बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J2MY7BYMDR1PDN97YSFN41BH.jpg

कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

ढोरपाटन (बागलुङ), २९ असार I कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध छ । यही असार २६ गतेको भारी वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेपछि कोरिडोर  अवरुद्ध भएको हो । 

कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै पहिरोले भासिएको छ । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सीधा यातायात विच्छेद भएको छ । असार २१ गतेको खसको पहिरोले सडक भासिएपछि पाँच दिनसम्म अवरुद्ध बनेको कोरिडोर असार २६ गते करिब तीन घन्टा सञ्चालनमा आएको थियो । सडक मर्मतका लागि मेसिन र कामदार खटाए पनि वर्षाका कारण काम गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक वसन्त भुजेलले जानकारी दिनुभयो । अवरुद्ध सडक खुलाउन प्रयास गरिए पनि वर्षाले हालसम्म सञ्चालनमा ल्याउन नसकिएको  उहाँको भनाइ छ । 

कोरिडोरबाहेक जिल्लाका अन्य सडक सञ्चालनमा रहेका प्रहरी निरीक्षक भुजेल बताउनुहुन्छ । उहाँले भन्नुभयो,  “पानी पर्ने बित्तिकै पहिरो खस्छ, पहिराले बगाएको पर्खाल निर्माण गर्न बाँकी छ ।”

कोरिडोर अवरुद्ध सडक सञ्चालनमा नआउँदा दक्षिण बागलुङसँग सीधा यातायात सम्पर्क हुन सकेको छैन । यातायात सञ्चालन नहुँदा यात्रुले सास्ती खेपिरहेका छन् । किसानले उत्पादन गरेको दूध सहज रुपमा बजारमा ल्याउन सकेका छैनन् । बागलुङको जैमिनी क्षेत्रबाट मात्रै दैनिक चार सय लिटर दूध बागलुङ बजारमा ल्याउने भए पनि सडक अवरुद्ध हुँदा पर्वतको कुश्मा हुँदै आउनुपर्ने अवस्था रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । अहिले यात्रु कैयाको झोलुङ्गे पुल र यान्त्रिक पुल तरेर कुश्मा पुगेर आउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

सडक अवरुद्ध हुँदा दूध ढुवानीमा समस्या परेको जैमिनी नगरपालिका–२ का राजन सापकोटाले बताउनुभयो । उहाँले सडक सञ्चालन हुँदा दैनिक रु सात सयमा बागलुङ बजारमा दूध ल्याउने गरेको सुनाउँदै अहिले केबलकारको प्रयोग गर्दै रु दुई हजार तिर्नुपरेको गुनासो पोख्नु भयो । पहिरोले लामो समयसम्म सडक बन्द हुँदा सबैभन्दा बढी मारमा किसान परेका सापकोटाले सुनाउनुभयो ।

“बाटो बन्द भएको धेरै दिन भयो, २६ गते एकैछिन खुल्यो, त्यसपछि फेरि बन्द भयो, यतिका दिनसम्म खुलेको छैन, अझै कति दिन लाग्ने हो ? हामीहरु निकै मारमा प¥यौँ, दूध बजार नलैजाउँभन्दा बिग्रिन्छ, लैजाउँभन्दा बाटो बन्द छ”, उहाँले भन्नुभयो, “अहिले केवलकार तारेर कुश्मा जान्छौँ, कुश्माबाट बल्ल बागलुङ बजारमा दूध ल्याउँछौँ ।”

प्रकाशित मितिः शनिबार, २९ असार २०८१
https://jawaaf.com/storage/01J2MXC8YAK68F824C4QXCE2WP.png

सिमलताल बस दुर्घटना : यात्रुको खोजी पुनः गरिँदै

चितवन, २९ असार I नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरुको खोजी गर्न थालेको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार रातिमा काम गर्न नसकिने भएकाले शुक्रबार साँझ खोजीकार्य रोकिएको थियो । नदीमा पानीको मात्रा बढी भएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या देखिएपछि गए राति खोजीकार्य रोकिएको थियो । 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले सम्भावित सबै स्थानमा हराइरहेका यात्रुको खोजी गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “धमिलो पानीकैबीच खोज र उद्धार थालेका छौँ ।” काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए ।
 
काठमाडौँबाट गौर आउँदै गरेको बसमा २७ तथा वीरगञ्जबाट काठामाडौँतर्फ जाँदै गरेको बसमा सवार २४ यात्रु बेपत्ता भएका प्रजिअ यादवले जानकारी दिनुभयो । उक्त घटनामा तीन यात्रु पौडी खेलेर बाँचेका छन् ।

