चितवन पहिरो : बेपत्ता बस भेटिएन, गोताखोर परिचालन
चितवन, २८ असार I पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ६५ जना सवार रहेको बताइएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताउनुभयो । त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ । अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन् । हालसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी दिनुभयो ।
आज बिहान आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए । प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार काठमाडौँ र वीरगञ्जमा गाडी नम्बर र चलानीको बारेमा बुझ्ने काम भइरहेको छ । यद्यपि वास्तविक विवरण प्राप्त नभइसकेको उहाँले जानकारी दिनुभयो ।
साल्पासिलिछोद्वारा निःशुल्क प्राविधिक शिक्षा
भोजपुर, २८ असार I भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाले विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्ने कार्यक्रम अघि सारेको छ । गाउँपालिकाले कृषि तथा प्राविधिक शिक्षामा जोड दिन प्रत्येक वर्ष छ जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिने भएको हो ।
यो कार्यक्रमअन्तर्गत एक वर्षमा छ जना विद्यार्थीलाई निःशुल्क कृषि तथा अन्य प्राविधिक शिक्षा प्रदान गरिने गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो । विद्यार्थीहरुलाई सानो उमेरमा कृषि तथा प्रविधिसम्बन्धी प्रयोगात्मक ज्ञान प्रदान गर्ने लक्ष्यले यो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष राईले बताउनुभयो ।
कृषि तथा प्रविधि क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यले ‘अध्यक्ष प्राविधिक शिक्षा सहायता कार्यक्रम’ सञ्चालनको लागि बजेट विनियोजना गरेको उहाँको भनाइ छ । “हामीले विद्यार्थीलाई प्राविधिकसँगै व्यवहारिक ज्ञान दिन आवश्यक छ”, अध्यक्ष कुलुङले भन्नुभयो, “उनीहरुलाई प्राविधिक शिक्षा दिने लक्ष्यले विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिने व्यवस्था मिलाएका छौँ । गाउँपालिकाले यहाँ नै प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।”
खास गरेर यो कार्यक्रमअन्तर्गत कृषि र भेटेनेनरी क्षेत्रलाई जोड दिने अध्यक्ष कुलुङको भनाइ छ । उत्पादनको राम्रो सम्भावना भएका क्षेत्रलाई समेटेर कृषकलाई प्रोत्साहनको कार्यक्रमसमेत सञ्चालन भइरहेको अध्यक्ष कुलुङले बताउनुभयो । दक्ष कृषि प्राविधिकको अभावमा किसानलाई कुनै समस्या नहोस् भन्नको लागि गाउँपालिकाले जनशक्ति व्यवस्थापनमा जोड दिएको उहाँको भनाछ । कृषकलाई सहज रुपमा कृषिसम्बन्धी सहायता प्रदान गर्न छवटै वडामा कृषि प्राविधिक राख्ने व्यवस्था मिलाएको अध्यक्ष कुलुङको भनाइ छ ।
गाउँपालिकाले किसानले उत्पादन गरेका वस्तुलाई खरिद गरेर बजारीकरण, भण्डारण तथा बिक्री वितरण गर्ने लक्ष्यले कृषि कोसेली घर निर्माण गर्न लागेको अध्यक्ष कुलुङले बताउनुभयो । किसानले उत्पादन गरेका कृषिउपजलाई गाउँपालिकाले खरिद गरेर बजारीकरणको जिम्मासमेत लिने अध्यक्ष कुलुङको भनाइ छ ।
गाउँपालिकासँगको सहकार्यमा प्रदेश सरकारको रु ३५ लाख लागतमा यहाँ कोसेली घर निर्माण हुने उहाँको भनाइ छ । “कृषकको कृषि उत्पादनको खरिदसँगै बजारीकरणको जिम्मा गाउँपालिकाले लिने लक्ष्यका साथ काम गरिरहेका छौँ”, अध्यक्ष कुलुङले भन्नुभयो, “कृषकले फलाएका उत्पादनलाई कोसेली घरमा भण्डारण गरेर प्याकेजिङ, लेवलिङ ब्रान्डिङलगायतका काम गरेर बजार पठाउँछौँ । यसले किसानको बजारीकरणको समस्या हल गर्नमा केही टेवा पुग्न भन्ने हाम्रो लक्ष्य हो ।”
