बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HWVE1PQWJGY2RE7R74EJFHWR.jpg

देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ  I हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना   छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हुरी बतासको सम्भावना छ । 

आज राति कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ ।  कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना   छ ।

 कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मितिः बिहिबार, २० वैशाख २०८१
https://jawaaf.com/storage/01HWT0XB91TMY8B27D2T6ECV5S.jpg

आनी छोइङ डोल्माको लाइभ कन्सर्ट बेलायतमा आयोजनाहुँदै

काठमाडौँ  I मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्ट बेलायतमा आयोजना हुँदैछ । यही वैशाख २३ गते बेलायतको क्यामवर्ली स्थित लेकसाइड कन्ट्री क्लवको हलमा आयोजना हुने सो कन्सर्टका लागि गायिका आनी छोइङ र मानवसेवा आश्रमका संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारी आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।     
     
मानवसेवा आश्रम युके च्याप्टरको आयोजनामा बेलायतमा मे ५ मा कन्सर्ट र मे १९ सम्म मानवता प्रवर्ध्दन सम्बन्धी विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना हुने आयोजक संस्थाका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । विगतमा पनि आश्रमद्धारा बेलायतमा आमा सेमिनार लगायत मानवता प्रवर्धन सम्बन्धी कार्यक्रम सम्पन्न भइसकेको अधिकारीको भनाइ छ । यसपटक हुनलागेको कन्सर्ट मानवसेवा आश्रमको बेलायतमा तेस्रो कार्यक्रम हो । ‘इनर मेलोडी फर इनर पिस’ कन्सर्टमा सहभागी हुन मानिसहरुको आकर्षण बढ्दै गएको मानवसेवा आश्रम युके च्याप्टरका पदाधिकारीहरुले जानकारी दिएका छन् । कन्सर्ट कार्यक्रममा एक हजार जनालाई सहभागी गराउने आयोजकको लक्ष्य रहेको पनि मानवसेवा आश्रम युके च्याप्टरका सचिव यादव श्रेष्ठले बताउनुभयो ।     
     
कन्सर्ट र मानवता प्रवर्धन सम्बन्धी विभिन्न रचनात्मक कार्यक्रमबाट सङ्कलन गरिने रकम घरबार र परिवारविहिनहरूको आश्रयस्थल मानवसेवा आश्रमको सेवाप्रवाह सहजीकरणमा खर्चिने मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष अधिकारीले बताउनुभयो । कन्सर्टबाट एक लाख पाउन्डभन्दा बढी सहयोग जुटाउने लक्ष्य राखिएको छ ।     
     

Advertisement


बुद्ध फाउण्डेसन युके, बुद्धिस्ट गुम्बा रिडिङ युके, द बुद्धिस्ट कम्युनिटी सेन्टर युके, शिव कल्चर एण्ड कम्युनिटी सेन्टर युके, तमुधिं एशोसिएसन युके, पासा पुच गुठी युके, क्षेत्री समाज युके, क्याट युके, ग्रेटर रिडिङ नेपलिज कम्युनिटि यूके, नेपाली भिलेज, पोखरेली मञ्च युके र मगर एशोसिएसन युके कार्यक्रमको सह–आयोजक रहेका छन् । बेलायतमा गुञ्जयमान हुने कन्सर्ट नितान्त नेपालको सडक पेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवश बेसहारा, असहाय, अशक्त, अभिभावक विहीन, मानसिक तथा शारिरीकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण र संरक्षणका लागि सहयोग पुयाउने मनसायले आयोजना गर्न लागिएको मानवससेवा आश्रम युके च्यापटरका संयोजक सुनिलबाबु खड्काको तर्क छ ।     
     
संसारभरका मानिसलाई संगीतको आनन्द दिएर कमाएको पारिश्रमिक आनी छोइङले सामाजिक सेवा, परोपकार र धार्मिक कार्यमा खर्चिदै आउनुभएको छ । सडकआश्रित मानवमुक्त राष्ट्र निर्माणमा टेवा पुर्याउने आयोजकको विश्वास छ । मानवीय कार्यमा सहकार्य गर्नको लागि आगामी जेठ ६ गते सम्म बेलायतका विभिन्न शहरमा मानवता प्रवद्र्धन लगायत ‘मिट र ग्रिट’ कार्यक्रम आयोजना गरिने र उक्त कार्यक्रममा बेलायतबासी नेपालीलाई सहभागी हुन र सहकार्य गर्न आह्वान गरिएको युके च्यापटरका संयोजक राजु आर्चाय र विक्रम भटराईले बताउनुभयो ।     
 

