कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
काठमाडौँ, ३० असार I हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही स्थानमा मेघगर्जन र चट्यङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरोको क्षतिबाट बच्न विभागले अनुरोध गरेको छ ।
नयाँ प्रधानमन्त्रीको नियुक्ति आज र शपथ सोमबार
कठमाडौँ, ३० असार I राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति आज गर्नुहुने भएको छ । उहाँले नयाँ सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउनुुहुने उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि भोलि असार ३० अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान भएको गर्नुभएको थियो ।
सो आह्वानअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आज साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नुहुनेछ । त्यस्तै आज समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने प्रेस सल्लाहकार पोखरेलले बताउनुभयो ।
प्रदेश खेलकुद विकास बोर्डले खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्ने
मोरङ, २९ असार I कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका दुई सय खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान एवं पुरस्कृत गर्ने भएको छ ।
बोर्डद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा असार ३० गते अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियेगिता र १४औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडी, सम्बन्धित खेलका प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गर्ने जानकारी दिइयो ।
बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले आफूले नेतृत्व पाएको दुई महिनामा १० वटा प्रदेशस्तरीय खेलकुद विभिन्न जिल्लामा सम्पन्न गरेको जानकारी दिनुभयो । उहाँले आगामी वर्ष खेलकुदको वार्षिक पात्रोअनुसार नियमित खेलकुद प्रतियोगिता आयोजना गर्नुका साथै ३० वटा खेलकुद प्रतियोगिता प्रदेशका विभिन्न जिल्लामा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दलहरूलाई कमजोर बनाएर लोकतन्त्र र मानवअधिकारलाई बलियो बनाउन सकिँदैनः महासचिव पोखरेल
पाटन (ललितपुर), २९ असार I नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र र मानवअधिकारलाई बलियो बनाउन नसकिने बताउनुभएको छ ।
ललितपुरको खोकनामा आज आयोजित राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स)को २५औँ स्थापना दिवस समारोहमा उहाँले राजनीतिक दल कमजोर भएमा लोकतन्त्र, मानवअधिकार र जनअधिकार सुनिश्चित हुन नसक्ने बताउनुभयो । “राज्यलाई बलियो बनाउने शक्ति राजनीतिक दल नै हुन्, बलियो राजनीतिक दल नै स्थिरता र स्थायित्वका आधार हुन् । त्यसैले दलहरूलाई कमजोर बनाएर मानवअधिकारको रक्षा र आर्थिक समृद्धि हासिल हुन सक्दैन”, महासचिव पोखरेलले भन्नुभयो । उहाँले जनतालाई संरक्षण प्रदान गर्न पनि राज्य र राजनीतिक दल बलियो हुनुपर्ने जिकिर गर्नुभयो ।
एमाले नेता एवं पूर्वमन्त्री भानुभक्त ढकालले समाजमा व्यवस्था परिवर्तन भएसँगै मानवअधिकारका व्यवस्था पनि परिवर्तन हुँदै आएको बताउनुभयो । मानवअधिकार एलाइन्सका इन्चार्ज घनश्याम पाण्डेले नागरिकका आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय हकलाई स्थापित गर्न एलाइन्सले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
