आज संसद्को संयुक्त बैठक, सभामुख परामर्शमा व्यस्त
काठमाडौँ I आज राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची छ । राष्ट्राध्यक्षबाट अपराह्न ३ बजे प्रस्तुत हुने उक्त कार्यक्रमको तयारीमा संसद् सचिवालय युद्धस्तरमा जुटेको छ ।
सभामुख देवराज घिमिरेले १२ः३० बजे प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग परामर्श गर्दै हुनुहुन्छ भने १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । संसद् सचिवालयले सुरक्षा प्रबन्धलगायत साजसज्जाको तयारी पूरा गरेको जनाएको छ ।
सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम दुवै सदनको संयक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम निर्धारण भएको कार्यसूची पनि संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ ।
कैलाली चुरे गाउँपालिका का किसान पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै
टीकापुर (कैलाली) I कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा सङ्कलन गरेर खेतीपातीमा जुटेका छन् । हिउँदेबालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी सिँचाइ गर्दै आएका छन् ।
लिसवेली गाउँका सबै किसान अन्नबालीभन्दा सागसब्जीको अधिक खेती गर्छन् । गोलभेँडा, खुर्सानी, बन्दाकोभी, काउली, आलु, प्याज, लसुन, धनियाँलगायत तरकारी बाली लगाउने गर्छन् । यहाँका १२ किसान परिवारले सामूहिक र व्यक्तिगत रूपमा बनाइएका पोखरीमा सङ्कलन भएको पानीबाटै प्रशस्त आम्दानी गर्दै आएका किसान खेमराज सापकोटाले राससलाई बताउनुभयो । उनीहरूले बारीमा पानी लगाउने समयसारिणी पनि बनाएका छन् ।
“खेतीका लागि पानीको समस्या भएकाले पोखरीमा मुहानको पानी सङ्कलन गरिरहेका छौँ, पोखरीको पानीको किफायती प्रयोगमा हामी सबैको जोड छ,”उहाँले भन्नुभयो । यहाँका किसान वर्षात्को दुई महिनाबाहेक अन्य समयमा तरकारीखेती गर्छन् ।
खेतीका लागि उनीहरूले सामूहिक वा व्यक्तिगत पोखरीमा जम्मा भएको पानी प्रयोग गर्ने गरेका अर्का किसान धर्मराज भट्टले बताउनुभयो । किसानले थोपा सिँचाइ प्रविधि प्रयोग गरेका छन् । किसानले वर्षाको पानी सङ्कलन गर्न प्रत्येक घरमा ‘स्वायल सिमेन्ट’ पोखरी बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
कांग्रेसलाई प्रधानमन्त्रीको आग्रहः नीति तथा कार्यक्रम प्रस्तुत गर्न सहयोग गर्नुस्
काठमाडौँ I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सदनमा निर्वाध रूपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सो पार्टीका प्रमुख सचेतक रमेश लेखक र महामन्त्री गगनकुमार थापासँग भएको छलफलमा आज अपराह्न संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाले सहज रूपमा सदन सञ्चालनका निम्ति सहयोग गर्न आग्रह गर्नुभएको हो ।
