सुनुवारको ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पित
काठमाडौँ, ५ साउन I लेखक तारादेवी सुनुवारको अनुभूति–निबन्ध सङ्ग्रह ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण गरिएको छ ।
नियात्राकार प्रतीक ढकाल, साहित्यकार मोमिला, कवि डा नवराज लम्साल र समालोचक डा अशोक थापालगायतले आज यहाँ आयोजित समारोहमा उक्त कृति लोकार्पण गर्नुभयो ।
मुलुकमा सशस्त्र युद्धपछि कल्पना गरिएको रोल्पा जिल्लामा जति रुपान्तरण हुनुपर्ने थियो त्यति नभएको बरु युद्धको स्मृति दिलाउने रोग, भोक, गरिबी र समस्याबाट अझ ग्रसित भएको विम्ब पुस्तकमा समेटिएको छ । लेखकले रोल्पाबाटै किन माओवादीले दशवर्षे जनयुद्धको जग बसालेको होला भन्ने प्रश्न गर्दै अहिले युद्ध बैठान भइसक्दा समेत के साँच्चै रोल्पाली जनता खुसी छन् त भनी प्रतिप्रश्न गर्नुभएको छ ।
रोल्पालाई फन्को मार्दा लेखकले समुदायमा देखेको, भोगेको, सुनेको विषयवस्तु समेटिएको कृतिमा त्यहाँका महिलालाई युद्धले गराएको परिवर्तन, चेतनाको स्तरसमेत वर्णन गरिएको छ ।
त्यस कृतिमा एउटै जिल्लामा एक हजार चार सयभन्दा बढी नागरिक बेपत्ता भएको, द्वन्द्वका नाममा नौ सय ४६ जना मारिएका, ३३ जना बेपत्ता भएका, दुई सय एकजना अपहरणमा परेको तीन सय २३ महिलाको सिउँदो पुछिएको मार्मिक विषय र तथ्य–तथ्याङ्क प्रस्तुत छ ।
धेरैजना अपाङ्ग भई वैशाखी र ह्वील चियरको सहायतमा जीवन बिताउनुपरेको तथा एक सय ८० जना बालबालिकाले बाबुआमा दुवै गुमाएर अभिभावकविहीन बन्नुपरेको तथा घरपरिवार नै छाड्न बाध्य भएका घटनासम्बन्धी विषयवस्तु समावेश छ ।
सङ्ग्रहमा शिक्षा, स्वास्थ्य तथा भैतिक पूर्वाधारको क्षेत्रमा समेत ठूलो नोक्सानी भएको विगतको सशस्त्र द्वन्द्वको फाइदा टाठाबाठाले लिन सफल भए पनि गरिब र निमुखा भने अहिले पनि मारमै रहेको घटना उल्लेख छ । द्वन्द्वको चुरो कुरोदेखि त्यो इतिहास र यो जनयुद्ध, सबैले पाएको कष्ठ उस्तै, विवाहको महत्त्व थाहै नपाई विधवा भइयो, सहिदमार्गको नालीबेली, केही नयाँ छैन भन्नेलगायतका शीर्षकमा विविध विषय समेटिएको छ ।
सङ्ग्रहका लेखक सुनुवारले रोल्पामा महिला, बालबालिकाले युद्धमा के भोगे र अहिले के भयो भन्ने विषयवस्तुको सेरोफेरोमा रही कृति लेखिएको जानकारी दिनुभयो ।
‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक
काठमाडौँ, ५ साउन I नेपालको राजनीतिक इतिहासमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईको भूमिका समेटिएको ‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक गरिएको छ ।
‘द राइजिङ नेपाल’का पूर्वसम्पादक डा मुक्ति रिजालले लेख्नुभएको उक्त पुस्तकको आज पूर्वप्रधानमन्त्री भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाल र राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्री सुमना श्रेष्ठले संयुक्त रुपमा विमोचन गर्नुभयो ।
