बीपीएलमा सन्दीपको पुनरागमन, पूर्व टोलीविरुद्ध राजशाही वारियर्सको आज पहिलो खेल
काठमाडौं । बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा दोस्रो पटक सहभागी हुन लागेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली राजशाही वारियर्सले आज प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ ।
शुक्रबार हुने उक्त खेलमा राजशाही वारियर्सले सिलेट टाइटन्सको सामना गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमै सन्दीप लामिछाने प्लेइङ–११ मा पर्ने सम्भावना रहेको छ ।
यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्ससँग आबद्ध भएका हुन् । यसअघि उनी सन् २०१९ मा सिलेट टाइटन्सबाट बीपीएल खेलेका थिए । संयोगवश, यसपटकको पहिलो खेलमै उनले आफ्नो पूर्व टोली सिलेट टाइटन्सविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन्, जसले खेललाई थप रोचक बनाएको छ ।
राजशाही वारियर्सको कप्तानी बङ्गलादेशका राष्ट्रिय टोली कप्तान नजमुल हुसेनले गर्दैछन् । टोलीमा नेपाल प्रिमियर लिग खेलिसकेका अन्तर्राष्ट्रिय खेलाडी जिमी निशम पनि रहेका छन् ।
नेपाली क्रिकेटका चर्चित स्पिनर सन्दीपको पुनरागमनसँगै बीपीएलमा नेपाली दर्शकको चासोसमेत बढेको छ ।
टि–२० विश्वकप तयारी : २४ खेलाडीको नाम सार्वजनिक
काठमाडौं । भारत र श्रीलंकामा माघ २५ देखि फागुन २४ गते सम्म आयोजना हुने आइसिसी टि–२० विश्वकपको तयारीका लागि नेपालले आजबाट औपचारिक अभ्यास सुरु गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि राष्ट्रिय टोलीमा रहेका तथा नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को प्रदर्शनका आधारमा छनोट गर्दै रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरि, गुलशन झा, नन्दन यादव, आरिफ सेख, सन्दीप लामिछाने, ललित राजवंशी, सोमपाल कामी, लोकेस बम, आदील अन्सारी, कारण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, ईशान पाण्डे, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिष जीसी, बसिर अहमद र रुपेस कुमार सिंह गरी २४ खेलाडीलाई प्रशिक्षण क्याम्पमा बोलाएको हो ।
नेपालले समूह चरणका सबै खेल भारतको मुम्बईमा खेल्नेछ । समूहमा नेपालसँगै इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन् । नेपालले माघ २५ गते इङ्ल्यान्डविरुद्ध खेल्दै टि–२० विश्वकप यात्रा सुरु गर्नेछ ।
भारतलाई हराउँदै पाकिस्तान यु –१९ एसिया कप च्याम्पियन
काठमाडौं । पाकिस्तानले एसिसी यु –१९ एसिया कपको उपाधि जितेको छ । फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको हो ।
दुबईमा भएको खेलमा किस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो ।
समिरलाई अहमद हुसैनले ७२ बलमा ५६ रनको बनाएर दिए । समिर र अहमदले तेस्रो विकेटका लागि १ सय ३७ रनको साझेदारी पनि गरेका थिए ।
जवाफमा भारतले सुरुमा आक्रामक सुरुवात गर्दै पाँचौं ओभरमा ५० रन बनायो । तर वैभव सूर्यवंशी १० बलमा २६ रनमा आउट भएपछि भारत दबाबमा पर्यो। पावरप्लेको अन्त्यसम्म भारतले ५ विकेट गुमाउँदै ६८ रन बनाएको थियो ।
कोशी प्राइड लिग क्रिकेटको तेस्रो संस्करण फागुन ९ देखि सुनसरीमा
