‘सिरिजङ्गाको गौरव कञ्चनजङ्घा’ अभियान सञ्चालन गरिने
फुङ्लिङ (ताप्लेजुङ), २९ जेठ I ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकालाई विश्वमा चिनाउन ‘सिरिजङ्गाको गौरव कञ्चनजङ्घा’ अभियान सञ्चालन गरिने भएको छ ।
गाउँपालिकाले गत साता प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा सो अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ । कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो । सो हिमाल ताप्लेजुङको सिरिजङ्घा र फक्ताङलुङ गाउँपालिकाको सिमानामा पर्दछ । उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा सिरिजङ्घा गाउँपालिकालाई विश्वमा चिनाउन उक्त अभियान सञ्चालन गर्ने सिरिजङ्घा गाउँपालिकाले जनाएको छ ।
अभियान सफल बनाउन सिरिजङ्घा गाउँपालिका-७ याम्फुदीको आम्जी खोलाबाट नयाँ तुम्लुङ, दुन्दुडाँडा, नगर्चा र चैराम हुँदै कञ्चजङ्घा हिमालको आधार शिविरसम्म सङ्घीय सरकारसँग लागत साझेदारीमा सुरु भएको साहसिक पदमार्गलाई गाउँपालिकाले गौरवको आयोजनामा राखेको छ ।
सो पदमार्ग करिब २२ किलोमिटर लामो रहेको गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले बताउनुभयो । माबोका अनुसार गत आवमा पर्यटन मन्त्रालयबाट रु पाँच करोड बजेट विनियोजन भइ अहिले पदमार्ग निर्माण भइरहेको छ । अभियानलाई व्यापक बनाइ पर्यटक आकर्षित गर्ने गाउँपालिकाले जनाएको छ । पदमार्ग क्षेत्रमा ‘होमस्ट’ सञ्चालन गर्न गाउँपालिकाले बजेट विनियोजन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सात महिनादेखि कर्मचारीले तलब नपाएको गुनासो
सर्लाही, २९ जेठ I वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन पैदावार विकास समितिका एक सय ९४ कर्मचारीले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । समिति मातहतका सागरनाथ वन विकास परियोजना सर्लाही, रतुवामाई वृक्षरोपण आयोजना केरखा झापा र समितिमा कार्यरत कर्मचारीले तलब नपाएको गुनासो गरेका हुन् ।
समितिका नौ जना, सागरनाथ वन विकास परियोजनाका एक सय ४३ र रतुवामाई वृक्षरोपण आयोजनाका ४२ कर्मचारीले तलब नपाएको नेपाल निजामती कर्मचारी सङ्गठन सागरनाथ वन विकास परियोजना, सर्लाहीका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो । उहाँका अनुसार समिति मातहतका परियोजनाका साथै आयोजना क्षेत्रमा उत्पादित वन पैदावार बिक्री नहुँदा कर्माचारीहरुले गत मङ्सिर देखि तलब नपाएका हुन् । अवकाश लिएका १८ कर्मचारीले समेत उपदानबापतको रकम पाएका छैनन् ।
परियोजना क्षेत्रमा उत्पादित करिब रु २० करोड मूल्य बराबरको एक लाख १८ हजार क्युफिट काठ बिक्री नभएपछि तलब दिन नसकेको परियोजना प्रमुख प्रेमीलाल प्रसाद साहले बताउनुभयो । उहाँका अनुसार विसं २०३५ साल देखि आन्तरिक स्रोतबाट सञ्चालन हुँदै आएको समिति मातहतका परियोजना र आयोजना वन नियमावली मार्फत गोलिया काठ मापन गर्ने नयाँ सूत्र लागू भएपछि समस्यामा परेको हो ।
काठ बिक्री नहुँदा समिति आर्थिकरुपमा धराशायी बनेको छ । काठ बिक्रि गर्न पटकपटक ठेक्का आह्वान गर्दा पनि व्यवसायीले ठेक्का सकार नगरेपछि घाटगद्धीमै काठ थन्किएको वन पैदावार विकास समितिका कार्यकारी अध्यक्ष राजदेवप्रसाद यादवले बताउनुभयो । उहाँका अनुसार सरकारसँग रु आठ करोड किस्ताबन्दीमा ऋण लिएर यसअघि १३ महिनाको तलब दिएको भए पनि अहिले कर्मचारीलाई तलब दिन नसकेको अध्यक्ष यादवले बताउनुभयो ।
