शेरबहादुरजीले धेरै हँसिया बनाउनुभयो, तर घाँस काटेन : डा. चन्द्र भण्डारी
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले हँसिया धेरै बनाए पनि घाँस काट्न नसकेको बताएका छन्।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा उनले सभापति देउवाले पार्टीका धेरै जनालाई पद र जिम्मेवारी दिएपनि उनीहरूबाट काम नभएको भन्ने प्रतीकात्मक व्याख्या गरेका हुन् ।
सभापति देउवा अब प्रधानमन्त्री वनेपछिका काम र निर्णय के गर्ने भन्ने विषयमा पर्याप्त पूर्व तयारी हुनुपर्नेमा उनले जोड दिए । नेता भण्डारीले पार्टीको प्रशिक्षण कार्यक्रमलाई धेरै सुधार्नुपर्नेमा ध्यानाकर्षण गराउँदै प्रशिक्षणका विषय र पात्रहरू परिवर्तन गर्न सुझाव दिए ।
पार्टीको भातृ संगठनमा निर्वाचन हुन नदिएर मनोनीत गर्दा कामकाजी हुन नसकेको उल्लेख गर्दै उनले भने,‘समिति आफूले बनाउने चलाउन अर्कालाई दिने गर्दा काम लाग्न सकेनन्।’
पार्टीका नेताहरूका बीचमा द्वन्द्व हुँदा हाँसेर रमिता हेर्ने भन्दा पनि मिलाउने तर्फ लाग्नुपर्नेमा उनले जोड दिए ।
नेता भण्डारीले आगामी निर्वाचनलाई नकारात्मक असर नपर्ने गरी पार्टीको महाधिवेशन गर्नुपर्नेमा जोड दिए । ‘सामाजिक सञ्जालमा उठेका विषयवस्तुलाई हामीले नजिकबाट नियाल्ने र सुन्ने गर्नुपर्छ, हाम्रा तिनै तहका सरकारका काम कारबाहीलाई निर्मम समीक्षा गरेर सुधारतर्फ लाग्नुपर्छ’, केन्द्रीय सदस्य भण्डारीले भने ।
उनले राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्ति पार्टीको रसिद काटेर फर्किदा राजनीति प्रतिको वितृष्णा र आलोचना अझ बढ्ने भन्दै चिन्ता व्यक्त गरे ।
निजामती विधेयक पारितका क्रममा देखेको त्रुटि कुनै एउटा व्यक्तिको नभई सबै सांसदको भएको तर्क गर्दै उनले यसको जिम्मेवारी सबैले लिनुपर्नेमा जोड दिए ।
नेता भण्डारीले विद्यालय शिक्षा विधेयक, युवाशक्तिको पलायन, कृषकलाई मल बिउलगायत अनुदान, रूपन्देही र मनाङमा हुने उपनिर्वाचन लगायतका विषयमा पनि धारणा राखेका थिए ।
बहराइनबाट कुलमानले सुरु गरे ‘उज्यालो अभियान’
काठमाडौँ । नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो अभियान सुरु गर्ने घोषणा गरेका छन्।
बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा शुक्रवार आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन् । नेपाली श्रमिक आबद्ध भएका विभिन्न संघसंस्था तथा गैरआवासीय नेपाली संघको तर्फबाट उनलाई अभिनन्दन गरिएको थियो ।
बहराइनवासी नेपालीद्वारा संयुक्तरुपमा आयोजित नागरिक अभिनन्दनका संयोजक फुलबहादुर बल, नेपाली क्लबका अध्यक्ष दीपक गुरुङ, गैरआवासीय नेपाली संघ, बहराइनका अध्यक्ष राजु श्रेष्ठ, पूर्वअध्यक्ष लक्ष्मी गिरी, जनजाति महासंघका अध्यक्ष विरेन्द्रकुमार तुम्वापोलगायतले घिसिङलाई नागरिक अभिनन्दन पत्र हस्तान्तरण गरेका थिए ।
नागरिक अभिनन्दन ग्रहण गर्दै घिसिङले आफू कुनै पार्टीको झन्डा लिएर खाडी क्षेत्रमा नआएको बताए । ‘म कुनै पनि पार्टीको झन्डा लिएर आएको होइन। म कुनै पार्टीको घोषणा गर्न बहराइन आएको होइन। म सरकारी कर्मचारी वा सरकारको प्रतिनिधि भएर पनि आएको होइन,’ घिसिङले भने,‘एउटा जिम्मेवार नागरिक भएको हिसाबले तपाईहरूसँग हातमा हात मिलाउन, साथमा साथ मिलाउन र तपाईहरूको संकल्पलाई अभियानको रूपमा अगाडि बढाउन आएको हुँ ।’