“प्रधानमन्त्रीले राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न र संसद् बैठक अवरोध नगर्न आग्रह गर्नुभयो”, प्रमुख सचेतक लेखकले बैठकपछि सञ्चारकर्मीसँग भन्नुभयो, “प्रधानमन्त्रीले सहकारी ठगी सम्बन्धी समस्या समाधान गर्न आफू प्रतिबद्धता व्यक्त गर्नुभयो । यस सम्बन्धी समस्या समाधान गर्छु भन्ने प्रधानमन्त्रीबाट आशय व्यक्त भएको छ, हामी त्यो व्यवहारमा अनुवाद भएको देख्न चाहन्छौँ ।”
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध गर्दै आएको छ ।
प्रधानमन्त्रीको आग्रह कार्यान्वयन गर्न आजै बस्ने कांग्रेस संसदीय दलको बैठकमा छलफल हुने र निष्कर्षमा पुगिने जानकारी आफूहरूले प्रधानमन्त्री दाहाललाई गराएको प्रमुख सचेतक लेखकले बताउनुभयो ।
एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
खोटाङ I नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ ।
गत वैशाख २९–३१ गतेसम्म सञ्चालन भएको शिविरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्मासहित एक सय ४३ जनाको मोतियाविन्दुको शल्यक्रिया र ३६ जनाको शल्यक्रिया गरिएको हो । चार वर्षदेखि पूर्ण रूपमा देख्न छाड्नुभएका विश्वकर्माले शल्यक्रियापछि पुनः दृष्टि प्राप्त गरेको राससलाई बताउनुभयो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्य तथा सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा १४ जना स्वास्थ्यकर्मीको टोलीले सेवा प्रवाह गरेको हो ।
नगरपालिका, नेत्रज्योति सङ्घ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले वडा–वडामा पुगेर आँखा जाँच गर्दा शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएका बिरामीलाई लक्ष्यगरी निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले बताउनुभयो । शिविरमा तीन सय ७३ जनालाई निःशुल्क चश्मा तथा छ सय ५० जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो ।
राष्ट्रिय भलिबल खेलाडी सम्मानित
वालिङ (स्याङ्जा) I गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ । भलिबल खेलका माध्यमबाट जिल्लाका साथै प्रदेशको प्रतिष्ठा बढाएकामा उनीहरूलाई सम्मान गरिएको हो ।
स्याङ्जाको वालिङ–७ वनकट्टामा अवस्थित मनकामना युवा क्लबको १६औँ वार्षिकोत्सव तथा वैशाख पञ्चमीको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिताका अवसरमा पूर्वराष्ट्रिय खेलाडी तथा गण्डकी प्रदेश भलिबल टिमका प्रशिक्षक रमेश केसी, गण्डकी प्रदेशका टिम क्याप्टेन खोमप्रसाद पाण्डेय (हरि), खेलाडीहरू राजन दर्लामी, सुजन चोखाल, हिमाल सुनारी र सरोज बर्देवालाई सम्मान गरिएको हो ।
गण्डकी टिमका भलिबल प्रशिक्षक तथा खेलाडीलाई नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले सम्मान गर्नुभएको थियो ।
दुर्गा मन्दिर : परियारले बनाए, गैरदलितले सघाए
