आँबुखैरेनीमा ‘नमुना युवा संसद्’ अभ्यास सुरु
दमौली (तनहुँ) I तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद अभ्यास तथा नमूना गाउँ सभा प्रशिक्षण सुरु भएको छ । ‘समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ युवाको हकहितको संरक्षण र सम्बर्द्धन गरी समुन्नत मुलुक निर्माण गर्ने उद्देश्यका साथ प्रशिक्षण सञ्चालन गरिएको हो ।
शुक्रबारदेखि सुरु भएको प्रशिक्षण चार दिनसम्म सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँले आँबुखैरेनीको विकासका लागि युवालाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै सार्थक सहभागिता सुनिश्चित गरी गाउँपालिकालाई आधुनिक, न्यायपूर्ण र समृद्ध बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले परिषद्को सशर्ततर्फको कार्यक्रमअन्तर्गत गाउँपालिकामा नमुना अभ्यास गराइएको बताउनुभयो । युवामा उद्यमशीलता र नेतृत्व विकास गरी देशको नेतृत्व लिन सक्ने जनशक्ति उत्पादनमा कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ छ ।
प्रशिक्षणमा शिक्षा विकास तथा समन्वय इकाइका निमित्त इकाइ प्रमुख विश्वप्रकाश रेग्मी, राष्ट्रिय युवा परिषद्का पूर्वप्रमुख प्रशासकीय अधिकृत रमाकान्त शर्मा र अनुप घिमिरेले सहजीकरण गर्नुहुनेछ ।
विश्व प्रेस स्वतन्त्रता दिवस आज
काठमाडौँ I आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपाल सहित विश्वभर मनाइदै छ ।
स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।
जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सुजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो । यो दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ । यसै अवसरमा युनेस्कोको आयोजनामा चिलीको राजधानी सान्टियागोमा सम्मेलन भइरहेको छ ।
म्याग्दीमा सुन्तला निकासीबाट रु २१ करोड भित्रियो
म्याग्दी I म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१ करोड भन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो । म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट रु २१ करोड ६० लाखको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी सम्झना आचार्यका अनुसार गत वर्ष रु १७ करोडको सुन्तला उत्पादन र बिक्री भएको थियो । सुन्तला प्रतिकिलो रु ५५ देखि रु ६० का दरले बिक्री भएको छ ।
बेनी नगरपालिकाबाट सबैभन्दा बढी रु तीन करोड ३८ लाखको सुन्तला उत्पादन तथा बिक्री भएको छ । मालिका गाउँपालिकाबाट रु एक करोड ३६ लाख, अन्नपूर्ण गाउँपालिका र मङ्गला गाउँपालिकाबाट क्रमशः रु एक करोड ३० लाखको दरले सुन्तला बिक्री भएको छ ।
धवलागिरि गाउँपालिकाबाट रु ३० लाख ७० हजार तथा रघुगङ्गाबाट रु २५ लाखको सुन्तला बिक्री भएको सूचना अधिकारी शर्माले बताउनुभयो । बेनी नगरपालिका–३ भकिम्ली, मरेक र राखु क्षेत्रबाट मात्रै रु दुई करोड २० लाखको सुन्तला निकासी भएको छ । बेनी नगरपालिका–४ को सिङ्गास्थित थामडाँडा, बास्कुना र सुर्केमेलाबाट रु एक करोड १० लाखको सुन्तला निकासी भएको वडा सदस्य समेत रहेका किसान सन्दीप खत्रीले बताउनुभयो ।
