विपत्तिको बीचमा मुख्यमन्त्री काठमाडौँमा, प्रदेश सरकार सक्रिय रहेको दाबी
विराटनगर । लगातारको वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। विशेष गरी इलाम जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ ।
इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार, शनिवार राति सुतिरहेका बासिन्दा विपत्तिको मारमा परेर ३७ जनाले ज्यान गुमाएका छन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापा, पाँचथर, मोरङ, उदयपुर र खोटाङ जिल्लामा पनि मृत्युका घटना भएका छन्।
प्रदेशभर हालसम्म ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएको प्रहरी तथ्यांकमा उल्लेख छ। धेरै जना घाइतेको उपचार भइरहेको छ भने केही अझै बेपत्ता रहेका छन्।
यसबीच, सबैभन्दा बढी क्षति व्यहोरेको प्रदेशकै मुख्यमन्त्री हिक्मत कुमार कार्की भने विपत्तिका समयमा काठमाडौँमै रहेका थिए।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवती भण्डारीका अनुसार, हवाई उडान अवरुद्ध हुँदा मुख्यमन्त्री फर्कन नसकेको बताए।
भण्डारीले भने, “मुख्यमन्त्रीकै निर्देशन अनुसार हामी कार्यरत छौँ। जनप्रतिनिधि जनताको बीचमै छन् र राहत कार्य तीव्र रूपमा भइरहेको छ।”
उनका अनुसार, कोशी प्रदेश सरकारले तत्काल आवश्यक राहत सामग्री प्रभावित जिल्लामा पठाइसकेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग समन्वय गरी उद्धार तथा राहत कार्य सञ्चालन भइरहेको पनि उनले जानकारी दिए।
भण्डारीले थपे, “हाम्रो मन्त्रालयले सबै १४ जिल्लाका विपद् व्यवस्थापन संयन्त्रसँग समन्वय गर्दै काम गरिरहेको छ। अप्रत्याशित क्षति भए पनि जोखिमा रहेका क्षेत्रमा केन्द्रित भएर प्रतिकार्य अघि बढाइएको छ।”
उनका अनुसार, पीडितको विस्तृत विवरण प्राप्त भएपछि राहत वितरण र पुनःस्थापनाको कार्य सुरु गरिनेछ, र मन्त्रालयका कर्मचारीहरूलाई आवश्यक सामग्री पठाउन तयारी अवस्थामा राखिएको छ।
बाढी पहिरोका कारण भएको क्षतिप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भारी वर्षाका कारण इलामल गायतका स्थानमा भएको विपद् र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन्।
सोमबार सामाजिक सञ्जालमार्फत उनले कठिन घडीमा, दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दै राहत र उद्धारमा अहोरात्र खटिनुहुने सबैप्रति उच्च कदर गरेकी छन्।
उनले लेखेकी छिन,‘अत्याधिक वर्षाका कारण ईलाम लगायतका स्थानमा भएको विपद् र जनधनको क्षतिले मलाई दुखी तुल्याएको छ। यस कठिन घडीमा, दिवंगत आत्माहरूको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्न चाहन्छु। यस घडीमा, राहत र उद्धार कार्यमा अहोरात्र खटिनुहुने सबैको उच्च कदर गर्दछु। विपत्तिको सामना गर्ने क्रममा नेपाली जनताले देखाउनुभएको धैर्य र सहयोग सराहनीय छ, जसका लागि म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै प्रभावित क्षेत्रहरूमा राहत वितरण जारी रहेको जानकारी गराउँदछु।’
आज कोजाग्रत पूर्णिमा : दशैंलाई विदा, लक्ष्मीको स्वागत
काठमाडौं । बडादशैं पर्व सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित आजदेखि समापन हुँदैछ ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि आजै गर्नुपर्ने हुन्छ ।
अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुने शास्त्रीय विधान छ । अखिल बलिपूर्ति गरेपछि आजै साँझ जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ ।
माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।
लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ ।
