गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको निश्कर्ष
काठमाडौं । माओवादी केन्द्रको आजको बैठकले गृहमन्त्री रमेश लेखकले स्वतन्त्र, निष्पक्ष छानविनका लागि मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेको छ ।
बैठकपश्चात माओवादी केन्द्रको पदाधिकारी बैठकका निर्णय सुनाउँदै प्रवक्ता अग्नि सापकोटाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।
उनले भने,‘अहिले अध्यागमनमार्फत नेपालीलाई भिजिट भिषामा विदेश पठाउने कार्यमा गृहमन्त्रालयका कर्मचारी जोडिएका भन्ने विषय छन् । सबैतिरबाट आवाज आइरहेको छ । यसमा नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ,’उनले थप भने,‘नेपाली कांग्रेसभित्रैबाट पनि राजीनामा माग भएको छ र हाम्रो पार्टीको बैठकले पनि अव गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानविनमा सहयोग गर्नुपर्छ । पहुँच, प्रभाव र पावर प्रयोग हुनु भएन् । स्वतन्त्र, निश्पक्ष छानविनका लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ भन्ने हाम्रो पार्टीले निश्कर्ष छ ।’
यस्तै उनले पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र हुलाकी मार्ग केन्द्र अभियानले राष्ट्रिय एकता, जनजीविका लगायतका कुराहरु नयाँ अध्ययन अनुसन्धान गर्नका लागि मजबुत आधारहरु तयार भएको बैठकले निष्कर्ष निकालेको बताए ।
साथै उनले गंगालाल श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीसँग र नेपा राष्ट्रिय पार्टीबीच एकताको सबै कुरा टुङगोमा पुगेको बताए ।
रास्वपाले जेठ १३ गते बस्ने संसद बैठक अवरुद्ध गर्ने सङ्केत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेठ १३ गते बस्ने बैठक अवरुद्ध गर्ने सङ्केत गरेको छ । आइतबार बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकमा रास्वपा सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको आदेश सदर गर्ने निर्णय मान्ने भए पनि केही त्रुटिहरू रहेको भन्दै त्यसबारे बहस गर्ने निष्कर्ष निकालेको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष सुमनले सर्वोच्चको आदेशमा केही त्रुटिहरू भेटेको भन्दै त्यसको सार्वजनिक रूपमा बहस गर्ने बताए । बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको सवालमा पनि छलफल भएको बताए ।
‘यथास्थितिमा भ्रष्ट सरकार र गठबन्धनले देशलाई कतै पुर्याउँला जस्तो देखिँदैन’, झाले भने, ‘यो त एक अर्कालाई संरक्षण गर्ने भिजिट भिसा काण्डले नै देखाउँछ ।’ त्यो अभ्यास अन्तरगत यो भन्दा अगाडि जस्तै यात्राको बारेमा शिक्षक आन्दोलनको बारेमा लगायत विभिन्न समितिको जानकारी गराउने कुरा भयो । दुइदिन अघि सर्वोच्च अदालतको आदेशले तुलसिपुर उच्च अदालतको जुन आदेशलाई सदर गर्ने जुन निर्णय गरेको छ त्यसमा सबैजनाले एक अर्कालाई जानकारी गराउने निर्णय भएको छ । र त्यसलाई हामी कानुनी रुपमा मानेपनि यसको त्रुटि भएको बारे सार्वजानिक गर्नेर्छा । ’