म्याग्दीमा आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकामा चार सय २० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो । “सुन्तलाको प्रतिहेक्टर आठ दशमलव छ मेट्रिक टन उत्पादकत्व रहेको छ”, उहाँले भन्नुभयो, “अनुकूल मौसम, रोग तथा कीराको प्रकोप नियन्त्रण, किसानलाई बीउमल, विषादी, कृषि औजार एवं सामग्रीमा अनुदान सहयोग तथा क्षेत्रफल विस्तारले सुन्तलाको उत्पादन बढेको हो ।”
कृषि ज्ञान केन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए ।
जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिन लगायतका बजारमा सुन्तला निकासी भएको बेनी नगरपालिका–३ राखुका किसान खिम पुनले बताउनुभयो । राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् ।
यातायात सुविधा भएकाले ब्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै पुग्ने गरेका छन् । सुन्तला खेती विस्तार, बगैँचा व्यवस्थापन र नर्सरी स्रोत केन्द्र स्थापना सम्बन्धी कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले ५१ वटा फार्म, समूह र सहकारीका लागि रु ६२ लाख अनुदान दिन छनोट गरेको जनाएको छ ।
देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ I हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हुरी बतासको सम्भावना छ ।
आज राति कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।
कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सेन्झाउ–१७’ चालक दल छ महिनाको अन्तरिक्ष अध्ययनपछि बेइजिङमा अवतरण
तीन सदस्यीय ‘सेन्झाउ–१७’ चालक दल छ महिनाको अन्तरिक्ष अध्ययन अभियान पछि बुधबार बिहान विमानबाट बेइजिङ आइपुगेको छ । सेन्झाउ–१७ एक चिनियाँ अन्तरिक्ष उडान हो जुन सन् २०२३ अक्टुबर २६ मा प्रक्षेपण भएको थियो ।
चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) का अनुसार, मङ्गलबार अन्तरिक्ष यात्री ताङ होङ्बो, ताङ शेङ्जी र जियाङ सिनलिनलाई लिएर सेन्झाउ–१७ को यान उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको डोङफेङस्थित अवतरण स्थलमा बेइजिङको समय अनुसार साँझ ५ः४६ मा अवतरण गरेको छ । चालक दल सबैले साँझ ६ः ३७ मा यानबाट बाहिरिएका थिए ।
उडानको १८७ दिन सम्म कक्षमा बसेपछि फर्केका तीनै जना अन्तरिक्ष यात्रीको स्वास्थ्य राम्रो रहेको र सेन्झाउ–१७ मानव यात्रा सफल भएको सीएमएसएले जानकारी दिएको छ ।
चिनियाँ अन्तरिक्ष निकायले टोलीको छिट्टै स्वास्थ्य परीक्षण गरिने जनाएको छ । स्वास्थ्य परीक्षणपछि त्यसपछि टोलीका सदस्यले बेइजिङमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।
हेटौँडा उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू
१९ वैशाख, बागमती I हेटौँडा उपमहानगरपालिकाले चालु शैक्षिकसत्र देखि सामुदायिक तथा संस्थागत सबै विद्यालयको कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू गरेको छ ।
उपमहानगरपालिकाको सम्पन्न ४३औँ कार्यपालिका बैठकले चालु शैक्षिकसत्र देखि उपमहानगर क्षेत्र भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागूगरी अनुगमन गर्ने निर्णय गरेको हो ।