उनले बहराइनबाट उज्यालो अभियान सुरु गरेको बताए । ‘यो उज्यालो अभियान बहराइनबाट सुरु गरेका छौं । यो अभियान अरु देशमा पनि पुग्नेछ,’ उनले भने, ‘तपाईहरू कसरी अगाडि बढ भन्नुहुन्छ, त्यसरी नै मेरो पाइला अगाडि बढनेछ ।’
‘मैले ३० वर्षसम्म जुन डेलिभरी दिएर एउटा ठाउँमा पुगें सोही क्रममा लोडसेङि अन्त्य मात्र होइन घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणलाई नाफामा ल्याउनेदेखि देशभर विद्युतीकरण गर्ने काम गरियो । त्यति मात्र नभएर भारतदेखि बंगलादेशसम्म विद्युत् निर्यात भयो । अब उज्यालो नेपाल वा उज्यालो अभियान भनेको बत्तिको मात्रै उज्यालोले भएन,’उनले भने, ‘अँध्यारो हटाउनुपर्ने ठाउँ धेरै छन्, धेरै क्षेत्रमा अँध्याराहरू छन् । सबै क्षेत्रको अँध्यारोलाई उज्यालोमा कन्भर्ट गर्नुपर्यो ।’
एक प्रश्नको जवाफमा घिसिङले हाम्रा मान्छे होइन, राम्रा मान्छेलाई प्राथमिकता दिनुपर्ने बताए । ‘हामीले जनतामा आत्मविश्वास जगाउन सकेनौँ । त्यसकारण निराशा बढ्दो छ । यी सबै कुराहरूलाई सम्बोधन गर्न राम्रो मान्छेको लिडरसिप जरुरी छ । देशको समग्र अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा गर्दा त्यो क्षेत्र राजनीति पनि हुन सक्छ । तर, कसरी अघि बढ्ने भन्ने विषयमा हामी छलफल गरेर अघि बढ्छौँ,’ उनले भने।
घिसिङ बहराइनपछि युएइ, ओमान र कतारमा विभिन्न संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भइरहेका छन्। अगष्ट महिनामा उनी अमेरिका र बेलायत जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
पदावधि सकिन झन्डै चार महिना मात्रै बाँकी रहेका घिसिङलाई कार्य सम्पादनमा शून्य नम्बर दिँदै गत चैत्र महिनामा सरकारले बर्खास्त गरेपछि उनी सरकारको उक्त निर्णय विरुद्ध सर्वोच्च गएका थिए। सरकारको उक्त निर्णयको विभिन्न राजनीतिक दल तथा नागरिक समाजले विरोध गरेका थिए। उनले सुरु गरेको ‘उज्यालो अभियान’ लाई उनी छिट्टै राजनीतिमा सक्रिय हुने संकेतको रूपमा हेरिएको छ।
म कुनै पनि किसिमले गलत रहेको छु भन्ने आधार र प्रमाण छैन : माधव नेपाल
जनकपुर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफूले कुनै किसिमको गलत गरेको आधार र प्रमाण नरहेको दाबी गरेका छन् ।
जनकपुरधाममा मंगलबार नेकपा एकीकृत समाजवादी धनुषाको सातौँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले पतञ्जली जग्गा प्रकरण बारेमा कही कतै र कुनै पनि किसिमले संलग्न नरहेकाले आफू जहिले पनि नबिराउनु र नडराउनु भन्ने पक्षमा रहेर काम गर्ने व्यक्ति भएकाले सत्यको विजय हुने विषयमा आफू पूर्व विश्वस्त रहेको बताए ।
अध्यक्ष नेपालले भने, ‘मैले गल्ती गरेको छु भने मेरो शिर निहुरिने छ, देश र जनताको सेवा र समाजमा रहेको विकृति विसंगति राजनीतिमा रहेको विकृति विसंगतिको अन्त्यका लागि अब सधैँ लागि रहने र मलाई अदालतमाथि विश्वास छ ।’
अदालत न्यायको पक्षमा खडा हुने भन्दै उनले प्रत्येक वकिललाई धन्यवाद दिए । अध्यक्ष नेपालले भने, ‘अदालत न्यायको पक्षमा खडा हुन्छ, मलाई साथ र सहयोग गर्नु हुने सबै अधिवक्तालाई म धन्यवाद दिन चाहन्छु । हरेक पार्टीका अधिवक्ताले आफूलाई साथ र सहयोग गरेको छ ।’
