बुद्धिजीवी परिषद् भेलाको निष्कर्ष : विकास र समृद्धिलाई प्राथमिकता
काठमाडौँ I नेपाल बुद्धिजीवी परिषद्को दुई दिने राष्ट्रिय परिषद् भेलाले वर्तमान सत्ता समीकरणले जनतामा आशा र विश्वास जगाउने गरी राजनीतिक स्थिरता, सुशासन, विकास तथा समृद्धिलाई प्राथामिकतामा राखेर अगाडि वढ्नुपर्नेमा जोड दिएको छ ।
भेलाबाट पारित १६ बुँदे समसामयिक प्रस्तावमा सरकारलाई राजनीतिक शुद्धीकरण, पारदर्शिता, जवाफदेहिता सहितको समाजवादको आधार निर्माण गर्ने दिशामा प्रभावकारी रूपमा अगाडि बढ्न आग्रह गरेको हो । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट यही वैशाख २९ गते उद्घाटन र वैशाख ३० गते एमालेका वरिठ उपाध्यक्ष ईश्वर पोखरेलबाट समापन भएको उक्त भेलाले लघुवित्त र मिटरब्याजीको समस्यासँगै पछिल्लो समयमा सहकारी समस्या विकराल बन्दै गएकाले दलीय स्वार्थबाट माथि उठेर व्यक्तिकेन्द्रित नभई समग्र समस्याको समाधान हुने गरी छानबिन गर्न माग गरेको छ ।
परिषद्का उपमहासचिव सुशील विकेका अनुसार सङ्घीयता कार्यान्वयन गर्न आवश्यक पर्ने महत्वपूर्ण विधेयक छिटो पारित गर्न, गणतन्त्रात्मक व्यवस्था विरोधी गतिविधिप्रति सचेत हुन र बैंकिङ तथा वित्तीय क्षेत्रको सङ्कट समाधान गर्न ध्यान दिन पनि आग्रह गरेको छ ।
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
विराटनगर I कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुनेछ । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको छ । उहाँले कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८१ वैशाख २७ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त आह्वान गर्नुभएको हो ।
यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । उहाँलाई नेकपा (एमाले) का ३९, नेकपा (माओवादी केन्द्र) का १३ सहित ५२ प्रदेशसभा सदस्यको साथ र समर्थन रहेको छ ।
आजको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम तथा कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकको कार्य सूची रहेको छ ।
आजको मौसम : गण्डकी, कोशी र बागमतीमा वर्षा
काठमाडौँ I गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।
देशका पहाडी भू–भागका थोरै स्थानमा साथै तराई भू–भागका केही स्थानमा मेघगर्जन-चट्याङ-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बेसहाराको आश्रयस्थल बन्दै बालगृह
धरान (सुनसरी) I बाँकेका १२ वर्षे सिमन तामाङ धरान उपमहानगर वडा नं ४ वसन्तटारमा रहेको लर्डस होम नेपाल बालगृहमा बस्न थालेको तीन वर्ष भयो ।
सानै उमेरमा बाबाको मृत्यु भएको र त्यसको दुई वर्षको नहुँदै आमाले अर्को विवाह गरेपछि उहाँ आफन्तको सहारामा बस्दै आएका उनी २०७८ सालमा उहाँको आफन्तको सहयोगमा धरान आइपुगेका थिए । यहाँ आएपछि तामाङले बालगृहमा आश्रम मात्रै पाएका छैनन् उनको पढ्ने रहर पनि पूरा भएको छ ।
पाँच कक्षामा अध्ययनरत उनी पढाइमा अब्बल मानिन्छन् । “यहाँ मलाई सबैले माया गर्नुहुन्छ । पढाइमा पनि सहयोग गर्नुभएको छ”, उनले भने, “हामी सबै जना मिलेर बसेका छौँ ।” तामाङका लागि मात्रै होइन, यतिबेला यो बालगृह उहाँ जस्तै नौ जनाका लागि आश्रयस्थल बनेको छ ।
