बिहिबार, २१ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HW5JMCGNV6C0SC4KZWPV8EYE.jpg

ताप्लेजुङको याङमा गाउँमा प्राथमिक स्वास्थ्य एकाइ, बाल शिक्षा र पशु सेवा केन्द्र स्थापना

फुङ्लिङ (ताप्लेजुङ), ११ वैशाख I ताप्लेजुङको उच्च स्थान रहेको याङमा गाउँमा प्राथमिक स्वास्थ्य एकाइ, बाल शिक्षा र पशु सेवा केन्द्र स्थापना भएको छ ।  समुद्र सतह देखि चार हजार दुई सय मिटर उचाइमा रहेको याङमा शिक्षा, स्वास्थ्य, सञ्चार तथा यातायातको पहुँच पुगेको थिएन । यहाँ आलु खेती बाहेक अन्य बाली हुँदैन । यहाँका समुदायको मुख्य पेसा चौँरी याक गोठ हो । यहाँको याक चीनमा बिक्री हुन्छन् तर कोभिड–१९ का कारणले नाका बन्द भएको अहिले सम्म खुला हुन नसक्दा गोठमा चौँरी याक बिक्री गर्न सकेका छैन । 

याङमा गाउँमा मतदान गराउँन निर्वाचनको समय बाहेक सरकारी निकायका प्रतिनिधि याङमा गाउँमा खासै पुग्दैन । गत दसैँको समयमा फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूको नेतृत्वमा गाउँपालिका जनप्रतिनिधि याङमा गाउँ पुग्नुभएको थियो । यो भ्रमण नै अहिलेसम्मको उच्चस्तरीय भ्रमण भएको स्थानीयको भनाइ छ । 

सो अवसरमा सञ्चार, शिक्षा, स्वास्थ्य तथा विद्युत्लगायका माग राखेका थिए । यसैलाई ख्याल गरेर गाउँपालिकाले गत साता याङमा गाउँमा स्वास्थ्य एकाइ, बाल शिक्षा र पशु सेवा केन्द्र स्थापना गरेको छ । याङमा गाउँमा विगतमा याङमा आधारभूत विद्यालय सञ्चालनमा थियो । विद्यार्थी नै नभए पछि २०७५ मा ओलाङचुङगोला रहेको विद्यालयमा मर्ज गरिएको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाले बताउनुभयो । स्वास्थ्य एकाइ र पशु सेवा भने पहिलो पटक याङमा गाउँमा स्थापना भएको लामाले बताउनुभयो ।

पुस्तौँ देखि याङमा गाउँका नागरिक बिरामी हुँदा वनजङ्गलमा रहेको जडीबुटीमै भरपर्दै आएका थिए । तर गत साता यस क्षेत्रमा स्वास्थ्य एकाइ स्थापना भएसँगै स्वास्थ्य क्षेत्रमा राहत पुगेको स्थानीय बताउँछन् । यहाँको मुख्य पेसा पशुपालन (चौँरी याक) हो । गाउँमा पशु प्रविधिक नहुँदा ठूलो क्षति बेहोर्दै आएको थियो । विभिन्न प्रकारका रोग साथै वन्यजन्तुबाट आक्रमणले घाइते पशु उचित उपचार नभएपछि किसानको ठूलो क्षति  हुने गरेको थियो । विभिन्न कारणले यहाँका किसानले क्षति बेहोर्नुपर्ने देखिए पछि कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले पशुधन बिमा कार्यक्रम मार्फत यहाँका चौँरी याकहरुको बिमा कार्यक्रम समेत सञ्चालन गरेको छ । 