तनहुँ I व्यास नगरपालिका–१३ बेलवासका परियार गैरदलितको सहयोगमा दुर्गा भवानीको मन्दिर स्थापना गरी हिन्दू धर्म संरक्षण अभियानमा जुटेका छन् । बेलवास बेनिकोट परियार समाजमा आबद्ध ३७ घरका आफूहरुले हिन्दू धर्मको सारलाई भावी पुस्तासम्म बचाइराख्न गरेको अभियानमा स्थानीय गैरदलितबाट साथ र सहयोग मिलेको समाजका प्रमुख सल्लाहकार धनबहादुर परियारले बताउनुभयो । मन्दिर निर्माणका लागि आफूहरुले करिब छ आना क्षेत्रफललाई संरक्षण गरेकोसमेत परियारले जानकारी दिनुभयो ।
“सदियौँदेखि मान्दै आएको हिन्दू धर्म छाडेर अन्य धर्म अँगाल्न चाहनेहरुको चाप समाजमा बढ्दै गयो”, प्रमुख सल्लाहकार परियारले भन्नुभयो, “त्यसैले परियार समाजका सबै भेला भई हिन्दू धर्मलाई नै बचाई राख्नुपर्छ भनेर दुर्गा मन्दिर बनाउन जुट्यौँ ।”
वडाध्यक्ष वसन्त आले, स्थानीय वर्च्याङ्दी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यमबहादुर आलेबाट, सचिव सिर्जना तिवारी र स्थानीय मिलन टोल विकास संस्थाका अध्यक्ष सुमित्रा बगाले लगायतबाट समेत मन्दिर बनाउन साथ र सहयोग पाएपछि आफूहरु मन्दिर बनाउन अघि बढेको परियार समाजका अध्यक्ष मनबहादुर परियारले बताउनुभयो ।
उक्त मन्दिर निर्माणका लागि हालसम्म करिब रु पाँच लाख खर्च भएको समाजले जनाएको छ । नगरपालिकाको कार्यालय र वडा नं १३ कार्यालयबाट रु ५०÷५० हजार प्राप्त भएको र अन्य रकम स्वऐच्छिक चन्दाबाटै जुटाइएको अध्यक्ष परियारको भनाइ छ ।
“सनातनदेखि मान्दै आएको हिन्दू धर्मको संरक्षणमा हामी पनि जुट्नुपर्छ भनेर मन्दिर निर्माणमा अग्रसर भएका हौँ”, समाजका अध्यक्ष परियारले भन्नुभयो, “मन्दिर निर्माणको अभियानमा टोलका सबै गैरदलितले साथ र सहयोग मिल्दा निकै खुसी लागेको छ ।”
परियार समाजले गरेको मन्दिर निर्माण कार्यमा आफूले पनि रु एक हजार पाँच सय चन्दा प्रदान गरी ऐक्यबद्धता जनाएको मिलन टोल विकास संस्थाका अध्यक्ष सुमित्रा बगालेले बताउनुभयो । परियारले समुदायले मन्दिर निर्माण गरे पनि सबै जातजातिका मानिसले सहभागी भई पूजापाठ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
“परियारहरुले मन्दिर बनाएर रचनात्मक काम गर्नुभएको छ”, टोल विकास संस्थाका अध्यक्ष बगालेले भन्नुभयो, “अब सबै मिलेर संयुक्त पूजापाठ गरी धार्मिक एकताको सन्देश दिन आवश्यक छ ।” आफूहरुले मच्छिन्द्रनाथ रथ यात्राको दिन पारेर शनिबार नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतको सहभागितामा पञ्चेबाजासहित बजार परिक्रमा गरी दुर्गाको मूर्तिमा प्राणप्रतिष्ठा गरिएको थियो ।
नगर प्रमुख न्यौपानेले समाजमा विभेदमा परेको समुदायलाई उत्थानका लागि नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको बताउनुभयो । “दलित समुदायले मन्दिर बनाउने प्रस्ताव ल्याएपछि हामीले सहयोग नगरी बस्न सकेनौँ”, नगर प्रमुख न्यौपानेले भन्नुभयो, “मन्दिर निर्माणपछि मानिसलाई सत्मार्गमा लाग्न प्रेरणा मिल्ने हाम्रो बुझाइ हो ।”
