उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा वारेसमार्फत पनि उम्मेदवारी फिर्ता लिन सकिने आयोगले जनाएको छ।
कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था छ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज
काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । आज हुने बन्दसत्रमा पार्टीको नीति, संगठन र आगामी राजनीतिक दिशाबारे गहन बहस हुने भएको छ।
आइतबार साँझ उद्घाटन सत्र सम्पन्न भएसँगै आज बिहान खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ। ढिलोमा १० बजेदेखि औपचारिक कार्यक्रम अघि बढ्नेछ।
प्रतिनिधिहरूको दबाबपछि महामन्त्री गगन थापाको नेतृत्वमा बोलाइएको विशेष महाधिवेशनमा २६ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी छन्। बन्दसत्रमा पार्टीभित्र देखिएका संगठनात्मक समस्या, नेतृत्वको भूमिका र नीतिगत सुधारका विषयमा धारणा राखिने अपेक्षा गरिएको छ।
कार्यविधि तय गरी बन्दसत्र सञ्चालन गरिनेछ। बन्दसत्रको सभापतित्व ज्येष्ठ सदस्यले गर्नेछन्। यस क्रममा नीतिगत तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत भई त्यसमा छलफल हुने कार्यक्रम रहेको छ।