सञ्चार सेवाको पहुँचबाट समेत टाढा रहेको यस क्षेत्रका बासिन्दाले स्वास्थ्य एकाइ नहुँदा प्राथमिक उपचारका लागि समेत एक दिनको पैदलयात्रा गरेर ओलाङचुङगोला पुग्नुपथ्र्यो । दश घर मात्रै रहेकाले याङ्मामा यसअघि विद्यालय रहेको भने तापनि बसाइँसराइले पठनपाठन भने बन्दको अवस्था रहेकोमा त्यहाँका बालबालिकाले पढाइबाट वञ्चित भएकाले बालबालिकाले पढाइबाट वञ्चित हुनु नपरोस् भनेर प्रारम्भिक बाल शिक्षा केन्द्र स्थापना गरिएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो ।

गाउँपालिकाको केन्द्र तापेथोकबाट यो बस्तीमा पुग्न पूरै दुई दिन र वडा कार्यालय रहेको ओलाङ्चुङगोलाबाट एकदिन पैदल हिँड्नुपर्छ । यहाँ नियमित सञ्चार सम्पर्क हुँदैन । सञ्चार सम्पर्कका लागि पाँच घण्टा हिँडेर डाँडामा जानुपर्ने वडाध्यक्ष छेतेन बताउनुभयो । त्यो पनि मौसमले साथ दिएमात्रै फोन लाग्छ । सञ्चार सुविधाका लागि ओलाङचुङगोलामा ‘फोरजी’ राख्ने र यहाँको टुजीको टावर याङ्मा लैजाने गरी नेपाल टेलिकमसँग सम्झौता भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मितिः मङ्गलबार, ११ वैशाख २०८१
https://jawaaf.com/storage/01HW3499ZBZ7DJZX42WCE3F82R.jpg

मौसम विशेष बुलेटिन जारी : तराईमा अत्याधिक गर्मी हुने, तातो लहरबाट बच्न अनुरोध

काठमाडौँ, १० वैशाख I जल तथा मौसम विज्ञान विभागले विगत केही दिन देखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेकाले गर्मी बढी हुने जनाएको छ । विभागले लुम्बिनी प्रदेश तथा मधेस प्रदेशको तराई भूभागका थोरै स्थानमा बिगत दुई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भूभागको थोरै स्थानमा बिगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको भन्दै तापक्रम बढ्ने हुँदा सचेत हुन आज विशेष बुलेटिन सार्वजनिक गर्दै अनुरोध गरेको छ । 

विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको उक्त बुलेटिनमा आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध गरिएको छ । 

“ती भूभागमा आगामी ५ दिन (२०८१ वैशाख १० गते देखि २०८१ वैशाख १४ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । साथै पहाडी भूभागका उपत्यका तथा खोचमा तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनुहुन अनुरोध छ”, बुलेटिनमा उल्लेख छ ।

महाशाखाले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न पनि अनुरोध गरेको छ ।  

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन अनुरोध गरिएको छ । 

प्रकाशित मितिः सोमबार, १० वैशाख २०८१
https://jawaaf.com/storage/01HW2YAKT9C53GWFAFT3A7ZVD6.jpg

कर्म सिकाउने शिक्षा

बलेवा (बागलुङ), १० वैशाख I विद्यालय परिसरमा जडीबुटीको बगैँचा । जडीबुटीको बगैँचा विद्यार्थीले बनाएका हुन् । बोझो, सिकारी लारो, सतुवा, पुदिना, दमकेर्ना, मरौटी, हलहले, असुरो, तितेपाती, दुबो, वन लसुन, टिमुरलगायतका जडीबुटी बगैँचामा लगाइएका छन् ।

विद्यालयको पुरानो भवन उपयोग गरेर च्याउखेती । विद्यालय नजिकैको बारीमा उखुखेती फस्टाइरहेको छ । अदुवा, बेसारजस्ता मसला बाली लगाउने र उकेर्ने विद्यार्थी आफैँ गर्छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशस्थित रेश नुन्थला माध्यमिक विद्यालयका विद्यार्थीको दैनिकी बनेका छन् यी काम ।