कुशल गुरुङ घलेले विसं २०७४ मा दर्ता गरी व्यक्तिगत रु एक करोड २० लाख लगानीमा तीन कठ्ठा जग्गामा बालगृहमा सुरु गर्नुभएको थियो । हाल यस बालगृहमा सरकारी, निजीलगायतका क्षेत्रबाट सहयोग प्राप्त भइरहेको उहाँको भनाइ छ । सबैको साथ र सहयोगका कारण बालगृह सञ्चालनलाई अझ प्रभावकारीरुपमा सञ्चालनमा हौसला मिलेको घलेले सुनाउनुभयो ।
“बालगृहमा आश्रय खोज्दै आउने बालक बढ्दैछन्, हामीले एक पटकमा २० जनालाई राख्नसक्ने गरी क्षमताको बालगृह बनाएका छौँ”, उहाँले भन्नुभयो, “मुख्य उद्देश्य उनीहरुको पालपोषण र शिक्षादिक्षा राम्रो होस् भन्ने हो ।”
सात वर्षको उमेरमा धादिङबाट बालगृह आइपुगेका ११ वर्षे सउल तामाङ पनि आफूलाई यहाँ बस्न र पढाइमा कुनै समस्या नभएको सुनाउनुभयो । यहाँको वातावरण राम्रो हुनुका साथै घले अङ्कलको मायाले आफूहरु खुसी भएको उहाँले सुनाउनुभयो ।
“उहाँहरुले हामीलाई निकै मायाका साथ राख्नुभएको छ, कुनै कमी हुन दिनुभएको छैन”, उनले भने, “पढ्न, खान र बस्नका लागि कुनै समस्या छैन ।” उहाँ अहिले कक्षा ६ मा पढ्नुहुन्छ । पाँच कक्षाको नतिजामा उहाँ कक्षामा तेस्रो हुनुभएको थियो ।
बालगृहमा आश्रय लिएकामध्ये बाँकेका १६ वर्षे सन्देश सुनार उमेरका हिसाबले सबैभन्दा जेठो हुनुहुन्छ । उहाँ अहिले कक्षा ११ मा पढ्नुहुन्छ । “घरमा हुँदा खान पनि समस्या थियो, पढाइ पनि प्रभावित भएको थियो”, उहाँले भन्नुभयो, “यहाँ बस्न थालेपछि धेरै सहज भएको छ । खान र बस्नको चिन्ता छैन । पढाइ पनि सुध्रिएको छ ।”
भारतका कश्मिरमा जन्मिनुभएका घले बालगृह सञ्चालनमा आफ्नै विगत पनि जोडिएको बताउनुहुन्छ । दुई वर्षको छँदा आमा गुमाउनुभएका घलेले बुबाको माया पनि पाउनुभएन । दुर्घटनामा आमालाई गुमाएपछि बेसहारा बन्नुभएका उहाँको त्यसपछिको बाल्यकाल दिदीको सहयोगमा चितवन बितेको थियो ।
“मलाई पनि सानैमा आमा गुमाएको पीडा छ, त्यो बेला दिदी अभिभावक बन्नुभयो, अहिले म यी अबोध बालकहरुको अभिभावक बन्न पाउँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो, “कुनै पनि बालक बेसहारा बन्नु नपरोस् भन्ने मेरो चाहना छ ।”
उहाँका अनुसार अहिले बालगृहमा धादिङ, जाजरकोट र बाँकेलगायतका जिल्लाबाट आएका बालकले आश्रय लिइरहेका छन् । बालगृहमा बालकहरुको पालनपोषण र पढाइको व्यवस्था मिलाइएको छ । विद्यालयमा पनि उनीहरुले अब्बल बन्दै गएको देखिएको उहाँको भनाइ छ । बालगृहमा कक्षा १ देखि कक्षा ११ सम्मका विद्यार्थीहरु रहेको उहाँले बताउनुभयो ।
“बालबालिकालाई राम्रो खान र बस्न मात्रै दिएर पुग्दैन, उनीहरुलाई माया र स्याहारको ठूलो खाँचो हुन्छ, त्यसतर्फ हामी सचेत छौँ, उनीहरुलाई मायाको कमी नहोस् अभिभावकविहीन हुनुपर्दाको दुःख नहोस् भन्नेमा ख्याल राखेका छौँ”, घलेले भन्नुभयो । उहाँ भविष्यका कर्णाधार भनिने बालबालिकालाई आवश्यक सहयोग गरिरहेको र उनीहरुको आवश्यकताअनुसार सबै सुविधा उपलब्ध गराउने प्रयास गरिरहेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय सुनसरी, ललितपुर पुलचोकस्थित राष्ट्रिय बाल अधिकार परिषद् र सामाजिक विकास मन्त्रालय प्रदेशमा सूचीकृत भई बालगृह सञ्चालनमा ल्याइएको हो । पछिल्लो समय बालगृहमा जनप्रतिनिधि, समाजसेवीलगायतले समय समयमा सहयोग गर्दै आउनुभएको उहाँको भनाइ छ ।