कार्यपालिका बैठकले हेटौँडा–६ कान्तिराजपथ स्थित सडक क्षेत्रमा निर्माण गरिएका घर, टहरा लगायतका भौतिक संरचना हटाई सडकको क्षेत्राधिकार कायम गर्ने निर्णय गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै कार्यपालिका बैठकले उपमहानगरपालिकालाई आवश्यक पर्ने चारवटा कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार बैठकले हेटौँडा उपमहानगरपालिका पूर्वनिर्मित भवन अभिलेखीकरण तथा नियमित कार्यविधि २०८१, हेटौँडा उपमहानगरपालिका तयारी कक्षा एवं भाषा शिक्षण सम्बन्धी निर्देशिका २०८१, सामुदायिक विद्यालय दरबन्दी मिलान तथा प्राधानाध्यापक व्यवस्थापन कार्यविधि, २०८१ र उपमहानगरपालिका वृति मार्गनिर्देशन सेवा सञ्चालन सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गरेको छ ।
त्यस्तै कार्यपालिका बैठकले उपमहानगरपालिकालाई आवश्यक रहेको चार कानुन तर्जुमा र संशोधन गर्न सैद्धान्तिक सहमति दिएको छ । उपमहानगरपालिका उद्योग व्यवसाय दर्ता सम्बन्धी ऐन, सार्वजनिक सम्पत्ति व्यवस्थापन तथा सञ्चालन सम्बन्धी कार्यविधि, उद्यमी समूह गठन, व्यवस्थापन तथा सञ्चालन अनुदान कार्यविधि, २०८० को पहिलो संशोधन र कृषि तथा पशुपालन अनुदान वितरण कार्यविधि, २०७९ को पहिलो संशोधन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको प्रवक्ता न्यौपानेले बताउनुभयो ।
रोजगारीको प्रलोभनमा गैरकानुनी बाटोबाट नजान दूतावासको आग्रह
१९ वैशाख, काठमाडौँ I इस्लामावाद स्थित नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत्र परेका जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग गर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
दूतावासले ठगीमा परेकामध्ये केहीलाई किर्गीस्तानको बाटो प्रयोग गरी अन्य मुलुकमा पठाउने आश्वासन दिइएको जानकारी प्राप्त भएको बताउँदै अलपत्र परेकामध्ये केहीलाई उद्धार गरी नेपाल फर्काइएको, केही फर्कने क्रममा रहेका तर त्यहाँ नेपाली पुग्ने क्रम नरोकिएकामा चिन्ता व्यक्त गरेको छ ।
दूतावासले मङ्गलबार जारी गरेको सूचनामा भनिएको छ, “नेपालीलाई आकर्षक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने र अलपत्र पार्ने काममा संलग्नहरूमा केही नेपाली र केही विदेशी समेत रहेका जानकारी प्राप्त भएको छ । यसरी गलत प्रलोभनमा नेपाली नागरिकलाई विदेश पुर्याएर अलपत्र पार्ने गैरकानुनी काममा संलग्न हुने व्यक्ति-समूहले प्रचलित कानुनको सामना गर्नुपर्ने हुन्छ । ठगी गर्ने गिरोहको प्रलोभनमा नफस्न र वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले व्यवस्था गरेको स्थापित र कानुनी बाटोमात्र प्रयोग गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।”
तीन दशमलव ५४ प्रतिशत आर्थिक वृद्धिदरको अनुमान
१८ वैशाख, काठमाडौँ : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालले तीन दशमलव ५४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको छ । चालु आवको बजेट मार्फत सरकारले छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेकोमा लक्ष्यको आधा बराबर मात्रै वृद्धिदर हासिल हुने अनुमान तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको हो ।
