कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन ३६ जिल्लाको आब्हान
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशन आउन अब दुई दिन मात्र बाँकी रहँदा पार्टीका विभिन्न जिल्ला कार्य समितिहरूले विज्ञप्ति जारी गर्दै महाधिवेशनमा सहभागि हुन काठमाडौं आउन आह्वान गरेका छन्।
पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा सहभागिताका लागि शुक्रबार बिहानसम्म ३६ जिल्लाबाट औपचारिक रूपमा विज्ञप्ति जारी भइसकेको जनाइएको छ।
विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस परिचालन समितिका संयोजक जगदीश्वर नरसिंह केसीले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्ने जिल्ला तथा नेताहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको जानकारी दिए ।
विज्ञप्ति जारी गर्ने जिल्लामा काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धनकुटा, भोजपुर, बारा, कास्की, बाँके, रोल्पा, अर्घाखाँची, पाल्पा, गोरखा, तनहुँ, नुवाकोट, रसुवा, लमजुङ, उदयपुर, गुल्मी लगायत रहेका छन्।
विशेष महाधिवेशन अपरिहार्य रहेको उल्लेख गर्दै काँग्रेस पाल्पाका जिल्ला सभापति हिमाल श्रेष्ठले जनतामा व्याप्त निराशा चिर्दै आगामी निर्वाचनमा शत्रुतापूर्ण राजनीतिक व्यवहारको अन्त्य, मित्रवत प्रतिस्पर्धा र ‘जेन–जी आन्दोलन’को मर्मअनुसार युवाको प्रभावकारी सहभागिता सुनिश्चित गर्न विशेष महाधिवेशन आवश्यक रहेको बताए ।
यसैगरी, विशेष महाधिवेशनमा सहभागिका लागि औपचारिक आह्वान गर्दै काँग्रेस बारा जिल्ला सचिवद्वय राजेश रौनियार र भैयाराम प्रसाद यादवले संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा जनताको आवाज र वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै अझ एकताबद्ध, ऊर्जाशील र परिवर्तनमुखी नेपाली काँग्रेस निर्माण गर्नु विशेष महाधिवेशनको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै सबै प्रतिनिधिलाई सफलताका लागि सक्रिय हुन आग्रह गरिएको छ।
काँग्रेस गुल्मीका जिल्ला सभापति खिलध्वज पन्थीले पनि परिवर्तित राजनीतिक सन्दर्भमा पार्टीलाई समयअनुकूल रूपान्तरण गर्न विशेष महाधिवेशन अपरिहार्य रहेको बताए ।
यसैबीच, कर्णाली प्रदेशका विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधि काठमाडौँका लागि प्रस्थान गरिसकेका छन् । सुदूरपश्चिमसहित सबै प्रदेशका जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू बस रिजर्भ गरी काठमाडौं आउने तयारीमा रहेको जनपरिचालन समितिले जानकारी दिएको छ ।
‘जेन–जी आन्दोलन’पछि देशको बदलिएको राजनीतिक परिवेशबीच हुन लागेको आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेस नयाँ रूप र नयाँ एजेन्डासहित जनतामाझ जानुपर्ने आवश्यकता देखिएकाले विशेष महाधिवेशन आयोजना गरिएको हो। प्रारम्भमा कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेकामा हाल समर्थन गर्ने संख्या थप बढ्दै गएको विशेष महाधिवेशन सचिवालयले जनाएको छ।
अपाङ्गता भएका हरि बुढा मगरद्वारा माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण
काठमाडौं । पूर्वब्रिटिश गोर्खा तथा घुँडामाथि दुई गुणा अपाङ्गता भएका हरि बुढा मगरले अन्टार्कटिका माउन्ट भिन्सन सफलतापूर्वक आरोहण गर्दै विश्व पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेका छन् ।
यससँगै उनले लामो समयदेखि लक्ष्य बनाउँदै आएको सेभेन समिट चुनौती समेत पूरा गरेका छन् ।
