सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर सम्पन्न
काठमाडौं । सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको ट्रफी टूर सफलतापूर्वक सम्पन्न गरेको छ ।
सुदूरपश्चिम रोयल्सले हजारौं समर्थकको साथमा सुदूरपश्चिम प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूमा ट्रफी टूर गरेको हो ।
दुई दिनसम्म चलेको ट्रफी टूरको पहिलो दिन खड्क चोकबाट सुरु भई चिसापानी पुल, लम्की चोक, घोडाघोडी ताल, दोधारा चाँदनी पुल हुँदै महेन्द्रनगरमा सम्पन्न भएको थियो ।
दोस्रो दिन शनिबार ट्रफीलाई बिहान धनगढीस्थित सिद्धार्थ बैंकबाट सुरु गरियो। त्यसपछि चौराह चोक हुँदै कभर्डहल पुगेर अत्तरिया चोकमा प्रदर्शन गरी ट्रफी टूर सम्पन्न भएको थियो ।
शुक्रबार धनगढीबाट नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले ट्रफी अनावरण गरेका थिए ।
ट्रफी टूरमा सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमटा, ब्रान्ड एम्बेसडर दिपक विष्ट, तथा खेलाडीहरू नरेन साउद, इशान पाण्डे र विनोद भण्डारी सहभागी थिए ।
ट्रफी टूरको क्रममा कलाकार चक्र भाम र डीएनयक्सले अफिसियल एन्थम र फ्यान एन्थमको प्रस्तुति पनि दिएका थिए ।
सुदूरपश्चिम रोयल्सको टोली :
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन । मुख्य प्रशिक्षकः जगत टमटा
हङकङ सुपर सिक्सेस : अफगानिस्तानसँग नेपाल पराजित
काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ । आज हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको हो ।
टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनायो । सन्दीप जोराले अर्धशतक बनाए पनि राशिद खान र आदिल आलमले समान ११ रन जोड्दा लोकेश बमले १० रन मात्र जोडे ।
अफगानिस्तानका लागि करिम जनतले सर्वाधिक ३५ रन बनाए । फरमनुल्लाह सफी ३० रनमा अविजित रहे । गुल्बादिन नाइबले २२ रन बनाए । नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । लोकेश बमले १ विकेट लिए । नेपालले दोस्रो खेलमा भोलि दक्षिण अफ्रिकासँग खेल्नेछ ।
एसियन आर्चरी च्याम्पियन्सिपमा खेल्ने नेपाली टिमको विदाइ
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार २४ औँ एसियन आर्चरी च्याम्पियन्सिपमा सहभागी हुने नेपाली खेलाडी तथा विश्व आर्चरी कङग्रेसमा सहभागी हुने नेपालका प्रतिनिधिलाई विदाइ गरेका छन् ।
विश्व आर्चरी कङग्रेस र विश्व आर्चरी च्याम्पियन्सिप बंगलादेशको ढाकामा हुदैछ । आर्चरी कङग्रेस नोभेम्बर ६ देखि ८ तारिख र एसियन आर्चरी च्याम्पियन्सिप नोभेम्बर ८ देखि १५ तारिखसम्म हुनेछ ।
राष्ट्रिय आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ, महासचिव रमेशप्रसाद सिवाकोटीले विश्व आर्चरी कङग्रेसमा सहभागिता जनाउनेछ । यसैगरी तिलक पुन मगर र ज्ञानु अवालेले एसिया आर्चरी च्याम्पियन्सिपमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
एनओसीका अध्यक्ष श्रेष्ठले दुवै खेलाडीलाई खेल सामाग्री हस्तान्तरण गर्दै राम्रो प्रदर्शन गर्न शुभकामना दिए ।
नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी त्रिदेशीय शृंखलामा नेपालले घरेलु टिम यूएइलाई २४० रनको लक्ष्य दिएको छ ।
बुधबार दुबईमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३९ रन बनाएको हो ।
यूएईविरुद्ध नेपालका भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । मध्यक्रमका ब्याटर कुशल मल्लले ५१ बलमा एक चौका र तीन छक्कासहित ४६ रन बनाए ।
ओपनर आसिफ सेखले ४८ बलमा चार चौकासहित ३४ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३७ रन थप्दा आरिफ सेखको नाममा ३० रन रह्यो । १० औँ नम्बरमा ब्याटिङका निम्ति आएका सन्दीप लामिछानेले अविजित १५ रन जोडे ।
कुशल मल्ल र सन्दीप लामिछानेले नवौँ विकेटका निम्ति ४२ रनको साझेदारी गरेका थिए ।