तथ्याङ्क कार्यालयले आज आव २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । “चालु आव २०८०/८१ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा तीन दशमलव ५४ प्रतिशत र उपभोक्ता मूल्यमा तीन दशमलव ८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ”, कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चालु आव २०८०/८१ मा उपभोक्ता मूल्यमा आधारित मुलुकको अर्थतन्त्रको आकार रु ५७ खर्ब चार अर्ब पुग्ने अनुमान छ ।” त्यसैगरी, गत आव २०७९/८० मा नेपालको अर्थतन्त्रको आकार रु ५३ खर्ब ४८ अर्ब बराबर रहेको पनि तथ्याङ्क कार्यालयले जनाएको छ ।
तथ्याङ्क कार्यालयले चालु आवमा कृषि क्षेत्रको वृद्धिदर प्रक्ष्येपण तीन दशमलव ०५ र गैरकृषि क्षेत्रको वृद्धि तीन दशमलव ७५ प्रतिशत रहने अनुमान गरेको छ । त्यसैगरी, प्राथमिक क्षेत्र तीन प्रतिशत, द्वितीय क्षेत्र एक दशमलव दुई प्रतिशत र सेवा क्षेत्र चार र दशमलव पाँच प्रतिशत रहेको छ ।
चालु आवमा प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन अमेरिकी डलर एक हजार चार सय ३४ हुने प्रारम्भिक अनुमान गरिएको छ भने प्रतिव्यक्ति कूल राष्ट्रिय आय अमेरिकी डलर एक हजार चार सय ४५ रहने अनुमान गरिएको छ । चालु आवमा विभिन्न क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर हेर्दा स्वास्थ्य तथा सामाजिक कार्यतर्फ पाँच दशमलव ५२, शिक्षातर्फ दुई दशमलव ७१, सार्वजनिक प्रशासन तथा रक्षातर्फ चार दशमलव ४९, प्रशासनिक तथा सहयोगी सेवातर्फ चार दशमलव ०४, पेसागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलापतर्फ चार दशमलव १५ प्रतिशतको वृद्धिदर अनुमान गरिएको छ ।
त्यसैगरी, घरजग्गा कारोबारतर्फ दुई दशमलव ९८, वित्तीय तथा बीमा क्षेत्रतर्फ सात दशमलव ८०, सूचना तथा सञ्चारतर्फ चार दशमलव ९१ प्रतिशत, आवास तथा भोजन सेवातर्फ ८१ दशमलव ८४ प्रतिशत र यातायात तथा भण्डारण सेवातर्फ ११ दशमलव ८९ प्रतिशतको वृद्धि अनुमान गरिएको छ ।
थोक, खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवातर्फ शून्य दशमलव १६, पानी आपूर्ति, ढल व्यवस्थापनलगायत क्षेत्रमा दुई दशमलव ८०, विद्युत् ग्यास तथा वातानुकूलित आपूर्ति सेवातर्फ १७ दशमलव ४४, खानी तथा उत्खननतर्फ दुई दशमलव ३१, कृषि, वन तथा मत्स्यतर्फ तीन दशमलव ०५ प्रतिशत वृद्धि रहने अनुमान गरिएको छ ।
चालु आवमा उद्योग र निर्माण क्षेत्रको मूल्य अभिवृद्धिदर ऋणात्मक रहने अनुमान गरिएको छ । उद्योग क्षेत्र एक दशमलव ६० र निर्माण क्षेत्र दुई दशमलव ०७ ले ऋणात्मक रहने कार्यालयले जनाएको छ । राष्ट्रिय लेखा अनुमान गर्न संयुक्त राष्ट्रसङ्घ, युरोपियन युनियन, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, आर्थिक विकास तथा सहयोगका लागि सङ्गठनजस्ता अन्तर्राष्ट्रिय संस्थाद्वारा संयुक्तरुपमा विकास गरेको राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय लेखा तथ्याङ्क अनुमान गरी प्रकाशन गर्दछ ।
वैदेशिक रोजगारी छाडेर तरकारी खेतीमा रमाउँदै गोविन्द
