ताप्लेजुङमा सालकको उद्धार
फुङ्लिङ (ताप्लेजुङ), ८ साउन I ताप्लेजुङमा एक सालकको उद्धार गरिएको छ । सोमबार फुङ्लिङ नगरपालिका–७ ऐश्वर्या चोकको सडकबाट प्रहरीले सालकको उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार प्रहरी टोलीले सालकलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । सालकलाई उचित हेरचाह र स्थानान्तरण सुनिश्चित गर्न ताप्लेजुङस्थित डिभिजन वन कार्यालयलाई घटनाको बारेमा तुरुन्तै जानकारी गराइएको थियो ।
आज बिहान उप–डिभिजन वन कार्यालयका कर्मचारीलाई सालक हस्तान्तरण गरिएको लुङ्गेलीले बताउनुभयो । वन कार्यालयका कर्मचारीले सालकलाई उपयुक्त बासस्थानमा सुरक्षित फिर्ता गर्ने जनाएको छ ।
लोपोन्मुख मानिने सालकको अस्तित्व सुनिश्चित गर्नु सबैको कर्तव्य रहेको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ ।
रुसी भलिबल खेलाडीसँग प्रधानमन्त्री ओलीका भावनात्मक कुरा...
काठमाडौँ, ८ साउन I “मेरो दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सक रुसमा पढेका र रुसका ज्वाइँ हुनुहुन्छ । अहिले म स्वस्थ छु । यसले पनि देखाउँछ कि रुसबाट पढेर आएकाहरु कति सक्षम हुन्छन् भन्ने,” रुसी महिला भलिबल टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आफ्ना भावनात्मक कुराहरु पोख्दै भन्नुभयो, “नेपाल र रुस दुई पुराना मित्रहरु हुन् । हाम्रा सम्बन्धका अनेक आयाम छन् ।
रुसले नेपालको शिक्षा, यातायातलगायत विविध क्षेत्रमा सोभियत सङ्घ हँुदादेखि नै सहयोग गर्दै आएको छ । दुई देशबीचका हाम्रा सम्बन्धलाई अझ पुनःताजगीकरण गराउन हामी लाग्नेछौँ । प्रधानमन्त्री ओलीको २०७६ फागुन २१ गते प्राडा प्रेम ज्ञवाली नेतृत्वको चिकित्सक टोलीबाट त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभयो ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले दुई देशबीच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले विभिन्न क्षेत्रमा सहयोग पाउँदै आएको उल्लेख गर्दै खेलका लागि रुस एक प्रकारको बादशाह नै भएको बताउनुभयो । दुई देशका भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुनुलाई सकारात्मक रुपमा लिँदै प्रधानमन्त्री ओलीले यस्ता खेलका साथै रुसको ग्रेट मस्को सर्कस र नेपालको मौलिक नृत्य, अर्केष्ट्रा संस्कृतिको आदानप्रदानमा अर्थपूर्ण निरन्तरता हुनुपर्नेमा जोड दिनुभयो ।
रुसलाई उपनिवेशबाट मुक्त गर्न तथा हिटलरको तानाशाही शासनका विरुद्धको स्वतन्त्रताको लडाइँका लागि भ्यादिमिर लेनिनले गर्नुभएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सक रुसमा पढेका र रुसका ज्वाइँ पनि भएकाले दुई देशबीचको सम्बन्धका अनेक आयामहरु रहेको चर्चा गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल बसाइका क्रममा रुसका भलिबल टोलीलाई अनुकूल भएमा ‘माउन्टेन फ्ल्याइट’ गर्न सुझाव दिनुभयो ।
सो अवसरमा नेपालका लागि रुसी राजदूतावासका प्रथम सचिवले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको कामना गर्दै प्रधानमन्त्री ओलीको नेतृत्वमा दुई देशबीचको राजनीतिक, आर्थिक, सामाजिक र खेलकुदलगायत क्षेत्रका सम्बन्ध अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
सङ्घले आगामी २०८२ जेठ ८ मा पर्यटन वृद्धिमा समेत योगदान दिने लक्ष्यका साथ सगरमाथा आधार शिविरमा राष्ट्रिय भलिबल दिवस मनाउन तयारी गरेकाले त्यसमा नेपाल सरकारबाट सहयोगको अपेक्षा गरेको थियो । महासचिव श्रेष्ठले नेपालमा अन्तर्राष्ट्रियस्तरको कभर्ड हल निर्माणका लागि आग्रह गर्दा प्रधानमन्त्रीले ओलीले निर्माण गर्न पहल गर्ने बताउनुभएको थियो ।
सो अवसरमा गैह्रआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समितिका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।
विचार: हराउँदै गएको विद्वत् पूजा परम्परा
काठमाडौँ, ६ I इतिहासको खोज र लेखनमा आजीवन आफूलाई समर्पित गरेका साधक ज्ञानमणि नेपालले ९२ वर्षको उमेरमा भौतिक देह त्याग गरेको धेरै समय भएको छैन । उनको साधनाबाट तीन दर्जनभन्दा बढी इतिहासका महत्वपूर्ण ग्रन्थहरु नेपाली समाजले प्राप्त गर्नु सामान्य उपलब्धि होइन । नेपाल देशको नाम कसरी नेपाल रहन पुग्यो भन्ने विषयको जिज्ञासा मेट्न उनले लेखेको “नेपाल निरुक्त” र “नेपालनिरुपण” पढे पुग्छ ।
इतिहासमा लामो कालखण्ड नेपाली राजनीतिको केन्द्रको रुपमा रहेको राजदरबारभित्र हुने गरेका षडयन्त्र, काटमार र खतरनाक खेलचुक्लीले देश कहाँ पुग्यो भन्नेबारे जिज्ञासा मेट्न उनको “नेपालको महाभारत” पढे पुग्छ । यस्ता महत्त्वपूर्ण इतिहासका ग्रन्थहरु देशका लागि समर्पण गरेर भौतिक रुपमा यो संसारसँग विदा माग्ने बेलामा पनि उनको सक्रिय चेतनाले नेपालको इतिहाससम्बन्धी चिन्ता ब्यक्त गरिरहेको उनीसँग भेट गर्न जानेहरुको अनुभव पढ्दा र सुन्दा थाहा हुन्छ । तर एउटा दुःखको कुरा के भने यतिका वर्ष इतिहासकार ज्ञानमणि नेपालले देशको इतिहास अन्वेषण र लेखनमा आफूलाई समर्पण गरे तापनि उनलाई राष्ट्रिय स्तरका पुरस्कार र सम्मान मिलेको खबर सुन्ने, हेर्ने र पढ्ने अवसर पाइएन । उनको छाँतीमा तक्मा सजिएको पनि देख्न पाइएन । यस अर्थमा ज्ञानमणि नेपालले देशका लागि जे जति दिए, बरु जीवनमा केही नलिई गए । सायद गीताको निष्फल कर्मप्रति उनलाई विश्वास थियो, त्यसैले यसबारे उनले कतै कहीँ गुनासो गरी लेखेको वा अन्तर्वार्ता दिएको पढ्न, हेर्न र सुन्न पाइएको छैन ।
ज्ञानमणि नेपालजस्ता सच्चा साधकले पुरस्कार वा सम्मान मागेर हिड्न पनि सुहाउने कुरा पनि भएन । यो त पुरस्कार तथा सम्मानका संस्थापक र ब्यवस्थापकहरु स्वयम्ले मूल्याङ्कन गर्ने पक्ष हो । तर इतिहासकार नेपालको जीवनभर उनको पक्षमा यस्तो मूल्याङ्न भएको देखिएन । अर्का इतिहासकार दिनेशराज पन्तका शब्दमा इतिहासकार नेपाल मुर्खमण्डलीको घेराबन्दीमा परे । मुर्खमण्डलीले इतिहासकार नेपालको योगदानको बारेमा सोधीखोजी गर्न आवश्यक नै ठानेन ।
हराउँदैछ विद्वत पूजा परम्परा
राजा जनक यस्ता राजा थिए, जसको दरबारमा विद्वानहरुको नियमित जमघट हुन्थ्यो, शास्त्रार्थ चल्थ्यो । शास्त्रमा ठूलो विश्वास थियो, राजा जनकमा । राजा जनककै समयमा एउटा अत्यन्तै तीक्ष्ण दिमागका किशोर थिए । उनको शरिर आठ ठाउँमा बाङ्गिएकाले उनको नाम नै अष्टाबक्र थियो । शरिर अनाकर्षक र कुरुप भए पनि अष्टाबक्र साधनाले खारिएको दार्शनिक र शास्त्रज्ञानी थिए ।
एक दिन राजा जनक घुम्न निस्किएका थिए । उनले बाटामा ऋषि भेषधारण गरेका एक ब्यक्तिलाई देखे । उनी तत्कालै घोडाबाट ओर्ले, र ऋषिलाई प्रणाम गरे । तर ऋषिको अत्यन्तै अनौठो र अनाकर्षक शरिर देखेर राजा जनक तीनछक्क परे । अष्टाबक्रले थाहा पाइहाले कि, राजा जनकले आफ्नो शरिर देखेर आफूप्रति घृणाको धारणा बनाइरहेछन् । त्यसपछि उनले राजा जनकलाई भने,“हे, राजन् ! कुनै पनि मन्दिर टेढो भएर त्यो माथिको आकास टेढो हुँदैन । कुनै पनि मन्दिर गोलो वा लाम्चो हुँदैमा आकास पनि गोलो वा लाम्चो हुने होइन । किनकी आकासको मन्दिरसँग कुनै सम्बन्ध हुँदैन । आकास मन्दिरजस्तो आकारयुक्त हँुदैन, निराकार हुन्छ । त्यस्तै आत्मा पनि निराकार हुन्छ । आत्मा आकासजस्तै निराकार भएकैले नित्य हुन्छ, तर शरिर अनित्य हुन्छ । शरिरको बाङ्गोटिङ्गो आकार आत्मामा आउन सक्दैन । त्यसैले हे, राजन् ! ज्ञानीहरुसँग आत्मदृष्टि रहन्छ भने अज्ञानीसँग केवल चर्मदृष्टि रहन्छ । चर्मदृष्टि त्यागेर आत्मदृष्टि ग्रहण गरी जब हेरिन्छ, तब चित्तबाट घृणा दूर भएर जान्छ । चर्मदृष्टिबाट त अज्ञानीले मात्रै हेर्छ, ज्ञानीहरुले चाहिँ आत्मदृष्टिबाट हेर्छ ।”
अष्टाबक्रको यस्तो विद्वत वाणीले राजा जनक तत्काल पग्लिहाले । उनले अष्टाबक्रलाई आफ्नो दरबारमा आउन निम्तो दिए । आफ्नो दरबारमा सम्मानजनक आसनमा बसाई राजा जनकले अष्टाबक्रसँग अनेकौँ जिज्ञासाहरु राखे । उनै राजा जनकको प्रश्न र अष्टाबक्राको उत्तरले कालान्तरमा “अष्टाबक्र गीता”को जन्म भयो । यसलाई पूर्वीय दर्शनमा महत्त्वपूर्ण ग्रन्थ मानिन्छ । उनै अष्टाबक्रजस्ता विद्वत प्रतिभाहरुको कदर गर्ने भएकाले राजा जनकको नाम आज पनि श्रद्धाका साथ लिइन्छ ।
हाम्रो देशमा विद्वानहरुसँग नजिक हुने, उनीहरुसँग जिज्ञासा राख्ने र उनीहरुबाट ज्ञान र दर्शनहरु सङ्ग्रह गर्ने परम्परा क्रमशः हराउँदै जान थालेको छ । त्यसमाथि पनि ज्ञानमणि नेपालजस्ता विद्वत इतिहासकारहरुले बडो मेहनत गरेर तयार पारिदिएका ग्रन्थहरु पढ्ने, त्यसको विश्लेषण गर्ने र पाठ सिक्ने परम्परा अब एकादेशको कथाजस्तै हुन पुगेको छ । यस्तो परम्परा कायम रहे देशमा मुर्ख वा तजबिजी पुस्ताको मात्रै जन्म हुनेछ । विद्वत् पूजा परम्परा हराउँदै जाँदा बौद्धिक जगत पाखा पर्दै जानेछन् । देश र समाजलाई मार्गदर्शन गर्ने पक्ष पाखा पर्दै जाने क्रम जारी रहे देश कहाँ पुग्ला ?
