औषधिको मूल्य वृद्धि सम्बन्धी उजुरीका छानबिन गर्न समिति गठन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले औषधिको मूल्य वृद्धि सम्बन्धी उजुरीको छानबिन गर्न समिति गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रानुसार औषधि व्यवस्था विभागका महानिर्देशकले प्रचलित कानूनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको भन्ने उजुरी परेपछि छानबिन प्रक्रिया अघि बढाइएको हो।
मन्त्रालयको निर्णयअनुसार अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठ को संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा कानून शाखा प्रमुख गोपीकृष्ण रेग्मी र विषय विज्ञ कविन मलेकु सदस्य रहेका छन्।
समितिलाई औषधिको मूल्य निर्धारण प्रक्रिया, सो प्रक्रिया पालना भए÷नभएको, र कुनै अनियमितता भए त्यसमा कसको संलग्नता रहेको भन्ने विषयमा विस्तृत अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
साथै, आवश्यक परेमा समितिले अन्य विज्ञ तथा कर्मचारीलाई आमन्त्रण गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
आजदेखि एसइइ परिक्षा सुरु : यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै
काठमाडौं । यसवर्षको एसइइ परिक्षा आज बिहीबारबाट सुरु हुँदैछ । यसवर्षको एसइइ परिक्षामा देशभरबाट ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी बोर्डले जनाएको छ । जसमध्य टेक्नीकलबाट १६ हजार ३१२ जनाले परिक्षा दिन लागेका छन् भने पार्सियलमा २६४ जनाले परिक्षा दिन लागेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजेदेखी ७७ वटै जिल्लामा परीक्षा सुरु हुँदैछ ।
वैशाखदेखि ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने शिक्षा मन्त्रालयको निर्णय
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वैशाखदेखि विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएको ब्रिज कोर्समा रोक लगाउने निर्णय गरेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका ब्रिज कोर्स आगामी वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्न मन्त्रालयले निर्देशन दिएको छ
विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाएको मन्त्रालयले जनाएको छ ।
‘विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी (प्रवेश तयारी) कक्षा एवम् ब्रिज कोर्सका नाममा विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका त्यस्ता कार्यक्रमहरू आगामी २०८३ साल वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्न यस मन्त्रालयको माननीय मन्त्रीस्तरबाट मिति २०८२/१२/१३ गते निर्णय भएकोले सोही अनुसार गर्नु गराउनुहुन सम्बन्धित सबैमा यो निर्देशन गरिएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अनुगमन गर्दा कार्यक्रमहरू सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाहीको गर्ने मन्त्रालयले जनाएको छ ।
आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि लिइँदै आएको आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।
साना बालबालिकामा परीक्षाका कारण सिर्जना हुने मनोवैज्ञानिक त्रास, तनाव र दबाबलाई न्यूनीकरण गरी उनीहरूको प्राकृतिक सिकाइ प्रक्रियालाई प्रोत्साहन गर्न यो कदम चालिएको सरकारले जनाएको छ ।
