बत्तिसपुतली हत्या प्रकरण : पक्राउ परेका चार नाबालक
काठमाडौँ I काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति एक जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका चार नाबालक रहेको खुलेको छ । गएराति दुई समूहबीचमा भएको झगडामा परी मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको र उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका चारै जना नाबालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गएराति दुई समूहबीच झगडा हुँदा एकको मृत्यु भएको छ, घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्दा नाबालक रहेको खुल्न आएकाले नाम सार्वजनिक गरिएको छैन, उक्त विषयमा थप पुष्टि गर्ने कार्य भइरहेको छ ।”
झगडा हुँदा धिमालमाथि चक्कु प्रहार गरिएको र घटनालगत्तै सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । राति बाटोमा हिँड्दै गर्दा धिमाल र पक्राउ परेका एक अर्कासँग ठोक्किँदा झगडा सुरु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा परी मृतक धिमालका साथी २३ वर्षीय मनिष चौधरी पनि घाइते भएको बताइएको छ । मृतक धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षणका लागि राखिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।
‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलका फाइनल खेल आज
खोटाङ I खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला-पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल आज भइरहेको छ ।
गाउँपालिकाको मुख्य प्रायोजनमा यही वैशाख २६ गते देखि सुरूभएको अन्तरपालिकास्तरीय महिला÷पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा महिलातर्फ केपिसगढी गाउँपालिका बाक्सिला र आमचोक गाउँपालिका भोजपुर तथा पुरुषतर्फ षडानन्द नगरपालिका भोजपुर र दमक नगरपालिकाबीच खेल भइरहेका हुन् ।
महिलातर्फ केपिसगढी गाउँपालिका बाक्सिला र ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बीच शनिबार भएको पहिलो खेलमा २५–१२ र २५–१२ मा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कलाई हराउँदै केपिसगढी गाउँपालिका बाक्सिला फाइनल प्रवेश गरेको थियो भने आमचोक गाउँपालिका र आयोजक ऐसेलुखर्क गाउँपालिकाबीच भएको दोस्रो खेलमा आयोजकलाई २५–१४ र २५–१३ हराउँदै भोजपुर फाइनल प्रवेश गरेको थियो ।
पुरुषतर्फ दमक नगरपालिका झापा र सोताङ गाउँपालिका सोलुखुम्बुबीच भएको पहिलो सेमिफाइनलमा दमक नगरपालिका झापा सोझो सेटमा विजयी हुँदै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा २५–२०, २५–२३ र २५–१८ मा सोताङ गाउँपालिका सोलुखुम्बुलाई हराउँदै दमक नगरपालिका झापा फाइनल प्रवेश गरेको हो ।
दोस्रो षडानन्द नगरपालिका भोजपुर र सिद्धिचरण नगरपालिका ओखलढुङ्गाबीच भएको सेमिफाइनल खेलमा पनि सोझो सेटमा विजयी हुँदै षडानन्द नगरपालिका भोजपुर फाइनल प्रवेश गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा भोजपुरले सिद्धिचरण नगरपालिका ओखलढुङ्गालाई २५–२२, २५–२२ र २५–२० मा हराएको हो ।
महिलातर्फको प्रतियोगितामा आमचोक गाउँपालिका भोजपुरकी क्याप्टेन रोमा श्रेष्ठ र केपिलासगढी गाउँपालिका बाक्सिलाकी सिखा कोइराई म्यान अफ द म्याच घोषित भएका रेफ्री सुधीर कार्की जानकारी दिनुभयो । पुरूष तर्फको सेमिफाइनलमा दमकका क्याप्टेन मुस्कान लिम्बू ‘राजन’ र षडानन्द नगरपालिका भोजपुरका खेलाडी मनिष गौतम म्यान अफ द म्याच घोषित भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना महिला÷पुरुष दुवै स्थानीय तहले समानरूपमा क्रमशः नगद रु दुई लाख, रु एक लाख, रु ५० हजार र रु २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष रजिन राईले जानकारी दिनुभयो । विद्यागत पुरस्कारतर्फ महिला÷पुरुष दुवै समूहका एक-एकजना उत्कृष्ट खेलाडीलाई नगद रु पाँच÷पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै, बेस्ट स्पाइकर, बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट डिफेण्डर, बेस्ट सर्भर तथा अनुशासित समूह र बेस्ट प्रशिक्षकलाई नगद रु तीन-तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । अन्तरपालिकास्तरीय महिला÷पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक, आमचोक गाउँपालिका भोजपुर, माप्यदूधकोशी सोलुखुम्बू र केपिसगढी गाउँपालिका बाक्सिला खोटाङ सहभागी भएका छन् ।