पाठ्यक्रममा हुने पठनपाठन विद्यालयको कक्षाकोठाभित्र हुन्छ । त्यो पढाइले मात्रै सबै विद्यार्थीको जीवनयापन गर्ने कला सिकाउँछ भन्ने छैन । तर विद्यालयले पाठ्यक्रमभन्दा बाहिरका जुन क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराइरहेको छ, त्यो विद्यार्थीको परिवारको दैनिकीसँग जोडिएका विषय हुन् भन्नुहुन्छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद थापा । जसले उनीहरुलाई कर्म गर्न सिकाइ जीवनयापन गर्न बाटो देखाउने उहाँको विश्वास छ । 

विद्यालयले जग्गा भाडामा लिएर विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप गर्ने दिन कृषि कर्ममा लगाउने गरेको प्रधानाध्यापक ओमबहादुर थापाले बताउनुभयो । व्यावहारिक र प्राविधिक ज्ञान अहिलेको आवश्यकता भएको भन्दै विद्यालयले सीप सिकाइ कर्म देखाउन लागेको हो । विद्यालयका काममा वडा कार्यालय सहयात्री बनेको छ । गाउँपालिकाले सहयोग गर्छ । विद्यार्थीले उत्पादन गर्ने तरकारी तथा मसलाबाली विद्यालयले नै बजारीकरण गर्छ । उखु पनि विद्यालयले बिक्री गर्छ । “हामीले गरेका कामले विद्यार्थीलाई सिकाइ र विद्यालयलाई स्रोत भइरहेको छ”, थापा भन्नुहुन्छ, “यही कमाइबाट न्यून आय भएका परिवारका बालबालिकालाई छात्रवृत्ति दिन्छौँ, जसले उनीको पढाइलाई निरन्तरता दिन सहयोग गरिरहेको छ ।”

विद्यालयले व्यावहारिक सीप कक्षामा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी गराउने गरेको छ । रौँ काट्ने, दुनाटपरी गाँस्ने र कुचो बुन्नेजस्ता काम विद्यार्थीलाई सिकाइन्छ । “हामीले शुक्रबार अतिरिक्त क्रियाकलाप गराउँदा सबै क्रियाकलाप सीपमूलक गराउने गरेका छौँ, विद्यार्थी निकै उत्साहका साथ सहभागी हुन्छन्”, विद्यालयका विज्ञान शिक्षक शङ्कर थापाले भन्नुभयो, “कितावमा चित्र देखाएर होइन विद्यालय परिसरमा वास्तविकता देखाएरै सिकाउँदा पढाई पनि निकै प्रभावकारी हुँदोरहेछ, पढाउँदा विद्यार्थीले जान्दछन् तर देखाएरै पढाउँदा विद्यार्थीले सिकेका छन् ।”

विद्यालयमा सबै सीपमूलक कक्षाका लागि कुनै पनि शुल्क लाग्दैन । शिक्षकले जानेको आफैँले सिकाउँछन् भने विषयविज्ञको आवश्यकता हुँदा विद्यालयको खर्चमा बाहिरबाट ल्याइन्छ ।

प्रकाशित मितिः सोमबार, १० वैशाख २०८१
https://jawaaf.com/storage/01HW2S391GAV6K9RPMC0MWN0KM.jpg

सर्लाहीमा आठ हजार बढी बालबालिका अझै विद्यालय बाहिर

बरहथवा (सर्लाही), १० वैशाख : राष्ट्रव्यापीरुपमा भर्ना अभियान सञ्चालन भइरहँदा सर्लाहीमा आठ हजार बढी विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ    जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्क अनुसार तीन हजार सात सय ९७ जना बालिका र चार हजार चार सय ८० जना बालक गरी आठ हजार दुई सय ७७ जना विद्यालय उमेरका बालबालिका विद्यालय बहिर रहेका हुन् । विशेष गरेर विपन्न, दलित तथा मुस्लिम समुदायका बालबालिका विद्यालय बाहिर रहेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिलकुमार कुशवाहले जानकारी दिनुभयो ।     
     