आईसिसी विश्वकप लिग–२ : घरेलु मैदानमा यूएईको लज्जास्पद हार
काठमाडौं । आईसिसी विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा यूएईले अमेरिकासँग लज्जास्पद हारको सामना गरेको छ । घरेलु मैदानमा भएको खेलमा अमेरिकाले दिएको २९३ रनको लक्ष्य पछ्याएको यूएई ४९ रनमा अलआउट भएको हो । यूएई अमेरिकासँग २४३ रनले पराजित भएको हो ।
अमेरिकाले ५० ओभरमा तीन विकेट गुमाउदैँ २९३ रन बनाएको थियो । २९३ रनको लक्ष्य पछ्याएको यूएईका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । २२ ओभर १ बलको सामना गर्दा यूएईले सबै विकेट गुमाएको थियो ।
लिग दुईको यो शृङ्खलाको आयोजकसमेत रहेको यूएईले अब अर्को खेल बुधबार नेपालसँग खेल्दैछ । लिग २ को अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ भने यूएई पुछारमा छ । अमेरिकाले २४ खेल खेल्दा ३६ अंक जोडेको छ भने १९ खेल खेलेको यूएईले ८ अंक मात्र बनाएको छ ।
६ वर्षपछि हेटौंडामा एन्फा प्रेसिडेन्ट लिग २०२५ हुँदै
हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ६ वर्षपछि हेटौंडामा एन्फा प्रेसिडेन्ट लिग २०२५ हुने भएको छ ।
एन्फाले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै कार्तिक १९ गतेदेखि मंसिर २ गतेसम्म प्रतियोगिता हुन लागेको जानकारी दिएको हो । हेटौंडा ६ स्थित गौरीटार रंगशालामा हुने लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी गराएका थिए ।
उनका अनुसार एन्फा फुटबल विकास कार्यक्रम अन्र्तगत एन्फामा आवद्ध जिल्ला लिगबाट च्याम्पियन भई प्रदेश लिगबाट छनौट भएका कुल १० टिमको सहभागिता रहेको छ । सहभागि टिमलाई दुई समुहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतियोगिता सञ्चालन हुनेछ ।
लिगमा कोशीमा प्रदेशबाट गाईघाट फुटबल क्लब उदयपुर र देउराली युथ क्लब धनकुटा, मधेश प्रदेशबाट नव जागृति क्लब बारा, बागमती प्रदेशबाट चित्लाङ फुटबल क्लब काठमाडौँ र टाईगर्स टिम दोलखा, गण्डकीबाट हैरान्स क्लब तनहु र लालीगुराँस एसोसियन क्लब कास्की, लुम्बिनीबाट जनजागृति युवा क्लब बर्दिया, सुदुरपश्चिमबाट बिजय स्पोर्टस् क्लब कैलाली र कर्णालीबाट काक्रेविहार युथ क्लव सुर्खेत सहभागि छन् ।
उनका अनुसार प्रत्येक टोलीले ए डिभिजनका ३ र राष्ट्रिय टिमका २ जना गरी ५ जना खेलाडी समावेश गर्न पाउँदा विदेशी खेलाडी भने राख्न नपाउने भएको छ । लिगको सेमिफाइनलमा पुग्ने चार टोलीहरुले यसै वर्ष सञ्चालन हुने राष्ट्रिय लिग प्रतियोगितामा समेत सहभागि हुन पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिता सञ्चालनका लागि १ करोड ५४ लाख ५४ हजार रुपैयाँ बजेट रहेको प्रवक्ता शाहले बताए । यस प्रतियोगितामा सहभागी टिमलाई ट्रेनिङ्गको लागी हेटौंडा उपमहानगरभित्र २ वटा खेल मैदानको व्यवस्था गरिएको छ । यस प्रतियोगिताको स्थानिय आयोजक मकवानपुर जिल्ला फुटबल संघ रहने छ ।
कर्णाली याक्सको ट्यालेन्ट हन्ट सोमबार हुँदै
काठमाडौं । कर्णाली याक्स स्पोट्र्स प्रा.लीले सोमबार ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को लागि कर्णाली याक्सले स्थानीय प्रतिभावान खेलाडी खोज्न लागेको हो ।
ट्यालेन्ट हन्ट आज बिहान ७ बजेबाट सुर्खेतको विरेन्द्रनगरमा रहेको इन्डोर हलमा हुन लागेको हो । कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले अघिल्लो दिनसम्म दुई सय भन्दा बढी युवा खेलाडीले ट्यालेन्ट हन्टमा सहभागी हुन निवेदन दिएको बताए ।
‘हामीले खुलाएको दर्ता फारममार्फत मात्रै दुई सय भन्दा बढी खेलाडी ट्यालेन्ट हन्टमा सहभागी हुन इच्छुक देखिनुभएको छ,’प्रशिक्षक बस्नेतले भने, ‘फारम भर्न कोही छुट्नु भएको छ भने पनि हामी उहाँहरुलाई ट्यालेन्ट हन्टमा सहभागी गराउने छौं ।’
