सिरहा र सप्तरीको सिमानामा बग्ने बलान नदीको बाढी बस्ती पस्दैछ
सिरहा, २७ असार I सिरहा र सप्तरीको सिमानामा बग्ने बलान नदीको बस्तीमा पस्ने गरेको छ । चुरे मूल भएको यो नदीमा सर्रे, खुट्टी र मुतनी, झिझिर, चहकालगाएतका सानाठूला खोला मिसिन्छन् । वर्षातमा नदी आसपासका सिरहा र सप्तरीका कयौँ बस्ती डुबानमा पर्ने गरेका छन् ।
“जमिनको लालपुर्जा छ, तर जमिन छैन । दशकौँदेखि गरिखाने जमिन बाढीले बगायो”, लहान नगरपालिका—२३ बसनपुरका गङ्गाप्रसाद यादवले भन्नुभयो । यादवको करिब १५ वर्षअघिसम्म तीन बिघा खेत थियो । बलान नदीले उर्वर जमिन बर्सेनि कटान गरेपछि अहिले उहाँको बिचल्ली भएको छ । आठ कठ्ठा आँपको बगँैचा रहेको जग्गा पछिल्लो दुई दिनमा बाढीले कटान ग¥यो ।
बाढीले जग्गा कटान गरेपछि सञ्जयकुमार यादवको अवस्था पनि गङ्गाप्रसादको जस्तै छ । बाढीले १० बिघा जमिन कटान गरेको उहाँको भनाइ छ । बाढीले बाँकी रहेको घर जग्गा बगाउने उहाँले चिन्ता व्यक्त गर्नुभयो । सञ्जय र गङ्गाप्रसादको जस्तै बलान नदी तटीय क्षेत्रका सयौँं परिवारको बिचल्नी छ । इटहर्वा, भगवानपुर, तिलेबोनालगायत गाउँ बलान नदीको बाढीको चपेटामा छन् ।
लहान नगरपालिका–३, ४, ५, ९, १०, १९ र २३, सखुवानन्कारकट्टी गाउँपालिका–३ र ४ अन्तर्गत परिहारपुर, इटहर्वा, सिम्राहा, सखुवा, तिलेबोना तथा भगवानपुर गाउँपालिका–१, ३ र ४ वडामा पर्ने भगवानपुर, लालपुर, कल्याणपुर, सिनुरिया र मरिकटोल बाढी, डुबान र कटानको जोखिममा रहेका सखुवानन्कारकट्टी गाउँपालिकाका–४ का हरिलाल यदवले जानकारी दिनुभयो । बाढीले बसनपुरमा २२ बिघा, भगवतीपुर मौजीमा ५१ बिघा र सिम्राहा मौजीमा ८४ बिघा उर्वर खेत कटान गरिसकेको छ । चुरे दोहनका कारण नदीले धार परिवर्तन गरेको स्थानीय बताउँछन् । “जमिन कटानपछि बाढी गाउँ पस्ने गरेको छ”, स्थानीय मुशहरु यादवले भन्नुभयो ।
बलान नदी नियन्त्रणका लागि पहल भएपनि कटानको समस्या समाधान हुन नसकेको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । “नगरपालिकाले चालु आर्थिक वर्षमा मात्र रु ५० लाखको तारजाली र ढुङ्गा बिछ्याएको छ, तर समस्या उस्तै छ”, उहाँले भन्नुभयो ।
बैंक अफ कोरियाको १२ औं पटक ब्याज दर फ्रीज
सियोल, २७ असार I दक्षिण कोरियाको केन्द्रीय बैंकले बिहीबार १२ औं सत्रको लागि ३.५ प्रतिशतमा प्रमुख दर फ्रिज गरेको छ । अप्रिल २०२२ देखि जनवरी २०२३ सम्म लगातार सात पटक दर वृद्धि गरेपछि गत वर्षको फेब्रअरी देखि बैंक अफ कोरिया (बिओके) ले दर स्थिर राखेको छ ।
एसियाको चौथो ठूलो अर्थतन्त्रमा विस्तारित प्रतिबन्धात्मक मोड र मुद्रास्फीति दबाबको बावजुद घरेलु ऋण उच्च चलिरहेको कारण दर फ्रिज समाचार एजेन्सीले जनाएको छ । देशको अर्थव्यवस्था यस वर्ष बलियो निर्यातको पछाडि अपेक्षा भन्दा छिटो बढ्ने अपेक्षा गरिएकोसमेत दक्षिण कोरियाको (योनहाप) समाचार एजेन्सीले उल्लेख गरेको छ । दक्षिण कोरियामा बैंकहरूले विस्तार गरेको घरेलु ऋिण जुनमा लगातार तेस्रो महिनामा बढेको छ, धितो ऋिणमा वृद्धिको कारण, केन्द्रीय बैंकलाई दर घटाउनमा सतर्क रहन्छ ।
उपभोक्ता मूल्यहरू वर्षमा २.४ प्रतिशतले बढेको छ, जुन जुलाई २०२३ पछि सबैभन्दा कम स्तर हो । केन्द्रीय बैंकले मुद्रास्फीति अझै तल झर्ने अपेक्षा गरेको छ, भने यस वर्षको अन्त्यसम्ममा यसको मध्यदेखि लामो दूरीको लक्ष्य दर २ प्रतिशतमा पुग्नेछ । केन्द्रीय बैंकले यस वर्षका लागि आफ्नो वृद्धिको अनुमान बढाएपछि पनि दर स्थिर राखेको हो । -रासस/क्यूएनए
सहकारीले बचतकर्ताको रकम फिर्ता दिएपछि मुद्दा मिलापत्र