अध्यक्ष नेपालले भने, ‘मेरो बारेमा कुनै पनि किसिमको गलत रहेको छु भनि आधार र प्रमाण छैन, कुनै कानुनी आधार छैन, संवैधानिक आधार पनि छैन । योग गर्ने राम्रो संस्था छ । सामूहिक निर्णय अनुसार योग संस्थालाई जग्गा बिक्री गरिएको हो । एक टुक्रामा पनि कानुन विपरीत कार्य भएको छैन ।
जग्गासम्बन्धी सम्पूर्ण कारबाही प्रक्रिया पुर्याएर पतञ्जली संस्था आफैले काम गरेको छ ।’ उनले आफूलाई विना आधार र विना प्रमाण तथा संवैधानिक आधार विना नै आफूमाथि लाञ्छना लगाइएको दाबी गरे । पतञ्जली संस्थाले देशमा दर्जनभन्दा बढी अस्पताल खोलेर सेवामूलक काम गरिरहेकाले सो संस्थाको नाममा कहिकतैले कसैले गलत कार्य नगरेको दाबी अध्यक्ष नेपालले गरे ।
अध्यक्ष नेपालले राजनीतिमा प्रतिक्रियावादी एवं पुँजीवादी चिन्तनका कारणले सिंगो कम्युनिष्ट पार्टी नै बदनाम भएकाले यसलाई चिर्नका लागि पनि जनताको पक्षमा काम गर्न आग्रह गरे ।
सांसदले गल्ती गर्ने अनि कर्मचारीहरूलाई दोष देखाउने प्रवृत्ति गलत छ : सुमना श्रेष्ठ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले समितिका सांसदहरूले प्रतिवेदनहरू नपढि बैठकमा बोल्ने गरेको र गल्ती हुँदा कर्मचारीहरूको दोष देखाउने गरेको बताएकी छन् ।
मंगलबार सभामुखसँगको छलफलपछि कुलिङ पिरियडबारे भएको छेडखानीबारे बोल्दै उनले सांसदहरूले बैठकमा प्रतिवेदनहरू नपढिकन बोल्दा गल्ती भएको बताएकी हुन् ।
उनले भनिन्, ‘मुल विधेयकमा बाहेक भन्ने शब्द हटाइन् । त्यतिबेलासम्म त्यो कायम रहन्छ रहिरहयो । कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरू उम्किन खोज्ने मात्र हो । मिडियामा आएको विषयमा, नपढिकन र बाहिर आएका कुरा मात्र बोल्ने वा कुनै एक नेताले भनेको कुराको आधारमा बोल्ने संस्कारप्रति ठुलो प्रश्न हो ।’
उनले गल्तीलाई सुधारेर जानलाई गल्तीलाई स्वीकार गर्नुपर्ने बताइन् । ‘गल्ती हुन्छ, गल्तीलाई सुधारेर जानलाई गल्तीलाई स्वीकार गर्नुपर्छ । र गल्ती कहाँबाट उत्पति भयो बुझेर बल्ल अगाडि जान सकिन्छ,’उनले भनिन् ।
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेतको ‘आरजु राइस मिल’: धान खेतीमा क्रान्ति र आत्मनिर्भरताको यात्रा
वीरेन्द्र बहादुर बस्नेत नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक उनको अर्को पनि परिचय छ । उनले धान मिल उद्योगमा लगानी गरेर नौलो अभ्यास गरिरहेका छन् । वि.स २०६९ मा नेपाल कृषि कम्पनी स्थापना गरी मोरङको बेलबारी नगरपालिका स्थित डाङ्गीहाटमा ‘आरजु राइस मिल’ स्थापना मात्र गरेनन् धान खेतीलाई यान्त्रीकरण र व्यवसायीकरण गरेर मोरङ, सुनसरी तथा झापाका हजारौँ किसानलाई आत्मनिर्भर बनाएका छन् । धान दिवसका अवसरमा बस्नेतसँग गरिएको छोटो कुराकानीको सम्पादित अंश ।
असार १५ गते धान दिवस मनाउने गरिन्छ । यसको औचित्यबारे के भन्नुहुन्छ ?
धान दिवस भन्दा पनि असार १५ गते भनेको दही चिउरा खाने दिन हो । हामीले त्यसरी नै बुझ्ने गरेका छौँ । धानसँग जोडिएको दिन पनि हो । धान दिवस नेपालले मनाउनुको आफ्नै खाले औचित्य छ । किनभने हामी चामल खाने जनसमुदायका हौँ । नेपालीहरूको मुख्य खाद्यान्न नै चामल रहेको हुँदा यो दिनको विशेष महत्व र औचित्य छ जस्तो लाग्छ ।
धान दिवसको औचित्य होला तर धान किसानको चाहिँ अवस्था नाजुक छ भनिन्छ नि ?