मगरले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे अनुसार जनवरी ६, २०२६ मा राति १० बजे (स्थानीय समय) तीन दिनको कठिन आरोहणपछि ४,८९२ मिटर अग्लो माउन्ट भिन्सनको चुचुरो मा पुगेका हुन्।
अल्पाइन एसेन्ट्सका अबिरल राई, मिङ्मा शेर्पा तथा अभियान नेता जाङ्बु शेर्पासहितको टोलीले माइनस २५ डिग्री सेल्सियस तापक्रम, तीव्र हावा र कठोर भूभागको सामना गर्दै अभियान सम्पन्न गरेको थियो ।
यो सफलतासँगै मगर दुई घुँडामाथि अपाङ्गता भएका व्यक्ति मध्ये सेभेन समिट पूरा गर्ने विश्वकै पहिलो पर्वतारोही बनेका छन् । विश्वभर पाँच सयभन्दा कम आरोहीले मात्र हासिल गरेको यो उपलब्धि पर्वतारोहणको सबैभन्दा प्रतिष्ठित मानिन्छ ।
सफल आरोहणपछि मगरले यो अभियान केवल शिखर चुम्ने विषय मात्र नभएको बताए।
‘सपना, समर्पण र निरन्तर प्रयासले असम्भव पनि सम्भव हुन्छ,’ भन्दै उनले टोली, परिवार र समर्थकहरूलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद दिए।
रोल्पामा जन्मिएका मगर २०१० मा अफगानिस्तानमा भएको आइडी विस्फोटबाट घाइते भएका थिए।
सन् २०२३ मा सगरमाथा आरोहण गर्ने पहिलो दुई घुँडामाथि अपाङ्गता भएका व्यक्ति बनेपछि उनले पर्वतारोहणलाई समावेशीकरण र प्रेरणाको माध्यम बनाउँदै आएका छन्।
हिमालयदेखि अन्टार्कटिकासम्मको उनको यात्रा आज दृढता, साहस र समावेशी पर्वतारोहणको प्रेरणादायी कथा बनेको छ ।
मतदाताको विवरण शुल्क लिएर दिने आयोगको व्यवस्था
काठमाडौं । निर्वाचन आयोगले मतदाताको गोपनीयता सुरक्षित गर्दै राजनीतिक दल र उम्मेदवारलाई मतदाता नामावली उपलब्ध गराउने व्यवस्था गरेको छ ।
आयोगले जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरजस्ता संवेदनशील विवरण भने कुनै हालतमा उपलब्ध नगराइने स्पष्ट पारेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार आयोगमा दर्ता भएका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि देशभरको मतदाता नामावली लिन चाहेमा १० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्तो विवरण दलको औपचारिक पत्रका आधारमा विद्युतीय माध्यम (हार्डड्राइभ वा पेनड्राइभ) मार्फत उपलब्ध गराइने आयोगले जनाएको छ ।
एउटा प्रदेशको मात्र मतदाता विवरण आवश्यक परेमा पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ । तर उपलब्ध गराइने विवरणमा मतदाताको व्यक्तिगत पहिचान खुल्ने संवेदनशील सूचना समावेश गरिने छैन ।
निर्देशिकाले मतदाता नामावली हेर्ने र सार्ने क्रममा नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न नपाइने व्यवस्था पनि गरेको छ । निर्वाचन अधिकृतले मतदाता, दलका प्रतिनिधि वा उम्मेदवारलाई आवश्यक परे नामावली हेर्न र आफ्नै खर्चमा सार्न दिनुपर्नेछ ।
फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाताले मात्र हेर्न पाउनेछन् भने फोटोबाहेकको नामावली सर्वसाधारणले पनि हेर्न सक्ने व्यवस्था गरिएको छ ।
यदि कुनै मतदाताले आफ्नै विवरणको प्रतिलिपि लिन चाहेमा निर्वाचन कार्यालयले १० हजार रुपैयाँ शुल्क लिएर सो मतदाताको मात्र विवरण आउने गरी नामावली उपलब्ध गराउनुपर्नेछ ।
यस्तै, आयोगमा दर्ता भएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले जिल्लाभरको मतदाता नामावली लिन तीन हजार रुपैयाँ र कुनै एक निर्वाचन क्षेत्रको विवरण लिन पनि तीन हजार रुपैयाँ तिर्नुपर्नेछ । तर यस अवस्थामा पनि जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बर दिइने छैन ।
आजको मौसम : तराई भू–भागका अधिकांश स्थानमा हुस्सु