बालगृह निर्माणका क्रममा धरान उपमहानगरपालिकाका वडा नं ४ को कार्यालयले प्रवेशद्वारा निर्माण गरिदिएको थियो भने धरानका जनप्रतिधिहरुले श्रमदान गर्नुभएको थियो । साथै धरानस्थित सियोन स्कुलले रु ७० हजार सहयोग गरेको थियो । साथै धरान उपमहानगरपालिकाका तर्फबाट नगर प्रमुख हर्कराज साम्पाङ राईले तीन सय ३७ ट्याक्टर ढुङ्गा उपलब्ध गराउनुभएको थियो । घले सन् २०१८ मा नेपाल सरकार र ‘द लाइट हाउस फाउण्डेसन’ नेपाललगायत दर्जनौँ सङ्घसंस्थाबाट पुरस्कृत भइसक्नुभएको छ ।
युक्रेनी सेनाले रुसको बेलगोरोडमा गोलाबारीपछि १७ जना अस्पताल भर्ना
युक्रेनी सेनाले रुसको सीमावर्ती क्षेत्र बेलगोरोडमा गरेको ठूलो गोलाबारीपछि एक बालकसहित १७ जनालाई अस्पतालमा भर्ना गरिएको क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले आइतबार बताउनुभएको छ । उहाँले शनिबार गोली प्रहार भएको र घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो । साँझमा भएको ठूलो गोलाबारीपछि २९ जना प्रभावित भएका र त्यसमध्ये दुई महिलाको अवस्था अत्यन्तै नाजुक रहेको छ । चिकित्सकहरूले उनीहरूको जीवन बचाउनका लागि सक्दो प्रयास गरिरहेका गभर्नरले बताउनुभयो । तीन सयभन्दा बढी अपार्टमेन्ट र धेरै सामाजिक संरचनामा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।
शैक्षिक पात्रो सुधार गरी कार्यान्वयन गर्छुः त्रिवि उपकूलपति बराल
काठमाडौँ I त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले शैक्षिक पात्रो सुधार गरी त्यसलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उहाँले शैक्षिक पात्रो सुधारअनुरुप काम गरिरहेको र तयारी भइरहेको जानकारी दिनुभयो ।
“कसरी त्रिविको परीक्षा पात्रो सुधार गर्नुहुन्छ, कसरी परीक्षालाई सुधार गर्नुहुन्छ भन्ने यहाँहरुको जिज्ञासा स्वाभाविक हो”, उहाँले भन्नुभयो, “प्रत्येक प्रदेशमा परीक्षा गर्ने र उत्तरपुस्तिका त्यही सङ्कलन र जाँच गर्ने संरचना भन्दै छ, परीक्षालाई विकेन्द्रीकरणलाई व्यावहारिकरुपमै कार्यान्वयन गर्ने हाम्रो योजना छ ।”
उपकूलपति प्रा डा बरालले विद्यार्थीलाई जतिसक्दो चाँडो परीक्षाफल दिनका लागि आइटीको प्रयोग गर्ने योजना सुनाउनुभयो । बजारको मागअनुसार पाठ्यक्रम विश्वविद्यालयको पाठ्यक्रम परिमार्जन गर्ने बताउँदै उहाँले त्यसपछि बजारले मागेको जनशक्ति उत्पादन गर्नका निम्ति नयाँ नयाँ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्नुभयो । नेपाल सरकारको शिक्षा नीति, २०७६ मा विदेशी विद्यार्थीलाई आकर्षण गर्नेगरी त्रिभुवन विश्वविद्यालयलाई सुधार गर्नुपर्ने उल्लेख गरिएको छ ।