मापदण्ड अनुसार राहत र निःशुल्क उपचार गर्न निर्देशन
काठमाडौं । देशभर जारी लगातारको भारी वर्षाका कारण उत्पन्न मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरण गर्न मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक आइतबार बसेको छ । बैठकले विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि आठ वटा महत्वपूर्ण निर्णयहरू गरेको छ ।
असोज १७ देखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षा र त्यसबाट भएका जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बैठकले मृतकप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।
प्रतिकार्य कमाण्ड पोष्ट बैठकले स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्डअनुसार राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।
मनसुनजन्य विपद्बाट प्रभावित व्यक्तिहरुको खोज, उद्धार, राहत र पुनस्र्थापनाका कार्यलाई निरन्तरता दिने निर्णयसँगै प्रारम्भिक क्षति विवरण संकलन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउन समेत सम्बन्धित निकायहरूलाई आग्रह गरिएको छ ।
सडक, खानेपानी, विद्युत्, सञ्चारलगायत अत्यावश्यक सेवा पुनः सञ्चालन गर्न सम्बन्धित निकायहरूलाई तत्काल कदम चाल्न निर्देशन दिइएको छ ।
यस्तै, जोखिमयुक्त सडकमा रात्रीकालीन बस सेवा तत्काल बन्द गर्न र अत्यावश्यक सेवाका सवारी साधनको आवागमन स्थानीय प्रशासनको सिफारिसमा सञ्चालन गर्न सकिने निर्णय गरिएको छ ।
बैठकले विपद् व्यवस्थापनमा सक्रिय सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वयंसेवक, गैरसरकारी संस्था, सञ्चारकर्मी तथा जनसमुदायप्रति आभार व्यक्त गरेको छ ।
न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा सुधार आउँदै
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले न्यून चापीय प्रणाली नेपालबाट बाहिरिसकेकाले मनसुन कमजोर हुँदै मौसममा सुधार आउन थालेको बताएको छ । विभागले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।
यद्यपी, अझै पनि आकस्मिक बाढी र डुबानको जोखिमलाई ध्यानमा राख्दै विभागले आफ्ना वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्री नम्बर ११५५ र एसएमएस सेवा मार्फत नियमित जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
अविरल वर्षाका कारण असोज १८ गतेदेखि बागमती, विष्णुमती, कमला, लल्बकैया लगायतका नदीमा जलसतह खतरा तह नाघेको र हाल भने घट्दो अवस्थामा रहेको विभागले जनाएको छ ।
त्यस्तै, असोज १९ गते बिहान सापेक्ष रूपमा सिकोशी नदी र यसको सहायक नदीहरू तमोर, सुनकोशी र अरुणमा समेत खतरा तह नाघेर अहिले घट्दो अवस्थामा पुगेको छ ।
बंगालको खाडीबाट विकसित न्यून चापीय प्रणालीको प्रभावले २०८२ असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म देशका विभिन्न भागमा अविरल वर्षा भएको छ । यस अवधिमा विशेषगरी मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा र कोशी प्रदेशका कतिपय स्थानमा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार २४ घण्टाभित्र रौतहटको महेशपुरमा ३५८ मि.मि. वर्षा मापन भएको छ ।
असोज १९ गते बिहानसम्म देशभरका २९५ वटा वर्षा मापन केन्द्रमध्ये १८६ वटामा वर्षा भएको थियो । तीमध्ये १०५ वटामा ५० मिमि. भन्दा बढी, ६८ वटामा १०० मि.मि. भन्दा बढी, २१ वटामा २०० मि.मि. भन्दा बढी र ५ वटामा ३०० मि.मि. भन्दा बढी वर्षा मापन भएको विभागले जनाएको छ ।
यस्तै, कनकाई, बुढी खोला, लोहन्रा, खेसलैया र बिरिङ नदीमा समेत जलसतह खतरा तह पार गरेर हाल स्थिर हुँदै गएको छ ।