खोटाङ, २७ असार I बचतकर्ताको रकम घोटला प्रकरणमा परेको जिल्लास्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको मुद्दा मिलापत्र भएको छ । सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्ताको रकम फिर्ता दिएपछि बचतकर्ता (जाहेरवाला) र सञ्चालक समिति (प्रतिवादी)बीच बुधबार जिल्ला अदालत कार्यालयमा मिलापत्र भएको हो ।
सञ्चालक समितिले बचतकर्तामध्ये उजुरी दिने दुई सय ६५ जनालाई अदालतमा बचत रकम फिर्ता दिएको अदालतका श्रेस्तेदार सीताराम खड्काले जानकारी दिनुभयो । ठगी प्रकरणमा मुद्दा विधाराधीन अवस्थामा रहेको भन्दै सञ्चालक समितिले बचतकर्ताको बचत रकम फिर्ता दिएपछि मिलापत्र गराइएको उहाँले बताउनुभयो ।
बचतकर्ता दुई सय ६५ जनाले दिएको जाहेरीमा मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ३२ बमोजिम रु चार करोड ४० लाख ६१ हजार १८ बिगो मागदाबीसहित अदालतमा अभियोगपत्र दर्ता गराएका थिए । सञ्चालक समितिले ऋणीबाट रकम उठाएर उबचाकर्तालाई फिर्ता दिएको कानुनी सहजकर्ता ओमप्रकाश घिमिरेले बताउनुभयो ।
ऋणीबाट रकम उठाएर बचतकर्तालाई फिर्ता दिनुका साथै अदालतमा विचाराधीन मुद्दामा मिलापत्र गरिएको सहकारीका सहजकर्ता गोपाल सैंजूले बताउनुभयो । “अदालतमा विचाराधीन मुद्दाको फैसला हुनु पहिला नै पीडितलाई न्याय दिएइका हौँ”, उहाँले भन्नुभयो, “मध्यमार्गी भूमिका निर्वाह गरी न्याय दिएका छौँ । यो कार्यले मुलुकमा एउटा नजिर स्थापना गर्छ भन्ने अपेक्षा लिएका छौँ ।”
“घरजग्गा बिक्री गरेर अन्यत्र लगानी गर्न रु ५२ लाख ४४ हजार छ सय ८७ रकम सहकारीमा बचत गरेको थिएँ । सञ्चालक समितिको लापरबाहीले बचत रकम डुब्ने अवस्थामा पुगेको थियो । अहिले फिर्ता पाएका छौँ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का बचतकर्ता लेखनाथ आचार्यले भन्नुभयो, “सञ्चालक समितिको यो भूमिकाप्रति आभारी छौँ ।”
सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण विसं २०७८ वैशाख १५ गते पोखरामा निधनपछि निक्षेपकर्ताले निक्षेप रकम फिर्ता माग्न जाँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकार भएकाले सहकारीको कारोबार तथा हिसाब हेर्नेक्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नदेखिएपछि बचत अपचलन भएको विषय बाहिरिएको थियो ।
तत्कालीन अध्यक्ष जोशीको निधनपछि विसं २०७८ वैशाख १६ गतेदेखि सहकारीको कारोबार अहिलेसम्म ठप्प छ । तत्कालीन अध्यक्ष जोशीले आफूखुसी सहकारीबाट ऋणीलाई रु २५ हजारदेखि रु ९९ लाखसम्म ऋण दिएको प्रहरी प्रतिवेदनमा देखिएको थियो । ऋणीमध्ये अधिकांशबाट रकम उठाएर बचतकर्तालाई फिर्ता गरिएको सञ्चालक समितिका सदस्य एवम् मेलमिलापत्रकर्ता हरिबोल आचार्यले जानकारी दिनुभयो ।
बचतकर्ताको रकम ठगी प्रकरणमा सहकारीका तत्कालीन अध्यक्ष जोशीका भाइ सौर्य एयरलायन्सका क्याप्टेन सुनिल जोशीसहित चारजना पूर्पक्षका लागि कारागार चलान भएका थिए । “क्याप्टेन सुनिल, सुनिलको श्रीमती रविना जोशी (श्रेष्ठ), प्रबन्धक रुकु जोशी र ऋणी जसुदा पौडेल जिल्ला अदालत खोटाङका तत्कालीन न्यायाधीश सुभाषबाबु गिरीको आदेशमा विसं २०८० मङ्सिर २१ गते कारागार चलान भएका हुन्”, उहाँले भन्नुभयो ।
विचाराधीन मुद्दा मिलापत्र गरिएसँगै पूर्पक्षका लागि कारागारमा रहेका क्याप्टेन सनिलसहित चारैजना छुटेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्पक्षमा रहेका छुटेसँगै प्रतिवादीको सूचीमा रहेका २६ जनाको मुद्दासमेत मिलापत्रमा टुङ्ग्याइएको छ ।
क्याप्टेन सुनिल र सुनिलकी श्रीमती रविना विसं २०८० असोज १३ गते काठमाडौँस्थित निजी निवासबाट पक्राउ परेका थिए । उनीहरुमध्ये सुनिलले सहकारीको रकममा खरिद गरिएको जग्गा आफ्ना नाममा पास गरेको तथा रविनाले रु दुई करोड ३५ लाख बचतकर्ताको रकम अपचलन गरेको अदालतले ठहर गरेको थियो ।
तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा सहकारीबाट लाखौँ ऋण लगेको तर, फिर्ता नगरेको भन्दै परेको किटानी जाहेरीका आधारमा पोखराकी जसुदालाई प्रहरीले विसं २०८० कात्तिक १५ गते चितवनबाट पक्राउ गरेको थियो । जसुदासहित तत्कालीन अध्यक्ष जोशीका परिवारविरुद्ध सहकारी सञ्चालक समितिले विसं २०८० फागुन २ गते प्रहरीमा उजुरी दिएको थियो । प्रबन्धक जोशीलाई सञ्चालक समितिको जाहेरीका आधारमा विसं २०८० असोज १७ गते काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका सबैलाई सङ्गठित अपराधमा मुद्दा चलाउने भन्दै ६० दिनसम्म हिरासतमा राखेर सरकारी वकीलको कार्यालयमा राय प्रतिवेदन बुझाएको थियो । प्रहरीले सङ्गठित अपराध अन्तरगतको राय प्रतिवेदन बुझाए पनि सरकारी वकीलले ठगी मुद्दाको अभियोगपत्र तयार गरेर अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिनुभयो । प्रहरीको प्रतिवेदन अनुसार सञ्चालक समितिले रु चार करोड ९० लाख ९७ हजार ३९३ तिर्नुपर्ने देखिएको थियो ।
मिलापत्र गरिएको सहकारी संस्थाको वित्तीय अवस्था हेर्दा सहकारी ‘डुबेको’ नदेखिएको अदालतका श्रेस्तेदार खड्काले जानकारी दिनुभयो । अदालतमा परेको मुद्दा मिलापत्र गरिएसँगै बन्द रहेको लालुपाते बहुउद्देश्यीय सहकारी संस्थालाई पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाइँले बताउनुभयो ।
‘रेडक्रसको छवि कमजोर पार्न र भ्रम सिर्जना गर्न खोजियो’
काठमाडौँ, २६ असार I नेपाल रेडक्रस सोसाइटीले प्रचलित कानुनअनुसार रक्त सञ्चार सेवा र संस्थागत सुशासनका गतिविधि अघि बढाइएको स्पष्ट पारेको छ । समाज कल्याण परिषद्को छानबिन प्रतिवेदनको सन्दर्भ उल्लेख गरी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रेडक्रसले मानवीय सेवाका क्षेत्रमा क्रियाशील संस्थाको छवि कमजोर पार्ने र भ्रम सिर्जना गर्ने प्रयास भइरहेको जनाएको छ ।
रेडक्रसको केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रा सुदर्शनप्रसाद नेपालले वर्तमान कार्यसमितिले रक्तसञ्चार सेवा र संस्थागत सुशासनको सम्बन्धमा थालनी गरेका सकारात्मक कदमप्रति नियोजित र प्रायोजित ढङ्गबाट दुष्प्रचार गरिएको दाबी गर्नुभयो ।
“नेपाल रेडक्रस सोसाइटीमाथि छानबिन गर्ने बहानामा कपोलकल्पित, मिथ्यापूर्ण तथ्य सिर्जना गरी कारबाहीको त्रास देखाउने काम प्रचलित कानुन विपरीत छन्”, उहाँले भन्नुभयो, “छानबिन समितिको आन्तरिक प्रतिवेदन रेडक्रसलाई प्राप्त नहुँदै विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदा आश्चर्यचकित भएका छौँ ।”
राजनीतिक हस्तक्षेप र लामो समय केन्द्रीय कार्यसमितिको अनुपस्थिति नहोस् भनी देशभरका रेडक्रसकर्मीको सहभागितामा विधिसम्मत वर्तमान कार्यसमिति चयन भएको जानकारी दिँदै उहाँले केही व्यक्तिले रेडक्रसको छवि बदनाम गराउने प्रयत्न गरेकामा चिन्ता व्यक्त गर्नुभयो ।
“वर्तमान केन्द्रीय कार्यसमिति मुलुकको कानुन, विधि, विधान र नियमभित्र रही मानवीय सेवामा तल्लीन छ”, अध्यक्ष नेपालले भन्नुभयो, “करचुक्ता, संस्था दर्ता नवीकरण, मानवीय सेवा र विपद् प्रतिकार्यका विभिन्न परियोजना व्यवस्थित गर्न कार्यसमिति सक्षम छ ।” उहाँले विद्यमान कार्यसमिति पारदर्शीता, जवाफदेहिता, आर्थिक अनुसशासन र सेवाको गुणस्तर पालना गर्न गराउन प्रतिबद्ध रहेको बताउनुभयो ।
नेपाल रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले विश्व स्वास्थ्य सङ्गठन तथा अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)लगायत गुणस्तर मापन गर्ने निकायमा सूचीकृत रिएजेन्ट, परीक्षण र उपकरणको प्रयोगबाट रक्तसञ्चार सेवा प्रवाह हुँदै आएको जानकारी दिनुभयो ।