पुस्तकमा माओवादी आन्दोलनमा डा भट्टराईको भूमिका, माओवादी छाडेपछिको अवस्था र वैकल्पिक शक्ति निर्माणको अभियानसम्मका गतिविधि विभिन्न १७ वटा आलेखमा समेटिएका छन् ।
सो अवसरमा डा भट्टराईले आफू फरक पृष्ठभूमिबाट आएको भए पनि सोच, विचार र शैलीले नयाँ रहेकाले पुरानाको कार्यशैलीको सम्मान गर्दै नयाँमा टेकेर राजनीतिक दल अगाडि बढ्नुपर्ने बताउनुभयो ।
“म माओवादीबाट एक्लै निस्किएको हो । वैकल्पिक शक्ति निर्माण गर्ने सकारात्मक सोचका साथ अघि बढेको हो”, अध्यक्ष डा भट्टराई भन्नुभयो, “मैले कसैलाई छाडेको पनि होइन, गाली गरेको पनि होइन ।” वैकल्पिक पार्टी बन्न वैकल्पिक सोच र कार्यक्रम आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा दुई ठूला दल सरकार सञ्चालनमा केन्द्रित हुँदा प्रतिपक्षमा रहेका दलहरुले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । वर्तमान सरकारलाई गलत बाटोमा हिँड्ने छुट नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सरकारले गलत काम गरेमा कांग्रेस मौन बस्दैन ।”
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी जनयुद्धको परिकल्पनाकारका रूपमा रहनुभएको बताउँदै उहाँद्वारा उठाइएका मुद्दालाई सिद्धान्तको उचाइबाट हेर्न र विश्लेषण गर्न सक्ने क्षमता नेता भट्टराईसँग भएको बताउनुभयो ।
नेपालका राजनीतिक दल इमान्दार हुने हो भने मुलुकलाई समृद्ध बनाउन सकिने उल्लेख गर्दै संसद्का दुई ठूला दल सम्मिलित सरकारले जनताका समस्या समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
“राज्य स्रोतको दोहन नगर्ने र दलाल पुँजीवादबाट मुक्त पार्टी बनाऔँ,” महासचिव भुसालले भन्नुभयो, “त्यस्तो पार्टीले मात्र समाजवादको यात्रा अघि बढाउन सक्छ ।” राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्री श्रेष्ठले आफ्नो पार्टी नयाँ सोचका साथ अघि बढ्ने बताउनुभयो ।
अङ्ग्रेजी भाषमा लेखिएको सो पुस्तक एक सय २५ पृष्ठको छ । उक्त पुस्तकको मूल्य रु तीन सय ५५ तोकिएको छ ।
छैनन् मैथली भाषाका स्वदेशी चलचित्र
काठमाडौँ, ५ साउन I नेपालमा नेपालीसँगै अन्य भाषामा पनि चलचित्र बन्ने गरेका छन् । ती चलचित्र कम सङ्ख्यामा निर्माण हुनुका साथै निश्चित भेगमा मात्र सीमित छन् । उनीहरू आफ्नो भाषाको बाहुल्यता भएका दर्शक माँझ मात्र प्रदर्शन भइरहेका छन् । यद्यपि तराई क्षेत्रमा बोलिने मैथली भाषालाई लक्षित गर्दै चलचित्र निर्माण रोकिएको झैँ छ ।
तराईमा चलचित्र भवनको सङ्ख्या राम्रो भए पनि हिन्दी र भोजपुरी भाषामा तयार भएका चलचित्रको दबदबा छ । तराईमा बोलिने मैथली भाषामा चलचित्र निर्माण नभएपछि ती चलचित्र भवनमा फाट्टफुट्ट नेपाली भाषाका चलचित्र प्रदर्शन हुन्छन् । मैथली भाषामा बन्ने चलचित्र, लघुचलचित्रको सङ्ख्या निक कम छ ।
