इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर निर्माण
भरतपुर, २६ असार I चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् । मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा उहाँले गाउँपालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको बताउनुभयो । “पालिकाले चेपाङ समुदायको घर निर्माणको योजना बनाएर सरकारलाई अनुरोध गरेपछि अनुदान प्राप्त भएको हो”, उहाँले भन्नुभयो, “टोल र वडाको छनोटका आधारमा उनीहरुको घर निर्माण गरेका हौँ ।”
अध्यक्ष गुरुङले निर्माण सम्झौताअघि घर र उनीहरुको अवस्थाबारे स्थलगत अनुगमनसमेत गरिएको बताउनुभयो । “घडेरी सम्याउने र जग खनेर ढुङ्गा हाल्ने काम सम्बन्धित लाभग्राहीको हो”, उहाँले भन्नुभयो, “अरु सबै गाउँपालिकाले निर्माण गरिदिएको छ ।” उहाँले गाउँपालिकाले खरको छाना भएका र आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई टिनको छानाको व्यवस्था गरेको जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा नं १ मा पाँच, वडा नं २ मा दुई, वडा नं ३ मा दुई, वडा नं ४ मा दुई, वडा नं ५ मा दुई, वडा नं ६ मा तीन र वडा नं ७ मा छवटा घर निर्माण गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष माया सिलवाल धेरैको आकाङ्क्षा भए पनि बिहान–बेलुका हातमुख जोर्न पनि समस्या हुनेको पहिचान गरेर घर निर्माण गरिएको बताउनुभयो । उहाँले समयमै काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई धन्यवाद दिनुभयो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि चेपाङ आवास कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । उहाँले घर नभएका र खरको झुप्रोमा बस्दै आएकाहरूलाई प्राथमिकतामा राखेर घर निर्माण गरिने बताउनुभयो । पालिकाले आगमी आवका लागि रु तीन करोड ३० लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।
वर्षाैँदेखि खरको झुप्रोमा बस्दै आउनुभएका इच्छाकामना –७ सुन्दरबस्तीका अइतराम प्रजा घामपानीमा अन्यको घर ओत लाग्न जानुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । उहाँले पालिकाले दुई कोठाको घर निर्माण गरिदिएपछि खुसी लागेको जनाउँदै अब जीवनयापनमा सहज हुने बताउनुभयो ।
इच्छाकामना–१ कोलभन्ज्याङका अरसल चेपाङ भूकम्पले पुरानो घर भत्किएपछि छाप्रामा बस्दै आएको बताउनुभयो । उहाँले बर्खामा पानी चुहिने र हिउँदमा हुरीबतास र आगलागीको डर अब अन्त्य भएकामा खुसी व्यक्त गर्नुभयो । “गाउँपालिकाले घर बनाइदिएपछि निकै खुसी छौँ, छजनाको परिवार एउटै कोठामा बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ”, उहाँले भन्नुभयो । इच्छाकामनामा दुई हजार पाँच सय चेपाङ परिवारको बसोबास छ ।
मगर समुदायको कथामा अभिनेता दयाहाङ
काठमाडौँ, २५ असार I अभिनेता दयाहाङ राई पछिल्लो समय विभिन्न समुदायसँग जोडिएका कथामा आधारित चलचित्रमा देखिँदै आउनुभएको छ ।