इलामको सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ हुँदै, विश्वभरका पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौं । पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर गाउँपालिकामा तेस्रो ‘रेडपाण्डा महोत्सव’ आयोजना हुने भएको छ । यही चैत २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवले दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
सोमबार काठमाडौंमा एक अन्तरक्रिया एवम पत्रकार भेटघाटको कार्यक्रमको आयोजना गरी महोत्सवका विषयमा जानकारी गराइयो । कार्यक्रममा महोत्सव आयोजक समितिका संयोजक सनम राईले महोत्सवको उद्देश्य रेडपाण्डा लगायतका लोपोन्मुख वन्यजन्तुको संरक्षणबारे जनचेतना अभिवृद्धि गर्नु तथा क्षेत्रीय पर्यटनलाई प्रवद्र्धन गर्नु रहेको जानकारी दिए ।
महोत्सव विशेषगरी ‘रेडपाण्डा ट्रेल’ मा आधारित पदमार्ग पर्यटनलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको उनले जानकारी दिए ।
४० किलोमिटर लामो रेडपाण्डा पदमार्गले इलामको माईपोखरीदेखि जौबारीसम्मका विभिन्न पर्यटकीय स्थललाई जोड्ने गर्दछ । यस मार्गमा रेडपाण्डासहित विभिन्न वन्यजन्तु, चराचुरुङ्गी तथा जैविक विविधताको अध्ययन अवलोकन गर्न सकिने व्यवस्था रहेको कार्यक्रममा जानकारी गराइयो ।
महोत्सव अवधिमा पर्यटकहरूले सन्दकपुर डाँडाबाट सूर्योदय र सूर्यास्तको अवलोकन, हिमश्रृंखलाको मनोरम दृश्य, जङ्गल सफारी, स्थानीय संस्कृति तथा परिकारको अनुभव लिन पाउनेछन्। साथै, माईपोखरी जस्ता रामसार सूचीमा सूचीकृत क्षेत्रको अवलोकन, चराचुरुङ्गी तथा वनस्पतिको अध्ययनजस्ता गतिविधि पनि समेटिने छन् ।
आयोजक सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल कुमार लिम्बुले महोत्सव सफल बनाउन विभिन्न सहयोगी संस्थाहरुसँग सहयोगको अपेक्षा गरिएको जानकारी दिए । उनले रेडपाण्डा अवलोकन गर्दै गाउँपालिकाभित्रका प्रमुख गन्तब्यहरुको प्रवद्र्धनमा महोत्सवले सहयोग पुर्याउने अपेक्षा गरिएको बताए । विगतका महोत्सवले पर्यटन विकासमा थप टेवा पुगेको जानकारी दिए ।
महोत्सवमा आन्तरिक तथा बाह्य गरी करिब १० हजार आन्तरिक तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । सन्दकपुर क्षेत्र भारतसँग सिमाना जोडिएको हुँदा भारतीय पर्यटकको आगमन पनि उल्लेख्य रहने अपेक्षा गरिएको छ । महोत्सवमा विश्वभरका पर्यटकहरुलाई सन्दकपुर भ्रमण गर्न आब्हान गरिएको छ ।
कार्यक्रममा महोत्सव समितिका सदस्य केशव धौराली र सुजन तिम्सिनाले महोत्सवको महत्व र पालिका भित्रका गन्तब्य स्थलहरुका बारेमा जानकारी दिए । संचारकर्मी समेत रहेका तिम्सिनाले विश्वमै दुर्लभ मानिएको रेडपाण्डाको महत्व र पर्यटन प्रवद्र्धन गर्नुको औचित्यबारे प्रष्ट पारे ।
यसअघि आयोजना गरिएका रेडपाण्डा महोत्सवहरूले स्थानीय स्तरमा पर्यटन व्यवसाय विस्तार, रोजगारी सिर्जना तथा वातावरण संरक्षणप्रति जागरण ल्याउन सहयोग पुगेको जनाइएको छ । आगामी वर्षहरूमा पनि महोत्सवलाई निरन्तरता दिने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण सन्दकपुर क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो। कलाकार कृष्ण मल्लले सन्दकपुर र माइपोखरीको भ्रमण गर्न सबैलाई आब्हान गरे ।