प्रकाशित मितिः शनिबार, २९ असार २०८१
https://jawaaf.com/storage/01J2KP9XSFBFKFX34VH2GA5VRZ.jpg

राष्ट्रपति पौडेलद्वारा कानुनविद्हरूसँग परामर्श

काठमाडौँ, २८ असार I राष्ट्रपति रामचन्द्र पौडेलले आज कानुनविद्हरूसँग परामर्श  गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएकाले नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा उहाँले संविधान तथा कानुनविद्हरूसँग परामर्श गर्नुभएको हो ।

 सो छलफलमा  कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सीताराम केसीको सहभागिता रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, २८ असार २०८१
https://jawaaf.com/storage/01J2KNM5QCEBTMXHGNK6VV1Z7Q.png

अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने

काठमाडौँ, २८ असार I राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद्  गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोक्नुभएको छ । 

राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानका धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्नेगरी तोक्नुभएको उल्लेख छ ।

“प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाको आजको बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धीको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा सङ्घीय संसद् प्रतिनिधिसभा सभामुखको यही असार २८ गतेको पत्र प्राप्त हुन आएकाले संविधानबमोजिम यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्नेगरी तोक्नुभएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मितिः शुक्रबार, २८ असार २०८१
https://jawaaf.com/storage/01J2KCYZZCA0TB6MDFYBE6WYBT.jpg

प्रधानमन्त्रीद्वारा प्रस्तुत विश्वासको मतको प्रस्ताव अस्वीकृत

काठमाडौँ, २८ असार I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
 
प्रधानमन्त्री दाहालद्वारा नेपालको संविधान २०७२ को धारा १०० को उपधारा (२) बमोजिम प्रस्तुत प्रस्तावमाथि बैठकमा भएको मतदानको परिणाम घोषणा गर्दै सभामुख देवराज घिमिरेले सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतले सो प्रस्ताव अस्वीकृत भएको जानकारी गराउनुभयो । 

मतदानमा कुल दुई सय ५८ सदस्यले भाग लिएकामा प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसदको गरी जम्मा ६३ मत परेको थियो भने विपक्षमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनता समाजवादी पार्टीलगायत दलका गरी एक सय ९४ मत खसेको थियो । मतदानमा एक सदस्य तटस्थ रहनुभएको थियो ।

प्रधानमन्त्रीको विश्वासको मत अस्वीकृत भएसँगै संविधानबमोजिम नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ । यसअघि एमालेसहितका दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहाल संसद्को  आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको हो । 

प्रतिनिधिसभाको अर्को बैठक यही असार ३० गते आइतबार दिउँसो ३ बजे बस्नेछ ।

प्रकाशित मितिः शुक्रबार, २८ असार २०८१
https://jawaaf.com/storage/01J2KC00MXT2F0MZA48HZNGCAT.jpg

चिकित्सकको सिफारिसमा ‘न्युरोलोजिकल’ परीक्षणका लागि अमेरिकी राष्ट्रपति बाइडेन तयार

वासिङ्टन डीसी, २८ असार I सहकर्मी डेमोक्र्याटहरूको पुनः निर्वाचन अभियान समाप्त गर्ने बढ्दो दबाबबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि चिकित्सकले आफ्नो मानसिक स्वास्थ्यको बारेमा आएका चिन्ताहरू सम्बोधन गर्न सुझाब दिएमा ‘न्यूरोलोजिकल परीक्षण गर्न’ तयार रहेको सङ्केत गर्नुभएको छ ।

“म यसको विरोध गर्दिनँ, यदि मेरा चिकित्सकहरूले मलाई अर्को न्युरोलोजिकल जाँच गर्न भनेमा म यो गर्नेछु,” नाटो शिखर सम्मेलनको समापनमा बिहीबार आयोजित उच्चस्तरीय पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो । 

बाइडेनले आफू राष्ट्रपति कार्यालयमा रहँदा तीनपटक मस्तिष्क स्वास्थ्य जाँच गरेको र पछिल्लो पटक फेब्रुअरीमा उक्त जाँच गरेको बताउनुभयो । 