प्रकाशित मितिः बुधबार, १९ वैशाख २०८१
https://jawaaf.com/storage/01HWSWMYGSDVF3PJ8656PD71N6.jpg

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

लताप, (धादिङ) I साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२ तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको छ । ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को अनुसन्धान तथा प्रवद्र्धनको अन्वेषणका लागि पुगेको ट्रेकिङ एजेन्सिज् एशोसियशन अफ नेपाल (टान) र गाउँपालिकाको टोलीको उपस्थितिमा आज तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको हो । तामाङ भाषामा ‘ह्यारा’को अर्थ भिरमौरी भन्ने बुझिन्छ ।     
      
      
गङ्गाजमुनाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले विगत लामो समय देखि भीरमौरीको मह उत्पादन हुँदै आएको तेम्बायारा महभिरमा मह उत्पादनका लागि आवश्यक सामग्री गाउँपालिकाले व्यवस्थापन गरेर पर्यटन प्रवद्र्धनमा सहयोग गर्दैआएको बताउनुभयो । “साहसिक पर्यटनको अत्यधिक सम्भावना भएको तेम्बाह्यारा महभिरमा भीरमौरीको महबाहेक क्यानोनिङको समेत सम्भावना छ, गाउँपालिकाले यसको सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्छ,” अधिकृत श्रेष्ठले भन्नुभयो ।     
      
गङ्गाजमुना–२ का वडाअध्यक्ष बलबहादुर तामाङले तेम्बाह्यारा महभिरमा रहेकोे भिरमौरीको महलाई आगामी दिनमा संरक्षण समिति बनाएर उत्पादन गरिने बताउनुभयो । उक्त महभिरमा विगत दुई सय वर्ष देखि भिरमौरीको मह निकालिँदै आएको उहाँको भनाइ छ ।     
      
हाल ‘री’ गाउँका ६ युवाले रु दुई लाख लगानी गरेर डोरी खरिद गरी भिरमौरीको मह निकाल्दै आएका छन् । उत्पादन भएको मह रु एक हजार पाँच सय देखि रु दुई हजार सम्ममा बिक्री वितरण गरिँदै आएको वडाअध्यक्ष तामाङले बताउनुभयो । उक्त महभिर गङ्गाजमुना–२ र ३ को सिमाना ताप्राङ खोलामा पर्दछ ।     
      
 गङ्गाजमुना–३ का वडाअध्यक्ष राजकुमार गुरुङले वडाभित्रका पर्यटकीय क्षेत्रको खोज गरी संरक्षणमा वडा लागेको बताउनुभयो । आजदेखि सुरु भएको भिरमौरी मह निकाल्न एक हप्ता लाग्नेछ । भिरमौरीको मह निकाल्नका लागि री गाउँका चन्द्रबहादुर तामाङ, कुर्मु तामाङ, दुर्गा तामाङलगायत लाग्नुभएको थियो । उक्त महभिरमा कात्तिक र वैशाखमा भिरमौरीको मह उत्पादन गरिँदै आएको छ ।     
      
 गङ्गाजमुनाका पर्यटन विकास संयोजक एवम् वडा नं ६ का वडाध्यक्ष रमेश ढकालले गङ्गाजमुनामा भएको साहसिक पर्यटनको विकासका लागि गाउँपालिकाले काम गर्ने बताउनुभयो । सङ्घीय राजधानी काठमाडौँमा समेत धादिङका अधिकांश व्यक्ति पर्यटन व्यवसाय गर्दै आएका छन् । गङ्गाजमुनाका बासिन्दाका मात्र ९५ ट्रेकिङ कम्पनी छन् । पर्यटन विकास संंयोजक ढकालले गङ्गाजमुनाभित्रको पर्यटनको विकासका लागि काठमाडौँमा रहेका सबै व्यवसायीलाई समेटेर अगाडि बढ्ने बताउनुभयो ।     

प्रकाशित मितिः बुधबार, १९ वैशाख २०८१
https://jawaaf.com/storage/01HWSV6VRAZMXS4A8CQMKFSR2B.webp