मिथिला संस्कृति र मैथली भाषालाई प्रवर्द्धन गर्ने उद्देश्यले केही समय अगाडि जनकपुरधाममा पहिलोपटक दुई दिने ‘मैथली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना गरिएको थियो । उक्त महोत्सवमा नेपालसँगै भारतमा रहेर मैथली भाषाका चलचित्र, लघुचलचित्र र वृतचित्र निर्माण गरिरहेका व्यक्तिहरू उपस्थित थिए । त्यहाँ प्रदर्शन भएका चलचित्रमा नेपालबाट बनेको कुनै मैथली भाषाको चलचित्र थिएन । स्वदेशी मैथली भाषाको चलचित्र नहुनु दुःखद् रहेको निर्देशक तथा कलाकार रमेश रञ्जन झाले बताउनुभयो ।
“छोटा चलचित्र बनेका छन्, तर ठूला चलचित्र नबन्दा यहाँका जनशक्ति बाहिरका उद्योगमा गएर काम गरिरहेका छन्, तर हामी आशावादी छौँ, किनकि अब नयाँपुस्ताले नवीतम सोच र कथा ल्याउने छन्, वीरगञ्जदेखि जनकपुर हुँदै तयारको बजारलाई लक्षित गर्दै कसैले त अवश्य प्रयास गर्नेछन्”, झाले भन्नुभयो ।
उहाँ निर्माता तथा निर्देशकलाई प्रोत्साहन गर्न ‘मैथली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हरेक वर्ष आयोजना गर्ने तयारीमा हुनुहुन्छ । उहाँका अनुसार अहिले निर्माण हुने ससाना चलचित्र रहरिया (रहर गर्ने) ले तयार गरेका छन् । अभिनेता तथा निर्देशक नीर शाहले चलचित्रकर्मी अन्तर सांस्कृतिक हुन नसकेका कारण त्यसको प्रभाव चलचित्रमा परेको विश्लेषण गर्नुभयो । उहाँले विविधतायुक्त देशको संस्कृतिले एकअर्कालाई एकताको सूत्रमा आबद्ध गरेको बताउनुभयो ।
“अहिले विदेशी चलचित्रकर्मीसँग लगानीको अभाव छैन । धेरै ठूला बजेटमा चलचित्र बनेको खबर सुन्ने गरिन्छ, तर त्यसमा विषयवस्तुको अभाव देखिन्छ, त्यसकारण हामीले हाम्रो कथालाई हाम्रो भाषा र शैलीमा चलचित्रमा प्रस्तुत गर्न ढिलो गर्न हुँदैन, यसमा सम्बन्धित निकायको सहयोग र सहभागिता पनि जरुरी छ, नत्र हाम्रो कथालाई विदेशीले विदेशी भाषामा तयार गर्नेछन् र हामी हेर्न बाध्य हुनेछौँ, यो अवस्था नआउला भन्न सकिन्न्”, अभिनेता शाहले भन्नुभयो ।
‘सस्ता जिन्दगी महङ्ग सिन्दुर’,‘गामक घर’, ‘ललका पाग’ जस्ता मैथली भाषामा बनेको चलचित्र नै अहिले पनि तराईमा स्मरण गरिन्छ । त्यसलाई भारतीय कम्पनीले निर्माण गरेको हो । पछिल्लो समय डिजिटल प्लेटफर्ममा केही चलचित्र उपलब्ध छन् । यद्यपि जनकपुर लगायतका तराईमा चलचित्र भवनमै प्रदर्शन गरिने चलचित्र लगभग छैन ।
मैथली चलचित्रमा नयाँ पुस्ताले नवीतम सोच र कथा ल्याएको निर्देशक पुर्णेन्दु के झाको बुझाइ छ । विदेशमा मैथली भाषामा बनिरहेका चलचित्र हेर्नुका साथै ती चलचित्रकर्मीसँग संवाद गरेर उहाँ आफैँ पनि नयाँ चलचित्रको तयारीमा हुनुहुन्छ । उहाँ ‘लेवर’ नामक चलचित्र मैथली भाषामा तयार गरेर नेपाली र भोजपुरीमा स्वराङ्कन गराउने तयारीमा हुनुहुन्छ । यसले नेपालमै छरिएको बजारमा एउटै चलचित्रमार्फत पुग्न सकिने उहाँको बुझाइ छ ।
“लगानीकर्ताले सुनिश्चित्ता चाहेका छन्, यहाँ उत्पादन भएका जनशक्ति बाहिरका चलचित्र उद्योगमा काम गरिरहेका छन्, हामीले गर्ने महोत्सवलगायत गतिविधिले मैथली चलचित्रकर्मीलाई जोड्ने काम गरिरहेका छौँ, यसले आगामी दिनमा संयुक्त रुपमा चलचित्र निर्माण गर्न प्रेरणा दिन्छ, आउँदो समय विस्तारै राम्रो हुन्छ भन्नेमा पूर्ण आशावादी छु”, निर्देशक झाले भन्नुभयो ।