कमाउँदै पढ भन्ने आफ्नो योजना रहेको बताउँदै उहाँले प्रमाणपत्र मात्रैभन्दा पनि व्यावहारिक र रोजगारमूलक शिक्षा बनाउने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्रिभुवन विश्वविद्यालयले नेपालको उच्च शिक्षामा करिब ८० प्रतिशत ओगटेको छ, यो विश्वविद्यालय बिग्रिँदा देशको समग्र शिक्षा क्षेत्र नै बिग्रिन्छ भन्ने मेरो योजना, सोँच पत्रमा राखेको छु र अहिले पनि हाम्रो मान्यता त्यही नै छ ।”
उहाँले शैक्षिक पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन नहुँदा र समयमा परीक्षफल प्रकाशित नहुँदा पछिल्लो समयमा विश्वविद्यालयप्रति विकर्षण बढ्दै गएको स्वीकार गर्दै अभिभावक र आमजनतामा विश्वविद्यालयप्रति नकारात्मक किसिमको भावना सिर्जना गरेको बताउनुभयो ।
विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुन नहुने भन्दै उहाँले उपकुलपतिलाई विभिन्न समयमा विभिन्न किसिमका धम्की आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो नेपालको ठूलो विश्वविद्यालय हो, यसको ७७ जिल्लामै नेटवर्क छ, त्यसैले विश्वविद्यालय सुधार गर्नका निम्ति हामीले यसको ‘स्ट्रक्चर रिफर्म’ गर्नुपर्छ भन्ने छ, यो नेपाल सरकारको नीतिमा पनि छ ।”
पहिचान फेरिएको फुस्रेबजार
धरान (सुनसरी) I कुनै समय व्यापारिक केन्द्रका रुपमा परिचित धरान उपमहानगरपालिका–१३ फुस्रेबजारले अहिले नयाँ स्वरुप पाएको छ । विसं २०३४ अघि फुस्रेबजार पूर्वी पहाडी जिल्लरुको मुख्य व्यापारिक केन्द्रका रुपमा लिइन्थ्यो ।
यहाँ व्यापार गर्नका लागि भोजपुर, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, पाँचथर, फिदिमलगायतका धेरै जिल्लाका स्थानीय उत्पादनहरु चोयाको ढाकरमा बोकी हिँडेर दुई÷तीन दिन लगाई सागुढीगडी हुँदै व्यापार गर्न यहाँ आउने गरिएको बुढापाकाहरु बताउँछन् । त्यतिबेला फुस्रेबजारमा कलात्मक मूर्तिहरुसँगै मौलिक सामग्री पनि व्यापार गर्ने गरिन्थ्यो ।
विसं २०३७÷३८ सालपछि धरान–धनकुटा सडक विस्तार गएपछि पहाडी भेगका धेरै ठाउँमा सडकको पहुँच पुगेसँगै यो बजार सुनसान बन्दै गयो । केही वर्षसम्म सुनसानजस्तै बनेको फुस्रेबजारमा अहिले भने निकै चहलपहल देखिन थालेको छ । त्यही ऐतिहासिक रुप दिन २०७७ सालमा फुस्रे चोकमा पुराना व्यापार व्यवसायीहरुको ढाकर बोक्दै गरेको र बजार भर्दै गरेका स्थानीयहरुको दर्जनौँ मूर्तिहरु राखिएको छ ।
फुस्रे आसपासमा थुप्रै मूर्ति र पार्कहरु बन्न थालेपछि त्यसको अवलोकनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । धरान–१३ मा निर्माण गरिएको श्रम संस्कृति उद्यान, विपी पार्क पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ ।
सर्दु, खर्दु र निसाने खोलाको उजाड बगरमा फलफूलका बिरुवा रोपेर आकर्षक बगैँचा बनाइएको छ । बगैँचाको एक छेउमा धरानको पहिचान झल्किने गरी काठ काट्ने आरा निर्माण गरिएको छ भने त्यसको छेउमा किरात संस्कृतिमा महत्वपूर्ण मानिने चिन्डोको आकृति झल्किने आकर्षक धारा पनि बनाइएको छ ।