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित

१९ वैशाख, काठमाडौँ  I टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए ’सँग ७६ रनले पराजित भएको छ । जितका लागि दुई सय २८ रनको विजयी लक्ष्य पच्छाएको नेपालको पारी १९ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै एक सय ५१ रनमा समेटियो । 

नेपालका लागि करण केसीले २८, लोकेश बमले २८, कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल साहले १४, कप्तान दीपेन्द्रसिँह ऐरीले ७, गुल्सन झाले ६ तथा विवेक यादव, सागर ढकाल र आरिफ शेखले समान तीन तीन रन बनाए । करणले १७ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरे । बमले २९ बलमा एक चौका र दुई छक्का हाने । नेपाललाई एक सय ५१ रनमा समेट्ने क्रममा वेस्ट इन्डिज ‘ए’ का हायडेन वाल्सले तीन, गुदाकेश मोतीले दुई तथा फबिएन एलेन, म्याथ्यु फर्ड र ओबेद म्याककोयले एक एक विकेट लिए । 

त्यसअघि कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय २८ रनको योगफल बनायो । वेस्ट इन्डिज ‘ए’का लागि जोनसन चाल्र्सले शतकीय पारी खेले । उनले ६१ बलमा १३ चौका र सात छक्काको मद्दतमा एक सय १९ रन बनाए ।  यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । उनले  ३३ बल खेल्ने क्रममा चार चौका र र तीन छक्का हाने । यस्तै फबिएन एलेनले १९, एलिक एथानाजेले १७ तथा किमो पलले अविजित १३ रन बनाए । 

बलिङ तर्फ नेपालका लागि करण केसी र सागर ढकालले एक एक विकेट लिए । पाँच खेलको जारी शङ्खलामा वेस्ट इन्डिज ‘ए’ दुई तथा नेपाल एक खेलमा पजयी भएको छ । पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई चार विकेटले हराएको थियो । नेपाल दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’सँग १० रनले पराजित भएको थियो । शृङ्खलाको चौथो खेल बिहीबार हुनेछ । 

प्रकाशित मितिः बुधबार, १९ वैशाख २०८१
https://jawaaf.com/storage/01HWSSACB1S6HPR5EX6MRF3VJW.jpg

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !

१९ वैशाख , खोटाङ I तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो सालको पात । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले स्थित डाँडाखर्ककी ४२ वर्षीया नरकुमारीले सालको पात बेचेरै पाँच वर्ष देखि जीविका चलाइरहनुभएको थियो । छोराछोरीको पढाइमा लाग्ने सबै खर्च पात बेचेरै जुटाउने गर्नुहुन्थ्यो ।     
      
आफ्नो जमिनमा फलेको अन्नले छ महिना पनि खान पुग्दैन । धेरै वर्ष देखि सालको पात टिप्ने गरेको देउले, भालासिरुवानी, दियाले चउर तथा चन्द्रमान राई सामुदायिक वनमा डढेलो लागेपछि उहाँ चिन्तित हुनुहुन्छ ।     
      
नरकुमारीको ११ वर्षीया छोरी भावना कक्षा सात, आठ वर्षका छोरा सोनाम कक्षा पाँच र पाँच वर्षीया छोरा विवेक कक्षा दुईमा पढछन् । भावना र सोनाम सोही नगरपालिकाको वडा नं ५ लफ्याङस्थित श्री माध्यमिक विद्यालय बाँसबोटे र विवेक खाल्लेकै डाँडाखर्क स्थित राष्ट्रिय प्रजातन्त्र आधारभूत विद्यालयमा अध्ययनरत छन् ।     
      
पाँच वर्ष देखि सालको पात टिप्दै आएको जङ्गलमा डढेलो लागेपछि दैनिक गुजाराको माध्यम नै तत्कालका लागि आगोले सखाप पारेको नरकुमारीले बताउनुभयो । “एक दिनमा २० मुठा सम्म सालको पात टिपिन्थ्यो । दिक्तेल बजारमा सालको पात प्रतिमुठा रु ५० मा बिक्री हुन्छ । अहिले डढेलोले जङ्गल सखाप पा-यो”, उहाँले भन्नुभयो, “सालको पातले दैनिक घर खर्च र छोराछोरीको पढाइ खर्च धान्ने गरेकी थिएँ । डढेलोले जङ्गल सखाप भएपछि कसरी घर खर्च जुटाउने भन्ने चिन्ता छ । गरिबलाई प्रकृतिले पनि ठग्दो रहेछ ।”     
      