विद्वत् पूजाको दूर्लभ अभियान
एक जना अभियन्ता छन्, जो लामो समयदेखि विद्वत पूजा अभियानमा एक्लै जस्ता छन् । उनी हुन्, शेषराज शिवाकोटी । लामो समय न्यायसेवामा समर्पित उनी हाल सेवानिवृत्त छन् । उनी विद्वत पूजालाई नै आफ्नो धर्म र कर्म ठान्दै स्वयम्सेवा गरिरहेछन्, लामो समयदेखि । शिवाकोटी बेलाबेलामा विद्वत ब्यक्तित्वहरुको सम्मान गर्छन् र उनीहरुलाई केवल ताम्रपत्र र दोसल्लाले सम्मान गरेर औपचारिकता मात्र निर्वाह गर्दैनन्, सम्मानीत प्रतिभाको अभिनन्दन ग्रन्थ नै प्रकाशित गर्छन् । एकै व्यक्तिको अभिनन्दन ग्रन्थको सङ्ख्या धेरै पनि हुनसक्छ । उदाहरणका लागि, एकै जना विद्वान नयराज पन्तको विषयमा उनले ३० अङ्क अभिनन्दन ग्रन्थ प्रकाशित गरेका छन् । जीवित हुँदा १० र निधनपछि २० अङ्क अभिनन्दन ग्रन्थ प्रकाशित भए । यस्तै रोचक घिमिरेबारे १० र धनबज्र बज्राचार्यबारे नौ अङ्कसम्म अभिनन्दन ग्रन्थ प्रकाशित गरेर विद्वत पूजा परम्परालाई धानेका उनले प्रकाश दर्नालसम्म आइपुग्दा अभिनन्दन ग्रन्थ प्रकाशन हुने “ज्ञानगुन”ले दुई सय २४ अङ्क पार गरिसकेको छ ।
नारायणगोपाल र पारिजातको निधनपछि यस्ता स्मृति र अभिनन्दन ग्रन्थ प्रकाशनमा ल्याउने चलन चलाएका उनले जीवित ब्यक्तित्त्वहरुको पनि अभिनन्दन ग्रन्थ प्रकाशित गर्न पर्छ भन्ने मान्यताका साथ प्रशिद्ध हास्यब्यङ्ग्यकार बासुदेव लुइँटेलबाट यस्तो चलन सुरु गरे । हालै भौतिक रुपमा यो संसारबाट टाढा हुन पुगेका इतिहासकार ज्ञानमणि नेपालका बारेमा पनि तीनवटा अभिनन्दन ग्रन्थ शिवाकोटीले प्रकाशनमा ल्याए । शिवाकोटीले २०७९ माघ २७ गते श्रीपञ्चमीमा “ज्ञानगुन”को दुई सय ११ औं अङ्कलाई इतिहासकार नेपालको औँ शुभजन्मोत्सव अङ्कका रुपमा प्रकाशित गरेर नेपालको ९१ औँ जन्म दिनलाई भब्यता प्रदान गरेका थिए ।
यसरी विद्वानहरुको पूजा परम्परा कायम राख्दा शिवाकोटीले ब्यहोर्नु परेको अवस्थाको बान्की पनि अचम्मको छ । कुनै बेला नयराज पन्तको स्मृतिमा कार्यक्रम आयोजना गर्दा एउटा सानो कोठामा आफूसहित सात जना मात्रै भेला हुनु परेको पनि शिवाकोटीका लागि बिर्सिनसक्नुको घटना हुन पुगेको छ । हुन त असल मानिसहरुको सानो जमात् मुर्खमण्डलीको ठूलो भीडभन्दा कैयौँ गुणा उत्तम हुन्छ । मुर्खको उपदेशभन्दा विद्वानको गाली महिमायोग्य र उपयोगी हुन्छ । सिद्धार्थ गौतम जब ज्ञान प्राप्त गरेपछि बुद्ध बने, त्यसबेला उनको उपदेश सुन्ने केवल चार जना मात्रै थिए । तिनै चार जना बुद्धको सन्देश बोकेर चारैतिर फैलदा बुद्धका अनुयायीहरु प्रशस्तै जन्मिए । विद्वत् पूजा परम्परा धानिरहेका शिवाकोटीजस्ता दुर्लभ अभियन्ताहरुलाई पनि राज्य र समाजले चिन्न आवश्यक छ ।
केका लागि विद्वत् पूजा ?