काठमाडौं । देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यस्तै, आज राती तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी
बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले पहिलो पटक आमाको नामबाट वंशजको आधारमा नागरिकता प्रदान गरेको छ ।
प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगञ्ज उपमहानगरपालिका ८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई आज वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार मोहन गोडीयालाई उनकी ४६ वर्षीया आमा माया कुमारी गोडीयाको नामबाट वंशजको नागरिकता प्रदान गरिएको हो ।
लामो समयसम्म नागरिकता प्राप्त गर्न नसक्दा शिक्षा, रोजगारी, खेलकुद तथा अन्य आधारभूत सेवाबाट वञ्चित हुँदै आएका मोहन गोडीयाले नागरिकता प्राप्त गरेपछि आफूलाई राज्यको वास्तविक नागरिक भएको अनुभूति भएको बताए ।
‘१७ वर्षको उमेरदेखि निरन्तर खेलकुदमा सक्रिय छु,’ उनले भने, ‘वि.सं. २०८० मा काठमाडौँमा सम्पन्न अन्तर नगरपालिका राष्ट्रिय खेलकुद तथा २०८१ मा चितवनमा भएको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएँ, तर कागजातको अभावले धेरै अवसर गुमाउनुप¥यो।’ नागरिकता प्राप्त भएपछि जीवनको ठूलो बाधा हटेको महसुस भएको उनले बताए ।
जसपा १ नं. प्रदेशको प्रथम पूर्ण बैठक सम्पन्न, चुनावी रणनीति र संगठनात्मक जिम्मेवारी तय
धरान । जनता समाजवादी पार्टी (जसपा) १ नं. प्रदेश समितिको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । धरान–१५ स्थित छथरे समाजको सामुदायिक भवनमा पौष २३ र २४ गते दुई दिनसम्म चलेको उक्त बैठकले आगामी निर्वाचन केन्द्रित रणनीति तय गर्नुका साथै राष्ट्रिय समिति र जनवर्गीय संगठनका नेतृत्वदायी जिम्मेवारी बाँडफाँड गरेको छ ।
बैठकको निर्णयअनुसार लिम्बुवान राष्ट्रिय समितिको इन्चार्जमा डिल्ली सुब्बा र सहइन्चार्जमा आईतमान सम्बाहाम्फे चयन भएका छन् । किरात राष्ट्रिय समितिको इन्चार्जमा गणेश खालिङलाई दिइएको छ भने दीपचन्द्र राई सहइन्चार्ज तोकिएका छन् । त्यस्तै कोचिला राष्ट्रिय समितिको इन्चार्जमा महमत नसरुलले पाएका छन् भने शेर्पालुङ राष्ट्रिय समितिको इन्चार्जमा दिनेश राई नियुक्त भएका छन् ।
यसैगरी समाजवादी महिला संगठनको इन्चार्जमा मीरा कार्की, प्रचारप्रसार विभाग प्रमुखमा सुमन राई चयन भएका छन् । समाजवादी विद्यार्थी युनियनको इन्चार्जमा रञ्जित राई तथा समाजवादी युवा संघको १ नं. प्रदेश इन्चार्जमा जीवन सुच्चालाई जिम्मेवारी दिइएको प्रचारप्रसार विभाग प्रमुख सुमन राईले जानकारी दिए । बैठकले सल्लाहकार समितिका लागि साजन राईलाई मनोनयन गरेको छ ।
बैठकले जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच गठन भएको संयुक्त चुनावी मोर्चा ‘राष्ट्रिय अग्रगामी गठबन्धन’ लाई सशक्त बनाउने उद्देश्यले प्रदेश तहमा समन्वय गर्नका लागि प्रदेश समिति अध्यक्षको संयोजकत्वमा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । साथै ताप्लेजुङस्थित मुकुम्लुङ बचाउ तथा नो केबलकार आन्दोलनलाई सफल पार्न १ नं. प्रदेशअन्तर्गतका सबै राष्ट्रिय समितिहरूलाई भौतिक तथा आर्थिक सहयोग सहित परिचालनको जिम्मेवारी प्रदान गरिएको छ ।