तराईमा विशेषत कोशी र मधेस प्रदेशमा मैथिली चलचित्रको राम्रो बजार बन्न सक्ने जानकारहरुको बुझाइ छ । किनकि त्यहाँ ‘सस्ता जिन्दगी महङ्ग सिन्दुर’ चलचित्रले गरेको व्यापारको चर्चा आज पनि हुन्छ । पछिल्लो समय चलचित्रसँगै गीतसङ्गीत, छोटा चलचित्रस्तरीय नबन्दा दर्शकले चासो देखाएका छैनन् । यसले गर्दा पनि मैथली भाषामा चलचित्र नबनेको धेरै समय भइसकेको छ ।
सङ्खुवासभाको भविष्य ऊर्जामा छः उर्जामन्त्री खड्का
काठमाडौँ, ५ साउन I ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको विकासका लागि ऊर्जा क्षेत्र महत्वपूर्ण भएको बताउनुभएको छ ।
सङ्खुवासभा-काठमाडौँ पत्रकार सङ्घ (एसकाज)ले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सङ्खुवासभाबाट निर्वाचित मन्त्री खड्काले आज स्रोत र साधनले धनी सङ्खुवासभाको आर्थिक विकासमा ऊर्जा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले आफ्नो मुख्यप्राथमिकतामा सङ्खुवासभाको विकास रहेको समेत बताउनुभयो ।
उहाँले अपर अरुण जलविद्युत आयोजनामार्फत उक्त क्षेत्रका जनताको आर्थिक उन्नति गर्न सकिने समेत उल्लेख गर्नुभयो । “सङ्खुवासभाबासीको शिर निहुरिन नदिने गरी काम गर्नुछु, म धेरै आशा बाँड्दिन सङ्खुवासभाको विज्ञतालाई प्रयोग गरी परिणाम दिने गरी काम गर्नेछु”, उहाँले भन्नुभयो ।
नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले आफ्नो विज्ञता प्रयोग गरी ऊर्जा क्षेत्रको विकासमा ध्यान दिन मन्त्री खड्कालाई आग्रह गर्नुभयो । उहाँले सङ्खुवासभाको छविलाई उच्च राख्न मन्त्री खड्कालाई शुभकामना समेत दिनुभयो ।
सङ्खुवासभा-काठमाडौँ जर्नालिष्ट एसोसिएसनका अध्यक्ष शङ्कर खनालले स्रोत साधनले अत्यन्त धनी सङ्खुवासभाको आर्थिक विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले ऊर्जा र पर्यटन क्षेत्रलाई सँगै जोडेर अगाडि बढ्नसके सङ्खुवासभाको विकासले फड्को मार्नसक्ने उल्लेख गर्नुभयो ।
उपल्लो डोल्पाको मोरिम्ला नाका खोल्ने तयारी
डोल्पा, ५ साउन I हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला नाका ६ वर्षपछि खुल्ने भएको छ । चीनको सिमानामा पर्ने उक्त नाका कोरोना महामारीपछि बन्द थियो ।
नाका यही साउन को १७ गतेदेखि खोल्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले हालसम्म एक हजार आठ सयभन्दा बढी प्रवेशाज्ञा जारी गरेको छ । दिनहुँ प्रवेशाज्ञा लिन उल्लेख्य सङ्ख्यामा नागरिक आइरहेको प्रजिअ दाहालले बताउनुभयो । उपल्लो डोल्पावासीको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको उक्त नाका लामो समयपछि खुल्न लागेकाले यस अवधिमा कुनै पनि प्रकारका अप्रिय घटना नघटुन् भनेर सीमाक्षेत्र आसपासमा अस्थायी सुरक्षा पोष्ट खडा गरेर जाँचमा कडाइ गरिने उहाँले बताउनुभयो ।