“मैले हरेक दिन लिने निर्णयबाट मेरो न्युरोलोजिकल क्षमताको परीक्षण भइरहेको छ,” उहाँले भन्नुभयो । बिहीबार पत्रकारहरूसँग सम्वाद गर्ने क्रममा राष्ट्रपति बाइडेनले आफू राष्ट्रपति पदको प्रतिष्पर्धाका लागि प्रतिबद्ध रहेको बताउनुभयो । साथै उहाँले एक कमजोर बहस प्रदर्शनपछि राष्ट्रपतिका लागि आफ्नो योग्यताको बारेमा चिन्तित विरोधी र अमेरिकी मतदातासमक्ष आफूलाई पुष्टि गर्न आवश्यक रहेको पनि स्वीकार गर्नुभएको छ । 

जुन २८ मा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सिएनएन बहसपछि नेताहरूले बाइडेनलाई राष्ट्रपति पदको प्रतिष्पर्धाबाट पछि हट्न दबाब दिइरहेका छन् यद्यपि उहाँले पूर्व राष्ट्रपति ट्रम्पलाई हराउने विश्वास व्यक्त गर्नुभएको छ ।-रासस/एएनआई

प्रकाशित मितिः शुक्रबार, २८ असार २०८१
https://jawaaf.com/storage/01J2KB02RJ30RWQVP5ATQSQVVN.jpg

सरकार परिवर्तन स्वाभाविक संसदीय अभ्यास हो: नेता राई

काठमाडौँ, २८ असार  I जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अशोककुमार राईले सरकार परिवर्तन स्वाभाविक संसदीय अभ्यास रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उहाँले विश्वास र अविश्वासको मत सामान्य र संसदीय अभ्यास रहेको बताउनुभएको हो ।   
  
उहाँले आफ्नो पार्टीले प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गर्ने जानकारी गराउनुभयो । “जसपाले विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । अहिले विश्वास अविश्वासमा र अविश्वास विश्वासमा छिटोछिटो परिणत हुने गरेको छ”, उहाँले भन्नुभयो, “विश्वास र अविश्वासबाट मुलुकको राजनीति गुज्रिरहेका बेला सरकार बदलिने कुरा संसदीय अभ्यास हो, यसबाट कोही विचलित हुनुपर्दैन ।”   
  
सांसद राईले नेपाली कांग्रेस र नेकपा (एमाले) ले मुलुकको हितका लागि सहमति गरेको विश्वासका आधारमा समीकरणलाई समर्थन गरेको बताउनुभयो । “संविधान संशोधन गर्नुपर्छ, अझै अग्रगामी किसिमले अगाडि लानुपर्छ, दुई ठूला दलसँग संविधान संशोधनका सवालमा छलफल गर्न तयार छौँ”, उहाँले भन्नुभयो ।  

प्रकाशित मितिः शुक्रबार, २८ असार २०८१
https://jawaaf.com/storage/01J2JTWVR1A42X0JQ377DYFGHS.jpg

संविधानलाई कमजोर बनाउन दिइँन्न : प्रधानमन्त्री

काठमाडौँ, २८ असार I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट निर्मित संविधानमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन नदिने स्पष्ट पार्नुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा आज विश्वासको मत लिने क्रममा उहाँले विश्वासको मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको भन्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने बताउनुभयो । “यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनको जगमा बनेको यो संविधानलाई सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइने छ ।”

प्रकाशित मितिः शुक्रबार, २८ असार २०८१
https://jawaaf.com/storage/01J2JRT5ZTE2RXPE19H1S5RDQK.jpg

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्वीप

काठमाडौँ, २८ असार I राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको छ । रास्वपा संसदीय दलको आजको बैठकले प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा आज प्रस्तुत गर्ने विश्वासको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रमुख सचेतक सन्तोष परियारले  जानकारी दिनुभयो । रास्वपाले पार्टीका सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न निर्देशन दिएको छ ।

प्रकाशित मितिः शुक्रबार, २८ असार २०८१
https://jawaaf.com/storage/01J2JQGC6AS6F97MRCHKAQ6PF1.jpg

धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडाँ, २८असार I प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले बाढीपहिरोका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दैवी विपत्तिबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै ६० जना यात्री बेपत्ता भएको खबरले आफू मर्माहत भएको बताउनुभएको छ ।     
     
बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासनलगायत सरकारका सबै निकायलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।     
     
मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणसम्बन्धी पूर्वतयारीलाई व्यवस्थित तुल्याउन, उद्धार र रातहका निम्ति सहकार्य र समन्वय गर्न सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।

प्रकाशित मितिः शुक्रबार, २८ असार २०८१