कृषिमा थप सहजता थप्दै विद्यार्थीमा कृषिको ज्ञान प्रदान गर्ने लक्ष्यले यहाँका बाह्र वटा विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्ले बताउनुभयो । यो कार्यक्रमअन्तर्गत विद्यार्थीलाई आधुनिक कृषि प्रणालीको विषयमा ज्ञान प्रदान गरिँदै आएको उहाँको भनाइ छ ।
“विद्यार्थीमा कृषिको ज्ञान प्रदान गर्नको लागि बाह्र वटा विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, प्रशासकीय अधिकृत काफ्ले भन्नुभयो, “यसले विद्यार्थीमा परम्परागत र आधुनिक कृषि प्रविधिको विषयमा जानकारी लिन सहज हुनेछ । मुख्य रुपमा हामीले कृषिको उत्पादन र बजारीकरणमा जोड दिएका छौँ ।”
प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदै
काठमाडौँ, २८ असार I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका उहाँले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुहुनेछ ।
बैठकले उक्त प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने संसद्को आजको प्रस्तावित कार्यसूचीमा उल्लेख छ । प्रधानमन्त्रीले आफ्नो कार्यकालमा पाँचौँपटक विश्वासको मत लिन लाग्नुभएको हो । पछिल्लोपटक उहाँलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि उहाँले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिनुपरेको हो ।
प्रधानमन्त्रीले आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मतसम्बन्धी प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि सङ्घीय संसद्लाई यसअघि नै लिखित आग्रह गरिसक्नुभएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए ।
ती दलले आलोपालो सरकारको नेतृत्व लिने गरी नयाँ सरकार गठनको सहमति र निर्णय गरेका छन् । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद् तेस्रो ठूलो दल बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । एमालेसहित एक सय ६९ सांसदको समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उहाँले पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा दुई सय ७० जना सांसदमध्ये दुई सय ६८ जनाको मत प्राप्त गर्नुभएको थियो । दुईजना सांसदले विपक्षमा मतदान गर्नुभएको थियो ।
त्यसको झण्डै साढे दुई महिनापछि एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०७९ साल चैत ६ गते दोस्रोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला उहाँलाई प्रतिनिधिसभा बैठकमा उपस्थित दुई सय ६२ सांसदमध्ये कांग्रेससहित एक सय ७२ जनाले विश्वासको मत दिनुभएको थियो भने विपक्षमा ८९ सांसदको मत परेको थियो । एकजना सांसदको तटस्थ मत रहेको थियो ।
प्रधानमन्त्री दाहालले २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाउनुभएपछि तेस्रोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला प्रतिनिधिसभा बैठकमा सहभागी दुई सय ६८ सांसदमध्ये एक सय ५७ जनाले उहाँको पक्षमा मतदान गर्नुभएको थियो । कांग्रेससहित एक सय १० सांसदले भने विपक्षमा मतदान गर्नुभएको थियो । एक मत तटस्थमा परेको थियो ।
त्यसपछि जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०८१ साल जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबीच चौथोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला उहाँको पक्षमा एक सय ५७ सांसदले मत दिनुभएको थियो भने एकजना सांसदले तटस्थ मत जाहेर गर्नुभएको थियो ।
संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा (३) मा उपधारा (१) र (२) बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ । संविधानअनुसार हालको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिकतर्फ एक सय १० गरी कूल दुई सय ७५ सदस्यीय रहेको छ ।
विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको दुई सय ७५ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले ८९, एमालेले ७८, माओवादी केन्द्रले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीले १२, नेकपा (एकीकृत समाजवादी)ले १०, जनमत पार्टीले छ, स्वतन्त्र पाँचजना, लोकतान्त्रिक समाजवादी पार्टीले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा एक–एक सिटमा विजयी भएका थिए ।
डा रुइतलाई श्रीपति समाजसेवा पुरस्कार
कास्की, २७ असार I स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा ख्यातिप्राप्त नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई यस वर्षको ‘श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ ।
पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार दुई सय १७औँ श्रीपति जयन्तीका अवसरमा रुइतलाई प्रदान गर्ने घोषणा गरिएको हो । विसं २०७७ देखि सुरु गरिएको यस पुरस्कारको राशि रु दुई लाख २२ हजार दुई सय २२, श्रीपति समाजसेवा पदक र ताम्रपत्र रहेको छ ।
देश र जनताका लागि विपद्मा उद्धार तथा राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण, मानवीय सेवा र सामुदायिक विकासको क्षेत्रमा क्रियाशील व्यक्तित्व तथा संस्थालाई पुरस्कार प्रदान गरिँदै आएको श्रीपति कोइराला गुठीका सचिव नवराज कोइरालाले जानकारी दिनुभयो ।
“मानवीय सेवाका क्षेत्रमा र विशेषगरी आँखा उपचारमा डा रुइतले गर्नुभएको योगदानको कदर गर्दै यस वर्षको पुरस्कार उहाँलाई प्रदान गर्ने निर्णय गुठीले गरेको हो”, कोइरालाले भन्नुभयो । । गुठीले आगामी साधारणसभामा डा सन्दुकलाई पुरस्कार प्रदान गरिने जनाएको छ ।
पुरस्कृत व्यक्तित्व छनोटका लागि गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाको संयोजकत्वमा समाजसेवी, बुद्धिजीवीसहितका छ सदस्यीय समिति गठन गरेको थियो । छनोट समितिको सिफारिसलाई गुठीको बैठकले अनुमोदनगरी सार्वजनिक गरिएको हो । यसअघि यस पुरस्कारबाट माइती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्मम भवानी नमुना विद्याश्रम र पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भइसकेका छन् ।
पोखराका श्रीपति कोइराला एक सरकारी उच्चपदस्थ कर्मचारी तथा समाजसेवी हुनुहुन्थ्यो । सरकारी जागिरकै सिलसिलामा विसं १९२६ मा उहाँको निधन भएको थियो । कोइरालाको निधनपछि उहाँका सन्तानले सामाजिक कार्यसहित राष्ट्रियस्तरको समाजसेवा पुरस्कार स्थापना गरेर सञ्चालन गर्दै आएको गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाले जानकारी दिनुभयो ।
‘सुनसरीका सार्वजनिक भवन असुरक्षित‘
धरान (सुनसरी), २७ असार I सुनसरीका ५२ प्रतिशत सार्वजनिक भवन असुरक्षित रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । सुनसरी जिल्लाका सार्वजनिक भवनको बहुप्रकोपीय द्रुत दृश्यात्मक सर्वेक्षण प्रतिवेदनले उक्त तथ्य प्रस्तुत गरेको हो ।
आज उक्त प्रतिवेदनबारे इटहरीमा छलफल गरिएको थियो । उक्त प्रतिवेदन अनुसार विद्यालयका भवनहरु भूकम्पलगायत विपद्लाई थेग्न नसक्ने देखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर इन्जिनियर तथा शाखा प्रमुख सुदीप विक्रम भट्टले बताउनुभयो । भट्टका अनुसार सुनसरीलगायत १३ जिल्लामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दक्ष प्राविधिकद्वारा अध्ययन गरेको थियो ।
प्राधिकरणले सुनसरीका २० प्रतिशत सरकारी तथा सार्वजनिक भवन भत्काएर पुनःनिर्माण गर्नुपर्ने देखिएको जनाएको छ । सुनसरीका १२ स्थानीय तहमध्ये सबैभन्दा सुरक्षित गढी गाउँपालिकाको भवन र सबैभन्दा असुरक्षित सुनसरी देवानगञ्जका सरकारी भवन रहेको अध्ययनले देखाएको छ । ती भवनलाई विपद्बाट जोगाउन प्रारम्भिक रुपमा मर्मतसम्भार गर्नुुपर्ने अध्ययनमा उल्लेख छ । ती भवनहरु मर्मत गर्न रु तीन अर्ब ६७ करोड लाग्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर इञ्जिनियर तथा शाखा प्रमुख भट्टले जानकारी दिनुभयो ।