परियोजना सङ्घीय सरकार प्रदेश सरकार मातहत रहने भन्ने मुद्दा सर्वाेच्च अदालतमा छ वर्षदेखि विचाराधीन रहेका कारण समिति अलपत्र बनेको हो । सहसचिवको दरबन्दी रहेको परियोजनामा कार्यालय प्रमुख समेत आउन नमान्ने समितिले जनाएको छ ।
पहिला ‘क्वाटर गर्थ’ सूत्रमार्फत काठ नापजाँच तथा बिक्री हुने गरिएको भए पनि वन नियमावली संशोधन गरी ‘हुबर’ सूत्रले हिसाब गर्दा काठको परिमाण र राजस्व दर धेरै निस्किने गरेका कारण परियोजना क्षेत्रमा उत्पादन भएको टिक, सिसौ, कर्मा, जामुन, अस्ना, टुनी, शिरिष, भुडकुल, गुटेल र बाँझीलगायत प्रजातिका काठ लामो समय देखि बिक्री भएको छैन । काठ कुहिने अवस्थामा पुगेको छ ।
बजेटमा शिक्षा क्षेत्र प्राथमिकता नपरेको शिक्षक सङ्गठनको गुनासो
काठमाडौँ, २९ जेठ I नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्र प्राथमिकतामा नपरेको गुनासो गरेको छ ।
सङ्गठनले आज ललितपुरमा पत्रकार सम्मेलन गरेर शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत विनियोजनको माग उठ्दै आए पनि १० दशमलव ९४ प्रतिशतमात्र विनियोजन भएकामा गुनासो गरेको हो । सङ्गठनका अध्यक्ष विष्णुप्रसाद भण्डारी र महासचिव हंशबहादुर शाहीले जारी गरेको प्रेस विज्ञप्तिमा शिक्षक, प्रारम्भिक बालविकास शिक्षक र कर्मचारीको सेवा सुविधावृद्धि नभएको, दिवा खाजाको रकम वृद्धि नभएको र शिक्षक दरबन्दी व्यवस्थापनको विषय समावेश नभएको जनाइएको छ ।
सङ्गठनले राजनीतिक दलमा शिक्षकहरुको संलग्नताका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको राजनीतिक अधिकारसहितको ट्रेड युनियन अधिकारलाई नियन्त्रण गर्ने गरी परिपत्र गरेकामा ध्यानाकर्षण गराएको छ ।
सङ्गठनले यही जेठ १३ गते जारी भएको शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ वैज्ञानिक नभएकाले पहिला विद्यालय शिक्षा ऐन जारी गरेर नियम बनाउन माग गरेको छ । साथै सङ्गठनले नेपाल शिक्षक महासङ्घको हालै सम्पन्न महाधिवेशनप्रति असहमति जनाउँदै लोकतान्त्रिक पद्धतिअनुरूप नेतृत्व चयन गर्न माग गरेको छ ।
जलविद्युत् समूह चम्किँदा नेप्से परिसूचक ३३ दशमलव १५ अङ्कले बढ्यो
काठमाडौँ, २९ जेठ I जलविद्युत् कम्पनीको शेयर कारोबार चम्किँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव १५ अङ्कले बढेको छ । आज नेप्से परिसूचक एक दशमलव ५९ प्रतिशतले बढेर दुई हजार एक सय १५ दशमलव २४ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय ११ कम्पनीको एक करोड २६ लाख ६५ हजार तीन सय २९ कित्ता शेयर ७४ हजार आठ सय ७७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ५५ करोड ५३ लाख ६१ हजार सात सय ३९ बराबरको कारोबार भएको छ । जलविद्युत् कम्पनीहरुको मात्र आज रु दुई अर्ब २८ करोड सात लाख ९० हजार आठ सय ४५ बराबरको ५९ लाख ७९ हजार चार सय ४३ कित्ता शेयर किनबेच भएको छ ।
आजको कारोबारमा जलविद्युत् समूहको उपसूचक दुई दशमलव ५८, व्यापार दुई दशमलव १२, निर्जीवन बीमा दुई दशमलव १९, जीवन बीमा दुई दशमलव ४० र वित्त समूह दुई दशमलव १६ प्रतिशतले बढेको छ । बैंकिङ समूह एक दशमलव ७३, विकास बैंक एक दशमलव ४२, होटल तथा पर्यटन शून्य दशमलव ५९, लगानी एक दशमलव ०९ र उत्पादन तथा प्रशोधन शून्य दशमलव ४० प्रतिशतले बढेको छ ।
