फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्रसँग जोडिएका सबै संस्थाहरु पूरानो पञ्चायत नीति एवम कानुन अनुसार चलिरहेको बताएका छन् ।
शुक्रवार संचारिक समूह नेपालको ९ औँ महाधिवेशनमा बोल्दै उनले सञ्चार मन्त्रालयबाट कानुन, नीति बन्न नसकेको भन्दै पञ्चायत नीतिमा सञ्चार क्षेत्र चलिरहेको बताएका हुन् ।
‘मन्त्रालयमा एकदमै ठुलो समस्या छ । बहुदल आएपछि २०४६ सालपछि एउटा मात्र कानून बनेको छ । प्रेस काउन्सिल सम्बन्धि कानुन । अर्काे २०८१ को असारमा सूचना प्रविधिसम्बन्धि ऐन बनेको छ । त्यस बाहके सबै पुरानो छ । रेडियो, टेलिभिजन, हुलाक, रासस, सबै सञ्चार क्षेत्रसँग जोडिएका संस्थाहरुको नीति पुरानो पञ्चायतकालको छ । कानून पनि पञ्चायतकै छ । यसमा हामीले काम गर्नुपर्ने छ,’उनले भने ।
त्यस्तै उनले आम सञ्चार विधेयकको ड्राफ बनाउन लागेको जानकारी दिदै सामाजिक सञ्जालहरु नेपालमा दर्ता हुनुपर्ने औंल्याए ।
उनले भने, ‘सामाजिक सञ्जाल विधेयक रोकिएको छ । मेटा, ट्विटर, गुगल, टिकटकहरुले नेपालको कानुन मान्ने कि नमान्ने, नेपालको संविधान मान्नुपर्छ कि पर्दैन्, दर्ता हुने कि नहुने ? उनीहरुको कन्टेनले हाम्रो राष्ट्रिय स्वाधिनताका विरुद्धमा बोल्यो भने समाजमा ठुलो प्रभाव पर्नसक्छ । त्यसैले तिनीहरुको पनि नियमन हुनुपर्छ । त्यसले प्रेस स्वतन्त्रतालाई खोस्दैन् ।’
शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक दलहरूकै कारण ढिलाइ भयो : ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग (टीआरसी) मा पदाधिकारी नियुक्ति प्रक्रियामा सरकारले काम गरिरहेको बताएका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले आयोगहरूमा पदाधिकारी नियुक्ति गर्ने प्रक्रिया अघि बढेपनि राजनीतिक दलहरूकै कारण ढिलाई भइरहेको बताए ।
उनले भने, ‘नेकपा एमालेले एकल सरकार बनाएर ऐतिहासिक कामहरू गरिसकेको छ । ति ऐतिहासिक कामहरूबाट ग्रसित अस्तित्व संकटमा परेको महसुस गर्दै एमालेलाई त्यसबेला सरकार बाट विस्थापित गरिएको थियो । तर आज हामी शान्ति स्थापनाको अन्तिमतिर सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन जस्ता आयोगहरूमा पदाधिकारी नियुक्ति गरेर काम अगाडि बढाउने प्रक्रियामा छौं । यसमा ढिलाइ भनेको द्न्दपीतितहरूको कारणले होइन् । राजनीतिक कारणले नै ढिलाई भएको छ । अब ढिलाई नगर्ने प्रयास जारी राखेका छौं । पीडितहरूको पीडा हामीले बुझेका छौँ । जेल–नेल भोगेर आएकाले पीडा कस्तो हुन्छ हामीलाई थाहा छ ।’
साथै उनले शान्ति प्रक्रियालाई अन्तिम रूप दिँदा द्न्द्पीडितहरू सबैलाई न्याय दिने अहिलेको आयोगहरूको उदेश्य रहेको बताए । उनले आयोगमार्फत काम गरेर पीडितहरूलाई न्याय दिएर सङ्क्रमणकालीन न्याय दिनका लागि आयोगहरूलाई सक्रिय बनाइने र सबै पीडितहरूलाई न्याय दिइने बताए ।
विद्यार्थी भनेका राष्ट्र निर्माण देखि परिवर्तनका संवाहक हुन् : मन्त्री यादव
वीरगन्ज (पर्सा) । खानेपानीमन्त्री प्रदीप यादवले राष्ट्र निर्माणका मेरुदण्ड, परिवर्तनका अग्रदूत तथा उज्यालो भविष्यका शिल्पीका रूपमा विद्यार्थीलाई चित्रण गरिएको बताएका छन् ।