तत्काल यति ठूलो रकम व्यवस्था हुन नसक्ने भएकाले पालिकाले अब बनाउने सार्वजनिक भवन भूकम्पलगायत विपद्का जोखिमलाई मध्यनजर गरेर बनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी रामचन्द तिवारीले बताउनुभयो ।
कार्यक्रममा स्थानीय तहहरुका प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत, इन्जिनियर तथा विपद् व्यवस्थापन शाखाका विज्ञको उपस्थिति रहेको थियो ।
स्वास्थ्य बीमाको सुविधा थैली परिमार्जन
काठमाडौँ, २७ असार I स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जित गरेको छ ।
बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले विज्ञहरुको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दर कायम गरिएको बताउनुभयो । उहाँका अनुसार सुविधाको नयाँ थैली आगामी साउन १ गतेदेखि लागू गरिनेछ ।
उहाँले लामो समयदेखि एउटै दरमा उपलब्ध सेवासुविधालाई समयानुकूल परिमार्जन गरिएको बताउनुभयो । यसअघि आंशिक रुपमा परिमार्जन गरिए पनि यसपटक भने सबै सेवासुविधाको दर परिमार्जन गरिएको हो । नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमाअन्तर्गत एक हजार दुई सय ९० प्रकारका औषधि रहेका छन् ।
अस्पताल टिकट रु ५० तोकिएको छ । शय्याको प्रतिदिन रु दुई सय ५० राखिएको छ । यसअघि साधारण शय्याको रु दुई सय थियो । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार पाँच सय बराबरको योगदानका आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ ।
यस्तै थप प्रतिसदस्य रु सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा रु दुई लाखसम्म तोकिएको छ ।
बीमा कार्यक्रममा कूल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार छ सय ७६ जना र कूल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना (२६ दशमलव ५४ प्रतिशत) रहेको छ ।
राष्ट्रियसभाको बैठक स्थगन भएकोप्रति ध्यानाकर्षण
काठमाडौँ, २७ असार I नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रियसभाको बैठक स्थगित भएको विषयप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
आज तोकिएको राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अधिकांश सदस्यहरुको असहमतिको बाबजूद पनि राष्ट्रियसभाको बैठक अचानक स्थगित भएको भन्दै ती दलले ध्यानाकर्षण भएको जनाएका हुन् ।
यही असार २३ गते नै नियमित कार्यसूचीमा आएका आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१, भन्सार महशुलसम्बन्धी विधेयक २०८१ लाई पारित गर्नुपर्नेमा अर्थमन्त्रीको गलत मनसायका कारण आजको बैठकमा अर्थमन्त्रीको अनुपस्थिति भन्दै राष्ट्रियसभाका अध्यक्षले उक्त दलहरुको असहमतिका बाबजुद बैठक स्थगित गर्नुभएको चार दलद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
यस कदमबाट राष्ट्रियसभाले विधेयकमा आफ्नो सुझाव र संशोधन राख्न पाउने संवैधानिक र कानुनी अधिकारसमेत हनन भएको एमालेको प्रमुख सचेतक भगवती न्यौपाने, कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकाय, जसपा दलका नेता मृगेन्द्रकुमार सिंह र लोसपा दलका नेता शेखरकुमार सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘तनाव कम गर्न आफूलाई माया गर्न सिकौँ’
काठमाडौँ, २७ असार I नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागद्वारा आयोजित ‘भावनात्मक बुद्धिमता र तनाव व्यवस्थापन’ विषयक कार्यक्रममा प्राज्ञ डा भागवत आचार्यले तनाव व्यवस्थापन गर्न आफूलाई माया गर्न सक्नुपर्ने बताउनुभएको छ ।
