ग्रामीण जनजीवनलाई जीवित राखेका बागलुङको दिजगाउँ
ढोरपाटन (बागलुङ), २९ जेठ I नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिजगाउँले ग्रामीण जनजीवनलाई जीवित राखेको छ । ढोरपाटन नगरपालिका–९ मा पर्ने यो गाउँ शान्त वातावरण, स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताले भरिए पनि विकासका हिसाबले भने निकै पछाडि परेको छ । तर पनि यहाँको मौलिकताले पर्यटकलाई पर्खिरहेको छ । दिजगाउँ प्रकृति र मौलिकतासँग रमाउन चाहनेका लागि उत्कृष्ट गन्तव्य हो ।
ढोरपाटन उपत्यका हुँदै निसेलढोर जाने सडकको पारिपट्टि रहेको यस गाउँका स्थानीयको आफ्नै परम्परा, कला, संस्कृति र रीतिरिवाज छन् । मगर समुदायको बाहुल्यता रहेको दिजगाउँमा काठबाट बनेका घरहरुमात्रै छन् । परम्परादेखि नै काठका घरमा बस्दै आएका स्थानीय अहिले पनि मौलिकताको संरक्षण गर्दै आएका छन् । गाउँमा स्वास्थ्य, शिक्षा, खानेपानी र विद्युत्को पहुँच नपुगे पनि गाउँको सुन्दरताका कारण यहाँ पुग्न हरेक पर्यटक लालायित हुन्छन् । यस गाउँ ढोरपाटन उपत्यका नजिकै रहे पनि अहिलेसम्म आधुनिकताले जोडिन सकेको छैन । ढोरपाटन उपत्यका क्षेत्रमा पछिल्लो समय नयाँ शैलीका घर भवन बन्दै गएका छन् । सामान्य आधारभूत सेवासमेत नपुगेको गाउँका स्थानीय खेतीपाती र पशुपालन गरी जीविकोपार्जन गर्दै आएका छन् ।
झण्डै एक दशक अगाडि निसेलढोर जोडिने सडकले गाउँलाई नछोए पनि उत्तरगङ्गा नदी पार गरेर गाडीको सुविधा भने पाउन सक्छन् । मौलिकता र प्राकृतिक सुन्दरताको सङ्गम रहेको दिजगाउँमा बेलाबखत आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् । अझ बढी त बर्खाको समय पदयात्र गर्दै युवायुवती यहाँ जाने गरेका छन् । भौगोलिक विकटताका र प्रचारप्रसार कमीले ओझेलमा रहेको यस गाउँमा पछिल्लो केही वर्षयता भने धेरैको नजर पुग्न थालेको छ । निसीखोलाबाट निसेलढोर जाने मुख्य बाटोमै दिजगाउँ पर्ने हुँदा पर्यटकले यस गाउँको सुन्दरताको स्वादन गर्नेछन् । गाउँमा पर्यटक आएर बास बस्न खोजे पनि विद्युत् नहुँदा नबसी जाने गरेको स्थानीय मनकुमारी घर्तीमगरले बताउनुभयो ।
गाउँमा रहेको काठका घर हेर्न समय–समयमा विदेशी पर्यटक पनि आउने गरेको उहाँ बताउनुहुन्छ । धेरैजसो ढोरपाटन र निसीखोलाबाट पैदलयात्रामार्फत निसेलढोर पुग्ने मानिस दिजगाउँमा आउने घर्तीमगरले बताउनुभयो । गाउँमा खानेपानी र बिजुली नहुँदा आफूहरूले समस्या भोग्नुपरेको उहाँको भनाइ छ । सरकारले दिजगाउँलाई प्राथमिकता दिएर विकास गरे विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्ने घर्ती मगरले बताउनुभयो । विद्युत् ल्याउन पोल गाडे पनि अहिलेसम्म लाइन तान्ने कार्य भएको छैन, बिजुलीमात्रै आए पनि गाउँको मुहार फेरिने उहाँ बताउनुहुन्छ ।
यस क्षेत्रमा हिउँदको बेला बढी चिसो हुने हुँदा बर्खाको समय बढी मान्छे घुम्न आउँछन् । गाउँभन्दा पारिपट्टि निसेलढोर जोड्ने सडक सञ्चालनमा रहेको हुँदा युवायुवती मोटरसाइकलमा समेत पुग्छन् । यतिबेला गर्मी बढेको हुँदा बुटवल, चितवन र गुल्मीबाट धेरै युवा घुम्न आउने गरेका छन् । गुल्मी घर भई बुटवलमा पढ्दै आउनुभएका विनोद भण्डारीले दिजगाउँसहित निसेलढोर क्षेत्र घुम्न आएको बताउनुभयो । छजनाको समूहमा यहाँ आएको सुनाउँदै तीन दिन ढोरपाटनसहितका क्षेत्र घुम्ने योजना रहेको सुनाउनुभयो । ढोरपाटन आएको दोस्रो दिन दिजगाउँ पुगेको भन्दै यस गाउँले आफूहरूलाई मोहित बनाएको उहाँले सुनाउनुभयो ।
ढोरपाटन –९ का अध्यक्ष खीमबहादुर घर्तीमगरले यस गाउँको मौलिकता संरक्षण गरी राख्ने बताउनुभयो । गाउँको काठेका घरले धेरै पर्यटकलाई आकर्षित गरिरहेको जनाउँदै विस्तारै विकासले जोडिन थालेको उहाँको भनाइ छ । टाढा–टाढाबाट घुम्न आउने पर्यटकलाई लक्षित गरी दिजगाउँमा घरबास सञ्चालन गर्ने योजना रहेको सुनाउँदै यसका लागि नगरपालिकासहित प्रदेश र केन्द्र सरकारको पनि सहयोग हुनुपर्ने अध्यक्ष घर्तीमगर बताउनुहुन्छ । गाउँमा सडक पुर्याउन प्रयास गरे पनि सिकार आरक्षको अवरोधका कारण हालसम्म पुर्याउन नसकिएको उहाँको भनाइ छ ।