व्यास–१३ का वडाध्यक्ष वसन्त आले, नगरप्रमुख न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष विश्व बाँस्तोला लगायतले विभेदमा परेको समुदायबाट मन्दिर निर्माण हुनु सकारात्मक कुरा रहेको बताउनुभयो ।
तनहुँ जलविद्युत् आयोजनाले सञ्चालन गरेको मादी नदी माछा संरक्षण
दमौली (तनहुँ) I तनहुँ जलविद्युत् आयोजनाले सञ्चालन गरेको मादी नदी माछा संरक्षण कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । आयोजनाको मस्त्य संरक्षण व्यवस्थापन योजनाअन्तर्गत कार्यान्वयनमा ल्याइएको मादी नदी माछा संरक्षण कार्यक्रमका विषयमा प्रभावित क्षेत्रका बासिन्दालाई जानकारी दिन सन्देशमूलक सन्देश प्रसारण थालिएको छ ।
असारदेखि भदौ महिनासम्म माछाको प्रजनन समय हुनेहुँदा उक्त अवधिभर मादी नदीमा माछा नमार्न तथा प्रतिबन्ध लगाइएका क्रियाकलाप गरिएमा हुने कानुनी कारबाहीलगायतका विषयमा प्रभावित क्षेत्रका बासिन्दालाई सचेत गराउन थालिएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “दमौलीदेखि भैँसेपुलसम्म करिब ४५ किलोमिटरको क्षेत्रमा माइकिङ गर्दै प्रसारण गरिएको छ । सन्देशमूलक सूचना दमौलीमा सञ्चालित एफएम रेडियोबाट पनि प्रसारण गर्न सुरु गरिएको छ भने कास्की जिल्लाका रेडियोबाट चाँडै सुरु गरिनेछ ।”
आयोजनाले निर्माण गर्ने बाँधका कारण सेती नदीको प्राकृतिक बहावमा अवरोध उत्पन्न भई मुख्यरुपमा त्यहाँ पाइने रैथाने असला तथा सहर माछाको जीवन जोखिममा पर्ने देखिएको छ । त्यसको संरक्षणका लागि सेती र मादी नदीको सङ्गमस्थलबाट करिब ४५ किलोमिटर मादीको माथिल्लो तटीय क्षेत्रमा मत्स्य संरक्षण योजना कार्यान्वयनमा ल्याइएको भण्डारीको भनाइ छ ।
उहाँका अनुसार व्यास नगरपालिका वडा नं ३, ४, ५, ६, ७ तथा १०, लमजुङको मध्यनेपाल नगरपालिका– ४, ५, ६, ७ तथा ८, कास्कीको रुपा गाउँपालिका वडा नं १, ३, ७, मादी गाउँपालिका– ४, ५, ९, १०, ११ र १२ लाई प्रभावित क्षेत्र मानिएको छ ।
मस्त्य व्यवस्थापन योजनाअन्तर्गत तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित आयोजनाको कार्यालय तथा आवास परिसरमा मस्त्य ह्याचरी निर्माणका लागि पोखरी खन्ने काम भइरहेको जनाइएको छ । राष्ट्रिय मस्त्यविज्ञको उपस्थितिमा ठाउँ छनोट, लागत तथा डिजाइन गरी ह्याचरीका संरचना निर्माण गर्न काम अगाडि बढाइएको भण्डारीले बताउनुभयो ।
योजना कार्यान्वयनका लागि मादी नदीको तटसँग जोडिएका तनहुँको व्यास तथा लमजुङको मध्यनेपाल नगरपालिका प्रमुखहरु, कास्कीको मादी तथा रुपा गाउँपालिकाका अध्यक्षहरु, तनहुँ हाइड्रोपावर लिमिटेड र बोटे समाजको प्रतिनिधि रहने गरी माछा संरक्षण समन्वय समिति गठन गरिएको छ ।
मादी नदीमा माछा संरक्षण गर्ने विषयमा स्थानीय पालिकाहरुको साझा सरोकार र साझेदारीको विषय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्था बमोजिम समिति गठन गरिएको हो । जलचर संरक्षण ऐन, २०१७ मा भएको व्यवस्था बमोजिम माछा संरक्षण योजना व्यावहारिकरुपमा कार्यान्वयनमा ल्याइएको जनाइएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत
विराटनगर I कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट आज विश्वासको मत लिनुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गर्नुभयो । उहाँको विपक्षमा भने शून्य मत परेको थियो । प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो । आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । कूल ९३ सदस्यीय प्रदेशसभामा आज ६२ सांसद उपस्थित हुनुहुन्थ्यो ।
पर्यटक तान्दै मोटरबोट
काठमाडौँ I नेपालका नदीमा पहिलोपटक ‘मोटरबोट’ चलेको सायद साढे पाँच दशकअघि हो । सन् १९६८ मा एड्मन्ड हिलारीले हेमिल्टन नामका दुईवटा मोटरबोट कोशी र गण्डकी नदीसम्म ल्याउनुभएको थियो । तत्कालीन समयमा यी बोट यातायात तथा ढुवानी प्रयोजनका लागि ल्याइएको थियो । हिलारीले केही समय नेपालका नदीमा ती मोटरबोट चलाएपछि स्वदेश फर्कनुअघि तत्कालीन भरतपुर गाउँ पञ्चायतलाई उपहार दिनु भएको थियो ।
उपहारमा प्राप्त ती बोटलाई भरतपुर गाउँ पञ्चायतले केही समय विदेशी पाइलट राखेर सञ्चालन ग¥यो पनि । तर पछि मर्मतसम्भार लगायतका समस्याले यी बोट सञ्चालनमा निरन्तरता भएन । केही समयपछि तीनै बोट भाडामा लिएर कोशी नदीमा चलाइयो ।
त्यसपछि लामो समयसम्म नेपालका नदीमा मोटरबोट खासै चलेनन् । फाट्टफुट्ट भने ढुवानी वा यातायातका रुपमा सञ्चालन भने भएका थिए । पछिल्लो एक दशकयता नेपालका यिनै मोटरबोट पर्यटकीय गतिविधि बढाउने माध्यम बनेका छन् । अहिले कैयौँ नदी तथा जलाशयमा मोटरबोट हुँइकिएको देखिन्छ । पूर्वमा कोशीदेखि पश्चिममा सुर्खेतको बुलबुल तालसम्म मोटरबोट सञ्चालन भइरहेको छ । मोटरबोट सञ्चालनमा आएसँगै ती क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ ।
नेपालमा मोटरबोट पर्यटनको सुरुआत गर्ने श्रेय व्यवसायी राजकुमार श्रेष्ठलाई जान्छ । चितवनको ठिमुरामा लभ्ली रिसोर्ट सञ्चालन गर्नुभएका उहाँले नारायणी नदीमा पहिलोपटक मोटरबोट सञ्चालन गरी पर्यटकलाई आकर्षित गर्नुभएको थियो । उहाँले जापानबाट दुई वटा जेट स्की र एउटा जेट बोट ल्याएर नारायणी नदीमा सेवा सुरु गर्नुभएको थियो । उहाँकै सिको गरेर पछि अन्य कम्पनी पनि थपिए । तर पछि यसले पनि निरन्तरता पाउन सकेन ।
सन् २०१६ मा लमजुङका विष्णुबहादुर ढकालले नेपाल सीप एण्ड बोट बिल्डिङ कम्पनी स्थापना गरेपछि भने मोटरबोट पर्यटनले पुनर्जीवन मात्र पाएन देशैभर फैलिएको छ । “हाम्रो कम्पनीले नेपालमै मोटरबोट उत्पादनका साथै मर्मतसम्भारका लागि प्राविधिक जनशक्ति तयार पारेपछि मोटरबोट सञ्चालन गर्नेहरु बढे”, ढकालले भन्नुभयो, “पछिल्लो समय हामीले जनशक्ति पनि उत्पादन सुरु गरेका छौँ, हाल हाम्रो कम्पनीबाट मोटरबोट उत्पादन गरी सञ्चालन गर्ने कम्पनीहरु बढेका छन् ।”
