दोस्रो अल्फा विटा ओपन बास्केटवलको उद्धघाटन खेलमा व्रदस क्लव विजयी
धरान I धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा शनिवार देखि सुरु भएको दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिताको उद्धघाटन खेलमा व्रदस बास्केटवल क्लव विजयी सुरुवात गरेको छ ।
व्रदसले अइएसएल नेपाल काठमाण्डौ ए टिमलाई ५१–४४ अंकको अन्तरले पराजित गर्दै अगाडि वढेको छ । प्रतिस्पर्धात्मक भएको खेलमा व्रदस र आइएसएल नेपालले पहिलो क्वाटरमा ९–८, दोस्रो क्वाटरमा १४–१३, तेस्रो क्वाटरमा १९–११ र चौथो क्वाटरमा ९–१२ अंक जोडेका थिए । टिमलाई जित दिलाउन व्रदसका टिम क्याप्टेन कविन मगरले व्यक्तिगत २२ अंक ल्याएका थिए ।
महिला तर्फको खेलमा युवा जागृति, रेड डेभिल्स र आइएस एल नेपाल काठमाण्डौले जित निकाल्न सफल भए । युवा जागृतिले तरहरालाइ ३९–३ अंकको फराकिलो अन्तरले पराजित गरे । रेडडेभिल्सले इमोर्टल क्लवलाई २३–१७ र आइएसएल नेपालले धरान मेघा कलेजलाई ३५–३० अंकको अन्तरले पराजित गरे । प्रतिस्पर्धात्मक भएको खेलको निर्धारित समयमा आइएसएल र धरान मेघाले २९–२९ बराबरि अंक जोडे पछि खेल ओभर टाइममा गएको थियो । थप ५ मिनेटको समयमा आइएसएल विजयी भए ।
त्यसैगरि पुरुष तर्फको दोस्रो खेलमा होलिल्याण्डले आइएसएल नेपाल वि टिमलाई ६६–१९ अंकको अन्तरले पराजित गर्दै अगाडि वढेको छ ।
प्रतियोगितामा महिला तर्फ लिगकम नकआउटको र पुरुष तर्फ नकआउटको आधारमा खेल संपन्न भइरहेको छ । प्रतियोगीतामा महिला तर्फ ७ टिम र पुरुष तर्फ १७ टिमले सहभागिता जनाएको छ भने पुरुष तर्फ आइएसएल नेपाल काठमाण्डौ ए र वि टिम, यलम्वर क्लव, तरहरा ए र वि टिम, जेविए झपा, युवा जागृति क्लव, व्रदस क्लव, धरान १३, होराइजन क्लव, युनाइटेड गोर्खा, डिपो कलेज, केन्द्रिय प्रविधि क्याम्पस हातिसार, मिराकल क्लव, इमोर्टल क्लव, होलिल्याण्ड र धरान मेघा कलेजले सहभागिता जनाएको छ ।
महिला तर्फ आइएसए नेपाल, धरान मेघा कलेज, तरहरा, युवा जागृति, रेड डेभिल्स, इलुजन झापा र इमोर्टल क्लवले सहभागिता जनाएको छ । प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरि व्याक्तिगत विद्या तर्फ प्रतियोगिताको धरान मेघा मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले पुरुष तर्फ नगद १० हजार र महिला तर्फ नगद ५ हजार, ट्रफि, प्रमाणपत्र र अल्फा विटा निशुल्क छात्रवृतm प्राप्त गर्नेछ । प्रतियोगिताको राइजिङ प्लेयरको पुरुष तर्फको उपाधि विजेताले नगद ५ हजार र महिला तर्फका विजेताले नगद २ हजार ५ सय रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको फाइनल म्याच अघि हुने तेस्रो प्रकाश पौडेल थी्र पोइन्ट कम्पिटिसनका महिला र पुरुष विजेताले जनहि ५ हजार, ट्रफि र प्रमाणपत्र प्राँप्त गर्नेछ ।
शनिवार देखि सुरु भएको प्रतियोगिताको उद्धघाटन कार्यक्रमका प्रमूख अतिथि कोशि प्रदेशका माननिय विजयकुमार राईले क्यान्डलमा द्धिव प्रज्वलन गरी उद्धघाटन गरेका थिए । धरान बास्केटवल संघका अध्यक्ष सुरजकुमार लामाको सभाध्यक्षक संपन्न कार्यक्रममा सुनसरी वास्केटवल संघका अध्यक्ष नारायण सुवेदि, , धरान उपमहानगरपाकिला पुर्व मेयर तिलक राई, युवा नेता तथा अग्रज पत्रकार भिमज्वाला राई, धरान १० न.वडाका वडाध्यक्ष एवं सुनसरी बास्केटवल संघका उपाध्यक्ष विवेक राई, धरान १८ न. वडाका वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण, १६ न. वडाका वडाध्यक्ष मुरारि भट्टराई, २ न. वडाध्यक्ष रमेशकुमार राई, समाजसेवि पर्वत राई, सुनसरी फुटवल संघका अध्यक्ष नविन राई, नेपाली कांगे्रस धरान उपमहानगर अध्यक्ष श्याम पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा संपन्न भइरहेको छ ।् प्रतियोगिता जेष्ठ ४ गते समापन हुनेछ । प्रतियोगिताका मुख्य प्रायोजक अल्फा विटा कोयला कन्सलटेन्सि प्रालि रहेको छ । भोलिको खेल महिला तर्फ युवा जागृति र धरान मेघा, तरहरा र आइएस ए नेपाल र इमोर्टल र इलुजन झापा विच हुनेछ । पुरुष तर्फ धरान मेघा र इमोर्टल क्लव र हातिसार कलेज र जेविए झापा विच हुनेछ ।
नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आइतबार पनि
काठमाडौँ I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आइतबार ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।
पार्टीको केन्द्रीय कार्यालयमा आजदेखि सुरूभएको बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले आइतबार बस्नेगरी आज स्थगित गरिएको पार्टीका उपमहासचिव एवम् केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमाथि आफ्नो धारणा राख्नुभएको र महासचिव घनश्याम भुसालले आसन्न महाधिवेशनका तयारीसहितका एजेण्डाबारे जानकारी गराउनुभएको पनि उपमहासचिव खतिवडाले जानकारी दिनुभयो ।
यस्तै, बैठकमा स्थायी कमिटी सदस्यहरू साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह, राजेन्द्र राई र माधव पौडेलले आफ्ना कुरा राख्नुभएको थियो भने बाँकी नेताहरूले आइतबारको बैठकमा बोल्नु हुनेछ ।
स्थायी कमिटी बैठक सकिएलगत्तै आइतबार साँझ पोलिटब्यूरो बैठक समेत बोलाइएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो । सो बैठकले केन्द्रीय कमिटीको बैठकमा छलफल गरिने कार्यसूची अनुमोदन गर्ने जनाइएको छ ।
तीन सय तेह्र केजी गाजासहित एक पक्राउ
धरान I धरान उपमहानगरपालिका–८ बाट तीन सय १३ गाजासहित एक जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले धरान उपमहानगरपालिका–१५ बस्ने २८ वर्षे आशीष कार्की सो परिमाणको गाजासहित पक्राउ गरेको हो ।
धरान–८ स्थित बुढासुब्बा वर्कसपमा बा१०च ६८३८ नंको स्कार्पियो गाडी शङ्कास्पद अवस्थामा देखिएपछि चेकजाँचका क्रममा गाडीभित्र कालो प्लाष्टिकमा राखिएको गाजासहित कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिनुभयो ।
उहाँले सो सम्बन्धमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।
एक भारतीय महिला पक्राउ
बनियानी (झापा) I झापाको भद्रपुर–८ स्थित चन्द्रगढी विमानस्थलबाट चाँदी र भारतीय रुपैयाँसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत उत्तराखण्ड राज्य देहरादुनस्थित तिब्बतीयन कोलोनीकी ३१ वर्षीया तेन्जिन पलडा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । चाँदी लिएर चन्द्रगढी झापाबाट काठमाडौँ जाँदै गरेको भन्ने सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेलुका ६ः३० बजे विमानस्थल कार्यालय परिसरबाट ती महिलालाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।
कालो झोलामा र सुटकेस बोकेकी उनलाई जाँचका क्रममा सुटकेसभित्र कालो प्लाष्टिकको झोलामा चाँदीजस्तो देखिने दुईवटा सेतो धातुको (दुई केजी पाँच ग्राम) र कालो रङको पर्सभित्र भारु पाँच सय दरका ५७ थान नोट, आइफोन १२ प्रो म्याक्स एक थान, दुई थान नेपाली सिमकार्ड र एक थान भारतीय कम्पनीको सिमकार्ड फेला परेको थियो ।
उनलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाई र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
सदनको अवरोध हटाउन अनौपचारिक संवाद
काठमाडौँ I सङ्घीय संसद्मा उत्पन्न गत्यावरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादलाई जारी राखेका छन् । समस्याग्रस्त सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा सङ्घीय संसद्को बर्खे अधिवेशनको पहिलो दिन शुक्रबार दुवै सदनमा कार्यसूची प्रभावित भएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सत्तारुढ नेकपा (एमाले)लगायत दलका नेतासँग सहमतिको उपायबारे अनौपचारिक संवाद गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