त्यस्तै, म्युचुअल फन्ड शून्य दशमलव ५० र अन्य समूहको उपसूचक शून्य दशमलव ५३ प्रतिशतले बढेको छ ।
बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, ग्रीन भेन्चर लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८१ र कुमारी इक्विटी फन्डको शेयर मूल्य चार दशमलव ९४ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु ३६ करोड ३० लाख ९२ हजार नौ सय १० बराबरको पाँच लाख २५ हजार एक सय ८५ कित्ता शेयर किनबेच भएको छ ।
दुःखसुख साट्न अन्नपूर्णमा ज्येष्ठ नागरिक प्रतिक्षालय निर्माण
भोजपुर, २९ जेठ I अन्नपूर्णमा प्रतिक्षालय तथा पुस्तकालय निर्माण अन्तिम चरणमा पुगेको छ । वृद्धावृद्धको सम्मानमा टेम्केमैयुङ गाउँपालिकाले यहाँ बहुउद्देश्यीय भवन निर्माण गरेको हो ।
टेम्केमैयुङ–३ अन्नपूर्णले आर्थिक वर्ष २०७८/७९ बाट भवन निर्माण थालेको थियो । बाह्र आना क्षेत्रफलमा निर्माण भइरहेको भवनमा हालसम्म रु २२ लाख खर्च भएको छ । भवनको रु ५० लाखको लागत अनुमान रहेकाले सरकारका विभिन्न निकायमा माग गर्दा पनि बजेट नदिएपछि वडाले नै निर्माण गरेको टेम्केमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । भवन निर्माणको काम यही आर्थिक वर्षभित्र सम्पन्न हुने उहाँले बताउनुभयो ।
“हामीले ज्येष्ठ नागरिकको सम्मानस्वरुप प्रतिक्षालय भवन निर्माण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “हाल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो भवनको माथिल्लो तलामा पुस्ताकलयसमेत सञ्चालनमा ल्याउनेछौँ ।” भवनमा ज्येष्ठ नागरिकलाई लक्षित गरेर भजनकीर्तनका लागि वाद्यवादनका साधन, मन्दिर, बगैँचालगायत संरचना निर्माण गरिने वडाध्यक्ष राईले भन्नुभयो ।
ज्येष्ठ नागरिकको ज्ञान सीप तथा अनुभवलाई समेट्दै उनीहरूका कुरा सुन्ने थलोका रूपमा विकास गर्न ज्येष्ठ नागरिक भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । यहाँ आएर ज्येष्ठ नागरिकसँग भलाकुसारी गर्दा उनीहरुको सीप अनुभव नयाँ पुस्तासम्म पुर्याउन सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले बताउनुभयो ।
“ज्येष्ठ नागरिक समाजका जिउँदो इतिहास हुन्”, प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो, “उहाँहरूका ज्ञान, सीप, अनुभवलाई हामीले अनुशरण गर्न आवश्यक छ । ज्येष्ठ नागरिकलाई भेला भएर भलाकुसारी गर्ने वातावरण निर्माणमा यो भवनले भूमिका खेल्नेछ ।”
वडाको पहलमा ज्येष्ठ नागरिकको सम्मानस्वरुप भवन निर्माण हुनु सकारात्मक रहेको स्थानीयवासी केदार अधिकारीले बताउनुभयो । ज्येष्ठ नागरिकले यहाँ भेला भएर आफ्ना दुःखसुखका कुरा साटसाट गर्न सक्ने उहाँको भनाइ छ । यहाँ आएर भलकुसारी गर्दै दिन कटाउने मेलो हुने उहाँ बताउनुहुन्छ । ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव सङ्कलन केन्द्रका रूपमा यो भवनलाई लिन सकिने उहाँ बताउनुहुन्छ । ज्येष्ठ नागरिकको सम्मानमा वडाको पहलमा भवन निर्माण भएपछि स्थानीय नागरिक खुसी भएका छन् ।
ग्रामीण जनजीवनलाई जीवित राखेका बागलुङको दिजगाउँ
ढोरपाटन (बागलुङ), २९ जेठ I नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिजगाउँले ग्रामीण जनजीवनलाई जीवित राखेको छ । ढोरपाटन नगरपालिका–९ मा पर्ने यो गाउँ शान्त वातावरण, स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताले भरिए पनि विकासका हिसाबले भने निकै पछाडि परेको छ । तर पनि यहाँको मौलिकताले पर्यटकलाई पर्खिरहेको छ । दिजगाउँ प्रकृति र मौलिकतासँग रमाउन चाहनेका लागि उत्कृष्ट गन्तव्य हो ।