अध्यक्ष घर्ती मगरले भन्नुभयो, “अहिलेसम्म यो गाउँ अन्धकार छ, विद्युत् पुर्याउन ढोरपाटन भुजीखोला लघुजलविद्युत् आयोजनाबाट तयारी गरिरहेका छौँ, अहिले पोल गाड्ने काम भइसकेको छ, अब छिट्टै लाइन तानेर विद्युत् सञ्चालन गर्नेछौँ, खानेपानीको समस्या छ, त्यसका लागि पनि खानेपानी कार्यालय बागलुङबाट काम हुँदैछ, सडक पुर्याउन साविक बोबाङ गाविस हुँदादेखि नै बजेट छुट्याएर काम अगाडि बढाएका थियौँ, सिकार आरक्षले अवरोधका कारण अहिलेसम्म पुग्न सकेको छैन, अब हाम्रो ध्यान यहाँको मौलकता जोगाउने र घरबास सञ्चालन गर्नेतर्फ हुनेछ ।”
एसइईको नतिजा असार दोस्रो साताभित्र
भक्तपुर, २८ जेठ I राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिनुभयो ।
उहाँले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी अन्य काम तीव्र गतिमा भइरहेका बताउनुभयो । “हामीले उत्तरपुस्तीका परीक्षण र अङ्क अभिलेखको काम सकेका छौँ । प्राविधिक त्रुटि नदेखिए केही दिन अगाडि नै नतिजा प्रकाशित गर्न र कुनै समस्या भए दोस्रो साताभन्दा पर नजाने गरी काम भइरहेको छ । कर्मचारीका विभिन्न समूह बनाएर काम भइरहेकाले निर्धारित समयमै नतिजा सार्वजनिक गर्छौँ”, उहाँल्े भन्नुभयो । उहाँले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको जानकारीसमेत दिनुभयो ।
गतवर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको बोर्डले यसवर्ष १४ दिन अगावै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको भन्दै परीक्षा नियन्त्रक पौडेलले यसवर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर सार्वजनिक गरिने बताउनुभयो ।
यसवर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने बताउनुभयो ।
गत चैत १५ गतेदेखि सुरु भएको यसवर्षको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।
पहिलो अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदै
काठमाडौँ, २८ जेठ I खेलमय अभिभावकत्वको नारासहित भोलि मङ्गलबार पहिलो पटक अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ । हरेक बालबालिकाको खेल्न पाउने अधिकार सुनिश्चित गर्न हरेक जुन ११ मा मनाइने यस दिवसमा संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले सरकार, हेरचाहकर्ता, शिक्षक र समुदायलाई एकजुट भए आफ्ना प्रयास र लगानी बढाउन आह्वान गरेको छ ।
युनिसेफ नेपालले आज आयोजना गरेको सञ्चार अन्तरक्रियामा सो संस्थाका प्रारम्भिक बालविकास विज्ञ डा दीपु शाक्यले खेल रमाइलोका लागि मात्र नभइ यसले बालबालिकाको शारीरिक, सामाजिक, संवेगात्मक तथा बौद्धिक विकासमा सहयोग गर्ने बताउनुभयो ।
“खेलका माध्यमबाट बालबालिकाले अरुसँग सम्बन्ध बनाउन, नेतृत्व सीप तथा प्रतिरोधी क्षमता विकास गर्न, सम्बन्धको खोजी गर्न, सामाजिक चुनौती चिन्न र उनीहरूका डरहरूमाथि विजय पाउन सक्दछन्’’, डा शाक्यले भन्नुभयो, “बालबालिकाले खेल्दा सुरक्षित महसुस गर्छन् । खेलले बालबालिकाको रचनात्मक अभिव्यक्ति विकास गर्न पनि मद्दत गर्दछ । यी अहिलेको विश्वमा बाँच्नका लागि महत्वपूर्ण सीपहरू हुन् ।’’
विद्यार्थीलाई सिकाइ प्रक्रियामा सक्रिय रुपमा संलग्न गराउन खेलमा आधारित सिकाइलाई प्रभावकारी पद्धतिका रुपमा मान्यता दिने पनि युनिसेफ नेपालले जनाएको छ । खेलले सहिष्णुता र लचकताको प्रवर्द्धन साथै सामाजिक समावेशीताको सहजीकरण, द्वन्द्व रोकथाम र शान्ति निर्माणमा सकारात्मक प्रभाव पार्दछ । यही कुरालाई आत्मसात गर्दै बालअधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिले धारा ३१ अन्तर्गत खेललाई प्रत्येक बालबालिकाको मौलिक अधिकारका रुपमा स्थापित गरेको छ । नेपाल यो महासन्धिमा सबैभन्दा पहिला हस्ताक्षर गर्ने राष्ट्रहरूमध्ये एक हो ।
असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने
काठमाडौँ, २८ जेठ I स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले आज एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा विसं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताका लागि उक्त अवधिभित्र नवीकरण गरिसक्नुपर्ने जनाएको हो ।
नवीकरणका लागि आ-आफ्नो वडामा रहेका दर्ता सहयोगीका साथै अनलाइनमार्फत गर्न सकिने बोर्डले जनाएको छ । विसं २०८१ साउन १ गते देखिको नयाँ दर्ता तथा नवीकरण स्वतः २०८१ मङ्सिर १ देखि क्रियाशील हुने सूचनामा उल्लेख छ । बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार आजसम्म बीमित जनसङ्ख्या ८० लाख ७९ हजार सात सय ८२ जना छन् । हालसम्म ५० लाख ३८ हजार आठ सय ४० जनाले नवीकरण गराएका छन् ।