साथै उनले अब बस्ने संसद् बैठक सामान्य नहुने पनि बताए ।
ट्राफिक प्रहरीको लुकिछिपी चेकजाँच प्रणालीप्रति उठ्यो प्रश्न
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको लुकिछिपी चेकजाँच जारी रहेको पाइएको छ । स्पिड लेजर गनमार्फत प्रहरीले सवारी जाँचलाई निरन्तरता दिएको हो ।
ट्राफिक प्रहरीको लुकीछिपी चेकजाँचकै क्रममा २०८१ साउन ३१ गते भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा ओखलढुङ्गाका उत्तम कोइरालाको ज्यान गएपछि चर्को आलोचना खेपेको प्रहरीले सोही किसिमको चेकजाँच दोहोर्याएको हो ।
विशेषगरी भक्तपुर क्षेत्र वरपर यस्तो अवैज्ञानिक एव अव्यवहारिक ट्राफिक जाँचका कारण सवारी दुर्घटनाको संख्या दिनानुदिन बढ्दो छ । यस्तै किसिमको स्पिड लेजर गनमार्फत चेकजाँच शनिबार काठमाडौंको ग्वार्को–वालकुमारी क्षेत्रमा देखिएको थियो ।
साँघुरो सडक, अस्तव्यस्त सवारी, अव्यवस्थित ट्राफिक व्यवस्थापन र सवारी चालकबीचको चेतना अभाव यसअघि पनि दुर्घटनाका मुख्य कारण मानिँदै आएका थिए । यसैविचमा लुकिछिपी ट्राफिक चेकजाँचले दुर्घटना निम्ताइरहेको पाइएको छ ।
‘ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ तर लुकेर स्पिड जाँच गर्ने सिलसिलामा दुर्घटना निम्ताउन पाइँदैन् । अव्यवहारिक र अवैज्ञानिक चेकजाँच गर्नु भएन्,’काठमाडौं जोरपाटीका दिनेश बाँस्कोटाले भने ।
ओखलढुंगाका कोइरालाले ज्यान गुमाएको घटनापछि जनस्तरबाट उठेको चर्को आलोचना र दबाबका कारण उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय भक्तपुरले छुट्टाछुट्टै दुईवटा छानबिन समिति गठन गर्नुपर्यो ।
अस्थायी रूपमा ट्राफिक प्रहरीले लुकिछिपी चेकजाँच रोकेको थियो । तर, नेपाली ब्यवस्थामा नीतिगत सुधार नहुनु, कानुनको कमजोरी र जिम्मेवार निकायको संवेदनहीनताले गर्दा अवस्था फेरि पुरानै शैलीमा फर्किएको छ ।
सडकमा जुनसुकै बेला र जुनसुकै ठाउँमा ट्राफिकको चेकजाँच, त्यो पनि गुपचुप तरिकाले हुनु भनेको ट्राफिक सुरक्षाको नाममा दुर्घटना निम्ताउनु रहेको बाँस्कोटाको भनाइ छ ।
नेपालमा विश्व स्मार्ट ट्राफिक प्रणाली, आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल निगरानीमा अघि बढिसकेको छ । तर नेपालमा अझै पनि ट्राफिक चेकिङ प्रक्रिया परम्परागत शैलीमै रहेको छ ।
खेलाडीबाट प्रशिक्षक बन्नु भनेको जीवनको एक महत्वपूर्ण ‘टर्निङ पोइन्ट’ हो : मन्त्री हाङ्गाम
