विश्व बैंकबाट ८४ मिलियन सहयोग अफगानिस्तानलाई
काबुल (अफगानिस्तान) I अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको छ । उक्त सहयोग आर्थिक सङ्टकसँग जुध्न, जीविकोपार्जन परियोजना प्रदान गर्न, अफगान महिलाहरूलाई सहयोग गर्न, जलवायु परिवर्तनलाई सम्बोधन गर्न तथा आप्रवासीहरूलाई सहयोग गर्न प्रयोग गरिने विश्व बैंकले जनाएको छ ।
परियोजना सन् २०२२ मा ग्रामीण र सहरी क्षेत्रमा आजीविका सहयोग र सेवाहरू प्रदान गर्न, महिला र सबैभन्दा कमजोरका लागि सामाजिक अनुदानलाई समर्थन गर्न र समावेशी सेवा वितरणका लागि सामुदायिक संस्थाहरूलाई सुदृढ पार्न एआरटीएफबाट २६ करोड ५० लाख डलरको अनुदानका साथ सुरु भएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
अर्थ मन्त्रालयले विश्व बैंकको सहयोगलाई स्वागत गर्दै आर्थिक विस्तार र परियोजना संशोधनहरूलाई सहयोग गर्न सक्ने बताएको छ, जसको परिणामस्वरूप देशको रोजगारी सिर्जनामा योगदान पु्ग्नेछ ।
परियोजनाको कार्यान्वयनले रोजगारी सिर्जना गर्न, सहरी र ग्रामीण क्षेत्रमा सेवा वितरणमा सुधार ल्याउन तथा आप्रवासीे समस्यालाई सम्बोधन गर्न सक्ने तालिबानी अर्थ मन्त्रालयका प्रवक्ता अब्दुल रहमान हबीबले बताउनुभयो ।
यसैबिच, काबुलका नागरिकहरूले हालको परिस्थितिलाई ध्यानमा राख्दै अझ बढी सहयोग आवश्यक रहेको बताउदै यसलाई खुल्लारुपममा दिनुपर्ने माग राखेको टोलो न्यूजले जनाएको छ ।
अफगानीस्तानमा मानिसहरू गरिब तथा निराश्रित भई महिनामा तीन दिन मात्र काम पाउने अवस्थामा छन् । काबुलका बासिन्दा उमर अलीले आफ्नो घरमा दस जना आश्रित भएको तथा डेढ वर्ष देखि भाडाका लागि ऋणमा डुबेको बताउनुभयो ।
तालिबानले अफगानिस्तानमा अधिकार पुनः प्राप्त गरेपछि विश्व बैंक सहित अधिकांश अन्तर्राष्ट्रिय संस्थाहरूले अफगानिस्तानमा काम गर्न छोडेका छन् । यी संस्थाहरूको पुनः सञ्चालनले अफगान अर्थतन्त्रलाई बढावा दिने अनुमान गरिएको छ ।
म्याग्दीमा सुन्तला निकासीबाट रु २१ करोड भित्रियो
म्याग्दी I म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१ करोड भन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो । म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट रु २१ करोड ६० लाखको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी सम्झना आचार्यका अनुसार गत वर्ष रु १७ करोडको सुन्तला उत्पादन र बिक्री भएको थियो । सुन्तला प्रतिकिलो रु ५५ देखि रु ६० का दरले बिक्री भएको छ ।
बेनी नगरपालिकाबाट सबैभन्दा बढी रु तीन करोड ३८ लाखको सुन्तला उत्पादन तथा बिक्री भएको छ । मालिका गाउँपालिकाबाट रु एक करोड ३६ लाख, अन्नपूर्ण गाउँपालिका र मङ्गला गाउँपालिकाबाट क्रमशः रु एक करोड ३० लाखको दरले सुन्तला बिक्री भएको छ ।
धवलागिरि गाउँपालिकाबाट रु ३० लाख ७० हजार तथा रघुगङ्गाबाट रु २५ लाखको सुन्तला बिक्री भएको सूचना अधिकारी शर्माले बताउनुभयो । बेनी नगरपालिका–३ भकिम्ली, मरेक र राखु क्षेत्रबाट मात्रै रु दुई करोड २० लाखको सुन्तला निकासी भएको छ । बेनी नगरपालिका–४ को सिङ्गास्थित थामडाँडा, बास्कुना र सुर्केमेलाबाट रु एक करोड १० लाखको सुन्तला निकासी भएको वडा सदस्य समेत रहेका किसान सन्दीप खत्रीले बताउनुभयो ।