एमाले केन्द्रीय सदस्य तथा ललितपुर महानगर इन्चार्ज बाबुराम थापाले मानवअधिकार शान्तिको अभिन्न अङ्ग पनि भएकाले यसलाई थप प्रभावकारी बनाइनुपर्ने बताउनुभयो । एलाइन्सका संस्थापक गङ्गा कसजूले हरेक क्षेत्रमा मानवअधिकार स्थापित गर्न संस्थाले नागरिकको तर्फबाट गम्भीरतापूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेशका एक सय ७८ खेलाडी पुरस्कृत
कास्की, २९ असार I गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियस्तरका विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई आज नगदसहित पुरस्कृत गरिएको छ । प्रदेश खेलकुद परिषद्ले यहाँबाट सहभागिता जनाएर विभिन्न प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक तथा प्रथम, द्वितीय र तृतीय बनेका प्रदेशका एक सय ७८ खेलाडीलाई पुरस्कृत गरेको हो ।
चालु आर्थिक वर्षमा आयोजना गरिएको बागमती प्रदेशस्तरीय प्रतियोगिता, १४औँ राष्ट्रपति रनिङ शिल्ड र यु–१५ विद्यालयस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीले पुरस्कार पाएका हुन् ।
खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषद्का संरक्षक सुरेन्द्रराज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापा, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल र सदस्यसचिव श्रीधर शर्मालगायतले खेलाडीलाई पुरस्कार वितरण तथा सम्मान गर्नुभयो ।
पुरस्कृत हुने खेलाडीमध्ये ‘व्यक्तिगत इभेन्ट’तर्फ स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमशः नगद रु सात हजार, पाँच हजार र रु तीन हजारका दरले पुरस्कृत गरिएको हो । यसैगरी ‘टिम गेम्स’तर्फका विजेता खेलाडीलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजार प्रदान गरिएको थियो ।
त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार खेलकुद विकासका लागि लगानी बढाउन प्रतिबद्ध रहेको बताउनुभयो । “सीमित स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै खेलकुदको जग बलियो बनाउन गण्डकी प्रदेश सरकार अघि बढेको छ, खेलकुदमा अधिकतम लगानी गर्दै खेलाडीलाई प्रोत्साहन गर्न हामी प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो,“खेलकुद क्षेत्रबाट अझै पनि जीविकोपार्जनका विषयमा थुप्रै प्रश्नहरू छन् । खेलाडीले खेल खेलेर जीवन धान्ने अवस्था बनाउन सबैको प्रयत्न आवश्यक छ, यसमा प्रदेश सरकारले योगदान गर्छ ।”
सामाजिक तथा स्वास्थ्यमन्त्री थापाले खेलकुदमा भविष्य छ भन्ने सुनिश्चित गर्न तीनै तहका सरकार खेलकुद विकासमा अघि बढेको बताउनुभयो । “खेलकुद अनुशासित क्षेत्र हो । यसले सौहार्दताका साथै राष्ट्रको गरिमा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । मन्त्रालय खेलाडीहरूको मनोबल बढाउन र खेल क्षेत्रको विकासका लागि थप प्रतिबद्ध भएर लाग्नेछ”, उहाँले भन्नुभयो ।
जसपाको वडा समिति गठन
धरान, २९ असार । जनता समाजवादी पार्टीको धरान उपमहानगरपालिका वडा नं. १५ मा वडा समिति गठन भएको छ । नविन राईको अध्यक्षतामा २३ सदस्यीय वडा समिति गठन भएको हो । वडा समितिको उपाध्यक्षमा प्रदीप राई, सचिवमा सुदिप राई, सहसचिवमा दिपेश राई र कोषाध्यक्षमा कुमारी भुजेल चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा इन्द्र बहादुर राई, ललिता हुक्पा चोङवाङ, सहदेव राई, प्रेम गिरी,नारायण लिम्बु, खेम वि.क.,दिपेश राई, हरी मुकेश रसाइली, वावुराम गुरुङ्ग, हेम राज आले, कुईन्द्र लिम्बु, भक्त ताम्ली,धमेन्द्र राई, कृष्ण तामाङ्ग, पूर्ण वि.क.,इन्द्र बहादुर मगर र सिता वि.क.लगायत चयन भएको जसपा धरान उपमहानगर समिति सदस्य मिलन राईले जानकारी गरेकाछन् ।