धरान सुनसरी ३० बैशाख । खेलाडीबाट प्रशिक्षक बन्नु जीवनको एक महत्वपूर्ण ‘टर्निङ पोइन्ट’ रहेको कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले बताउनुभयो । फुटबल जस्तो विश्वव्यापी खेलमा अग्रस्थानमा पुग्न चाहने हो भने समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न जरुरी छ । उहाँले भन्नुभयो, ताप्लेजुङको प्रगतिशील फुटबल क्लबका संस्थापक तथा अध्यक्ष समेत रहनु भएका मन्त्री हाङ्गाम कोशी प्रदेश फुटबल संघद्वारा आयोजित एशियाली फुटबल काउन्सिल (एएफसी ) लाइसेन्स ‘डि’ तहको सामुदायिक फुटबल प्रशिक्षक तालिमको आज धरानमा उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उहाँले “फुटबल अब हिजोको जस्तो सजिलो खेल रहेन । समयसँगै खेलको स्वरूप मात्र होइन, प्रतिस्पर्धा र दक्षताको मापदण्ड पनि बदलिएको छ ।”
मन्त्री हाङ्गामले प्रशिक्षार्थीहरूलाई लक्षित गर्दै फुटबल प्रशिक्षक भएर नयाँ पुस्ता तयार पार्नु चुनौतीपूर्ण कार्य भएको उल्लेख गर्नुभयो । “हिजोको समयमा हामी मोजाको बल बनाएर खाली खुट्टै खेल्थ्यौं । तर अहिलेको पुस्ता आधुनिक जुत्ता र प्रविधिमैत्री बलको पहुँचसम्म पुगेको छ ।” उहाँले भन्नुभयो, उहाँका अनुसार, पहिले हारजितलाई सामान्य मानिन्थ्यो, तर अहिले खेल क्षमता र योग्यताको आधारमा मूल्यांकन हुने क्षेत्र बनिसकेको छ । “समयसँगै बदलिएको यथार्थलाई स्वीकारेर अघि बढ्नुपर्ने आवश्यकता आजको खेल क्षेत्रमा झन् बढेको छ,।”
प्रविधिले ल्याएको परिवर्तनसँगै शिक्षा, खेलका नियमदेखि कला क्षेत्रसम्म सबैमा उल्लेख्य रूपान्तरण आएको उल्लेख गर्दै मन्त्री हाङ्गामले भन्नुभयो , “अहिलेको समयमा शिक्षकले विद्यार्थीको प्रश्नमा ‘भोली पढेर भन्छु’ भन्ने छुट छैन । सबै कुरा पहिले आफैंले पढेर,बुझेर सिकाउनु पर्ने आवश्यकता छ ।
कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले भन्नुभयो, “हाम्रो लक्ष्य दश वर्षभित्र विश्वकप फुटबलको प्रतिस्पर्धामा नेपालको सम्मानजनक उपस्थिति सुनिश्चित गर्नु हो ।” त्यो लक्ष्यमा पुग्नका लागि नेपाली फुटबललाई व्यवसायीकरण गर्न सक्नु जरुरी रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, फुटबलका सबै पक्षहरू,खेलाडी, प्रशिक्षक, रेफ्रीदेखि प्राविधिकहरूसम्मलाई आत्मनिर्भर बनाउने गरी व्यवसायिक ढंगले अघि बढ्न एन्फा क्रियाशील छ । एन्फा केन्द्रीय सदस्य दिपेन्द्र धिमालले फुटबल प्रशिक्षक तालिम सफलतापूर्वक सम्पन्न गर्नु सहज प्रक्रिया नभएको बताउनुभयो । ‘सी’ क्लासको लाइसेन्स परीक्षामा भाषा कमजोरीका कारण आफू असफल भएको स्मरण गर्दै उहाँले भन्नुभयो । तपाईंहरूलाई अहिले नेपाली भाषामा तालिम पाउने अवसर मिलेको छ । जुन तपाईंहरूको सौभाग्य हो । पहिलेका तालिमहरू अंग्रेजी भाषामा मात्र हुने र विदेशी प्रशिक्षकबाट प्रशिक्षण दिनुहुँदा भाषा एक मुख्य चुनौती हुने गरेको उहाँले बताउनुभयो ।
धरानस्थित एन्फा टेक्निकल सेन्टरमा चार दिनसम्म चल्ने आवासीय प्रशिक्षणमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आउनु भएका ६० जना प्रशिक्षार्थीको सहभागी रहेको छ । यस( एएफसी) लाइसेन्स ‘डि’ क्लासको प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षकहरू एएफसीबाट मान्यता प्राप्त हुनेछन् !
आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतविरुद्ध हुने कुनै पनि आतंकवादी हमलाको कडा प्रतिकार गरिने बताएका छन् । पाकिस्तानसँग चारदिने सैन्य टकराब अन्त्य भएपछि राष्ट्रका नाममा सोमबार राति सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको हवाई आक्रमण र प्रत्याक्रमणको श्रृखंला र दुवै पक्षबीच सीमापार भारी गोलाबारीपछि पहिलो पटक जनतालाई सम्बोधन गर्दै मोदीले भने, ‘यो युद्धको युग होइन । तर, यो आतंकको युग पनि होइन ।’
भारत नियन्त्रित कश्मीरमा आतंककारी हमलामा २६ जना पर्यटकको हत्यामा भारतले पाकिस्तानको हात रहेको बताएको थियो । पाकिस्तानले यसलाई खारेज गर्दै आएको छ ।
परमाणु हतियार भएका यी दुई छिमेकी देशबीच अमेरिकाको मध्यस्थतामा शनिबार युद्धविराम गर्ने सहमति भएको थियो । सो सहमति अहिलेसम्म कायम रहेको छ । दुवै राष्ट्रले सतर्क रहने बताएका छन् ।
सम्बोधनमा मोदीले भने, ‘यदि, भारतमा फेरि आतंकवादी हमला भएमा कडा प्रतिकार गरिनेछ । आतंक र व्यापारको विषयमा सौदावाजी हुन सक्दैन ।’
मोदीको यो टिप्पणी युद्ध नरोके भारत–पाकिस्तानसँग अमेरिकाले व्यापारिक कारोबार बन्द गर्ने बताएपछि दुईदेशहरू युद्धविराम गर्न सहमत भएको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइतर्फ इंगित थियो ।
विद्युत सेवामा डिजिटल टेक्नोलोजी योगदान महत्वपूर्ण छ : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले डिजिटल टेक्नोलोजीको नेटवर्कका कारण विद्युत प्राधिकरणले ठूलो फड्को मारेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित टोक्मा एप लन्च कार्यक्रममा उनले विद्युत प्राधिकरणको ओपीजिडब्लू केबल देशभर नभएको भए आजको सञ्चार यसरी अगाडि बढ्न नसक्ने भन्दै नेटवर्क स्थापना गर्न विद्युत प्राधिकरणले ठूलो भूमिका खेलेको बताए ।
उनले भने, ‘नेपालको डिजिटल टेक्नोलोजी पूर्वाधारको हिसाबले धेरै नै राम्रो अवस्था छ । डिजिटल टेक्नोलोजीको लागि विद्युत प्राधिकरणले विद्यतु मात्र दिने होइन सञ्चारको नेटवर्क स्थापना गर्न पनि ठूलो भूमिका खेलेको छ । यदि हाम्रो ओपीजिडब्लू केबल देशभर नभएको भए आजको सञ्चार यसरी अगाडि बढ्न सक्ने अवस्थामा हुदैँन् थियो । पोल पोलबाट फाइबर घर घरमा पुगेको हुनाले पनि डिजिटल टेक्नोलोजीमा ठूलो सहयोग भएको जस्तो लाग्छ ।’
यस्तै, उनले टोक्मा एपले डिजिटल अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने भन्दै एपले रोजगारी सिर्जना गर्नको लागि ठूलो भूमिका खेल्ने बताए ।
उनले भने, ‘डिजिटल अर्थतन्त्रमा टोक्मा एपले महत्वपूर्ण योगदान दिने छ भन्ने लागेको छ । टोक्मा एपमा चार वटा फिचर राखेर आज लन्च गर्नु भएको छ, त्यो एकदमै राम्रो छ भन्ने मलाई लागेको छ, पर्यटकिय हिसाबले पनि, यो एपले रोजगारी पनि सिर्जना गर्नको लागि ठूलो योगदान पु¥याउछ भन्ने लागेको छ ।’
टेक्नोलोजीहरुले दैनिक कामलाई सहज बनाउन सहयोग गर्ने भन्दै यो एपले नेपालको डिजिटल टेक्नोलोजी विकासमा सहयोग गर्ने पनि उनको भनाइ छ ।
सोलुको थामेमा ‘सगरमाथा संवाद’को अभ्यास, हिमालमा हिउँ रित्तिदै गएकोमा चिन्ता