काठमाडौं । कोशी प्राइड प्रालिले कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्ने भएको छ । आयोजकले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा सञ्चालन हुने जानकारी दिएको हो ।
प्रतियोगितामा सात टोलीको सहभागिता रहनेछ । सहभागी टोलीहरूमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्ना र गोर्खा एभेन्जर्स रहेका छन् ।
पत्रकार सम्मेलनमा आयोजकले टोली मालिकहरूको पनि परिचय गराएको छ । नमुना ब्लास्टर्सका मालिक धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्सका कल्पित इकाल, बिर्तामोड हिट्सका मालिक अनुराग प्रमानिक (प्रतिनिधि जीवनकुमार यादव), पूर्वेली सुपर किंग्सका भरत कार्की, एभरेस्ट थन्डर्सका आकाश खड्का, बीएन कोशी अर्नाका मोहम्मद सेराज अन्सारी तथा गोर्खा एभेन्जर्सका विजय खड्का र पुजनबाबु भट्टराई रहेका छन् ।
प्रतियोगिताका लागि प्रत्येक टोलीमा कम्तीमा ११ खेलाडी अनिवार्य गरिएको छ । टोली संरचनाअनुसार एक मार्की, एक आइकोनिक, राष्ट्रिय टोलीका खेलाडीमध्येबाट ड्राफ्ट गरिने तीन खेलाडी, क्याटगोरी ‘ए’ का तीन, क्याटगोरी ‘बी’ का दुई र क्याटगोरी ‘सी’ का एक खेलाडी रहने व्यवस्था गरिएको छ । खेलाडी अक्सनको मिति भने चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
केपीएलका निर्देशक अफजल हुसैनले प्रतियोगिताले कोशी प्रदेशको क्रिकेट विकासमा योगदान पु¥याउने र ग्रासरुटस्तरका खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले यस प्रतियोगितामार्फत नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नयाँ प्रतिभा उत्पादन हुने आशा पनि व्यक्त गरे ।
आयोजकले प्रतियोगितालाई सफल बनाउन प्रायोजक, संघसंस्था तथा सञ्चारमाध्यमसँग सहकार्यको अपिल गरेको छ । सञ्चारकर्मीहरूको भूमिकालाई महत्वपूर्ण भन्दै प्रतियोगितालाई आम दर्शकमाझ पु¥याउन सहयोगको अपेक्षा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान), क्यानका सचिव पारस खड्का तथा कोशी प्रदेश क्रिकेट संघप्रति सहयोग र समर्थनका लागि आयोजकले धन्यवाद व्यक्त गरेको छ ।
साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि इस्ट बङ्गाललाई
काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको थियो ।
हिजो भएको खेलमा इस्ट बङ्गालले नेपालको एपिएफ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । इस्ट बङ्गलाको जितमा कप्तान फजिला इक्वापुटले दुई गोल गरेकी थिइन् भने शिल्कीदेवी हनाम एक गोल गरिन् ।
कप्तान इक्वापुटले खेलको २२औँ मिनेटमा गोल गरेकी थिइन् । नेपालकी गोलकिपर अञ्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बङ्गालले अवसर पायो । जसलाई कप्तान फजिलाले सदुपयोग गर्दै गोल गर्न सफल भएकी हुन् ।
त्यसपछि खेलको ३५औँ मिनेटमा इस्ट बङ्गालले आफ्नो टोलीको अग्रता दोब्बर बनायो । उसका लागि शिल्कीदेवी हनामले गोल गरिन् ।
खेलको दोस्रो हाफको सुरुआती मिनेटमा इस्ट बङ्गालले तेस्रो गोल गरेसँगै प्रतियोगितामा विजयी भएको हो ।
गत मङ्सिर १९ गतेदेखि सञ्चलान भएको उक्त प्रतियोगितामा पाँच वटा देशहरुको सहभागिता थियो । फाइन खेल्ने दुई टोलीसहित पाकिस्तानको कराँची सिटी एफसी, बङ्गलादेशको नासिर स्पोर्टस एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेड रहेका थिए ।