आज वीरगन्जस्थित ओम नेशनल एकेडेमी द्वारा आयोजित कक्षा १२ का विज्ञान सङ्कायका बिद्यार्थीहरूको ‘बिदाइ कार्यक्रम २०८१’ लाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री यादवले बिद्यार्थीहरू भनेका राष्ट्र निर्माणदेखि परिवर्तनका संवाहक भएको बताएका हुन् ।
उनले भने, ‘विद्यार्थीको साथ बिना राष्ट्र निर्माण सम्भव हुँदैन । विद्यार्थी भनेका केवल पुस्तकको सीमामा बाँधिने पात्र मात्र होइनन्, उनीहरू भविष्यका कर्णधार, राष्ट्रका निर्माता र परिवर्तनका संवाहक हुन् ।’
सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले ‘बिदाइ कार्यक्रम २०८१’ मा सहभागी विद्यार्थीहरूलाई आगामी वार्षिक परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गरी पर्सा जिल्ला सहित देशभरी आफ्नो नाम रोषन गर्नका लागि शुभकामना समेत दिए ।
उनले भने, ‘म विश्वासका साथ भन्छु, भोलिका इन्जिनियर, वैज्ञानिक, चिकित्सक, नेता यिनै विद्यालयहरूबाट जन्मिनेछन् । सबै विद्यार्थीले विगतका कमजोरीहरूलाई बिर्सेर, नयाँ उत्साह र मेहनतका साथ पढाइमा ध्यान दिई पर्सा मात्र होइन, समग्र देशको पनि नाम रोषन गर्नुहोला ।’
एक छुट्टै प्रसङ्गमा बोल्नु हुँदै मन्त्री यादवले अब वीरगन्जवासीका घरघरमा पाइपमार्फत निःशुल्क रूपमा स्वच्छ, शुद्ध अनि सुरक्षित पानी आपूर्ति गरिने बताए ।
राजा महाराजाको कुनै काम छैन : अध्यक्ष नेपाल
रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा राजा ल्याए बर्वाद हुने भन्दै राजा महाराजाको कुनै काम नभएको बताएका छन । उनले जनता भन्दा माथि कोही नरहेको पनि दाबी गरे ।
रौतहटको गरुडामा बिहिवार पार्टीको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले राजवादीहरूको तिनकुने आन्दोलन हिंस्रक भएको जिकिर गरे ।
उनले राजावादीहरूद्वारा आफ्नो पार्टी कार्यालय तोडफोड, नागरिकका सम्पत्तिमा आगजनी, मानिस मार्ने, चोरी गर्ने र सार्वजनिक सम्पत्ति जलाउने लगायतका कार्य गरेको उल्लेख गरेका छन ।
उनले भने,‘चैत्र १५ गते राजावादिहरूले तीनकुनेमा जताततै कार्यालय तोडफोड गरे, पसल चोरी गर्ने काम गरे, आगजनी, मानिस मार्ने काम गरे यसले देश बर्वाद हुनेवाला छ । अव राजामहाराजाको कुनै काम छैन । अव जनता नै सवैथोक हो । हामी सबैको सामु भनिरहेका छौ । हामी जनताको सेवामा लागिरहेका छौ । समाज परिवर्तनमा लागिरहेका छौ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले काठमाडौँमै समाजवादी मोर्चाको आमसभा भने शान्तिपूर्ण रूपमा सम्पन्न भएको दाबी गरेका छन ।
पार्टीका नवौं जिल्ला अधिवेशनको पूर्ण सफलताको कामना गर्दै असल नेतृत्वको चयन गरेर जिल्लामा नेकपा एसको संगठनलाई बलियो बनाउन उनले शुभकामना दिए ।
सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे , रामकुमार भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