सूचना अधिकारी कँडेलले सेवा लिनेले हरेक वर्ष नवीकरण गराउनैपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नवीकरण आवश्यक छ । नयाँ दर्ता गराउन चाहनेले आफू बस्ने वडामा गएर स्वास्थ्य बीमा गराउन सक्छन् । प्रत्येक वडामा दर्ता सहयोगी छन् ।”
नेप्से परिसूचक आठ दशमलव ९० अङ्कले बढ्यो
काठमाडौँ, २८ जेठ I यो सातामा कारोबारको पहिलो आइतबार चार दशमलव ५९ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोस्रो दिन आठ दशमलव ९० अङ्कले बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४२ प्रतिशतले बढेर दुई हजार ८२ दशमलव ०९ को विन्दुमा कायम भएको हो ।
आज तीन सय १४ कम्पनीको एक करोड १६ लाख ३४ हजार छ सय १८ कित्ता शेयर ७१ हजार नौ सय ४८ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ४९ करोड छ लाख नौ हजार सात सय ८२ बराबरको कारोबार भएको छ ।
बैङ्किङ समूह शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ९३, जीवन बीमा शून्य दशमलव २४, म्युचुअल फन्ड तीन दशमलव ७४, व्यापार समूह दुई दशमलव ०३ र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । आज विकास बैङ्क समूह शून्य दशमलव ३६, वित्त एक दशमलव २१, जलविद्युत् दुई, लगानी शून्य दशमलव १५, लघुवित्त शून्य दशमलव ६२ र निर्जीवन बीमा समूह एक दशमलव २८ प्रतिशतले बढेको छ ।
कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड र पिपुल्प पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने जानकी फाइनान्स कम्पनी लिमिटेड आठ दशमलव ६७ र बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव २९ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु ४१ करोड ८७ लाख ६३ हजार दुई सय छ बराबरको छ लाख २७ हजार छ सय ७६ कित्ता शेयर किनबेच भएको छ ।
भित्रियो यस वर्षको मनसुन प्रणाली
काठमाडौँ, २८ जेठ I यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालको अन्य भू-भागमा केही दिनमा क्रमिक रुपमा मनसुन हुने अनुमान गरिएको छ । आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
चैते धान भित्र्याउने चटारो
घोडाघोडी (कैलाली), २८ जेठ I कैलालीको घोडाघोडी नगरपालिका–८ का बुुझाउन चौधरीलाई हिजोआज चैते धान भित्र्याउने चटारो छ । उहाँले पाँच कठ्ठा जमिनमा चैते धान लगाउनुभएको छ । चौधरीले तीन वर्षदेखि चैते धानको खेती गर्दैआउनुभएको छ । बर्खे धानभन्दा चैते धान बढी उब्जनी भएको उहाँले बताउनुभयो ।
“अर्को वर्ष एक बिघामा चैते धान लगाउने सोच छ”, चौधरीले भन्नुभयो । चैते धान लगाएको सुुरुको वर्ष पाँच कठ्ठामा १० क्विन्टल उत्पादन भएको उहाँले बताउनुभयो । बर्खे धान सो जग्गामा ६ क्विन्टल उत्पादन भएको थियो । खानमा मिठो र उत्पादन बढी हुुने भएकाले चैते धान खेतीतर्फ आकर्षित भएको चौधरीको भनाइ छ ।
चौधरीले जस्तै घोडाघोडी नगरपालिकाका ९० किसानले पाँच सय २१ कट्ठामा यस वर्ष चैते धान लगाएका छन् । कतिपय किसानले चैते धान भित्र्याइसकेका छन् । कोही भित्र्याउने तयारीमा छन । किसानलाई प्रोत्साहन गर्न घोडाघोडी नगरपालिकाले चैते धान खेती गर्नेलाई पुरस्कृत गर्दैआएको छ । पालिकाभित्रका चैते धान रोप्ने ९० किसानलाई प्रतिकट्ठा रु पाँच सयका दरले पुरस्कृत गरिएको कृषि शाखा प्रमुख जनकसिंह धामीले जानकारी दिनुभयो ।
पछिल्लो समय जमिन बाँझो राख्ने क्रम बढेको र स्थानीय रुपमै उत्पादन गर्न सकिने खाद्यान्नको समेत आयात बढ्दै जान थालेकाले किसानलाई प्रोत्साहित गरी उत्पादनमा जोड दिइएको उहाँले बताउनुभयो । घोडाघोडीसँगै कैलालीका अन्य पालिकाका किसान पनि चैते धान खेतीतर्फ आकर्षित भएका छन् । बर्सेनि बाढीका कारण बर्खे धान भित्र्याउन नपाएपछि सो क्षेत्रका बासिन्दा चैते धान लगाउन थालेका हुन् ।
पछिल्लो समय कैलालीका किसान चैते धान खेतीतर्फ आकर्षित हुँुदै गएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुुख खगेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुुसार भजनी र टीकापुुर नगरपालिकाका साथै जोशीपुुर र कैलारी गाउँपालिकामा विगतदेखि नै चैते धान खेती लगाउने गरिएको छ । यी क्षेत्रमा वर्षातमा डुुबान हुुने भएकाले चैते धान लगाइन्छ । पछिल्ला वर्षहरुमा जिल्लाको घोडाघोडी, लम्किचुुहा नगरपालिका र धनगढी उपमहानगरपालिकामा पनि चैते धान खेतीलगाउने किसानको सङ्ख्या बढ्दै गएको प्रमुुख शर्माले बताउनुभयो । डुुबान हुुने क्षेत्रमा एक बाली मात्रै धान भित्र्याउने गरिन्छ । अन्य क्षेत्रमा चैते र बर्खे गरेर दुई बाली भित्र्याइने गरेको उहाँले बताउनुभयो ।
