पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संघीय निजामती ऐन विपरीत हुने गरी गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९ (पहिलो संशोधन) जारी गरेका छन् ।
प्रदेश प्रमुख भट्टले संघीय निजामती ऐन विपरीतको गण्डकी प्रदेशको मन्त्रीपरिषद् बैठकद्वारा मंगलबार पारित भएको प्रदेश निजामती सेवा ऐन २०७९ (पहिलो संशोधन) अध्यादेशलाई पारित गरिदिएका हुन् ।
संघीय निजामती ऐनले अस्थायी वा करारमा कर्मचारी राख्न निषेध गरेको छ । तर शुक्रवार जारी प्रदेश निजामती सेवा ऐन २०७९ (पहिलो संशोधन) अध्यादेशमा ‘प्रदेश लोकसेवा आयोगद्वारा लिइएको परीक्षामा उत्तीर्ण भइ वैकल्पिक उम्मेदवारका रूपमा प्रतीक्षा सूचीमा रहेका उम्मेदवारलाई बढीमा छ महिनाका लागि अस्थायी नियुक्ति गर्न सकिने’ भनिएको छ ।
प्रदेश लोकसेवा आयोग गण्डकीले सरकारलाई करारमा कर्मचारी नराख्न बरु आवश्यक परे पदनाम दर्ता गरी अस्थायी सूचीबाट राख्न सुझाएको थियो ।
आयोगको सुझावबाट सरकार केही हच्केको पाइएको छ । आयोगमा परामर्शका लागि पठाइएको अध्यादेशको छायाँप्रतिमा करार वा अस्थायी उल्लेख भएकामा करार हटाएर अस्थायी शब्द मात्र राखिएको छ ।
संघीय निजामती सेवा ऐनबाट जस्ताको त्यस्तै सारेर गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९ को दफा १५ मा ‘क’ थपिएको छ । तर यसमा एउटा प्रतिबन्धात्मक वाक्य भने थप गरिएको छ । जुन संघीय ऐनसँग सरासर बाझिने जानकारहरू बताउँछन् ।
१५‘क’ मा अस्थायी नियुक्ति सम्बन्धी व्यवस्था थपिएको हो । त्यसको उपदफा १ मा प्रदेश लोक सेवा आयोगले आफूले सञ्चालन गरेको परीक्षामा स्थायी नियुक्तिका लागि सिफारिस नभएका उम्मेदवारहरू मध्येबाट अस्थायी नियुक्ति गर्ने प्रयोजनको लागि छुट्टै योग्यताक्रम अनुसारको सूची प्रकाशन गर्ने उल्लेख गरिएको छ ।
उपदफा २ मा प्रदेश निजामती सेवाको कुनै रिक्त पदमा अस्थायी नियुक्ति गर्नुपर्ने भएमा सम्बन्धित मन्त्रालयले आयोगमा लेखी पठाउनुपर्ने र यसरी अस्थायी नियुक्तिका लागि उम्मेदवार माग गर्दा रिक्त पदमा स्थायी पदपूर्तिको लागि दफा १२ बमोजिम रीतपूर्वकको माग आकृति फाराम समेत भरी अनिवार्य रूपमा पठाउनुपर्ने उल्लेख छ ।
उपदफा ३ मा भनिएको छ, ‘उपदफा २ बमोजिम लेखी आएमा आयोगले योग्यताक्रमको सूचीमा रहेका व्यक्तिलाई सम्बन्धित मन्त्रालयको मागको आधारमा अस्थायी नियुक्ति गर्न नाम सिफारिस गरी पठाउनेछ ।’
उपदफा ४ मा उपदफा ३ बमोजिम सिफारिस भएका व्यक्तिलाई बढीमा ६ महिनासम्मको लागि सम्बन्धित मन्त्रालयले अस्थायी नियुक्ति गरिने भनिएको छ । उसको प्रतिबन्धात्मक वाक्यमा भनिएको छ, ‘उपदफा (१) बमोजिमको अस्थायी योग्यताक्रम सूचीबाट नपुग हुने भएमा वा अस्थायी योग्यताक्रम सूची प्रकाशन नभएको ब्यहोरा आयोगबाट लेखी आएको अवस्थामा प्रदेश इन्जिनियरिङ सेवा र प्रदेश कृषि सेवाको हकमा रिक्त दरबन्दीमा स्थायी पदपूर्ति नहुँदासम्म यस उपदफा बमोजिम सम्बन्धित मन्त्रालयले प्रतिस्पर्धात्मक विधिबाट छनौट गरी एकपटकमा ६ महिनासम्मको लागि अस्थायी नियुक्ति गर्न बाधा पर्ने छैन ।’
करार भन्ने शब्द नराखी यही प्रतिबन्धात्मक वाक्यलाई आधार मानेर सरकारी नियुक्तिका लागि मार्ग प्रशस्त गरेको छ । तर यसमा पनि अस्थायी योग्यताक्रम सूची प्रकाशन नभएको ब्यहोरा आयोगबाट लेखी आउनु पर्ने भएकाले सरकारलाई नियुक्तिका लागि त्यति सहज भने छैन ।
आयोगको प्रकाशित अस्थायी योग्यता सूची बाहेक स्थायी प्रकृतिको काम गर्नुपर्ने पदमा कुनै पनि तबरले अस्थायी वा करार नियुक्ति गर्न उपयुक्त समेत नहुने राय आयोगको थियो । उसले भनेको छ, ‘यसरी नियुक्ति गर्दा योग्यता प्रणालीमा अतिक्रमण हुन गइ योग्य उम्मेदवार प्रतिस्पर्धामा सहभागी हुन पाउने अवसरबाट वञ्चित गर्न मिल्लदैन । समावेशितापूर्ण निजामती सेवा बनाउने ऐनको दफा १० को मर्म र भावना अनुरूप नहुनुका साथै निजामती सेवा ऐन २०४९ मा भएको व्यवस्थाको प्रतिकूल हुने भएकाले प्रतिबन्धात्मक वाक्यांश झिक्न आयोगको सुझाव थियो ।