समाजका घटनालाई सुक्ष्मतम दृष्टिकोणले अध्ययन गर्ने र अनुभवहरुलाई समेत निफनेर घटनाका कारणहरु पत्ता लगाउने काम समाज विज्ञानका विद्वानहरुले गर्ने गर्छन् । समाजका घटना र अनुभवहरुको अध्ययन र विश्लेषणबाटै सामाजिक दर्शन र सिद्धान्तहरुको प्रतिपादन हुन्छ । यसका लागि विशेष धैर्यता, बुद्धि र मेहनत आवश्यक हुन्छ । साधनाबिना यस्ता कठिन काम सम्पन्न हुन सक्दैन । मानिसले एउटै दर्शन वा सिद्धान्त प्रतिपादन गर्न पनि सम्पूर्ण जीवन समर्पण गरेको उदाहरण प्रशस्तै पाउँछौँ ।
विद्वत् वर्गबाट प्रतिपादित दर्शन वा सिद्धान्तले समाज र राज्यलाई उचित दृष्टि दिन्छ । यसले शान्ति, प्रगति, उन्नति र भातृत्वको विकासमा सयोग पुर्याउँछ । त्यसैले विद्वत् वर्गबाट राज्य र समाज ऋणी हुन्छ । त्यहीँ ऋण चुक्ता गर्न पनि विद्वत पूजा परम्पराको आवश्यकता हुन्छ । जुन देशमा विद्वत पूजा हुन्छ, त्यो देश जहिल्यै प्रगतिपथमा लम्केको हुन्छ । इतिहासकार ज्ञानमणि नेपालले आफ्नो बुद्धि र साधनाले देश र समाजलाई ऋण बोकाएर गएका छन् । (लेखक राजकुमार दिक्पाल पत्रकार हुनुहुन्छ)
अमेरिकी राष्ट्रपतिको उम्मेदवार नबन्ने बाइडेनको घोषणा, ह्यारिसलाई समर्थन
वासिङ्टन, संयुक्त राज्य अमेरिका, ७ साउन (रासस/एपी) I संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफू फेरि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गर्नु भएको छ ।
उहाँले आफ्नो ठाउँमा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सार्नुभएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिनाको अन्त्यमा विनाशकारी बहस प्रदर्शनपछि चुनावमा आफ्नो व्यवहारिकताको बारेमा बढ्दो सङ्ख्यामा डेमाक्र्याटहरूले चिन्ता व्यक्त गरेपछि राष्ट्रपतिको दौडबाट बाहिरिने घोषणा गर्नुभएको छ ।
“मरो उम्मेदवारी पुन ः निर्वाचित हुने भएतापनि, मेरो बाँकी कार्यकालको लागि राष्ट्रपतिको रूपमा मेरो कर्तव्य पूरा गर्नमा मात्र ध्यान केन्द्रित गर्नु मेरो पार्टी र देशको हितमा छ भन्ने मलाई विश्वास छ, सामाजिक सञ्जाल एक्समा उहाँले भन्नुभयो ।
उहाँले आफ्नो निर्णयको बारेमा विस्तृत रूपमा यस हप्ताको अन्त्यमा राख्ने बताउनुभयो ।
अर्को पोस्टमा, उहाँले भन्नुभएको छ, “यस वर्ष डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारका रुपमा उपराष्ट्रपति कमला ह्यारिसलाई आफ्नो पूर्ण समर्थन र प्रस्ताव गर्न चाहेको बताउनुभयो । डेमोक्र्याटहरू एकजुट भएर ट्रम्पलाई हराउने समय हो । यो गरौं ।”
वर्तमान अमेरिकी राष्ट्रपति र सम्भावित उम्मेदवार यसअघि चुनाव प्रक्रियामा यति ढिलो दौडबाट बाहिरिएका छैनन् । हाल ८१ वर्षका बाइडनले एक लिखित विज्ञप्ति जारी गर्दै आइतवार राती आफ्नो दल र देशको हितका लागि आफूले पुनः राष्ट्रपतिको उम्मेदवार बन्ने योजनालाई अन्त्य गरेको बताउनुभएको हो ।
उहाँले राष्ट्रपतिका रूपमा काम गर्ने अवसरलाई आफूले ‘ठूलो सम्मानको रूपमा लिएको’ र सन् २०२५ जनवरीसम्म रहने आफ्नो कार्यकाल पूरा गर्ने पनि विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
अब अमेरिकी राष्ट्रपतिमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति ह्यारिस र रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुने सम्भावना छ ।
यद्यपि, डेमोक्र्याटिक पार्टीको अगस्टमा हुने राष्ट्रिय सम्मेलनबाट राष्ट्रपतिको उम्मेदवार चयन गरिने कार्यतालिका छ ।
गत जुन २७ मा भएको राष्ट्रपतीय निर्वाचनको बहसमा फितलो प्रस्तुति भएको भन्दै डेमोक्र्याटहरूबाटै उहाँको आलोचना भएको थियो ।
उपराष्ट्रपति ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा मनोनीत हुन पाउँदा सम्मानित महसुस भएको बताउनुुभएको छ । उहाँले आफूले ट्रम्पविरुद्ध ‘देशलाई एकताबद्ध गर्ने’ पनि बताउनुभयो ।
न्युरोडमा फुटपाथ विस्तारको विरोधमा सडकबाटै काम
काठमाडौँ, ७ साउन I यहाँको न्युरोडमा फुटपाथ विस्तारको विरोधमा काठमाडौँ महानगरपालिका–२२ ले आज पनि सडकबाटै नागरिकलाई सेवा दिने जनाएको छ । आइतबारदेखि वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका हुन् ।
उक्त कार्यलाई आज पनि निरन्तरता दिने वडाध्यक्ष महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडावासीको माग सम्बोधन नभएसम्म नागरिकको सेवा सडकबाट सञ्चालन गर्नेछौँ । यस विषयमा छलफल गर्न अहिलेसम्म महानगर प्रमुखले कुनै जानकारी दिनुभएको छैन । समस्या समाधान नहुँदासम्म सडकबाट सेवा दिनेछौँ ।”