वडा समिति गठन कार्यक्रम जनता समाजवादी पार्टी धरान उपमहानगर समितिको कार्यालय धरान ३ वसुन्धरा भवनमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा पार्टीका केन्द्रीय समिति सदस्य भीम राई, १ नं. प्रदेश समिति सचिव राम माण्डुपा, किरात राष्ट्रिय समिति सदस्य सिता राई,जिल्ला समिति बाट कृष्ण कुमार राई, हरी बान्तावा साथै जसपा धरान नगर अध्यक्ष नगेन्द्र पारघरी लिम्बु, सचिव शम्भु पृथक् राई, सहसचिव रञ्जित राई लगायतको उपस्थिति रहेको थियो ।
चयन भएका नयाँ समितिलाई जसपा धरान नगर अध्यक्ष नगेन्द्र पारघरी लिम्बुले शपथ ग्रहण गराए पश्चात् कार्यक्रम समापन भएको थियो ।
मन्त्री छनोटका लागि मापदण्ड बनाउने कांग्रेस कार्यसम्पादन समितिको निर्णय
काठमाडौँ, २९ असार I नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले नयाँ बन्ने सरकारमा पठाउने मन्त्रीहरू छनोटका लागि मापदण्ड बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री छनोटका लागि मापदण्ड बनाउने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । भौगोलिक, प्रादेशिक एवं समावेशी सन्तुलन, योग्यता र योगदानलाई आधार मानेर मन्त्री छनोटको मापदण्ड तय गरिने उहाँले बताउनुभयो ।
कुन मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा कांग्रेसले गृहकार्य गरिरहेको छ । प्रधानमन्त्रीको शपथग्रहणसँगै मन्त्रीले पनि शपथग्रहण गर्नेगरी तयारी भइरहेको कांग्रेसले जनाएको छ ।
बैठकले आगामी सरकारमा सहभागी हुने औपचारिक निर्णयसमेत गरेको पार्टी प्रवक्ता डा महतले जानकारी दिनुभयो । यसैगरी शुक्रबार बिहान चितवनमा भएको बस दुर्घटनामा परी बेपत्ता भइरहेकाहरूको छिटो खोजी गर्न पनि बैठकले सरकारसँग माग गरेको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार बेलुकासम्म प्रधानमन्त्रीको दाबी पेस गर्न आह्वान गर्नुभएको छ । सोहीअनुसार कांग्रेसको साथ लिएर नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नै प्रधानमन्त्रीका लागि दाबी पेस गरिसक्नुभएको छ ।
सही सूचना नपाउँदा प्रवेश परीक्षाबाट बञ्चित भए विद्यार्थी
काठमाडौँ, २९ असार I माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले दुई वटा सूचना प्रकाशित गरेपछि कक्षा ११ को प्रवेश परीक्षाबाट केही विद्यार्थी बञ्चित भएका छन् ।
कलेजको सुरुमा प्रकाशित गरेको सूचनाका आधारमा विद्यार्थीहरु आज बिहान ७ः१५ बजे कलेज परिसर पुगेका थिए । तर कलेजले उक्त परीक्षा शुक्रबार नै सम्पन्न भइसकेको जानकारी गराएको थियो ।
कञ्चनपुरबाट प्रवेश परीक्षा दिन आएका आर्थिक रानाका पिता कृपाराम रानाले भन्नुभयो, “प्रवेश परीक्षा लिन भनेर हामीसँग रु एक सय ५० का दरले रकम उठाइएको थियो तर अहिले आएर परीक्षा दिनबाट बञ्चित गराइयो ।” विद्यार्थी प्रियङ्का ओझाका पिता विपिन ओझाले पनि उक्त कलेजको लापरबाहीका कारण आफूहरुले दुःख पाएको गुनासो गर्नुभयो ।
कलेजले कक्षा ११ मा भर्नाका लागि विभिन्न १० स्थानका लागि आवेदन मागेकामा करिब साढे दुई लाख विद्यार्थीले फाराम भरेका थिए । कलेजले सुरुको सूचनामा पाँच स्थानमा शुक्रबार र पाँच स्थानमा शनिबार परीक्षा सञ्चालन हुने उल्लेख गरेको थियो । तर पछि तालिका परिवर्तन गरेकाले शनिबारका लागि तयारी गरेका विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका हुन् ।