काठमाडौं । ‘सगरमाथा संवाद’ राष्ट्रिय एकतालाई सबल बनाउने, विश्वसामु नेपालको शिर उँचो पार्ने अवधारणा अनुरूप तयार पारिएको अन्तर्राष्ट्रिय मञ्च हो । २०७६ सालमा थालनी गरिएको मञ्च पुनः फर्किएको छ । यही २०८२ जेठ २, ३ र ४ मा नेपालले यसलाई पुनः शुभारम्भ गर्दैछ ।
हुनत जलवायु संकट निम्त्याउने सन्दर्भमा नेपालको मात्रै भूमिका छैन् । नियन्त्रण गर्न नेपालले मात्र सक्दैन् । तर अभियान सुरु गरेर विश्वमाझ फरक पहिचान स्थापित गर्न भने सक्छ । जलवायु संकटको विषय भौगोलिक वा पर्यावरणीय मात्र नभइ राजनीतिक पनि भएकाले नेपालले ‘सगरमाथा संवाद’ शुभारम्भ गर्दैछ । यसै अभियानलाई केन्द्रित गर्दै विभिन्न संघसंस्थाहरूले गतिविधिहरू गरिरहेका छन् ।
हालै ‘साथसाथै फाउन्डेसन’ नामक संस्थाले सोलुखुम्बुको थामेमा ‘आरोही सम्मेलन, जलवायु न्यायका लागि संवाद’ विषयक कार्यक्रमको आयोजना गरेर ‘सगरमाथा संवाद’को पूर्व कार्यक्रमको शुभारम्भ गरेको छ । सरकारको तर्फबाट औपचारिक सुरुवात गर्न बाँकी छ ।
सम्मेलनको उद्घाटन गर्दै रक्षामन्त्री मानवीर राईले पृथ्वी बचाउ अभियानमा सबै एकताबद्ध हुनुपर्ने मात्र बताएनन् त्यसका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने उद्घोष पनि गरे ।
उनले जलवायु परिवर्तनको असरका कारण हिमताल विस्फोट हुँदा आएको बाढीले पर्यटकीय नगरी थामेबस्ती तहसनहस बनाएको स्मरण गर्दै थामेबस्ती पुनःनिर्माणको काम सरकारले अघि बढाउने बताए । ‘जलवायु परिवर्तनले आक्रान्त छौँ तर यसको न्यूनीकरणमा सबै जुट्नुपर्छ । त्यसका लागि सरकार अघि बढिसकेको छ ।’
सोही कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनजन्य विपत्तिबाट प्रभावित समुदायको पुनर्निर्माण कार्यलाई सरकारले अगुवाइ गरेर अघि बढाउने घोषणा गरे ।
कतारकी राजकुमारी तथा सगरमाथा आरोही आश्मा अलथानीले हरेक विकासमा जलवायु परिवर्तनको मुद्दालाई केन्द्रमा राख्नुपर्ने बताइन । ‘हिमालमा हिउँ रित्तिदै गएको महसुस भइरहेको छ, हरेक वर्ष हिमालमा हिउँ घट्दै जानु भनेको ठूलो खतराको सङ्केत हो । यसको न्यूनीकरणमा हामी सबै जुटौँ,’ उनले भनिन् ।
ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले पर्यटन पूर्वाधार विकास तथा क्षतिग्रस्त संरचना निर्माणका लागि ढिला भइसकेको बताए । थामे खोलामा आएको बाढीले सगरमाथा क्षेत्रको पर्यटकीय संरचना ध्वस्त भएकाले यसको निर्माणमा जुट्न सरकारसँग आग्रह पनि गरे ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले थामेको पुनर्निर्माण, पुनःस्थापना र परिपूरणका लागि तीनै तहका सरकार योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्ने सुझाव दिए ।
साथसाथै फाउन्डेसनकी अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम प्रभावित क्षेत्रमै पुगेर गर्दा फलदायी हुने बताउँदै पृथ्वी बाँच्यो भने मात्रै प्राणी जगतको अस्तित्व सुरक्षित हुने औंल्याइन् ।
खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बाढी प्रभावितका लागि राहत र पुनर्निर्माणका लागि स्थानीय सरकार अहोरात्र खटिरहेको बताए ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका कार्यकारी सदस्य बद्री सिग्देलले खुम्बु जस्तो विकट क्षेत्रमा सरकारका मन्त्री आफैँ उपस्थित भएर जनगुनासो सुन्नु सकारात्मक भएको बताए । उनले जलवायु संकटको अवस्था बुझ्न हिमाल, पहाड र तराइ सबैतिर पुग्नुपर्ने धारणा राखे ।