उद्यानको वरिपरि पर्यटकलाई बस्न मिल्ने गरी फाइबरका फलैँचा र कुर्सी निर्माण गरिएको छ । उद्यानका ठाउँठाउँमा राखिएका ‘साउन्ड बक्स’बाट सङ्गीतको धुन गुञ्जिरहेको हुन्छ । शान्त र सुन्दर वातावरणमा सुमधुर सङ्गीतको धुनले त्यहाँ पुग्ने पर्यटकको मनै आनन्दित हुन्छ ।
फुस्रे बजार नजिकै पहिले श्रम संस्कृति पार्क (उद्यान) मात्र बनाइएको थियो भने अहिले त्यसको आसपासमा श्रमदानबाटै दर्जनौ पार्क र बगैंचाहरु बनाइएपछि यस बजारले बेग्लै सुन्दरता पाएको छ फुस्रे चोकबाट करिब तीन सय मिटर उत्तरतिर ओसो पार्क, बीपी पार्क, एसडीबी रक गार्डेन, चिल्डेन पार्क, रोज गार्डेनलगायत थुप्रै पार्कहरु निर्माण गरिएको छ ।
अहिले फुस्रे बजार र आसपास घुम्नका लागि पर्यटकको आकर्षक गन्तव्य बनेको छ । मोरङका अस्मिता राई साथीहरुको समूहमा फुस्रे ओशो एसडीबी पार्क घुम्न पुग्नुभयो । चारैतिर फुलले ढकमक्क ढाकेको ठाउँ देख्दा निकै खुशी हुँदै उहाँ भन्नुहुन्छ, ‘‘अब फुर्सद हुनासाथ यहाँ आउनुने छु र अन्य साथीहरुलाई पनि घुम्न भन्नेछु ।’’
धरान उपमहानगरपालिका–१२ का मियरमान ह्यूजलाई पनि टाढाबाट आएका पाहुना, साथीलाई घुम्न लैजाने भरपर्दो ठाउँ बनेकामा खुशी हुनुहुन्छ । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङवाले समयको माग अनूसार धरानको फुस्रे पहिलेको तुलनामा अहिले निकै फेरिएको बताउनुभयो । अहिले चारैतिर पार्क बनेका छन् जुन बन्नुपर्ने नै थियो । धरानमा अहिले यो ठाउँमा धरानका मात्र नभएर धरान बाहिरका पनि धेरै पर्यटकहरु आउन थालेका छन् । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) को प्रेरणाबाट स्थानीय युवाको पहलमा यो उद्यान निर्माण भएको उहाँको भनाइ छ ।
केही समयअघि उजाड र सुनसान जङ्गल जस्तै लाग्ने यो ठाउँमा अहिले पर्यटकको चहलपहल निकै हुन थालेपछि व्यवसायीहरु पनि खुसी भएका छन् । अहिले यो आसपासमा दर्जनौं होटलहरु खुलेका छन् । अहिले दिनमा छ सयदेखि हजार जति मान्छे घुम्न आउँने गरेको स्थानीय होटल व्यवसायी सुरज गुरुङको भनाइ छ । उहाँका अनुसार यस ठाउँमा घुम्न आउनेले जैविक खानेकुराहरुको स्वाद लिन पाइन्छ ।
फुस्रे बजारलाई पहिलेको लयमा फर्काउनको लागि अहिले स्थानीय सरकार र स्थानीयबासी जुटेका छन् । २०७७ सालमा फुस्रे चोकमा व्यापारीक ऐतिहासिकता झल्किने फुस्रे चोकमा सौन्दर्यकरण पार्क निर्माण गरिएको छ । आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनाउनको लागि धरान–१३ वरपरपर धेरै पार्कहरु निर्माण गरिरहेको र धरान फुस्रेदेखि सात सय मिटर माथि खुकुरी पार्कको निर्माण भएको छ ।
लामो समयपछि वर्षा भएसँगै झापाका किसान खुसी
भद्रपुर (झापा) I लामो समयपछि वर्षा भएसँगै झापाका किसान खुसी भएका छन् । आज बिहानै देखि पानी परेपछि किसानले लगाएको चैते धान, मकै, सुपारी लगायतका बालीलाई राहत मिलेको भन्दै किसान खुसी भएका हुन् ।
झापा गाउँपालिका–७ मा मकैखेती गर्नुभएका जीवनाथ लम्साल आज बिहानै देखि पानीले अलिकति भए पनि राहत मिलेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “धेरै समयपछि माटो भिज्ने गरी पानी परेको छ, हाम्रो जस्तो सुक्खा माटो भएको क्षेत्रलाई यसले राम्रो गर्छ ।”