चैते धान लगाउँदा जिल्लाको धान उत्पादनमा वृद्धि भएको प्रमुुख शर्माले बताउनुभयो । उहाँका अनुुसार कैलाली जिल्लाभर गत वर्ष एक हजार एक सय हेक्टरमा चैते धान लगाइएको थियो । यसवर्ष एक हजार एक सय ५० हेक्टरमा चैते धान लगाइएको छ । चैते धान प्रति हेक्टर औषतमा पाँच टनका हिसाबले उत्पादन हुुने प्रमुुख शर्माले बताउनुभयो । गत वर्ष पाँच हजार पाँच सय टन धान उत्पादन भएकामा यसवण्र्ष पाँच हजार सात सय ५० टन धान उत्पादन हुने अनुमान गरिएको छ ।
चैते धान खेतीका लागि सङ्घीय र प्रदेश सरकारका साथै स्थानीय तहले पनि विभिन्न कार्यक्रम ल्याएको छ । चैते धान खुला आकाशमुनी पर्याप्त सूर्यको प्रकाश पाउने भएकाले उत्पादन पनि बढी हुने प्रमुुख शर्माले बताउनुभयो । “यसमा रोग कीराको प्रकोपसमेत कम हुन्छ ।”
‘गुरिल्ला ट्रेक’ उजागर हुनेमा पलाएको आशा
गण्डकी, २८ जेठ I प्रचार र पूर्वाधार अभावमा वर्षौंदेखि गुमनाम रहेको ‘गुरिल्ला ट्रेक’मा पर्यटकीय पूर्वाधार विकास गर्ने सरकारको घोषणापछि उक्त पदमार्ग उजागर हुनेमा आशा पलाएको छ । आगामी आव २०८१/८२ को बजेटमा ‘गुरिल्ला ट्रेक’लगायत पर्यटन गन्तव्यमा पदमार्गमा आधारित पर्यटकीय कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । बजेटमा समेटिएपछि सो पदमार्गको विकास तथा प्रवद्र्धन हुनेमा स्थानीय र पर्यटनकर्मी आशावादी छन् ।
बागलुङ, म्याग्दी, रुकुम पूर्व र रोल्पालाई समेटेर विसं २०६८ मा गुरिल्ला ट्रेकको पहिचान र नक्साङ्कन गरिएको थियो । नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको पहलमा विसं २०७२ मा उक्त पदमार्ग घोषणा गरिएको थियो । विसं २०७३ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वको चुनुवाङमा गुरिल्ला ट्रेकको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।
माओवादी आन्दोलनमा ‘चुनुवाङ बैठक’ बहुचर्चित मानिन्छ । सोही बैठकबाट माओवादीले जनयुद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने निर्णय लिएको थियो । गुरिल्ला ट्रेक जनयुद्धको उद्गमस्थल मानिने रोल्पाको थवाङसहित जनयुद्धले सघन प्रभाव पारेका ठाउँलाई समेटेर नक्साङ्कन गरिएको थियो । पहिलोपटक उक्त पदमार्ग पहिचान गर्ने टोलीमध्येका एक सदस्य सुरेन्द्र रानाले बजेटमा गुरिल्ला ट्रेकका नाम आउनु सकारात्मक भए पनि त्यसको कार्यान्वयन पक्ष महत्वपूर्ण हुने बताउनुभयो ।
“गुरिल्ला ट्रेकको गाइड बुक, म्याप सन् २०१२ मा बनिसकेको छ, हामीले महिनौँ लगाएर यो पदमार्ग पहिचान गरेका थियौँ, सुरुसुरुमा केही प्रवद्र्धनका काम पनि भए, पछि बिस्तारै ओझेलमा पर्दै गयो”, उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्ने दायित्व राज्यको हो, बजेटमा घोषणा गरेर मात्र हुँदैन, कार्यान्वयन हुनुपर्छ ।” उहाँले सडक सञ्जाल विस्तारले पुराना र चल्तीका पदमार्ग सङ्कटमा परेको भन्दै तिनको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
“विकासको रफ्तारलाई हामी रोक्न त सक्दैनौँ, सडक पनि जनताको सेवाका लागि हो, तर अब देशभरका पदमार्गको पुनः नक्साङ्कन गर्नुपर्ने अवस्था आउँदैछ, वैकल्पिक पदमार्गको योजनामा हामी जानुपर्छ”, रानाले भन्नुभयो, “गुरिल्ला ट्रेकमा पनि ठाउँठाउँमा सडकले छिचोलेका कारण मौलिकता गुम्ने डर छ, यो नेपालको पर्यटन क्षेत्रकै लागि चुनौतीको विषय हो ।”
पर्यटक पथप्रदर्शक दिवस गुरुङ गुरिल्ला ट्रेकलाई ‘लुकेको हिरा’का रुपमा चिनाउन चाहानुहुन्छ । उहाँका अनुसार प्रकृतिमय भूगोल, ऐतिहासिक महत्वका स्थल, जैविक विविधता, मगर जातिका सघन बस्ती, रैथाने कला, संस्कृति, रहनसहन, रीतिथिति आदि गुरिल्ला ट्रेकका विशेषता हुन् । “गुरिल्ला ट्रेक भर्जिन गन्तव्य हो, यसको ब्रान्डिङ गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “नाम चलेका पदमार्ग छोटिँदै र मासिँदै गएका बेला गुरिल्ला ट्रेकबाट नेपालको पर्यटन क्षेत्रले लाभ लिन सक्छ ।”