त्यसो त रावाबेँसी गाउँपालिका-३ लामीडाँडा स्थित तिर्पाबाट १३ वर्षअघि विवाह गरेर खाल्ले आउनुभएकी नरकुमारीको परिवारमा एक पछि अर्को समस्यामा पर्दै आएको छ । कान्छा छोरा विवेक जन्मिँदै मुटु रोगी जन्मिए । विसं २०७५ भदौ १८ गते जन्मिएका विवेक अहिले पनि बिरामी छन् ।     
      

गङ्गालाल हृदय रोग केन्द्र काठमाडौँमा उपचार गराइरहेका कान्छा छोरा चिकित्सकको निगरानीमा राखिएको छ । छोराको स्वास्थ्य अहिले सामान्य बन्दै गएको छ ।     
      
सुरुमा छोरालाई ग्रिनसिटी अस्पताल काठमाडौँ भर्ना गरिएको थियो । उपचारमा अस्पतालले रु सात लाख ५० हजार लियो । “जन्मिएको दुई दिनमा रु दुई सय लिएर जिल्ला अस्पताल खोटाङ लगेकी थिएँ । अस्पतालले यहाँ ठीक हुँदैन भनेपछि रु ५० हजारमा नन्दको सुन धितो राखेर काठमाडौँ लग्यौँ, उपचारमा रु १६ लाख सकियो,” उहाँले भन्नुभयो, “काठमाडौँको तीन-चारवटा अस्पताल डुलाउँदा रु १६ लाख सकियो । घरमा एक रुपैयाँ थिएन । सबै ऋण काढेर उपचार गयौँ, छोरा अलि ठीक भएपछि घर फर्कायौँ ।”     
      
छोराको उपचारमा खर्च भएको ऋण तिर्न नसकेपछि साहुले घरको पशुचौपाय लग्यो । ऋण तिर्न विदेश जानुभएका श्रीमान् दुर्घटनामा परी उतै घाइते हुनुभयो । घरमूली नै विदेशमा घाइते भएपछि परिवारको बिल्लीबाठ भएको छ ।     

विज्ञापन

      
नरकुमारीको श्रीमान् दानबहादुर खत्री पाँच वर्ष देखि साउदी अरबस्थित एउटा घरको कोठामा अशक्त अवस्थामा हुनुहुन्छ । ‘स्काफोल्डिङ’को काममा विसं २०७६ माघ ७ गते साउदी अरब पुग्नुभएका दानबहादुर सात महिना नबित्दै लडेर घाइते हुनुभएको हो । काम गर्ने क्रममा लडेर ढाड भाँचिए पछि साउदी अरबमै उपचाररत दानबहादुरको स्वास्थ्यमा सामान्य सुधार आएको बताइएको छ । तीन वर्ष सम्म अस्पताल बसेर उपचार गराउनुभएका दानबहादुरले अहिले सामान्य हिँड्डुल गर्न सक्ने भएको फोनमा कुराकानी हुँदा बताउने गरेको नरकुमारीको भनाइ छ ।     
      
“कमाउन विदेश जानुभएका श्रीमान् बिरामी हुनुहुन्छ । कलकलाउँदा उमेरका तीन छोराछोरी छन् । अहिले त सानो बाबु पनि ठीक हुँदैछ”, गहभरी आँसु पार्दै उहाँले भन्नुभयो, “बनीबुतो गरेको पैसाले दैनिक हातमुख जोड्न धौ-धौ छ । सालको पात टिपेर बेच्दै थिएँ त्यो पनि डढेलोले केही महिनालाई नपाइने भयो ।”     
      
छोराछोरीको पठनपाठन कसरी गराउने भन्ने चिन्ताले उहाँलाई रातभर निन्द्रा लाग्दैन । कसैले सहयोग गरे पढाउन सकिन्थ्यो कि भन्ने आशा छ । कमजोर आर्थिक अवस्थाका खत्री परिवारलाई वैदेशिक रोजगारसम्बन्धी कार्यक्रम गर्दै आएको सामी परियोजनाले रु ५० हजार आर्थिक सहयोग गरेको छ ।     
 