ढोरपाटन उपत्यका हुँदै निसेलढोर जाने सडकको पारिपट्टि रहेको यस गाउँका स्थानीयको आफ्नै परम्परा, कला, संस्कृति र रीतिरिवाज छन् । मगर समुदायको बाहुल्यता रहेको दिजगाउँमा काठबाट बनेका घरहरुमात्रै छन् । परम्परादेखि नै काठका घरमा बस्दै आएका स्थानीय अहिले पनि मौलिकताको संरक्षण गर्दै आएका छन् । गाउँमा स्वास्थ्य, शिक्षा, खानेपानी र विद्युत्को पहुँच नपुगे पनि गाउँको सुन्दरताका कारण यहाँ पुग्न हरेक पर्यटक लालायित हुन्छन् । यस गाउँ ढोरपाटन उपत्यका नजिकै रहे पनि अहिलेसम्म आधुनिकताले जोडिन सकेको छैन । ढोरपाटन उपत्यका क्षेत्रमा पछिल्लो समय नयाँ शैलीका घर भवन बन्दै गएका छन् । सामान्य आधारभूत सेवासमेत नपुगेको गाउँका स्थानीय खेतीपाती र पशुपालन गरी जीविकोपार्जन गर्दै आएका छन् ।
झण्डै एक दशक अगाडि निसेलढोर जोडिने सडकले गाउँलाई नछोए पनि उत्तरगङ्गा नदी पार गरेर गाडीको सुविधा भने पाउन सक्छन् । मौलिकता र प्राकृतिक सुन्दरताको सङ्गम रहेको दिजगाउँमा बेलाबखत आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् । अझ बढी त बर्खाको समय पदयात्र गर्दै युवायुवती यहाँ जाने गरेका छन् । भौगोलिक विकटताका र प्रचारप्रसार कमीले ओझेलमा रहेको यस गाउँमा पछिल्लो केही वर्षयता भने धेरैको नजर पुग्न थालेको छ । निसीखोलाबाट निसेलढोर जाने मुख्य बाटोमै दिजगाउँ पर्ने हुँदा पर्यटकले यस गाउँको सुन्दरताको स्वादन गर्नेछन् । गाउँमा पर्यटक आएर बास बस्न खोजे पनि विद्युत् नहुँदा नबसी जाने गरेको स्थानीय मनकुमारी घर्तीमगरले बताउनुभयो ।
गाउँमा रहेको काठका घर हेर्न समय–समयमा विदेशी पर्यटक पनि आउने गरेको उहाँ बताउनुहुन्छ । धेरैजसो ढोरपाटन र निसीखोलाबाट पैदलयात्रामार्फत निसेलढोर पुग्ने मानिस दिजगाउँमा आउने घर्तीमगरले बताउनुभयो । गाउँमा खानेपानी र बिजुली नहुँदा आफूहरूले समस्या भोग्नुपरेको उहाँको भनाइ छ । सरकारले दिजगाउँलाई प्राथमिकता दिएर विकास गरे विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्ने घर्ती मगरले बताउनुभयो । विद्युत् ल्याउन पोल गाडे पनि अहिलेसम्म लाइन तान्ने कार्य भएको छैन, बिजुलीमात्रै आए पनि गाउँको मुहार फेरिने उहाँ बताउनुहुन्छ ।
यस क्षेत्रमा हिउँदको बेला बढी चिसो हुने हुँदा बर्खाको समय बढी मान्छे घुम्न आउँछन् । गाउँभन्दा पारिपट्टि निसेलढोर जोड्ने सडक सञ्चालनमा रहेको हुँदा युवायुवती मोटरसाइकलमा समेत पुग्छन् । यतिबेला गर्मी बढेको हुँदा बुटवल, चितवन र गुल्मीबाट धेरै युवा घुम्न आउने गरेका छन् । गुल्मी घर भई बुटवलमा पढ्दै आउनुभएका विनोद भण्डारीले दिजगाउँसहित निसेलढोर क्षेत्र घुम्न आएको बताउनुभयो । छजनाको समूहमा यहाँ आएको सुनाउँदै तीन दिन ढोरपाटनसहितका क्षेत्र घुम्ने योजना रहेको सुनाउनुभयो । ढोरपाटन आएको दोस्रो दिन दिजगाउँ पुगेको भन्दै यस गाउँले आफूहरूलाई मोहित बनाएको उहाँले सुनाउनुभयो ।