धान किसानहरूको अवस्थाचाहिँ नाजुक नै छ । हाम्रो देशमा करिब ६० प्रतिशत जमिनमा धान खेती छ । यि भनेका सीम खेत हुन, बर्खामा पानी जम्ने खेत हुन् । नेपालमा सबैभन्दा बढी धान उत्पादन हुने खेत छन् । हामीले कति चामल खान्छौँ भन्ने त यकिन नहोला तर प्रशस्त मात्रामा चामल खाइरहेका छौँ । आफैँले उत्पादन गरेर हामी धान– चामलमा निर्भर हुनु पर्दछ । तर धान–चामलमा आत्मनिर्भर छैनौँ । हरेक वर्ष ५५ अर्बसम्मको धान आयात गरिरहेका छौँ । त्यो के कारण हो भने हाम्रा धान किसानले सही र आवश्यक मात्रामा धान उत्पादन नगरेर हो । धान किन उत्पादन गरेनन् भन्ने विषयमा अलग्गै बहसहरू गर्न सकिन्छ । तर हामीसँग मुलुकको आवश्यकता पूर्ति गर्ने क्षमताको जमिन पनि छ । तरपनि धान किसानले धानको उचितमूल्य पाएका छैनन् । जसका कारण धान खेतीबाट फाइदा नभएकालेखेती गर्न उत्साहित भएको देखिदैन् । निर्वाहममूखी परिवारहरूले आफूलाई पुग्नेमात्र धान रोप्ने गर्छन् । खासमा मूल्य र प्रोत्साहनकै अभावमा किसान मर्कामा परिरहेका छन् । यसका कारण नेपालको अर्थतन्त्रलाई ठूलो असर पारेको छ । किसानले धानबाट जुन समृद्धि हासिल गर्न खोजेका थिए त्यो गर्न सकेनन् ।
त्यसोभए किसानलाई कसरी प्रोत्साहित गर्ने त ?
जुन कामबाट फाइदा हुन्छ, त्यसमा सबै उत्साहित र प्रोत्साहित भइहाल्छन् । जुन कुराले तपाईलाई प्रोत्साहन गर्न खोज्छ र जुन कुराले अगाडि बढ्न प्रेरित गर्छ त्यसमा मानिसहरू सिर्जनशीलताका साथ अगाडि आउँछन् । त्यसकारण धान खेतमा फाइदा भएपछि मानिस आफै र्सिजनशिल भएर आउँछन् । अहिलेको मुख्य समस्या भनेको के हो भने धान खेतीबाट किसानहरूलाई फाइदा नै छैन्, घाटा मात्रै छ । प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन जरुरी छ ।
यस्तो अवस्थामा तपाईले चाहीँ किन धान–चामल व्यवसायमा हात हाल्नु भएको ?
यो व्यवसायमा प्रवेश गर्नु भनेको समाधान दिनका लागि हो । हामी सँग समाधान छ । हरेक समस्याको सम्भाव्यता र समाधान हुन्छ । धेरै सफल पनि भइसकेका छौं । समाधान खोजेर निचोडमा आउन नसक्दा समस्या भएको हो । गर्नसक्दा धान खेतीबाट किसानलाई फाइदापनि छ । राष्ट्रले पनि मजाले फाइदा लिनसक्छ । किनभने ५५ अर्बको निर्यात रोक्न सक्नुपर्छ । निर्यात रोक्नु भनेको रियल आम्दानी हो । धानमा देखिएको समस्या समाधानको पहिचान गरिसकेपछि त्यसलाई लागु गर्नुपर्छ । व्यवहारिक हिसाबले लागु गर्न सक्नुपर्छ ।
तपाईँको उद्योगबाट किसानले कस्तो किसिमको सुविधा पाएका छन् ?
हामीले किसानहरुलाई दुईवटा मात्र डेलिभरी गरेका छौ । न्यूनतम समर्थन मूल्य निर्धारण गरेका छौ । धानको समर्थन मूल्य निर्धारण गरिसकेपछि किसानलाई फाइदा हुन्छ कि हँुदैन किसानले निर्णय गरी खेती गर्ने हो । न्यूनतम समर्थन मूल्यमा फाइदा भएकैले किसानहरूले धान खेती गरिरहनुभएको छ । धान खरिद गरेर पैसा तुरुन्तै उपलब्ध गराइरहेका छौँ । खेत पुनःप्रयोग पनि हुनुपर्छ । धान रोपेर झिकिसकेपछि खेतमा अरू पनि खेती हुनुपर्यो । हाम्रोमा देशमा धान दुईचोटी उत्पादन हुन्छ । त्यसले गर्दा जमिनको सदुपयोग पनि भयो अनि धान मिललाई फाइदा हुनेभयो । मिलले दुई छिमलको धान पाउँछ । मिललाई फाइदा हुँदा सस्तो सुपथ मूल्यमा उपभोक्तालाई चामल विक्री गर्न सकिन्छ । हाम्रो पारिस्थितिक पद्धतिका लागि पनि दुई बाली धान उत्पादन गर्नुपर्छ । सरकारको बजेटमा चैते धान उत्पादनमा बृद्धि गरी आत्मनिर्भर हुने भनेर आयो । तर किसानहरू चैते धानको भाउ नपाएर घाटामा गएको समाचारहरू आइरहेका छन् । चैते धानको समस्या के छ भने मध्य बर्खामा हार्भेष्ट हुन्छ । चैते धानको मोइस्चर २२–२५ प्रतिशत हुन्छ । तर धानको मोइस्चर १४ प्रतिशतमा झार्न सकेनौ भने धान बाफिन्छ र बिग्रन्छ । चैते धानलाई सुकाएर भण्डारण गर्न सक्नुपर्छ । हाम्रो मिलले सबैभन्दा ठूलो लगानी सफा गरेर सुकाउने टेक्नोलोजीमा गरेको छ । हामीले यो दुई महिना भित्रमा करिब करिब ६ हजार टन तयारी गर्यौँ । चार टन प्रतिघण्टा धान कुट्नसक्ने सानो मिल भएकाले ६ हजार टन चैते धान वर्षाको समयमा हामीले सुकाएर कुटाउन र भण्डारण गर्न सक्छौ । चैते धान सफल बनाउनका लागि सुकाउने टोक्नोलोजी चाहीँ हुनैपर्यो । हामीले त्यसको व्यवस्था गरेका छौं । मूल्य पनि परिवर्तन गर्छौं । सबैभन्दा प्रिमियम धान सुबासी-बास्नादारलाई हामीले मार्केटिङ गरिरहेका छौं । यो भारतको बास्मती चामल जस्तै हो । झन्डै ९ मिलिमिटर लामो पनि छ । त्यो चैतमा उत्पादन गरेर दशैंताका धानलाई हार्भेष्ट गर्छौ । यसले किसान, मिल र उपभोक्तालाई पनि फाइदा गर्छ ।
हाम्रो राष्ट्र धानमा आत्मनिर्भर हुन्छ र भोलिका दिनमा निर्यात नै गर्न सकौला । किनभने यो बास्नादार चामल त एउटा वर्गले मात्र खान सक्छन् । हामीले उत्पादन गरिरहेको चामल नेपालमा सबैले खान सक्दैनन् ।महंगो छ तर निर्यात गर्न सकिन्छ । सुवासी धान एकदमै राम्रो उत्पादन भएको छ । हाम्रा किसानहरूले दुई सय बिघा जमिनका यो धान लगाएका छन् । समर्थन मूल्य ४० रुपैयाँ किलोमा खरिद गरिरहेका छौ । किसानलाई सवा चार महिना भित्रमा बिघाको एकदेखि सवा लाख रुपैयाँसम्म आम्दानी भएको छ । हामीले भनिरहेको सम्भावनाहरूलाई पुष्टि गरिसकेका छौ ।
यता, हामीले चामल पनि बेचिरहेका छौं । विदेशी चामलसँग प्रतिस्पर्धा गरेर विदेशी चामल भन्दा गुणस्तरीय र सस्तो मूल्यमा उपभोक्तामा लगेर विक्री गरिरहेका छौं । विदेशबाट आयात गरेको सस्तो चामल टे«डिङ गरेको ल्याइएको छ र व्यापार गरेर ल्याइएको छ । तर भोलि उपभोक्ताहरुले हाम्रो चामलको गुणस्तर, मान्यता र इतिहास बुझिसकेपछि नेपाली चामल नै खान रुचाउँछन् । हरेक नेपालीको चाहना नेपाली चामल खाने नै हुन्छ ।
गुणस्तर र सस्तो पनि हुने भएपछि किन नखाने त ?
यस्ता योजना वा विचार स्थापित हुनलाई वर्ष दिन लाग्न सक्छ । हामी त्यसमा आत्तिएका छैनौं । अहिले उद्योग खोलेका छौं । फाइदामा नै छौं, घाटामा छैनौँ । हामीले जुन कार्यक्रम वा मोडल अपनाएका छौं यो नै राष्ट्रले अपनाउनुपर्ने मोडल हो । हरेक खेतीपाती गर्ने तरिका पनि यही हो । हामीले एउटा दृष्टान्त देखायौँ । अब यसलाई चलायमान कसले गर्छ म भन्न सक्दीन । कोशी प्रदेशमा चाहिँ हामीले नै नेतृत्व लिन्छौँ । अर्को वर्ष सायद हामी झापामा ठूलो मिल सञ्चालनमा ल्याउँदैछौँ ।
धान निर्वाहमूखी मात्र भयो यसलाई व्यवसायी बनाउन के गर्नुपर्ला ?