उच्च अदालत पाटनको आदेशपछि महानगरले न्युरोडको जुद्ध सालिकबाट दक्षिणतर्फको धर्मपथ आसपासमा सडक विस्तार गर्न सुरु गरेपछि स्थानीयले विरोध जनाउँदै आएका छन् । स्थानीयवासीको विरोधमा वडाका जनप्रतिनिधि पनि समर्थनमा उत्रियएका हुन् ।
पैदलमार्ग विस्तारको विरोधमा वडाध्यक्षसहित स्थानीय र व्यापारीले शुक्रबार बिहानैदेखि सडक प्रदर्शन गरेका थिए । नागरिकको विरोधलाई समर्थन जनाउँदै सडकबाट सेवा दिन थालिएको वडाध्यक्ष महर्जनले बताउनुभयो ।
काठमाडौँ महानगरको प्रतिक्रिया
नयाँ सडक क्षेत्रमा विस्तारका क्रममा पैदलमार्ग सुधार गरिएको कामपा सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीले बताउनुभयो । विगतमा सवारी पार्किङ गरिएको क्षेत्रलाई स्तरोन्नति गरी पैदलमार्ग बनाउन लागिएको उहाँले जानकारी दिनुभयो ।
“न्यूरोडको कालोपत्र सडकमा मोटरसाइकल, ढुवानीका साधन, कार पार्किङ गरेर जति ठाउँमा राखिन्थ्यो त्यति सबै ठाउँ आवश्यक पदैन राजभण्डारीले भन्नुभयो, “सहज आवागमन, व्यापारिक क्षेत्रको व्यवस्थापन र सहरी सुन्दरताका लागि विगतमा पार्किङ हुने गरेको स्थानमा पैदलमार्ग बनाएर पैदलयात्रीलाई उपलब्ध गराउन लागिएको हो ।” आयोगका उपाध्यक्ष डा राजभण्डारीले पैदलमार्ग विस्तारको आवश्यकता रहेको बताउँदै मापदण्ड विपरित काम नभएको दाबी गर्नुभयो ।
मिश्रित आवासीय क्षेत्रमा १.८, मिश्रित व्यावसायिक क्षेत्रमा २.५०,बस बिसौनीमा तीन, बजार क्षेत्रमा ३.५ देखि ४.५, उच्च चाप भएको व्यावसायिक क्षेत्रमा चार मिटर चौडाइको पैदलमार्ग आवश्यक पर्ने भन्दै पैदलमार्ग निर्माण भएपछि उक्त मापदण्ड पूरा हुने कामपा सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “१३ मिटरको सडक भएको ठाउँमा आठ मिटर मूल सडक राख्ने, दायाँ २.५ र बायाँ २.५ मिटर पैदलमार्ग विस्तार गर्ने र ११ मिटर सडक भएको ठाउँमा आठ मिटर मूल सडक राख्ने, दायाँ र बायाँ १.५ मिटर पैदलमार्ग विस्तार गर्ने योजना छ । पैदलमार्ग विस्तार हुँदा विगतमा मोटरसाइकल पार्किङ भए जत्तिको ठाउँ पनि उपयोग हुँदैन ।”
व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय
भोजपुर, ७ साउन I यहाँको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेका स्थानीयबासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । स्थानीय सरकारले मौरीपालनसम्बन्धी तालिम दिएपछि उनीहरु व्यावसायिक मौरीपालनमा जुटेका हुन् ।
मौरीपालनको प्रशस्त सम्भावना रहेकाले किसानलाई व्यावसायिक मौरीपालनमा प्रोत्साहन गरिएको वडा कार्यालयले जनाएको छ । यहाँका अधिकांश किसानले व्यावसायिक मौरीपालन गरिरहेका छन् । नजिकै प्रशस्त वन क्षेत्र रहेकाले यहाँका बाक्वा, भामला, छापगाउँलगायतका स्थानमा मौरीपालन हुने गरेको छ । मौरीपालनसम्बन्धी प्राविधिक ज्ञान र आधुनिक घार बनाउने तालिम पाएपछि व्यावसायिक मौरीपालनमा लाग्न सहज भएको स्थानीय किसान शरणकुमार बोहोराले बताउनुभयो । विगतमा परम्परागत मुढेघारमा मौरीपालन गरिरहेको भए पनि अहिले आधुनिक घारमा मौरीपालन थालेको उहाँले बताउनुभयो । दुई चरणमा तालिम लिएपछि आफैले घार निर्माण गर्न थालेको उहाँको भनाइ छ । अहिले उहाँले ३५ घार मौरीपालन गरिरहनु भएको छ ।
यहाँका अधिकांश क्षेत्र मौरीपालनका लागि उपयुक्त रहेकाले किसानलाई प्राविधिक ज्ञानसँगै आधुनिक घार निर्माणको तालिम दिइएको वडाध्यक्ष एकराज आचार्यले जानकारी दिनुभयो । किसानलाई मौरीपालनमा जोड दिएसँगै मह उत्पादन हुन थालेको छ ।
“हाम्रो वडामा मौरीपालनको राम्रो सम्भावना छ” आचार्यले भन्नुभयो, “किसानले आ–आफ्नो तरिकाबाट मौरीपालन गर्दै आएका थिए । पराम्परागत रुपमा गरिँदै आएको मौरीपालनलाई व्यावसायिकसँगै प्रविधिमैत्री बनाउन जोड दिएका छौँ । मौरीपालनबाट आयआर्जनमा जोड्न प्राथमिकताका साथ काम गरिरहेका छौँ ।”
गाउँपालिकाले किसान लक्षित विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले बताउनुभयो । किसानलाई तालिमसँगै मौरी घार वितरण, उन्नत जातको बाख्रा तथा बोका वितरण, सुन्तलाको नर्सरी स्थापना, लागत साझेदारीमा हाते ट्र्याक्टर, प्लास्टिक टनेल, विद्युतीय मिल, सिँचाइ पाइप, हजारीलगायतका सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