दार्चुलाका विद्यार्थी रश्मी साउदले काठमाडौँ आएर पनि परीक्षा दिन नपाउँदा दुःख लागेको बताउनुभयो । कलेजका प्रिन्सिपल फादर डा अगुस्टिन थोमस एसजेसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले कलेजको फरक–फरक सूचनाका कारण विद्यार्थीहरु प्रवेश परीक्षाबाट वञ्चित भएका हुन् भने दुःखद् भएको र यसबारे कलेज जवाफदेहिता हुनुपर्ने तर्क गर्नुभयो ।
प्रसूति केन्द्र बन्द भएपछि स्थानीयलाई समस्या
बैतडी, २९ असार I बैतडीको पञ्चेश्वर गाउँपालिकामा सञ्चालित बर्थिङ सेन्टर (प्रसूति केन्द्र) बन्द हुँदा स्थानीयलाई समस्या भएको छ । पालिकाले बजेट अभावको कारण देखाउँदै यहाँका आम्चोरा, रोडीदेवल र वडा नं १ मा गरी चारवटा केन्द्र बन्द गरेपछि समस्या भएको हो ।
स्वास्थ्यचौकीबाट टाढा रहेका बस्तीलाई लक्षित गरी सञ्चालन गरिएका केन्द्र बन्द गरिएपछि समस्या भएको स्थानीयवासीले बताएका छन् । स्वास्थ्यजस्तो संवदेनशील क्षेत्रमा सेवा विस्तार गर्नुपर्नेमा भएकै सेवा बन्द गरिनु दुखद् भएको स्थानीय कलावती चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमै सुविधासम्पन्न प्रसूति सेवा विस्तार गर्नुपर्ने हो तर भएकै सेवा पनि बन्द गराउनु दुःखको कुरा हो । यसले स्वास्थ्यप्रति गाउँपालिका गम्भीर छैन भन्ने प्रष्ट हुन्छ ।”
गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले भने स्वास्थ्यचौकीबाट गुणस्तरीय सेवा प्रदान गरिने योजनाअनुसार अन्य स्थानमा रहेका प्रसूति केन्द्र बन्द गरिएका बताउनुभयो । सबै वडामा सडकको पहुँच पुगिसकेकाले गर्भवतीलाई समस्या नहुने उहाँले भन्नुभयो । “गाउँपालिकाभित्रका स्वास्थ्यचौकीमा गुणस्तरीय सेवा दिने वातावरण बनाइने योजनासहित अगाडि बढेका छौँ । अर्कोतर्फ बजेट अभाव भएपछि जनशक्ति खटाउन नसकिने अवस्था आएकाले ती केन्द्र बन्द गर्न भनिएको हो”, अध्यक्ष चन्दले भन्नुभयो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसागर शाहले पनि बजेट अभावका कारण ती केन्द्र बन्द गरिएका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एउटा केन्द्रमा दुई अनमी र एक सहयोगी राख्नुपर्ने भएकाले बजेट अभाव हुँदा समस्या भयो । त्यसैमा स्वास्थ्यतर्फको बजेट रु ३३ लाखबाट घटाएर रु २० लाखमात्र विनियोजन गरिएकाले ती केन्द्र बन्द गर्न बाध्य भएका हौँ ।”
यहाँ छवटा स्वास्थ्यचौकीबाहेक थप चार स्थानबाट प्रसूति सेवा प्रदान हुँदै आएको थियो । गाउँपालिकाका सबै ठाउँमा सडकको पहुँच पुगिसकेकाले अब गर्भवती महिलालाई एम्बुलेन्समार्फत नजिकको स्वास्थ्य संस्थामा ल्याएर प्रसूति सेवा दिइने योजना रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले बताउनुभयो ।
मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई
काठमाडौँ, २९ असार I नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी हुने निर्णय गरेको छ ।
पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको पार्टीका सचेतक रामप्रकाश चौधरीले राससलाई जानकारी दिनुभयो ।
सोही बैठकले बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन सरकार र राजनीतिक दललाई आग्रह गरेको छ । बैठकले पहिराका कारण त्रिशूली नदीमा खसेर बेपत्ता भएको दुईवटा बसको खोजी चुस्त बनाउन सरकारको ध्यानाकर्षणसमेत गराएको उहाँले जानकारी दिनुभयो ।