तथ्याङ्क अनुसार जिल्लामा सबैभन्दा धेरै बरहथवा नगरपालिकामा विद्यालय उमेरका बालबालिका विद्यालय नजाने गरेको पाइएको हो । सबैभन्दा कम पर्सा गाउँपालिकाका बालबालिका विद्यालय बाहिर छन् । बरहथवा नगपालिकामा पाँच देखि १२ वर्ष उमेर समूहका तीन सय ६९ जना बालिका र चार सय ६३ जना बालक गरी आठ सय ३२ बालबालिका विद्यालय बाहिर छन् ।     
     
यस्तै सबैभन्दा कम पर्सा गाउँपालिकामा एक सय १५ जना बालिका र एक सय २७ जना बालक गरी दुई सय ४२ जना बालबालिका विद्यालय बाहिर रहेका छन् । समाजमा अझै पनि धेरै अभिभावकमा बालबालिका पढाउनुपर्छ भन्ने चेतना नभएको पर्सा गाउँपालिका–१, स्थित प्राथमिक विद्यालयका शिक्षक रामनारायण रायले बताउनुभयो । यसरी विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना अभियान मार्फत् विद्यालयमा ल्याइने शिक्षक रायले बताउनुभयो ।     
     
अन्य पालिकामा पनि विद्यालय उमेरका बालबालिका अझै विद्यालय बाहिर रहेको तथ्याङ्कले देखाएको छ । विशेष गरेर गरिबी तथा चेतनास्तरको कमीका कारण बालबालिकालाई अभिभावकले विद्यालय नपठाउने गरेको पाइएको छ । धेरै अभिभावक इँटाभट्टा लगायत स्थानमा मौसमी कामदारका रुपमा जाने गर्दा पनि बालबालिका विद्यालय बाहिर रहने गरेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्रमुख रामवृक्ष महतोले बताउनुभयो ।     
     
यसरी विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन जिल्लामा यतिबेला भर्ना अभियान चलिरहेको छ । विद्यालयका शिक्षक शिक्षिका व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थितिमा र्याली तथा घर दैलो कार्यक्रम समेत सञ्चालन भइरहेको छ । अधिकांश पालिकाले यस वर्ष विद्यालय उमेरका बालबालिकालाई शतप्रतिशत विद्यालय भर्ना गरिने बताएका छन् ।     
 

प्रकाशित मितिः सोमबार, १० वैशाख २०८१
https://jawaaf.com/storage/01HVY2PZTCJCYYD5GNYAECJ654.jpg

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

फुङ्लिङ (ताप्लेजुङ), ८ वैशाख I ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ हजार चार सय ३८ भक्तजन पूजापाठका लागि पुगेका छन् । 

चैतेदसैँको छेकमा पूजापाठ गर्न उत्तम हुने र मौसम समेत खुलेकाले भक्तजनको आगमन बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । अन्य दिनको तुलनामा शनिबार र मङ्गलबार पाथीभरामा भक्तजनको चाप बढ्ने गरेको छ । स्वदेशी तथा विदेशी तीर्थयात्री यस मन्दिरमा आउने गरेका छन् । भक्तजनको चाप बढेपछि सहज रूपमा पूजापाठका लागि जनशक्ति खटाएर आवश्यक प्रबन्ध मिलाइएको समितिले जनाएको छ । 

चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक लाख ६८ हजार चार सय ६८ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको तथ्याङ्क समितिले सार्वजनिक गरेको छ । भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३, कात्तिकमा ४९ हजार एक सय ६३ भक्तजन पाथीभरा आएको समितिले जनाएको छ । 

यस्तै मङ्सिरमा २० हजार चार सय १६, पुसमा पाँच हजार छ सय ५५, माघमा छ हजार एक सय एक, फागुनमा १७ हजार नौ सय १२ भक्तजन पाथीभरा पुगेका छन् ।

प्रकाशित मितिः शनिबार, ०८ वैशाख २०८१
https://jawaaf.com/storage/01HVXRZTZSY0B1NSTVRKAWW3ZC.jpg

