दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छः प्रधानमन्त्री
चितवन I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको छ । पूर्वी चितवनका अगुवा कार्यकर्तासँगको आज भएको भेटमा प्रधानमन्त्री दाहालले राजनीतिक दलहरूबीच अनौपचारिक एवं औपचारिकरूपमा छलफल भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने बताउनुभयो ।
“सदनको गतिरोध अन्त्य भइसकेको छैन”, उहाँले भन्नुभयो, “आज यसबारे हामी टुङ्गोमा पुग्नुपर्नेछ, दलहरूबीच सघन छलफल हुन्छ ।” सरकारको समीकरणका विषयमा विभिन्न तवरले हुने गरेको टीकाटिप्पणीप्रति सङ्केत गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “सरकारको स्थीरतामा कुनै समस्या छैन । अहिलेको समीकरण पूरै कार्यकाल जान्छ । सहमतिअनुसार मिलेर अघि बढ्छौँ ।”
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबीचमा सन्तुलन कायम गरी जनताका आकाङ्क्षालाई सम्बोधन गरिने प्रधानमन्त्रीको भनाइ छ । “आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबीच सन्तुलन कायम गरिनेछ”, उहाँले भन्नुभयो, “कृषिलाई आधार र नवप्रवर्तनलाई केन्द्रित गरेर ‘पपुलिष्ट’ होइन ‘पपुलर’ बजेट बन्छ ।”
सरकारले उत्पीडित, गरिब, बिपन्न, विकट क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै उहाँले कृषिमा आधारित उद्योगको प्रवद्र्धनमा जोड दिइने बताउनुभयो । भ्रष्टाचार नियन्त्रणमा सरकारले अभूतपूर्व काम गरेको बताउँदै प्रधानमन्त्री दाहालले ललिता निवासको एक सय ४३ रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइएको जानकारी समेत दिनुभयो ।
सट्टेबाजीमार्फत रु दुई अर्बभन्दा बढीको कारोबार गर्ने पक्राउ
काठमाडौँ I काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरुमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ, वानएक्स बेट, जुवा ३६५ तथा क्रिफ्टोमार्फत रु दुई अर्ब एक करोडभन्दा बढीको कारोबार गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डदेपुर नगरपालिका–८ घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बस्ने २४ वर्षीय अनिल ढुङ्गाना रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “ढुङगानाले ५५ वटा बैंक खातामार्फत उक्त कारोबार गरेको पाइएको र निजले वानएक्स बेट, जुवा ३६५ जस्ता अनलाइन बेटिङ वेबसाइटको प्रयोग गरी रु दुई अर्ब एक करोडभन्दा बढीको कारोबार गरेको खुलेको छ ।”
यसैगरी निजसँग विभिन्न व्यक्तिका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिङ्क गरिएका ५६ वटा बैंकमा हालसम्म रु दुई अर्ब एक करोड १८ लाख ४४ हजार कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताउनुभयो ।
बिनान्समार्फत दुई वटा खाता प्रयोग गरेर विभिन्न दुई सय ४३ प्रकारका क्रिप्टोकरेन्सीमा हालसम्म नेपाली रु एक अर्ब ३४ करोड कारोबार गरेको भेटिएको जानकारी दिइएको थियो ।
पाहा मार्न गएका युवा खोलामा बेपत्ता
ओखलढुङ्गा I ओखलढुङ्गामा खोलामा पाहा मार्ने क्रममा एकजना बेपत्ता भएका छन् । आइतबार साँझ साढे सात बजेको समयमा चिशङ्खुगढी गाउँपालिका–७ ठोट्ने खोलामा साथीहरुसँग पाहा मार्न गएका सिद्विचरण नगरपालिका–५ चुप्लुका २९ वर्षीय सन्तोष राई बेपत्ता भएका हुन् ।पाहा मार्ने क्रममा चिप्लिएर राई बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिनुभयो । प्रहरी टोली र स्थानीयको सहयोगमा बेपत्ता राईको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेशसभाको बैठक आज बस्दै
मकवानपुर I बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बागमती प्रदेशसभाको बजेट अधिवेशनको यो बैठक आज दिउँसो १ बस्ने बस्ने गरी आह्वान गरिएको हो ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको बैठक आह्वान गर्नुभएको थियो । आजको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गर्ने कार्यसूची तय भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।
त्यसैगरी आजको बैठकमा बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक सुनसहित पक्राउ
काठमाडौँ I त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौँ आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गएराति फ्लाई दुबईबाट काठमाडौँ आएका दुई जना भारतीयले आफूले लगाएको लुगामा सुन जस्तो देखिने पहेँलो रङको धातु लेपन-पेष्ट गरिएको अवस्थामा फेला परेपछि पक्राउ गरिएको छ ।”
पक्राउ परेकामध्ये सुरेश कुमारको लुगासहितको उक्त सुन जस्तो देखिने पहेँलो रङको धातुको तौल दुई किलो छ सय ग्राम तथा मोहनकुमारको लुगासहितको तौल दुई किलो पाँच सय ग्राम हुन आएको विमानस्थल सुरक्षा प्रमुख शर्माले जानकारी दिनुभयो । उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु
नयाँदिल्ली (रासस/एएनआई) I भारतको तल्लो सदन लोकसभाको चौथो चरणको मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार, बिहान ७ बजेदेखि सुरु भएको चुनावमा संसदका ९६ स्थानका लागि आज मतदान हुँदैछ । साथै आन्ध्र प्रदेश राज्यको १७५ सदस्यीय विधान सभा र ओडिसा राज्यको २८ सदस्यीय विधान सभाका लागि पनि आजै मतदान हुँदैछ ।
लोकसभाको ९६ स्थानमध्ये आन्ध्र प्रदेशका २५, तेलाङ्गानाका १७, उत्तर प्रदेशका १३, महाराष्ट्रका ११, मध्यप्रदेशका आठ, पश्चिम बंगालका आठ, बिहारका पाँच, झारखण्ड र ओडिसाका चार चार तथा जम्मु काश्मिरका एक स्थानमा चुनाव हुँदैछ । निर्वाचन आयोगका अनुसार यस चरणमा कूल एक हजार ७१७ उम्मेदवार चुनावी मैदानमा छन् ।