तर कोशी नदी चतरा केन्द्रमा बहाव खतरा तहको नजिक रहेकाले बाढी र डुबानको जोखिम यथावत रहेको विभागले चेतावनी दिएको छ । विभागले असोज २० गते मध्यान्हसम्म सबै सरोकारवालाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
दशैंको समयमा मौसम विग्रियो, सतर्कता अपनाउन अनुरोध
काठमाडौं । वडादशैंको मुख्य दिन आज देशभरका अधिकांश स्थानको मौसम प्रतिकुल छ । कतिपय स्थानमा वर्षा भएकाले दशैं हिले बनेको छ ।
जल तथा मौसम बिज्ञान बिभागले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
विभागले विशेषगरि वागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश, प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा मुख्यतः असोज १८–२० सम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।
विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको र सो न्यून चापीय प्रणालीको कारणले नेपालमा मनसुनी वायु प्रवेश गरी आगामी असोज १७ गतेबाट असोज २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ ।
हालको विश्लेषणअनुसार उक्त अवधिमा देशको नारायणी, बागमती, कमला र कोशी नदी र यी नदीका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ।
यता, असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ ।
जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन जारी गर्दै भारीरअति भारी वर्षाको समयमा कृषिकर्म गर्दा ध्यान दिन अनुरोध गरिएको छ ।
आज घर घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ ।
यस वर्षको फूलपाती सोमबार अपराह्न साँढे चार बजे भित्र्याइने कार्यक्रम छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।
ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउन आवश्यक : मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले देशभर ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउनुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा एक इभी चार्जिङ स्टेसनको उदघाटन गर्दै मन्त्री घिसिङले पेट्रोलियम पदार्थको आयात घटाउन र विदेशी मुद्रा सञ्चिति बढाउन ऊर्जा ट्रान्जिसन अपरिहार्य रहेको बताए ।
उनले सार्वजनिक यातायातदेखि निजी सवारी साधनसम्म सबैलाई विद्युतीय माध्यममा रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताए । उनले भने, ‘देशभर पब्लिक र प्राइभेट ट्रान्सपोर्टेसनलाई इलेक्ट्रिसिटीमा कन्भर्ट गर्नुछ । यसले पेट्रोल, डिजेलको आयात घटाउँछ र देशको रिजर्भ बढाउँछ ।’
कुकिङ सेक्टरमा पनि एलपी ग्यासको सट्टा बिजुलीमार्फत खाना पकाउने प्रविधिमा जानुपर्नेमा घिसिङको जोड थियो । उनले भने, ‘ग्यासलाई रिप्लेस गरेर इनर्जी ट्रान्जिसनमा जानु आवश्यक छ । धेरै सेक्टरहरू छन् जहाँ फ्युल र कोललाई इलेक्ट्रिसिटीले रिप्लेस गर्न सक्छ ।’
मन्त्री घिसिङले नेपालमा उत्पादित जलविद्युत् ऊर्जा सबै क्षेत्रमा प्रयोग गरी देशलाई दिगो ऊर्जा प्रयोगतर्फ लैजानुपर्ने बताए । उनले ग्रीन हाइड्रोजन, औद्योगिक उत्पादन र इँटा उद्योग जस्ता क्षेत्रमा पनि बिजुली प्रयोगको आवश्यकता औंल्याए ।
‘नेपालको कार्बन उत्सर्जन निकै कम भए पनि हामी कार्बन न्यूट्रल मात्रै नभइ कार्बन नेगेटिभतर्फ जानुपर्नेछ,’ उनले भने, ‘यसका लागि आवश्यक पूर्वाधारहरू, जस्तै चार्जिङ स्टेसन, विस्तार गर्नुपर्छ ।’
उनले ऊर्जा उपयोगको नयाँ युग सुरु भएको उल्लेख गर्दै भने, ‘आगामी दिनहरूमा नेपालको भविष्य उज्यालो छ, हाम्रै जलविद्युतले सबै क्षेत्रलाई उज्यालो पार्नेछ ।’
‘खोटाङ–सुनसरी एकता समाज’को नेतृत्वमा मणि चाम्लिङ राई, तदर्थ समिति गठन