आजको पानीले घोगा लाग्दै गरेको मकैका लागि रामवाणको काम गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापा एकाइका प्रमुख रविन्द्र सुवेदी बताउनुहुन्छ । “वर्षा ढिलो भए पनि माटो भिजेको छ, सबै किसानका लागि राहतको काम गर्छ”, प्रमुख सुवेदीले भन्नुभयो । लामो समयसम्म पानी नपर्दा नदीबाट सिँचाइ भएको ठाउँमा पानीको कमी हुँदै गएको तथा भूमिगत सिँचाइको सुविधा भएका क्षेत्रमा बिजुलीको भोल्टेज कम हुँदा किसानले आवश्यक सिँचाइ गर्न नपाएको बताएका छन् ।
गौरीगञ्ज गाउँपालिका–३ का सीताराम खड्काका अनुसार भूमिगत सिँचाइको व्यवस्था भए पनि खडेरीका कारण सबै बोरिङमा सुक्खा लागेको छ । “लामो समयको खडेरीका कारण धान, गहुँ आधाजति सुकिसकेका थिए, उत्पादनमा कमी भए पनि आजको पानीले राहत मिल्नेछ”, खड्काले भन्नुभयो । झापाका विभिन्न भागमा आज बिहानैदेखि सामान्य वर्षा भइरहेको छ ।
बनेका धारा भत्किन थाले तर पानी आएन
बलेवा (बागलुङ) I खानेपानी नभएपछि बागलुङको जैमिनी नगरपालिकाको सदमुकाम कुश्मीसेरामा हाहाकार छ । धारामा पानी नआएपछि स्थानीय खोलाखोल्सी धाउछन् र पानीको जोहो गर्छन् । खडेरीले मूल सुक्नुका साथै वर्षौँदेखिका खानेपानीका योजना पूरा नहुँदा स्थानीयले सास्ती खेप्न बाध्य भएका हुन् ।
“पानी खोज्न हिँड्दा विद्यालय समयमा पुग्न सकेका छैनौँ”, कक्षा ८ मा पढ्ने सोनम नेपालीले भन्नुभयो, “धारामा पानी आउन छाडेको छ । भएका धारा पनि भत्किन थालेका छन् ।” पानी सुकेपछि तातोपानी भन्ने खोल्सामा पुगेर पानी ल्याउने गरेको उहाँले बताउनुभयो ।
सोनमका छिमेकी सोनु नेपालीले पनि पानी खेप्न जाँदा गृहकार्य गर्न नपाएको बाध्यता सुनाउनुभयो । धारोमा पानी नआएपछि कुवाबाट पानी खेपेर ल्याएको उहाँको भनाइ छ ।
विद्यालयका बालबालिका मात्र होइन, स्थानीय अधिकांशले पानी खेप्न हैरानी भएको गुनासो गरेका छन् । स्थानीय कृष्णमाया थापाले भन्नुभयो, “खडेरीले हैरान बनायो । पानीका मुहान सबै सुकेका छन् । धारा भाँचिन थालेका छन् ।” खडेरीसँगै जङ्गलमा लागेको डढेलोले कैयौंँ पानीका मूल सुकेर समस्या आएको स्थानीय बताउँछन् ।
काम भ्याएर कार्यालय जानेलाई पनि पानीको सास्ती पिरोलेको छ । “धारोमा पानी छैन, खेपेर ल्याउँदा काम भ्याउनै मुस्किल छ”, स्थानीय शिक्षक यमुना शर्माले भन्नुभयो, “यो वर्ष त पानीको हाहाकार नै भयो । डढेलोका कारण पनि थप समस्या भएको हुनसक्छ ।”
दश वर्षअघि कुश्मीसेरामा ‘एक घर एक धारा’ अभियान सञ्चालन भएको थियो । पाइप गाडिसकेपछि जग्गा विवादले उक्त योजना अलपत्र बनेको बागु्लुङ नगरपालिका–११ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले बताउनुभयो ।
पानी अभावमा बारीमा लगाइएका सागपात समेत ओइलिएका छन् । पानीको समस्याले तरकारी अभाव भएपछि तराईका साथै पोखराबाट झिकाउनु परेको स्थानीय साना व्यवसायीले गुनासो गरेका छन् ।
“पहिला स्थानीयस्तरमा उत्पादित तरकारीले पुग्थ्यो, अहिले गाडीमा आउन थालेको छ”, स्थानीय सरिता शर्माले भन्नुभयो्, “सागपात खाने पनि रहर जस्तो भइसकेको छ ।”