प्राविधिक कर्मचारीको अभावमा बजेट खर्चसमेत प्रभावित भएको भन्दै सरकारले प्रदेश निजामती सेवा ऐनको प्रावधान फेर्न संसद छलेर अध्यादेश ल्याएको हो । प्रदेश निजामती सेवा ऐन २०७९ करारमा कर्मचारी राख्न रोक लगाएको छ ।
त्यही प्रावधान फेर्न सरकारले अध्यादेशको सहारा लिएको हो । प्रदेश लोक सेवा आयोगले करारमा कर्मचारी राख्न नहुने, बरु लोक सेवाकै अस्थायी सूचीबाट बढीमा ६ महिनाका लागि नियुक्त गर्नका लागि लेखी पठाउन सुझाव दिएको थियो।
काठमाडौँ I काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह(बालेन)ले अहिले दुई तिहाइको सरकार भएपनि केही काम गर्न नसकेको बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित प्रथम कोटेश्वर महोत्सव–२०८१ उद्घाटन समारोहमा बोल्दै उनले ५० औं वर्ष देखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको भन्दै सरकारले काम प्रकृयामा छ भनेर झुटो आश्वासन मात्र देखाएको बताए ।
उनले भने,‘५० औं वर्ष देखि जग्गाको समस्या समाधान भएको छैन् । त्यही कारण मुआब्जा प्राप्त भएको छैन् । यसपालि त बहुमत भएको दुई तिहाइको सरकार छ । त्यही पनि केही गरेको छैन् । कोही नेताले तपाईंहरूको काम प्रकृयामा छ । काम हुँदैछ भनेर आश्वासन दिन आउनुभएको छ भने नपत्याउनु होला । कुनै प्रोसेस भएको छैन् । केही काम भएको छैन् ।’
उनले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको भन्दै अहिले सरकारमा प्रधानमन्त्री, गृहमन्त्री देखि अर्थमन्त्रीसम्म आफ्नै हुँदा पनि काम भएन भने कहिल्यै नहुने बताए ।
उनले भने,‘सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ । यसको मुआब्जा दिन कुनै पनि प्रोसेस भएको छैन् । अहिलेको दुई तिहाइको सरकारले चाहेमा जे पनि गर्न सक्छ । गृहमन्त्री आफ्नै ,अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत साधन आफ्नै, सबै आफ्नै, अझ वडा समिति पनि आफ्नै छ । अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन् ।’
काठमाडौँ । पूर्वमन्त्री तथा आदिवासी जनजाति अगुवाले आदिवासी जनजातिको प्राप्त अधिकार विभिन्न नाममा खोस्ने प्रयत्न भइरहेको भन्दै समयमै सचेत बन्नुपर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले आयोजना गरेको ‘नेपालको संविधानमा आदिवासी जनजातिका सवालहरू’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उनीहरूले त्यस्तो बताएका हुन् ।
नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता शंकर लिम्बूले अमेरिकाको संविधानका निर्माताहरू नेटिब (आदिवासी)शासनबाट प्रभावित भएको बताएका थिए ।
भूमि र प्राकृतिक स्रोतको दोहनले आदिवासीलाई प्रभावित गरेको भन्दै उनले संविधानमा आदिवासीहरू दोस्रो दर्जाको हैसियतलाई मौलिक हकमा राख्ने बताए । आदिवासीको अधिकार दिनदिनै हनन भइरहेको भन्दै उनले गुठी संस्कृति, मन्दिरहरू भत्काइएको बताए । आदिवासीको प्रतिष्ठानमा संविधानले प्रहार गरेको भन्दै अधिवक्ता लिम्बूले दिनदिनै आदिवासी विरुद्धका कानुनहरू बन्दै गएको बताए ।
कार्यक्रममा बोल्दै नेफिनका अध्यक्ष शेर्पाले आदिवासी सांसदहरूले आदिवासीका सवालमा नीति नियम बनाउँदा आदिवासी जनजातिको हित हुनेगरी बनाउनतिर ध्यान दिनुपर्ने बताए ।
नेफिनका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती भुजेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा सांसद सुदन किराँतीले नेपाली समाज सुहाउँदो प्राज्ञिक अध्ययन हुनुपर्ने बताए । मुलुकलाई विभाजन गर्न र देशलाई गृहयुद्धतिर धकेल्नतिर लान खोजिरहेको भन्दै उनले केही शक्तिले समानुपातिक व्यवस्था हटाएपछि मुलुक स्थिर हुन्छ भन्ने भ्रम फैलाइरहेको बताए ।