अवैध तथा प्रतिबन्धित वस्तु ओसारपसार गर्न नदिन डिभिजन वन कार्यालयले समेत सो क्षेत्रमा निगरानी गर्ने भएको छ । प्रन्ध दिनका लागि मात्र खुल्ने उक्त नाकाबाट उपल्लो डोल्पावासीले चामल, नुन, तेल, चिया, लत्ताकपडा, घिउ, चिया, पेयपदार्थलगायत खाद्यवस्तुको किनमेल गर्ने गर्दछन् । यसरी खरिद गरिएका सामग्री घोडा, खच्चड, याक, चाँैरी, भेडा र मोटरसाइकलमा ढुवानी गर्ने गरिन्छ ।
उपल्लो डोल्पाका डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङ्सोङ गाउँपालिकाका नागरिकलाई सदरमुकाम झरेर सामान किन्न एक सातासम्म लाग्नुका साथै महँगो पनि पर्दछ । डोल्पोबुद्ध गाउँपालिकाबाट एक दिननमै सो नाका पुग्न सकिन्छ । यस वर्ष तिब्बतको सिँगाचे प्रदेशमा पर्ने डोङ्बा काउन्टी नाकामा व्यापारिक मेला लाग्ने भएकाले सामान सस्तो पाइने डोल्पोबुद्ध गाउँपालिकाका पेमाछेवाङ गुरुङले बताउनुभयो । यस वर्ष उपल्लो डोल्पामै पर्ने क्याटो नाका भने नखुल्ने बताइएको छ ।
सेनाद्वारा एक हजार चार सय किलोमिटर सडक निर्माण
काठमाडौँ, ५ साउन I नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्र्याक खोलेको छ । सो अवधिमा जडान गरिएका ३८ बेलिबृज र सडक विभागलाई हस्तान्तरण गरिएको छ ।
नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापन कार्यमा परिचालन गर्न सकिने संवैधानिक व्यवस्था छ । नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति र नेपाल सरकारको निर्देशनअनुसार सेनाले विकास निर्माणको कार्य गर्दै आएको सैनिक विकास निर्माण निर्देशनालयका सहनिर्देशक एवं महासेनानी धर्मेन्द्रकुमार झाले बताउनुभयो । हाल नेपाली सेना तीन राष्ट्रिय गौरवका आयोजना र दुईवटा पहिलो प्राथमिकता प्राप्त आयोजना निर्माण कार्यमा संलग्न छ । त्यसको कूल लम्बाइ २७४ दशमलव ५३७ किलोमिटर लम्बाइ छ । त्यसमध्ये रणनीतिक महत्वका चारवटा उत्तर–दक्षिण सडक करिडोर निर्माण कार्य सेनाको विकास निर्माण निर्देशनालयको प्रत्यक्ष मातहत अघि बढिरहेका छन् ।
हाल निर्माणाधीन आयोजना दार्चुला–टिङ्कर ७९ किमी, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ ९२ किमी, कर्णाली करिडोर (लालीबगर–बगर–दुल्किकुन्ना खण्ड र घाँटीपारीचौर–बद्रीगाउँ–भुक्का खोला खण्ड) २२ किमी र खाँदबारी–किमाथाङ्का (च्याम्ताङ–घोघप्पा खण्ड) १०.५१ किमी हुन् । मुलुकको सर्वाधिक महत्वको काठमाडौँ–तराई–मधेस दु्रतमार्ग आयोजना (७०.९७७ किमी पनि नेपाली सेनाको व्यवस्थापनमा धमाधम निर्माण भइरहेको सहनिर्देशक झाले बताउनुभयो ।
सेनाले यसअघि सुर्खेत–जुम्ला ८८ किमी, बेनी–जोमसोम ९१ किमी, छिञ्चु–जाजरकोट ४५ किमी, बेंसीसहर–चामे ६५ किमी, नाग्मा–गमगढी ९४ किमी सडकको ट्र्याक खोलेको थियो । काठमाडौँ–तराई–मधेस दु्रतमार्गको सुरु पाइलट ट्र्याक ८० किमी, मैलुङ–स्याफ्रुबेंसी १७ किमी, जाजरकोट–डोल्प दुनै ११७ किमी, कालीगण्डकी करिडोर(गुल्मी–बागलुङ खण्ड ७५ किमी र कडाली करिडोर (खुलालु–लैफू–सलिसल्ला खण्ड १२२ किमी पनि नेपाली सेनाद्वारा निर्माण गरिएका सडक आयोजना हुन् ।
के छ प्रधानमन्त्रीलाई एमालेले दिएको सुझावमा ?