सो पदमार्गमा पर्यटकीय पूर्वाधार निर्माण गर्न सङ्घ, प्रदेश सरकार र स्थानीय तहले लगानी बढाउनुपर्ने उहाँको भनाइ छ । “पदमार्ग भनेको पहिले मानिसले हिँडेकै बाटोमा हिँड्ने भन्ने हो, नयाँ पदमार्ग बनाउँदा पनि मौलिकताको ख्याल गर्नुपर्छ, पदमार्ग बनाउँदा कङ्क्रिटको प्रयोग गर्नुभएन”, गुरुङले भन्नुभयो, “ठाउँठाउँमा सूचनापाटी, चिया÷खाजाघर, विश्रामस्थल, होटल आदिको व्यवस्था गर्नुपर्छ ।” उहाँले सरकारले ग्रेट हिमालयन, मुन्धुम, गुरिल्ला ट्रेकलगायतमा पर्यटकीय पूर्वाधार निर्माणको घोषणा गर्नुलाई सुखद मान्नुपर्ने बताउनुभयो ।
“स्थानी, पर्यटनकर्मी, व्यवसायीलगायत सबै पक्षको सकारात्मक दबाब र पहलमा गुरिल्ला ट्रेकको विकासले कोल्टे फेर्न सक्छ, देशविदेशका पर्यटकमाझ नयाँ आकर्षक गन्तव्यका रुपमा विकास गर्न सकिन्छ”, गुरुङले भन्नुभयो । उहाँले गत साल मध्य बर्खामा ३५ दिन उक्त ट्रेकमा एक्लै पदयात्रा गर्नुभएको थियो ।
“अरू पदमार्गमा भन्दा बेग्लै अनुभव गुरिल्ला ट्रेकमा भयो, माओवादी जनयुद्धताका छापामार हिँडेको बाटो र युद्ध गतिविधि हुने स्थललाई समेटेर बनाइएको पदमार्ग भएकाले घुम्ने हुटहुटी र जिज्ञासा पहिलेदेखि नै थियो”, उहाँले सुनाउनुभयो । रोल्पाको सुनछहारी गाउँपालिकाका पर्यटन व्यवसायी तथा घरबास महासङ्घ लुम्बिनीका उपाध्यक्ष बालकुमार पुनले छोटो, मध्यम र लामो दूरीबाट गुरिल्ला ट्रेकमा यात्रा गर्न सकिने बताउनुभयो ।
उहाँका अनुसार सबैभन्दा छोटो १४ दिनको पदयात्रा म्याग्दीको बेनी, दरबाङ, गुर्जाघाट, बागलुङको ढोरपाटन, निशेलढोर पूर्वी रुकुमको तकसेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर टुङ्गिन्छ । मध्यम दुरीको पदयात्रा गर्न १९ दिन लाग्ने पुनले बताउनुभयो । जुन बेनी, दरबाङ, गुर्जाघाट हुँदै ढोरपाटन पुगेपछि बुकी हुँदै रुकुम पूर्वको पेल्मा, मैकोटतिर जोडिन्छ । मैकोटबाट तकसेरा निस्केर लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुग्न सकिने पुनले बताउनुभयो । सबैभन्दा लामो २७ दिनको पदयात्राले भने पश्चिम रुकुमलाईसमेत समेट्ने उहाँको भनाइ छ ।
“ढोरपाटनबाट पेल्मा, मैकोट, पश्चिम रुकुमको अर्चल, रुकुमकोट, पूर्वी रुकुमको तक्सेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर पदयात्रालाई टुङ््ग्याउन सकिन्छ”, उहाँले भन्नुभयो, “युद्ध पर्यटनका माध्यमबाट ऐतिहासिक ठाउँको पहिचान स्थापित गर्न र युद्ध प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न गुरिल्ला ट्रेकको अवधारणा ल्याइएको हो ।”
बागलुङको ढोरपाटन, रोल्पाको सुलीचौरलगायत ठाउँबाट पनि छोटो र लामो दूरीमा उक्त ट्रेकको यात्रा गर्न सकिने उहाँले बताउनुभयो । “बागलुङको बुर्तिबाङ, ढोरपाटन हुँदै गरिने पदयात्रा आठ÷दस दिनमै टुङ्ग्याउन सकिन्छ, समय र अरू व्यवस्थापकीय तयारीलाई हेरेर जुनसुकै मार्ग प्रयोग गरेर गुरिल्ला ट्रेकमा जान सकिन्छ”, पुनले भन्नुभयो ।
अस्तित्वमा आएको दशक बितिसक्दा पनि सोचेजसरी गुरिल्ला टे«कको विकास भने हुन नसकेको उहाँको भनाइ छ । “राज्यले पनि खासै हेरेन, पर्यटन सम्बद्ध सङ्घसंस्थाको पनि उपेक्षामा यो ट्रेक परिरहेको छ”, पुनले भन्नुभयो, “पर्यटन विकासको प्रचुर सम्भावना भएर पनि गुरिल्ला ट्रेक यसै गुमनाम छ ।” सङ्घ सरकारको बजेटमा समेटिएकाले यसको विकासमा ठोस कार्यक्रम आउनेमा स्थानीय विश्वस्त रहेको उहाँको भनाइ छ ।
पूर्वाधार सम्पन्न बनाएर विश्व पर्यटन बजारमा ‘ब्रान्डिङ’ गर्न सके गुरिल्ला पदमार्ग गण्डकी र लुम्बिनी प्रदेशको आकर्षक गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने उहाँको भनाइ छ । पर्यटक पथप्रदर्शक गुरुङले गुरिल्ला पदमार्गमा माओवादी जनयुद्धका चिनारी र अवशेषको पनि अनुभव बटुल्न पाइने उल्लेख गर्नुभयो ।
“छापामार हिँड्ने बाटो, सेल्टर, तालिम केन्द्र, बङ्कर, माओवादी नेताका बैठकस्थल आदिको अवलोकन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “अन्नपूर्ण हिमशृङ्खलादेखि, धवलागिरि, गुर्जा, पुथा, चुरेनलगायत हिमालको दृश्यले पनि पदयात्रालाई रोमाञ्चकता प्रदान गर्छ ।”
उहाँका अनुसार बागलुङ, म्याग्दी र पूर्वी रुकुममा फैलिएको ढोरपाटन सिकार आरक्ष यो ट्रेकको प्रमुख आकर्षण हो । “गुरिल्ला ट्रेकबारे पुस्तक पनि प्रकाशित छ, गुगल नक्सा पनि उपलब्ध छ”, उहाँले भन्नुभयो, “अरू पदमार्गको भन्दा बेग्लै अनुभवका लागि गुरिल्ला ट्रेक रोज्न सकिन्छ, साहसिक र रोमाञ्चक यात्रा रुचाउनेका लागि यो उपयुक्त गन्तव्य हो ।”