म्याग्दीमा मगरात सभ्यताको अध्ययन-अनुसन्धान गरिने

गलेश्वर (म्याग्दी) ८ वैशाख I मगर बाहुल्यता रहेको म्याग्दीमा मगर जातिको उत्पत्ति, दर्शन र मगरात सभ्यताको अध्ययन–अनुसन्धान गरिने भएको छ ।     
     
नेपाल मगर सङ्घ केन्द्रीय समितिको आयोजना र नेपाल मगर सङ्घ जिल्ला समन्वय समितिको संयोजनमा वैशाख १० गतेदेखि पहिलो चरणमा जिल्लाका रघुगङ्गा, मालिका र धवलागिरि गाउँपालिकामा अध्ययन गरिने नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकबहादुर पुनमगर (लोकेश) ले जानकारी दिनुभयो ।     
     
उहाँका अनुसार वैशाख १० गते रघुगङ्गा गाउँपालिका–६ पाखापानीबाट गरिने भएको छ । वैशाख ११ गते दरबार भग्नावशेष अवलोकन, अन्तरक्रिया कार्यक्रम गरिने छ भने सोही दिन मालिका गाउँपालिका–५ देविस्थान, र वैशाख १२ गते धवलागिरिको केन्द्र मुनामा कार्यक्रम गर्ने बताइएको छ ।     
     
 नेपालमा जातिगत जनसङ्ख्याको हिसाबले मगर नेपालको तेस्रो ठूलो जाति हो भने आदिवासी जनजाति समुदायको पहिलो हो ।     
 

प्रकाशित मितिः शनिबार, ०८ वैशाख २०८१
https://jawaaf.com/storage/01HVXFC9XE94W54P81T9V6Y4MQ.webp

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी (म्याग्दी) ८ वैशाख I अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक भ्रमणको सिलसिलामा म्याग्दी आउनुभएको थियो । ट्रेकिङ पर्यटकका रूपमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को पर्यटकीय स्थल खोप्रा–खयर क्षेत्रको भ्रमणमा आउनुभएका पिटर अहिले सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा सक्रिय हुनुहुन्छ ।     
     
नेपालको पहिलो भ्रमणका क्रममा खोप्रा–खयर क्षेत्रमा पुग्नुभएका पिटर यहाँको प्राकृतिक सौन्दर्ययताले लोभिनुभयो । भ्रमण सकेर स्वदेश फर्किएपछि पिटरको समूह सन् १९९८ मा पुनः सोही क्षेत्रको भ्रमणमा निस्किए । दोस्रो पटकको भ्रमणमा पिटरको समूहले खोप्रा–खयर क्षेत्रको पदयात्रा मात्रै गरेनन्, उनीहरूले यसै पदमार्गमा पर्ने पाउद्वार गाउँमा पुगेर गाउँको अवस्था र समस्यासँग अन्तर-घुलन हुने प्रयास गरेका थिए ।     
     
“पहिलो पटक हामी हिमाल हेर्न नेपाल आएका थियौँ, दोस्रो पटक हामी यहाँको लालीगुराँस हेर्न आयौँ, त्यस बखत हामीले यहाँको जनजीवन र अवस्थासमेत बुझ्न पायौँ, यहाँका स्थानीयसँग भेट भएपछि हामी समुदायको अगुवाइमा शैक्षिक सुधारमा जोडिन पुगेका हौँ”, पिटरले भन्नुभयो । हिमाल र गुराँसलाई नजिकबाट हेर्न डाँडाकाँडामा घुम्न नेपाल आउनुभएका पिटर यस बिचमा १९ पटक नेपाल आउनुभएको छ ।     
     
सन् २००१ मा तेस्रो पटक पिटर दम्पती नेपाल भ्रमणको सिलसिलामा पुनःपाउद्वार गाउँमा पुग्नुभएको थियो । यस पटक पिटरको भ्रमण पाउद्वार गाउँको शैक्षिक सुधारमा योगदान गर्ने उदेश्यमा केन्द्रित थियो । पिटर दम्पतीलाई स्थानीय पाउद्वार माविमा भव्य स्वागत भयो । गाउँलेको अगुवाइमा सञ्चालन भएको पाउद्वार माविसहित यस क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधारमा पिटरको चासो र ध्यान केन्द्रित भयो ।     
     
