‘वर्तमान सत्ता समिकरण २०८४ सालसम्म कायम रहन्छ’
जनकपुर, ३ साउन I नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समिकरण आगामी २०८४ सालसम्म कायम रहने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले वर्तमान सरकारलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । मधेश प्रदेश सरकारमा सहभागिताबारे उहाँले भन्नुभयो, “मन्त्रालय ठूलो कुरा होइन, मिलेर समस्या समाधान गरेर जानुपर्छ ।”
पीडितलाई न्याय महसुस हुनेगरी कार्यसम्पादन गर्नेछु : महान्यायाधिवक्ता बडाल
काठमाडौँ, ३ साउन I नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले संविधान र कानुनको दायरमा रहेर पीडितलाई न्याय महसुस हुनेगरी कार्यसम्पदान गर्ने बताउनुभएको छ । उहाँले आज पदवहालीका क्रममा संविधान र कानुनले निदृष्ट गरेका अधिकार पालना गर्दै पीडितलाई न्याय हुनेगरी कार्यसम्पादन गर्ने बताउनुभयो ।
“पीडितलाई न्याय दिने दायित्व यस कार्यालयको हो, संवैधानिक दायराभित्र रहेर आफ्नो दायित्व पूरा गर्नेछौँ”, महान्यायाधिवक्ता बडालले भन्नुभयो, “मुद्दाको अभियोजन गर्दा दोषी व्यक्तिलाई मात्र गर्ने गर्छौँ ।” उहाँले सरकारी वकिललाई पहिलो न्यायाधीश मानिने भएकाले मुद्दाको राम्रो अध्ययन गरेर अघि बढ्न सुझाव दिनुभयो ।
महान्यायाधिवक्ता कार्यालयले अभियोजन र सरकारलाई उचित कानुनी सल्लाह दिने, सरकारलाई परेको मुद्दाको प्रतिरक्षा गर्नेलगायत काम गर्ने भएकाले आफूले संवैधानिक दायित्व पूरा गर्ने बडालले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बिगो प्रणालीमा मापदण्ड निर्धारण गरी क्षतिपूर्ति निर्धारण गर्ने विषयमा छलफल गर्ने र अभियोजनमा एकरुपता ल्याई अदालतलाई न्याय प्रदान गर्ने काममा सबैबाट सहयोग पाउने विश्वाससमेत व्यक्त गर्नुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाललाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा बुधबार राष्ट्रपतिले सरकारको कानुनी सल्लाहकारका रूपमा बडाललाई नियुक्त गर्नुभएको थियो । यसअघि, बडाल छोटोे समयका लागि महान्यायाधिवक्ता हुनुभएको थियोे ।
महान्यायाधिवक्ता वडालद्वारा शपथग्रहण
काठमाडौ, ३ साउन I राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महान्यायाधिवक्ता रमेश वडाललाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ ।
शीतल निवासमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले महान्यायाधिवक्ता वडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थित रहेको थियोे ।
सरकारको कानुनी सल्लाहकारका रूपमा वडाललाई प्रधानमन्त्रीको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको थियो ।
शेयर बजारमा उछाल
काठमाडौँ, ३ साउन I धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ६० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ६८ प्रतिशतले उकालो लागेर दुई हजार चार सय २४ दशमलव ३२ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव ३७ अङ्कले उकालो लागेर चार सय ३६ दशमलव १४ मा पुगेको छ ।
नेप्सेका अनुसार कुल तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता शेयर रु १८ अर्ब ५४ करोड ८८ लाख सात सय ३८ मा कारोबार भयो । नेपाल इन्भेष्टमेन्ट मेघा बैँक, नेपाल फाइनान्स लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तिय संस्था तथा थ्रि स्टार हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा दश प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।