अग्ला पहाड, भिरपाखा, खोला र खोँच हुँदै हिँड्नुपर्ने भएकाले गुरिल्ला पदयात्रामा निस्कँदा सोही किसिमको बन्दोबस्ती मिलाउनुपर्ने गुरुङले बताउनुभयो । गुरिल्ला ट्रेकमा पर्यटक आकर्षित गर्न सके यस क्षेत्रका एतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहर र सम्पदा उजागर हुने उहाँको भनाइ छ ।
“माओवादी जनयुद्धबारे बुझ्न र अध्ययनका लागि यो पदमार्ग पाठशाला हुन सक्छ”, गुरुङले भन्नुभयो, “मगर जातिको सघन बसोबास रहेकाले तिनको भाषा, संस्कृतिको खोज–अनुसन्धान गर्ने थलोका रुपमा पनि यो क्षेत्रलाई विकास गर्न सकिन्छ ।” विगतमा युद्धबाट गुज्रेका ग्रामीण बस्ती, त्यहाँको जनजीवन र संस्कृतिको अनुभव दिलाउन आन्तरिक तथा बाह्य पर्यटकलाई गुरिल्ला ट्रेकमा आकर्षित गर्न सकिने उहाँले बताउनुभयो ।
रुकुम पूर्वको भूमे गाउँपालिका–९ का अध्यक्ष विनोद बुढाले पछिल्लो समय गुरिल्ला पदमार्गको चर्चा सेलाउँदै गएको बताउनुभयो । “सुरुसुरुमा प्रचारमा पनि आयो, पूर्वाधार निर्माणका केही काम पनि भए तर अहिले यो ट्रेक ओझेलमा परेको छ, पर्यटक आएको पनि देखिन्न”, उहाँले भन्नुभयो ।
भोजपुरको प्याउलीमा अरुण आँखा उपचार केन्द्र स्थापना
टक्सार (भोजपुर), २८ जेठ I नेपाल नेत्र ज्योति सङ्घ भोजपुर र अरुण गाउँपालिकाको संयुक्त सहकार्यमा प्याउलीमा अरुण आँखा उपचार सेवा केन्द्र स्थापना गरिएको छ । जिल्लाको पूर्वी क्षेत्रका नागरिकलाई आँखा उपचार सेवा दिने उद्देश्यका साथ अरुण गाउँपालिकाको केन्द्रप्याउलीमा आँखा उपचार सेवा केन्द्र सञ्चालनमा ल्याएको सङ्घका सभापति तेज मोक्तानले जानकारी दिनुभयो ।
नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरत चन्द र अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले संयुक्तरुपमा उपचार केन्द्रको शुभारम्भ गर्नुभयो । सो अवसरमा अध्यक्ष खत्रीले आँखा उपचारको सेवाका लागि अन्यत्र जानुपर्ने अवस्थालाई अन्त्य गर्न सेवा केन्द्र स्थापना गरिएको हो भन्नुभयो ।
आफ्नै पालिकामा आँखा उपचार केन्द्र स्थापना भएर सञ्चालनमा आएपछि स्थानीयमा समेत खुसियाली छाएको गाउँपालिका उपाध्यक्ष विनिता ढकालले बताउनुभयो । गाउँपालिकाभित्र सात वटा वडा छन भने पौवादुङमा गाउँपालिकाका नागरिकले पनि उपचार केन्द्रबाट सेवा पाउने छन । नेपाल नेत्र ज्योति सङ्घ भोजपुरको प्राविधिक सहयोगमा गाउँपालिकाले एक जना कर्मचारीसमेत नियुक्त गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले बताउनुभयो । नेपाल नेत्र ज्योति सङ्घ भोजपुरका संस्थागत सभापति तेज मोक्तानको अध्यक्षतामा तथा नेपाल नेत्र ज्योति सङ्घका केन्द्रीय महासचिव चन्दको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा नेपाल नेत्र ज्योति सङ्घ कोशी प्रदेशका अध्यक्ष श्यामसुन्दर उदास, केन्द्रीय प्रवक्ता दोर्ण गुरागाई, सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र, विराटनगर आँखा अस्पतालका अध्यक्ष पदमनारायण चौधरी र स्थानीय समाजसेवीलगायतको सहभागिता रहेको थियो ।
विचार : किन ओझेलमा पर्यो दलित इतिहास ?
काठमाडौँ, २७ जेठ I हाम्रो देशमा इतिहासका विविध विषय छन् । कैयौँ विषय यस्ता छन्, जो लेख्न बाँकी नै छ । देख्दा साधारण जस्ता लाग्ने तर कतिपय गम्भीर विषयहरुमाथि नेपालका इतिहासकारहरुको कलम चलेको पाइँदैन । यस्ता गम्भीर विषयमध्ये एक हो, दलित उत्पीडितहरुको इतिहास । दलित उत्पीडितहरुको इतिहास लेखनका लागि स्वयं यस समुदायका इतिहासकारको उपस्थिति नदेखिदा र गैरदलित समुदायका इतिहासकारले उनीहरुको इतिहासको खोजी र लेखनप्रति उत्साह नदेखाउँदा नेपालका दलितहरुको इतिहास ओझेलमा पर्न पुगेको छ । युगौँदेखि छुवाछूतको मारमा परेको यो समुदायको सवालको प्राज्ञिक उत्थानका लागि पनि उनीहरुको छुट्टै इतिहास लेखनको आवश्यकता देखिन्छ ।
छुवाछूतको प्रचलन कहिलेदेखि चल्यो, कुन कारणले यी श्रमिक र सिल्पी समुदायलाई छुवाछूतको सिकार बनाइयो भन्ने बहस त भइरहेकै छ । उनीहरुको उत्थान र मुक्तिका लागि सरकारी तथा गैरसरकारी तहबाट केही प्रयासहरु भइरहेकै छन् । तर इतिहास लेखनमार्फत् पनि दलित तथा उत्पीडित वर्गलाई जुन प्रकारले प्राज्ञिक जगतबाट सम्बोधन हुनुपर्ने हो, यस्तो प्रयास भने हुन सकेको छैन । त्यसैले दलित उत्पीडित समुदायको छुट्टै इतिहास लेखन आजको एक प्राज्ञिक आवश्यकता हुन पुगेको छ ।