ढोरपाटन –९ का अध्यक्ष खीमबहादुर घर्तीमगरले यस गाउँको मौलिकता संरक्षण गरी राख्ने बताउनुभयो । गाउँको काठेका घरले धेरै पर्यटकलाई आकर्षित गरिरहेको जनाउँदै विस्तारै विकासले जोडिन थालेको उहाँको भनाइ छ । टाढा–टाढाबाट घुम्न आउने पर्यटकलाई लक्षित गरी दिजगाउँमा घरबास सञ्चालन गर्ने योजना रहेको सुनाउँदै यसका लागि नगरपालिकासहित प्रदेश र केन्द्र सरकारको पनि सहयोग हुनुपर्ने अध्यक्ष घर्तीमगर बताउनुहुन्छ । गाउँमा सडक पुर्याउन प्रयास गरे पनि सिकार आरक्षको अवरोधका कारण हालसम्म पुर्याउन नसकिएको उहाँको भनाइ छ ।
अध्यक्ष घर्ती मगरले भन्नुभयो, “अहिलेसम्म यो गाउँ अन्धकार छ, विद्युत् पुर्याउन ढोरपाटन भुजीखोला लघुजलविद्युत् आयोजनाबाट तयारी गरिरहेका छौँ, अहिले पोल गाड्ने काम भइसकेको छ, अब छिट्टै लाइन तानेर विद्युत् सञ्चालन गर्नेछौँ, खानेपानीको समस्या छ, त्यसका लागि पनि खानेपानी कार्यालय बागलुङबाट काम हुँदैछ, सडक पुर्याउन साविक बोबाङ गाविस हुँदादेखि नै बजेट छुट्याएर काम अगाडि बढाएका थियौँ, सिकार आरक्षले अवरोधका कारण अहिलेसम्म पुग्न सकेको छैन, अब हाम्रो ध्यान यहाँको मौलकता जोगाउने र घरबास सञ्चालन गर्नेतर्फ हुनेछ ।”
एसइईको नतिजा असार दोस्रो साताभित्र
भक्तपुर, २८ जेठ I राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिनुभयो ।
उहाँले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी अन्य काम तीव्र गतिमा भइरहेका बताउनुभयो । “हामीले उत्तरपुस्तीका परीक्षण र अङ्क अभिलेखको काम सकेका छौँ । प्राविधिक त्रुटि नदेखिए केही दिन अगाडि नै नतिजा प्रकाशित गर्न र कुनै समस्या भए दोस्रो साताभन्दा पर नजाने गरी काम भइरहेको छ । कर्मचारीका विभिन्न समूह बनाएर काम भइरहेकाले निर्धारित समयमै नतिजा सार्वजनिक गर्छौँ”, उहाँल्े भन्नुभयो । उहाँले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको जानकारीसमेत दिनुभयो ।
गतवर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको बोर्डले यसवर्ष १४ दिन अगावै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको भन्दै परीक्षा नियन्त्रक पौडेलले यसवर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर सार्वजनिक गरिने बताउनुभयो ।
यसवर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने बताउनुभयो ।
गत चैत १५ गतेदेखि सुरु भएको यसवर्षको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।
पहिलो अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदै
काठमाडौँ, २८ जेठ I खेलमय अभिभावकत्वको नारासहित भोलि मङ्गलबार पहिलो पटक अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ । हरेक बालबालिकाको खेल्न पाउने अधिकार सुनिश्चित गर्न हरेक जुन ११ मा मनाइने यस दिवसमा संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले सरकार, हेरचाहकर्ता, शिक्षक र समुदायलाई एकजुट भए आफ्ना प्रयास र लगानी बढाउन आह्वान गरेको छ ।
युनिसेफ नेपालले आज आयोजना गरेको सञ्चार अन्तरक्रियामा सो संस्थाका प्रारम्भिक बालविकास विज्ञ डा दीपु शाक्यले खेल रमाइलोका लागि मात्र नभइ यसले बालबालिकाको शारीरिक, सामाजिक, संवेगात्मक तथा बौद्धिक विकासमा सहयोग गर्ने बताउनुभयो ।
“खेलका माध्यमबाट बालबालिकाले अरुसँग सम्बन्ध बनाउन, नेतृत्व सीप तथा प्रतिरोधी क्षमता विकास गर्न, सम्बन्धको खोजी गर्न, सामाजिक चुनौती चिन्न र उनीहरूका डरहरूमाथि विजय पाउन सक्दछन्’’, डा शाक्यले भन्नुभयो, “बालबालिकाले खेल्दा सुरक्षित महसुस गर्छन् । खेलले बालबालिकाको रचनात्मक अभिव्यक्ति विकास गर्न पनि मद्दत गर्दछ । यी अहिलेको विश्वमा बाँच्नका लागि महत्वपूर्ण सीपहरू हुन् ।’’
