बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J1HXRW8SYFMGTG3E7CB5GCF3.webp

इरानको राष्ट्रपतीय मत गणनामा पेजेस्कियन र जलिलीको प्रतिस्पर्धा

तेहरान,इरान, १५ असार I इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियन र अति परम्परावादी समूहका सईद जलिलीले राष्ट्रपतीय निर्वाचनकोे मत गणनामा अग्रता कायम गरेको शनिबार आन्तरिक मन्त्रालयद्वारा जारी प्रारम्भिक परिणामले देखाएको छ । 
पछिल्लो परिणामअनुसार पेजेस्कियनले ८३ लाखभन्दा बढी मत प्राप्त गर्नु भएको छ भने पूर्व आणविक वार्ताकार जलिलीले ७१ लाखभन्दा बढी मत प्राप्त गर्नुभएको छ । 

हालको प्रवृत्ति जारी रहेको अवस्थामा दुवै उम्मेदवार जुलाई ५ हुने दोस्रो निर्वाचनमा प्रतिस्पर्धा गनुपर्नेछ । इरानी संविधान अनुसार यदि कुनै उम्मेद्वारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् भने दोस्रो चरणको चुनाव गर्नु पर्ने प्रावधान रहेको छ । 

सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि इरानमा भएको १३ वटा राष्ट्रपतीय चुनावमध्ये सन् २००५ मा भएको एउटा मात्र निर्वाचनमा दोस्रो चरणको मतदानबाट राष्ट्रपतिको चयन गरिएको थियो । 
आन्तरिक मन्त्रालयका अनुसार अहिलेसम्म एक करोड ९० लाखभन्दा बढी मत गणना भइसकेको छ ।

प्रारम्भिक परिणाममा कन्जरभेटिभ संसदका अध्यक्ष मोहम्मद बाघेर घालीबाफ लगभग २६ लाख मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । यसैगरी चौथो स्थानमा परम्परावादी धर्मगुरु मुस्तफा पौरमोहम्मदीले १५ लाखभन्दा बढी मत प्राप्त गर्नुभएको छ ।

नियमित तालिका अनुसार सन् २०२५ मा हुनुपर्ने निर्वाचनका लागि करिब छ करोड १० लाख इरानी मतदान गर्न योग्य थिए । 

इस्लामिक गणतन्त्रमा चुनावी उम्मेद्वारहरूको जाँच गर्ने गार्जियन काउन्सिलले सुरुमा छ जना उम्मेदवारलाई अनुमोदन गरेको थियो तर चुनावको एक दिन अगाडि दुई उम्मेदवारहरू अलिरेजा जाकानी र अमिर–हुसेन गाजीजादेह हाशेमी दौडबाट बाहिरिएका थिए । रासस/एएफपी

प्रकाशित मितिः शनिबार, १५ असार २०८१
https://jawaaf.com/storage/01J1HX3SHWCP3SY9RX3PCPEE6H.jpg

धरानको कृषि बजारमा खसी, बोकाको बिक्री बढ्दै

धरान (सुनसरी), १५ असार I धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै खसी, बोका किनबेच बढ्न थालेको छ । साताको दुई दिन खसी, बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण र पहाडी भेगबाट व्यापारी आउने गरेका छन् ।     
     
मोरङको केराबारी गाउँपालिकाबाट खसी, बोका बिक्री गर्न धरान आउनुभएका जय लिम्बूले दुई वर्षदेखि पशुपालन गर्दै आउनुभएको छ । “केराबारीमा महिनाको दुई पटक खसी, बोका बिक्री गर्दै आएको छु । यहाँ पहिलो पटक आएकाले चार वटा खसी मात्र ल्याएको छु”, उहाँले भन्नुभयो, “साना खसी रहेकाले जोडीको रु १५ हजारमा बिक्री गरिरहेको छु ।” उहाँका अनुसार अहिले फार्ममा १६ वटा खसी छन् ।     
     