प्रकाशित मितिः बुधबार, १९ वैशाख २०८१
https://jawaaf.com/storage/01HWSRJAAZE43E661FN6VTKVQP.webp

दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदाभासिँदा कम्तीमा १९ जनाको मृत्यु भएको अल जजिराले जनाएको छ । मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २ः१० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधनहरू फसेको थिए । 

उक्त घटनामा १९ व्यक्तिको मृत्यु भएको पुष्टि भएको र ३० जनाले अस्पतालमा आपतकालीन सेवा लिइरहेका छन् । अधिकारीहरूका अनुसार उपचारका लागि अस्पताल लगिएका मानिसहरू हाल जोखिममुक्त रहेका बताइएको छ । स्थानीय सञ्चारमाध्यमहरूले दिएको समाचार रअनलाइनमा प्रसारित भिडियोहरूले गहिरो खाडलबाट आगो र धुवाँ निस्किरहेको देखाएका छन् । राजमार्ग भासिएर परेको उक्त खाडलमा कारहरू खसेको बताइएको छ । अहिले करिब ५०० जना उद्धार कार्यका लागि घटनास्थलमा रहेका छन् ।

प्रकाशित मितिः बुधबार, १९ वैशाख २०८१
https://jawaaf.com/storage/01HWSQRC83110F5XXZ831JV3KR.jpg

जापानमा खाली घरहरूको सङ्ख्या ९० लाख

जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबर सम्ममा ९० लाख पुगेको छ । यो सङ्ख्या सन्  २०१८ मा गरिएको सर्वेक्षणमा देखिएको भन्दा पाँच लाख १० हजारले बढेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ ।  

उक्त सङ्ख्या जापानमा कुल घर सङ्ख्याको १३.८ प्रतिशत हुन आउछ ।  जापानमा औषतमा सात घर मध्ये एक घर रिक्त रहेको मङ्गलबार प्रकाशित आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण रिपोर्टले पुष्टि गरेको छ ।  

स्रोतले घरहरू खाली हुनुलाई विदेशमा सन्तान भएका वा सन्तान नभएका वृद्धहरूको स्वामित्वमा रहेका घरहरू उनीहरूको मृत्यु पछि वा उनीहरू वृद्धाश्रममा बस्न थालेपछि खाली भएका हुन् । 

विज्ञापन


खाली घरहरू मध्ये, ४४ लाख ३० हजार भाडामा लगाइएका छन् भने तीन लाख ३० हजार बिक्रीका लागि छन् । त्यसैगरी तीन लाख ८० हजार खाली घरहरू छुट्टीका समय प्रयोग गरिने गर्छ । खाली रहेका तीन लाख ८५ हजार घर बेवारिसे अवस्थामा रहेका छन् । 

जापानमा सन् १९८४ देखि प्रत्येक पाँच–पाँच वर्षमा आवास र भूमि सर्वेक्षण गरिन्छ । सन् १९७३ मा खाली घरहरूको सङ्या एक लाख ७२ हजार थियो, जुन कुल घरहरूको ५.५ प्रतिशत हो । मन्त्रालयको तथ्याङ्क अनुसार सन् १९९३ मा यो सङ्ख्या बढेर चार लाख ४८ हजार पुगेको थियो । ३० वर्षको अवधिमा यो सङ्ख्या बढेर दोब्बर भएको छ ।

प्रकाशित मितिः बुधबार, १९ वैशाख २०८१
https://jawaaf.com/storage/01HWSPKR0HWP1Q63V80CT301QW.jpg

विश्व श्रमिक दिवस : कच्ची घरमा बसेर महल ठ्डयाउने ‘रुवि’

१९ वैशाख, महेन्द्रनगर (कञ्चनपुर) I कैलालीको कैलारी गाउँपालिका–३ का ३१ वर्षीय रुवि चौधरीको गाउँमा सानो कच्ची घर छ । आर्थिक अवस्था दयनीय भएकै कारण पक्की घरमा बस्ने सपना पूरा नभएको बताउने रुविले निम्न माध्यमिक तहको अध्ययन पूरा गर्न सक्नुभएन ।     
      
घरको अवस्थाकै कारण २० वर्षे तन्नेरी अवस्थामा घर बनाउने काममा मजदुरी सुरु गरेका उहाँले दशक पछि मिस्त्री काम गरेर घर बनाउन जान्नुभयो तर आफ्नो कच्ची घर अझै पक्कीमा परिणत गर्न सक्नुभएको छैन । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँरदा रुवि दिवसको प्रवाह नगरी महेन्द्रनगर स्थित एयरपोर्ट रोडमा घर बनाउने काममा खटिनुभएको छ ।     
      