ढकालका अनुसार नेपालमा मोटरबोट पर्यटनको ठूलो सम्भावना छ । नेपालका कैयौँ नदी र जलाशयमा मोटरबोट सञ्चालन गरी पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने अवस्था बनेको छ । केही स्थानीय सरकारले त आफूकहाँ भएका नदी र जलाशयमा मोटरबोट सञ्चालनका लागि सहजीकरण गर्दै सो क्षेत्रको पर्यटन गतिविधि बढाएका छन् । भरतपुर महानगरपालिका, बागमती नगरपालिका, आबुखैरेनी गाउँपालिका तथा वीरेन्द्रनगर नगरपालिकाले आफ्नै अग्रसरतामा पर्यटनको प्रबद्र्धनमा मोटरबोट सञ्चालन गरेको उहाँको भनाइ छ ।
ढकालका शब्दमा कोशी नदीमा यातायात र ढुवानीका हिसाबले मोटरबोट सञ्चालन राम्रो मानिए पनि नारायणी नदी र मर्याङ्दी जलायशमा मोटरबोट सञ्चालन गरी पर्यटक आकर्षित गर्न राम्रो देखिएको छ । उहाँका अनुसार भरतपुर महानगरपालिकाले मोटरबोट सञ्चालनका कारण मनोरञ्जन करबाट मात्रै वार्षिक औसत रु ५० लाख सङ्कलन गर्दै आएको छ । यसबाट स्थानीय सरकारको राजस्व समेत बढेको छ ।
“सफा पानी, पर्याप्त लम्बाइ भएकाले मस्र्याङ्दी जलविद्युत् आयोजनाको जलायश मोटरबोट सञ्चालनका लागि राम्रो छ, यस्तोमा मोटरबोट गतिविधि उत्कृष्ट मानिन्छ”, उहाँले भन्नुभयो । त्यसबाहेक नेपालगञ्जको वाटरपार्कमा बोट राइडिङकै कारण भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।
भरतताल र नारायणी नदीमा पनि मोटरबोटकै कारण पर्यटक बढेका छन् । पछिल्लो समय सुर्खेतको बुलबुले तालमा मोटरबोट सञ्चालनमा आएपछि तालको स्वरुप नै फेरिएको छ । चितवनको देवघाटमा रहेका विभिन्न कुण्ड घुम्न पनि मोटरबोट माध्यम बनेको छ । त्यसबाहेक भरतपुरको शिवघाट, सिन्धुलीको खुर्कोटलगायतमा मोटरबोट चलिरहेको छ । बर्दियाको राजापुरमा बोट चढेर डल्फिन हेर्न पाइन्छ । मोटरबोटका गतिका कारण पानीको छाल निस्कँदा डल्फिन आउने गरेका छन् । यसले सो क्षेत्रको पर्यटकीय गतिविधि बढाएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले बोटेबोरा कम्पनीसँगको सहकार्यमा बुलबुल तालमा मोटरबोट सञ्चालनमा ल्याएपछि तालको स्वरुप मात्रै फेरिएको छैन, आम्दानीको नयाँ स्रोत पनि थपिएको छ । लामो समयदेखि जलकुम्भी र फोहोरले भरिएको तालको अस्तित्व सङ्कटमा परेको अवस्थामा फोहोर सफा गरी बोटेबोरा कम्पनीले मोटरबोट सञ्चालनमा ल्याएको छ । कम्पनीले बुलबुले तालमा मोटरबोट सञ्चालन गरेवापत वीरेन्द्रनगर नगरपालिकालाई वार्षिक रु १३ लाख बुझाउने सम्झौता गरेको छ ।
वीरेन्द्रनगरपालिका नगर विकास समितिका सदस्य तथा बुलबुले ताल संरक्षण उपसमितिका संयोजक नवराज गुरुङले तालबाट फोहोर निकालेपछि पानीको सतह कम भएको र नगरपालिकाको सहकार्यमा केही माथिपट्टी रहेको दशधाराबाट रातिको समयमा पानी ल्याइएको बताउनुभयो । मोटरबोट सञ्चालनपछि बुलबुले ताको स्वरुप फेरिएको उहाँको भनाइ छ ।