धनकुटा सागुडीगडी–७ का किसान ममता राईले धरानस्थित कृषि बजारमा खसी, बोका बिक्री गर्न सधैँ आउने गरेको सुनाउनुभयो । खसी, बोका बिक्रीबाट वार्षिक रु छ लाखभन्दा बढी आम्दानी भइरहेको उहाँले जानकारी दिनुभयो । पशुपालन पुख्र्यौली पेसा भएकाले यसलाई निरन्तरता दिइएको राईले बताउनुभयो । “घाँसभन्दा अन्न र दाना बढी खुवाउने गरेकी छु । घाँस खुवाउँदाको तुलनामा खर्च बढी भए पनि प्रशस्त नाफा हुने गरेको छ”, उहाँले भन्नुभयो ।     
     
मोरङको कानेपोखरीबाट व्यापारी चन्द्र खड्का प्रत्येक साता कृषि बजारमा खसी, बोका किन्न आउनुहुन्छ । एक सयदेखि एक सय ५० वटासम्म खसी, बोका किनेर लैजाने गरेको उहाँले जानकारी दिनुभयो । “यहाँबाट किनेका खसी, बोका जिल्ला बाहिर निर्यात गर्दै आएको छु । यसरी खसी, बोका खरिद गरी बिक्री गर्न थालेको २३ वर्ष भइसकेको छ”, उहाँले भन्नुभयो ।     
     
काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरूवा पोखरालगायत क्षेत्रमा खसी, बोका बिक्री गर्ने गरेको खड्काले सुनाउनुभयो । उहाँका अनुसार सबै खर्च कटाएर मासिक रु ७० हजारसम्म नाफा हुने गरेको छ ।     
     
बिहीबार र शुक्रबार लाग्ने उक्त खसी बजारबाट सतामा करिब तीस हजारभन्दा बढी खसी, बोका बिक्री हुने गरेको कृषिउपज बजार व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको असारको १० गतेसम्ममा रु दुई अर्बको कारोबार भएको छ ।     
     
व्यवस्थापक अध्यक्ष भट्टराईले भन्नुभयो, “पछिल्लो समय धरानमा पशुपालन बढेसँगै खसी, बोकाको किनबेच पनि बढिरहेको छ । वार्षिक एक लाख ६० हजार वटासम्म बिक्री हुने गरेको छ ।” धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुमका साथै तराईका इटहरी, मोरङको कानेपोखरी, बेलबारीलगायत स्थानबाट कृषक तथा व्यापारी किनबेचका लागि यहाँ आउने गरेका उहाँको भनाइ छ । यहाँबाट मुलुकको ठूला सहरका साथै भारतसम्म खसी, बोका निर्यात हुने गरेको उहाँले जानकारी दिनुभयो ।-रासस  

प्रकाशित मितिः शनिबार, १५ असार २०८१
https://jawaaf.com/storage/01J1HWT0YZDTCDSFWXBJKS02D6.jpg

युवालाई कृषि पेसामा आकर्षित गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ, १५ असार I कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले कृषि पेसाप्रति युवापुस्ताको आकर्षण वृद्धि गर्न विशेष जोड दिएको बताउनुभएको छ । मोरङको जहदा गाउँपालिका–३ मा आज आयोजित २१औँ राष्ट्रिय धान दिवस कार्यक्रममा उहाँले युवाका लागि तालिम, अनुदान, कृषिमा आधुनिक प्रविधि, व्यावसायिकता र बजारीकरणमा विशेष ध्यान दिने नीति प्रदेश सरकारले लिएको छ भन्नुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशलाई कृषिउपजमा आत्मनिर्भर बनाउन विशेष योजनाका कार्य सुरु गरेको जानकारी दिँदै उत्पादकत्व वृद्धि गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने धारणा राख्नुभयो ।     
     
मुख्यमन्त्री कार्कीले भन्नुभयो, “जलवायु परिवर्तनको असरका कारण कृषि उत्पादन घटेकाले यसबाट मानव जीवन कष्टकर बन्दै गएको छ । यसतर्फ हामी सबैले ध्यान दिनु जरूरी छ ।” सो अवसरमा उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा लेखराज दाहालले कृषि उत्पादन वृद्धि गर्न उन्नत जातको बीउ उत्पादन वृद्धि हुने विचार राख्नुभयो । कृषि विकास निर्देशनालय विराटनगरका प्रमुख प्रकाशकुमार डाँगी र जहदा गाउँपालिकाका अध्यक्ष जीतेन्द्र साहले कृषिमा आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुभयो ।     