उहाँले राष्ट्रिय रक्तसञ्चार नीति, २०७१ मा उल्लेख भएअनुसार रक्तदाताको छनोट, रक्तदान प्रक्रिया, रक्तसङ्क्रमण परीक्षण, उपकरणको मर्मतसम्भार र फोहर व्यवस्थापनका मापदण्ड पालना गरिएको स्पष्ट पार्नुभयो । रेडक्रसले उपलब्ध गराउने रगतमा कुनै प्रकारको कमीकमजोरी नरहेको उहाँको भनाइ थियो ।
नेपाल रेडक्रस अन्तर्राष्टिय रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको अङ्गका रुपमा विसं २०२० मा स्थापना भई मानवीय सेवाका क्षेत्रमा सरकारको सहयोगीका रुपमा कार्यरत छ ।
घट्दो जनसङ्ख्या र बढ्दो बसाइसराइँले सयभन्दा कम विद्यार्थी भएका विद्यालय सङ्ख्या बढे
काठमाडौँ, २६ असार I घट्दो जनसङ्ख्या, बढ्दो बसाइसराइँ र सहरी क्षेत्रमा निजी विद्यालयको प्रभावसँगै मुलुकका पचास प्रतिशतभन्दा बढी सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी हुन पुगेका छन् । सार्वजनिक शिक्षाको सुधारका लागि सरकारी र गैह्रसरकारी क्षेत्रबाट पहल जारी रहे पनि कूल सामुदायिक (सरकारी) विद्यालयमध्ये आधाभन्दा बढीमा सयभन्दा कम विद्यार्थी देखिएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको शैक्षिक सूचना, २०८० मा सयभन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयको सङ्ख्या १५ हजार नौ सय ६५ उल्लेख छ । उक्त सङ्ख्या कूल सामुदायिक विद्यालयको सङ्ख्या (२७ हजार नौ सय ९०) को ५७ दशमलव ०३ प्रतिशत हो । आर्थिक वर्ष २०७६÷७७ मा सयभन्दा कम भएका सामुदायिक विद्यालयको सङ्ख्या १४ हजार रहेकामा विद्यालय समायोजन (मर्ज) को नीतिसमेत सञ्चालन भएको स्थितिमा हाल कम विद्यार्थी भएका विद्यालयको सङ्ख्या झन् बढेको देखिएको छ ।
सयदेखि पाँच सयसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय नौ हजार सात सय चार, पाँच सय एकदेखि एक हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय एक हजार छ सय ३६, एक हजार एकदेखि १५ सयसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय चार सय नौ, १५ सय एकदेखि दुई हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय एक सय ३६ र दुई हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयको सङ्ख्या मात्र सय रहेको छ । हाल २७ हजार नौ सय ९० सामुदायिक र सात हजार आठ सय ८६ संस्थागत (निजी) गरी कूल ३५ हजार आठ सय ७६ विद्यालय (आधारभूत तहदेखि कक्षा १२ सम्म) छन् । विसं २०७९ मा सामुदायिक, संस्थागत र धार्मिक विद्यालय गरी ३६ हजार पाँच सय दुई विद्यालय रहेका थिए ।
शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रको आँकडा अनुसार २०८० सालमा सामुदायिक र संस्थागत दुवैमा गरी आधारभूत तह कक्षा ५ सम्म १७ हजार छ सय १७, आधारभूत तह कक्षा ८ सम्म छ हजार सात सय ६७, माध्यमिक तह कक्षा १० सम्म छ हजार छ सय ७२ र माध्यमिक तह कक्षा १२ सम्म चार हजार आठ सय २० विद्यालय रहेका छन् । केन्द्रका महानिर्देशक दीपक शर्मा जन्मदर कम हुँदै जानु, सहरी क्षेत्रमा संस्थागत (निजी) विद्यालयका विद्यार्थी बढ्नु र ग्रामीण क्षेत्रबाट नागरिकको सहरी क्षेत्रमा बसाइँसराइ बढ्नुले धेरै सामुदायिक विद्यालयमा विद्यार्थी कम भएको बताउनुहुन्छ ।
दोलखाको रोल्वालिङमा ११ परिवार मात्रै रहेको र त्यहाँ आठजना मात्रै विद्यालय उमेरका बालबालिका रहेको स्थितिमा त्यहाँको प्राथमिक विद्यालय बन्द वा समायोजन गराउने हो भने त्यहाँका बालबालिका अर्काे गाउँको विद्यालयमा पुग्न दुई घन्टासम्म हिँडेर जानुपर्ने अवस्था रहेको बारेमा पनि सोच्नुपर्ने उहाँको भनाइ छ । विद्यालय समायोजन नीतिमा आधा घन्टाभन्दा कम पैद दूरीमा पर्ने सामुदायिक विद्यालयमा १५ भन्दा कम विद्यार्थी भएमा नजिकैको विद्यालयमा मर्ज गर्नुपर्ने व्यवस्था रहेको छ ।
निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ ले बालबालिकालाई आधारभूत तहसम्म पायकपर्ने विद्यालयमा निःशुल्क शिक्षा दिनुपर्ने भएकाले न्यून विद्यार्थी भए पनि दुर्गम गाउँका विद्यालयलाई कायम गरिएको महानिर्देशक शर्माले बताउनुभयो । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रमको नक्शाङ्कन गरी पुनःसंरचना गर्ने, विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने, विभिन्न क्षेत्रमा सीप विकासका लागि दस कक्षा उत्तीर्ण विद्यार्थीका लागि विशेष कार्यक्रम लागू गर्ने योजना छ ।
नीति तथा कार्यक्रममा शिक्षा प्रणालीमा परिमार्जन गर्ने लक्ष्य लिएको यस नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकबाट नयाँ पुस्ताका बालबालिका तथा युवावर्गमा ज्ञान, सीप तथा अनुभव पुस्तान्तरण गर्न आवश्यक प्रबन्ध गरिने र विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाइ शिक्षण सिकाइमा रहेको असमानता कम गर्न र गुणस्तरीय शिक्षामा सबैको पहुँच वृद्धि गर्न ‘एक पालिका एक स्मार्ट विद्यालय’ अवधारणा कार्यान्वयनमा ल्याइने उल्लेख छ ।
पुस्तक समीक्षा : अमेरिका जान चाहनेलाई उपयोगी पुस्तक ‘सपना र यथार्थमा अमेरिका’
काठमाडौँ, २६ असार I विपन्न र अविकसित देशका नागरिकका लागि सपनाको काल्पनिक संसार स्वर्गजस्तो लाग्ने अमेरिकाका बारेमा एउटा दृष्टिविहीनले हात्ती छामेजस्तो फरकफरक चर्चा र व्याख्या हुने गर्दछ । विश्व मानचित्रमा जनसङ्ख्या र भूगोलमा तेस्रो ठूलो देश अमेरिका पाँच सय वर्षको इतिहासमा अनेक आरोहअवरोह पार गर्दै विश्वको महाशक्ति राष्ट्र बनेको छ । करिब सात दशकदेखि धेरै नेपालीको गन्तव्य बनेको अमेरिका पछिल्लो दुई दशकयता झनै बढी आकर्षणको केन्द्र बनेको छ । एकातिर उच्चशिक्षाको अवसरमा जानेखोजिरहेका छन्भने अमेरिकाले डिभी योजना चलाएपछि भाग्यवश धेरै नेपाली यस ढोकाबाट पनि तानिएका छन् ।
अमेरिका जाने र सुन्दर भविष्यको सपना देख्ने नेपालीहरुको भीडमध्येका एक हुन्ुहुन्छ सानबाबु सिलवाल । लामो समय नेपालमा पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आउनुभएका उहाँले सन् २००५ देखि अमेरिकालाई आफ्नो कर्मथलो बनाउनु भएको छ ।अमेरिकामा रहँदा आफूले खाएका अनेक हण्डरहरुको चर्चा मात्र गर्नुभएको छैन, भविष्यमा कसैले त्यस्तो अवस्थासँग जुध्न नपरोस् भनेर बाटो देखाउने काम ‘सपना र यथार्थमा अमेरिकामा’ नामक पुस्तकमार्फत गर्नुभएको छ ।
पुस्तक दुई सय ८३ पृष्ठको र नौ एकाइमा विभक्त रहेको छ । पुस्तकमा आर्थिक धरातलमा रहेर अमेरिकालाई चिनाउँदै अमेरिकामा रहेका नेपालीहरूको अनुभव, अमेरिकामा नयाँ जीवन सुरु गर्ने मार्गनिर्देशन, त्यहाँ उपलब्ध अवसरहरू, मुद्रा व्यवस्थापन, करलगायत विषयहरू समेटिएका छन् । पुस्तकमा अमेरिकी कानुनसम्बद्ध केही मुद्दाहरू, सडक सुरक्षा र नियमका प्रसङ्गहरु, संयुक्त राज्य अमेरिका र नेपालबीचको सम्बधजस्ता विविध विषयका बारेमा पनि जानकारी गराइएको छ ।
पुस्तकमा संयुक्त राज्य अमेरिकाको परिचय, अमेरिकामा नेपालीहरूको अवस्था, अमेरिकी जीवन प्रारम्भका लागि सुझावहरू, अमेरिकामा अवसर, कर प्रणाली, कानुनसम्बन्धी कुराहरू, सडक सुरक्षा र नियम, नेपालसँग अन्तरसम्बन्धलगायत विभिन्न विषय समावेश गरिएको छ । कृतिमा अमेरिकी कानुन, यातायात, पर्यटन, न्यायालय, अर्थ व्यवस्थाको व्याख्या गरिएकाले अमेरिकी समाजबारे धेरै जानकारी पाउन सकिन्छ ।