तालमा कम्पनीले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीले निर्माण गरेको ११ सिटे दुई वटा फिस्टेल ब्राण्डका मोटरबोटमार्फत सेवा सुरु गरेको छ । साथै, बोटेबोरा कम्पनीले नेपालगञ्ज उपमहानगरपालिकासँगको समन्वयमा वार्षिक रु २५ लाख बुझाउने गरी वाटरपार्कमा मोटरबोट सञ्चालन गरिरहेको छ ।
पछिल्लो समय मोटरबोट सञ्चालनमा आकर्षण देखिनुमा बागमती नगरपालिकामा रहेको भरत तालमा मोटरबोट सञ्चालन हुनु पनि हो । सुरुमा माछापालनका लागि बनाइएको पोखरीलाई तालमा परिणत गरिएपछि मोटरबोट सञ्चालन गरिएको थियो । मोटरबोटकै कारण उक्त क्षेत्रको पर्यटकीय गतिविधि मात्रै बढेको छैन, सयौँ जनाले रोजगारी पनि पाएका छन् ।
बागमती नगरपालिकाका उपप्रमुख लिलाकुमारी मोक्तानका अनुसार भरत तालमा मोटरबोट सञ्चालनका कारण धेरैले रोजगारी पाएका छन् भने यसबाट पालिकाको आम्दानी पनि बढेको छ । “हाल ३० भन्दा मोटरबोट सञ्चालन भइरहेका छन्, ताल आसपासमा विभिन्न होटल, रेष्टुराँ तथा पसल सञ्चालन भइरहेका छन् । सामान्य दिनमा औसतमा दुई हजार र मेलापर्व र बिदाका दिनमा पाँच हजारसम्म पर्यटक आउने गरेका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार मोटरबोट सञ्चालनबाट नगरपालिकाले २० प्रतिशत शुल्क लिने गरेको छ ।
त्यसो त स्याङ्जाको मिर्मीदेखि सेतिबेनीसम्मको बाँधमा यातायातका रुपमा स्टिमर भनिने मोटरबोट सञ्चालन लामो समयदेखि भइरहेको छ । नेपाल सीप एण्ड बोट बिल्डिङ कम्पनीका सञ्चालक ढकालले मोटरबोटलाई पर्यटकीय मनोरञ्जनका साथै यातायातको साधनका रुपमा सञ्चालन गर्न सकियो भने निकै ठूलो फाइदा लिन सकिने धारणा राख्नुहुन्छ । “अहिले नदी र जलाशयमा मोटरबोट बढी सञ्चालन भइरहेका छन् । मनोरञ्जनका हिसाबले राम्रो पनि हो तर यसको बढी उपयोग ढुवानी वा यातायातका रुपमा गर्न सकिन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार भारतको कलकत्तादेखि चितवनको दासढुङ्गासम्मको रुटमा १० टनसम्मको जहाज सजिलै ल्याउन सकिन्छ । यसो गर्न सकिएमा भने ढुवानी खर्च निकै कम हुन्छ ।
उहाँका अनुसार हिजोका दिनमा नेपालमा जलपर्यटनसम्बन्धी गतिविधिमा ¥याफ्टिङ मात्रै रहेकामा अहिले मोटरबोट थपिएपछि पर्यटकीय गतिविधि बढेको छ । आगामी दिनमा यसैका आधारमा विभिन्न पर्यटकीय गतिविधि पनि सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । “हिजोका दिनमा विदेशमा गएर गरिने ‘वाटर स्पोर्टस्’का गतिविधिहरु आगामी दिनमा नेपालमै पनि गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “यसका लागि कैयन सम्भावना छन् ।”
जलाशयमा डुङ्गा चलाउँदा सामान्य अनुभव मात्रै प्राप्त हुने र मोटरबोटको प्रयोग तथा अन्य गतिविधि गर्दा वास्तवमै साहसिक जलपर्यटन हुने उहाँको भनाइ छ । “मोटरबोटमार्फत गरिने गतिविधिमा हावा, पानी र गतिको सम्मिश्रण हुन्छ । यसले खेललाई साहसिक बनाउँछ ।”