प्रकाशित मितिः शनिबार, १५ असार २०८१
https://jawaaf.com/storage/01J1HW5Y7Q3WBMPE2G3P3F72AB.jpg

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन भोलिदेखि

काठमाडौँ, १५ असार I  नेकपा (एकीकृत समाजवादी) को आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना  हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ । 

महाधिवेशनका बारेमा  जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिनुभयो ।  ती दस्तावेज कम्युनिष्ट पार्टीकोे इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट पारित हुने वैचारिक दृष्टिकोण तथा कार्यक्रमका आधारमा नेतृत्व चयन गरिने जानकारी दिनुभयो । उहाँले नेतृत्वमा सहमति हुन नसके लोकतान्त्रिक पद्धतिबाट प्रक्रिया अगाडि बढाउनुपर्छ भन्नुभयो ।  महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् ।  ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ । पार्टी अध्यक्ष नेपालले आइतबार महाधिवेशन उद्घाटन गर्नुहुने कार्यक्रम छ । 

पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ । काठमाडौँ उपत्यका बाहिरका प्रतिनिधिहरू आइसकेको जनाइएको छ ।

महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ । महाधिवेशनस्थललाई आकर्षक बनाउन सिगारिएको छ ।  करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ ।  एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको छ । 

प्रकाशित मितिः शनिबार, १५ असार २०८१
https://jawaaf.com/storage/01J1HVED87ZSZHNPWXS0A1AZFQ.jpg

ताप्लेजुङमा पनि धान दिवस मनाइयो

ताप्लेजुङ, १५ असार I पहाडी जिल्ला ताप्लेजुङमा पनि असार १५ अर्थात् धान दिवस मनाइएको छ । राष्ट्रिय कृषक समूह महासङ्घ जिल्ला समन्वय समितिको आयोजनामा रोपाइँ गरेर धान दिवस मनाइएको हो ।     
     
फुङ्लिङ नगरपालिका–३ केनिममा नौमती बाजासहित भएको रोपाइँ कार्यक्रमको सहायक प्रमुख जिल्ला अधिकारी टङ्क भट्टराईले उद्घाटन गर्नुभयो । कार्यक्रममा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त कार्की, फुङ्लिङ नगरपालिका उपप्रमुख भीमादेवी ओझालगायत विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू र स्थानीयको सहभागिता थियो ।     
     
विगतका वर्षदेखि नै सदरमुकाम नजिकैपर्ने केनिममा धान दिवसका अवसरमा कार्यक्रम हुँदै आएको छ । कार्यक्रममा सहभागी स्थानीय कृषकले कृषिमा युवाको आकर्षण बढ्ने योजना तथा कार्यक्रमको आवश्यकता रहेको बताएका थिए । कृषि उत्पादन वृद्धि तथा कृषकलाई प्रोत्साहन गर्ने प्रभावकारी योजना नहुँदा कृषिप्रति युवाको आकर्षण घट्दै गएकामा चिन्ता व्यक्त गरेका थिए ।     
     
जिल्लामा पर्याप्त वर्षा भएसँगै यहाँका किसानलाई रोपाइँको चटारो छ । जिल्लाको अधिकांश जनसङ्ख्या खेतीकिसानी गरेर जीवननिर्वाह गर्दै आएको छ ।     
 

प्रकाशित मितिः शनिबार, १५ असार २०८१
https://jawaaf.com/storage/01J1H6J3YXQNS6KQV82G0JA5YG.jpg

शीतल निवासमा धान रोपाइँ

काठमाडौँ, १५ असार I एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आज आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी हुनुहुन्थ्यो । रोपाइँ शुभारम्भ गर्नुहुँर्दै राष्ट्रपति पौडेलले कृषि पेसा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताउनुभयो ।     
     