चौथो पटक सन् २००८ मा नेपाल आउनुभएका पिटरले ग्रामीण भेगका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षण सिकाइ र शैक्षिक सामग्रीको व्यवस्थापन सम्बन्धमा शिक्षकलाई तालिम दिने योजना अघि सार्नुभयो । तत्कालीन शिख गाविसअन्तर्गतका विभिन्न छ वटा विद्यालयका शिक्षकलाई पिटरले व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेर रिड नेपालमार्फत तालिम दिन सुरु गर्नुभएको थियो ।     
     
सुरुआतका बर्षहरूमा व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्दै आउनुभएका पिटरले पछिल्लो एकदशक यता भने संस्था गतरुपमा आर्थिक सहयोग गर्दै आउनुभएको छ । तत्कालिन पाउद्धार माविका शिक्षकसमेत रहनुभएका कृष्ण तिलिजाको नेतृत्वमा नेपालमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न) संस्था र अष्ट्रेलियामा पिटरको नेतृत्वमा क्वालिटी एजुकेशन संस्था दर्ता गरेर सहयोगलाई व्यवस्थित र पारदर्शी तथा शिक्षक तालिमलाई प्रभावकारी बनाउन थालिएको छ ।     
     
 लर्न र क्वालिटी एजुकेशनको साझेदारीमा तत्कालीन शिख गाविसका विद्यालयमा सुरु गरिएको शिक्षक तालिम अहिले म्याग्दीका तीन वटा स्थानीय तहमा विस्तार भएको छ । अन्नपूर्ण गाउँपालिकाका सबै विद्यालयमा कार्यरत शिक्षकलाई आधारभूत तथा स्तरीय शिक्षण सिकाइ सम्बन्धमा तालिम प्रदान गरिसकेको यस अभियानअन्तर्गत रघुगङ्गा र धवलागिरि गाउँपालिकाको साझेदारीमा समेत शिक्षक तालिमलाई कार्यान्वनयमा ल्याइएको लर्नका निर्देशक कृष्ण तिलिजाले बताउनुभयो ।     
     
“अभियन्ता पिटरको नेतृत्वमा क्वालिटी एजुकेसन मार्फत हामीलाई वार्षिकरुपमा रु ७० देखि ७५ लाख बराबरको सहयोग आउँछ, हामीले यहाँ स्थानीय तहसँग साझेदार गरेर शिक्षकलाई तालिम प्रदान गर्छौँ, हामीले प्रदान गर्ने तालिमले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा रचनात्मक सहयोग पुग्ने गरेको छ, आगामी वर्षमा म्याग्दीका थप पालिकाहरूमा शिक्षक तालिमको अभियानलाई जोड्ने जमर्को गरेका छौँ”, तिलिजाले भन्नुभयो ।     
     
नेपालको हिमाललाई नजिकबाट नियाल्न भ्रमणमा आउनुभएका पिटरले यहाँको अवस्थालाई बुझेर शैक्षिक उन्नयनमा पु¥याउनुभएको योगदान प्रशंसनीय रहेको उहाँले बताउनुभयो । लर्न र क्वालिटी एजुकेशनसँग गाउँपालिकाले साझेदारीमा शिक्षकहरूलाई कक्षाकोठामा शैक्षिक सामग्री निर्माण, प्रयोग, कक्षाकोठा व्यवस्थापन, विषयगत शिक्षण सिकाइ तथा सिर्जनात्मक कलालगायत विषयमा तालिम प्रदान भएपछि सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारमा महत्वपूर्ण उपलब्धि भएको रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।     
     