विसं २०५० देखि निरन्तर यहाँको छहरा खोलाबाट पानी खाएकाहरुले समेत अहिले मूल सुकेर हैरान भएको बताएका छन् । यो मूलबाट टारका ४५ र सामरुम्टाका ४५ गरी ९० घरले पानी खाइरहेका छन् । पानीको समस्यामा उनीहरु समेत थपिएका हुन् ।
वर्षौँअघि बागु्लुङ नगरपालिका–११ को रायडाँडाबाट पानी ल्याउने गरी योजना बनेको थियो । उक्त योजना अनुसार यहाँ धारा बनेका छन् । पाइपलाइन पनि विछ्याइएको छ । मुहानमै विवाद भएपछि पानी आउने सम्भावना कम भएको वडाध्यक्ष आचार्यले बताउनुभयो । “हामीले अहिले पनि योजना कार्यान्वयनका लागि पहल गरिरहेका छौंँ, तर जग्गावालाले विवाद झिकेर मुहान बनाउन नदिएपछि अलपत्र बनेको छ”, उहाँले भन्नुभयो ।
रायडाँडाबाट ल्याउने प्रस्ताव भएअनुसार ९० एमएमको पाइप विछ्याइएकामा अहिले ३० एमएम मात्रै पानी आएको छ । कुश्मीसेरा बजारमा अधिकांशले खोलाखोल्सीबाट पानी ल्याउने गरेका छन् । उक्त पानी शुद्ध नभएकाले उमालेर मात्रै खान सुझाव दिइएको आचार्यले बताउनुभयो । “मुख्य योजना सफल नभएसम्म पानीको हाहाकार छ”, उहाँले भन्नुभयो, “आसपासका सबै वनमा डढेलो लागेकाले पानीका स–साना स्रोतसमेत सुकेका छन् ।”
आयोजनाअन्तर्गत दुई सय ६० घरमा धारा बनाइएको छ । आर्थिक वर्ष २०७१/७२ देखि निर्माण सुरु भएको उक्त आयोजना अझै पूरा हुन सकेको छैन । कूल रु १७ करोड ४० लाखको आयोजनामा अहिलेसम्म रु १३ करोड ७० लाख खर्च भइसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
“हामीले भौतिक रुपमा ८५ प्रतिशत र वित्तीय रुपमा ८४ प्रतिशत प्रगति गरेका छौँ”, कार्यालय प्रमुख किरण पौडेलले भन्नुभयो, “केही समस्याले पानी वितरण गर्न भने सकिरहेका छैनौंँ ।” उहाँका अनुसार मुहानबाट पाइपलाइन विछ्याइएको स्थानमा पहिरो गएपछि स्थानीयले पानी लैजान नदिएपछि वितरणमा समस्या भएको हो ।
योजनाअन्तर्गतको पानी वितरणमा समस्या आएपछि खानेपानी डिभिजन कार्यालयले वैकल्पिक उपायको खोजी गरी दुई स्थानमा लिफ्टमार्फत पानीको परीक्षण गरेको जनाएको छ ।
इन्डोनेसियाको पश्चिमी सुमात्रामा आएको बाढीमा परी १५ जनाको मृत्यु
इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको अगाम रिजेन्सीमा शनिबार साँझ आएको बाढीका कारण १५ जनाको मृत्यु भएको र अन्य दर्जनौँ घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बिएनपिबी)ले जनाएको छ ।
बिएनपिबीका प्रवक्ता अब्दुल मुहारीले आइतबार ११ जनाको शव कान्डुआङ जिल्लामा र चारवटा सुङ्गाई पुआ जिल्लामा भेटिएको जानकारी दिनुभयो । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।
भारी वर्षापछि आएको बाढीले कान्डुआङ, सुङ्गाई पुआ र आइभी कोटो जिल्लामा क्षति पुर्याएको थियो । कान्डुआङ जिल्लामा आवासीय घर, सार्वजनिक सुविधा र पसललगायत ९० वटा भवन डुबानमा परेका छन् ।
यसैबीच चौथो कोटो जिल्लामा ६० जना विस्थापित भएका छन् भने २० पसल र एउटा विद्यालय भवन प्रभावित भएका छन् । आपत्कालीन अवस्थाको जवाफमा डाटा निरन्तर अपडेट गरिरहने प्रयासहरू भइरहेका छन् ।