म त एउटा विशुद्ध उद्यमशील व्यक्ति हुँ । खेतमा अन्य वालीहरू पनि लगाउन सकिन्छ । धान–तोरी–धानको अवधारणा अनुसार पनि काम गर्न सकिन्छ । यसो गर्दा किसानले दुईदेखि साँढे दुई लाख आम्दानी गर्छन् । हाम्रो मिलको क्षमता तीन हजार बिघा हो । मोरङ, सुनसरी, झापामा दुई लाख बिघा भन्दा बढी खेतीपाती छ । तीन हजार बिघामा वर्षको दुई लाख रुपैयाँ नेट नाफा गर्यो भने ६० करोड रुपैयाँ नाफा हुन्छ । तीन हजार बिघा भनेको एउटा पालिका बराबरको हो । बेलबारी नगरपालिकाको खेतीयोग्य जमिन तीन हजार विघा भन्दा बढी होला ।
परिकल्पना गर्नुहोस, हामीले दिएको जुन न्यूनतम मूल्य छ त्यो सबै धान खेतीमा लागु गर्न सकिन्छ । हाम्रै मोडालिटी पालना गर्ने हो भने निर्यात बढाउन सकिन्छ । आयात घटाउन सकिन्छ । हामीले व्यवहारमा परिवर्तन गरिसकेका छौँ । अब त्यसलाई पालना गर्ने वा गराउने जिम्मा अरूकै हो । राज्यले हामीलाई कति साथ दियो भन्ने कुरा आफ्नो ठाउँमा छ । तर हामीले काम गरेर प्रमाणित गरिसकेका छाँै । अब त्यो कुरालाई नवउद्यमीहरूले कसरी लैजान्छन भन्ने कुरा उहाँहरूमै निर्भर रहन्छ ।
भिडियो लिङ्क:
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/QQEFc-hzf6I?si=cooLz-z3AwLW4WZ5" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
चेम्जोङको आरोप: पहिचानको आन्दोलनलाई फुटाउने 'नियोजित प्रयास', समाधान सहकार्य र संघर्षमा
असार १, धरान । जनता समाजवादी पार्टी नेपालका सहअध्यक्ष तथा पूर्वमन्त्रि रकम चेमजोङले पहिचानको आन्दोलनलाई कमजोर पार्न नियोजित प्रयास भइरहेको भन्दै तीव्र आपत्ति जनाएका छन्। उनले यसको समाधान सहकार्य र संघर्षमै रहेको स्पष्ट पारेका छन् ।
आज धरानमा आयोजित जसपा नेपाल, लिम्बुवान राष्ट्रिय समितिको एकताको प्रथम अधिवेशन उद्घाटन समारोहमा बोल्दै चेमजोङले एमाले, कांग्रेस र माओवादी जस्ता प्रमुख दलहरूले आदिवासी समुदायलाई सदैव ‘रंगभूमिमा’ राखेको आरोप लगाए। उनले लिम्बुवानको महान् लक्ष्य प्राप्तिका लागि भइरहेको आन्दोलन बलिदानीपूर्ण रहेको र त्यसलाई अझ सशक्त रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।
चेमजोङले ‘नो कोशी, नो केवलकार’ अभियानदेखि मुकुम्लुङ आन्दोलनसम्मका संघर्षहरूलाई पहिचानको आन्दोलनका महत्त्वपूर्ण अंगका रूपमा व्याख्या गरे। उनले जसपा नेपालको राष्ट्रिय समिति नै पहिचानका एजेन्डा र लक्ष्य पूरा गर्नका लागि गठन गरिएको भए पनि पछिल्लो समय पहिचानविरोधी शक्तिहरूले जसपा नेपाल फुटाउने खेल खेलेर आन्दोलनलाई कमजोर बनाउने प्रयास गरिरहेको दाबी गरे। "यदि हामी एउटै ठाउँमा उभिन सकेनौँ भने हाम्रा अधिकार र लक्ष्य कहिल्यै प्राप्त हुँदैनन्," उनले चेतावनी दिए।
चेमजोङले आदिवासी, मधेसी, थारू, लिम्बू र अन्य उत्पीडित समुदाय बीच सहकार्य र साझा मोर्चा निर्माणको आवश्यकता औँल्याए। उनले आन्दोलनलाई सडकमा मात्र सीमित नराखी राजनीतिक निर्णय क्षमतासम्म पुर्याउनुपर्नेमा जोड दिँदै आन्दोलन लक्ष्यसम्म पुग्ने हतियार भएको बताए।
उनले अन्य दलमा रहेका पहिचानवादी कार्यकर्ताहरूलाई जसपा नेपालमा फर्कन आह्वान गर्दै अलमलको समय नभएको बताए। चेमजोङले "जसपा नेपाल नै एकमात्र प्लेटफार्म हो, जहाँबाट हामी हाम्रो पहिचान र अधिकार सुरक्षित गर्न सक्छौँ," भन्दै पार्टीको महत्त्वमाथि प्रकाश पारे।
अन्तमा, चेमजोङले मुक्लुलुङ आन्दोलनलाई साझा आन्दोलनका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले समन्वय, मोर्चाबन्दी र ऐक्यबद्धताको माध्यमबाट मात्र आन्दोलन सफल हुने धारणा राखे।