एक दशकदेखि घर बनाउने काममा लागेका उहाँले धनगढी र महेन्द्रनगरमा गरेर ३५ देखि ४० ठूला र साना गरी पक्की घर बनाएको सुनाउनुभयो । “ज्याला मजदुरीका क्रममा अरूका पाँचतले महल सम्म बनाए तर समयसापेक्ष हाम्रो ज्याला दर बढ्न सकेन”, उहाँले भन्नुभयो, “मजदुरीको पैसा जम्मा गरेर सानो भए पनि पक्की घर बनाउँला, परिवार राखौँला सोचेको अझै पूरा हुने छाँट छैन ।”     
      
रुविसँगै उहाँका भाइ पनि कैलालीमा घर बनाउने काममै सक्रिय हुनुहुन्छ । दुईजनाको कमाईले घर खर्च मुस्किलले टर्ने गरेको उहाँको भनाइ छ । “मिस्त्रीको दैनिक रु एक हजारदेखि एक हजार दुई सयसम्म ज्याला छ”, उहाँले भन्नुभयो, “लेबरीमा खटिनेको त झन् रु पाँच सय ७५ मात्रै छ ।” बुबा-आमाको जेठो छोरा रुविले घर बनाउने मिस्त्री काममा लागेपछि मन लगाएर खटिरहेको बताउनुभयो ।     
      
“ज्याला मजदुरी गर्न विदेश जान पनि त पैसा लाग्छ”, उहाँले भन्नुभयो, “तीन महिनाको तालिम गरेर मिस्त्री काम थालेको वर्षौं भइसक्यो ।” कञ्चनपुरको महेन्द्रनगरमा एक वर्ष अघि मात्रै मिस्त्री कामका लागि आएका उहाँले यहाँ कामको भने अभाव नरहेको बताउनुभयो । “यहाँ बास बस्ने डेरा पनि लिएको छैनौँ”, उहाँले भन्नुभयो, “जहाँ घर बनाउन सुरु गयौँ, त्यही त्रिपाल टाँगेर रात काट्छौँ ।”     
      

त्यसैगरी, कैलारी–७ भुइँयाफाँटाका २२ वर्षीय दीपक चौधरी पनि महेन्द्रनगरमा घर बनाउने काममा मजदुरी गरिरहेको अवस्थामा आज भेटिनुभयो । “मजदुर दिवस भनेको के हो थाहा नै छैन्”, उहाँले  भन्नुभयो, “दिवस मनाएर बसे बेलुकी के खाने ?” उहाँले दिवस मनाउनुभन्दा पनि मजदुरहरुको हकहित र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।     
     
“यत्रो महँगीको जमानामा रु पाँच सय दिनको ज्यालाले के हुन्छ र ?”, एसइईसम्मको अध्ययन गरेका दीपकले भन्नुभयो, “पुस्तौँ  देखि कच्ची घरमा बसेका हामी मजदुर कमाएर कहिले पक्की घरमा बस्ने टुङ्गो नै छैन ।” उहाँले समयक्रम अनुसार मजदुरहरुको ज्याला पनि वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।     
     
“रु पाँच सय ज्यालाले खर्च त चल्दैन् तर पनि बाध्यताले जेनतेन चलाउनु त परिहाल्यो”, उहाँले भन्नुभयो, “मुलुकको समृद्धिमा मजदुरको भूमिका महत्वपूर्ण भए पनि हामीहरुको अवस्थामा सुधार आउन सकेन ।” त्यसैगरी घर बनाउने कामको ठेक्का लिने ठेकेदारको सम्पर्कमा रहेर महेन्द्रनगरमा विगत देखि मिस्त्री काम गर्दै आएका कैलालीकै शिवकुमार चौधरीको पनि छाक टार्न नै चर्को काम नभनी काममा सक्रिय हुनुहुन्छ ।     
     