सांसद किराँतीले जनजागरण र संशोधन सँगसँगै हुनुपर्ने भन्दै आदिवासीको अधिकारका विरुद्धमा लाग्ने लाइ निर्वाचनबाट दण्डित गर्ने खाका तयार हुनुपर्ने समेत बताए । यसैगरी पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले अन्तरिम संविधान २०६३ भन्दा २०७२ सालको संविधान आदिवासी जनजातिका लागि प्रतिगमन भएको बताए । यसैगरी पूर्व सभामुख ओनसरी घर्ती मगरले आदिवासीहरू जुनसुकै पार्टीमा भएपनि आदिवासीको अधिकारका लागि एकजुट हुनुपर्ने बताए । संविधान संशोधनका कुरा उठ्दै गर्दा तल सडकबाट पनि दबाबमूलक कार्यक्रम मार्फत दबाब दिनुपर्ने उनको भनाई थियो ।
पूर्वमन्त्री कृपासुर शेर्पाले आदिवासी जनजातिबिच अधिकार प्राप्तिका लागि अझ बढी सुदृढ एकता आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री दिलमान पाख्रिनले एकढिक्का भएर आदिवासी अगुवाले आदिवासी अधिकार संरक्षणका निम्ति भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए । संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिताको विषय सबै राजनीतिक दलमा उठिरहेको भन्दै उनले यसलाई विचार पु¥याउनुपर्ने बताए ।
आदिवासी, दलित, मुस्लिम, मधेशी समुदाय एक ठाउँमा बसेर सोच्न आवश्यक रहेको उनको भनाई थियो । यस्तै सांसद सुशीला श्रेष्ठले आदिवासी जनजातिका जातीय, भाषिक समस्या धेरै भएको भन्दै त्यसको समाधानमा लाग्नुपर्ने बताए । सांस्कृतिक तथा भेषभूषा प्रदर्शन मात्रै अहिले भइरहेको भन्दै उनले हिजो भएका विभेदका कुराहरूलाई पनि बाहिर ल्याउन आवश्यक रहेको बताए ।
पूर्व सांसद जिपछिरिङ शेर्पाले आदिवासी जनजातिको प्राप्त अधिकारको संरक्षण गर्दै थप अधिकार प्राप्तिका निम्ति पार्टी नेतृत्वमा लबिङ गर्नुपर्ने बताए ।
मानवशास्त्री डा।मुक्तसिंह लामाले सत्ता र शक्तिसँग कसरी लड्ने भन्ने शक्ति यो दुई दशकको अवधिमा आदिवासी अगुवाहरूले सिकेको बताउँदै चुपचाप बसेमा आदिवासी जनजातिका निम्ति केहीपनि चाहिने रहेनछ भन्ने बुझाइ हुने बताए । गर्न सकिन्छ है भन्ने केही उदाहरण पनि रहेको भन्दै उनले बागमती प्रदेशमा नेवारी र तामाङ भाषा सरकारी कामकाजको भाषा बनाउने ऐन पारित भएको स्मरण गराए ।
जमिन खोस्ने अधिकार कसैलाई पनि नभएको भन्दै उनले कुनैपनि कानुन बनाएर आदिवासीको जमिन खोस्न नपाइने बताए । कार्यक्रममा संविधान सभाका सदस्यहरू पेम्बा भोटे, नगेन्द्र कुमाल, नेफिनका पूर्व महासचिव आङकाजी शेर्पा, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ लगायतले आदिवासीको अधिकार संरक्षणका निम्ति एकीकृत आवाज बोकेर जानुपर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण महासचिव दिवस राई र उपमहासचिव रामकृष्ण ब्लोन तामाङले गरेका थिए ।
डा.अमृता श्रेष्ठ छाला तथा यौन रोग साथै सौन्दर्य विशेषज्ञ हुन् । दश वर्ष देखि सरकारी मेडिकल अफिसरको रूपमा सक्रिय डा.श्रेष्ठ शूक्रराज ट्रपिकल अस्पतालमा कार्यरत छिन् । छाला रोग विशेषज्ञका रूपमा कान्ति बाल अस्पताल, कोशी अस्पताल विराटनगरमा समेत सेवा गरिसकेकी उनीसँग छाला सम्बन्धी समस्या समाधान साथै जाडो याममा छाला सम्बन्धी समस्या लगायतका विषयमा गरिएको कुराकानीको सम्पादित अंश ।
जाडो महिनामा बढी मात्रामा स्कीन केयर गर्नु किन आवश्यक छ ?
स्कीन केयर दैनिक जीवनमा एकदमै महत्वपूर्ण काम हो । किनभने छाला हाम्रो शरीरको सबैभन्दा ठूलो पाटो हो । हामीभित्र कुनैपनि रोग छ भने त्यसको असर पनि शरीरमा देखिन्छ र छालामा पनि देखिनसक्छ । छालामा देखिने कतिपय कुराहरू भित्र न्यूट्रिस्नल डिफिसेन्सिले पनि गराउँछ । जस्तै आइरनको कमी भयो भने कपालहरू झर्ने, ओठको वरिपरि घाउ आउने गर्छ । त्यस्तै धेरै तनाव लिने गरेको छ भने पनि छालामा असर पर्छ । अन्य रोगका कारण पनि छालालाई नै असर गर्छ । दुबी जस्ता समस्याहरू छालामा देखिन्छ त्यही भएर छाला एकदमै महत्वपूर्ण हुन्छ ।
स्कीन केयर भन्ने बित्तिकै सुन्दरता भन्ने बुझ्ने चलन छ । स्कीन केयर के का लागि महत्वपूर्ण छ ?