सो विषयमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “हामीले अपेक्षा गरेका कार्यहरु पूरा नहुँदा तनाव हुने गर्दछ, तनावलाई जरैदेखि उखेलेर फाल्ने, तनावलाई स्वीकार गरेर अघि बढ्ने, छलफल गरेर निष्कर्ष निकाल्ने, आफैँलाई प्रेम गर्ने, मनको कुरा अरुलाई बाँड्ने गर्नुपर्छ ।” उहाँले धैर्यताले पनि तनाव व्यवस्थापनमा भूमिका खेल्ने भन्दै विपश्यनाले तनावलाई कम गर्न सहयोग गर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति भुपाल राईले भन्नुभयो, “तनावग्रस्त समाजले देशलाई अगाडि बढाउन सक्दैन, अहिले देशमा भ्रष्टाचार मौलाएकोे देखिन्छ त्यसले कसरी देशमा परिवर्तन आउन सक्छ ? मानव दिनचर्यासँग जोडिएको यो विषयमा छलफल गरिराख्नुपर्छ ।”
सदस्यसचिव डा धनप्रसाद सुवेदीले विश्वमा जति सुखसुविधा मानिसले भोग गरिराखे पनि तनाव व्यवस्थापनमा भने चुकेको बताउनुभयो । प्रतिष्ठानको सामाजिक शास्त्र विभागका प्रमुख डा कौशिला रिसाललगायत कार्यक्रममा प्राज्ञ परिषद् सदस्यको उपस्थिति रहेको थियो ।
अन्तरिक्षमा फसेका नासाका अन्तरिक्ष यात्रीहरू बोइङ यानको सुरक्षित पृथ्वी फिर्तीमा विश्वस्त
वासिङ्टन डिसी, २७ असार I गत महिना नै पृथ्वीमा फर्कने गरी बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुग्नुभएका नासाका अन्तरिक्ष यात्री सुनीता ‘सुनी’ विलियम्स र ब्यारी ‘बुच’ विल्मोर केही हप्ता अगस्टसम्म अन्तरिक्षमा बस्नुपर्ने सम्भावना रहेको छ ।
इन्जिनियरहरूले प्राविधिक समस्याहरू समाधान जारी राख्दा दुई अन्तरिक्ष यात्रीलाई निर्धारितभन्दा लामो समयसम्म अन्तरिक्षमा राखिएको हो । विलियम्स र विल्मोरले अन्तरिक्षबाट आफ्नो पहिलो पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुराकानी गर्नुभएको छ ।
विभिन्न सुरक्षा चिन्ताका कारण स्टारलाइनर प्रक्षेपणका क्रममा शृङ्खलाबद्ध ढिलाइको अनुभव गरेको थियो । विलियम्स र विल्मोर बोइङ–निर्मित स्टारलाइनर क्याप्सुलको ऐतिहासिक परीक्षण मिसनमा पहिलो मानव चालक दल हुनुहुन्छ ।
स्टारलाइनरले आफुलाई पृथ्वीमा फिर्ता ल्याउन सक्ने विश्वास दुई अन्तरिक्ष यात्रीले व्यक्त गर्नुभएको छ । यद्यपि नासाले अन्तरिक्ष यात्रीहरूका लागि अनुमानित फिर्ती मिति साझा गरेको छैन । विल्मोरले उहाँहरूलाई घर पुर्याउने स्टारलाइनरको क्षमतामा पूर्णरूपमा विश्वस्त रहेको बताउनुभयो ।
“अन्तरिक्ष यान हामीलाई पृथ्वीमा फिर्ता ल्याउन सक्षम छ भन्नेमा म विश्वस्त छु, कुनै समस्या छैन”, विलियम्सले आइएसएसबाट पत्रकारहरूलाई भन्नुभयो, “हामी यहाँ थप दुई हप्ता रहनुपर्दा मेरो कुनै गुनासो छैन, बुचको कुनै गुनासो छैन ।” भारतीय मूलका नासाका अन्तरिक्ष यात्रीको अन्तरिक्षमा यो तेस्रो यात्रा हो ।
विल्मोर र विलियम्सले नासाको बोइङ क्रू फ्लाइट टेस्ट मिसनका लागि फ्लोरिडाको केप क्यानभेरल स्पेस फोर्स स्टेसनमा स्पेस लन्च कम्प्लेक्स–४१ बाट युनाइटेड लन्च एलायन्स एटलस ५ रकेटमा जुन ५ मा प्रक्षेपण गर्नुभएको थियो ।-रासस/एएनआई
मन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगन
काठमाडौँ, २७ असार I प्रतिनिधिसभाको आजको बैठक मन्त्री उपस्थित नभएपछि भोलिसम्मका लागि स्थगन भएको छ । आज अपराह्न बसेको सभाको बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री र मन्त्रीहरु उपस्थित नभएकाले संसद् बैठक चल्न नसक्ने बताएपछि सभामुख देवराज घिमिरेले बैठक भोलिसम्मका लागि स्थगन भएको घोषणा गर्नुभयो ।
सभामुखले घिमिरेले प्रतिनिधिसभाको बैठकमा कुनै पनि मन्त्रीको उपस्थिति नरहेकाले आजको बैठकको कार्यसूचीमा रहेको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम हटाइएको व्यहोरा जानकारी गराउनुभयो । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य छ ।
प्रतिनिधिसभाको अर्को बैठक यही असार २८ गते बिहान ११ बजे बस्नेछ ।