“घरमा भएको १० कट्ठा जमिनले खान सम्म पुग्छ”, उहाँले भन्नुभयो, “त्यो बाहेकको सबै खर्च मजदुरीबाटै चलाएको छु ।” धनगढी हुँदै कामको शिलशिलामा महेन्द्रनगर पुगेका उहाँले पनि यहाँ दर्जनौँ घर निर्माण गरिसक्नुभएको छ । “हामी त अरूका पक्की घर बनाउँदै जिन्दगीको महत्वपूर्ण समय बिताउने भयौँ”, उहाँले भन्नुभयो, “कमाएर परिवारसहित पक्की घरमा कहिले बस्न पाइने हो, त्यो सपना जस्तै छ ।”     
     
मजदुरीबाट घर बनाउने काममा लागेका शिवकुमारले पनि दातृ निकायबाट तीन महिने तालिम लिएर मिस्त्री काममा लागेको बताउनुभयो । त्यसैगरी, बर्दिया राजापुरका रामबहादुर चौधरीले महेन्द्रनगरमा काम गर्न थालेको नौ वर्ष भयो । सुरुआतमा घर बनाउने काममा मजदुरीबाट सुरु गरेका चौधरीले मिस्त्री, सटरिङको काम हुँदै अहिले घर बनाउने ठेक्का लिन थाल्नुभएको छ ।     
     
“मजदुरीबाट सुरु गरेको अहिले अघि बढ्दै जाँदा १२ जना काम गर्ने मसितै छन्”, उहाँले भन्नुभयो, “मिस्त्री काम गर्दा बिहान साँझ अटो चलाउने र दिउँसो घर बनाउने काम पनि गरेँ ।” उहाँले हाल सो कामबाट मासिक रु ४० देखि ४५ हजार कमाउने गरेको बताउनुभयो । “यही कमाईबाट भीमदत्त नगरपालिका–२ महुलियामा १५ धुर जग्गा किनेर घर पनि बनाएँ”, उहाँले भन्नुभयो, “गाउँ बर्दिया राजापुरमा भने अझै कच्ची घरमै छौँ ।” उहाँले मिस्त्री हुँदा देखि घर बनाउने ठेक्का लिने अवस्था सम्म आइपुग्दा यहाँ ४०-५० को हाराहारीमा पक्की घर बनाएको बताउनुभयो । शेरबहादुर सिंह  (रासस) 

प्रकाशित मितिः बुधबार, १९ वैशाख २०८१
https://jawaaf.com/storage/01HWSH1CR6GXB1XRSCEEDNASKR.jpg

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर

१९ वैशाख, तनहुँ I व्यास नगरपालिका-२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य पेसा घरमा रङ्ग लगाउने (पेन्टिङ) थियो । विगत दुई वर्ष देखि पेन्टिङको काम नपाएपछि उहाँ अहिले तरकारी व्यापारमा लाग्नुभएको छ ।     
      
आर्थिक मन्दीले घर निर्माण ठप्प भएपछि घर बनाउने र रङ्ग लगाउने सेन्चुरी जस्ता मजदुरहरु जीविकाका लागि वैकल्पिक पेसा अपनाउन बाध्य छन् । “पेन्टिङको काम पाउन छोडेपछि तरकारी व्यापारमा लाग्नुप-यो”, मोटरसाइकलमा तरकारी बेच्दै हिँड्नुभएका सेन्चुरीले भन्नुभयो, “अहिले बिहान देखि बेलुकासम्म टोलबस्तीमा तरकारी बेच्न थालेको छु ।”     
      
पहिले प्रत्येक टोलमा दुईतीनवटा नयाँ घर बन्ने गथ्र्यो । पेन्टिङको काम भ्याइनभ्याइ हुने गरेकामा करिब दुई वर्षदेखि घर बन्न छाडेको छ । त्यसपछि विकल्पका रुपमा तरकारी व्यापार गर्नुपरेको उहाँको भनाइ छ । तरकारी बिक्री गर्दा प्रतिस्पर्धा धेरै भएकाले थोरै फाइदा हुने उहाँले बताउनुभयो ।     
      
दैनिक घरको मिस्त्री काम गर्दै आउनुभएका व्यास- १० दुम्सीचौरका राजु दरै राहदानी बनाएर वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने तयारीमा हुनुहुन्छ । “पहिले दुईजना ठेकेदारको सम्पर्कमा कुनै दिन काम विहीन हुनु परेको थिएन”, दरैले भन्नुभयो, “एक वर्ष देखि बेरोजगार भएपछि घरमै कति बस्नु भनेर विदेश जाने सोचले राहदानी बनाएँ ।”     
      
