बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J3HG14PC31E1J7WPWHRC08TH.jpg

बाढीले विद्यालय भवनमा क्षति

पर्वत, ९ साउन I जिल्लाको पैयुँ गाउँपालिका–५ को बानीडाँडा प्राथमिक विद्यालयमा बाढी पसेको छ । विद्यालय नजिकको टिउरीखोलाको लेदोसहितको बाढीले विद्यालयका कोठा गेग्रानले पुरिएका छन्भने अन्य भौतिक संरचनामा क्षति भएको छ ।     
     
पैंयुँ गाउँपालिका–५ का वडाअध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार विद्यालय स्थानान्तरण गर्नुपर्ने अवस्था छ । “खोला नियन्त्रणका लागि तत्काल पूर्वाधार निर्माण नगरे विद्यालय नै स्थानान्तरण गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । भारी वर्षा हुँदा बाढीको जोखिम बढ्ने उहाँले बताउनुभयो । बाढीबाट भएको क्षतिको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल, उपाध्यक्ष यामकुमारी रानासहितका जनप्रतिनिधिले स्थलगत अवलोकन गर्नुभएको छ ।     
     
यसैबीच, बाढीका कारण पैयुँ –५ को पियाखेतका दर्जनौँ परिवारको घरगोठमा पनि क्षति पुर्याएको छ भने सयौँ रोपनी खेतबारी बगरमा परिणत भएको छ । पैंयुँ गाउँपालिका–६ सरौँखोलामा रहेको लक्ष्मीभवन प्राविमा पनि क्षति भएको छ । 

प्रकाशित मितिः बुधबार, ०९ साउन २०८१
https://jawaaf.com/storage/01J3HFSXVNNC8A9B59YHD8189R.jpg

कृषिमा रमाउँदै भोजपुरका दीपक, वार्षिक १५ लाख आम्दानी

भोजपुर, ९ साउन I कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आउनुभएको छ । दश वर्षअघि कृषि कर्ममा लाग्नुभएका उहाँले उदाहरणीय उद्यमीको परिचय बनाउनुभएको छ ।     
स्वदेशमा नमूनायोग्य काम गर्ने अठोटका साथ १० वर्षअघि कृषिमा लाग्नुभएका उहाँले भोजपुर नगरपालिका–१२ टक्सारमा व्यवसाय सञ्चालन गरेर वार्षिक रु १५ देखि १८ लाखसम्म आम्दानी लिने गरेको बताउनुभयो । लगनशील भएर काम गरे पैसा कमाउन विदेश जानु नपर्ने उहाँ बताउनुहुन्छ ।     
     
उद्यमी श्रेष्ठले व्यावसायिक रूपमा कुखरा, बङ्गुर, माछापालनसँगै केराखेती पनि गरिरहनुभएको छ ।व्यवसायका लागि हालसम्म रु एक करोड हाराहारीमा लगानी गरेको बताउनुभयो । कृषिलाई व्यवसायका रूपमा अँगाल्न गाउँका युवालाई प्रेरित गर्दै उहाँले सीप पनि सिकाउँदै आउनुभएको छ ।     
     
राज्यले अनुदानका कार्यक्रम सञ्चालन गर्दा वास्तविक किसानसम्म पुग्नुपर्ने उहाँले बताउनुभयो । पहँुचका भरमा कतिपय अनुदानका कार्यक्रम सञ्चालन गरिँदा वास्तविक किसान मारमा पर्ने उहाँको बुझाई छ । कृषिमा उदाहरणीय काम गरिरहेको भए पनि हालसम्म राज्यबाट कुनै सहयोग नपाएको उहाँको दुखेसो छ ।     
     
आफ्नै फार्मबाट उत्पादन भएको मलको सदुपयोग गर्दै व्यावसायिक केराखेती पनि गरिरहेको उहाँले बताउनुभयो । भोजपुर टक्सारमा अजिमा कृषि तथा पशुपालन फार्ममा दुई सय बोट केरा लगाएको उहाँले बताउनुभयो । यसलाई विस्तार गर्ने उहाँको लक्ष्य छ । हाल उहाँले एक स्थानमा बङ्गुरपालन, पाँच स्थानमा व्यावसायिक कुखुरापालन र दुईवटा पोखरीमा माछापालन गरिरहेको बताउनुभयो ।     
     