यस्तै, कुमारी सबल योजना पाँच दशमलव ७६, सिन्धु विकास बैँक चार दशमलव ५७, गुहेश्वरी मर्चेन्ट चार दशमलव २२, एनसिसी डिवेञ्चर तीन दशमलव ९३ र श्री इनभेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले तीन दशमलव ९० प्रतिशतले गुमाए ।
डेङ्गीको आशङ्का लागेमा ११८० मा फोन गर्न कामपाको आग्रह
काठमाडौँ, ३ साउन I काठमाडौँ महानगरपालिकाले डेङ्गी लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।
परामर्श सेवाका लागि कामपाले निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेङ्गीसम्बन्धी स्रोतव्यक्ति (फोकलपर्सन) ऋषि भुसालले जानकारी दिनुभयो । उहाँले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गर्नुभयो ।
कामपाले उक्त सङ्क्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाइएको फोकलपर्सन भुसालले जानकारी दिनुभयो ।
“डेङ्गी सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्ने भएकाले यससम्बन्धी समुदायलाई जानकारी दिनु अभियानको मुख्य काम हो”, उहाँले भन्नुभयो । रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गर्नुभयो ।
डेङ्गीको मुख्य लक्षण
डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्ने कामपाको डेङ्गीसम्बन्धी फोकलपर्सन भुसालले बताउनुभयो ।
“टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने हुन्छ”, उहाँले भन्नुभयो, “एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्छ ।”
यसबाट बच्ने तरिका
डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने जस्ता ककाम गर्नुपर्छ ।
अष्ट्रेलियामा बेरोजगारी दर वृद्वि, जून महिनामा बढेर ४.१ प्रतिशत
क्यानबेरा(अष्ट्रेलिया),३ साउन I अष्ट्रेलियाको बेरोजगारी दर जून महिनामा बढेर ४.१ प्रतिशत पुगेको छ । यस अघि मे महिनामा बेरोजगारी दर ४.० प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्क अनुसार गत मे – जुन महिनाको बिचमा कार्यरत अस्ट्रेलियालीको सङ्ख्या ५० हजार २०० ले बढेको थियो । सोही अवधिमा बेरोजगार अस्ट्रेलियालीको सङ्ख्या पनि नौ हजार ७०० ले बढ्दा बेरोजगारीदर वृद्वि भएको हो ।
सहभागिता दरले काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात मापन गर्दछ, । जसको सङ्ख्या मे महिनामा ६६.८ प्रतिशतबाट बढेर जूनमा ६६.९ प्रतिशत पुगेको छ । जुन महिनामा सहभागिता दर सन् २०२३ नोभेम्बरमा ६७.० प्रतिशतको ऐतिहासिक उच्च भन्दा ०.१ प्रतिशत मात्र कम रहेको एबीएसका श्रम तथ्याङ्क प्रमुख ब्योर्न जार्विसले विज्ञप्ति मार्फत उल्लेख गर्नु भयो ।
समग्रमा अस्ट्रेलियामा छ लाख आठ हजार २०० बेरोजगार व्यक्तिहरू जुन महिनामा सक्रिय रूपमा काम खोज्दै गरेको जार्विसले जनाउनु भयो । यसै गरी बेरोजगारहरु सन् २०२२ अक्टोबरमा चार लाख एक हजारले बढेता पनि कोभिड–१९ महामारीको तुलनामा एक लाख मानिस कम रहेको उहाँले उल्लेख गर्नु भयो ।
बेरोजगारी दर गत वर्ष जुन महिनाको तुलनामा ०.५ प्रतिशत बढी र सन् २०२० मार्च को तुलनामा १.१ प्रतिशतले कम रहेको उहाँले जनाउनु भएको छ । एबीएसको तथ्याङ्क अनुसार अस्ट्रेलियालीले काम गर्ने घण्टाको सङ्ख्या मे –जुन महिनाको बिचमा ०.८ प्रतिशतले बढेको छ । बिरामी भएकाले ४.५ प्रतिशत अष्ट्रेलियालील जून माहिनामा सामान्य समयको जस्तो काम गर्न नसकेको जार्विसले बताउनु भएको छ । -रासस/सिन्ह्वा
गोरखा–आरुघाट सडक अवरुद्ध
गोरखा, ३ साउनः गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ ।
भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
गत वर्ष निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति पुर्याएको हो । भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ पनि बगाएको छ । पुल भत्किएपछि बेनिघाट–आरुघाट सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।