म्याग्दीमा आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकामा चार सय २० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो । “सुन्तलाको प्रतिहेक्टर आठ दशमलव छ मेट्रिक टन उत्पादकत्व रहेको छ”, उहाँले भन्नुभयो, “अनुकूल मौसम, रोग तथा कीराको प्रकोप नियन्त्रण, किसानलाई बीउमल, विषादी, कृषि औजार एवं सामग्रीमा अनुदान सहयोग तथा क्षेत्रफल विस्तारले सुन्तलाको उत्पादन बढेको हो ।”
कृषि ज्ञान केन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए ।
जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिन लगायतका बजारमा सुन्तला निकासी भएको बेनी नगरपालिका–३ राखुका किसान खिम पुनले बताउनुभयो । राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् ।
यातायात सुविधा भएकाले ब्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै पुग्ने गरेका छन् । सुन्तला खेती विस्तार, बगैँचा व्यवस्थापन र नर्सरी स्रोत केन्द्र स्थापना सम्बन्धी कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले ५१ वटा फार्म, समूह र सहकारीका लागि रु ६२ लाख अनुदान दिन छनोट गरेको जनाएको छ ।
आगलागीबाट बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
धुलिखेल (काभ्रेपलाञ्चोक) I बस्ने घर, ओढ्ने ओछ्याउने, लत्ताकपडा र खाने अन्नपात सबै जलेर नष्ट भएको छ । पल्लो टोलको सानो धारामा प्लाष्टिकको बोतलमा पानी थापेर बसिरहेका रञ्जिता तामाङ र रजनी तामाङ भने टन्टलापुर घाममा पिउनका लागि पानी जोहो गरिरहनुभएको छ । बिहान पढ्नका लागि विद्यालय गएका उहाँहरू बेलुका घर फर्किँदा सबै जलेर उराठ भएपछि बिचल्लीमा हुनुहुन्छ ।
जोगेश्वर माविमा कक्षा ६ मा अध्ययनरत रजनी र रङ्गीन प्राविमा कक्षा ३ मा अध्ययनरत रञ्जिता १७ महिनाको सानो भाइ र आमासहित चारजना दुई दिनदेखि टोलबाट अलि परको अर्को घरमा आश्रय लिइरहनुभएको छ । “विद्यालय जाने बेलामा परेकाले पढ्ने किताबकापी त हामीसँगै छ”, रजनीले भन्नुभयो, “खाने अन्न, सुत्ने ओछ्यान र लगाउने कपडा सबै डढेर सखाप भएको छ, अलिअलि भएको बिस्कुट र चाउचाउ खाएर बसेका छौँ ।” बाबा विदेशमा भएकाले आफूहरू चारजना अर्कै घरमा सरेर बसेको दुवै जनाले सुनाउनुभयो ।
सोही गाउँका माथिल्लो टोलका सत्यलाल तामाङले घरभित्र जलिरहेको दलिनको ठुटोको प्वालबाट निस्किरहेको धुँवा नियाल्दै भन्नुभयो, “यो घरलाई जोगाउन सकिएन, तल्लोपट्टि रहेको एउटा घरलाई भने नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर पानी छर्केरै भए पनि जोगाउन सफल भइयो, अहिले त्यही बसिरहेका छौँ ।” जिउमा लगाउने कपडा बाहेक भएभरको सामान निकाल्न नभ्याएपछि विपद् व्यवस्थापन समिति र सहयोगी सङ्घसंस्थाले दिएको राहतको भरमा चलिरहेको उहाँले बताउनुभयो ।
सोही ठाउँका अर्का पीडित कान्छीमाया तामाङले एक्कासी भएको आगलागीका कारण घरभित्र भएको सबै जलेपछि केही निकाल्न नपाएको बताउनुभयो । “अहिले के गर्ने कस्तो गर्ने भन्नेमा अन्योल छ”, उहाँले भन्नुभयो, “सबैको सरसहयोग रहे पनि हामी भने अलमलमै छौँ ।”
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको आगलागीमा परी १५ घर जलेर नष्ट भएपछि यहाँको सिङ्गो तामाङ बस्ती नै बिचल्लीमा छन् । गाउँ नजिकै भएको सामुदायिक वनमा भएको आगलागीबाट सिङ्गो गाउँ नै सखाप हुनेगरी जलेपछि अहिले सो ठाउँमा वडा, गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समिति
6देखि विभिन्न सङ्घसंस्थाले सहयोग गर्दै आइरहेको छ ।