स्कीन केयरलाई खाली सौन्दर्यसँग जोडेर मात्र हेर्न हुँदैन् । कुनै पनि विधामा राम्रो हुनको लागि पहिला छाला राम्रो देखिनुपर्छ, मान्छेको आत्मविश्वास नै छालाबाट हुन्छ । त्यसले मानिसले स्किीन केयरलाई मात्र डर्माटोलोजी मानिएको छ । तर यसको धेरै प्रकार र पाटोहरू छन् । बच्चाहरूको लागि पनि छुट्टै डर्माटोलोजी भन्ने छ, इन्फेक्सन जस्ता रोगहरूको आफ्नै पाटो छ । यस्तैगरी यौन संचारित रोक(एसटीआई) अर्थात् यौनिक रोगहरूको पनि छालामा नै असरहरू देखिन्छ । यी सबै कुराहरूले हेर्दा स्कीन केयर एकदमै महत्वपूर्ण हुन्छ ।
यसमा सबैभन्दा महत्वपूर्ण भनेको मोस्जराइजर, सनस्क्रिन, भिटामिन ‘सी’ सेरम, अन्य सेरमहरू प्रयोग गर्नु राम्रो हुन्छ । त्यसैगरी केमिकल पिलहरू हप्ता वा महिनामा प्रयोग गर्नुभयो भने अझै फाइदा हुन्छ । अनुहारलाई सूर्यको किरणबाट बचाउनुपर्छ । पूरै ज्यानलाई नै भन्न मिल्लदैन, फेरि भिटामिन ‘डी’को कमी हुनसक्छ । तर अनुहारमा चाया-पोतो नआओस् भन्नको लागि, डन्डीफोरको दागहरू नबसोस भन्नको लागि फेसलाई घामबाट बचाउनु आवश्यक हुन्छ ।
जाडो महिनामा नै धेरै किन स्कीनमा समस्याहरू देखिन्छ ?
जाडोमा चिसो धेरै हुने हुँदा छालामा मोइस्चरको कमी हुन्छ । मोइस्चरको कमी भइरहेको हुन्छ त्यसमा ड्राइ हावाले गर्दा तातो पानीले नुहाउने, हिटरमा बस्ने गर्छौ यसले छालाको लिपिड्सहरु कम गराउँछ । छालालाई सुरक्षित गर्ने तत्वहरूको कमी पनि गराउँछ । त्यसले गर्दा छालाहरू सुख्खा हुने र विभिन्न समस्याहरू निम्ताउँछ । त्यही भएर मोस्जराइजरहरु प्रयोग गरेर छालाको मोइस्चरलाई सन्तुलनमा राख्नु अझै महत्वपूर्ण हुन्छ ।
नुहाउने समयलाई घटाउने, तातो पानीले धेरै समय ननुहाउने, धेरै सुगन्ध भएको साबुन प्रयोग नगर्दा राम्रो हुन्छ । धेरै सुगन्ध भएको साबुनले पनि एलर्जी गराउँछ । साबुन प्रयोग गर्दा पनि ग्लिसिरिन भएको शुद्ध खालको साबुनले छालालाई मोइस्चर गराउन सक्छ । लाइफबोइ साबुन सबैले प्रयोग गर्नुहुन्छ तर त्यसमा मोइस्चरको मात्रा कम हुन्छ ।
जाडोमा कुन उमेर समूहको मानिसको स्कीनमा बढी असर हुन्छ ?
चिसोले बुढाबुढी र युवाहरूलाई बढी असर गर्छ । बच्चाहरूको छाला बन्ने क्रममा नै हुने भएकाले धेरै समस्या नदेखिएला । यस्तै गरेर बुढाबुढीहरूको जति उमेर बढ्दै गयो छाला चिल्लो बनाउने ग्रन्थीहरू कम हुदैँ जान्छ । त्यही भएर जति उमेर भयो त्यति ड्राइनेशहरू बढ्छ । चिसोमा केयर गर्नुपर्ने स्कीन भनेको दुई उमेर समूहको हो ।
पुरुष र महिलाहरूको स्कीनमा देखिने समस्यामा के फरक हुन्छ ?
प्राय त दुबैमा उस्तै खाले नै समस्या देखिने गर्छ । कतिपय अवस्थामा मोइस्चराइजर कन्टेन्ट दुबैको स्कीनमा कमी हुन्छ । किनभने जाडोमा झन धेरै मात्रामा इन्टरनल हिटरहरूको प्रयोग गछौँ । त्यसले गर्दा छाताहरू एकदमै खस्रो हुने हुन्छ । धेरै मात्रामा मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।
जाडो महिनामा पनि पानी बढी मात्रामा पिउनुपर्छ । दिनमा तीनदेखि चार लिटर पानी चाँही पिउनैपर्ने हुन्छ । जाडोमा पिसाब धेरै लाग्छ भनेर मानिसहरू पानी नै कम पिउने गर्नुहुन्छ । त्यसो गर्नु हुँदैन् । ताजा फलफूल र तरकारीहरू पनि बढी खानुपर्छ । तनावचाँही कम लिनुपर्ने हुन्छ । र नियमित रूपमा व्यायाम गर्नुपर्छ । स्किन केयर कै लागि पनि यो सबै गर्न आवश्यक छ ।
घरमा बसेर स्कीन केयर कसरी गर्न सकिन्छ ?