विश्वका धेरै मानिसका निम्ति अमेरिका सपनाको देश बनेको छ र अमेरिका पुग्न सक्नुलाई मात्र पनि ठूलो सफलता ठान्नेहरूको नेपाली समाजमा झनै बढी रहेको छ । समृद्धिको सपना देखेर प्रवासमा हाम्फालेका जो कसैले पनि यस पुस्तकबाट लाभ लिन सक्नेछन् । अमेरिकी भूमिका सङ्घर्ष गरिरहेका नेपालीलाई पुस्तकले बाटो देखाएको छ । केही न केही आफूले निरन्तर मिहिनेत र सङ्घर्ष गरेर व्यावसायिक सफलतातिर उन्मुख भएको र यो क्रममा आफ्ना प्रेरणाका स्रोतहरुको उल्लेख गर्नुभएको छ ।
पुस्तकको बारेमा भूमिका लेख्नुभएका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले मूलतः अमेरिका जाने सोच बनाउनुअघि यो कृतिका प्रत्येक अक्षर, शब्द, आशय अध्ययन गर्नु र अमेरिका पुगेपछि गहिरोसँग मनन गर्नु जरुरी छ भन्दै पुस्तकको महत्वलाई उजागर गर्नुभएको छ । यो पुस्तक अमेरिकामा रहेका हुन् वा भविष्यमा अमेरिकाको सपना देखेका नेपाली हुन् सबैका लागि ‘डिस्नेरी’ बन्न सक्छ भन्ने उहाँको भनाइ छ । त्यस्तै अर्का वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले पनि आफ्नो भूमिकामा अमेरिकालाई नेपालीमा बुझ्न चाहनेहरुका निम्ति पुस्तक अत्यन्तै उपयोगी रहेको उल्लेख गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष जीवा लामिछानेले अमेरिकी समाजलाई लक्षित गरेर लेखिएको भए पनि अन्य क्षेत्रका मानिसका लागि समेत उत्तिकै उपयोगी हुनसक्ने विश्वास व्यक्त गर्नुभएको छ ।
गीता सिलवालले प्रकाशन गरेको पुस्तकको मूल्य पाँच सय रुपैयाँ रहेको छ । पुस्तक बिक्रीबाट आएको आम्दानीले लेखकले विपन्नहरुको निःशुल्क उपचारमा योगदान गर्न चाहनुभएको छ । समाजसेवामा अभिरुचि राख्ने लेखक अमेरिकामा रहँदा दुःखमा परेका नेपालीहरूलाई सहयोग गर्ने र मातृभूमिप्रति पनि उत्तिकै चिन्तित रहनुभएको पुस्तक पढ्दा धेरै दृष्टान्तहरुबाट थाहा हुन्छ । हालै राजधानमीमा आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गर्दै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सत्कर्म, सत्प्रयास, सत्चरित्रबाट नै मानिस सफल हुने बताउँदै अमेरिकामा रहेर पनि नेपाल र नेपालीप्रति चिन्ता राख्ने, नेपालीको भलाइका लागि लागिपर्ने लेखकको प्रशंसा गर्नुभयोे ।
लेखक सिलवालले पुस्तकमा आफ्नो भनाइ राख्दै अमेरिका बसिरहेका, यहाँ आउँदै गरेका र भविष्यमा आउने सोच बनाएका नेपाली अमेरिकी र नेपालीलाई लक्षित गरी आफ्ना अनुभवहरुसमेत बाँड्ने उद्देश्यले पुस्तक लेखेको बताउनुहुन्छ । अवसरको खोजी गर्दै अमेरिका पुगेका तर चुनौती सामना गरिरहेका नेपालीलाई मार्गदर्शन र सहयोग गर्ने आफ्नो उद्देश्य रहेको बताउनुहुन्छ । उहाँले अमेरिकामा समस्या अप्ठेरोमा रहेका नेपालीलाई सहयोग गर्न आफू निरन्तर लागिपरेको बताउँदै आफूलाई राती, बिहान दिउँसो हरेक क्षण समस्यामा परेका नेपालीको फोन आउने गरेको र आफू समाधानका लागि निरन्तर लागिरहेको कुरा पनि पुस्तकमा उल्लेख गर्नुभएको छ । हाल अमेरिकामा रहेका झन्डै पाँच लाख रहेका छन् ।
संविधान संशोधन गर्न आयोग बनाउने सहमति नभएको अध्यक्ष ओलीको स्पष्टोक्ति
काठमाडौँ, २६ असार I नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनको प्रक्रियामा आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताउनुभएको छ । पार्टीको सचिवालय बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेससँग पनि यसै विषयमा छलफल भएको तर, संविधानका यी धारा र यी विषयमा परिवर्तन गर्ने भन्ने बारेका कुनै सहमति नभएको प्रष्ट पार्नुभयो । संविधान संशोधनको लागि आयोग बनाउने सहमति पनि नभएको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले एमाले र कांग्रेसबीचको समीकरण राजनीतिक स्थायित्व