“गाउँपालिकाभित्रका सबै विद्यालयका शिक्षक कर्मचारीलाई छुट्‍टाछुट्‍टै ठाउँमा तालिम दिएका छौँ, यो तालिमले शिक्षकलाई सिर्जनात्मक बनाउन र कक्षा कोठालाई शैक्षिक सामग्रीयुक्त बनाउन सहयोग गरेको पाएका छौँ ”, अध्यक्ष भण्डारीले भन्नुभयो । लर्न र क्वालिटी एजुकेसनले शिक्षक तालिमसँगै सामुदायिक विद्यालयहरूमा आधुनिक कम्प्युटर प्रयोगशालासमेत स्थापना गर्न थालेको छ ।     
     
क्वालिटी एजुकेसन नेपाल, अष्टेलिया र एजुटेक नेपाल, न्युजिल्यान्डको आर्थिक सहयोगमा लर्नले विद्यालयहरुमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना गर्न थालेको हो । यस वर्ष जिल्लाको रघुगगा–३ मौवाफाँटको ज्ञानोदय मावि, अन्नपूर्ण–४ नारच्याङको प्रभा मावि र धवलागिरि–४ मुदीको बुद्धिविकास माविमा २०÷२० वटा कम्प्युटरको व्यवस्थापन गरेर सर्भर प्रणाली जडान भएको साथै कम्प्युटर कक्ष र प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।     

प्रकाशित मितिः शनिबार, ०८ वैशाख २०८१
https://jawaaf.com/storage/01HVT2XP0A52B72JR3P68769NT.jpg

हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख छात्रवृत्ति

खोटाङ, ७ वैशाख I हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख प्रदान गरेको छ । पालिकाले छात्रवृत्ति स्वरूप उक्त रकम उपलब्ध गराएको हो । नगरपालिकाले बिहीबार वडा नं ४ बडहरेका विकेश सिलवाल र वडा नं ६ मङ्गलटारका हेमन राईलाई उक्त रकम प्रदान गरेको हो । नगर कार्यपालिकाद्वारा पारित छात्रवृत्ति कार्यक्रम अन्तर्गत पहिलो पटक दुई छात्रलाई प्रोत्साहन रकम उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो ।


“नगरपालिकाले रोजगारमूलक गुणस्तरीय शिक्षामा जोड दिएको छ । नगरपालिका भित्रका छात्रछात्रालाई प्राविधिक विषय अध्ययन गर्न प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ”, उहाँले भन्नुभयो, “चिकित्साशास्त्र, कृषि तथा पशु विज्ञान, वन तथा वातावरण विज्ञान, इन्जिनीयरिङ र सूचना प्रविधिका विषय गरी पाँच विषयमा उच्च शिक्षा अध्ययन गर्नेलाई रकम प्रदान गरिने छ ।” यसै बिच, हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर क्रमशः सुधार भएको छ । गत वर्षको परीक्षामा करिब २२ प्रतिशत विद्यार्थीमात्र सबै विषयमा उत्तीर्ण भएकामा यस वर्ष ४० दशमलव ६३ प्रतिशत उत्तीर्ण भएको नगरप्रमुख राईले बताउनुभयो ।

Advertisement

गत वर्षदेखि नगरपालिकाले सामुदायिक विद्यालयको परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन व्यवस्थित गर्न थालेको थियो । कक्षा ४ देखि ९ सम्मको वार्षिक परीक्षामा फरक विद्यालयका शिक्षकलाई फरक विद्यालयमा परीक्षा केन्द्राध्यक्ष बनाएर खटाइएको थियो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाको मातहतमा प्रश्नपत्र बनाउने र उत्तरपुस्तिका परीक्षण गरी नतिजा प्रकाशन सुरु गरिएको थियो । शैक्षिक सत्र २०८०-८१ मा कक्षा ४ देखि ९ सम्म नगरपालिकाका सबै सामुदायिक विद्यालयबाट दुई हजार सात सय पाँच जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यसमध्ये एक हजार ९९ विद्यार्थी उत्तीर्ण भएका छन् । 