घरमै बसेर स्कीन केयर गर्दैगर्दा सबैभन्दा पहिला त राम्रो खालको फेसवास मात्र प्रयोग गर्नुपर्ने हुन्छ । फेसवासपछि अर्को महत्वपूर्ण कुरा भनेको मोइस्चराइजर नै हो । मुख धोएपछि अनुहारमा राम्रोसँग मोस्टाइज गर्नुपर्ने हुन्छ । र अर्को छुटाउन नहुने कुरा भनेको सनस्क्रिन हो । सनस्क्रिन चाँही दिनमा दुई–दुई घण्टाको अन्तरमा अनुहारमा र घाँटीमा लगाउनुपर्छ । बाहिर घाममा निस्कदा मात्र नभएर भित्रै बस्दा पनि आफ्नो स्कीनको अवस्था हेरेर एसपीएफ ३० देखि ५० सम्मको सनस्क्रिन लगाउनुपर्छ । धेरै चाया पोतो आउने स्कीन छ भने ५० एसपीएफको चाहिन्छ । नभए अरू स्कीनमा ३० कोले नै पुग्छ । सबैभन्दा महत्वपूर्ण कुरा पानी धेरै पिउने,जङ्क फुड नखाने र स्वास्थ्य जीवनशैली बिताउनु नै हो ।
स्कीनलाई हेरचाह गर्ने नाममा बजारमा पाइने जुनपायो त्यही प्रोडक्टहरुको पनि प्रयोग गरिएको पाइन्छ । यसबाट जोगिन के गर्ने ?
स्कीनको केयर गर्ने नाममा झनै आफ्नो स्कीनलाई बिगार्ने काम त गर्नु हुँदै हुँदैन् । यस सम्बन्धि केही ज्ञान नै छैन् भने एक पटक आएर डाक्टरसँग भेट्न उपयुक्त हुन्छ । तर अहिलेको जमानामा प्राय सबैको हातमा मोबाइल फोन छ । सञ्चार माध्यम, फेसबुक, टिकटकतिर छाला सम्बन्धी जानकारीहरू राखिएको हुन्छ । त्यसरी पनि थाहा पाउन सकिन्छ । जथाभाबी रूपमा औषधिहरू प्रयोग गरेर स्किनलाई बिर्गान भन्दा डर्माटोलोजिष्टको सुझावलाई आत्मसाथ गर्नु नै उचित हुन्छ ।
हजुर आफैँमा एक डर्माटोलोजिष्ट हुनुहुुन्छ । हजुरले चाँही आफ्नो स्किनलाई कसरी हेरचाह गरिराख्नु भएको छ ?
बिहान उठेर मुख धुन्छु । मुख धुन क्लिनजर या त फेसवास प्रयोग गर्छु । मैले प्रयोग गर्ने फेसवास र क्लिनजर चाँही सिजन अनुसार परिवर्तन गर्ने गर्छु । क्लिनजर भन्दापनि जाडो महिनामा बढी क्लिनजर नै प्रयोग गर्ने गर्दछु । गर्मी महिनामा फेसवास प्रयोग गर्छु । मासिक केमिकल पिलहरु गरिरहेको हुन्छु । साधारणतया मोइस्चराइजर, सनस्क्रिन त प्रयोग गर्ने नै भइहालें तर समय मिलेसम्म सनस्क्रिन चाँही प्रत्येक दुई घण्टामा लगाउने गर्छु ।
बच्चाहरूलाई पनि सनस्क्रिन लगाइदिने गरेको देखिन्छ । बच्चाहरूले सनस्क्रिन प्रयोग गर्नु कत्तिको उचित छ ?