“हामीले माटो सुहाउँदो कृषि प्रणालीमा जोड दिँदै आएका छौँ”, प्रशासकीय अधिकृत पोखरेलले भन्नुभयो, “किसानलाई नियमित तालिमको व्यवस्था गरेका छौँ । त्योसँगै किसानलाई लागत साझेदारीमा विभिन्न आधुनिक कृषि यन्त्र उपकरण पनि वितरण गर्दै आएका छौँ ।” गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेर मौरीपालन तथा कृषिका अन्य क्षेत्रमा प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो ।
शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई
काठमाडौँ, ७ साउन I शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताउनुभएको छ । मिडिया एडभोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आज यहाँ आयोजित ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक दुईदिने गोष्ठीमा उहाँले सञ्चारमाध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय हो भन्नुभयो । ।
“शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्छ, विश्व एआइमा पुगिसकेको अवस्थामा हामीले प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ”, मन्त्री भट्टराईले भन्नुभयो, “सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी छ ।” नेपालका लागि क्यानाडाका राजदूत क्यामेरोन म्याकेले नेपालमा सामाजिक न्यायमा लागि पत्रकार महिलाको उपस्थिति जरुरी छ भन्नुभयो । उहाँले क्यानाडामा महिला सहभागिता ५० प्रतिशत र महिला पत्रकार ५२ प्रतिशत रहेको जानकारी गराउनुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महिला पेसागत रूपमा टिकाउन ध्यान दिनुपर्ने र पत्रकार महिलालाई राजनीतिक विषयमा समाचार लेख्दा सन्तुलित समाचार लेखेको भनेर स्रोतले विश्वास गरेको अध्ययनले देखाएको बताउनुभयो । उहाँले पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न काउन्सिलले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राष्ट्र सबल भएमा मिडिया पनि सबल हुने उल्लेख गर्दै राजनीतिक विषयले अहिले पनि बढी स्थान लिने गरेको बताउनुभयो । उहाँले राजनीतिक विषयमा महिलाको उपस्थिति सशक्त हुनुपर्ने र मिडियाहाउसले पनि त्यहीअनुरूप नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।
न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्काले राजनीतिक विषयमा समाचार लेख्न महिला पत्रकारलाई चुनौती भए पनि अहिले राम्रोसँग लेख्ने महिला पत्रकार भएको बताउनुभयो । उहाँले सञ्चारमाध्यमले पनि राजनीतिक बिटमा समाचार लेख्ने महिलालाई प्रोत्साहित गर्नुपर्ने र नीतिगत रूपमा पनि सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
म्यागका अध्यक्ष अनिता विन्दुले राजनीतिक विषयमा काम गर्ने महिला पत्रकारको सङ्ख्या कम भएकाले प्रविधिसहितको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिनको तालिमको आयोजना गरेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घको तथ्याङ्कानुसार १८ प्रतिशत महिला क्रियाशील रहेका छन् ।
तिलिचो ताल जोड्ने पदमार्ग निर्माण
म्याग्दी, ७ साउन I मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट करिब २३ किलोमिटर पदमार्ग निर्माण र स्तरोन्नति गरिएको हो । गाउँपालिकाको दुईवटा शीर्षकको र एक्यापको बजेटबाट फरक–फरक ठाउँमा पदमार्ग निर्माण भएको हो ।
आर्थिक वर्ष २०८०/८१ मा घरपझोङ गाउँपालिकाले दुईवटा शीर्षकमा रु ५० लाख बजेट बिनियोजन गरेको तिलिचो ताल जोड्ने पदमार्ग मर्मत तथा स्तरोन्नति योजनाका लागि एक्यापले पनि रु १० लाख खर्च गरेको छ । घरपझोङ गाउँपालिकाका रोजगार संयोजक शर्मिला श्रीसले प्रधानमन्त्री रोजगार कार्यक्रमको रु २१ लाख ४९ हजार र गाउँपालिकाको थप रु २८ लाख ५८ हजार बजेटबाट वडा नं ४ र ५ को विभिन्न ठाउँमा २२ किलोमिटर पदमार्ग बनाएको जानकारी दिनुभयो ।
“दुईवटा वडाका १४–१४ जना बेरोजगार युवालाई पदमार्ग निर्माणमा परिचालन गरिएको थियो”, उहाँले भन्नुभयो, “साँघुरो र जोखिमयुक्त ठाउँमा चार फिट फराकिलो पदमार्ग बनाएर सहज रूपमा आवतजावत गर्न सकिने बनाइएको छ ।”
झोरखोलाबाठ–नमखुलेक खर्क–निलगिरि आइसफल–छमा ताल पहुँच मार्गको सोचिलेकसम्म पदमार्ग निर्माण तथा स्तरोन्नति गरिएको रोजगार संयोजक श्रीसले बताउनुभयो । एक्यापमार्फत पाँच हजार एक सय २० मिटर उचाइमा रहेको मेरोकोन्दो पास क्षेत्रमा नौ सय ५० मिटर पुरानो पदमार्ग मर्मत र छ सय मिटर नयाँ पदमार्ग निर्माण गरिएको रेञ्जर सञ्जोक थकालीले जानकारी दिनुभयो ।