प्रकाशित मितिः शुक्रबार, ०७ वैशाख २०८१
https://jawaaf.com/storage/01HVQSMA7H034MEGEM3MYZT1PR.jpg

सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा, ६ वैशाख I गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ । 

जिल्लाका ११ पालिकामध्ये पाँच वटा पालिकाले पालिका भित्र सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने निर्णय गरेका हुन् । गोरखाको भीमसेन थापा गाउँपालिका, अजिरकोट गाउँपालिका, गोरखा नगरपालिका, धार्चे गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाले सूचना जारी गरेर सार्वजनिक पदमा रहेका सबैले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिइसकेका छन् ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारसँगै अभिभावक र बालबालिकाको आर्कषण बढाउन जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्यलगायत सबै सार्वजनिक पदमा रहेका व्यक्तिले बालबालिका सामुदायिक विद्यालयमा पढाउनै पर्ने निर्णय भएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

“सामुदायिक विद्यालयलाई व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चिता गर्न सहयोग पु¥याउने उद्देश्यले यस्तो निर्णय गरिएको हो”, अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले भन्नुभयो, “सार्वजनिक पदमा रहेका व्यक्तिले बालबालिका बाहिर नपठाएपछि अरुलाई पनि सामुदायिक विद्यालयमा पढाउन हौसला पुग्छ ।”

बारपाक सुलिकोट गाउँपालिकाले पनि गाउँसभाको निर्णय बमोजिम सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति लागू गरेको बारपाक सुलिकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोदराज भट्टले जानकारी दिनुभयो ।

बारपाक सुलिकोटले चालु शैक्षिकसत्र २०८१ देखि यस्तो नीति लागू गरेको हो । गाउँपालिकाको यो निर्णयले शिक्षालाई बालमैत्री, गुणस्तरीय, प्रतिस्पर्धी र नजितामुखी बनाउन सहयोग पुग्ने विश्वास भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले व्यक्त गर्नुभयो । भीमसेन थापा गाउँपालिकाले सवै वडामा सार्वजनिक पदमा रहेका व्यक्तिका बालबालिका कुन–कुन विद्यालयमा अध्ययनरत छन् भन्ने विवरणसमेत पठाउन सबैलाई निर्देशन दिएको उहाँको भनाइ छ । भीमसेन थापा गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ अभियानसमेत सम्पन्न गरिसकेको छ ।

प्रकाशित मितिः बिहिबार, ०६ वैशाख २०८१
https://jawaaf.com/storage/01HVQS2YP3XPK508P6VNB198GS.jpg

ताप्लेजुङ विद्युत् उत्पादनको केन्द्र बन्दै

फुङलिङ (ताप्लेजुङ) ६ वैशाख I ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् । विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङ्लुङ गाउँपालिकामा निर्माणाधीन छन् । ती आयोजनाबाट एक हजार छ सय ५४ दशमलव ५१ मेगावाट बिजुली उत्पादन हुनेछ । मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलाबाट चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । मेवाखोलामा निर्माण भइरहेका आयोजनाबाट एक सय ७८ दशमलव ४२ मेगावाट विद्युत् उत्पादन हुने छ । काबेली खोलामा चारवटा आयोजना निर्माण भइरहेका छन् । ती आयोजनाबाट ९५ दशमलव ४३ मेगावाट बिजुली उत्पादन हुनेछ ।


यसैगरी,पालुङखोलामा निर्माणाधीन दुई आयोजनाबाट ५१ मेगावाट विद्युत् उत्पादन हुने छ । सोना खोलामा हिमाली हाइड्रोपावरले नौ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ । सिदिङ्वा गाउँपालिका–१ इवा खोलामा तीनजुरे हाइड्रोपावरले चार दशमलव ६ मेगावाट क्षमताको आयोजनालाई द्रुत गतिमा अघि बढाएको छ ।

प्रकाशित मितिः बिहिबार, ०६ वैशाख २०८१