दलित उत्पीडितहरुको इतिहास लेख्ने क्रममा सोही समुदायका बौद्धिक व्यक्तित्वहरु पद्मलाल विश्वकर्मा, यामबहादुर किसान, रविमान लम्जेल र गणेश विकेको संयुक्त लेखनमा “नेपाली दलित आन्दोलनको संक्षिप्त इतिहास” (२०६३) प्रकाशित भएको पाइन्छ । यस पुस्तकले पृथ्वीनारायण शाहको समयमा सक्रिय बिसे नगर्ची, यखाजङ्ग विश्वकर्मालगायतका अगुवाहरुको सक्रियतालाई छिटपुट रुपमा समेटेर हालसम्म भएका दलित आन्दोलनको चर्चा गरेको छ ।
इतिहासको स्रोतका रुपमा शिलालेखहरुको उपलब्धताको हिसाबले इतिहासकारहरुले लिच्छवीकाललाई स्वर्णयुग मान्दै आएका छन् । इतिहासकारहरुले काल निर्धारण गरेअनुसार नेपाल संवत सुरु हुनुभन्दा अघिको काललाई प्राचीनकाल, त्यसपछि मध्यकाल र पृथ्वीनारायण शाहको समययतादेखिको काललाई आधुनिककाल मान्दै आएका छन् । यसअनुसार प्राचीनकाल र मध्यकालको इतिहास लेख्ने इतिहासकारहरुले दलितहरुको अवस्थाबारे ऐतिहासिक विवेचना गरेको त्यति पाइँदैन । नेपाली इतिहासको खोजीले त्यसतर्फ पनि चासो राख्ने ठाउँ प्रशस्तै रहेको छ । पृथ्वीनारायण शाहकालीन बिसे नगर्चीबारे पनि गम्भीरतापूर्वक इतिहास खोजी हुनै बाँकी छ ।
बिसे नगर्चीः ऐतिहासिक व्यक्तित्त्व
पृथ्वीनारायण बिसे नगर्चीलाई नाटक, कविता आदिको माध्यमबाट चर्चाको चुलीमा पु¥याइँदै आएको छ । त्यसैले उनी कतै साहित्यिक विधाको पात्र मात्रै त होइन भन्ने भ्रम पनि पर्न जान्छ । तर बिसे नगर्ची पृथ्वीनारायण शाहको समयमा भएका विभिन्न युद्धहरुको मोर्चामा सक्रिय एक योद्धा पनि थिए भन्ने ऐतिहासिक तथ्य विभिन्न स्रोतहरुमा पाइन्छ । उनी १८०१ सालमा नुवाकोटको युद्धमा तीनघारेतिरबाट बढेको युद्धमोर्चामा पृथ्वीनारायण शाहका साथ सामेल थिए । गोरखालीहरुले असोज १५ गते नुवाकोट जित्दा विजयोत्सवमा बिसे नगर्चीले नगरा घन्काउँदा उनलाई बानादार दमाई र मणिराम गाइनेले साथ दिएका थिए ।
विसं १८१२ मा साउनमा लमजुङसँग सिरानचोकमा गोरखालीको युद्ध हुँदा त्यहाँ पनि बिसे नगर्ची सक्रिय थिए । युद्धमा गोरखालीको जीत हुँदा हारेका लमजुङे सैन्य अधिकारीहरुको अपमान गर्न बिसे नगर्चीको धोती टाँगेर उनीहरुलाई धोतीमुनि छिर्न लगाई बेइज्जत गरिएको ऐतिहासिक प्रसङ्ग भाषा वंशावलीमा पढ्न पाइन्छ ।
अहिले पनि बिसे नगर्चीका सन्तति गोरखामा रहेका छन् । उनीहरुसँग बिसे नगर्चीको नाम उल्लेख भएको रुक्का सुरक्षित रहेका छन् । तीमध्ये १८४६ माघ सुदी १५ मा जारी रुक्कामा “केही जग्गा जमिनको जागिर विस्याको नाउमा गयाको रहेछ, त्यो जग्गा उसैको छोरो दुब्ल्यालाई बक्स्यौँ” भन्ने प्रसङ्ग परेको छ । यसअनुसार बिसे नगर्चीको छोराका नाम दुब्ल्या अर्थात् दुब्ले रहेको देखिन्छ । यस्ता ऐतिहासिक स्रोतहरुबाट पनि बिसेलगायतका ऐतिहासिक व्यक्तित्वहरुको छुट्टै इतिहासको खोजी गर्न सकिन्छ ।
जङ्गबहादुरको दृष्टिमा दलित
दलित उत्पीडित समुदायको इतिहासको खोजीका क्रममा तत्कालीन शक्तिशाली प्रधानमन्त्री जङ्गबहादुर राणाको एक अभिव्यक्तिलाई गम्भीरतापूर्वक नियाल्नु जरुरी छ । दलितहरुको सीप, श्रम र सिर्जनाका बारेमा जङ्गबहादुर गम्भीर र संवेदनशील थिए । उनले दलित समुदायको महत्वलाई बुझेका थिए । यसबारेमा उनले आफू बेलायत भ्रमणका बेला यता कार्यवाहक प्रधानमन्त्री रहेका आफ्ना भाई बमबहादुरलाई आफ्नै हस्ताक्षरमा लेखेको पत्रलाई उदाहरणका रुपमा लिन सकिन्छ ।
त्यसबेला उनले आफ्ना भाइलाई लेखेको पत्रमा कामी, सार्की, दमाई, कर्मीहरुको जागिर नखोस्नू भन्ने आदेश दिएका छन् । पत्रमा “कामी, सार्की, दमाई, कर्मी खोसे इलम पनि बिग्रन्छ । कारखाना पनि बिग्रन्छ । कोते, पिपा, जमादार, खलासी एक पनि नखोसेस् । यिनलाई खोस्नु बडो अनविवेक हुन्छ, किनभने यी थोरै खाई धेरै काम गर्छन्” भन्ने परेको छ । यताबाट हेर्दा दलित उत्पीडितले थोरै ज्याला लिएर धेरै र राम्रो काम गर्ने भएकोले उनीहरुको जागिर खोसिदिदा कारखाना चल्न नसक्ने र त्यस्तो काम गर्नु विवेकसम्मत नहुने धारणा जङ्गबहादुरको रहेको देखिन्छ ।