र विकासको लागि भएको बताउनुभयो । एमाले र कांग्रेस मिलेर संविधान र व्यवस्था नै समाप्त पार्न लागेको भ्रामक प्रचारप्रति उहाँले आपत्ति जनाउनुभयो । प्रदेशहरूमा महिना–महिनामा सरकार फेरिने स्थिति बनेका मापनि उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार निजी र दलगत स्वार्थलाई केन्द्रमा राखेर गतिविधि सञ्चालन गर्ने, देशको विकास निर्माण र जनताका कामलाई केन्द्रमा नराख्ने र अस्थिरतामा रमाउने प्रवृत्तिका विरुद्ध कांग्रेस–एमाले एक ठाउँमा आउनु परेको उहाँले प्रष्ट पार्नुभयो । “संविधान एउटा गतिशील दस्ताबेज हो, समाजको पथ प्रदर्शक हो, समाजलाई डो¥याउने मूल कानुन हो, यो मूल कानुन समय अनुकूल परिवर्तित, परिमार्जित हुँदै जानु उपयुक्त हुन्छ”, उहाँले भन्नुभयो,“त्यसैले कतिपय कुरामा संविधान संशोधन गर्नुपर्छ भनेर भनेको हो । त्यसबारेमा विस्तृतमा पछि छलफल हुनेछ । अहिले धेरै कुरा बजारमा आएको बताउँदै अध्यक्ष ओलीले कांग्रेससँग यस विषयमा डिटेलमा कुनै कुरा नभएको स्पष्ट पार्नुभयो ।
मन्त्रालय बाँडफाँट भएको छैन
उहाँले कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँट नभएको बताउनुभयो । सरकारमा सबैदललाई स्थान दिने भन्ने विषयमा भने सहमति भएको उहाँले जानकारी दिनुभयो । उहाँले यदि उत्पादन बढाउन नसक्ने हो भने आयात वृद्धि हुने र नेपाल परनिर्भर हुने बताउनुभयो । सबै कुरा राष्ट्रिय उत्पादनमा निर्भर हुनेमा उहाँले जोड दिनुभयो ।
उद्यमशीलता, कृषिमा आधारित उद्योग, व्यावसायिकता, आधुनिकीकरण र यान्त्रिकीरणमा ध्यान दिनु, उत्पादनका लागि प्रविधिमा जोड दिनु आजको आवश्यकता भएको अध्यक्ष ओलीले बताउनुभयो ।
“सडक, पूर्वाधार, विद्युत्, सञ्चारलगायत क्षेत्रका आधारभूत काम भएका छन् , अब शिक्षालाई व्यवहारमुखी बनाउने तर्फ लाग्नुपर्छ । कृषि क्षेत्रको विकासका लागि विशेष कार्यक्रम बनाउन आवश्यक छ,” अध्यक्ष ओलीले भन्नुभयो ।
विपक्षमा मतदान गर्न एमालेको व्हीप
काठमाडौँ, २६ असार I नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई यही असार २८ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला आज सो व्हीप जारी गर्नुभएको हो ।
पृथ्वीराजमार्गको वैकल्पिक सडक बुद्धसिंह मार्गको अवरुद्ध खुल्यो
दमौली (तनहुँ), २६ असार I पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गको पहिरा हटाइएको छ । तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्किने उक्त मार्गको विभिन्न ठाउँमा गएको पहिरो हटाउन सोमबार साँझदेखि काम सुरु गरिएको थियो ।
पहिराले विभिन्न ठाउँमा ठूलाठूला ढुङ्गा खसेपछि गत शनिबारदेखि उक्त मार्ग अवरुद्ध थियो । स्थानीयवासी सिद्धान्त थापामगरका अनुसार व्यास नगरपालिका–१३ बेलबास निउरोघारीमा गएको पहिरो सोमबार नै हटाइएको छ भने साना पहिरा मङ्गलबार बिहानबाट हटाइएको थियो । उहाँले भन्नुभयो, “ठूला ठूलो ढुङ्गा खसेका ठाउँमा सोमबार नै पहिरा हटाइएको छ, अरु सहायक बाटोमा मङ्गलबार बिहानदेखि काम सुरु गरिएको थियो ।”
गण्डकी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्छन् ।
गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटोदूरीको वैकल्पिक सडकका रूपमा उक्त सडकलाई लिने गरिएको छ । गण्डकी प्रदेश सरकारले उक्त सडकको दमौलीबाट व्यास –१३ को सोढेसम्म १० किलोमिटर कालोपत्रको तयारी गरे पनि काम सन्तोषजनक छैन ।
उक्त बुद्धसिंह मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधीन अवस्थामा छ । सो पुलको निर्माण सम्पन्नपश्चात बाटो छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्छ ।
पहिराले विद्युत् पोल मर्मतमा समस्या