पदमार्गमा आधारित पर्यटन महोत्सव यस वर्ष सन्दकपुर गाउँपालिका–४ को कालपोखरीमा महोत्सवको आयोजना हुने संयोजक राईले बताए । महोत्सवको मुख्य आयोजक सन्दकपुर गाउँपालिका हो । महोत्सवको मुख्य उद्देश्य लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गरि पर्यटन प्रवद्र्धन गर्नु हो । पालिकाभित्रको रामसार क्षेत्र माईपोखरीबाट ढापपोखरी हुँदै जौबारी जोड्ने पदमार्गको प्रवद्र्धनका लागि महोत्सवका दुई संस्करण आयोजना भइसकेका छन् ।
११ करोड बढी खर्चमा ५ वर्षमा निर्माण भएको पदमार्ग क्षेत्रमा रेडपाण्डा सहितका वन्यजन्तु, सयौ प्रजातीका चराको अध्ययन गर्न पाइन्छ । १५ बढी पर्यटकीय गन्तव्य रहेको रेडपाण्डा पदमार्गबारे जानकारी दिने र पर्यटनको व्यापारमा महोत्सव केन्द्रित हुने गाउँपालिकाले जनाएको छ ।
चार दिनसम्म आयोजना हुने महोत्सव पुग्ने पर्यटकहरुले आदिवासी जनजातिको सस्कृति, सिमसार, पोखरीहरु, प्राकृतिक सुन्दरता, विश्वको अग्लो सगरमाथा सहित ६० बढी हिमश्रङ्खला, सयौँ प्रजातीका चराहरु, रेडपाण्डा सहितका लोपोन्मुख वन्यजन्तु अध्ययनसँगै पदयात्रा पनि गर्न पाउनेछन् ।
आगामी तीन दिन देशका विभिन्न भागमा वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना
काठमाडौं । आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले चैत ६ गते शुक्रबारदेखि मौसममा उल्लेख्य बदलाव आउने जानकारी दिएको हो।
शनिबार पूर्वी नेपालका विराटनगर, धनकुटा, धरान र आसपासका जिल्लामा झन्डै ११९ किलोमिटर प्रतिघण्टाको वेगमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण गरिएको छ। प्रि–मनसुनको अवधि भएकाले यस्तो शक्तिशाली हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र घरका छाना उडाउने तथा विद्युत् र सञ्चार सेवा प्रभावित पार्न सक्ने जोखिम रहेको छ।
शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक(दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले जोखिमबाट बच्न विशेष काम नपरी यात्रामा ननिस्कन र सुरक्षित स्थानमा आश्रय लिन सर्वसाधारणलाई अपिल गरेको छ।
चीनमा उच्च शिक्षामा भर्ना दर ६० प्रतिशत नाघ्यो, विश्वकै सबैभन्दा ठूलो शिक्षा प्रणाली भएको दाबी
काठमाडौं । चीनका शिक्षामन्त्री हुवाइ चीनपीङले चीनको उच्च शिक्षामा भर्ना दर ६० प्रतिशतभन्दा माथि पुगेको बताएका छन् । उनले चीन अहिले विश्वकै सबैभन्दा ठूलो तथा गुणस्तरीय शिक्षा प्रणाली सञ्चालन गर्ने देश बनेको दाबी गरेका छन् ।
बेइजिङमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री हुवाइले यो जानकारी दिएका हुन् । उक्त पत्रकार सम्मेलन चीनको संसद् नेश्नल पिपुल्स काँग्रसको १४औँ कार्यकालको चौथो अधिवेशनका क्रममा आयोजना गरिएको थियो ।
उनका अनुसार १४ औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) अवधिमा चीनको उच्च शिक्षा प्रणालीले समाजका लागि करिब ५ करोड ५० लाख दक्ष जनशक्ति उत्पादन गरेको छ । उनले सन् २०१२ अघि उच्च शिक्षामा भर्ना दर ३० प्रतिशतभन्दा कम रहेकोमा अहिले त्यो बढेर ६० प्रतिशतभन्दा माथि पुगेको बताए ।