उत्पादित मलको सदुपयोग गर्दै व्यावसायिक सुन्तला, कागती र तरकारीखेती गर्ने योजना उहाँले सुनाउनुभयो । खेती विस्तारका लागि उहाँले २० रोपनी जग्गा भाडामा लिनुभएको छ । व्यवसायी श्रेष्ठले छजनालाई रोजगारी पनि दिनुभएको छ । “कृषिकर्म गर्ने दक्ष जनशक्ति पाउन समस्या छ । लगनशील भएर कृषिमा लाग्ने हो भने यही मनग्य कमाउन सकिन्छ, युवापुस्तामा आफ्नो ठाउँमा मेहनत गर्ने बानी हराउँदै गएको छ ”, उहाँले भन्नुभयो ।     

प्रकाशित मितिः बुधबार, ०९ साउन २०८१
https://jawaaf.com/storage/01J3H9S7N3JGJXSA1KN9RV2VGD.jpg

नेकपा एसको केन्द्रीय कमिटी बैठक बिहीबार

काठमाडौँ, ९ साउन I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक साउन १० गतेका लागि आह्वान गरेको छ ।  पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायत विषय निर्णय गर्ने नेता सोमप्रसाद पाण्डेले बताउनुभयो ।

केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सन्तुलन मिलाएर मनोनयन गरिने नेता पाण्डेले जानकारी दिनुभयो । पार्टीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छन् ।  

सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा पुर्याउन तथा भौगोलिक सन्तुलन कायम गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको  प्रतिनिधित्व सुनिश्चित गरिएको छ । समावेशीकरणको सिद्धान्तअनुसार महिला र खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ । 

प्रकाशित मितिः बुधबार, ०९ साउन २०८१
https://jawaaf.com/storage/01J3H9AMPFCMQ78V15AHJFC6KJ.jpg

टीकापुरमा चितुवाको त्रास

टीकापुर (कैलाली), ९ साउन I  टीकापुर नगरपालिका–७ र ८ मा चितुवा त्रास फैलाएको छ । चितुवा बस्तीमा आएर घरपालुवा जनावर मार्नुका साथै मानिस पनि आक्रमणको सिकार भएका छन् I

केही दिनअघि वडा नं ८ फाटाका २२ वर्षीय अरविन चौधरी भाग्यले बाँच्नुभयोे । उहाँको शरीरमा घाउ लागेको छ । यद्यपि उहाँ खतरामुक्त हुनुहुन्छ । उपचारपछि उहाँ तङ्ग्रिनु भएको छ ।   चार महिनादेखि राति बस्तीमा आउने चितुवाले भैँसी, बाख्रा, बङ्गुर र कुकुर मारेको छ । 
चितुवाको डरले राति घरबाहिर निस्कने आँट कसैको छैन । “राति शौचालय जान निस्केको थिए, नजिकै चितुवा देखेँ, अनि घरभित्र दौडिए”, टीकापुर–७ का शिवम चौधरीले भन्नुभयो, “त्यस दिनदेखि अँध्यारो भइसकेपछि बाहिर निस्कन डर लाग्छ । खाना खाइसकेपछि सरसफाइको काम पनि राति गर्दैनौँ ।”


गाउँमा जङ्गली जनावरको जोखिम बढेपछि वन सबडिभिजन कार्यालयको सहयोगमा सत्ती कर्णाली सामुदायिक वनको तीन सय मिटर क्षेत्रमा तारजाली लगाइएको र अझै तारजाली आवश्यक रहेको वन अध्यक्ष जीतराम चौधरी बताउनुहुन्छ । “अझै तीन किलोमिटर वनक्षेत्रमा तारजाली आवश्यक छ”, उहाँ भन्नुहुन्छ, “जनावरलाई नियन्त्रण गर्न नसके बस्तीमा दिउँसो पनि जोखिम रहन्छ ।”

यहाँ सत्ती कर्णाली र श्रीलङ्का सामुदायिक वन क्षेत्रको नजिक भारततर्फ पनि घना जङ्गल भएकाले जङ्गली जनावरको आक्रमण बढिरहेको वडा नंं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताउनुभयो । पारिबाट हात्ती, बाघ र चितुवा आउछन्, टीकापुरका वडा नं ७, ८, ५ र २ मा जङ्गल क्षेत्र जोडिएकाले यी वडामा जङ्गली जनावरको जोखिम छ । ” वडा नं ८ मा चितुवामात्र होइन हात्तीले समेत त्यत्तिकै सताउने गरेका छन् । हात्ती नियनत्रणका लागि तारजाली लगाउने, राति उज्यालो बनाउन बत्तीको व्यवस्था गरेको उहाँले बताउनुभयो । बर्दिया राष्ट्रिय निकुञ्जबाट पनि जङ्गली जनावर आउने भएकाले बस्ती असुरक्षित भएको उहाँको कथन छ ।
 