धरान, सुनसरी । खोटाङमा जन्मिएर सुनसरीका विभिन्न स्थानहरूमा बसोबास गर्दै आएका खोटाङेलीहरूद्वारा स्थापित ‘खोटाङ–सुनसरी एकता समाज’ ले आज एक विशेष भेलामार्फत नयाँ तदर्थ समिति गठन गरेको छ। धरान–१० स्थित यलम्बर स्मृति संग्रहालयमा शनिबार सम्पन्न भेलाले सर्वसम्मत निर्णय गर्दै समाजसेवी मणि चाम्लिङ राईलाई अध्यक्षमा चयन गरेको हो।
समाजको आह्वानमा खोटाङका विभिन्न स्थानीय तहका व्यक्तिहरूको उपस्थितिमा सम्पन्न भेलाले भूगोल, क्षेत्रीय सन्तुलन र समावेशी संरचना अनुसार १५ सदस्यीय तदर्थ समिति घोषणा गरेको छ। बाँकी रहेका केही पदहरू चाँडै पूर्ण गरिने जानकारी आयोजकले दिएका छन्।
अध्यक्ष मणि चाम्लिङ राईले समाजप्रति गहिरो प्रतिबद्धता व्यक्त गर्दै आफ्नो कार्यकाललाई पारदर्शिता, सहकार्य र सिर्जनशील पहलकदमीको माध्यमबाट प्रभावकारी बनाउनेसमेत प्रतिवद्धता जनाएका छन्।
उहाँले भन्नुभयो, “‘खोटाङ–सुनसरी एकता समाज’ कुनै सानो घेरा होइन, यो हाम्रो साझा पहिचान, आत्मसम्मान र एकताको प्रतिनिधि संस्था हो। सबै अग्रज, साथीहरू र शुभेच्छुकहरूप्रति आभार प्रकट गर्दै म समाजको हितमा निष्ठापूर्वक काम गर्ने प्रण गर्दछु।”
नवगठित कार्यसमितिमा उपाध्यक्षमा राजेन्द्र राई, सचिवमा राजेश राई, सह–सचिवमा सुमन राई र कोषाध्यक्षमा जानुका राईरहेका छन्। सह–कोषाध्यक्ष र दुई उपाध्यक्ष पद भने हाल रिक्त रहेको र छिट्टै टुंगो लगाइने जनाइएको छ।
अन्य सदस्यहरूमा चण्डिमान राई (केपिलासगढी), अमर राई, ज्ञानु चाम्लिङ राई, कुमार राई, युबक राई, अटल राई, लुबुहाङ राई, रामकृष्ण राई, शम्भु राई, योगेश राई र कपिल राई रहेका छन्।
समितिमा विभिन्न क्षेत्र र तहबाट प्रतिनिधित्व समेटिएको छ, जसले समावेशी र समन्वयात्मक नेतृत्व सुनिश्चित गर्ने विश्वास गरिएको छ। सल्लाहकार समितिको गठन भने आगामी विशेष भेलाबाट निर्णय गरी पारित गरिने बताइएको छ।
समाजले निकट भविष्यमा सांगठनिक संरचना थप व्यवस्थित गर्दै सामाजिक, सांस्कृतिक, शैक्षिक र समुदाय–कल्याणका कार्यक्रमहरू सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। समाजले खोटाङबाट आएर सुनसरीमा बसोबास गर्ने समुदायहरूबीच आपसी एकता, सहकार्य र पहिचान संरक्षणको भावना बलियो बनाउन काम गर्ने प्रतिवद्धता जनाएको छ।
नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै सहभागीहरू, समाजका अग्रज र विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूले समाजको भावी यात्रामा सफलताको शुभेच्छा व्यक्त गरेका थिए ।
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले घाइतेहरुलाई शरीरको भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुदैँन् भन्ने चिन्ता रहेको बताएका छन् ।
शनिबार बीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरमा जेनजी आन्दोलनका घाइतेहरुलाई भेट्दै उनले बिरामीहरुको उपचार राम्रै भइरहेको भन्दै उनीहरुलाई आन्दोलनको मागको बढि चिन्ता रहेको बताए ।
उनले भने, ‘बिरामीहरुको माग वा मुद्दा भनेको जेनजी आन्दोलनको माग हो । यसकै लागि लडेको हो । हाम्रो माग पूरा हुनुपर्छ भन्ने छ । उनीहरुको स्वास्थ्यको कुरा गर्ने हो भने उपचार राम्रै भइरहेको छ । उहाँहरुलाई आफ्नो शरीरको चिन्ता भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुदैँन् भन्ने कुराको चिन्ता छ ।’
यस्तै, उनले ट्रमा सेन्टरमा दुईजना पढ्ने विद्यार्थी पनि रहेको भन्दै सन्चो भएपछि पढाइको विषयमा पछि जे गर्नुपरे पनि गर्न तयार रहेको आश्वासन दिएको बताए ।
साथै, हालको लागि अन्तरिम सरकारले जे घोषणा गरेको छ, त्यही अनुसारको काम हुने पनि उनको भनाई छ ।