पीडामा परेका परिवारलाई राहतदेखि सान्त्वना प्रदान गर्न सानोपोटामा आफन्त र सहयोगी हातहरूको उपस्थिति हुने क्रम निरन्तर छ । घरभित्र भएको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै जलेपछि बिचल्लीमा परेका यहाँका बासिन्दा राहतको भरमा छन् भने दैनिक कायममा समेत फर्कन सकेका छैनन् ।
गाउँपालिका अध्यक्ष दिनेश लामाले घटना भएपछि स्थानीय विपद् व्यवस्थापन समिति निरन्तर रूपमा सहयोगका लागि परिचालन भइरहेको बताउनुभयो । तत्कालीन रूपमा राहत उपलब्ध गराउन गाउँपालिकाले बुधबार दुई बोरा चामल, दाल, मेष्ट्रिस, नुन, तेल वितरण गरेको उहाँले बताउनुभयो । त्यस्तै नेपाल रेडक्रस र अन्य सङ्घसंस्थाको सहयोग पनि जारी रहेको समितिले जनाएको छ । त्यससँगै खानेपानीको पाइप जलेर समस्या भएको खानेपानीको आपूर्तिका लागि पालिका लागिरहेको र दीर्घकालीन व्यवस्थापन तथा पुनःस्थापना गर्ने विषयमा छलफल भइरहेको अध्यक्ष लामाले बताउनुभयो ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले बुधबार स्थलगत अनुगमन गर्दै जिल्लामा एकैपटक धेरै घर जलेको पहिलो पटक भएको जनाएको छ । घटनापश्चात तत्कालीन राहत तथा व्यवस्थापनका लागि काम भइरहेको र दीर्घकालीन व्यवस्थापनका लागि भएकोलाई मर्मत गर्ने तथा केहीलाई पुनःनिर्माण गर्नुपर्ने हुनसक्ने भएकाले प्राविधिक टोलीबाट क्षतिको पूर्ण विवरण आइसकेपछि तीनै तहका सरकारको सहयोगमा निजी आवास पुनःनिर्माण अनुदानभित्र रहेर व्यवस्थापन गर्न प्रयन्त गरिने उहाँले बताउनुभयो ।
प्रहरीको प्रारम्भिक विवरण अनुसार आगलागीबाट रु दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आगलागीबाट १५ घर, सात गोठ तथा चार शौचालय जलेर नष्ट भएका र अझै विस्तृत विवरण आउन बाँकी रहेको छ ।
बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
खोटाङ I जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको काम अघि बढाइएको छ । सङ्घीय खानेपानी मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मै बुवाँखोला लिफ्टिङ खानेपानी आयोजनालाई रातो किताबमा समेटेको थियो । तर, आयोजना सुनिश्चित भएको दुई वर्षपछि मात्रै लिफ्टिङ खानेपानी आयोजनाको सर्वेक्षण तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अघि बढाइएको हो ।
छ वडा रहेको उक्त गाउँपालिकाको वडा नं २ बाहेक अन्य सबै वडा (१, ३, ४, ५ र ६) का नागरिकलाई पिउनेपानी उपलब्ध गराउन खानेपानी विभागसँगको सहकार्यमा प्रिक्सा कन्सल्टेन्सीले लिफ्टिङ आयोजनाको सर्वेक्षण पूरा गरेको छ । आयोजनाको डिपिआर तयार पार्न अझै कम्तीमा दुई हप्ता समय लाग्ने जनाइएको छ ।
मन्त्रालयबाट थोरै बजेट विनियोजन हुँदा दुई वर्षसम्म आयोजनाको सर्वेक्षणको काम नभएपछि पुनः गत फागुनमा सचिव सुरेश आचार्यलाई भेटेर आयोजनाको काम अघि बढाउन आग्रह गरिएको जन्तेढुङ्गाका बाजिन्द्र विष्टले जानकारी दिनुभएको छ । बुवाँखोलाको चण्डीथानमाथि झोलुङ्गे पुलछेउबाट पहिलो मोटर राखेर एक हजार नौ सय ५८ मिटर उचाइमा रहेको भञ्ज्याङखर्कमा पानी निकाली गाउँपालिकाभित्रका बस्तीमा पानी वितरण गर्ने योजना छ ।
बुँवाखोला लिफ्टिङ खानेपानी आयोजनाबाट वडा नं १, ३, ४, ५ र ६ मध्ये चार वडाका पूर्ण र वडा नं १ को पैयाँटार, देवीस्थान, रिला, बुकुलाका स्थानीय लाभान्वित हुने विष्टले जानकारी दिनुभएको छ । करिब रु ५० करोडको लागत आउने अनुमान गरिएको बुँवाखोला लिफ्टिङ खानेपानी आयोजनाबाट उक्त गाउँपालिकाका एक हजार घरधुरी लाभान्वित हुने जनाइएको छ ।