दलित उत्पीडितहरुको श्रम र सीपले सामान्य नागरिकको दैनिक जीवनमा उपयोग हुने सामग्रीको आपूर्ति त हुन्थ्यो नै, अझ जङ्गबहादुरको समयमा स्वचालित उपकरणहरुको विकास भइनसकेको अवस्थामा हातैले काम गरेर सैन्य प्रयोजनका हतियार कारखाना चलाउनुपर्ने अवस्था थियो । हतियारका लागि फलामको काम अनिवार्य हुन्थ्यो । यस्ता कारखानामा छालाको काम पनि अनिवार्य थियो । त्यसैले त्यसबेला मेगेजिन अड्डा नाम दिइएको हतियार कारखानामा आरन फाँट र सार्की फाँट हुन्थ्यो । सैनिकहरुका लागि जङ्गी पोशाक तयार गर्न दमाईहरुको श्रम र सीपको प्रयोग हुन्थ्यो ।
त्यसबेला सरकारबाट कर उठाउनका लागि जारी भएका ऐतिहासिक कागजपत्रहरुमा कम्पु तथा मेगेजिन करबारे उल्लेख छ । कम्पु भनेको सैनिक पल्टन हो भने मेगेजिन अड्डा भनेको हतियार कारखाना हो । यस्तै पुराना कागजपत्रहरुमा सार्कीको पलेटी, कामीको ताल, दमाईको सुजेरो भन्ने पनि उल्लेख गरिएको पाइन्छ । यी सबै दलित तथा उत्पीडित समुदायका श्रमिकहरुले गर्ने कामहरु हुन् । दलित तथा उत्पीडित समुदायको श्रम र सीपलाई राम्ररी नियालेका जङ्गबहादुरले हचुवाको भरमा कामी, सार्की, दमाईको जागिर नखोस्नू, उनीहरुको जागिर खोसिए इलम पनि बिग्रन्छ, कारखाना पनि बिग्रन्छ भनेका होइनन् ।
सबाल्टर्न दर्शनको उपयोग
नेपालमा इतिहास लेखनलाई राजा महाराजाको कथा भन्नेहरुको सङ्ख्या प्रशस्तै छ । हुन पनि नेपालमा जे जति इतिहास लेखिए, तीमध्ये अधिकांशले राजा महाराजा वरिपरि फेरो मारेको देखिन्छ । विगतमा जे जस्ता घटनाहरु छन्, तिनीहरुको तथ्यपूर्ण प्रस्तुति नै इतिहास हो । इतिहासकारहरुले जनस्तरको इतिहास लेखनलाई प्राथमिकतामा नराखेकै हुन् । त्यसैले बारम्बार प्रश्न उठ्ने गरेको छ, खोई जनताको इतिहास लेखेको ?
नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको पनि डेढ दशक नाघिसकेको छ । अब पनि जनस्तरको इतिहासको खोजीले प्राथमिकता नपाए कहिले पाउने ? तिनै जनस्तरको इतिहासको अध्ययन क्षेत्रभित्र दलित उत्पीडितहरुको इतिहास पनि पर्छ । तर यसतर्फ गम्भीरतापूर्वक चिन्ता र चासो देखा परिरहेको छैन । केवल नारा जुलुश, आमसभा र गोष्ठीहरुले मात्रै दलित उत्पीडितहरुलाई न्याय दिलाउन सक्दैन । उनीहरुका लागि इतिहासको खोजीबाट पनि प्राज्ञिक न्याय प्रदान गर्न सकिन्छ ।
दलित उत्पीडितहरुका लागि इतिहास लेखनमा देखा परेको पछिल्लो दर्शन सबाल्टर्न दर्शन उपयोगी देखिन्छ । सबाल्टर्न शब्दको प्रयोग गर्ने पहिलो ब्यक्ति इटालियन चिन्तक एन्तोनियो ग्राम्सी हुन् । उनले यो शब्द तल्लो तहका मानिसहरुलाई जनाउन लागि प्रयोग गरेका थिए । इतिहास लेखनमा निम्न स्तर, सुविधाविहीन, उपेक्षित, सिमान्तकृत, अल्पसङ्ख्यक, आवाजविहीन तथा कमजोर अवस्थामा रहेका समुदायका विषयलाई पनि यथोचित रुपमा समेट्नुपर्छ भन्ने दर्शन नै सबाल्टर्न दर्शन हो । इतिहास लेखनमा यो दर्शनलाई ब्यवहारमा लागू गर्नेमध्ये भारतीय इतिहासकार रन्जित गुहा मुख्य मानिन्छन् ।
नेपालका दलित उत्पीडितहरु नेपालका सिमान्तकृत र आवाजविहीन वर्गमा पर्छन् । तर सबाल्टर्न दर्शनले इतिहास लेखनमा सिमान्तकृत र आवाजविहीनहरुलाई मात्रै समेट्नुपर्छ भन्ने मान्यता राख्दैन । जसरी इतिहास निर्माणमा मुख्य नायकको भूमिका हुन्छ, उसको नेतृत्त्वलाई सफल बनाउन निम्न तहका कार्यकर्ताको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुने हुँदा उनीहरुको भूमिकालाई पनि इतिहास लेखनमा समुचित स्थान दिइनुपर्ने धारणा सबाल्टर्न दर्शनले बोकेको छ ।
नेपालको इतिहास लेखनमा राजा महाराजारुपी नायकहरुलाई मात्रै स्थान दिइँदा उनीहरुलाई सफल बनाउने तल्लो तहका मानिसहरुको इतिहासलाई विस्मृत बनाउनुलाई कुनै पनि हालतमा न्यायोचित मान्न सकिन्न । पृथ्वीनारायण शाहलाई नेपालका इतिहासकारहरुले जुन ढङ्गले इतिहास लेखनमा स्थान दिए तर उनलाई सफल बनाउने बिसे नगर्चीलाई उनीहरुले गौण ठानिदिए । उनको विषयमा छुट्टै इतिहास लेख्न इतिहासकारहरुको कलम खासै उत्साहित भएको देखिएन ।
यसरी पनि दलित उत्पीडितहरुको इतिहास ओझेलमा पर्न गएको छ । अब दलित उत्पीडितहरुको इतिहासको खोजी र लेखनले पनि उचित स्थान पाउन जरुरी छ । यसका लागि स्वयम् दलित उत्पीडित वर्गबाट पनि इतिहासकारहरु तयार हुनु आवश्यक छ । अरुको भरले होइन, अब आत्मनिर्भरताले तथ्यपूर्ण इतिहास लेखिनुपर्छ ।(लेखक इतिहास अध्ययनमा रुचि राख्नुहुन्छ)-रासस