काठमाडौँ, ४ साउन I नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज दिएको सुझावपत्रमा नेपाल सरकारले तत्काल चाल्नुपर्ने कदम र आगामी तीन वर्षभित्र गर्नुपर्ने कामको सूचीसहित विस्तृत विषय समावेश गरिएको छ ।
एमालेका महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले आज एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीलाई सिंहदरबारमा भेटी आज सुझावपत्र बुझाएको हो ।
सुझावपत्रमा सुशासन, विकास निर्माणका काममा तीव्रता, रोजगारी सिर्जना, आर्थिक शिथिलताकोे अन्त्य, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धि हासिल गर्ने विषय, सेवाप्रवाहमा सहजता र झण्झटिलो प्रशासनिक प्रक्रियालाई अन्त्य गर्ने विषय तथा सामाजिक न्याय र सुरक्षाका विषयहरू विषय रहेका छन् । यस्तै झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्राका क्रममा प्राप्त भएका सुझावदेखि जनतामा कायम रहेको निरासा चिर्न तथा आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले गर्नुपर्ने कामलाई समेटिएको छ ।
नेपाली कांग्रेससँग गत असार १७ गते भएको सहमतिपछि अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभन्दा डेढ साता अगावै एमालेले गत असार २१ गते ओली नेतृत्वको सरकारले आगामी तीन वर्षभित्र गर्नुपर्ने कामका विषयमा सुझाव दिन उपमहासचिप प्रदीप ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
कार्यदलले पार्टीका विभिन्न २८ विभागसँग सरकारले गर्नुपर्ने कामका विषयमा सुझावसहित प्रतिवेदन मागेको थियो । सोही प्रतिवेदनको आधारमा एमालेले सरकारलाई सुझावपत्र दिएको हो ।
उपमहासचिव ज्ञवालीका अनुसार असार २१ गते बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० ठोस कार्यक्रमसहित ३१ बुँदे सुझाव बुझाइएको छ । उक्त बैठकले सात दिनको समय सीमा तोकेर प्रधानमन्त्रीलाई सुझाव दिन विभागहरूलाई निर्देशन दिएको थियो ।
एमालेले यसै वर्षको बजेटको दायराभित्र सञ्चालन गर्न सकिने कार्यक्रमहरू, सम्बन्धित मन्त्रालयमा गर्नुपर्ने नीतिगत र कानुनी सुधारहरू, हाल संसद्मा विचाराधीन सम्बद्ध मन्त्रालयसँग सम्बन्धित विधेयकको अवस्था र त्यससम्बन्धी दृष्टिकोण, निर्वाचन घोषणापत्र २०७९ मा त्यस क्षेत्रसँग सम्बन्धित पार्टीका मुख्य प्रतिबद्धताहरू, सम्बन्धित मन्त्रालयबाट हुने सेवा प्रवाह र विकास निर्माणमा देखा परेका मुख्य अवरोध र समाधानका उपाय तथा महिला, युवा, सहरी जनमत, प्रवासी नेपाली र भूमिहीन लगायतलाई आकर्षित गर्न सकिने नयाँ र सिर्जनशील कार्यक्रमलगायत विषय सुझावमा समावेश गरिएका छन् ।
बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह
काठमाडौँ, ४ साउन I नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा त्यहाँ रहेका नेपालीलाई ढाकास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले राजदूतावासका योजना बम्जन, द्वितीय सचिवलाई +८८०१८८०६९१०१३ र रिया क्षेत्रीलाई +८८०१७४५४०७९५८ नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सकिने जनाएको छ ।
मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ ।
हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली राजदूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उहाँहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको मन्त्रालयको भनाइ छ ।
बाह्रै महिना विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्छ : मन्त्री खड्का
काठमाडौँ, ४ साउन I ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताउनुभएको छ ।
प्राधिकरणका अध्यक्षसमेत रहनुभएका मन्त्री खड्काको स्वागतमा आज नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको ‘बधाई तथा स्वागत’ कार्यक्रममा उहाँले हिउँदमा कममात्रामा विद्युत् हुँदा समस्या भएको भन्दै बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो ।
“किन हिँउद याममा विद्युत् पुग्दैन, यसको समस्या समाधानका लागि प्राधिकरणले केकस्ता योजना र कार्यक्रम अगाडि सारेको छ ?, हिँउद याममा बिजुली पु¥याउनेगरी प्राधिकरणले योजना बनाएर कार्यान्वय गर्नुपर्छ”, ऊर्जामन्त्री खड्काले भन्नुभयो । प्रभावकारी योजना बनाएर अगाडि बढ्दा मन्त्रालयले सदैव सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
‘डेडिकेटेड’ र ‘ट्रङक लाइन’ का विषयमा देखिएको विवादका बारेमा ऊर्जामन्त्री खड्काले भन्नुभयो, “व्यवसायीले प्रयोग गरेको बिजुली भुक्तानी गर्नुपर्छ, प्राधिकरणले व्यवसायीलाई अनावश्यक दुःख दिनुहुँदैन ।” सबै नागरिक र उद्योगीको घरमा २४सै घण्टा विद्युत् पु¥याउनुपर्ने बताउँदै विद्युत् उत्पादन र वितरणका क्रममा देखिएका समस्या समाधानमा मन्त्रालय लाग्ने उहाँले उल्लेख गर्नुभयो ।
ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्र नेपालका लागि महत्वपूर्ण भएकाले यसको विकासमा लाग्न सम्पूर्ण कर्मचारीलाई निर्देशनसमेत दिनुभयो । “मन्त्रीलाई सफल बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका रहन्छ, लामो अनुभव भएका तपाईंहरुले उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दा विद्युत् क्षेत्रको विकासमा सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।
ऊर्जामन्त्री खड्काले अबको १० वर्षमा १० हजार मेगावाट होइन २० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य प्राधिकरणले राख्नुपर्नेमा जोड दिनुभयो ।
जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माले नेपालमा ऊर्जा क्षेत्रले ठूलो फड्को मारेको बताउनुभयो । बिजुली जाँदैन भन्ने विश्वास आमनागरिक र उद्योगी व्यवसायीलाई दिलाउन जरुरी रहेकामा उहाँले जोड दिनुभयो । सचिव शर्माले १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्ने सम्झौता भइसकेकाले सोहीअनुसार प्राधिकरणले काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल देशभर तीन हजार एक सय ५७ मेगावाट विद्युत् उत्पादन भएको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो एक वर्षमा चार सय ६३ मेगावाट बिजुली थपिएको छ । उहाँले पछिल्लो समय प्रत्येक वर्ष नेपाल विद्युत् प्राधिकरण १० देखि १२ अर्ब नाफामा जाने गरेको बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरण आधिकारिक ट्रेड युनियनका अध्यक्ष जनार्दन भट्टराईले प्राधिकरणलाई अगाडि बढाई देशको आर्थिक विकास गर्नका लागि यहाँभित्रका कर्मचारीको समस्या समाधान हुनुपर्ने बताउनुभएको थियो ।