१८ वैशाख, कञ्चनपुर I वैदेशिक रोजगारी छाडेर शुक्लाफाँटा नगरपालिका – ३ पीपलाडीका गोविन्द दहित तरकारी खेतीमा रमाउँदै आउनुभएको छ । तरकारी खेती गरेर उहाँले मासिक रुपमा रु एक लाख ५० हजार जति आम्दानी गर्दै आउनुभएको छ । बाह्रै महिना दहितले खेतमा मौसमी र बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ ।
“दैनिक रु सात हजार जतिको तरकारी बिक्री हुन्छ,” उहाँले भन्नुभयो, “दुई हजार ढुवानी खर्च कटाएर रु पाँच हजार बचत हुन्छ ।” दहितले अफ्नो स्वामित्वको डेढ बिघा जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ । चैत महिनादेखि वैशाखको हालसम्म उहाँले रु तीन लाखको तरकारी बिक्री गर्नुभएको छ । उहाँले बारीमा लौका, खुर्सानी, फर्सी, तोरिया, तीते करेला, तरभूजा, काँक्रा फलाएका छन् । तरकारीका लागि खेत तयार गर्ने, सिँचाइ, मल, बीउसम्म गरी रु ६० हजार जति लगानी गरिएको दहितले बताउनुभयो । कम्तीमा रु ४० देखि रु एक सय २० प्रतिकिलो थोकमा तरकारी बजारसम्म पु¥याएर बिक्री गरिँदै आएको उहाँको भनाइ छ । “थोरै तरकारी टिपेको दिन नजिकैको झलारी बजारसम्म मोटरसाइकलमा तरकारी पुयाएर बिक्री गछौँ ” उहाँले भन्नुभयो, “बढी तरकारी टिपेको बेला ट्र्याक्टर र अटोमा तरकारी ढुवानी गरी महेन्द्रनगर स्थित तरकारी बजारमा पुयाएर बिक्री गर्छौं ।”
बजारमा अग्र्यानिक तरकारीको माग बढी भएकाले घरमै उत्पादन भएको जैविक मललाई बढी प्रयोगमा ल्याउने गरेको उल्लेख गर्नुहुँदै उहाँले कीराको प्रकोप भएका बेला घरमै बनाइएको जैविक विषादीको प्रयोग गरिँदै आएको बताउनुभयो । उहाँका अनुसार बर्सातका बेला लौका, काँक्रा, फर्सी, चिचिण्डा, तोरिया, घिरौँला र हिउँदमा गोलभेँडा, खुर्सानी, काउली, बन्दा, रामतोरिया, हरियो सागपात, धनियाँ, आलु, प्याजलगायतको तरकारी उत्पादन हुने गरेको छ । तरकारी खेतीबाटै बढी आम्दानी हुने भएकाले अन्नबाली भने दहितले लगाउन छाडेका छन् ।
तरकारी खेतीको कमाईबाट दहितले खेत जोत्नका लागि पावर टिलर, सिँचाइका लागि विद्युतीय मोटर खरिदसँगै पक्की घर निर्माणका लागि जग हाल्ने कार्य गरेका छन् । सरकारी तवरबाट सञ्चालन हुने तरकारी उत्पादनसम्बन्धी तालिम र अनुदानका कार्यक्रममा भने दहितलाई अहिलेसम्म समेटिएको छैन । स्थानीय किसानले गरेको तरकारीखेती लगाउने तौरतरिका सिकेर तरकारी खेतीमा व्यावसायिक रुपमा लागेको उहाँको भनाइ रहेको छ । दुई÷दुईपटक वैदेशिक रोजगारीमा जाँदा लागेको कर्जा तरकारी खेतीको कमाईले तिर्न भ्याएको उहाँ सुनाउनुहुन्छ । “गाउँको समूहबाट रु एक लाख ५० हजार कर्जा लिएर वैदेशिक रोजगारीबाट मनग्य कमाई हुने अभिलाषा बोकेर मलेसिया पुगे दहितले भन्नुभयो, “आकर्षक तलब, ओभरटाइम हुन्छ भनेकाले गतिलो कमाइ हुने ठानेर त्यसतर्फ लागँे, मलेसिया पुगेपछि १८ घण्टा काम गर्दा महिनामा रु २० हजार जति तलब दिइन्थ्यो, एकजनाको जीउ पाल्न कठिन भएपछि दुई वर्ष कटाएर घर फर्केँ ।”
“घर फर्केेको केही महिनापछि पुन: समूहबाटै रु एक लाख थप कर्जा मागेर कतारतर्फ गएँ,” दहितले दुखेको पोख्दै भन्नुभयो, “कतारमा पनि जति सोचेको थिएँ त्यस्तो तलब पाइन, खाना खर्च कटाएर महिनामा रु १० हजार जति बचाउन सकिन्थ्यो, त्यही पैसा घर पठाउँथेँ, वैदेशिक रोजगारीबाट आउने कमाईले घर खर्च र समूहको पैसा तिर्न नपुग्ने भएपछि घर फर्किएँ ।” घर फर्केको केही दिनपछि स्थानीय साथीभाइको सल्लाहमा तरकारी खेती गर्न थालेको उहाँले उल्लेख गर्नुभयो ।