सम्मेलनमा आरोही, जनप्रतिनिधि, सरकारी अधिकारी र स्थानीयवासीसहित भएको छलफल र संवादपछि पाँचबुँदे घोषणापत्र जारी गरिएको छ । घोषणापत्रमा थामेसहितका बाढीपहिरोपीडितका मुद्दालाई आगामी जेठ २ गते हुने सगरमाथा संवादमा प्राथमिकताका साथ उठान गर्नुपर्ने र त्यसका लागि सबै आरोही एकजुट हुनेलगायत घोषणा समेटिएका छन् ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घसहितका विभिन्न संघ संस्थाले सहकार्य गरेका थिए । सम्मेलनमा जलवायु परिवर्तन, पर्यटन र हिमाली जीवनशैलीका विविध पक्षमा छलफल भएको थियो ।
सम्मेलनमा उपस्थित सहभागीहरूले जलवायु परिवर्तनको संकट र पृथ्वी बचाउ अभियान सोलुमा मात्र गरेर नहुने औंल्याउँदै सोलुको समस्या विश्वव्यापी गर्न सुझाव दिए ।
गगन थापाले दिए सरकारबाट बाहिरिने चेतावनी
काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले आधारभूत कुरामा सम्झौता गर्नुपर्ने अवस्था आएमा सरकारबाट बाहिरिने बताएका छन् ।
विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली काङ्ग्रेस बाध्य भएर गठबन्धनमा रहेको भन्दै आधारभूत कुरामा पनि सम्झौता गरेर बस्नुपर्यो भने सरकारबाट बाहिरिने बताए ।
उनले भने, ‘अहिले मैंले समस्याको कुराहरु गरें । तर हामीले समाधान पनि दिनुपर्छ । हाम्रा बाध्यताहरु छन्, एक्लै छैनौँ, सरकारमा छौँ । कतिपय कुरामा कम्प्रमाइज गरेका छौँ । तर आधारभूत कुरामा कम्प्रमाइज गर्न सक्दैनौं । हामीले यो भन्न सक्नुपर्छ, परिआएको खण्डमा सरकारबाट बाहिर जान्छौँ । सरकार मात्रै सबैभन्दा ठूलो कुरा होइन ।’
कानून एवम संस्था निर्माण गर्ने जस्ता कुरामा सम्झौता हुन नसक्ने भन्दै काङ्ग्रेसले यो भन्न सक्ने क्षमता राख्नुपर्ने पनि उनको भनाइ छ ।
यस्तै, उनले संघीयताको लोकप्रियता छैन भनेर भाग्ने होईन् नागरिकहरुसँग बसेर संवाद गरेर सुधार गर्दै लानुपर्ने पनि बताए । उनले भने, ‘संघीयताले जसरी काम गर्नुपर्ने थियो त्यस हिसाबले गरिरहेको छैन् । त्यसैले संघीयताको लोकप्रियता छैन भनेर भाग्ने होइन् । नागरिकहरुसँग बसेर संवाद गर्ने हो । सच्चाउनुपर्ने कुरा सच्चाउने हो ।’
शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा विजय भएको दाबी गरेका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको पूर्ण बैठकमा उनले पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे सांसदहरूसँग विस्तृत छलफल गरेका हुन् ।
अध्यक्ष प्रचण्डले अघिल्लो संसद् अधिवेशनमा प्रधानमन्त्री संसदमा जवाफ नदिने अडानमा रहँदा माओवादी केन्द्रको स्पष्ट अडान र दबाबकै कारण उनलाई दुबै सदनमा उपस्थित भई जवाफ दिन बाध्य बनाउन सफल भएको उल्लेख गरे। ‘यो लोकतान्त्रिक प्रक्रियामा जनताको पक्षमा भएको विजय हो,’ उनले भने ।
उनले पार्टीले सञ्चालन गरेको यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको अभियान सफल भएको दाबी गर्दै हुलाकी राजमार्ग केन्द्रित अभियान र काठमाडौंमा आयोजित जनप्रदर्शनमा व्यापक जनसमर्थन देखिएको बताए ।