यी हुन् एनपीएलमा सर्वाधिक पुरस्कार जित्ने खेलाडी
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) सिजन– २ मा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन् ।
लुम्बिनी लायन्सका कप्तान समेत रहेका पौडेलले सर्वोत्कृष्ट खेल प्रदर्शनगरी ओमोडा कार पुरस्कार हासिल गरेका हुन् । साथै प्रतियोगितामा उत्कृष्ट ब्याटर पनि बन्न सफल भएकाले उनले पल्सर बाइक जित्न पनि सफल भए ।
यस्तै,लुम्बिनी लायन्सकै शेर मल्ल प्रतियोगिताको उत्कृष्ट उदीयमान खेलाडी बन्न सफल भइ पल्सर बाइक पुरस्कार हात पारे । लुम्बिनीकै अर्का रुवेन ट्रम्पलम्यान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनी ५ लाख नगद पुरस्कार पाए ।
त्यस्तै प्रतियोगितामा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर बन्न सफल भए । उनले पनि पल्सर बाइक पुरस्कार हासिल गरे ।
विश्व बक्सिङ च्याम्पियनसिपका कांस्य पदक विजेता चन्द्र थापा मगर सहितको टोली आज स्वदेश फर्किदै
काठमाडौं । आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा कास्यपदक जितेका नेपालका बक्सर चन्द्रबहादुर थापा मगर आज स्वदेश फिर्ता हुँदै छन् । आइतबार उनीसहित टोली स्वदेश फिर्ता हुन लागेका हुन् ।
नेपालको बक्सिङ इतिहासमा विश्व च्याम्पियनसिपमा सेमिफाइनलमा प्रवेश गरी कास्य जित्ने चन्द्रबहादुर पहिलो खेलाडी हुन् । प्रतियोगिताको सेमिफाइनलमा उनी काजकस्तानका खेलाडी विवोसिनोसँग ५–० को स्कोरमा पराजित हुँदै चौथो स्थानमा सिमित भएका हुन् ।
यससँगै उनले ७५ हजार अमेरिकन डलर हात पारेका छन् । नेपालको खेलकुद इतिहासमा कुनै पनि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको एकल प्रतिस्पर्धामा ७५ हजार अमेरिकन डलर हात पार्ने उनी पहिलो खेलाडी बनेका छन् ।
आज एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनकोे आज फाइनल खेल हुँदैछ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने इलिमिनेटरमा काठमाडौं गोर्खाज् र दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गरेर लुम्बिनीले फाइनलमा आफ्नो स्थान बनाएको हो ।
गत वर्ष जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित हुँदै उपविजेता बनेको सुदूरपश्चिमले यसपटक विजेताको उपाधि जित्ने लक्ष्य राखेको छ ।
लिग चरणका ६ खेल जितेर एक खेलमा हार ब्यहोरेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफ पुगेको थियो । सुदूरपश्चिम लिग चरणमा विराटनगरसँग मात्र पराजय भएको हो ।
कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम छ भने कप्तान रोहित पौडेलको नेतृत्वमा लुम्बिनी लायन्स छ । गत संस्करणमा लिग चरणमै बाहिरिएको लुम्बिनी लायन्स यो पटक भने आफ्नो उत्कृष्ट प्रदर्शन देखाउँदै उपाधि जित्ने लक्ष्यमा छ ।
लिग चरणका सुरुवाती खेल जितेपछि लगातार तीन खेलमा पराजित ब्यहोरे पनि लुम्बिनीले अन्तिम तीन खेलमा विजय हासिल गर्दै प्लेअफमा स्थान बनाएको थियो ।
इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको लुम्बिनीले विराटनगर किङ्सलाई ४० रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