तरकारी खेतीमा श्रीमती, बुबाआमा र आफूले मेहनत गर्न थालेपछि आम्दानी बढेर वैदेशिक रोजगारीमा जाँदा लागेको ऋण चुक्ता गरी बैङ्कमा भविष्यका लागि रकम बचत गर्न सम्भव भएको उहाँले बताउनुभयो । “वैदेशिक रोजगारीमा जाँदा लागेकोजस्तो ऋण छैन, बैङ्कमा रकम बचत छ, परिवारसँग बसेर सुखदुःख साटासाट गरी सहज जीवनयापन गर्न सकिएकामै आत्मसन्तुष्टि छ,” उहाँले भन्नुभयो । विदेशमा गर्ने जस्तो परिश्रम स्वदेशमै गरे सोचेकोभन्दा बढी आम्दानी गर्न सकिने भएकाले विदेश जानुभन्दा स्वदेशमै स्वरोजगार हुन युवालाई उहाँ सन्देश दिनुहुन्छ ।
इतिहास जोगाउन स्थानीय सरकार
धनकुटा जिल्लाको चौबिसे गाउँपालिका (साबिकको कुरुले तेनुपा गाविस) मा एउटा थुम्को छ । त्यस थुम्कोलाई गढी भनिन्छ । त्यस थुम्कोमा अहिले कुरुले तेनुपा माध्यमिक विद्यालयको भवन छ । ऐतिहासिक रुपमा सामरिक र प्रशासनिक दृष्टिकोणले अत्यन्तै ठूलो महत्त्व राख्ने कुनै बेला एउटा गढी थियो यो थुम्कोमा तर अब यस ऐतिहासिक गढीको कुनै पनि भौतिक संरचनाको अवशेष देख्न पाइँदैन । इतिहासको यो गढी अब एकादेशको दन्त्यकथा जस्तै हुन पुगेको छ ।
इतिहासकारहरुले गरेको यो गढीको चर्चा अनुसार यसको महत्त्व प्राचीनकालतिर पुग्छ । इतिहासकारद्वय प्रेमबहादुर मावोहाङ र भूपेन्द्रनाथ ढुङ्गेलले २०११ सालमा छापिएको आफ्नो पुस्तक सङ्क्षिप्त नेपाल इतिहासमा यो गढी यस क्षेत्रमा लिम्बूहरुको बसोबास सुरु भए देखि नै तत्कालीन लिम्बू राजा मावोहाङ रायले निर्माण गरेको उल्लेख गरेका छन् ।
यस्तै, इतिहासकार शिवकुमार श्रेष्ठले २०४२ सालमा प्रकाशित भएको आफ्नो पुस्तकमा यो गढी लिम्बू राजा साइयोकहाङले निर्माण गरेको उल्लेख गरेका छन् । यो गढीका बारेमा पृथ्वीनारायण शाहको पत्रमा पनि उल्लेख छ । १८३१ साउनमा विजयपुरबाट अभिमानसिंह बस्न्यात र पारथ भण्डारीको नेतृत्वमा उत्तर पाँचथर तिर बढेको गोर्खाली सेना यो गढी पुगेको र त्यहाँ बाट अगाडि बढेको पृथ्वीनारायण शाहको पत्रमा उल्लेख छ । सेनकालमा यो गढीबाट महत्त्वपूर्ण प्रशासन चल्थ्यो भन्ने ऐतिहासिक तथ्यको सङ्केत पृथ्वीनारायण शाहको पत्रबाट पनि मिल्छ । पछि सम्म यो गढीका कुरुवाहरुलाई जिम्मेवारी र जागिरहरु दिइएका ऐतिहासिक लालमोहरहरु पाइएका छन् ।
इतिहासको महत्त्व बुझ्न नसक्दा त्यस महत्त्वपूर्ण ऐतिहासिक स्थललाई मासेर विद्यालय भवन निर्माण गरिएको देखिन्छ । अब फेरि सञ्चालनमा आएको विद्यालय भवनलाई भत्काएर गढी भएको यो स्थलको उत्खनन् गर्न सम्भव छैन । त्यसैले यस गढी सम्बन्धी प्राप्त हुनसक्ने ऐतिहासिक पत्रहरु केलाएर गढी सम्बन्धी ऐतिहासिक अभिलेख भने राख्न सकिन्छ ।
