१० ठूला बैंकको कर्जाको गुणस्तर परिक्षण छिटो गरः आईएमएफ
काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले दश ठूला वाणिज्य बैकहरूको कर्जाको गुणस्तर परीक्षणको काम छिटो अघि बढाउन भनेको छ । यो काममा नेपाल राष्ट्र बैँकले पटक–पटक धक्का वेहोरिरहँदा आईएमएफले यो काम तत्काल अगाडि बढाउन जोड दिएको हो । चैत अन्त्यमा निष्कृय कर्जा ५ दशमलव २ प्रतिशत पुगी बैँक तथा वित्तीय संस्थाहरूको पुँजीमा नै असर परेको भन्दै आईएमएफले वित्तीय क्षेत्रमा रहेको जोखिम सहज नभएको जनाएको छ ।
यस सन्दर्भमा अन्तरराष्ट्रिय क्रेडिट रेटिङ संस्थाहरुबाट ठूला वाणिज्य बैकहरूको कर्जाको गुणस्तर लेखापरिक्षण गर्ने हालको योजना छिटो कार्यान्वयन गरिहाल्नुपर्ने आईएमएफको धारणा छ ।
नेपालको लागि स्वीकृत गरिएको विस्तारित कर्जा सुविधाको छैठौ समीक्षा बैठकमा नेपाली अधिकारीहरूसँग कर्मचारीतहमा सहमतिमा पुगेपछि बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा आईएमएफले लेखापरिक्षक छनौट प्रकृया अघि वढाउन नेपाल राष्ट्र बैकले पुन प्रतिबद्धता जनाएको स्पष्ट पारेको छ ।
हाल निष्कृय कर्जा ५ प्रतिशत नाघेपनि आईएमएफले त्यसलाई पत्याएकने छैन । पटक पटकको आफ्नो प्रतिवेदनमा कर्जा तिर्न कर्जा नै दिने परिपाटीका कारण निष्कृय कर्जा कम देखिएको आकलन आईएमएफले गर्दै आएको छ । त्यसैले अन्तराष्ट्रिय लेखा परिक्षकबाट कर्जाको गुणस्तर जाँच गराउँदा वास्तविकता वाहिर आउने उसको ठहर छ र त्यस अनुसार नेपाललाई विस्तारित कर्जा कार्यक्रम अन्तर्गत ऋण दिन नेपालका ठूला बैकहरूका कर्जाको गुणस्तर परिक्ष्ँण गराउनुपर्ने सर्त उसले राखेको हो ।
तर केही दिन अघि सर्वोच्च अदालतले सो कामको लागि प्राविधिक छनौटमा परेको एक बंगलादेशी कम्पनीलाई अन्तिम छनौट गरी काम अघि बढाउन अन्तरिम आदेशमार्फत रोक लगाएको छ ।
हालै राष्ट्र बैकले एक मात्र बंगलादेशको हौलादार युनुस एन्ड कम्पनीलाई प्राविधिक रूपमा उत्तीर्ण भएको घोषणा गरेको थियो । तर यस विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि अदालतले अन्तरिम आदेश दिई उक्त कम्पनीलाई अन्तिम छनौट गर्न रोक लगाएको हो ।
उक्त कम्पनीले पेश गरेको वित्तीय प्रस्ताव जेठ २५ गते खोलिने राष्ट्र बैंकले तयारी गरिरहँदा सर्वोच्चका आदेश आएको हो ।
राष्ट्र बैंकले दोस्रोपटक खुला गरेको बोलपत्रमा प्रस्ताव पेश गर्ने हौलादार युनुससहित नेपाली परामर्शदाता कम्पनी सुवेदी एन्ड एशोसिएट्सको नेतृत्वमा भारतीय कम्पनी मेहेरा गोयल एन्ड कम्पनी र जेकेएसएस एन्ड एशोसिएट्स, नेपालको बीके अग्रवाल एन्ड कम्पनी सहायक राखी भारतको एसआर बाट्लिबोई एन्ड एशोसिएट्स, श्रीलंकाको डेलोइट पार्टनर्स, भारतको केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसेस र भारतकै एमएसकेए एन्ड एशोसिएट्स संक्षिप्त सूचीमा परेका थिए ।
यसअघि पहिलोपटक भएको बोलपत्र प्रक्रियामा पनि पाँचओटा प्रस्ताव संक्षिप्त सूचीमा भए पनि केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसले मात्र आर्थिक प्रस्ताव पेश गरेको थियो । तर, अनुमानित बजेटभन्दा बढी रकमको प्रस्ताव परेपछि राष्ट्र बैंकले प्रक्रिया रद्द गरी दोस्रोपटक प्रस्ताव आह्वान गरेको हो ।
यसैविच, आईएमएफले वचत तथा ऋण सहकारी संस्थाहरूको अवस्था सुधार गर्न समयमै उचित निर्णय लिनुपर्ने भनाई पनि आइएमएफको छ । उनीहरुके वित्तीय स्वास्थ्य चुनौतीपूर्ण रहेको आईएमएफको ठहर छ ।