पछिल्लो एक वर्षमा मात्रै उहाँले ‘जारी’ मा लिम्बू, ‘दयारानी’ मा गुरुङ, ‘गाउँ आएको बाटो’ मा राई समुदायको कथामा आधारित चलचित्रमा अभिनय गर्नुभयो । आउँदो शुक्रबारअर्थात् यही २८ असारबाट प्रदर्शन हुने ‘घर ज्वाइँ’ मा उहाँले मगर समुदायको कथामा अभिनय गर्नुभएको छ । उक्त चलचित्रको कथा आफूले मन पराएकी युवतीलाई पाउन विवाह पूर्व घर ज्वाइँ बस्ने परम्परामा आधारित छ ।
अभिनेता राई अभिनयकै सिलसिलामा भिन्न समुदायको संस्कृतिलाई नजिकबाट बुझ्न पाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपाल संस्कृतिको धनी छ । तर, हामीले आफ्नै परम्परालाई भुल्दै छौँ । मैले अभिनयकै कारण केही समुदायको संस्कृति बुझ्न र बाँच्न पाएँ । आफूलाई भाग्यमानी ठान्छु । हामी अहिले समुदायको कथा भन्ने समयमा आएका छौँ ।”
चलचित्रमा विषयवस्तुसँगै प्रस्तुति गरिने संस्कृति र परम्परा नयाँ पुस्ताका लागि डिजिटल साक्षरता हुने उहाँको विश्लेषण छ । आदिवासीको संस्कृति बाहिरबाट देखिँदा उस्तै लागे पनि निकै भिन्न रहेको उहाँले बताउनुभयो ।
“हामीलाई सुन्दा उस्तै उस्तै लाग्नु स्वभाविक हो । तर, वास्तविकतामा केही भिन्नता हुन्छ । त्यही कारण चलचित्रले मनोरञ्जनसँगै उक्त समुदायको संस्कृतिलाई नजिकबाट बुझ्न मद्दत गर्छ”, उहाँले भन्नुभयो । घर ज्वाइँ बस्ने परम्परालाई उहाँले छोरीप्रतिको उच्च सम्मानका रुपमा बुझ्नुभएको छ । अन्य समुदायमा छोरीको विवाह गर्दा सोधखोज गर्ने प्रचलन रहे पनि मगर समुदायमा घरमै राखेर ज्वाइँको परीक्षण गरिने परम्परा रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भविष्यमा दुःख परेमा ज्वाइँले कसरी सङ्घर्ष गर्छन् र छोरीलाई पाल्छन् भन्ने परीक्षा लिएको जस्तो लाग्यो । ज्वाइँ त खास नै छन्, तर छोरीलाई सुख दिन सक्छन् कि सक्दैनन् र आत्मनिर्भर भएर कसरी जीविकोपार्जन गर्छन् भन्ने परम्परा मगर समुदायमा रहेको पाएँ । यो चलचित्रमा मगर समुदायको प्रतिनिधित्व गर्न पाएकोमा खुशी छु ।”
चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गर्नुभएको छ । आफूलाई मन परेको महिला पात्रलाई तानेर विवाह गर्ने प्रचलन आदिवासी समुदायका हरेक जातिमा रहे तापनि मगर समुदायको संस्कृति अन्यभन्दा फरक रहेको निर्देशक मगरले बताउनुभयो ।
“यसमा समुदायको पृष्ठभूमिमा कथा र पात्रलाई तयार गरिएको छ । चलचित्रमा मगर समुदायको संस्कृतिसँग परिचित गराउँदै एउटा सामाजिक कथा भनिएको छ । पर्दामा देखिने कथासँग दर्शक जोडिनुहुन्छ भन्नेमा विश्वस्त छु”, निर्देशक मगरले भन्नुभयो ।
जिएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आलेलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
जाम्बियामा कोभिड–१९ का सङ्क्रिम बढे
लुसाका, २५ असार I जाम्बियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । सोमबार जाम्बियाका स्वास्थ्य मन्त्री सिल्भिया मासेबोले पत्रकार सम्मेलनमा गत मे र जुनको बीचमा करिब तीन हजार ७० नमूना परीक्षणमा दुई दशमलव चार प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । अघिल्लो महिना एक दशमलव पाँच प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