लिफ्टिङ खानेपानी आयोजना सञ्चालनका लागि बाम्राङका मिलन राईको पाँच रोपनी जग्गामा दोस्रो मोटर राखिने जनाइएको छ । बाम्राङमा राखेर सो स्थानमा पानी प्रशोधन गरेपछि त्यसको आसपासका बस्तीमा पानी वितरण गर्ने योजना बनाइएको विष्टले बताउनुभएको छ ।
तेस्रो मोटर थर्पुडाँडा र चौथो मोटर चुन्थेडाँडामा राख्नेगरी सर्वेक्षणको काम गरिएको जनाइएको छ । उक्त स्थानबाट अन्य वडामा पानी लैजानेगरी ठूलो ट्याङ्की निर्माण गरिने र चौथो मोटरबाट भञ्ज्याङखर्कको सबैभन्दा अग्लो डाँडामा पानी निकालेर पानी वितरण गरिने छ ।
क्रमागत योजना अन्तर्गत सञ्चालन गर्न लागिएको लिफ्टिङ खानेपानी आयोजनाका लागि मन्त्रालयले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा रु पाँच लाख बजेट विनियोजन गरेको थियो । तर कुनै पनि काम नभएपछि महिना दिनअघि हलेसी तुवाचुङ नगरपालिकाका पूर्वनगरप्रमुख इवन राई, बाजिन्द्र विष्टल गायत मन्त्रालय पुगेर डिपिआर तयार पारेर काम अघि बढाउने निश्चित गराउनुभएको हो ।
यही वैशाख १३ गते सर्वेक्षणको काम सम्पन्न गरिएको आयोजनाका लागि प्राविधिक टोलीसँग बाजिन्द्र विष्ट, वडाध्यक्षद्वय विदुरमान राई र धनबहादुर राई, नेतृ अनिता राईलगायत सहभागी हुनुभएको थियो । आयोजना सञ्चालनका लागि स्थानीय सरकारको तर्फबाट गाउँपालिकाले अवश्यक सहयोग गर्ने गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले बताउनुभएको छ ।
सबैभन्दा प्रदूषित सहर काठमाडौँ बन्यो
काठमाडौँ I काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ ।
एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित सहरका रुपमा थाइल्याडको चियाङ माई सहर सूचीकृत भएको छ । यसैगरी इन्डोनेसियाको मेदान तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ ।
सुक्खा यामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ ।
डढेलोविद् सुन्दर शर्माले मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलोसँगै प्रदूषण पनि बढिरहेको जानकारी दिनुभएको छ । “वनमा लागिरहेको डढेलोका कारण अहिले वायुप्रदूषण बढेर काठमाडौँ लगायतका मुख्य सहरका हावा अस्वस्थ बनेको छ”, उहाँले भन्नुभयो, “केही समय पानी नपरे वन डढेलो पनि नियन्त्रणमा ल्याउन गाह्रो हुने र प्रदूषण अझै बढ्ने खतरा रहेको छ ।” तर जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार केही स्थानमा छिटपुट वर्षा भए पनि तत्कालका लागि राम्रो वर्षाको सम्भावना छैन ।
विपत् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआई ५० राम्रो अर्थात् ग्रीन सिङ्गलले चिनिन्छ । “५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहुँ अथवा पहेंलो सङ्कतले चिनिन्छ । यसैगरी एक सय एक देखि एक सय ५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटुरोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ”, उहाँले भन्नुभयो, “एक सय ५१ देखि दुई सयदेखिको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वस्थ्यका रुपमा लिइन्छ र तीन सय एक देखि चार सयलाई खतरनाक र ४०१ देखि ५० लाई धरै खतरा मानिएको छ ।”