कतिपयले नबुझेर बच्चाहरूलाई पनि ठूला मान्छेले प्रयोग गर्ने सनस्क्रिन प्रयोग गराएको देखिन्छ । तर त्यसो गर्नु हुँदैन् । दुई वर्ष भन्दा मूनीका बच्चाहरुले त सनस्क्रिन प्रयोग गर्नैं हुँदैन् । दुई वर्ष पछिको बच्चाको लागि किड्स सनस्क्रिन भनेर छुट्टै पाइन्छ । नत्र जे पायो त्यही प्रयोग गरियो भने बच्चाहरूको छालामा दीर्घकालीन असर देखिन्छ ।
विशेषगरी जाडोमा स्किन केयर एकदमै आवश्यक छ । जुनसुकै उमेरका व्यक्तिहरूले छालाको राम्रो हेरचाह गर्नु आवश्यक छ । नुहाउने बित्तिकै स्किनमा मोइस्चराइज गरिहाल्नु पर्छ अनि स्किन ड्राइ हुने समस्या कम हुन्छ । हाइपोथाइरोटिज्मदेखि विभिन्न रोगहरुसँग सम्बन्धित स्किनमा ड्राइनेस आउँछ । त्यसैले लामो समयदेखि स्किनमा ड्राइनेस छ भने मोइस्चराइजर लाएर मात्र बस्न हुन्न । डाक्टरसँग भेटेर टेस्टहरु पनि गर्नुपर्छ, परामर्श लिनुपर्छ ।
काठमाडौं । तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइमिङ कम्पिटिशन (खुल्ला आरोहण प्रतियोगिता) को दोस्रो संस्करण आयोजना हुने भएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो संस्करण सफल भएपछि दोस्रो संस्करण आयोजना हुन लागेको जानकारी दिएका छन् ।
उक्त प्रतियोगिता यूएस नेपाल क्लाइम्बर एशोसिएसन र नेपाल नेशनल माउण्टेन गाइड एसोसिएसनको संयुक्त आयोजनामा हुन् लागेको हो । यूएस नेपाल क्लाइम्बर एशोसिएसनका संस्थापक अध्यक्ष एवं प्रतिनिधि सेराप जाङ्बु शेर्पाका अनुसार उक्त प्रतियोगिता आगामी माघ १६ र १७ गते का दिन हुनेछ ।
क्वली राउन्डको लागि उपयुक्त ठाउँ छिटै सार्वजनिक गर्ने र सेमिफाइनल र फाइनल बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा गरिने शेर्पाले बताए । उक्त प्रतियोगिता दुई चरणमा हुनेछ ।
प्रतियोगिताको संयोजक समेत रहेका संस्थापक अध्यक्ष शेर्पाले पर्वतारोहण खेलको प्रवर्धन गर्ने उद्देश्यसहित तेन्जिङ नोर्गे शेर्पाको नाममा उक्त प्रतियोगिता गर्न लागेको बताए । उनले यस प्रतियोगिताले आरोहण क्षेत्रमा रुची राखेलाई अझ प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘हामीले अमेरिकामा पनि टप रोप एडिसन आयोजना गर्दै आएकाले नेपालमा पनि टप रोप एडिसन पहिलो पटक आयोजना गरिसकेकाले यसपटक दोस्रो एडिसनको पनि आˆनै देश नेपालमा प्रतियोगिता गर्न लागेका छौं, यसबाट साहसिक पर्यटन प्रवर्दधन हुने विश्वास लिएका छौं ।’
साथै, गत वर्ष पहिलो पटक गरिएको उक्त प्रतियोगिता आयोजनाले युवाहरूमा राम्रो छाप परेको शेर्पाले सुनाए । संस्थापक अध्यक्ष शेर्पाका अनुसार दुई दिनसम्म चल्ने प्रतियोगतामा पहिलो दिन क्वली राउन्ड र दोस्रो दिन सेमिफाइनल र फाइनल गरिने छ ।
उनले भने, ‘प्रतियोगितामा भाग लिन ५ सय लाग्ने छ । सो प्रतियोगितामा १२ वर्षभन्दा माथिकाले सहभागीता जनाउन सक्ने छन् ।’ कार्यक्रमले प्रतिस्पर्धा मात्र होइन, आरोहण संस्कृति, सौहा›ता र तेन्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सवको पनि प्रतिज्ञा गरिएको कार्यक्रमका सह संयोजक तथा नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसनका महासचिव पिम्बा तेन्जिङ लामाले बताए ।
उनले भने, ‘यो प्रतियोगिता मात्र होइन प्रतिष्ठित तेन्जिङ नोर्गे शेर्पाप्रति श्रदासुमन एवं श्रदानजली पनि हो ।’ आयोजकका अनुसार प्रतियोगितामा पुरुष र महिलाबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार प्रदान गरिने छ । यस पटकको प्रतियोगितामा पुरुषतर्फबाट ५० देखि ४५ र महिलातर्फबाट २० देखि २५ जनाले सहभागीता जनाउने छन् । त्यसैरीगरी पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने महिला/पुरुषलाई क्रमशः ४५ हजार, ३५ हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसले प्रविधिक जिम्मेवारी समाल्ने छ । यूएसएनसीए (यू. एस. नेपाल क्लाइम्बरस एशोसिएसन) र एनएनएमजीए (नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसन) बीच प्रत्येक वर्ष पालैपालो कोडिनेटर हुने गरी कार्यक्रम सञ्चालन गर्ने सहमति (एमओयू) भएको आयोजकले जनाएको छ ।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङ्ले एआईको प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण गर्ने बताएका छन् । बुधवार काठमाडौँमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्यूज डटकम पत्रिका लोकार्पण समारोहमा बोल्दै उनले एआईको प्रयोग सम्बन्धी पोलिसी ल्याएर त्यस लगत्तै कानुन पनि निर्माण गर्ने जानकारी दिएका हुन् ।