सत्ती कर्णाली सामुदायिक वन क्षेत्रसँग कर्णाली करिडोर क्षेत्र जोडिएकाले जङ्गली जनावरको ओहोरदोहोर हुने जोखिम रहेको वन सबडिभिजन कार्यालयका अधिकृत मोहम्मद ताहा हुसेन निकरानीले बताउनुभयो । “केही महिनादेखि जङ्गली जनावरको आक्रमण बढेको जानकारी आएको छ”, उहाँले भन्नुभयो, “त्यहाँ बर्दिया राष्ट्रिय निकुञ्जबाट बर्दिया हुँदै जङ्गली जनावर कैलालीका सामुदायिक वन प्रवेश गर्ने गरेका छन्, यसले पनि जोखिम बढेको छ ।” डिभिजन कार्यालयले सामुदायिक वनलाई तारजाली लगाउन सहयोग गरेको र त्यहाँका नागरिकलाई सुरक्षित रहन सचेत गराइएको उहाँले बताउनुभयो ।

प्रकाशित मितिः बुधबार, ०९ साउन २०८१
https://jawaaf.com/storage/01J3H8XDT9YZ4MZ7HDX3EAD4NE.jpg

ट्रयाक खुलेको ३३ वर्षमा पनि पूरा भएन भानुमार्ग

तनहुँ, ९ साउन I आदिकवि भानुभक्त आचार्यको नाममा नामकरण गरिएको भानुमार्ग ट्रयाक खुलेको झण्डै ३३ वर्ष बित्दा पनि पूरा भएको छैन ।     
     
विसं २०४९ मा कृषि उपज बजारसम्म पु¥याउने उद्देश्यले उक्त ट्रयाक खोलिएको भए पनि भानु नगरपालिका–१३ मा पर्ने चन्द्रावती बजारबाट ठूलो ढुङ्गासम्मको करिब १० किलोमिटर खण्ड स्तरोन्नति नहुँदा स्थानीयले सास्ती भोग्नुपरेको छ ।     
     
स्थानीय कुवेर खनालले सडक सुधारका लागि पटकपटक स्थानीय तह, प्रदेश तथा सङ्घ सरकारसमक्ष धाउँदा पनि त्यो असफल भएको दुखेसो गर्नुभयो ।     
     
सडक स्तरोन्नतिका लागि बजेट थोरै विनियोजन हुने र ठेकेदारले समयमा काम नगरिदँदा समस्या भएको भानु नगरपालिका–१३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारीले बताउनुभयो । आठ वर्षअघि रु २३ करोड दुई लाख ८० हजार छ सयमा सडक स्तरोन्नतिका लागि ठेक्का लागेको तर काम पूरा नभएकामा उहाँ खिन्न हुनुहुन्छ ।  

प्रकाशित मितिः बुधबार, ०९ साउन २०८१
https://jawaaf.com/storage/01J3H7PW3B21CP1GTZ1SYDQBFF.jpg

कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने

काठमाडौँ, ९ साउन I हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।     
     
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी , बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।     
     
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।     
     
आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ ।

प्रकाशित मितिः बुधबार, ०९ साउन २०८१
https://jawaaf.com/storage/01J3G1GJNNX21F74CFD3D1RS8J.jpg

मदन पुरस्कारका लागि पाँच कृति छनोटमा

काठमाडौँ, ८ साउन I मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि पाँच कृति छनोट गरेको छ । गुठीले आज ०८० मा प्रकाशित भएका विभिन्न तीन सय चार वटा पुस्तकमध्ये पाँच वटा कृति छनोट गरी सार्वजनिक गरेको हो ।   
  
गुठीले भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, मोहन मैनालीको ‘मुकाम रणमैदान’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’लाई उत्कृष्ट कृतिमा छनोट गरेको छ । छनोट भएका पाँचमध्ये सबैभन्दा बढी उत्कृष्ट कृतिले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ ।  

प्रकाशित मितिः मङ्गलबार, ०८ साउन २०८१
https://jawaaf.com/storage/01J3FVBE5TH6YVJVJGZDPSXG4B.jpg

एम्बुलेन्समा रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन

काठमाडौँ, ८ साउन I सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो । 

मन्त्रालयका शाखा अधिकृत बद्रीराज ढकालले राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ को दफा १५ ले निर्देशित गरेको मापदण्डअनुसार एकरूपता नआएको भन्ने जनगुनासो आइरहेकाले प्रादेशिक र जिल्लास्तरमा रहेका एम्बुलेन्स व्यवस्थापन समितिलाई मापदण्डको पालना गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।  