“सडक अवरुद्ध हुँदा काठमाडौँबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधान चल्न सकेका छैनन्, वडाधयक्ष श्रेष्ठले भन्नुभयो, “सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न गर्न असहज भएको छ ।”
प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा ७७ जनाको मृत्यु
बेलबारी (मोरङ), ३ साउन I प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ ।
प्रदेशका विभिन्न एक सय १७ स्थानमा बाढीमा परी २२ जनाको निधन भएको छ भने २४ जना व्यक्ति घाइते भएका कोशी प्रदेश प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिनुभयो । यसैगरी प्रदेशका विभिन्न एक हजार सात सय ३१ स्थानमा भएका आगलागीका घटनामा २० जनाले ज्यान गुमाएका र एक सय ३४ जना घाइते हुनुभएका छन् ।
प्रवक्ता दाहालका अनुसार जङ्गली जनावरको आक्रमणबाट १३ जनाको मृत्यु भएको तथा ५७ जना घाइते भएका, चट्याङ लागेर १३ जनाले ज्यान गुमाएका तथा ३६ जना घाइते भएका , चार सय ९६ स्थानमा पहिरो खस्दा नौजना पुरिएका र २० जना घाइते भएका छन् । एक वर्षमा प्रदेशभर सात हजार नौ सय आठवटा चौपाया मरेका घटना अभिलेखीकरण भएका छन् ।
व्यावसायिक बङ्गुरपालनबाट आकर्षक आम्दानी गर्दै सुगम
भोजपुर, ३ साउन I यहाँका केही युवाले व्यावसायिक रूपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक हुनुहुन्छ । उहाँ व्यावसायिक बङ्गुरपालन र फलफूलखेतीमा जुट्नुभएको छ ।
उद्यमी राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक बङ्गुरपालन, कागती, एभोकाडो, आँप, अनार, लिचीलगायत खेती गर्दै आउनुभएको छ ।
बङ्गुर फार्मबाट उत्पादन हुने मलको सदुपयोग गर्ने लक्ष्यले बङ्गुरपालनसँगै फलफूलखेती गरिरहेको उहाँले बताउनुभयो । व्यवसायी राईको फार्ममा अहिले ४१ वटा बङ्गुर छन् ।
भविष्यमा बङ्गुरपालन तथा फलफूलखेतीबाट वार्षिक रु ५० देखि ६० लाखसम्म कारोबार गर्ने लक्ष्यका साथ थप विस्तारमा जुटेको उहाँले बताउनुभयो । विदेशमा सात वर्ष बिताउनुभएका राईले त्यहाँ सिकेको सीपलाई सदुपयोग गर्दै व्यावसायिक कृषिमा जुटेको बताउनुभयो । “वार्षिक रु १२ देखि १५ लाखसम्म कारोबार हुन्छ । त्यसबाट खर्च कटाउँदा वार्षिक रु आठदेखि १० लाखसम्म आम्दानी हुन्छ ।”
स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उहाँ बताउनुहुन्छ । आफ्नो फार्ममा उत्पादन भएका बङ्गुर खरिद गर्न ठेकेदार घरमा आउने उहाँले बताउनुभयो । फार्ममा स्थानीय जातसँगै उन्नत जातका हेमसार, धराने कालो बङ्गुरलगायत पालन गरिरहेको उहाँले बताउनुभयो । फार्ममा एक सय २० केजीदेखि एक सय ५० केजीसम्मको बङ्गुर छन् । “बङ्गुर बिक्रीको कुनै समस्या छैन”, उहाँले भन्नुभयो, “ धरान, विराटनगरबाट ठेकेदार नै आउँछन् । मागलाई धान्न धौ धौ छ । यो व्यवसायलाई अझ विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छु ।”
कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको व्यवसायी राईले बताउनुभयो । उहाँलाई व्यवसायमा घरपरिवारले सहयोग गर्दै आएका छन् । व्यावसायिक कृषि कर्ममा लाग्ने किसानलाई राज्यले पनि आवश्यक सहयोग गर्नुपर्ने उहाँको धारणा छ । बङ्गुरपालन, फलफूल तथा तरकारीखेतीमा आफूले जानेको सीप अन्य किसानलाई सिकाउँदै आएको व्यवसायी राई बताउनुहुन्छ ।
भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप
फुङ्लिङ (ताप्लेजुङ), ३ साउन I जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो । प्रतियोगितामा प्रथम हुने टोलीले रु तीन लाख ११ हजार एक सय ११ र उपविजेताले रु एक लाख ११ हजार एक सय ११ प्रदान गरिने छ ।