लिग चरणका २८ खेल र प्लेअफका ३ खेल सकिएपछि आज उपाधि विजेता तय गर्ने निर्णायक खेल हुँदैछ । एनपीएलको विजेताले रु १ करोड १० लाखको आकर्षक पुरस्कार रकम प्राप्त गर्नेछ भने उपविजेताले रु ५१ लाख, तेस्रो स्थानले रु २५ लाख र चौथो स्थानले रु १५ लाख हात पार्नेछ ।
नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सञ्चालनमा आएको यस प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए ।
कोलकातामा लियोनल मेस्सीको ७० फिट अग्लो प्रतिमा तयार, डिसेम्बर १३ मा उद्घाटन
काठमाडौं । भारतको पश्चिम बंगालस्थित कोलकातामा अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीको ७० फिट अग्लो विशाल फलामे प्रतिमा निर्माण सम्पन्न भएको छ । हालसम्मकै सबैभन्दा ठूलो बताइएको मेस्सीको यो प्रतिमा दक्षिण दमदमको लेक टाउन क्षेत्रमा रहेको श्री भूमि स्पोर्टिङ क्लबले तयार गरेको हो ।
प्रतिमामा मेस्सीले फिफा विश्वकप ट्रफी समाइरहेको दृश्य देखाइएको छ, र हाल अन्तिम तहको फिनिसिङ कार्य भइरहेको क्लबले बताएको छ । प्रतिमाको बाहिरी क्षेत्र सजावटसहित अन्तिम तयारी भइरहेको जनाउँदै परियोजनामा संलग्न मोन्टी पॉलको टिमले फिनिसिङ कार्य गरिरहेको जानकारी दिएको छ ।
श्री भूमि स्पोर्टिङ क्लबका अध्यक्ष तथा पश्चिम बंगालका मन्त्री सुजीत बोसका अनुसार प्रतिमाको निर्माण कार्य जम्मा ४० दिनमै पूरा गरिएको हो । बोसले भने, ‘यो निकै ठूलो प्रतिमा हो, ७० फिट अग्लो । मेस्सीको यस्तो उचाइको प्रतिमा संसारमै छैन । मेस्सी कोलकाता आउँदै छन् । यहाँ उनका धेरै फ्यान छन् ।’
उनले म्याराडोना, इमिलियानो मार्टिनेज र रोनाल्डिन्हो जस्ता फुटबलका महान हस्तीहरू पनि यसअघि कोलकाता आइसकेको उल्लेख गर्दै श्री भूमिको यो परम्परा निरन्तर रहँदै आएको बताए ।
उनका अनुसार मेस्सीको प्रतिमा निर्माण गर्ने प्रेरणा म्याराडोनाको प्रतिमा बनेपछि आएको हो । आगामी २०२६ मा हुसने विश्वकपको सन्दर्भमा यस प्रतिमालाई विशेष मानिएको उल्लेख गर्दै उनले मेस्सी स्वयंले पनि यसलाई मन पराउने विश्वास व्यक्त गरेका छन् ।
बोसका अनुसार प्रतिमाको भर्चुअल उद्घाटन डिसेम्बर १३ मा हुनेछ, किनकि मेस्सी सुरक्षा कारणले व्यक्तिगत रूपमा उपस्थित हुन नसक्ने भएका छन् । स्थानीय फुटबलप्रेमीहरूले मेस्सीको प्रतिमा देख्न पाउनु, र भर्चुअल रूपमा मेस्सी सहभागी हुने जानकारीले आफूहरूमा ठूलो उत्साह रहेको बताएका छन् । एक प्रशंसकले भने, ‘मेस्सी यहाँ आउँदैछन् भन्ने सुन्नु नै ठूलो कुरा हो । यो प्रतिमा हाम्रो अभिमान हो ।’
एनपीएल : इलिमिनेटरमा आज काठमाडौं र लुम्बिनी प्रतिस्पर्धा गर्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाडौं र लुम्बिनी प्रतिस्पर्धा गर्दैछन् । त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजे सुरु हुने आजको इलिमिनेटर खेलमा काठमाडौं र लुम्बिनी प्रतिस्पर्धा गर्न लागेका हुन् ।
काठमाडौंको कप्तानीमा करण केसी छन् भने लुम्बिनीका कप्तान रोहितकुमार पौडेल हुन् । अंक तालिकामा तेस्रो र चौथो स्थानमा रहेका दुई टिम इलिमिनेटरमा भिड्न लागेका छन् । मंगलबार पहिलो क्वालिफायरबाट सुदूरपश्चिम फाइनल प्रवेश गरिसकेको छ । यस्तै इलिमिनेटरको विजयी टिमले बिहीबार विराटनगरसँग प्रतिस्पर्धा गर्दै फाइनल यात्रा तय गर्नेछ ।