भिजिट भिसा काण्डले सत्ताको जनविरोधी चरित्र उदाङ्गो पार्योः रास्वपा प्रमुख सचेतक परियार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले नेपाली राज्य र सत्ता सञ्चालकहरूको जनविरोधी चरित्र भिजिट भिसा प्रकरणले छर्लङ्ग पारेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै परियारले जनताको सुविधाका लागि बनाइएको राज्य नागरिकलाई दुःख दिने खालको बनेको भन्दै यसैकारण सदनमा सहमति नगरी आन्दोलन जारी राखिएको स्पष्ट पारे।
परियारले भने, ‘नेपाली राज्य कति हदसम्म जनविरोधी छ, सरकार र सत्ता चलाउनेहरू कुन हदसम्म जनतालाई दुःख दिने खालका छन् भन्ने कुरा भिजिट भिसा काण्डले प्रमाणित गरेको छ। त्यसकारणले पनि हामीले सहमति गरेनौं। लामो समयदेखि नीति र संरचना बनाएर जनताको सजिलोका लागि यो राज्य बनाएको हो। तर हाम्रो राज्य कस्तो भएछ भने नीति र संरचना बनाएर नागरिकलाई दुःख दिने खालको बनाएका रहेछौं। त्यसकारण पनि हामीले सदनमा सहमति नगरी आन्दोलन जारी राखेका हौं।’
उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट अब देशको विकास सम्भव नभएको दाबी गरे। रवि लामिछानेमाथि षड्यन्त्र गरी रास्वपालाई समाप्त पार्न खोजिए पनि पार्टी सांगठनिक रूपमा झन् बलियो बनेको उनको भनाइ थियो।
परियारले थपे, ‘नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट अब यो देशलाई न्याय र विकास हुँदैन। यिनीहरूलाई लागेको थियो रवि लामिछानेमाथि षड्यन्त्र गरेर जेल हालिदिएपछि सिंगो रास्वपा समाप्त हुन्छ भन्ने। तर यहाँसम्म आउँदा राष्ट्रिय स्वतन्त्र पार्टी हिजोभन्दा आज सांगठनिक हिसाबमा सबैभन्दा बलियो भएको छ।’
रवि लामिछानेको नेतृत्वमा सुरु भएको संघर्षले गर्दा आम मानिसले सदनसम्म पुग्ने मौका पाएको भन्दै परियारले विगतका लोकतन्त्रवादी, समाजवादी र कम्युनिष्ट भनिनेहरूले आम नागरिकलाई राज्य सत्ताको पहुँचमा नपुर्याएको आरोप लगाए।
‘नेपालको राजनीतिमा तपाईं हामीजस्ता आम गरिखाने मान्छेले पहुँच राख्न सक्दैनन्,’ उनले भने, ‘आज त हामीले रवि लामिछानेको नेतृत्वमा एउटा संघर्ष सुरु गरेको हुनाले सन्तोष परियारजस्तो आम मान्छे सदनसम्म पुग्ने मौका पायो। विगतका मै हुँ भन्ने लोकतन्त्रवादी, समाजवादी र आफूलाई कम्युनिष्ट भन्नेहरूले पनि आम नागरिकलाई राज्य सत्ताको पहुँचमा पुर्याएका छैनन्। सधैं त्यही वर्ग, जाति र समुदायले नेपाली राजनीति र सत्ता चलायो।’
सात दशकभन्दा लामो समय शासन गरेर पनि निश्चित समूहबाहेक अन्य समूहको हित नगर्ने, नेपाली, मधेसी, पहाडी, दलित, महिलाको हित नगर्ने यस्ता राजनीतिक पार्टीहरू आवश्यक छैनन् भनेर नै राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको उनको भनाइ थियो।
राज्य भद्रगोल हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी हो : विप्लव
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले आजको राज्य भद्रगोल हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी नै भएको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को १० औँ पार्टी स्थापना दिवसको अवसरमा उनले वर्तमान अवस्थाको सबैभन्दा बढी जिम्मेवार माओवादी भएको भन्दै हाम्रो ध्यान राज्यमा भन्दा पनि मन्त्री हुने, सांसद हुने र पद बाँडफाँट गर्नेतिर गएको बताए ।
उनले भने, ‘आजको राज्य भद्रगोल हुनेमा सबैभन्दा बढी जिम्मेवार माओवादी नै हो । यो कुरा हामीले गम्भीरतापूर्वक मनन् गर्नुपर्छ । माओवादी भनेपछि प्रचण्ड र बाबुरामको कुरा मात्र होइन, हामी सबैको कुरा हो । सायद नेपालमा जुन राजनीतिक सङ्क्रमण पैदा भयो त्यसले के के कुराहरूको माग गर्छ भन्ने कुरामा हाम्रो जति गहन बहस हुनुपर्ने थियो त्यतापट्टी प्रवेश नै गरेनौ । हाम्रो ध्यान राज्यमा भन्दा पनि मन्त्री हुने, सांसद हुने, पद बाँडफाँट गर्नेतिर गयो । यो कुरामा हामी चुकेको हौं । समय त गई नै सक्यो, अब त्यसको समाधान हेर्नुपर्छ ।’
सोही कार्यक्रममा उनले नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले आज भएकै पार्टीहरूले, बनिबनाउ पार्टीहरूले जस्ताको त्यस्तै अवस्थामा रहेमा मुलुकको मुहार नफेरिने बताए ।