वित्तीय क्षेत्रमा जोखिम रहिरहेपनि नेपालमा आर्थिक कृयाकलापमा पुनरुत्थान हुँदै गरेको उसले जनाएको छ । जलविद्युत्को उत्पादन निरन्तर बढ्दै जानु, निर्माण र म्यानुफ्याक्चरिङ्ग क्षेत्रमा सुधार हुनु र राम्रो कृषि उत्पादन हुनुले अर्थतन्त्र पुनरुत्थानको दिशामा गएको आईएमएफको ठहर छ ।
चालु आर्थिक वर्षमा ४ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान लगाउँदै आगामी आर्थिक वर्षमा यसमा थप सुधार हुने यसको अपेक्षा छ ।
तर पुँजीगत खर्च हुन नसक्ने, वित्तीय क्षेत्रको जोखिम, बढ्दो व्यापार सम्बन्धी तनाव र संभाब्य नीतिगत अस्थिरताले भने आर्थिक वृद्धिमा नकारात्मक असर गर्नसक्ने आईएमएफले जनाएको छ ।
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि राय–सुझाव माग गरेको छ । आगामी आवको मौद्रिक निती जारी गर्ने तयारी स्वरुप राष्ट्र बैंकले सोमबार सावर्जनिक सुचना जारी गर्दै विभिन्न सरोकारवाला निकायहरुसँग राय–सुझाव माग गरेको हो ।
सूचनामा उल्लेख भएअनुसार सरोकारवाला निकायहरूले आउँदो असार १० गतेभित्र आफ्नो राय–सुझाव राष्ट्र बैंकलाई पठाउन सक्नेछन् । सुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा ई–मेलमार्फत पठाउन सक्नेछन् । राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था अनुसार नयाँ आव सुरु भएको १५ दिनभित्र मौद्रिक नीति जारी गर्नुपर्छ ।
जोशी हाइड्रोपावरलाई ६५ प्रतिशत हकप्रद शेयर निस्कासन गर्न अनुमती
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई ६५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको छ ।
मङ्सिर २० गते धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनको प्रस्ताव पेश गरेको कम्पनीलाई सेबोनले सोमबार हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिएको हो । सेबोनसले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर ०.६५ को अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि अनुमति दिएको हो ।
हालको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको कम्पनीको पूँजी हकप्रद निष्कासनपछि ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्राप्त हुने पूँजीलाई आयोजनाहरूको निर्माण तथा विकासमा खर्च गर्ने बताएको छ ।
आज सुनको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ सय रुपैयाँले घटेको हो । आइतबार १ लाख ९० हजार ७०० रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आज घटेर १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आइतबार २१ सय ४५ रुपैयाँमा कारोवार भएको चाँदी आज २१ सय ५० मा कारोवार भैइरहेको छ ।
महालक्ष्मी विकास बैंकको संस्थापक शेयर आजदेखि विक्रीमा
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आज (सोमबार) देखि संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरुका लागि आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको जानकारी दिएको हो । शेयर खरिदकालागि सुचना प्रकाशित भएको ७ दिनभित्र लगानीकर्ताले दरबारमाार्ग स्थीत बैंकको केन्द्रिय कार्यालयमा आवेदन दिनुपर्ने छ ।
जुनसुकै व्यक्ति तथा कम्पनीले यो शेयर खरिद गर्न पाउने व्यवस्था गरिएको पनि बैंकले सुचना मार्फत जानकारी गराएको छ । यद्यपी बैंकले कति कित्ता शेयर बिक्री गर्न लागेको हो त्यसको संख्या भने खुलाएको छैन् ।
आज सुनको मूल्य तीन हजारले घट्यो