उहाँले घर निर्माणमा मजदुरी गर्दा दैनिक आठ घण्टामा रु नौ सय कमाउने गर्नुहुन्थ्यो । अहिले मिस्त्री र सहयोगी मजदुर कामविहीन हुनुपरेको उहाँको भनाइ छ ।     
      
व्यास- १ गल्बुबेँसीका घर निर्माण ठेकेदार सन्तबहादुर तामाङले पनि घर बन्न छोडेपछि धेरै मजदुर बेरोजगार भएको बताउनुभयो । “पहिले वर्षमा १२/१५ वटा घर सजिलै बनाइन्थ्यो । त्यसका लागि २०/२२ जना मजदुर नियमित खटाउथेँ”, तामाङले भन्नुभयो, “तर अहिले वर्षमा एउटा पनि घरको ठेक्का पाएको छुइन ।”     
      
दमौली बजारमा पेन्टिङको काम गर्ने दर्जनौँ  पेन्टर खाडी मुलुक गइसकेको उहाँले बताउनुभयो । आर्थिक गतिविधि सुस्ताए पछि सबैभन्दा बढी असर घर निर्माणमा खटिँदै आएका ठेकेदार र मजदुरलाई परेको निर्माण व्यवसायी सङ्घ तनहुँका पूर्वअध्यक्ष टीकानिधि पौडेलले बताउनुभयो ।     
      
जिल्लाका एक सय ८० निर्माण व्यवसायीहरु निर्माण व्यवसायी सङ्घमा आबद्ध छन् । घर बन्नै छाडेपछि घर निर्माण परामर्शदाता कम्पनीहरु कार्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको व्यास नगरपालिका घर नक्सा शाखाका इन्जिनियर अमृत केसीले बताउनुभयो ।     
      
व्यास नगरपालिकाबाट घर नक्सा पास गर्ने क्रम घटेको छ । आर्थिक बर्ष २०७६/७७ मा बार्षिक चार सय ५० वटा घर नक्सा पास भएकामा आर्थिक वर्ष २०७७/७८ मा वार्षिक दुई सय ६० वटा र आर्थिक वर्ष २०८०/८१ को पछिल्लो नौ महिनामा जम्मा दुई सय घरको नक्सा पास भएको इन्जिनियर केसीले जानकारी दिनुभयो ।     

प्रकाशित मितिः बुधबार, १९ वैशाख २०८१
https://jawaaf.com/storage/01HWSF3DJ6M8XXABDMCTS6NC77.webp

सेन्झाउ–१७’ चालक दल छ महिनाको अन्तरिक्ष अध्ययनपछि बेइजिङमा अवतरण

तीन सदस्यीय ‘सेन्झाउ–१७’ चालक दल छ महिनाको अन्तरिक्ष अध्ययन अभियान पछि बुधबार बिहान विमानबाट बेइजिङ आइपुगेको छ ।  सेन्झाउ–१७ एक चिनियाँ अन्तरिक्ष उडान हो जुन सन् २०२३ अक्टुबर २६ मा प्रक्षेपण भएको थियो । 

चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) का अनुसार, मङ्गलबार अन्तरिक्ष यात्री ताङ होङ्बो, ताङ शेङ्जी र जियाङ सिनलिनलाई लिएर सेन्झाउ–१७ को यान उत्तरी चीनको भित्री मङ्गोलिया  स्वायत्त क्षेत्रको डोङफेङस्थित अवतरण स्थलमा बेइजिङको समय अनुसार साँझ ५ः४६ मा अवतरण गरेको  छ । चालक दल सबैले साँझ  ६ः ३७ मा यानबाट  बाहिरिएका थिए । 

उडानको १८७ दिन सम्म कक्षमा बसेपछि फर्केका तीनै जना अन्तरिक्ष यात्रीको स्वास्थ्य राम्रो रहेको र सेन्झाउ–१७ मानव यात्रा सफल भएको सीएमएसएले जानकारी दिएको छ ।
चिनियाँ अन्तरिक्ष निकायले टोलीको छिट्टै स्वास्थ्य परीक्षण गरिने जनाएको छ । स्वास्थ्य परीक्षणपछि त्यसपछि टोलीका सदस्यले बेइजिङमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । 

प्रकाशित मितिः बुधबार, १९ वैशाख २०८१