अघिल्लो सरकारको कार्यशैलीका कारण मुलुक ‘ग्रे लिष्ट’मा पर्यो : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निवर्तमान सरकारको काम कारबाहीले गर्दा मुलुक ग्रे लिष्टमा परेको बताएका छन् । बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समिति चालु आ.व.०८१/०८२ को बजेटको खर्चको स्थिति र अगामी आ.व. ०८२/०८३ को बजेटको तयारी सम्बन्धी छलफलमा उनले पहिलाको सरकारले प्रतिबद्धता गरे अनुसार काम गर्न नसक्दा मुलुक ग्रे लिष्टमा पुगेको बताए । उनले ग्रे लिष्टबाट बाहिर ल्याउन कार्यतालिका बनाएर अगाडि बढेको बताए ।
उनले भने, औपचारिक रूपमा ग्रे लिष्टमा लिष्टिङ् भएका छौं । पहिलाका काम कारबाहीले गर्दा ग्रे लिष्टमा पर्ने अवस्था बनेको हो । यो सरकार बनेपछि भएका कामहरूका कारणले मुलुक ग्रे लिष्टमा गएको होइन् । अगाडिको समयमा जे काम गर्नुपर्ने थियो, जे काम गर्छौ भनेर प्रतिबद्धता गरेका थियौँ त्यो काम गर्न नसक्दा मुलुक ग्रे लिष्टमा पुगेको हो । ग्रे लिष्टबाट बाहिर आउने सन्दर्भमा एउटा कार्यतालिका बनाएका छौ । सोही हिसाबले कामहरू पनि अगाडि बढाउने तयारीमा छौ । समयावधिभन्दा पहिलै ग्रे लिष्टबाट बाहिर निस्किने आशा छ ।’
यसको साथै, उनले खर्चको व्यवस्थापनको सन्दर्भमा कानुनी व्यवस्था अद्यावधि गर्नुपर्ने आवश्यकता रहेको भन्दै यसले विनियोजना कौशलको पनि पुँजीगत खर्च न्यून हुनुमा भूमिका खेलेको बताए ।
उनले भने, ‘चालु आर्थिक वर्षमा राजस्व परिचालनको लक्ष्य ३३ प्रतिशतको लक्ष्य थियो । खर्चको व्यवस्थापनको सन्दर्भमा केही समस्याहरू छन् । सार्वजनिक खरिद ऐन, नियमावली अद्यावधिक गर्नुपर्ने कारणले गुणस्तर र निश्चित लागतमा आयोजनाहरू समयमा सम्पन्न हुन सकेको छैन् । यी समस्याहरू समाधान गर्ने हिसाबले कानुनी व्यवस्था अद्यावधि गर्नुपर्ने आवश्यकता छ ।’
समितिमा बजेटको सिद्धान्त र प्राथमिकता बारे उठेको प्रश्नलाई सम्बोधन गर्दै उनले सबैभन्दा पहिला सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि त्यही अनुसार सिद्धान्त, प्राथमिकता र मिल्नेगरि बजेट निर्माण गर्ने बताए ।
सुशासन विना विकास र समृद्धि छैन् भन्ने सोचको साथमा सरकार सबै काम कारवाहीहरूलाई सुशासनमा केन्द्रीत गरेर अगाडि बढेको पनि उनको भनाइ छ ।
मानव अधिकारको हनन हुनेगरी रविलाई पक्राउ गरेको भन्दै रास्वपाद्वारा आयोगको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई प्रहरीले मानव अधिकारको हनन हुनेगरी पक्राउ गरेको भन्दै मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराएको छ ।
बुधबार रास्वपाका कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले आफ्नो नेतृत्वमा गएको रास्वपाको टोलीले सामान्य एउटा प्रकृया पनि पूरा नगरी लामिछानेलाई प्रहरीले पक्राउ गरेको भन्दै आयोगबाट छानबीन भइ आवश्यक कारबाहीको माग सहित आयोगलाई ज्ञापनपत्र बुझाएको जानकारी दिए ।
‘सामान्य एउटा प्रकृया पनि पूरा नगरी दुईरात भएपनि सुत्छ कि भन्ने हिसाबमा राज्य संयन्त्र रातारात लागेर सामान्य जीवनमा ठूलै हलचल ल्याउने खालको काममा राज्य संयन्त्र उत्रियो । त्यसको हामी घोर भत्र्सना गर्दछौं । हामीले सभापति रवि लामिछाने विरुद्ध मानव अधिकारको हननको यो क्रमलाई राष्ट्रिय मानव अधिकार आयोगबाट छानबीन भइ आवश्यक कारबाही होस् भन्ने हिसाबमा आयोगमा आज एउटा निवेदन पेस गरेको छौं ।’ उनले भने