काठमाडौंमा यथास्थिति र प्रतिगमनविरुद्ध आयोजना गरिएको विशाल जनप्रदर्शनमा समाजवादी मोर्चाभित्र देखिएको एकताले पार्टीको गरिमा अझ उचो बनाएको उनको भनाइ थियो ।
‘तराई–मधेस जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेको उल्लेख गर्दै उहाँले जनाधार भएका व्यक्तिहरू पार्टीमा प्रवेश गरिरहेको र यसले संगठनलाई थप मजबुत बनाएको जानकारी दिए ।
अध्यक्ष प्रचण्डले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग संवाद भइरहेको जनाउँदै सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गएको आरोप लगाए । साथै, प्रधानमन्त्रीले आन्दोलनरत शिक्षकहरूसँगको संवादमा आफ्नो नाम जोडेर टिप्पणी गर्नु दुर्भाग्यपूर्ण रहेको उनले टिप्पणी गरे ।
संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकहरू माओवादी नेतृत्वको सरकारले गहिरो तयारीपछि प्रस्तुत गरेको उल्लेख गर्दै उहाँले ती विधेयक संसद्बाट पारित गराउन सबै सांसदहरू सक्रिय हुनुपर्नेमा जोड दिए ।
शिक्षा मन्त्रीको राजीनामापछि शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको भन्दै अध्यक्ष प्रचण्डले संसद्बाटै शिक्षकका मागहरू सम्बोधन गर्न सांसदहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिए ।
शिक्षकहरू चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन् : ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको समय हानिकारक र असामयिक प्रवित्तिहरू प्रकट भइरहेको बताएका छन् । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनमा बोल्दै उनले देशमा प्रतिगामी प्रवृत्ति, अति दक्षिणपन्थी र उग्र वामपन्थ प्रकट भइरहेको बताएका हुन् ।
उनले भने, ‘हामीले मिसन ८४ भनेका छौं । मिसल त्यत्तिकै भनिएको होइन । देशका विभिन्न प्रकारका विकृति, विसंगतीहरू, हानिकारक र असामयिक प्रवृत्तिहरूको अन्त्यका लागि भनिएको हो ।’
साथै उनले सुन्दर समाज सिर्जना गर्न दक्ष जनशक्ति निर्माण गर्नुपर्ने बताए । उनले दक्ष जनशक्ति निर्माण गर्न लोकतन्त्र चाहिने बताए ।
ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर शिक्षकहरूलाई विद्यालयमा फर्कन आव्हान गरेका छन् ।
उनले सरकार दमनकारी नभइ लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताए ।
‘विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ । ऐन ल्याउनकै लागि भनेर यत्रा धेरै शिक्षकहरू सडकमा आउनु पर्दैन । भर्ना अभियान सुरु भइसकेकाले । कृपया विद्यालयमा गएर भर्ना सुरु गर्नुहोस । एसइइको उत्तरपुस्तिका परीक्षण गर्नुस् । एसइइमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने मेरो भनाइले चित्त नदुखाउनुस् । गुणस्तरीय शिक्षाका लागि लाग्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘शिक्षकहरूको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ । शिक्षकहरूलाई लाभ छैन । त्यसकारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस् । प्रतिगामी तत्वहरू सलबलाएका बेला आन्दोलन गर्ने उपयुक्त समय पनि होइन ।’