“पहिला देशमा फलफूल तरकारीभन्दा धान बढी उत्पादन हुन्थ्यो । पहिला धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो । पछि जब करेसाबारी बढ्न थाल्यो, धान बाहिरबाट आयात गर्न थालिएको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “यसले पनि असन्तुलन भयो । त्यही भएर अब सन्तुलित खानपीनका लागि फेरि धानको उत्पादन, कृषि पेसा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको हुँ ।”  

प्रकाशित मितिः शनिबार, १५ असार २०८१
https://jawaaf.com/storage/01J1F231AEF5D5EDZZJ3VGEDQW.png

गाजाबासीलाई स्वास्थ्य सेवाको चरम आवश्यकता भएको राष्ट्रसङ्घीय अधिकारीको भनाइ

गाजा, १४ असार I गाजा पट्टीको प्यालेस्टिनी तटीय क्षेत्रमा स्वास्थ्य अवस्था बिग्रँदै गएकोले त्यहाँका बासिन्दालाई स्वास्थ्य सेवाको चरम आवश्यकता  रहेको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकायले जनाएको छ ।  प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य निकाय (युएनआरडब्लुए) ले सामाजिक सञ्जाल एक्समा गाजामा थोरै सङ्ख्यामा युएनआरडब्लुए स्वास्थ्य केन्द्र मात्र सञ्चालनमा रहेको बताएको छ ।

मध्य गाजाको नुसिरातमा टोलीहरूले स्थानीय परिवारको सेवा गर्न जारी राखेपनि औषधि र इन्धनको गम्भीर अभावले जीवन रक्षाको कार्यमा बाधा पुगेको छ । युएनआरडब्लुएले गाजामा प्यालेस्टिनीलाई फोहोर र ढलले घेरिएको जनाएको छ । “भीडभाड भएको आश्रय, खाना, पानी र इन्धनको अभाव, चिकित्सा आपूर्तिमा न्यूनतम पहुँच र गर्मीका कारण स्वास्थ्य अवस्था बिग्रँदै गएको छ,” युएनआरडब्लुएले उल्लेख गरेको छ । 

क्यान्सर भएका २१ जना प्यालेस्टिनी बालबालिका बिहीबार विदेश उपचारका लागि केरेम सालोम हुँदै गाजाबाट निस्किए । मे महिनाको सुरुमा रफाह सीमाबाट आवतजावत बन्द भएपछि गाजापट्टीमा रहेका बिरामीहरूले पहिलो पटक गाजा छोडेकोस्वास्थ्य अधिकारीहरूले बताए । बिरामीहरू बाहिर निस्कन ‘गाह्रो र जटिल भएकाले रफाह सीमा पारको विकल्प नभएको गाजा क्षेत्रका अस्पतालहरूका महानिर्देशक मोहम्मद जकाउटले पत्रकार सम्मेलनमा उल्लेख गर्नुभयो ।  

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमामा हमासले गरेको हिंसा विरुद्ध बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । आक्रमणका कारण करिब एक हजार दुई सय  मानिस मारिएका थिए र २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो । द्वन्द्वबाट प्यालेस्टिनी भूमिमा मृत्यु भएका व्यक्तिको सङ्ख्या ३७ हजार ७८१ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीले बताएका छन् । -रासस/सिन्ह्वा

प्रकाशित मितिः शुक्रबार, १४ असार २०८१
https://jawaaf.com/storage/01J1F0T5F80RQTGZQE0092AH61.jpg

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने

जनकपुर, १४ असार I मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २१ गते विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सिंहले यही २१ गते विश्वासको मत लिने तय भएको हो । 

संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री सिंहले २२ गतेभित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्ने छ । तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट बहुमत प्राप्त नगरेपछि जनमत पार्टीका सिंह बहुमत सदस्यको  समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गत जेठ २५ गते मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री सिंहलाई एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल सङ्घीय समाजवादी पार्टीका गरी ५५ जना प्रदेशसभा सदस्यले समर्थन गर्नुभएको छ ।