उनले भने, ‘हाम्रो मन्त्रालय बढि लाग्नुपर्ने भएकाले एआईको प्रयोग कसरी गर्ने भनेर यसपटक हामी एआईको प्रयोग सम्बन्धी पोलिसी ल्याउँदै छौं । र त्यसको पोलिसी ल्याउने बित्तिकै त्यसको कानुन बनाउँछौँ ।’
उनले सरकारीको विषयमा आफ्नो पार्टीका मानिसलाई बचाउने र रास्वपालाई मात्र अनुसन्धान ग¥यो भन्ने गलत प्रचार भएको छ । समितिको प्रतिवेदनमा उल्लेख भएको सहकारी ठगिमा संलग्न छ भने भने कांग्रेस एमाले मात्र नभई जुनै पार्टीमा आबद्ध रहेको व्यक्तिमाथि कारबाही हुने उनले बताए ।
उनले भने,‘अहिले सहकारी अव्यवस्थापनको समस्या एकदमै धेरै देखिएको छ । एक पछि अर्को गर्दै उत्रिैँदै छ । समस्याग्रस्त बनेको सहकारीको अनुसन्धानको छुट्टै टिम बनाएको हो । संसदीय समितिले भनेको सबैलाई अनुसन्धान भइरहेको छ सबैलाई एकै पटक छानबिन गर्न त सकिन्न नि । एकथरी राजनीतिक दलहरूलाई के भ्रम छ भने,हाम्रोलाई मात्र ग¥यो आफ्नोलाई गरेन भन्ने छ । समितिको प्रतिवेदनमा उल्लेख भएको सहकारीका कुनै पनि व्यक्ति कोही पनि छुट्दैन । त्यो सत्तामा रहेको काँग्रेसको होस् कि एमालेको होस् कि माओवादीको होस् । खालि रास्वपालाई मात्र ग¥यो भन्ने गलत प्रचार भयो । हाम्रो अनुसन्धान र न्याय दिने कुरालाई ओझेलमा पार्न खोजेको हो ।’
उनले मुलुकको सुरक्षा, आर्थिक विकास र राजनीतिक प्रतिबद्धताको लागि गर्नुपर्ने धेरै काम अझै बाँकी रहेको बताए ।
आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा एउटा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने अठोट उनको छ ।
उनले भने, ‘मुलुकको सुरक्षाको लागि आर्थिक विकासको लागि र राजनीतिक प्रतिबद्धताको लागि हामीले काम गर्नुपर्ने हुन्छ । तर केही काम भएको छैन् । यो वर्ष म त्यहाँ हुदासम्म सबै काम गरेर नै छोड्छु । मैले नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा एउटा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्छु ।’
मुगु । यतिबेला मुगुका अधिकांश युवाहरू रोजीरोटी एवम् जीवन निर्वाहका लागि नेपालका ठूला शहर र भारततिर लागेका छन् । गाउँमा रोजगारीका अवसरहरू नभएपछि उनीहरू ठूला शहर र भारततर्फ गएका हुन् ।
‘गाउँमा उत्पादन गरेको खेतीले परिवारको जीवन निर्वाह गर्न ६ महिना पनि नपुग्ने, बर्सेनि बाली लगाउनलाई सिँचाइ सुविधा नहुने साथै अन्य आय स्रोत नहुँदा उनीहरूले गाउँ छाडेका हुन् । स्थानीय सरकारले पनि रोजगारमुखी कार्यक्रमहरू नल्याउँदा युवा पलायन हुँदा गाउँमा जन्ती–मलामीको अभाव हुने गरेको स्थानीय बताउँछन् ।
जिल्लाका सोरु गाउँपालिका अन्तर्गत धैन, कालै, भिई, नार्थर्पु, फोतु,लिब्रु, कच्र्चे, रुम, ख्याल्च,बुम्च,सिरुपटा, खत्याड गाँउपालिकाको अमाले, लुमेरा, सेरी, जाम,जुम्फै,गम्था,कोटडाडा, रासकोटीवाडा, ह्रयाङ्गलु जस्ता गाउँहरु साथै छायानाथ रारा नगरपालिका अन्तरगत रुगा,रोवा,पिना,कार्कीवाडा,ढुम,बाम,मुन्दर कोटीला थार्प,तिर्थलगाउत पाँच दर्जन गाउँका युवाहरु पलायन भएका हुन् ।
सोरुगाँउपालिका–९ कि असौजी नेपाली भन्छिन्,‘गाउँ यतिबेला युवाविहीन छ । कोही विरामी परिहाले स्वास्थ्य केन्द्र पुर्याउने, विवाह–व्रतबन्धमा सघाउने र कोही मृत्यु हुँदा मलामी जाने मान्छेको अभाव छ ।’
स्थानीय सरकारले पनि रोजगारमूलक काम नल्याउने र राम्रा कार्यक्रमहरूमा आफ्ना नातागोताले अवसर पाउने गरेको उनले गुनासो गरिन् ।
मुगुमा एक नगरपालिका र तीन गाउँपालिकाले युवा लक्षित कार्यक्रमहरू ल्याएको दावी गरेका छन् । यहाँ अधिकास युवाहरु भारतका विभिन्न शहरलगायत नेपालका काठमाडौँ, धरान, बुटवल, चितवन, नेपालगन्ज, भैरहवालगायतका शहरमा युवाहरू मजदुरी र व्यापार गर्न जाने गरेका छन् ।
स्थानीय सरकारका आयोजना वा रोजगारमूलक कार्यक्रमहरूमा आफूहरूको पहुँच नपुगेकाले भारतमा गएर मजदुरी गर्न बाध्य भएको सोरु गाउँपालिका–९ का जाडनाथ योगीको भनाइ छ ।
तर सोरु गाउँपालिकाले युवाहरूलाई गाउँमै रोजगारी दिलाउने उद्देश्यले उपाध्यक्ष कोषमार्फत विभिन्न कार्यक्रमहरू ल्याएको दावी गरेको छ । युवा पलायन रोक्न भावी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने गाउँपालिका उपाध्यक्ष केशरजंग शाही बताउँछन् ।