पुरुषतर्फ आयोजक, षडानन्द नगरपालिका भोजपुर, नेचासल्यान गाउँपालिका सोलुखुम्बू, दमक नगरपालिका झापा, सोताङ गाउँपालिका सोलुखुम्बू, चिसङ्खु गाउँपालिका ओखलढुङ्गा, ताप्ली गाउँपालिका उदयपुर, सिद्धिचरण नगरपालिका ओखलढुङ्गा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ, रावाबेँसी गाउँपालिका खोटाङ, हलेसी तुवाचुङ नगरपालिका खोटाङ, ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरी, ऐँसेलुखर्क गाउँपालिका–५ महेश्वरी, ऐँलुखर्क गाउँपालिका–७ माक्पा र खेलकुद विकास समिति ऐँसेलुखर्क–३ ऐँलुखर्कको सहभागिता रहेको छ । अन्तर्राष्ट्रिय भलिबल महासङ्घ ९एफआइभिबि०को नियमअनुसार सञ्चालन गरिएको प्रतियोगितमा नौजना खेलाडी, एकजना प्रशिक्षक र एकजना व्यवस्थापक गरी प्रत्येक समूहमा ११ सहभागी छन् ।
चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार
चितवन I भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ । आज बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।
उहाँले छजनाको समूहमा रहेका व्यक्तिले चालक र सहचालकलाई बाहिर निकालेर बसमा पेट्रोल बम प्रहार गर्दा बस पूर्णरूपमा जलेको बताउनुभयो । “प्रहरी घटनास्थलमा पुगी घटनाको विवरण लिने काम भइरहेको छ । थप अनुसन्धानपछि मात्रै कसले र किन बम प्रहार गरेको भनेर खुल्ला”, उहाँले भन्नुभयो ।
राष्ट्रपतिद्वारा आर्थिकविज्ञ डा. नेपालको राजिनामा स्वीकृत
काठमाडौँ I राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिएको राजिनामा स्वीस्कृत गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारीगरी डा. नेपालले दिनुभएको राजिनामा राष्ट्रपतिले स्वीस्कृत गर्नुभएको जानकारी दिनुभएको हो । “राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिनुभएको राजिनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ । साथै, राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुयाउनुभएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ”, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
किसानलाई मौरीसहितको घार अनुदानमा
दमौली (तनहुँ) I बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन वडाले मौरीसहितका घार वितरण गरेको हो । किसानलाई ६० प्रतिशत अनुदानमा मौरीहितका घार उपलब्ध गराइएको वडाध्यक्ष धुर्वप्रसाद लामिछानेले जानकारी दिनुभयो । त्यसमा ४० प्रतिशत किसानको साझेदारी छ । स्थानीयलाई मह उत्पादनमा आकर्षित गर्दै ग्रामीणस्तरमा पोषण परिपूर्ति गर्ने उद्देश्यका साथ मौरीसहितको घार उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
वडाका हरेक किसानलाई समृद्धिसँग जोड्ने अभियानस्वरुप सहयोग गरिएको बताउँदै उहाँले भन्नुभयो, “वडाभित्रका हरेकलाई आयआर्जनसँग जोड्ने सोच राखेका छौँ । वडाले पशुपालन, कृषि, रोजगारीलाई प्राथमिकतामा राखेको छ । उद्यम गर्न चाहने सबैलाई वडा कार्यालयले सहयोग गर्नेछ । ” उत्पादित महको बजारीकरणका लागि पनि वडा कार्यालयले सहयोग गर्ने वडाध्यक्ष उहाँले बताउनुभयो I
एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार
काठमाडौँ I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पोलिटब्यूरोको बैठक सोमबार हुने भएको छ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल गर्न बैठक बोलाइएको हो ।
पोलिटब्यूरो सदस्य दिलु पन्तका अनुसार बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिने छ । पार्टीको आज सम्पन्न हुने स्थायी कमिटीका निर्णय उपर पनि बैठकमा छलफल हुनेछ । बैठकले आगामी जेठ १ र २ गते आह्वान गरिएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने कार्यसूची अनुमोदन गर्नेछ ।
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ । सोही महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामा पोलिटब्यूरो बैठक र त्यसलगत्तै बस्ने केन्द्रीय कमिटी बैठकले दिएको सुझावको आधारमा त्यसलाई पूर्णता दिने नेत्री पन्तले बताउनुभयो ।
दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ
काठमाडौँ I काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गए राति दुई समूहबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको अभियोगमा चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।” धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षणका लागि राखिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।
विकास–निर्माणमा ध्यान केन्द्रित गर्दै बिर्तामोड नगरपालिका
सुरुङ्गा (झापा) I बिर्तामोड नगरपालिकाले नगरको विकास–निर्माणमा आफूलाई केन्द्रित गरेको छ । चालु आर्थिक वर्षमा १० दशमलव ८४ किलोमिटर सडक कालोपत्र, ३४ दशमलव ८८ किलोमिटर सडक ग्राभेल र ४ दशमलव ४४ किलोमिटर सडक स्तरोन्नति गरेको छ ।