मासेबोले भन्नुभयो, “देशका १० मध्ये छ प्रान्तमा कोरोन सङ्क्रित भेटिएका छन् । जसमध्ये लुसामा सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् ।” उहाँका अनुसार यस वर्ष जनवरीदेखि जुनसम्म मुुलुकभर चार हजार सात सय ७० कोरोना सङ्क्रमित भेटिएका छन् ।
जाम्बियाले पनि चिसो र सुक्खा अवस्थाका कारण श्वासप्रश्वास र इन्फ्लुएन्जा जस्ता रोगमा बृद्धि भएको उल्लेख गरेको छ । मन्त्रालयले भाइरस र अन्य रोगहरु पत्ता लगाउन सक्रिय रहेको जनाएको छ । - रासस/सिन्ह्वा
युद्धले समस्या समाधान गर्न सक्तैन– मोदी
मस्को, २५ असार I भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति ‘अत्यन्तै महत्त्वपूर्ण’ भएको र ‘युद्धले समस्याहरूको समाधान नगर्ने’ बताउनुभएको छ ।
“एक मित्रका रूपमा हाम्रो आगामी पुस्ताको उज्ज्वल भविष्यका लागि शान्ति अत्यन्त महत्त्वपूर्ण छ भनी मैले भनेको छु”, पुटिनसँगै बसेर हिन्दी भाषामा उहाँले भन्नुभयो, “जब निर्दोष बालबालिकाहरूको हत्या हुन्छ, उनीहरू मरेको देख्दा मुटु दुख्छ, त्यो पीडा असह्य हुन्छ ।”
आफ्नो मस्को भ्रमणका क्रममा पुटिन र आफूले युक्रेनमा रुसी अभियानबारे पनि छलफल गरेको बताउनुभयो । “एउटा सच्चा मित्रका रूपमा हामी सँगै थियौँ र धेरै मुद्दामा छलफल गर्यौँ”, उहाँले भन्नुभयो, “युक्रेनका बारेमा हामी दुवैले आफ्नो विचार खुला र विस्तृतरूपमा राख्न सकेकामा मलाई खुशी लागेको छ ।”
रुसले युक्रेनका सहरहरूलाई लक्षित गर्दै तीन दर्जनभन्दा बढी मानिसको ज्यान लिएको र किएभको बाल अस्पताललाई ठूलो क्षति पुर्याएको केही घन्टापछि मोदी सोमबार मस्को पुग्नुभएको थियो । उक्त आक्रमणको युरोप र उत्तरी अमेरिकाका सरकारहरूले निन्दा गरेका छन् ।
“मलाई थाहा छ, युद्धले समस्याको समाधान गर्न सक्तैन, समाधान र शान्ति वार्ता बम, बन्दुक र गोलीमा सफल हुनसक्तैन, साथै हामीले वार्तामार्फत शान्तिको मार्ग खोज्न आवश्यक छ”, मोदीले भन्नुभयो ।
रुस भारतका लागि कम मूल्यमा तेल र हतियारहरूको प्रमुख आपूर्तिकर्ता हो तर पश्चिमबाट मस्कोको एक्लोपन र बेइजिङसँगको बढ्दो मित्रताले नयाँदिल्लीसँगको उसको साझेदारीलाई असर गरेको छ ।
हालैका वर्षहरूमा पश्चिमी शक्तिहरूले पनि चीन र एसिया–प्रशान्तमा उनीहरूको बढ्दो प्रभावका रूपमा भारतलाई रुसबाट टाढा रहन दबाब दिँदै भारतसँग सम्बन्ध विकास गरेका छन् ।-रासस/एएफपी
एसइई सकेका विद्यार्थीलाई सुझाव : ‘आफूभित्रको क्षमता पत्ता लगाउनुस्’
काठमाडौँ, २५ असार I “तपाईँलाई आफूभित्र के छ भन्ने पत्ता लगाउन केही वर्ष लाग्नेछ । जुन दिन त्यो पत्ता लाग्नेछ, त्यसमा घोत्लिएर लाग्नुहोस्, तपाईको जीवनमा सफलता मिल्छ ।’’
माध्यमिक शिक्षा परीक्षा (एसइई) पार गरेर कक्षा ११ र १२ को तयारी र भविष्यको योजना बुन्दै गरेका विद्यार्थीमाझ उत्प्रेरणात्मक वक्ता रञ्जित आचार्यको सल्लाह छ, “जसरी बेलुनभित्र रहेको शक्तिले उसलाई आकाशमा उडाउछ, त्यसैगरी तपाईभित्रको ऊर्जाले तपाईको जीवनलाई सफलतामा लानेछ, केवल तपाईले आफूभित्रको आगो बाल्न सक्नुपर्छ, ।