मन्त्रालयले मापदण्ड पूरा गरेको अवस्थामा मात्र एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्न निर्देशन दिएको छ । निर्देशिकामा एम्बुलेन्सले राष्ट्रिय प्रदूषण मापदण्ड अनिवार्य पालना गरेको, एम्बुलेन्सको पहिचान हुने आवाज (साइरन), रातो लामो रङको सङ्केत बत्ती जडान भएको, एम्बुलेन्समा एम्बुलेन्स शब्द अगाडि उल्टो अक्षरबाट र तीन अङ्कको १०२ टेलिफोन नम्बर अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेखिएको हुनुपर्ने उल्लेख छ । 

यस्तै सरकारबाट राजस्वमा छुट प्राप्त एम्बुलेन्स भनेर स्पष्ट देखिने गरी लेखिएको, एम्बुलेन्सको वर्गीकरण खुल्ने गरी वर्ग उल्लेख भएको हुनुपर्ने निर्देशिकामा उल्लेख छ । 

प्रकाशित मितिः मङ्गलबार, ०८ साउन २०८१
https://jawaaf.com/storage/01J3FPW2QHQRXAJYT1WA17AHT8.jpg

संसद्का संयुक्त र विषयगत समितिका सदस्यको नाम हेरफेर

काठमाडौँ, ८ साउन I प्रतिनिधिसभाले संसदीय सुनुवाइ र विषयगत समितिमा सदस्य थप र हेरफेर गरेको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राख्नुभएको सदस्यको नाम हेरफेर सम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको थियो । 

सभामुख घिमिरेले संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २५ को २ बमोजिम संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेरको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त समितिमा सांसद रमेश लेखकको स्थानमा सांसद श्यामकुमार घिमिरे र सांसद डा स्वर्णीम वाग्लेको स्थानमा डोलप्रसाद अर्याललाई हेरफेर गरिएको छ ।

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिमा सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्णबहादुर खड्का, रवि लामिछाने र राजेन्द्रकुमार राई थपिनुभएको छ । सांसद हरि ढकाललाई राज्य व्यवस्था तथा सुशासन समितिबाट सार्वजनिक लेखा समितिमा लगिएको छ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सांसद रेखा शर्मा र सुमना श्रेष्ठ थपिनुभएको छ । यस समितिबाट सांसद मीना यादवलाई कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सारिएको छ । अर्थ समितिमा सांसद पदम गिरी, भगवती चौधरी, वर्षमान पुन र विराजभक्त श्रेष्ठलाई थपिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सांसद हरिप्रसाद उप्रेती र हितबहादुर तामाङ थपिनुभएको हो ।  

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा सांसद रघुवीर महासेठ र डोलप्रसाद अर्याल थपिनुभएको छ । यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद ज्वालाकुमारी साह र पूर्वाधार विकास समितिमा शक्तिबहादुर बस्नेत थपिनु भएको छ । 

प्रकाशित मितिः मङ्गलबार, ०८ साउन २०८१
https://jawaaf.com/storage/01J3FK7PJKTCT409AN45NHY47D.jpg

ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता

गोरखा, ८ साउन I यहाँको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । सबै वडामा गाउँपालिका, वडा र बैङ्कका कर्मचारीसहितको टोली पुगेर भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।   
  
गाउँपालिकाले समय तालिका बनाएर गाउँमै बैङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको उहाँले बताउनुभयो । “बारपाक सुलिकोट भौगोलिक हिसाबले जटिलता भएको पालिका हो,” अध्यक्ष भट्टले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ताका लागि असहाय, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिक बैङ्कसम्म पुग्न कठिनाइ हुने भएकाले टोलटोलमै पुगेर वितरण गर्दै आएका छौँ ।”   
  
सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्नुपर्ने भएकाले गाउँपालिकाले बैङ्कसँग आवश्यक समन्वय गरी टोलटोलमा लाभग्राहीलाई बैङ्किङ प्रक्रिया पूरा गरी भत्ता उपलब्ध गराउने गरेको उहाँको भनाइ छ । टोलटोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि लाभग्राही खुसी भएका छन् ।   
  
भौगोलिक अवस्थितिअनुसार गाउँपालिकाले प्रत्येक वडामा सामाजिक सुरक्षा भत्ता वितरण टोली परिचालन गरेको छ । हालै गाउँपालिका–४ स्थित सौरपानीबाट भत्ता वितरणको काम सुरु गरिएको छ । “बैङ्कसम्म सुरक्षा भत्ताका लागि धाउनुपर्दा एकतर्फ हैरानी खेप्नुपर्ने र अर्कोतर्फ अशक्त र असहाय व्यक्तिले गाडी ‘रिजर्भ’ गरेर आउजाउ गर्नुपर्दा खर्चिलोसमेत हुने गरेको थियो,” अध्यक्ष भट्टले भन्नुभयो ।  

प्रकाशित मितिः मङ्गलबार, ०८ साउन २०८१