बढ्दो वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको भन्दै वन डढेलो जतिसक्दो छिटो नियन्त्रण गर्न नसके प्रदूषण बढेर आपत्कालीन अवस्थामा पुग्ने बताउनुहुन्छ वातावरण अभियन्ता राजन थापा । काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआइको मान ३०० भन्दाबढी भएको अवस्थालाई विपद्का रुपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ ।
वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा
काठमाडौँ I टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल विरुद्धको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ । आजको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १२ः१५ बजे सुरु हुँदैछ ।
नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलशनकुमार झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, प्रतिश जिसी, ललितनारायण राजवंशी र अभिनाश बोहरा रहेका छन् ।
यसअघि भएका तीन खेलमध्ये वेस्ट इन्डिज ‘ए’ले दुई खेल जितेको छ भने नेपाल एउटा खेलमा मात्र विजयी भएको छ । यही वैशाख १५ गते भएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । सो खेलमा वेस्ट इन्डिज ‘ए’ले दिएको दुई सय पाँच रनको विजयी लक्ष्य नेपालले ६ विकेट गुमाएर पुरा गरेको थियो । उक्त खेलमा कप्तान रोहितकुमार पौडेलले शतकीय पारी खेलेका थिए । उनले एक सय १२ रन बनाउनुका साथै बलिङतर्फ एक विकेट समेत लिएका थिए ।
यसैगरी वैशाख १६ गते भएको दोस्रो खेलमा भने नेपाल वेस्ट इन्डिज ‘ए’सँग मात्र १० रनले पराजित भयो । सो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५० रन मात्र बनाउन सक्यो । उक्त खेलमा पनि कप्तान पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले अविजित ७१ रन बनाए । पहिलो खेलमा जस्तै दोस्रो खेलमा पनि नेपाली ब्याटरले सम्झिन लायक ब्याटिङ गर्न सकेनन् । फलस्वरुप नेपालले सो खेल झिनो रनअन्तरले गुमाउन पुग्यो ।
यस्तै बुधबार भएको तेस्रो खेलमा भने नेपाल वेस्ट इन्डिज ‘ए’सँग फराकिलो रनअन्तरले पराजित भयो । वेस्ट इन्डिज ‘ए’ले जितका लागि नेपालसामु दुई सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरे पनि नेपाली टोली एक सय ५१ रनमै समेटियो । सो खेलमा त्यसअघिका दुई खेलको भन्दा कमजोर खेल प्रदर्शन ग¥यो । नेपाली टोलीको अन्य दुई खेलको तुलनामा बलिङ, ब्याटिङ र फिल्डिङमा फितलो प्रदर्शन रह्यो । सो खेलमा वेस्ट इन्डिज ‘ए’का जोनसन चाल्र्सले शकतीय पारी खेले भने आन्द्रे फ्लेचरले अद्र्धशतक प्रहार गरे । पाँच खेलको जारी शृङ्खलामा वेस्ट इन्डिज ‘ए’ आजको खेलमा बिनादबाब मैदानमा उत्रने छ । नेपाली टोली जित्नैपर्ने दबाबमा हुनेछ ।
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल शनिबार हुनेछ ।
तोलामा रु दुई हजारले वृद्धि भयो सुनको मूल्य
काठमाडौँ I स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ ।
यस्तै बुधबार रु एक लाख ३३ हजार आठ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३५ हजार आठ सय ५० निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा रु १५ ले वृद्धि भएको छ । बुधबार प्रतितोला रु एक हजार छ सय ३० मा कारोबार भएको चाँदी बिहीबारका लागि भने रु एक हजार छ सय ४५ निर्धारण भएको छ ।
घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु
मलेखु (धादिङ) I धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उहाँ र उहाँकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताउनुभयो । घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ ।
“राति करिब ११ः३० बजे घरमा आगो लागेको खबर पायौँ । हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा उहाँहरूको मृत्यु भइसकेको थियो”, प्रहरी उपरीक्षक केसीले भन्नुभयो । यसैबीच गोरखामा आगलागीबाट दुईवटा घर र चारवटा गोठ जलेका छन् । गोरखा नगरपालिका–५, स्थित ठूलोरिपमा घर नजिकै जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्दा स्थानीय पार्वती राना र रुपा रानाको घर जलेका हुन् ।
आगलागीबाट पार्वतीको दुईकोठे र रुपाको दुईकोठे घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका स्प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । सोही ठाउँका पूर्णबहादुर मगरको गोठ पनि जलेको उहाँले बताउनुभयो । पालुङटार नगरपालिका–९ चालिसेडाँडामा आगलागीबाट तीनवटा गोठमा क्षति भएको छ । गोठमा बाँधेको एउटा गाई पनि मरेको छ ।
यसैबीच, नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले ठूलोरिपका आगलागी पीडितलाई राहत सामग्री उपलब्ध गराएको छ । आगलागीबाट घर र गोठमा क्षति पुगेका परिवारलाई आपत्कालीन सहयोग उपलब्ध गराइएको शाखाका कार्यालय प्रमुख सुवास घिमिरले बताउनुभयो ।
प्रचण्ड गर्मीमा पनि बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त महोत्तरीका गृहिणी
महोत्तरी I अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् ।
मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । यहाँ गोबरमा पराल वा साना झिक्रा हालेर डोलो ‘गुइँठा’ र घरका पर्खालमा गोबर सुकाएर ‘चपरी’ पारिन्छ ।
गाई, भैँसी पालेका किसानले आफ्नै गोठको गोबरमा र यी पशुबस्तु नपाल्नेले चरन क्षेत्र र बाटाघाटाका गोबर टिपेर घरमा ल्याई थुपारेर ‘गुइँठा’ बनाउँछन् । जिल्लाका सबैजसो स्थानीयतहका ग्रामीण बस्तीमा अहिले आम महिला ढकी (बाँसको चोयाले बुनिएको खास भाँडो, ‘छिटी’ पनि भनिन्छ) बोकेर गोबर सङ्कलन गर्न र घरघरै ‘गुइँठा’ बनाउन व्यस्त देखिन्छन् । जिल्लाका १५ स्थानीयतहमध्ये १० नगरपालिकामा पनि धेरैजसो ग्रामीण बस्ती नै रहेका हुँदा सबैजसो भेगमा अहिले गृहिणीहरुको ‘गुइँठा’ बनाउने काममा व्यस्तता बढेक हो ।
“कि करु ? खाना त खाइपरत, अइकेलेल जोगार त कर परल नई” (के गर्नु ? खानु त परिहाल्छ, त्यसका लागि इन्धनको जोहो त गर्नै पयो नि) धमाधम गुइँठा बनाउँदै भङ्गाहा–३ सकरी बस्तीकी रामराजी सदा भन्नुहुन्छ, “अखैन जोगार नइकरब त बर्खामें दिकत होयत” (अहिले इन्धनको जोहो नगरे बर्खामा अप्ठ्यारो हुन्छ) । बर्खामा गुइँठा चाँडै बल्ने र सल्केपछि ननिभ्ने भएपछि गृहिणी यसमा खाना पकाउन अभ्यस्त भएका छन् ।
जिल्लामा खाना पकाउने इन्धनमा बाक्लै प्रयोग हुने गोबरको चिपरी र गुइँठा (गोरहा) मा आगो ननिभ्ने र खानेकुरा पनि स्वादिलो हुने आमविश्वास छ । बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य निरीक्षक सुरेश पासवान गोबरका ‘चिपरी’ र ‘गुइँठा’मा पकाइएको खाना मौलिक स्वादको हुने र स्वस्थ्यकर पनि हुने बताउनुहुन्छ ।