धनकुटाको कुरुले गढी मासिए जस्तै नेपालमा यस्ता ऐतिहासिक स्थलहरु कति मासिए होलान् ? अब अन्य कुनै पनि ऐतिहासिक स्थलहरुलाई मासिनबाट जोगाउन सरोकारवाला स्थानीय सरकारले विशेष बुद्धिमत्ता अपनाएर पहलकदमी गर्न जरुरी छ । प्रकृतिले दिएको मात्रै होइन, पुर्खाले छाडी गएको निसानीले वर्तमानको गौरवलाई समृद्ध बनाउँछ । यस्ता गौरवहरु भावी पुुस्तालाई समर्पण गर्न सकिए उनीहरु पनि गौरवान्वित हुनेछन् । पुर्खाको निशानी मास्नु भनेको आफ्नै गौरव र सभ्यतालाई छिन्नभिन्न बनाउनु हो । यस्तो कार्यलाई किमार्थ उचित मान्न सकिन्न ।
शिलालेखहरुको संरक्षण
हाम्रा पुर्खाहरुको समयमा सुधारका लागि जनहितको काम गर्दा चौतारा, हिटी, पोखरी, मन्दिर तथा पाटीपौवा आदि बनाउने चलन थियो । यिनीहरुसँगै शिलालेख राखेर आफ्नो धर्मकीर्तिका बारेमा जानकारी दिने चलन थियो । अहिले पनि यस्ता महत्त्वपूर्ण शिलालेखहरु ठाउँठाउँमा भेटिन्छन् । कतिपय शिलालेखहरु त मासिएर पनि गएका छन् । कतिपय शिलालेखहरु घर वा सडक बनाउँदा प्रयोग भए होलान् ।
स्थानीय सरकारहरुले आफ्नो पालिका क्षेत्रभित्र रहेका सार्वजनिक स्थलका शिलालेखहरुको संरक्षण गर्न पहल गर्नुपर्छ । यस्ता शिलालेख राख्ने व्यक्ति वा परिवारले दर्साएको परोपकारी व्यवहारलाई उचित मूल्याङ्कन गर्नु वर्तमान पुस्ताको दायित्त्व भित्र पर्छ । यस्ता कीर्ति राख्नका लागि अरुलाई पनि उत्प्रेरित गर्न सकिने हुँदा इतिहासका यस्ता प्रमाणहरुलाई नष्ट हुनबाट जोगाउन स्थानीय सरकारहरुले गम्भीरता पूर्वक काम गर्न सक्छन् । भौतिक विकास तथा निर्माण गर्ने नाममा ऐतिहासिक धरोहरहरु सँगै इतिहासको प्रमाण बोल्ने शिलालेखहरु नष्ट हुन सक्नेतर्फ स्थानीय सरकार सावधान हुन जरुरी छ । इतिहासलाई नष्ट पार्ने अधिकार कसैलाई छैन ।
यस्तै, मन्दिरमा चढाइने घण्ट तथा ताम्रपत्रहरुमा पनि अभिलेखहरु लेखिएको पाइन्छ । यिनीहरु पनि इतिहासको प्रमाण बोल्ने साक्षीहरु हुन्, जसलाई संरक्षण गर्न स्थानीय सरकार प्रशस्तै कामहरु गर्न सक्छन् । शिलालेखहरुको संरक्षणको सन्दर्भमा हनुमानढोका दरबार क्षेत्रमा भेटिएको एउटा शिलालेखबारे यहाँ चर्चा गर्न उपयुक्त हुनेछ ।
इतिहासकार गौतमबज्र बज्राचार्यले आजभन्दा ५० वर्षअघि हनुमानढोका दरबार क्षेत्रको अध्ययनका क्रममा एउटा यस्तो शिलालेख फेला पारे, जुन हनुमानढोकाको देगुतले मन्दिरमा पेटी बनाउन प्रयोग गरिएको थियो । यसरी पेटी बनाउन प्रयोग गरिएको कारण शिलालेखको धेरै भाग खण्डित हुन पुगेको छ । अंशुवर्माको समयको यो शिलालेखमा ‘किरात’ भन्ने शब्द परेको छ ।
नेपालका किरातकाल थियो र किराती राजाहरु थिए भन्ने वर्णन गोपालराजवंशावली लगायत अन्य केही वंशावलीमा पाइन्छ तर किरात लेखिएको कुनै अभिलेख भने पाइएको थिएन । लिच्छवीकालमा ‘किरात’ लेखिएको शब्द फेला परेकाले किरातकाल थियो भन्ने प्रमाण जुटाउनका लागि महत्त्वपूर्ण हुने यो शिलालेख माथि इतिहासकार गौतमबज्र बज्राचार्यको पहिलो नजर पर्न गयो । त्यसपछि यो शिलालेखलाई इतिहासकारहरु धनबज्र बज्राचार्य तथा महेशराज पन्तले गम्भीरतापूर्वक अध्ययन गरेको पाइन्छ ।
अहिले यो शिलालेख हनुमानढोका सङ्ग्रहालयमा सुरक्षित राखिएको छ । गौतमबज्र बज्राचार्य जस्तो मर्मज्ञ इतिहासकारको नजर नपरेको भए यो शिलालेखको हालत के हुने थियो होला ? यस्ता ठूला महत्त्वका शिलालेखहरु स्थानीय स्तरमा पनि पाइने हुँदा तिनीहरुको संरक्षण गर्न सके इतिहास संरक्षणमा ठूलो योगदान गर्न सकिन्छ । यसबारे स्थानीय सरकारले हेक्का राख्न जरुरी छ, यस्ता शिलालेखहरु रोडा गिट्टीमा परिणत नहोउन् ।