बैठकमा पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा १ नं. प्रदेश इन्चार्ज रमेश राईको समेत उपस्थिति रहेको थियो । भेलालाई सम्बोधन गर्दै राईले आगामी फाल्गुन २१ गते हुने निर्वाचनमा पार्टीको पक्षमा नतिजा सुनिश्चित गर्न योजनाबद्ध ढंगले अघि बढ्न आग्रह गरे । उनले भने, “अब नेपालमा कुनै पनि शक्ति, नयाँ होस् वा पुरानो, संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई उल्ट्याउन सक्दैन।” र, संघीय संरचनाहरू पहिचानका आधारमा नामकरण हुनुपर्ने धारणा राख्दै उनले पूर्ण समानुपातिक समावेशिताका माग पूरा गर्न संगठितहुन आवश्यक रहेको बताए ।
महिला सहभागिताको सन्दर्भमा उदाहरण प्रस्तुत गर्दै राईले भने, “हिजो महिलाको उपस्थितिका लागि नेताहरूलाई आग्रह गर्नुपर्ने अवस्था थियो, आज नीति र कानुनमै व्यवस्था भएको छ। तर यो पर्याप्त छैन।” राज्यमा विद्यमान सबै प्रकारका उत्पीडन अन्त्यका लागि संवैधानिक तथा कानुनी सुनिश्चितता आवश्यक रहेको उल्लेख गर्दै उनले यही उद्देश्यका साथ जसपा स्थापना भएको दाबी गरे ।
त्यसैगरी जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य, १ नं. प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुले पार्टीले महिलाको नेतृत्व विकासमा प्रभावकारी भूमिका खेलिरहेको बताइन् । उनले भनिन्, “अन्य दलको तुलनामा हाम्रो पार्टीले बढी महिला नेतृत्व उत्पादन गरेको छ, त्यसैले भोलिका लैङ्गिक विभेदविरुद्ध हाम्रो आवाज अझ बलियो हुनेछ।” महिलालाई व्यक्तिगत कारण देखाएर पछि नहट्न पनि उनले आग्रह गरिन् ।
बैठकलाई सम्बोधन गर्दै केन्द्रीय कार्यकारिणी समिति सदस्य भिम राईले समसामयिक राजनीतिप्रति चिन्ता व्यक्त गरे । उनले भने, “आज राजनीतिलाई केवल मनोरञ्जनका रूपमा लिने प्रवृत्ति बढेको छ, तर यसलाई गम्भीर जिम्मेवारीका रूपमा लिन जरुरी छ।” संवेदनशील विषयमा अहिलेका नयाँ दलहरुले मनोरञ्जनक तरिकाले विभिन्न विचारहरु आएको सुन्न पाईन्छ यस्ता अभिव्यक्ति आउनु चिन्ताजनक भएको उनको भनाइ थियो ।
उक्त दुई दिनसम्म सञ्चालन भएको समितिको बैठक गणेश राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने बैठकको सञ्चालन समितिका मुख्य सचिव नगेन्द्र पारघरी लिम्बुले गरेका थियो।
निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना खुला गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा) ले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो ।
इच्छुक नेपाली नागरिकले माघ ५ गतेदेखि माघ ९ गतेसम्म दरखास्त दिन सक्नेछन् । दरखास्त जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर, भक्तपुर तथा देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ । आवेदन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दिन सकिन्छ भने सार्वजनिक बिदाका दिनसमेत स्वीकार गरिनेछ ।
भर्नाका लागि दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । आवेदक नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, शारीरिक तथा मानसिक रूपमा स्वस्थ, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, तथा कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने योग्यता तोकिएको छ ।
शारीरिक मापदण्डअनुसार पुरुषको हकमा न्यूनतम उचाइ ५ फिट ३ इन्च, छाती ३१÷३३ इन्च र तौल ५० केजी हुनुपर्नेछ भने महिलाको हकमा न्यूनतम उचाइ ४ फिट १० इन्च र तौल ४२ केजी हुनुपर्नेछ । महिलाको हकमा गर्भवती नभएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
निर्वाचन प्रहरी छनोटमा पूर्व नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका अवकाशप्राप्त सुरक्षाकर्मी, पूर्व वन रक्षक, यसअघि म्यादी प्रहरीको रूपमा सन्तोषजनक सेवा दिएका व्यक्ति, तथा विदेशी मित्र राष्ट्रका सुरक्षा निकायबाट सेवानिवृत्त नेपाली नागरिकलाई प्राथमिकता दिइनेछ ।