मन्त्री हुवाइका अनुसार पछिल्ला दुई वर्षमा चीनका विश्वस्तरीय विश्वविद्यालय र उत्कृष्ट विषयगत विश्वविद्यालयहरूले उच्च गुणस्तरका स्नातक कार्यक्रम विस्तार गर्दै थप ३८ हजार विद्यार्थी भर्ना गरेका छन् ।
यसका साथै विगत पाँच वर्षमा चीनले १८ वटा नयाँ स्नातक विश्वविद्यालय र ७० वटा नयाँ व्यावसायिक स्नातक कलेज स्थापना गरेको छ । यसले गर्दा स्नातक तहमा विद्यार्थी भर्ना संख्या ७ लाखले बढेको उनले जानकारी दिए । अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई पनि चीनले तीव्र रूपमा विस्तार गरेको छ ।
मन्त्री हुवाइका अनुसार चीनले विदेशी विश्वविद्यालयहरूसँग सहकार्य गर्दै स्नातक वा सोभन्दा माथिल्लो तहमा ५४० भन्दा बढी संयुक्त शैक्षिक संस्था तथा कार्यक्रम स्थापना गरेको छ । यसबाट करिब ३ लाख ५० हजार विद्यार्थीलाई अध्ययनको अतिरिक्त अवसर सिर्जना भएको उनले बताए ।
चीन सरकारले उच्च शिक्षा विस्तार, अन्तर्राष्ट्रिय सहकार्य र गुणस्तरीय कार्यक्रममार्फत विश्वस्तरीय जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित शिक्षा क्षेत्रमा लगानी बढाइरहेको बताइएको छ । सीसीटीभी
साँझ खण्डग्रास चन्द्रग्रहण : काठमाडौंबाट एक घण्टासम्म स्पष्ट देखिने
काठमाडौं । आज साँझ खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ । साँझ ६:०४ बजे चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिने खगोलविद्हरूले बताएका छन् ।
वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार यो चन्द्र ग्रहण नेपालका विभिन्न स्थानबाट अवलोकन गर्न सकिनेछ । चन्द्रमा क्षितिजबाट माथि उठ्दै गर्दा यसको आधाभन्दा बढी भाग पृथ्वीको गाढा छायाले ढाकिएको देखिने उनले जानकारी दिए ।
उनका अनुसार चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिनु दुर्लभ खगोलीय घटना मानिन्छ । काठमाडौँमा चन्द्रमा ग्रहणसहित साँझ ६ः०४ बजे उदाउनेछ र करिब एक घण्टासम्म स्पष्ट रूपमा अवलोकन गर्न सकिनेछ ।
खगोलविद्हरूले चन्द्र ग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा सुरक्षात्मक चस्माको आवश्यकता नपर्ने बताएका छन् । सूर्य ग्रहणभन्दा फरक, चन्द्र ग्रहणले आँखामा प्रत्यक्ष असर नपार्ने भएकाले खुला स्थानबाट नाङ्गो आँखाले सुरक्षित रूपमा अवलोकन गर्न सकिनेछ ।
गुगलद्वारा नयाँ मोडेल जीमीनी ३.१ प्रो सार्वजनिक
काठमाडौं । प्रविधि कम्पनी गुगलले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल जीमीनी ३.१ प्रो सार्वजनिक गरेको छ । जटिल समस्या समाधानमा अझ सशक्त क्षमता प्रदान गर्ने लक्ष्यसहित यो मोडेल ल्याइएको कम्पनीले जनाएको छ ।
गत नोभेम्बर १९ मा जीमीनी ३ प्रो सार्वजनिक गरेको तीन महिनापछि गुगलले यसको उन्नत संस्करण जीमीनी ३.१ प्रो बजारमा ल्याएको हो । कम्पनीका अनुसार नयाँ मोडेलले ‘मुख्य तर्कशक्तिमा महत्वपूर्ण सुधार’ गर्दै जटिल चुनौतीहरू सामना गर्न अझ सक्षम आधार तयार गरेको छ ।
गुगलले दाबी गरेको छ कि जीमीनी ३.१ प्रो ले विभिन्न एआई बेन्चमार्कहरूमा अघिल्लो संस्करण जीमीनी ३ प्रो र अन्य कम्पनीका प्रतिस्पर्धी मोडेलहरूभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ ।