यस्तै, ट्यालेन्ट हन्टपछि कर्णाली याक्सले प्रदेशका विभिन्न शहर र धार्मिक स्थलहरुमा ट्रफी यात्रा गर्ने तयारी गरेको छ । ट्रफी यात्रालाई कर्णाली प्रदेश क्रिकेट एसोसिएसनले सहजीकरण गर्नेछ ।
२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।
गत वर्ष ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका विपिन शर्मा यसपटक कर्णाली याक्समै रिटेन भएका छन् । उनी पहिलो संस्करणको प्रतियोगिताको उदयीमान खेलाडी घोषित भएका थिए ।
दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको हो । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।
यस्तै, कर्णालीले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णालीले अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउडलाई अनुबन्ध गरेको हो ।
भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि
काठमाडौं । भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि हात पारेको छ । फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो ।
भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा भारतले २९८ रनको चुनौतीपूर्ण योगफल बनायो ।
जवाफमा दक्षिण अफ्रिकाले राम्रो सुरुवात गरे पनि भारतीय बलरहरूको अनुशासित बलिङ अघि टिक्न सकेन ।
भारतकी दीप्ति शर्माले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिँदै जितमा मुख्य भूमिका खेलिन् । तिनैको कारण दक्षिण अफ्रिकाको मध्यक्रम एकपछि अर्को गर्दै ढलेको थियो ।
यो उपाधिसँगै भारतले महिला क्रिकेटमा नयाँ इतिहास रचेको छ । यसअघि भारत दुईपटक फाइनल पुगे पनि उपाधिबाट वञ्चित भएको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत टोलीलाई बधाइ समेत दिएका छन् ।
आईसीसी लिग–२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
काठमाडौं । दुवईमा जारी आइसिसी क्रिकेट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकासँग ४ विकेटले पराजित भएको छ ।
शनिबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ रोजेको नेपालले अमेरिका सामु २७२ रनको लक्ष्य दिएको थियो ।
नेपालले दिएको २७२ रनको लक्ष्य पच्छाएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै रन पुरा गरेको हो ।
अमेरिकाका लागि साई तेजा मुकामल्ला र मिलिन्द कुमारले अर्धशतकीय खेल खेले ।
नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन याद, करण केसी र गुल्सन झाले समान एक– एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ रोजेको नेपालका लागि अलराउण्डर दीपेन्द्रसिंह ऐरीले ७५ रनको अर्धशतकीय इनिङ खेले । ६७ बलमा उनले २ चौका र ३ छक्का प्रहार गरे । ऐरीले ४३ बलमा अर्धशतक पूरा गरेका थिए ।
त्यस्तै, उत्कृष्ट फिनिसिङ गर्ने क्रममा आठौं नंबरमा आएका करण केसीले ३१ रनमै ४९ रन बनाए । उनी अर्धशतक बनाउनबाट एक रनले मात्रै चुके । सो क्रममा उनले २ चौका र ३ छक्का प्रहार गरेका थिए ।
त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाए ।
अमेरिकाका लागि हर्मीत सिंहले १० ओभरमा ३३ रन दिएर ३ विकेट लिए । सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २–२ विकेट लिए भने जसदिप सिंह र शुभम रन्जानेले १–१ विकेट लिए ।
आजको जितसँगै अमेरिका लिग –२ को अंक तालिकाको शिर्ष स्थानमा छ । जारीखेलमा हार बेहोरेको नेपाल अंक तालिकाको ७ औँ स्थानमा छ ।
आईसीसी लिग – २ : आज नेपाल र अमेरिका भिड्दै
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलामा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुन लागेको हो ।
जारी शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो ।
लिगमा २२ खेल खेलेको अमेरिका ३२ अङ्कका साथ शीर्षस्थानमा रहेको छ भने १८ खेल खेलेको नेपाल १२ अंकसहित सातौँ स्थानमा छ । यस्तै, १८ खेलबाट ८ अङ्क जोडेको युएई अन्तिममा छ । नेपालले शृङ्खलाको अन्तिम खेल आगामी बुधबार युएईसँग खेल्नेछ ।