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तीन हजार रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्यमा भारी गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी २ हजार १४५ रुपैयाँ निर्धारण भएको छ ।
निफ्राको ऋणपत्र खरिदकालागि आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋण पत्र खरिदकालागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत जेठ १८ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ७ वर्षे अवधिको ५ अर्ब रुपैयाँ बराबरको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत, २०८८/८९’ नामक ऋणपत्र निष्कासन गरेको थियो ।
यसअघि उक्त ऋणपत्रमा आवेदन दिने अन्तिम दिन जेठ २२ गते तोकिएको भएपनि माग बमोजिम आवेदन नपरेपछि आज सम्मकालागि म्याद थप गरिएको थियो । लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
कुल निष्कासनमध्ये २ अर्ब रुपैयाँबराबरको २० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ३ अर्बको ३० लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिनेछ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
छ्याङदी हाईड्रोपावरको हकप्रद शेयेरमा आजदेखि बिक्री आवेदन खुला
काठमाडौं । छ्याङदी हाईड्रोपावरको हकप्रद शेयेरमा आजदेखि बिक्री आवेदन खुला भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा .१०० रुपैयाँ अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद सेयरका लागि विक्री खुला गरेको हो ।
लगानीकर्ताहरूले आगामी असार १२ गते सम्म हकप्रद शेयरकालागि आवेदन दिन सक्नेछन् । गत जेठ २ गते कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज गरेको थियो ।
जेठ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य मानिएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १२ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।
यस कम्पनीले माथिल्लो छन्दी खोला साना जलविद्युत् आयोजना निर्माणको भुक्तानी गर्न, नुप्चे लिखु जलविद्युत् आयोजनामा गरिएको ऋण रकम भुक्तानी गर्न र अन्य अल्पकालीन ऋण भुक्तानी गर्नका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो ।
हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
आज सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन तोलाको एक लाख ९३ हजार ७०० कायम भएको छ भने चाँदीको मूल्य दुई हजार १५० निर्धारण भएको छ ।
बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको छ ।
ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सर्वसाधारण लगानीकर्ताका लागि जेठ १४ गतेदेखि बिक्री खुला गरेको ट्रेड टावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आवेदनकर्ताले आज बेलुका ५ बजे सम्म आवेदन दिन सक्नेछन ।
यसअघि छिटो अबधि जेठ १९ गते तोकिएकोमा आईतबार सावर्जनिक बिदा परेकाले कम्पनीले एक दिन थप गरी जेठ २० गते सम्मको अबधि कायम गरेको हो ।
कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासनकालागि नेपाल धितोपत्र बोर्डबाट अनुमती पाएको थियो ।
जसमध्ये पहिलो चरणमा १० प्रतिशतले हुनआउने वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषलाई १ लाख ९८ हजार ५८४ कित्ता र कम्पनीका कर्मचारीलाई ७९ हजार ४३३ कित्ता सेयर बिक्री गरि बाँडफाँट गरिसकेको छ ।
बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गको मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।