त्यो आगो कहाँ छ भनेर थाहा पाउन सक्नुपर्छ ।’’ उहाँले उत्कृष्ट हुन्छु भन्ने महत्वकाङ्क्षा बोकेर वा अरुलाई हराउन खोजेर भन्दा पनि आफैलाई प्रतिस्पर्धी ठानेर काम गरेमा हरेक समस्याभित्र समाधान भेटिने र त्यसले जुनसुकै पेसामा पनि सक्षम बनाउन सघाउने सुनाउनुभयो ।
‘केन्द्रविन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ मा ‘करिअर काउन्सिलिङ’ दिँदै आचार्यले उक्त सल्लाह दिनुभएको हो । कार्यक्रममा नविल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले पढेर मात्र नहुने टिप्पणी गर्नुभयो ।
“सीपमूलक शिक्षा अहिलेको आवश्यकता हो । जो भविष्यमा केही गर्न चाहन्छ, उसले चुनौतीमा पनि अवसर देख्छ । तर, जो अल्छी छ उसले अवसरमा पनि चुनौती देख्छ ।’’
खल्ती एपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अमित अग्रवालले जीवनमा हार नमानी विद्यार्थीले अध्ययनलाई निरन्तरता दिए सफलता चुम्ने आधार तय हुने बताउनुभयो । “जे पढियो त्यही गर्नुपर्छ भन्ने छैन । शिक्षाको काम सहजताको एउटा आधार हो । हामीलाई बच्चैदेखि गरिब देश भनेर सिकाइयो, तर नेपाल गरिब देश होइन, धनी हो । अहिलेका पुस्ताले यही भावनाका साथ अध्ययनलाई अघि बढाउनुपर्छ ।’’
ग्लोबल एकेडेमी अफ टुरिजम् एण्ड हस्पिटालिटी एजुकेशन’का प्रमुख कार्यकारी अधिकृत खेम लकाइले संसारमा सबैभन्दा सुन्दर देशका रूपमा नेपाल रहेकाले यहाँ केही गर्न सकिन्छ भन्ने भावनाका साथ इमानदार रूपमा मेहनत गरेमा देशका लागि केही गर्न सकिने सुझाव दिनुभयो ।
कलाकार निशा अधिकारीले माथिल्लो शिक्षाका लागि विषय रोज्ने क्रममा अरुका कुरा धेरै नसुनेर आफ्नो रुचि र क्षमतालाई आत्मसात गरेर अघि बढ्न आग्रह गर्नुभयो ।
रास्वपाले महामन्त्रीबाट ढकाललाई हटायो
काठमाडौँ, २५ असार I राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी महामन्त्री मुकुल ढकाललाई पदबाट हटाएको छ । पार्टी केन्द्रीय समितिको आजको बैठकले पार्टी अनुशासन समितिको सिफारिसमा पार्टी केन्द्रीय सदस्य, प्रवक्ता र महामन्त्री पदबाट उहाँलाई हटाएको हो । उहाँलाई सर्वसम्मतिबाट पदमुक्त गरिएका कार्यवाहक प्रवक्ता मनिष झाले बताउनुभयो । उहाँको साधारण सदस्यता मात्र कायम गरिएको छ । पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले ढकाललाई केन्द्रीय समितिको निर्णयप्रति असहमत भएमा पुनरावेदन गर्नसक्ने निर्णय गरेको छ । रास्वपाले पुनरावलोकन समिति सहमहामन्त्री विपीन आचार्यको संयोजकत्वमा गठन गरेको छ । पार्टीभित्र बोलेकै कारण महामन्त्री कारबाहीमा पर्ने कुरालाई स्वाभाविक रुपले लिन सकिन्छ र भन्ने प्रश्नमा प्रवक्ता झाले भन्नुभयो, “उहाँले राजनीतिक व्यवहार नदेखाएका कारण कारबाही गरिएको हो ।”
इलाम तथा पाँचथरका ग्रामीण क्षेत्र सम्म जोडिने फाल्गुनन्द सडक अवरुद्ध
दमक (झापा), २५ असार I बाढीपहिराका कारण दमकबाट दक्षिणी इलाम तथा पाँचथरका ग्रामीण क्षेत्रसम्म जोडिने फाल्गुनन्द सडक अवरुद्ध भएको छ । इलामको माङसेबुङ गाउँपालिका–३ स्थित बाघमारा पुल छेउमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जानकारी दिनुभयो । पहिराले बाटो अवरुद्ध गरेपछि दमकबाट छुटेका यात्रुवाहक सवारीसाधन बाटोमा रोकिएका छन् ।