यही विषयमा आज नेपाली कांग्रेसको पदाधिकारी बैठक भएको छ । सो दलको शुक्रबारको संसदीय दलको बैठकले सहकारीको रकम अपचलन सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेकोसमेत संलग्नताको आरोप लगाउँदै आएकोबारे निष्पक्ष र स्वतन्त्र छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग पुनःअघि सारेको थियो ।
सरकारको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले कुरा गर्दै भन्नुभयो अहिलेसम्म सहमतिका लागि ठोस प्रगति नभए पनि अब सदनको बैठक बस्ने दिनसम्म सरकारले सहमतिका लागि कुनै न कुनै उपाय निकाल्ने आशा व्यक्त गर्नुभयो । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले पनि शीर्ष तहबाट छलफल भई निकास निस्कने आशा व्यक्त गर्नुभयो ।
संसदीय समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म सदनका बैठक चल्न नदिने अडान राखेपछि पहिलो दिनका बैठकका दुवै सदनका कार्यसूची प्रभावित भएका थिए । आगामी जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भइसकेको छ । प्रतिनिधिसभाको अर्काे बैठक आगामी जेठ १ गते साँझ ६ बजे र राष्ट्रियसभाको अर्काे बैठक जेठ १ गते साँझ ५ः३० बजे राखिएको छ ।
राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्यो : प्रवक्ता सापकोटा
मलेखु (धादिङ) I नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले देशको अस्तित्व जोगाउन तत्काल राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । अहिलेको संसद्ले जनतालाई आशावादी बनाउन नसकेको र अराजकताको अवस्थामा देश पुगेकाले साझा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
प्रेस सेन्टर नेपाल धादिङले आज धादिङबेंसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता सापकोटाले संसद्लाई सहमतिपूर्वक सञ्चालन गरेर संसद्लाई जिवन्त, गतिशील र जनमुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।
“राष्ट्रिय सहमतिमा जति ढिला ग¥यो देशको अस्तित्वमाथि प्रश्न चिन्ह खडा हुन्छ । सहमति, सहकार्य र समन्वय गर्दै अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । प्रवक्ता सापकोटाले आगामी बजेटले कृषि क्षेत्रलाई सर्वाधिक महत्व दिएर नवप्रवद्र्धनमा जोड दिने खालको बजेट ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो । सबैका लागि समृद्धि हुने नीति, कार्यक्रम र बजेट सरकारले ल्याएर देशलाई विकासको बाटोमा अघि बढाउन आवश्यक भएको उहाँले उल्लेख गर्नुभयो ।
चताराधाममा पूर्ण महाकुम्भ समापन
धरान (सुनसरी) । सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजाअर्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ । मेला गत चैत २७ गते सुरु भएको हो ।
मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवान्को दर्शन गरेको मेला आयोजक समितिका उपाध्यक्ष किसन थापाले बताउनुभयो । मेला आयोजना गर्न सङ्घीय सरकारले रु७० लाख र प्रदेश सरकारले रु ५५ लाख प्रदान गरेको थियो । मेलाको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको थियो ।
कुम्भस्नान गर्न जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य, कोशी प्रदेशसभा सदस्य इस्रायल मन्सुरी, मुख्यसचिव वैकुण्ठ अर्याल, बागमती प्रदेशका सचिव हुमकला पाण्डे, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन पोखरेल, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीलगायत सप्तकोशी नदीमा पुग्नुभएको थियो ।