उहाँ हामीकहाँ भएका जलाशयहरु विद्युत् उत्पादनमा मात्रै प्रयोग भइरहेको भन्दै त्यही जलाशयमा मोटरबोट सञ्चालन गरी थप आर्थिक गतिविधि बढाउन सकिने धारणा राख्नुहुन्छ । “विदेशमा रु पाँच हजारमा गर्ने गतिविधि आजका दिनमा एक प्लेट ममःमा हुने खर्चमै हामीले उपलब्ध गराइरहेका छौँ”, उहाँले भन्नुभयो, “रन अफ रिभरमा औसतमा रु दुई सय ५० देखि तीन सय ५० सम्ममा अनुभव लिन सकिन्छ ।”
नेपालमै बन्छ बोट
नवलपरासीको गैँडाकोटमा रहेको नेपाल सीप एन्ड बोट बिल्डिङ कम्पनीले पछिल्लो एक दशकयता बोट निर्माण गर्दै आएको छ । “हामीले नेपालका नदीहरुको बहाव, पानीको गहिराइ, खोलाको गतिको अध्ययन गरिसकेका छौँ, सोहीअनुसार बोट उत्पादन गर्छौ”, कम्पनीका अध्यक्ष ढकालले भन्नुभयो ।
उहाँका अनुसार कम्पनीले जापानको सुजुकी मरिन कम्पनीले उत्पादन गर्ने इन्जिन र प्रविधि प्रयोग तथा मेकानिकल स्टेरिङ प्रणालीका लागि अमेरिकाको मल्टिफेलेसको प्रणाली प्रयोग गरी बोट उत्पादन गर्दै आएको छ । उहाँका अनुसार एउटा बोट उत्पादनका लागि सामान्यतयाः औसतमा रु २० लाख पर्छ । त्यसबाहेक ग्राहकको रुचि र आवश्यकताका आधारमा यसको खर्च थपघट हुनसक्छ ।
गर्मी छल्न नरपानी
अर्घाखाँची I नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रसिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्यहरु देख्न पाइने हुँदा नेपाल तथा भारतबाट यहाँ धेरै पर्यटक आउने गर्छन् । तराईमा बढेको तातो गर्मी छल्न अहिले तराईका जिल्ला तथा भारतका उत्तर प्रदेश, विहार विभिन्न क्षेत्रबाट मानिसहरु आउने गरेका छन् ।
तातो क्षेत्रबाट यस स्थानमा आएपछि चिसो हावा र चिसो पानीका साथै चिसो वातावरणमा रम्न पाउदा घुम्न आउने पर्यटकहरु पनि प्रफुल्लित हुने गरेका छन् । पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानी वनभोज स्थलको रुपमा पनि विकसित हँुदै गएको छ ।
सुपा देउरालीमा धार्मिक विश्वासका साथ पाठा, पाठी चढाउन आउने र देउरालीमा चढाएका पाठा, पाठीहरु लिएर नरपानीमा वनभोज गर्ने गर्दछन् । सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । सुपा मन्दिरको शिरमा जान सकिने केवुलकार र साहसिक पदमार्ग बनाउन सके यहाँ पर्यटन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुहुन्छ । सुपाको पुर्ब रहेको भैसी मेलामा मन्दिर बनाएर केवुलकार बनाउने, पश्चिमको सिद्ध मन्दिरमा आउने पुल बनाउने तथा साहसिक पदमार्गको निर्माण गर्न पहल भइरहेको उहाँको भनाइ छ ।
महेन्द्र राजमार्गको गोरुसिङ्गेबाट ५० किलोमिटरको दूरीमा नरपानी रहेको छ । गोरुसिङ्गे सन्धिखर्क सडकमा पर्ने यस क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटकहरु बढी आउने गरेका छन् । यहाँ वरिपरि हरियाली डाँडा र बीचमा समथर भूभाग रहेको छ । भविष्यमा पनि यस क्षेत्रमा पर्यटन विकासले फड्को मार्नेमा विश्वास लिइएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।