माङसेबुङ पालिकाले पहिरोका कारण अवरुद्ध सडक खुलाउन स्काभेटर पठाइसकेको र अब एक–डेढ घण्टाभित्रै बाटो पूर्ववत् रुपमा सञ्चालनमा आउने अध्यक्ष राईले बताउनुभयो ।
धरान-धनकुटा सडक अवरुद्ध
धरान (सुनसरी), २५ असार I निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोका कारण धरान–धनकुटा सडक अवरुद्ध भएको छ । धनकुटाको सागुरीगढी–६ स्थित फेदीमा पहिरो खसेपछि बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो ।
सो सडकखण्डमा पर्ने फेदी, घण्टे र नमस्ते झर्ना क्षेत्रमा पहिरो झरेकोले सवारी आवतजावतमा समस्या भएको उहाँले बताउनुभयो । गर्जुवा खोलाबाट आएको बाढीका कारण ढुङ्गा र माटोसहितको लेदोले सडक ढाकेको उहाँले बताउनुभयो । “बाटो खोल्ने काम भइरहेको छ, पानी परिरहेकोले कतिखेर कहाँ पहिरो झर्नसक्ने अवस्था हुनसक्ने भएकोले सजक भएर हिँड्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।
बाढीका कारण बस्ती जोखिममा
निरन्तर वर्षासँगै आएको बाढीका कारण धरान उपमहानगरपालिका– १६ मा १० वटाभन्दा बढी घर जोखिममा परेका छन् । स्थलगत अनुगमनमा पुग्नुभएका धरान उपमहानगरपालिका– १६ का वडाध्यक्ष मुरारी भट्टराईले जोखिममा परेका दुई घरका परिवारलाई भने आफन्त र छिमेकीको पठाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बाँकी परिवारलाई पनि अन्यत्र सार्ने काम जारी छ निरन्तर पानी परेकाले समस्या भएको छ ।” निरन्तरको वर्षाले पुलमा सामानय क्षति भएको छ ।
अविरल वर्षाका कारण देशका विभिन्न भागका ४१ पुल बाढीमा बगे, १० करोड बढीको क्षति
काठमाडौँ, २५ असार I अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छ र रु १० करोडभन्दा बढीको क्षति भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि आज विहानसम्म बाढीपहिरा परेर ९० जनाघाइते र पाँचजना वेपत्ता भएका छन् ।
बाढीपहिराका कारण तीन सय ८१ पशु चौपायको मरेका, ९८ गोठमा क्षति भएको, पाँच सय ९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति पाँच हजार ४१ प्रहरी परिचालन गरिएको छ ।
बाढीपहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
अविरल वर्षाका कारण देशभर एक हजार २८ घटना भएका र त्यसबाट रु १० करोड १८ लाख ८५ हजार सात सय बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । अच्युत रेग्मीशरद्
मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध
बेलबारी (मोरङ), २५ असार I मोरङ र सुनसरीमा राति देखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पछिल्लो तीन घण्टा सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको र अझ धेरै पानीपर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सुनसरीको सेउती, सर्दु, सुनसरी खोला र मोरङको बूढीखोला, केसलिया, लोहन्द्रा, चिसाङलगायत खोलामा आकस्मिक बाढी आउनसक्ने विभागले जनाएको छ । आज मध्याह्न १२ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।