सम्पर्क मिति माघ ४ गते तोकिएको छ भने छनोट प्रक्रिया माघ ५ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ । अन्तिम नतिजा माघ १२ गते सार्वजनिक गरिनेछ । चयन भएका निर्वाचन प्रहरीलाई माघ १५ गतेदेखि २४ गतेसम्म तालिम दिइने नेपाल प्रहरीले जनाएको छ ।
निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति मितिदेखि अधिकतम ४० दिन वा नेपाल सरकारले तोकेबमोजिम रहनेछ । निर्वाचनको आवश्यकता अनुसार कार्यअवधि हेरफेर हुन सक्ने पनि प्रहरीले स्पष्ट पारेको छ ।
व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन नभएको भाष्य गलत : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अप्ठ्यारो परिस्थितिमा भए पनि निराश हुन नहुने बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवसको अवसरमा आयोजित विचार गोष्ठी समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल लामो इतिहास बोकेको देश भएकाले अनेक उतारचढाव झेलेर अघि बढ्दै आएको उल्लेख गरे ।
उनले भने, ‘हामी त्यति सजिलो परिस्थितिमा छैनौँ, अप्ठ्यारो अवस्थामा छौँ । तर लामो इतिहास भएको देशका बासिन्दा हामी अप्ठ्यारो पर्दा पनि निराश हुँदैनौँ । हाम्रो इतिहास भनेको अनेक जाडो–गर्मी, उकाली–ओराली पार गर्दै आएको इतिहास हो ।’
नेपाल भौगोलिक, जैविक तथा सामाजिक दृष्टिले विविधतायुक्त देश भएको उल्लेख गर्दै ओलीले भौगोलिक उकाली–ओरालीसँगै सामाजिक र विकासका विभिन्न चुनौतीहरू पनि नेपाली समाजले झेलेर आएको बताए । अध्यक्ष ओलीले पछिल्लो समय देश पछाडि गएको भन्ने भाष्य गलत रहेको दाबी गरे ।
‘पहिले आधुनिक विज्ञान र प्रविधिले उपलब्ध गराएका सुविधा थिएनन्, सवारी साधन पनि थिएनन् । अहिले समय परिवर्तन भएको छ । अग्रजहरूले केही गरेनन् भन्ने होइन, हामीले पनि केही गरेका छैनौँ भन्ने होइन, व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएको छैन भन्ने गलत भाष्य हो,’ उनले भने ।
व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको भन्ने धारणा गलत रहेको उल्लेख गर्दै उनले देशमा औद्योगिकीकरण बढ्दै गएको र नयाँ नीति, विधि, तरिका तथा स्रोतहरू अपनाइएको बताए ।
‘मान्छेलाई सुविधा र सहुलियत मात्रै पर्याप्त हुँदैन, उसले अझ सहज जीवन खोज्छ,’ ओलीले भने, ‘देश यस्तै अवस्थामा रहिरहँदैन, किनभने हामीले थुप्रै नयाँ कामहरू अघि बढाएका छौँ ।’
रौतहटमा कुकुरले एकैदिन ५० भन्दा बढीलाई टोक्यो, स्थानीय त्रसित
रौतहट । रौतहटका विभिन्न स्थानमा एकैदिन छाडा छोडिएका कुकुरको टोकाइबाट ५० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन् । जिल्लाका विभिन्न पालिकाहरूमा बुधबार बिहानैदेखि कुकुरले एक्कासि मानिसहरूलाई आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ ।
गढीमाईको वडा नं. १, ४, ६ र ८ का साथै फतुवा विजयपुर नगरपालिका र राजपुर नगरपालिकाका केही गाउँका बासिन्दाहरू कुकुरको निशानामा परेका छन् । घाइतेहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको छ । अस्पतालका सूचना अधिकारी कपिलदेव झाका अनुसार हालसम्म २७ जनाभन्दा बढी घाइतेलाई रेबिजविरुद्धको खोप लगाइसकिएको छ ।