वर्षाले सडक बन्द भएपछि सुनसान बने घरबास
ढोरपाटन (बागलुङ), ४ साउन I वर्षाले बाटो बन्द हुँदा बागलुङमा सञ्चालित घरबास (होमस्टे) सुनसान बनेका छन् । असार दोस्रो सातापछिको निरन्तर वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भएसँगै घरबासमा पाहुनको आगमन नहुँदा सुनसान बनेका हुन् ।
हिउँदको समयमा बढी चहलपहल हुने घरबासमा यति बेला पाहुनाको सङ्ख्या शून्य छ । जिल्लाका ग्रामीण क्षेत्रमा घरबास बढी सञ्चालनमा छन् । अधिकांश घरबासमा पुग्ने सडक बाढी र पहिरोले ठप्प भएका छन् । वर्षाका कारण अवरुद्ध भएका ग्रामीण सडक असोज पछाडि मात्रै खुल्छन् ।
अधिकांश सडक कच्ची भएको हुँदा यात्रा गर्नसमेत असहज हुने हुँदा पाहुन घरबासमा पुग्न चाहँदैनन् । वर्षाले सडक तथा पदमार्ग हिलाम्मे बन्दा घरबाससँगै पर्यटकीयस्थल सुनसान भएका बागलुङ नगरपालिका–१० भकुण्डेका अतिथी सत्कार होमस्टे सञ्चालक यामबहादुर थापा मगरले बताउनुभयो ।
“जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको भकुण्डेमा पनि पर्यटक पुग्न सकेका छैनन् । घरबासमा पाहुन आउनछोडेपछि सञ्चालक खेतबारीको काममा व्यस्त छन् । सडक नियमित सञ्चालन नहुँदासम्म गाउँमा पाहुन आउने अवस्था रहँदैन”, उहाँले भन्नुभयो ।
जेठ अन्तिम सातासम्म फाट्टफुट्ट पर्यटक पुगे पनि अहिले शून्य भएको मगरले बताउनुभयो । आन्तरिकसँगै विदेशी पर्यटकसम्म यहाँ आउने गरेका सुजनउन्दै वर्षाले सडक बिगारेपछि अहिले कोही पनि नआएका उहाँको भनाइ छ ।
हिउँदमा मासिक करिब दुई हजारदेखि तीन हजारसम्मको सङ्ख्यामा पाहुन भकुण्डे पुग्ने गरेका थापाले जानकारी दिनुभयो । “वर्खामा गाउँसम्म पुग्ने बाटो ठाउँठाउँमा अवरुद्ध हुने गरेको छ । करिब दुई÷तीन महिना यहाँका घरबास र पर्यटकीय क्षेत्र खाली हुन्छन् । पदमार्ग र पूर्वाधारको अवस्थाका कारण असार लागेपछि पाहुनको सङ्ख्या शून्य भएको हो”, उहाँले भन्नुभयो ।
काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबासमा पनि असार लागेपछि पाहुना पुग्न छोडेका छन् । बागलुङ बजारबाट पश्चिममा पर्ने यो घरबासमा हिउँदका बेला मासिक दुई हजारदेखि तीन हजारसम्म पाहुन आउने गरेकामा अहिले सुनसान रहेको बेलढुङ्गा सामुदायिक घरबासकी सचिव माया घर्ती पुनले बताउनुभयो । असोज लागेपछि मात्रै पर्यटकको आगमन बढ्ने उहाँले उल्लेख गर्नुभयो ।
वर्षाका कारण बेलढुङ्गासम्म पुग्ने सडकको विभिन्न स्थानमा पहिरो जाँदा गाडी सञ्चालन हुन नसकेको घर्तीले बताउनुभयो । पर्यटक आउन छोडेपछि अधिकांश अहिले आलु खन्ने, कोदो रोप्ने र पशुपालनमा व्यस्त रहेका छन् ।
“यो ‘अफसिजन’ भयो, सडकको अवस्था गतिलो छैन, बजारबाट आउँदा पनि धेरै ठाउँमा गाडी अड्किने, ठाउँ–ठाउँमा फस्ने हुँदा यहाँ आउन चाहने पनि बीच बाटोबाटै फर्किनु हुन्छ, राज्यले कम्तिमा गाउँमा आउने सडकस्तरीय बनाइदिए बाह्रै महिना पाहुन भित्र्याउन सक्थ्यौँ”, उहाँले भन्नुभयो, “अब आउन दसैँतिहारको बेला पहुना आउनुहुन्छ ।”