यस चरणको चुनावमा एआइएआइएमका प्रमुख असासुद्दीन ओवैसी, समाजवादी पार्टीका अध्यक्ष अखिलेख यादव, पश्चिम बंगाल काँग्रेसका प्रमुख अधिररञ्जन चौधरी, टिएमसीका नेता महुआ मोइत्रा, भाजपाका नेता गिरिराज सिंह, जनता दल युनाइटेडका राजीव रञ्जन सिंह (ललन सिंह), टिएमसीका नेता शत्रुघ्न सिन्हा र खेलाडी युसुफ पठान मुख्य प्रतिस्पर्धी छन् ।
तेस्रो चरणको मतदानसम्म २८३ स्थानको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भइसकेको छ । भारतको लोकसभामा ५४३ स्थान छ ।
तोलामा रु तीन सयले घट्यो सुनको मूल्य
काठमाडौँ I स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार एक सय निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन आइतबार रु एक लाख ३७ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३७ हजार चार सय ५० निर्धारण भएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा रु १० ले ओरालो लागेको छ । आइतबार प्रतितोला रु एक हजार सात सय २५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय १५ निर्धारण भएको छ ।
गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कैयौँ गुणा बढी छ: प्रधानमन्त्री
चितवन I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कैयौँ गुणाबढी विकास भएको बताउनुभएको छ । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गरेपछि प्रधानमन्त्री दाहालले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताउनुभयो ।
“राजतन्त्रकालको २५० वर्ष र गणतन्त्रकालको दुई दशकको तुलनात्मक अध्ययन गर्ने जो–कोहीले भन्न सक्छ–२५० वर्षमाभन्दा कैयौँ गुणा बढी विकास पछिल्लो दुई दशकमा भएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युत्जस्ता भौतिक पूर्वाधारको विकास एवं सामाजिक सुरक्षा, सेवा प्रवाह, सेवाको सरलीकरण र प्रभावकारितालगायतका मानवीय विकासका क्षेत्रमा नेपालले राम्रो प्रगति गरिरहेको छ ।”
पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको बिस्तार चमत्कारिक हिसाबले अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले ९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ता आफ्नो बासस्थानबाट एक घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
“विकासक्रमलाई गणतन्त्रअघि र गणतन्त्रपछिको अवस्थासँग तुलना नगर्ने तर अति विकसित र विकसित मुलुकसँग तुलना गरेर ‘नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपालको पछिल्लो विकासलाई ठीक ढङ्गले अध्ययन र विश्लेषणका आधारमा ‘देशभित्र सम्भव छ’, ‘गरे सकिन्छ’ भन्ने सकारात्मक चिन्तन र ऊर्जाको विकास गर्न जरूरी छ ।”
सडक विभागले नेपाल सरकारको अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका आधारमा सडक पूर्वाधारमा सकारात्मक पहल लिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले चालु आर्थिक वर्षमा मात्र एक सय ४९ भन्दाबढी पुल निर्माण गरिसकेको बताउनुभयो ।
“काठमाडौँको नागढुङ्गा सडकको सुरूङमार्गको ‘ब्रेक–थ्रु’ भएको छ । त्यसैगरी बहुउद्देश्यीय मरिन डाइभर्सन परियोजनाको पनि भर्खरैमात्र ‘ब्रेक–थ्रु’ गरिएको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “यसले देश सुरूङयुगमा प्रवेश गरेको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सन्देश दिनुका साथै सन् २०२६ सम्म नेपाल विकासशील मुलुकमा फड्को हान्ने लक्ष्यमा सकारात्मक योगदान पु¥याएको छ ।”
अहिले सडक विभागअन्तर्गत काठमाडौँको ग्वार्कोमा ‘फ्लाइओभर’को निर्माण भइरहेको र पृथ्वी राजमार्गको मादी, सेती नदीलगायतका नदीमाथि ‘सिग्नेचर’ पुल निर्माण भइरहेका प्रधानमन्त्रीको भनाइ छ । उहाँले पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो ।
उपप्रधानमन्त्री यादवद्वारा राजीनामा
काठमाडौँ I उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनुभएको छ । यादवले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाउनुभएको हो ।
“आज विहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको छु, वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु”, उहाँले भन्नुभयो । उहाँले आजका दिनसम्म सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिनुभएको छ ।
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौँ I नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज दिउँसो १ बजे संसदीय दलको कार्यसमितिको बैठक र दिउँसो २ बजे संसदीय दलको बैठक बस्न लागेको जानकारी दिनुभयो । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।
बैठकमा राजनीतिक घटनाक्रम र समसामायिक विषयमा छलफल हुने प्रमुख सचेतक लेखकले बताउनुभयो । पछिल्लो समय सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । संसद्को बजेट अधिवेशन सुरु भएको र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेकाले अब पार्टी कसरी अगाडि बढ्ने भन्नेबारेमा बैठकमा छलफल हुने बताइएको छ । कांग्रेसले सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिँदै आएको छ ।
यसैबीच, आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गतिरोध हटाउन कांग्रेसका नेताहरुसँग छलफल गर्नुभएको थियो ।