उज्यालो नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ बिर्तामोड नगरपालिकाले सडकको स्तरोन्नतिसँगै नगरका विभिन्न ३७ स्थानमा कल्भर्ट, २९ वटा विपन्न आवास, एउटा प्रशासनिक भवन, एउटा अस्पताल, २१ स्थानमा सडक बत्ती, विद्युत् पोल विस्तार, सडकमा पानी बग्न नदिन नाला निर्माण गरेको छ ।
बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईका अनुसार १०४ दशमलव ३० किलोमिटर क्षेत्रमा तटबन्धन गरिएको छभने एउटा झोलुङ्गे पुल, ५६ वटा भवन मर्मत, सात वटा सामुदायिक विद्यालय भवन निर्माणका साथै खानेपानीका लागि तीन सय ८० मिटरमा पाइपलाइन विस्तार गरिएको छ ।
आगामी पाँच वर्षभित्र प्रदेश र सङ्घीय सरकारसँग समन्यव गर्दै बिर्तामोडमा रिङ रोड निर्माण, डिजिटल सेवा प्रवाहका लागि प्रविधियुक्त प्रशासनिक भवन, डोमलाल राजवंशी रङ्गशालाको स्तरोन्नति, देवी हाटमा बहुतले पार्किङसहितको व्यावसायिक भवन, बुट्टावारी प्याकुरेल चोक जोड्ने सडकको स्तरोन्नति, बिर्तामोड नगर अस्पतालको स्तरोन्नति भइरहेको छ ।
बिर्तामोड नगरपालिकाको ‘नगर गौरव’ को आयोजनाका रूपमा रहेको बुट्टावारी–प्याकुरेल चोक सडकखण्डको स्तरोन्नतिका लागि काम भइहरेको छ । छ दशमलव दुई किलोमिटर लामो सो सडक विश्व बैंकको ऋण सहयोगमा स्तरोन्नति थालिएको हो । सो सडक निर्माणका लागि विश्व बैंकले रु ५१ करोड २९ लाख ६१ हजार तीन सय ७२ ऋण प्रवाह गरेको छ । सडक दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।
बाह्र मिटर चौडा सो सडकको मिटरमा कालोपत्र गरिनेछ । सडकको दायाँबाँया पानी निकासको नाला निर्माण गरिने छभने बत्ती, पैदलयात्री मार्ग बनाइने छ । सडकले बिर्तामोड ६, ७ र ८ नम्बर वडा जोड्दै सदरमुकाम चन्द्रगढी जाने मूल सडकलाई पनि समेट्ने नगरपालिकाका इञ्जिनियर नरेन्द्र श्रेष्ठले बताउनुभयो । योसहित बिर्तामोड नगरपालिकामा ६९ वटा नगरस्तरीय विकास निर्माणका योजनामा काम भइहरेको छ । बहुवर्षीय ठेक्कामा २१ वटा योजनाको काम भइरहेको छ । तिनमा मदरसा पाठशालाको शैक्षिक सुधारदेखि सामुदायिक वनमा व्यायमशाला निर्माणसम्म छन् । नगरमा सञ्चालित बहुवर्षीय तथा क्रमागत योजनाको सङ्ख्या ४० छ । बिर्तामोडका १० वटै वडामा वडागत योजनाअन्तर्गत विकास–निर्माणको काम भइरहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका घडियाल गोही राप्ती नदीमा छाडिए
चितवन I चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५ वटा घडियाल गोही राप्ती नदीमा छाडिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार प्राकृतिक वासस्थानमा बाँच्ने र हुर्कने दर कम भएकोले घडियाल गोहीको संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले प्रजनन केन्द्रमा गोही हुर्काउने गरिएको छ । केन्द्रमा हुर्काइएको गोहीलाई नदीमा छाड्ने गरिएको उहाँले बताउनुभयो । विसं २०३५ सालामा स्थापना गरिएको घडियाल गोही प्रजनन केन्द्रबाट हालसम्म एक हजार नौ ५७ वटा गोही देशका विभिन्न नदीमा छाडिएको छ ।
हालसम्म राप्ती नदीमा एक हजार दुई सय दुई वटा, नारायणी नदीमा चार सय १९ वटा, बबइमा एक सय १० वटा, सप्तकोशीमा एक सय १५ वटा, कालिगण्डकीमा ३५ वटा, कर्णालीमा ४१ वटा, बाँके राष्ट्रिय निकुञ्ज पश्चिम राप्ती नदीमा १० वटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर खोलामा २५ वटा गोही छाडिएको छन् ।
घडियाल प्रजनन केन्द्रमा हाल छ सय २२ गोही रहेका उहाँले जानकारी दिनुभयो । अन्य नदीहरुमा गोही संरक्षण हुन नसकेपछि पछिल्ला वर्षहरुमा नारायणी र राप्ती नदीमा मात्रै गोही छाडिने गरिएको छ । अहिले राप्ती र नारायणी नदीमा तीन–तीन वटा भाले गोही छन् । घडीयाल प्रजनन केन्द्रमा हाल दुईवटा भाले गोही छन् ।
प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाडिए पनि गोहीको सङ्ख्या बढ्न सकेको छैन । मानवीय गतिविधि र नदीसँगै बगेर भारतको जलक्षेत्रमा पुगेपछि संरक्षण चुनौतीपूर्ण भएको हो ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
काठमाडौँ I हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म रहेको निम्नचापीय क्षेत्रको पनि प्रभाव रहेको बताएको छ ।
विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै विभागले मुलुकका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने बताएको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।
आगामी २४ घण्टामा मुलुकका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।