प्रकाशित मितिः शुक्रबार, १४ असार २०८१
https://jawaaf.com/storage/01J1EB1AF0QDP20M40J9T6P9KY.jpg

कायरोमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी

काठमाडौँ, १४ असार I कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना भएको छ । नेपाल–इजिप्ट द्विपक्षीय सांस्कृतिक आदानप्रदान प्रवर्द्धन कार्यक्रमअन्तर्गत तार, काठ र ढुङ्गाबाट सृजना गर्ने इजिप्टका कलाकार गलाल गोमाको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा फोटो पत्रकार तथा वृत्तचित्र निर्माता अशरफ तलात र फोटोग्राफर यासेर अला मुबारकले नेपालमा खिचेका तस्बिर र मुहार चित्र एवं फौजी मोर्सीलगायत १८ जना कलाकारका मुहारचित्र राखिएको उक्त दूतावासका तृतीय सचिव माधवराज काफ्ले जानकारी दिनुभयो ।     
     
प्रदर्शनीमा अशरफ तलातले गत मार्च र मेमा मुस्ताङ र लुम्बिनीमा खिचेका तथा यासेर आलाले गत शिवरात्रिमा पशुपतिनाथ मन्दिरको वरिपरि खिचेका तस्बिर समावेश गरिएका थिए ।  त्यस अवसरमा इजिप्टका सांसद डा माई अल–बत्रानले नवीन अवधारणाको प्रयोगसहितको कला प्रदर्शनीले दुई मुलुकबीचको जनस्तरको सम्बन्धलाई सुदृढ गर्न टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।     
     
इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफर र कलाकारप्रति आभार व्यक्त गर्नुभयो । उहाँले कलाकारका सृजनाले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई प्रवर्द्धनमा योगदान पुग्ने बताउनुभयो । साथै उहाँले सहभागी कलाकारलाई कदरपत्र प्रदान गर्नुभयो ।     
     
प्रदर्शनीमा सहभागी फोटोपत्रकार अशरफ तलत र यासेर अलाले आफूहरूको नेपाल भ्रमणबारे वर्णन गर्दै दुई देशबीच जनस्तरमा भ्रमण आदानप्रदान बढ्दै गएको बताउनुभयो ।     
     
प्रदर्शनीमा कलाकार गलाल गोमाको तार मूर्तिकलाका साथै फौजी मोर्सी, खालेद अल मार्सफी, खालेद सलाह, शिमा शफेई, अहमद गेसा, मारवा इब्राहिम, नौरा मकराम, सफिया याह्या, हानी हसन अब्देलगा, हनी हसन अब्देलगाको क्यारिकेचर कलाको विविध सङ्ग्रह प्रदर्शन गरिएको थियो ।     
     
प्रदर्शनीमा व्यङ्ग्य चित्रकारहरूद्वारा सृजना गरिएका राजर्षि जनक, पासाङल्हामु शेर्पा र सन्दुक रुइतलगायत १५ जनाभन्दा बढी नेपालीप्रति समर्पित ‘क्यारिकेचर’ समावेश गरिएको थियो । कायरोस्थित युनाइटेड ओइल कम्पनीमा कार्यरत नेपाली वैज्ञानिक डा प्रकाश अधिकारीले विदेशमा नेपालबारे प्रचारप्रसार गर्न आयोजित यस्ता प्रदर्शनीले सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा कलाकार तथा कलाप्रेमी, कूटनीतिज्ञ, स्थानीय पत्रकार, विद्यार्थी, नेपाली समुदायका सदस्यसहित एक सय जनाको सहभागिता थियो ।     
 

प्रकाशित मितिः शुक्रबार, १४ असार २०८१
https://jawaaf.com/storage/01J1EAE5VW7A1ZM6CMNB58GV4R.webp

कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा धेरै पानी पर्ने पूर्वानुमान, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, १४ असार I हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । 

साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र  बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

यसैगरी, आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाका साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । 

आगामी २४ घण्टामा देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी–पहिरोको जोखिमबाट बच्न तथा त्यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मितिः शुक्रबार, १४ असार २०८१