कम्पनीका अनुसार यो मोडेल ‘साधारण उत्तर पर्याप्त नहुने’ अवस्थाका लागि तयार गरिएको हो । यसले बहु–स्तरीय कार्य र जटिल प्रश्नहरू समाधान गर्न उन्नत तर्क प्रविधि प्रयोग गर्छ । जीमीनी ३.१ प्रो व्यावहारिक रूपमा जटिल विषयहरूको स्पष्ट र दृश्यात्मक व्याख्या तयार गर्न, ठूलो परिमाणको तथ्यांकलाई एकीकृत रूपमा विश्लेषण गर्न तथा सिर्जनात्मक कार्यप्रवाहमा सहयोग गर्न उपयोगी हुने गुगलको दाबी छ ।
यो मोडेल जीमीनी एपमार्फत सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । तर गुगल एआई प्रो र गुगल एआई अल्ट्रा सदस्यहरूले उच्च प्रयोग सीमा पाउनेछन् । साथै, यो मोडेल नोटबुल एलएमा पनि उपलब्ध गराइएको भए पनि त्यहाँ पहुँच भने प्रो र अल्ट्रा सदस्यहरूमा मात्र सीमित गरिएको छ । यस नयाँ संस्करणको सार्वजनिकतासँगै जेनरेटिभ एआई क्षेत्रमा तर्क क्षमता सुदृढ गर्ने प्रतिस्पर्धा थप तीव्र बनेको विश्लेषण गरिएको छ । एएनआई
राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले सूचना जारी गर्दै २०८३ साल वैशाख १४ गतेदेखि कक्षा १२ का साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका) परीक्षार्थीहरूको वार्षिक परीक्षा सञ्चालन हुने जनाएको हो ।
सूचना अनुसार परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म सञ्चालन हुनेछ । वैशाख १४ गतेदेखि सुरु हुने परीक्षा वैशाख २७ गतेसम्म चल्नेछ । विभिन्न संकाय अन्तर्गत अनिवार्य तथा ऐच्छिक विषयहरूको परीक्षा तोकिएको मिति र समयमा सञ्चालन गरिने बोर्डले जनाएको छ ।
वैशाख १४ गते अनिवार्य अङ्ग्रेजी (नियमित) विषयबाट परीक्षा सुरु हुनेछ भने १५ गते अनिवार्य नेपाली, १६ गते अनिवार्य अङ्ग्रेजी (आंशिक) र सामाजिक अध्ययन (प्राविधिक धार) का विषयहरू सञ्चालन हुनेछन् ।
त्यसैगरी गणित, लेखा, भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, अर्थशास्त्र, शिक्षा, व्यवस्थापन, मानविकी तथा विभिन्न प्राविधिक विषयहरूको परीक्षा क्रमशः तोकिएको तालिकाअनुसार सञ्चालन गरिनेछ । बोर्डले परीक्षार्थीहरूलाई परीक्षा सुरु हुनुभन्दा कम्तीमा आधा घण्टा अगाडि नै परीक्षा केन्द्रमा उपस्थित हुन निर्देशन दिएको छ । परीक्षा सुरु भएको १५ मिनेटपछि उपस्थित हुने परीक्षार्थीलाई सहभागी गराइने छैन । परीक्षा कार्यक्रममा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः परीक्षा व्यवस्था नगरिने पनि स्पष्ट पारिएको छ ।
त्यस्तै, परीक्षा केन्द्र परिवर्तन गर्न नपाइने, मोबाइल फोन, स्मार्ट घडी लगायतका विद्युतीय उपकरण लैजान निषेध गरिएको, आवश्यक सामग्री परीक्षार्थी स्वयंले ल्याउनुपर्ने तथा जीवविज्ञान विषयका परीक्षार्थीहरूले बोटनी र जुलोजीका लागि एउटै उत्तरपुस्तिका प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
कुनै विद्यार्थीको एकभन्दा बढी विषय एकै दिन परेमा सूचना प्रकाशित भएको १५ दिनभित्र बोर्डको प्रदेश वा शाखा कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ । साथै, अनिवार्य नेपालीको सट्टा ऐच्छिक अङ्ग्रेजी अध्ययन गर्ने विदेशी नागरिकले वैशाख १५ गते नै ऐच्छिक अङ्ग्रेजी विषयको परीक्षा दिनुपर्ने जनाइएको छ ।