बुद्धसिंह मार्गअन्तर्गत तनहुँको सुडे साराङघाट क्षेत्रमा पहिरा गएपछि विद्युत् पोल ढलेर विद्युत् अवरुद्ध भएको छ । पहिरो हटाउन ढिलाइ हुँदा विद्युत् पोल मर्मत गर्न समस्या भएको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।
दमौली सुडे साराङघाट खण्डमा ठाउँ–ठाउँमा पहिरो गएको र सेती नदीमा आएको बाढीले सडक भत्काउँदा विद्युत् पोल मर्मतमा समस्या भएको वितरण केन्द्रका प्रमुख विजय रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यस खण्डमा १६ वटा पोल ढलेको छ । पोल ढलेपछि साराङघाट सबस्टेशनबाट विद्युत् आपूर्ति हुने देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकाका केही भागमा विद्युत् अवरुद्ध भएको छ । सडकको पहिरो छिटो पन्छाएको खण्डमा विद्युत् मर्मत गराउन सहज हुने प्रमुख रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरो नहटाउँदासम्म विद्युत् मर्मत गर्न समस्या भइरहेको छ । आवश्यक पोल तार लैजान सहज हुन्थ्यो ।”
पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण
म्याग्दी, २६ असार I म्याग्दीमा यस आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १८ योजना सम्पन्न भएका छन् । चालु आव २०८०/८१ मा गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको रु एक करोड ५६ लाख बजेटबाट १८ वटा पर्यटन पूर्वाधार योजना निर्माण भएका हुन् ।
चर्चित, ऐतिहासिक र धार्मिक पर्यटकीयस्थलमा नौ किलोमिटरभन्दा बढी पदमार्ग निर्माण भएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषानाथ शर्माले जानकारी दिनुभयो । “कार्यालयका सबै योजना कार्यान्वयन गरेका छौँ”, उहाँले भन्नुभयो, “सात किलोमिटर ४८ मिटर नयाँ ट्रयाक बनाउने, ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउने काम भएको छ ।”
उहाँका अनुसार एक किलोमिटर ७२ मिटर पदमार्गमा ढुङ्गा छापेर पदमार्ग बनाइएको छ । थप एक किलोमिटर ८२ मिटर पदमार्गलाई ढलान गरेर पक्की बनाइएको छ । पदमार्गसँगै धार्मिक पर्यटकीयस्थलमा घेराबार, संरक्षण, प्रवेशद्वार, रेलिङ, भ्यूप्वाइन्ट, वनभोजस्थललगायत पूर्वाधार निर्माण भएको कार्यालयका सबइन्जिनियर सुमन बोगटीले जानकारी दिनुभयो ।
पर्यटन पूर्वाधार बनेपछि पर्यटक प्रवर्द्धनमा सघाउनुका साथै स्थानीयवासीलाई सुविधा पुगेको छ । यस वर्ष सबैभन्दा धेरै रु २० लाख बजेट विनियोजन भएको अन्नपूर्ण गाउँपालिका–५ को खोप्रालेकमा पदमार्ग, भ्यूप्वाइन्ट निर्माणसँगै खानेपानीको पूर्वाधार निर्माण गरिएको छ ।
जिल्लाकै ऐतिहासिक धार्मिकस्थल ताकमकोट, ज्यामरुकोट, चिनाकोटमा रु १०–१० लाख बजेटबाट पदमार्ग, रेलिङलगायत पर्यटन पूर्वाधार निर्माण भएका छन् । बेनी नगरपालिका–९ स्थित ढोलथानमा रु १० लाख बजेटबाट पदमार्ग, प्रवेशद्वार वनभोजस्थल र रेलिङ निर्माण भएको कार्यालयले जनाएको छ ।
महभिरबाट करबाकेलीथान जाने बाटो, पनथोकबाट मालिका जोड्ने बाटो, गलेश्वर–काउलेगौडा–नेप्टेचौर ढोलठान जाने बाटो, दर्मिजा–नाङ्गीदेवी थान बाटो, लामाखोरिया–डाँडागाउँ जोड्ने बाटोमा रु १०–१० लाख बजेटबाट पदमार्ग निर्माण र विस्तार गरिएको छ ।
त्यसैगरी बेनीस्थित डल्लेपिपल–फोहोटे रिठाबोट र रघुगङ्गा गाउँपालिका–२ भगवतीको अन्नपूर्ण आधारभूत विद्यालयबाट हवल्दारको चौतारासम्म रु आठ–आठ लाख बजेटबाट सिँढी चिनेको पदमार्ग निर्माण गरिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको परम बैदिक धार्मिक सनातन आश्रम, सारेमारे–भुवाने, भालश्री छापाछाङ औसी–खालीखोला, बलौटे–दुखुबेँसी, कालीबराह ताल, शिलखुङ–चाङ्गा जोड्ने बाटोमा रु पाँच–पाँच लाख बजेटबाट पदमार्ग निर्माण तथा संरक्षण भएको छ ।