यहाँका महिला अहिले कृषि कार्य नहुँदा वर्षभरिकै इन्धन जम्मा गर्न ‘चिपरी’ र ‘गुइँठा’ बनाउन व्यस्त भएका हुन् । घरमा पशुबस्तु हुनेले आफ्नै गोठको गोबर जम्मा गरेर लगाउने र गोठमा नहुनेले सडक र चरन क्षेत्रसम्म पुगेर गोबर सङ्कलन गरेर घर वरपर ल्याएर थुपार्ने महोत्तरीमात्र नभएर मध्यपूर्वी तराईकै आम कुरो मानिन्छ । यसरी दुई-तीन दिन लगाएर थुपारिएको गोबर अर्को दुई-तीन दिन लगाएर ‘गुइँठा’ र ‘चिपरी’ पाथ्ने गरिन्छ । सामान्यतया गोबरलाई चाक्लो पारेर पथारिनेलाई ‘चिपरी’ र भित्रपट्टि पराल र मसिना झिक्रा हालेर लामो डोलो बनाइनेलाई ‘गुइँठा’ वा ‘गोरहा’ भनिन्छ । यसरी बनाइएका ‘गुइँठा’ घाम राम्रो लाग्ने ठाउँमा चाङ लगाएर राखिन्छ । यस्तो चाङ एक महिना जति घामले सुकेपछि ‘चिपरी’ र ‘गुइँठा’ पानी नचुहिने, नभिज्ने ठाउँमा थाक बनाएर राखेपछि आवश्यकता अनुसार खाना पकाउन प्रयोग गरिन्छ ।
खासगरी वन क्षेत्र टाढा भएका र ग्यास किन्ने हैसियत नभएका घरमा इन्धनका लागि ‘चिपरी’ र ‘गुइँठा’ बालेर खाना पकाउनुपर्ने बाध्यता छ । तराई क्षेत्रमा गाई, गोरु, भैँसी र राँगाको गोबर इन्धनमा खर्च भएपछि जग्गा जमिनमा उत्पादन भने कम हुने र रासायनिक मलको प्रयोग बढेको पाका किसान बताउँछन् ।
“खेतबारीमा हाल्नुपर्ने कम्पोष्ट मल बनाइने गोबर दाउरामा प्रयोग गरिन्छ”, महोत्तरीकै बर्दिबास–७ का विन्देश्वर यादव भन्नुहुन्छ, “खेतबारी मलिलो बनाउने कम्पोष्ट मल नभएपछि उत्पादन निकै घटेको छ ।” अब इन्धनमा गोबरको विकल्प नखोजिने हो भने जग्गाको उर्वरा शक्ति ह्रास भएर यहाँका जग्गा बेकामे बन्ने किसान बताउँछन् ।
गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौँ I क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । ओटावामा बुधबार आयोजित विशेष समारोहमा उहाँले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।
ओहोदाको प्रमाणपत्र पेस गरेपछि गभर्नर जनरलसँग भएको शिष्टाचार भेटमा राजदूत पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट उहाँको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै क्यानडाका मित्रवत् जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभएको ओटावा स्थित नेपाली राजदूतावासले आज जनाएको छ ।
राजदूत पौड्यालले नेपाल र क्यानडाबीचको मैत्रपूर्ण सम्बन्धबारे अवगत गराउँदै लोकतन्त्रको सुदृढीकरण, द्रुत आर्थिक विकासका निम्ति नेपाल सरकारले गरेका प्रयास तथा प्राथमिकताका सम्बन्धमा जानकारी दिनुभएको थियो । सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्ने तथा अवरोधरहित रूपमा अतिकम विकसित देशको सूचीबाट स्तरोन्नत हुन भएका प्रयासबारे पनि उहाँले जानकारी दिनुभएको थियो ।
नेपालको सामाजिक–आर्थिक विकास तथा विषम परिस्थितिमा क्यानडाले अविराम सहयोग गरेकामा कृतज्ञता ज्ञापन गर्दै राजदूत पौड्यालले द्विपक्षीय व्यापार, पर्यटन, लगानी, प्रविधि हस्तान्तरण, दुवै देशका जनताबीचको सम्बन्ध विस्तार तथा दुवै पक्षलाई लाभदायक हुने आर्थिक साझेदारी अभिवृद्धि गनै क्यानडा सरकार तथा निजी क्षेत्रसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
उक्त दूतावासका अनुसार गभर्नर जनरल सिमनले नेपालको नेतृत्वप्रति शुभेच्छा प्रकट गर्दै क्यानडा र नेपालबीचको सम्बन्ध सुमधुर रहेकामा प्रशन्नता व्यक्त गर्नुभयो । साथै उहाँले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउन क्यानडा सरकारबाट पूर्ण सहयोग हुने बताउनुभयो । त्यस अवसरमा क्यानडा सरकारका उच्च पदस्थ अधिकारीका साथै उक्त दूतावासका कर्मचारीको उपस्थिति थियो ।