जोमसोम–ठनी हुँदै बढीमा तीन दिनमा तिलिचो पुगेर फर्कन सकिने यो पदमार्ग समुद्री सतहबाट चार हजार नौ सय १९ मिटर उचाइमा अवस्थित संसारकै अग्लो स्थानमा रहेको मानिएको यो ताल पुग्ने छोटो पदमार्ग भएको रेञ्जर थकालीले बताउनुभयो ।
प्राकृतिक सौन्दर्ययुक्त तिलिचो ताल, नीलगिरि हिमाल, नमखु लेक, हिमचितुवाको बासस्थान, धुम्बा ताल, ह्यारझु भ्यू प्वाइन्ट, ठिनीगाउँ, ऐतिहासिक घरफझोङ किल्ला, कैश्याङ क्याम्प, थकाली कला र संस्कृति, भेडाच्याङग्रा तथा चौँरीको गोठ यो पदमार्गका आकर्षण हुन् ।
यसैगरी मुस्ताङमा यस वर्ष एक्यापको रु २७ लाख ३२ हजार पाँच सय नौ बजेटमा तिलिचो ताल जोड्नेसहित छ ठाउँमा पदमार्ग निर्माण र स्तरोन्नति गरिएको छ । उपभोक्ताले रु एक लाख ३२ हजार बराबरको श्रमदान गरेका छन् ।
रु पाँच–पाँच लाख बजेटमा थासाङ गाउँपालिकाको घैकु–मिसी– लेते–कालोपानी पदमार्गमा चार सय ५० मिटर मर्मत र चोखोपानी क्षेत्रमा ६५ मिटर पदमार्ग निर्माणका साथै ५५ थान ग्यावियन पर्खाल निर्माण भएको छ । रु एक लाख बजेटमा सौरु सिरकुङ–ताग्मी–फुरतमी क्षेत्रमा दुईवटा सल्याब, १२ थान ग्यावियन बक्स राखेर पदमार्ग मर्मत गरिएको छ ।
जोमसोम–कागबेनी–मुक्तिनाथ सडक बनेपछि पहिचान भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथ–लुप्राखोला पदमार्गमा दुई हजार एक सय ७९ मिटर र मनाङ हुँदै पाँच हजार चार सय मिटर उचाइको थोराङ्ला झञ्ज्याङ पार गरेर मुस्ताङ आउने बाटोमा सात सय १९ मिटर पदमार्ग निर्माण भएको छ ।
मिटरमा गुड्न मान्दैनन् पोखराका ट्याक्सी
गण्डकी, ७ साउन I गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पोखरामा ट्याक्सी व्यवसायीबीच गत साउन २७ मा पोखरामा मिटरमा ट्याक्सी चलाउने सहमति भयो । मन्त्रालयले भदौ १ गतेदेखि अनिवार्य रूपमा मिटर प्रणालीमा ट्याक्सी सेवा सञ्चालन गर्नुपर्ने निर्णय गर्यो ।
तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसहित सरोकार भएका पक्षसँगको छलफलमा व्यवसायीले मिटरमा ट्याक्सी गुडाउने प्रतिबद्धतासमेत जनाए । तर उक्त निर्णय भएको वर्ष दिन नबित्दै पर्यटकीय राजधानीसमेत रहेको पोखरामा मिटरमा ट्याक्सी गुड्न छाडिसकेका छन् ।
यातायात मन्त्रालयसँग भएको सहमतिलाई वेवास्ता गर्दै ट्याक्सी चालकले सर्वसाधारण यात्रुबाट मनोमानी रूपमा भाडा असुलिरहेका छन् । गण्डकी प्रदेश सरकारले तीन वर्षअघि समायोजन गरेको भाडादरअनुसार ट्याक्सी मिटर चलाउन तयार भएका चालक अहिले सोही भाडादरलाई देखाएर मिटरमा हिँड्न अस्वीकार गरिरहेका छन् । विसं २०७८ फागुन १ गतेदेखि लागू हुनेगरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि पोखराका ट्याक्सी मिटरमा चलेका थिएनन् ।
ट्याक्सीले मनपरी भाडा लिने गरेको जनाउँदै जनगुनासो बढ्न थालेपछि मन्त्रालयले मिटर प्रणालीमा ट्याक्सी सञ्चालनका लागि पहल लिएको थियो । मन्त्रालय र यातायात व्यवस्था कार्यालयका पदाधिकारी, ट्राफिक प्रहरीलगायतले केही समय ट्याक्सीको अनुगमन पनि गरे । केही समय ट्याक्सी चालक मिटरमा पनि हिँडे । मिटर गुड्न अटेर गर्नेहरू कारबाहीमा पनि परे । अहिले न अनुगमन छ, न त मिटरमा नचल्ने ट्याक्सीलाई कारबाही नै हुन्छ ।
ट्याक्सी चालक छिरिङ शेर्पाले नयाँ भाडादर समायोजन नभएका कारण मिटरमा चलाउन सक्ने अवस्था नरहेको बताउनुभयो । “इन्धनको मूल्य बढेको बढ्यै छ, भाडादर भने पहिलैके छ”, उहाँले भन्नुभयो, “बढ्दो महँगीलगायत अहिलेको अवस्थाअनुसार भाडादर समायोजन भए मात्र ट्याक्सी मिटरमा गुड्न सक्छन्, नत्र गाह्रो छ ।” ट्याक्सी व्यवसायीले स्वचालित भाडादर कायम हुनुपर्ने माग गर्दै आएका छन् ।
इन्धनको मूल्यमा आइरहने उतारचढाव, बढ्दो महँगीजस्ता कारणले मिटर प्रणालीमा समस्या आउने गरेको पोखरेली ट्याक्सी व्यवसायी समितिका महासचिव युवराज भट्टराईले बताउनुभयो । “इन्धन मात्र नभएर, गाडी पार्टस्लगायत सामान महँगो हुँदै गएको छ, यसलाई पनि विचार गरेर भाडादर समायोजन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “मिटर प्रणालीमा पनि केही जटिलता छन्, मिटर जडान महँगो छ, पोखराका ट्याक्सीमा एकपटक मिटर बढाउँदा दुई–तीन महिना लाग्छ ।”
नयाँ भाडादर समायोजनलगायत माग पूरा भए व्यवसायीहरू मिटरमा ट्याक्सी सञ्चालन गर्न तयार रहेको महासचिव भट्टराईले बताउनुभयो । तीन वर्षअघि समायोजन गरेको भाडादरअनुसार १५ किमीको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) रु ८० र त्यपछि प्रति दुई सय मिटरको रु १० तोकिएको छ । १५ किमीभन्दा बढीको दूरीमा प्रतिकिमी ३७ रुपैयाँ ५० पैसा कायम गरिएको थियो ।