‘घाइते आउने क्रम अझै जारी छ, हामीले उपलब्ध स्रोत र साधनको प्रयोग गरी उपचार गरिरहेका छौँ,’ झाले भने । केही गम्भीर घाइतेहरूलाई थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले रेबिजविरुद्धको खोप र आवश्यक औषधि पर्याप्त मात्रामा उपलब्ध रहेको र चिकित्सकहरूले घाइतेहरूको निरन्तर निगरानी गरिरहेको स्पष्ट पारेको छ ।
कुकुरको आक्रमण बढेपछि रौतहटका यी क्षेत्रहरूमा त्रास फैलिएको छ । छाडा कुकुरको डरले गर्दा बालबालिकालाई विद्यालय पठाउन र वृद्धवृद्धालाई घरबाहिर निस्कन समेत मुस्किल भएको स्थानीयको गुनासो छ । बिहान–बेलुकाको समयमा आवतजावत गर्न अत्यन्तै जोखिमपूर्ण बनेको भन्दै स्थानीयले छाडा कुकुर नियन्त्रणका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।
कोशी राष्ट्रियसभा चुनावः मतभारमा गठबन्धन हाबी, प्रतिस्पर्धा सीमित
विराटनगर । कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएसँगै चुनावी समीकरण र राजनीतिक सन्देश दुवै स्पष्ट भएका छन् । मनोनयनकै चरणमा ‘अन्य’ समूहको नतिजा लगभग टुंगिनु र बाँकी दुई समूहमा पनि गठबन्धनको स्पष्ट अग्रता देखिनुले यस निर्वाचनलाई औपचारिकतामा सीमित बनाउने संकेत गरेको छ ।
नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको गठबन्धनले उम्मेदवारी व्यवस्थापनदेखि मतभारसम्म आफ्नो प्रभुत्व देखाएको छ । सोही प्रभावका कारण ‘अन्य’ समूहमा कांग्रेसका सुनील थापा निर्विरोध निर्वाचित हुने अवस्थामा पुगेका छन् । औपचारिक घोषणा भने पुस २७ गते हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राष्ट्रियसभामा कोशी प्रदेशबाट दलित, महिला र अन्य समूहबाट एक–एक गरी तीन सदस्य निर्वाचित हुनेछन् । गठबन्धनबीचको पूर्व सहमतिअनुसार दलित र महिला समूह एमालेको भागमा परेको छ भने अन्य समूह कांग्रेसको जिम्मामा छ । यसैअनुसार एमालेले दलिततर्फ सोम पोर्तेल र महिलातर्फ रोशनी मेचेलाई मैदानमा उतारेको छ ।
विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएका उम्मेदवारीले गठबन्धनको रणनीति स्पष्ट देखाउँछ । ‘अन्य’ समूहमा थापाबाहेक अन्य दलको उम्मेदवारी नपर्नु केवल प्राविधिक संयोग मात्र नभई गठबन्धनको व्यवस्थापकीय सफलता र प्रतिपक्षको कमजोरीको संकेतका रूपमा हेरिएको छ ।
यद्यपि, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले दलित र महिला समूहमा उम्मेदवार खडा गर्दै चुनावी उपस्थिति कायम राख्ने प्रयास गरेको छ । नेकपाबाट दलिततर्फ खेमराज सुन्दास र महिलातर्फ नमिता न्यौपाने मैदानमा छन् । तर, अन्य समूहका लागि तय गरिएका उम्मेदवार हेमराज घिमिरे समयमै मनोनयन दर्ता गर्न नपुग्दा नेकपा सो समूहबाट बाहिरिएको छ ।
राजनीतिक रूपमा सबैभन्दा चासोको विषय भनेको मतभारको अन्तर हो । कोशी प्रदेशमा कुल ३ सय ६७ मतदाता रहेका छन् । ९३ प्रदेशसभा सदस्यको मतभार ५३ र २ सय ७४ स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १९ तोकिएको छ । यस आधारमा एमालेको मतभार ४ हजार २ सय १०, कांग्रेसको ३ हजार ६ सय ८४ र माओवादी केन्द्र तथा एकीकृत समाजवादीसहितको नेकपाको १ हजार ६ सय ४२ मतभार छ ।
कांग्रेस–एमाले गठबन्धनको संयुक्त मतभार ७ हजार ८ सय ९४ पुग्छ । यसमा जनता समाजवादी पार्टी (जसपा)को १ सय २९ मतभार जोडिँदा गठबन्धन अझ सुदृढ देखिन्छ । राप्रपाको ३ सय ९४ र स्वतन्त्रको ५७ मतभार भए पनि चुनावी नतिजा उल्ट्याउने हैसियतमा ती देखिँदैनन् ।
यद्यपि, कोशी प्रदेशको अघिल्लो अनुभवले मत क्रसको सम्भावनालाई पूर्ण रूपमा नकार्न सकिँदैन । २०७८ र २०८० सालका राष्ट्रियसभा निर्वाचनमा गठबन्धन हुँदाहुँदै पनि अपेक्षित परिणाम नआएको इतिहास छ ।