प्राचीन हरिद्वारका नामले समेत प्रसिद्ध चतराधाममा २०५९ सालेखि पूर्णमहाकुम्भ मेला आयोजना हुँदै आएको छ । चतराधाममा प्रत्येक छ वर्षमा अर्धकुम्भ र बाह्र वर्षमा पूर्णकुम्भ मेला लाग्नेगरेको छ ।
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
धरान (सुनसरी) I नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यहाँ कोशी प्रदेशस्तरीय कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ ।
धरान उपमहानगरपालिका–१६ मा बनेको केन्द्रको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, नाष्टका उपकुलपति डा दिलीप सुब्बा र सचिव डा रवीन्द्रप्रसाद ढकालले शुक्रबार उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा उपकुलपति सुब्बाले प्रविधिको प्रयोगबाट कृषि उत्पादन बढाउन सकिने बताउँदै त्यसनिम्ति केन्द्रलमार्फत किसानलाई सघाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
नगरप्रमुख राईले धरानको विकास आफ्नो एकमात्र लक्ष्य हो भन्दै केन्द्र स्थापनाका निम्ति उपमहानगरपालिकाले पूर्वाधार खडा गरेको जानकारी दिनुभयो । साथै उहाँले धरान आवासका निम्ति उपयुक्त सहर भएकाले त्यसैअनुसार खानेपानी योजना सञ्चालन तथा फोहरमैला व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
नास्टका सचिव ढकालले केन्द्रमा विशेष गरी कृषि र खाद्य प्रविधिसँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धान हुने बताउनुभयो ।
राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने
नवलपरासी I पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो अभियान सञ्चालन गरेको हो ।
नगरप्रमुख शम्भुलाल श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षलाई शैक्षिक सुधार वर्षको रूपमा कार्यान्वयन गर्न बजेटको प्राथमिकीकरण गरिने तयारी भएको छ । सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि बजेटमार्फत नै प्राथमिकतामा समेटिन लागेको हो । विद्यालयको भौतिक संरचनालाई मात्र होइन शैक्षिकस्तर सुधार अपरिहार्य भएकाले सम्भव भएसम्म अधिकतम बजेट छुट्याउने योजना रहेको उहाँले बताउनुभयो ।
“वडाहरूलाई अब स्वायत्त बनाइने गरी थप १० करोड रकम विनियोजन गरिनेछ । वडाको जनसङ्ख्या, भूगोल, उत्पादन, कर सङ्कलनको अवस्थालगायत मापदण्डका आधारमा बजेट दिइने छ,” नगरप्रमुख श्रेष्ठले भन्नुभयो । राज्यकोषबाट सुविधा लिनेले अनिवार्य रूपमा सामुदायिक विद्यालयमा आफ्ना सन्तान पढाउनुपर्नेमा जोड दिनुभयो । हाल नगरपालिका क्षेत्रका ३७ वटा सामुदायिक विद्यालयमा ११ हजार विद्यार्थी अध्ययनरत छन् ।
संसद्को संयुक्त बैठक जेठ १ मा : राष्ट्रपतिले सम्बोधन गर्नुहुने
काठमाडौँ I राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । सङ्घीय संसद् सचिवालयले आज सूचना जारी गर्दै विसं २०८१ साल जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसद्का सदस्यको उपस्थिति आह्वान गरेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त दिन संयुक्त बैठक आह्वान गर्नुभएको हो । मङ्गलबार आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने तयारी सरकारको छ ।
“सम्माननीय राष्ट्रपतिबाट नेपाल सरकार, नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम मिति २०८१ साल जेठ १ गते मङ्गलबार ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सदस्यको उपस्थिति आह्वान गर्नुभएकाले उक्त मिति, समय र स्थानमा सङ्घीय संसद्का माननीय सदस्यहरुको उपस्थितिका लागि सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को नियम ३ को उपनियम १ बमोजिम यो सूचना जारी गरिएको छ”, संसद्को सूचनामा भनिएको छ ।
उक्त दिन सबै सांसदलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसनग्रहण गरिसक्न भनिएको छ ।