मन्त्रालयको प्रशासन तथा यातायात व्यवस्थापन महाशाखाका पदाधिकारी भने विगतमा प्रतिबद्धता गरेको विषयलाई ट्याक्सी व्यवसायीले लागू गर्नुपर्ने बताउँछन् । ट्याक्सी मिटरमा नगुड्दा यात्रु ठगिइरहेको गुनासो मन्त्रालयसम्म पुग्ने गरेको छ । पोखराका ट्याक्सीले मनलाग्दी भाडा लिने प्रवृत्तिको अन्त्य गर्ने सम्बन्धित निकायहरूको प्रतिबद्धता भने पूरा हुनसकेको छैन ।
प्रदेश सरकार र ट्याक्सी व्यवसायीबीच भाडा समायोजनलगायत विषयमा भएका कतिपय समझदारी कार्यान्वयनमा नआई अलपत्र परेका छन् । उक्त सहमतिपत्रमा भाडा तिरेको बिल दिनुपर्ने, ट्याक्सीमा जिपीएस जडान गर्नुपर्ने, चालकको छुट्टै पोशाक हुनुपर्नेलगायत विषय उल्लेख थियो । पोखराका ट्याक्सी चालककले मनलाग्दी रूपमा यात्रुबाट भाडा लिने गरेको विषय केही महिनाअघि गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिमा समेत पुगेको थियो । समितिले पोखरामा चल्ने ट्याक्सीलाई मिटर प्रणालीमा सञ्चालन हुने व्यवस्था मिलाउन यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति भोजराज अर्यालले बताउनुभयो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने यात्रुले ट्याक्सीलाई चर्को भाडा तिर्नुपरेको गुनासो गरेपछि समितिले विमानस्थलदेखि राजमार्गसम्म निःशुल्क सटल बस सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न उक्त मन्त्रालयलाई निर्देशन दिएको थियो । ट्याक्सी भाडामा देखिएको मनोमानीको अन्त्यका लागि आफूले यातायात व्यवस्था मन्त्रालयका मन्त्रीलगायत पदाधिकारीसँग भेटेर पटकपटक छलफल गरेको सभापति अर्यालले बताउनुभयो ।
नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै
काठमाडौँ, ७ साउन I प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,“हालका दिनमा यो सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै गएकोे छ ।”
चिनियाँ जनमुक्ति सेनाको ९७औँ स्थापना दिवसका अवसरमा यहाँस्थित चिनियाँ दूतावासले आइतबार साँझ आयोजना गरेको स्वागत समारोहमा प्रधानसेनापति शर्माले नेपाललाई चिनियाँ जनमुक्ति सेनाले सैनिक सहायता उपलब्ध गराउँदै आएकामा आभार व्यक्त गर्नुभयो । पञ्चशीलका सिद्धान्तमा आधारित पारस्परिक सम्बन्ध पछिल्ला दिनमा अझ सुदृढ बन्दै गएको जनाउँदै प्रधानसेनापतिले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध छ भन्नुभयो । उहाँले चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील रहेको बताउनुभयो ।
“शान्तिप्रिय राष्ट्र नेपालको सबै देशसँग मैत्री कायम गर्ने नीति छ । हाम्रो परराष्ट्र सम्बन्ध पनि यसै आदर्शबाट अभिप्रेरित छ”, उहाँले भन्नुभयो । नेपालका लागि चिनियाँ राजदूत छन सोङले चीन र नेपालबीचको सम्बन्ध हिमालझैँ अटल रहेको बताउँदै नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । उहाँले आपसी सौहार्द, सम्मान, भाइचारा तथा पञ्चशीलको सिद्धान्तमा आधारित चीन–नेपाल सम्बन्ध पारस्परिक विश्वास, सहयोग, सहकार्यका साथ निरन्तर अगाडि बढिरहेको बताउनुभयो ।
चिनियाँ राजदूले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट सक्दो सहयोग हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । दूतावासका सैनिक सहचारी लिउ गोझेङले चिनियाँ जनमुक्ति सेनाको स्थापना अगस्त १, १९२७ देखि हालसम्मको अवस्थाका बारेमा जानकारी दिँदै मातृभूमिको रक्षार्थ जनमुक्ति सेनाले निर्वाह गरेको भूमिकाको चर्चा गर्नुभएको थियो ।
समारोहमा सांसद, गृहसचिव एकनारायण अर्याल, बलाधिकृत रथी अशोक सिग्देल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, उच्चपदस्थ सरकारी अधिकारी यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि एवं सैनिक सहचारी, पत्रकार, राजनीतिज्ञलगायत समाजका प्रतिष्ठित व्यक्ति सहभागी हुनुहुन्थ्यो । साथै जनमुुक्ति सेनाको इतिहास र गतिविधि झल्कने वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।
यसैबीच, चीनले नेपालको आर्थिक उन्नति तथा विकासलाई नै प्राथमिकता दिँदै आएको सन्दर्भमा मुलुकको पूर्वाधार विकासमा उत्तरी छिमेकीको योगदान महत्त्वपूर्ण रहेको बताउँदै अवकाशप्राप्त सहायक रथी सुरेश शर्माले चीनको यो साथ र सहयोगको नेपाल सरकार तथा जनताले सधँै उच्च मूल्याङ्कन गर्नुका साथै सहयोगको यो निरन्तरता भविष्यमा पनि जारी रहने विश्वास गरेका बताउनुभयो ।