त्यस्तै, उनले गैरकानूनी रूपमा अनावश्यक बल प्रयोग गरी अभद्र व्यवहार र धरपकड गरी प्रचलित कानून र न्यायिक प्रक्रिया समेत अबलम्बन नगरी गैर कानूनी रुपमा उनलाई पक्राउ गरेको बताए । उच्च अदालतको आदेश नआउँदै हातहतियारसहितको प्रहरीले अघोषित रुपमा घर सिल गरिएकोमा उनले आपत्ति जनाए ।
उनले मानव अधिकार उल्लंघनको घटनामा आयोगले छानबिन गरेर आवश्यक कामकारवाही अगाडि बढाउने आयोगका अध्यक्षले प्रतिबद्धता जनाएको पनि जानकारी गराए ।
मधेश प्रदेशमा भण्डाफोर अभियान सुरु गर्ने रास्वपाको घोषणा
जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सातादेखि मधेशमा भण्डाफोर अभियान सुरु गर्ने घोषणा गरेको छ ।
मधेशको मौजूदा व्यवस्थाका अस्वीकृत पक्षलाई उजागर गर्न र सरकारको कुशासन तथा भ्रष्टाचारका दुष्प्रभावलाई जनताको बीचमा ल्याउने उद्देश्यका साथ पार्टीले अभियान सुरु गर्न लागेको जनाएको छ ।
जनकपुरधाममा पत्रकार सम्मलेनमार्फत रास्वपा मधेश प्रदेश सभापति इन्जिनियर तपेश्वर यादवले पार्टीको उद्देश्य र आगामी योजनाबारे विस्तृत रूपमा जानकारी दिएका छन् ।
उनले भने, ‘हामी व्यवस्थाविरुद्धको भण्डाफोर अभियानलाई मधेश प्रदेशका प्रत्येक पालिकाबाट सुरु गर्नेछौं । यो अभियानले सरकारको कुशासन र भ्रष्टाचारका दुष्परिणामहरूको पर्दाफास गर्नेछ ।’
यादवका अनुसार यो अभियान मधेशका आठवटै जिल्लामा विशेष प्रभावकारी ढंगले सञ्चालन गरिनेछ ।
‘हामी हरेक जिल्ला र गाउँमा जनचेतना फैलाउने र जनतालाई जागरुक बनाउने काममा लाग्नेछौं । यस अभियानका माध्यमबाट जनतालाई केवल सरकारका गलत क्रियाकलापका बारेमा मात्र जानकारी दिने होइन, उनीहरूको अधिकारको रक्षाका लागि आवाज उठाउन पनि प्रेरित गर्नेछौं,’ उनले थपे ।
यस अभियानसँगै रास्वपाले देशभरको युवा शक्ति र जन जागरण अभियानलाई प्रोत्साहन दिने उद्देश्य राखेको छ । इन्जिनियर यादवले पार्टीले युवालाई राजनीतिक, सामाजिक र नागरिक अधिकारका बारेमा शिक्षित गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताए ।
‘हामी यो आन्दोलनलाई केवल राजनीतिक प्रतिरोधको रूपमा होइन, एक सामाजिक जागरणको अवसरको रूपमा लिन्छौं । हाम्रो उद्देश्य जनतामा चेतना ल्याउनु हो,’ यादवले भने ।
त्यस्तै उनले पार्टी सभापति रवि लामिछानेमाथि गरिएको धडपकडप्रति आक्रोस व्यक्त गरेका छन् ।
‘राजनीतिक प्रतिशोधका आधारमा हाम्रो सभापति रवि लामिछानेलाई निशाना बनाइएको छ । सरकारका गलत कदमको विरोध जनाउन हामीले यो अभियानलाई अझ व्यापक बनाउने छौं । यो केवल रास्वपाको विरोध होइन, सम्पूर्ण लोकतान्त्रिक व्यवस्था र जनताको अधिकारको रक्षा गर्ने अभियान हो,’ यादवले स्पष्ट पारे ।
धरानका नागरिकको खानेपानीको समस्या समाधान हुन्छ : मन्त्री यादव
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानका नागरिकको वर्षैदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् ।
आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालिन समस्या समाधानका लागि बजेट विनियोजन गर्न आग्रहसहितको मागपत्र पेश गरेपछि मन्त्री यादवले सो कुरा बताएका हुन् ।
मन्त्री यादवले भने, ‘धरानका नागरिकको खानेपानीको समस्याका विषयमा म सहित सिङ्गो मन्त्रालय जानकार छ । त्यहाँको खानेपानीको दीर्घकालिन रुपमा समाधान गर्नेतर्फ हामी लागि रहेका छौँ । समस्या समाधान गछौँ ।’
मन्त्री यादवले धरानको खानेपानीको समस्याका विषयमा आफू पहिलेदखि नै जानकार रहेकाले त्यहाँको खानेपानीको समस्या दीर्घकालिन रुपमा समाधानका लागि दातृ निकायसँगको सहयोगमा समाधान गरिने आश्वासन दिए ।
नगरप्रमुख साम्पाङ नेतृत्वको एक प्रतिनिधिमण्डलले धरानको खानेपानी समस्याबारे विशेष ध्यानाकर्षण गराउँदै आगामी आर्थिक वर्ष २०८२/०८३ मा धरानमा खानेपानीका लागि वजेट विनियोजन गरि दिनका लागि मात्र पत्र बुझाएका थिए I
कोशी प्रदेशमा युरिया मलको अभाव
इटहरी । कोशी प्रदेशसहित देशभर यतिबेला युरियालगायत मलको हाहाकार रहेको छ । किसानहरू मकै खेतीका साथै चैतमा रोपाईँ हुने धान खेतीका लागि आवश्यक मल पाउन नसक्दा चिन्तित देखिन्छन् । मल वितरण गर्ने संस्थाले अनुदानमा दिएको मल आइ नसक्दा किसानमा चिन्तित देखिएका हुन् ।
मल कहिले आउँछ त किसानमा यो प्रश्न जीवित छ । यो प्रश्नको जवाफ कोशी प्रदेश अन्तर्गत उद्योग कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रचार अधिकृत अभिमन्यु अधिकारी भन्छन्,‘भारतको कलकत्ता बन्दरगाहबाट यहाँ आउने हामीलाई साल्टट्रेनिङले जनाएको छ । यस साता मल आएपछि वैशाख पहिलो हप्तादेखि यहाँ त निर्णय गरेर मल वितरण गरिहाल्छौं ।’
उनले मलको यूरियालगायत सबै मलको अभाव कोशी प्रदेशमा देखिएको पनि जनाएका छन् ।
लोकतन्त्रको अनुभव भएको छैन : मेयर साम्पाङ
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोकतन्त्रको अनुभव नभएको बताएका छन् ।
आइतवार साँझ काठमाडौं आएका मेयर साम्पाङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्ने भन्दै त्यसको अनुभव नभएको बताएका हुन् ।
‘लोकतन्त्रको अनुभव भएको छैन । भोलि सिंहदरबार जानुपर्ने त्यहाँ जान पनि सेटिङ गरेर जानुपर्नेखालको स्थिति छ । अब, मलाई त त्यो हुन्छ भने सर्वसाधारण जनताले मन्त्रिलाई भेट्न सक्छ ?,’ उनले भने ।
उनले थप भने, ‘लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्छ । पार्टी होइन । जुन सुकै पार्टीबाट चुनिएर आए पनि हामी जनताको प्रतिनिधित्व गर्ने ठाउँमा पुगिसके पछि त्यहाँ पार्टीगत लविङ, पार्टीगत सेटिङ भन्दा माथि उठेर काम गर्नुपर्छ । त्यो नभएर राजतन्त्रको माग भईरहेको छ ।’
उनले सरकारले जनप्रतिनिधि र जनताको कुरा नसुन्ने र जसको कारण पनि जनता रुष्ट भएको बताए ।
भिडियो हेर्नको लागि लिङ्कमा क्लिक गर्नुहोस्:
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/PEAmPlaalwc?si=Vp_ELHJNEz71qw7O" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>