भौतिकसँगै बौद्धिक विकास
झट्ट हेर्दा भौतिक विकास निर्माण मात्रै स्थानीय सरकारको दायित्त्व भित्र पर्ने काम हो कि जस्तो पनि लाग्छ । नेपालको सबै ठाउँमा सडक, विद्युत्, विद्यालय, खानेपानीजस्ता भौतिक पूर्वाधारहरुको विकास भइनसकेका कारण प्रायः सबैजसो स्थानीय सरकारले भौतिक पूर्वाधारमै जोडबल गरेको देखिन्छ । यसकै लागि स्थानीय सरकारहरुले अधिकतम बजेट छुट्याएर काम गरिरहेका छन् । यो अनावश्यक काम होइन तर भौतिक विकास र निर्माणसँगै पुरातात्विक र ऐतिहासिक धरोहरको संरक्षण र तिनीहरुको अभिलेखीकरणलाई पनि उत्तिकै प्राथमिकताको सूचीमा राखेर स्थानीय सरकारले उचित कदम चाल्न सके यसले उक्त पालिका क्षेत्रको बौद्धिक सौन्दर्य र पहिचानलाई यथोचित रुपमा स्थापित गर्न सक्छ । किनकि ऐतिहासिक धरोहरहरुको संरक्षण र अभिलेखीकरणले इतिहास संरक्षणका लागि वास्तविक सहयोग पुयाउँछ । इतिहास भनेको ज्ञानको स्रोत हो । ज्ञानको स्रोतको संरक्षण बौद्धिक विकासको पर्याय हो । यस प्रकारको पहल कदमीबाट पनि ती पालिकाहरुको बौद्धिक सभ्यता आङ्कलन गर्न सकिन्छ ।
उदाहरणका लागि तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाको कामलाई लिन सकिन्छ । यस नगरपालिकाले चोत्लुङ पार्क निर्माण गर्दा पार्कभित्र लिम्बू परम्परागत घर निर्माण गरेको छ । यस नगर क्षेत्रमा घुम्न वा काम विशेषले पुग्नेहरु मध्ये सबैजसो यो पार्कमा पुग्छन् । त्यहाँ पुगेर लिम्बू परम्परागत घरलाई पृष्ठभूमिमा राखेर फोटो खिचाउँछन्, कोही सेल्फी खिच्छन् । यसरी यो पार्कले पर्यटकहरुलाई आकर्षण गरिरहेको छ । यो पार्क भित्र रमिता हेर्ने, फोटो खिच्ने र रमाउने साधनहरु मात्रै छैनन्, लिम्बू परम्परागत घरभित्र सिङ्गो सङ्ग्रहालय पनि छ ।
यस सङ्ग्रहालयमा पुराना भौतिक सामग्रीहरु प्रदर्शनमा राखिएका छन् । अझ यो सङ्ग्रहालयको अर्को विशेषता हो, पुराना अभिलेख तथा पुस्तकहरुको सङ्ग्रह । सङ्ग्रहालयभित्र सुरक्षित पुराना कागजपत्रहरु इतिहास अध्येताहरुका लागि ठूलो राहतका साधनहरु हुन् । त्यसैले यो पार्कमा पुग्दा भौतिक मनोरञ्जन मात्र होइन, बौद्धिक मनोरञ्जन पनि प्राप्त गर्न सकिने हुँदा यो पार्कको लक्ष्य प्राज्ञिक पर्यटन प्रवद्र्धन पनि रहेको देखिन्छ, खासगरी इतिहासको क्षेत्रमा ।
यस नगरपालिकाको मेयर अर्जुनबाबु माबुहाङ आफैँ पनि इतिहासकार र लिम्बू मुन्धुमविद् हुन् । उनले आफ्नो ज्ञानको भरमग्दुर प्रयोग यो पार्कमा गरेको देखिन्छ । पहिलेको तुलनामा अहिलेका स्थानीय सरकारहरु धेरै स्वायत्त र अधिकार सम्पन्न छन् । यस्तो अधिकार र स्वायत्ततालाई केबल भौतिक विकास र निर्माणको क्षेत्रमा मात्रै लागू गर्न हुँदैन । विकासको मापन भौतिक उन्नति र परिवर्तनको आधारमा मात्रै गरिनु हुँदैन । अझ भौतिक विकास निर्माणका क्रममा ऐतिहासिक र सांस्कृतिक सम्पदा ध्वस्त हुन पुगेको सन्दर्भ यो लेखको सुरुमै उल्लेख भइसकेको छ । विद्यालय भवन निर्माणको नामका एउटा सिङ्गो ऐतिहासिक गढीलाई मैदान हुनबाट जोगाऔँ । (लेखक इतिहास अध्ययनमा रुचि राख्नुहुन्छ)