एजेज्सी । साना गाउँ र टोलहरूमा सुधारिएको पूर्वाधारका कारण ग्रामीण चीनमा ई–कमर्स तीव्र रूपमा फस्टाउँदै गएको छ । अहिले ग्रामीण बासिन्दाले अनलाइन सपिङलाई आफ्नो दैनिकीको हिस्सा बनाउन थालेका छन् ।
सिचुआन प्रान्तको हुआलिन गाउँका बासिन्दा लिउ झुआङकुइ इकमर्सले ग्रामीण जीवनमा सहजता ल्याएको बताउँछन् । उनी भन्छन, “आजकल इकमर्स लजिस्टिक्स यति सहज छ कि ग्रामीण र सहरी क्षेत्रमा बस्न एउटैजस्तो लाग्छ । हामी मोबाइल फोनमा एउटा क्लिकले सामान किन्न सक्छौँ, र यसलाई चाँडै हाम्रो घरमै डेलिभर गरिन्छ ।’
विशाल ग्रामीण क्षेत्रमा सामान समयमै डेलिभर गर्न हुआलिन गाउँले सार्वजनिक मिनीबसहरू प्रयोग गर्ने अनौठो पहल सुरू गरेको छ । हवालिन गाउँको ई–कमर्स डेलिभरी स्टेशनका प्रमुख लिउ वेनमिङ भन्छन, ‘मिनीबसले सामान डेलिभर गर्दा गाउँलेहरूले समयमै सामान प्राप्त गर्न र आफ्नो कृषिजन्य उत्पादन चाँडै बेच्न सक्छन् । यसले गाउँलेहरूलाई सुविधा मात्रै होइन, श्रम र यातायात लागत पनि कम गरेको छ ।’
चीनमा ई–कमर्सलाई आत्मसात् गर्दै, धेरै किसानहरू आफ्नो बालीको सिजनबाहेकको समयमा लाइभ–स्ट्रीमिङमार्फत अतिरिक्त आम्दानी गरिरहेका छन् । यसले परम्परागत कृषि र आधुनिक प्रविधिलाई एकसाथ ल्याएको छ ।
चीनको वाणिज्य मन्त्रालयका अनुसार, गत वर्ष ग्रामीण क्षेत्रमा अनलाइन खुद्रा बिक्री ३४३ अर्ब अमेरिकी डलर नाघेको थियो, जसमा कृषिजन्य उत्पादनहरूको बिक्री ८० अर्ब डलरभन्दा बढी रहेको छ ।
बुटवल । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.डिला संग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा नेतृ संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पूरा गर्न सफल नभएको जिकिर गरिन् । तत्काल संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने कुरामा नेतृ संग्रौलाको जोड थियो ।
काँग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभूति नगरेको, सरकार सञ्चालनमा भएकाहरू अलमलिएको बताइन। काँग्रेसले सञ्चालन गरेको अभियान संगठनलाई मजबुत बनाउँन, जनतासँग नेताहरू पुगी समस्या पहिलाउन र समाधान गर्नका लागि देशभर प्रतिनिधि खटिई क्रियाशील वितरण पनि अगाडि बढाएको बताइन् ।
क्रियाशील वितरणको काम सुरु भएसँगै महाधिवेशनको तयारी सुरु भएको बताउँदै समयमै काँग्रेसको महाधिवेशन हुने कुरामा विश्वस्त भएको बताइन् । वर्तमान सत्ता गठबन्धन सत्ताको लागि मात्र होइन, अस्थिरता अन्त्यसँगै संविधान संशोधनकै लागि काँग्रेस–एमाले एक ठाउँमा सत्ता सहकार्य गर्न पुगेको संग्रौलाले बताइन् ।
पूर्वसांसद समेत रहेकी नेतृ संग्रौलाले काँग्रेसको आगामी निर्वाचनमा पार्टीको नेतृत्व गर्नका लागि उत्तराधिकारी कसैको कोही नहुने बताउँदै भिजन र मिसन भएको व्यक्तिले पार्टीको नेतृत्व गर्ने बताइन ।
यो सरकार २०८४ सालसम्म नै एमालेसँगको सहकार्यमा सञ्चालन हुने भएकाले सहमतिअनुसार नै चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउँवाले गर्ने बताउँदै माओवादीले जनतालाई पटक–पटक धोका दिएकाले माओवादीसँग सहकार्य नहुने स्पष्ट पारिन् ।
संविधान संशोधनमा महिलाको अधिकार प्राप्तिका लागि प्रत्यक्षतर्फ ४० प्रतिशत उम्मेदवार बन्न पाउँनेगरी र महिलाको अधिकारका लागि लडिरहने बताएकी संग्रौलाले काँग्रेसको पदाधिकारीमा पनि ३३ प्रतिशत महिलाले नेतृत्व गर्न पाउँनुपर्नेमा जोड दिइन् ।
कार्यक्रम रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष मिना ढकाललाई सम्मान गरिएको थियो ।
काठमाडौँ । संघीय संसद अन्तर्गत आज तीन समितिको बैठक बस्ने भएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गत कानून, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।
कानून, न्याय तथा सत्व अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल हुने कार्यसूची रहेको छ । बैठकको समय बिहान ११ः०० बजे छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठकको समय दिनको १ः०० बजे रहेको छ ।
त्यस्तै, पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता माननीय सदस्यहरूसँग छलफलको कार्यसूची रहेको छ भने विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता माननीयहरूलाई आमन्त्रित गरिएको छ । बैठकको समय बिहान ११ः०० बजे रहेको छ ।