विद्यार्थीलाई सिकाइ प्रक्रियामा सक्रिय रुपमा संलग्न गराउन खेलमा आधारित सिकाइलाई प्रभावकारी पद्धतिका रुपमा मान्यता दिने पनि युनिसेफ नेपालले जनाएको छ । खेलले सहिष्णुता र लचकताको प्रवर्द्धन साथै सामाजिक समावेशीताको सहजीकरण, द्वन्द्व रोकथाम र शान्ति निर्माणमा सकारात्मक प्रभाव पार्दछ । यही कुरालाई आत्मसात गर्दै बालअधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिले धारा ३१ अन्तर्गत खेललाई प्रत्येक बालबालिकाको मौलिक अधिकारका रुपमा स्थापित गरेको छ । नेपाल यो महासन्धिमा सबैभन्दा पहिला हस्ताक्षर गर्ने राष्ट्रहरूमध्ये एक हो ।
असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने
काठमाडौँ, २८ जेठ I स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले आज एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा विसं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताका लागि उक्त अवधिभित्र नवीकरण गरिसक्नुपर्ने जनाएको हो ।
नवीकरणका लागि आ-आफ्नो वडामा रहेका दर्ता सहयोगीका साथै अनलाइनमार्फत गर्न सकिने बोर्डले जनाएको छ । विसं २०८१ साउन १ गते देखिको नयाँ दर्ता तथा नवीकरण स्वतः २०८१ मङ्सिर १ देखि क्रियाशील हुने सूचनामा उल्लेख छ । बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार आजसम्म बीमित जनसङ्ख्या ८० लाख ७९ हजार सात सय ८२ जना छन् । हालसम्म ५० लाख ३८ हजार आठ सय ४० जनाले नवीकरण गराएका छन् ।
सूचना अधिकारी कँडेलले सेवा लिनेले हरेक वर्ष नवीकरण गराउनैपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नवीकरण आवश्यक छ । नयाँ दर्ता गराउन चाहनेले आफू बस्ने वडामा गएर स्वास्थ्य बीमा गराउन सक्छन् । प्रत्येक वडामा दर्ता सहयोगी छन् ।”
नेप्से परिसूचक आठ दशमलव ९० अङ्कले बढ्यो
काठमाडौँ, २८ जेठ I यो सातामा कारोबारको पहिलो आइतबार चार दशमलव ५९ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोस्रो दिन आठ दशमलव ९० अङ्कले बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४२ प्रतिशतले बढेर दुई हजार ८२ दशमलव ०९ को विन्दुमा कायम भएको हो ।
आज तीन सय १४ कम्पनीको एक करोड १६ लाख ३४ हजार छ सय १८ कित्ता शेयर ७१ हजार नौ सय ४८ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ४९ करोड छ लाख नौ हजार सात सय ८२ बराबरको कारोबार भएको छ ।
बैङ्किङ समूह शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ९३, जीवन बीमा शून्य दशमलव २४, म्युचुअल फन्ड तीन दशमलव ७४, व्यापार समूह दुई दशमलव ०३ र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । आज विकास बैङ्क समूह शून्य दशमलव ३६, वित्त एक दशमलव २१, जलविद्युत् दुई, लगानी शून्य दशमलव १५, लघुवित्त शून्य दशमलव ६२ र निर्जीवन बीमा समूह एक दशमलव २८ प्रतिशतले बढेको छ ।
कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड र पिपुल्प पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने जानकी फाइनान्स कम्पनी लिमिटेड आठ दशमलव ६७ र बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव २९ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु ४१ करोड ८७ लाख ६३ हजार दुई सय छ बराबरको छ लाख २७ हजार छ सय ७६ कित्ता शेयर किनबेच भएको छ ।