'प्रकाश' लाई 'अँध्यारो' को उपमा
धरान, जेठ ३० । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले नेपाल सरकारका उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई 'अँध्यारो' को उपमा दिएका छन्। मन्त्री सिंहले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा १५ वटा पार्क निर्माणका लागि करिब २८ करोड रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेको भन्दै पुनले सामाजिक सञ्जालमार्फत आलोचना गर्दै उक्त उपमा दिएकाहुन । अमृत साइन्स कलेजका पूर्व सहपाठीसमेत रहेका पुनले मन्त्री सिंहको नाम 'प्रकाश' भए पनि काम भने 'अँध्यारो' भएको बताएका छन्।
पुनका अनुसार, मन्त्री सिंहले आफ्नो स्वर्गीय बुबाको दीर्घकालीन स्मृति कायम राख्न भन्दै देशभर १५ वटा पार्क निर्माण गर्ने योजना अघि सारेका छन् र यसका लागि सरकारी कोषबाट २८ करोड रुपैयाँको ठूलो रकम छुट्याइएको उल्लेख गरेका छन् ।
पुनले आज सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको एक स्टाटसमा उनले लेखेका छन्, "अँध्यारोमान ज्यू, तपाईँले तपाईँकै स्वर्गीय बुबाको स्मृति लामो समयसम्म रहोस् भनेर मन्त्रीको हैसियतले बुद्धिमा बिर्को लागेर १५ वटा पार्कहरू बनाउनको लागि मात्र करिब २८ करोड रुपैयाँ छुट्याउनु भएछ। ती पार्कहरू बनाउनुको सट्टा प्रतिभाशाली र सृजनशील युवाहरूको लागि तपाईँकै बुबाको नाममा एउटा अत्याधुनिक नवप्रवर्तन केन्द्र खोल्ने बुद्धि आएको भए सुनमा सुगन्ध हुने थियो। त्यसैले रीसको झोंकमा तपाईँको नाम 'प्रकाश' अनुसारको काम नभएकोले 'अँध्यारो' भनेर नाम राखिदिएँ। तपाईँ र म अमृत साइन्स कलेजमा सँगै पढेका थियौँ। साथीलाई यत्ति भनें ल। माफ गर्नुहोला।"
पुनले मन्त्रीको निर्णयलाई 'बुद्धिमा बिर्को लागेको' भन्दै सिर्जनशील र दूरगामी प्रभाव पार्ने वैकल्पिक परियोजनामा लगानी गर्नुपर्ने सुझाव दिएका छन्। उनको भनाइमा, नवप्रवर्तन केन्द्रले युवाहरूलाई अवसर प्रदान गर्ने र देशको बौद्धिक विकासमा टेवा पुर्याउने छ।
मन्त्री सिंहमाथि यसअघि पनि आफ्नो पार्टीको युवा भ्रातृ संगठनलाई कार्यालय बनाउन राज्यकोषबाट बजेट छुट्याइदिएको आरोप लाग्दै आएको थियो। उक्त आलोचना सेलाउन नपाउँदै महाविर पुनले आज आफ्नो फेसबुकमार्फत सार्वजनिक कोषको दुरुपयोगमाथि फेरि प्रश्न उठाउँदै अर्को आलोचना गरेका छन्।
देशभर छिट्टै मनसुन सक्रिय हुने, चट्याङबाट बच्न रुखमुनि नबस्न आग्रह
काठमाडौँ । नेपालमा मनसुनी वायु सक्रिय हुने क्रममा रहेको मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार, पूर्वी नेपालमा मनसुन भित्रिसकेको र अब मध्य तथा पश्चिमी क्षेत्रमा पनि सक्रिय हुँदैछ। यद्यपि, मनसुन सधैँ एकनासको नहुने र कहिलेकाहीँ 'ब्रेक' भई तापक्रम बढ्न सक्ने विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन्।
विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले आगामी २४ घण्टामा देशका धेरै स्थानमा वर्षा हुने र विशेषगरी कोशी, मधेश, गण्डकी, सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताइन्। यस वर्ष नेपालमा औसतभन्दा बढी वर्षा हुने तथा अधिकतम र न्यूनतम दुवै तापक्रम औसतभन्दा बढी मापन हुने सम्भावना रहेको उनको भनाइ छ।
मनसुनको समयमा हुने क्षति न्यूनीकरणका लागि तीनै तहका सरकार र नागरिक स्वयंले जोखिम क्षेत्र पहिचान गरी पूर्वतयारी गर्नुपर्नेमा मौसमविद्हरूले जोड दिएका छन्। साथै, चट्याङबाट बच्नका लागि घरभित्र बस्न र विद्युतीय उपकरण चलाउँदा सावधानी अपनाउन आग्रह गरिएको छ। रुखमुनि बस्ने वा छाता ओड्ने जस्ता प्रचलन चट्याङबाट बच्न गलत रहेको र फलामका वस्तुबाट टाढा रहन तथा जुत्ता चप्पल लगाइरहनुपर्ने सुझाव दिइएको छ।
