धरानका दुई युवकको बेकरीबाट मासिक दुई लाखसम्म आम्दानी गर्दै
धरान (सुनसरी) I ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन् ।
आठ वर्षको वैदेशिक रोजगारीपछि फर्कनुभएका धरानका एनसी राई र वीरेन्द्र थापाले यहाँ लाखौँको लगनीमा बेकरी उद्योग सञ्चालन गर्नुभएको छ । उहाँहरूले रु १० लाख लगानीमा धरान उपमहानगरपालिका–१२ को अमान बजारमा बिस्कुट फ्याक्ट्री खोलेको उद्योग अहिले कोशी प्रदेशमा दोस्रो ‘लाइभ बेकरी’का रूपमा ब्रदर्श बेकरी स्थापित भएको उद्यमीहरू बताउँछन् ।
धरान उपमहानगरपालिका–९ गौतम पथ र धरान–१७ रेल्वे लाइनमा गरी दुई वटा शाखा सञ्चालन गरिरहनुभएको छ । उहाँहरुले केक, आइसक्रिम, चकलेट, पाउरोटीलगायत सबै किसिमका बेकरीको व्यापार गर्दै आउनुभएको छ । उद्योगमा आठजनालाई रोजगारी पनि दिनुभएको छ । कामदारलाई मासिक रु आठदेखि ३० हजारसम्म तलब दिँदै आउनुभएको छ । उहाँहरूले आफ्नो परिवारका लागि खर्चसमेत यसैबाट पुर्याउँदै आउनुभएको छ।
उद्यमी एनसीले आफ्नो पुख्र्यौली घर भोजपुरको हसनपुरबाट रोजगारीको सिलसिलामा विदेशमा लामो समय बिताएर स्वदेश फर्किएपछि व्यवसाय सुरु गर्नुभएको हो । उहाँ व्यवसायसँगै सामाजिक सङ्घसंस्थामा पनि आबद्ध भएर काम गरिरहनुभएको छ । हसनपुर– सुनसरी सम्पर्क मञ्च नेपालको सल्लाहकार, लायन्स क्लब धरानका क्यापेवल ट्रेजर, आशिष बचत तथा ऋण सहकारीको सञ्चालक समिति सदस्य, लड्स होम नेपालको बोर्ड समिति सदस्यसमेत हुनुहुन्छ भने भक्तपुरका वीरेन्द्र थापा धरानमा विगत २१ वर्षदेखि बेकरी सेफका रुपमा काम गर्दै आउनुभएको छ ।
एक समय पाउरोटी, बिस्कुट मोटरसाइकलमा लिएर सिँधुवासम्म पुग्नुपथ्र्यो तर अहिले धनकुटा, भोजपुर, पाँचथर, इटहरी, दमक, झापालगायत विदेशबाट पनि धरानेहरूले केक माग गरिरहेका राईले बताउनुभयो । धरानमा शाखा सञ्चालनमा आएपछि उद्योगको प्रारम्भमा केक काट्ने र उत्सव मनाउने माहोल नै बनेको व्यापारी एनसी राई सुनाउनुहुन्छ । अहिले धरानमा मात्र नभएर धरान बाहिरका बेकरीका ग्राहकका लागि पनि आकर्षक बनेको छ– ब्रदर्श बेकरी ।
दसैँ, तिहार र क्रिसमसमा ५० प्रतिशत छुट र ६० वर्षभन्दा माथिकालाई सित्तैमा केक वितरण गर्दै आएको राई बताउनुहुन्छ । उहाँहरूले ब्रदर्श बेकरीका तर्फबाट तालिम पनि दिँदै आउनुभएको वीरेन्द्र थापा बताउनुहुन्छ । उहाँहरूसँग तालिम लिएर गएका भोजपुर, चक्रघट्टी, इटहरीलगायत धेरै स्थानका युवाले आफैँ बेकरी सञ्चालन गरिरहेका थापा बताउनुहुन्छ ।
लामो समयको वैदेशिक रोजगारीबाट फर्केपछि बेकरीको सीप भएका वीरेन्द्रसँग भेट भएपछि काम थालेको राई बताउनुहुन्छ । अहिले आफ्नै ठाउँमा आठ–दश जनालाई रोजगारीको अवसर प्रदान गर्न पाएकामा उहाँहरू हुनुहुन्छ ।
धरानमा दुईवटा शाखा सञ्चालनमा छन् भने धरानभरि जम्मा १७ वटा एशोसिएट डिलरसमेत सञ्चालनमा छन् । उहाँहरूले सञ्चालन गर्दै आउनुभएको ब्रदर्स बेकरी उद्योगबाट आफ्नो सबै खर्च कटाएर मासिक रु दुईदेखि दुई लाख ५० हजारसम्म बचत हुने गरेको बताउनुभयो ।
ब्रदर्स बेकरी अहिले सीप सिक्न चाहनेका लागि उपयुक्त थलो बनेको छ । उद्यमी राई भन्नुहुन्छ, “मेहनत आवश्यक छ, देशमा अवसर छैन भन्न मिल्दैन । विदेश पलायन हुनुभन्दा आफ्नै ठाउँमा मेहनत गर्दा प्रतिफल प्राप्त हुन्छ ।”
भोजपुरका विद्यालयमा ‘इ-लर्निङ सेन्टर’
टक्सार (भोजपुर)I सूचना प्रविधिमा अभ्यस्त बनाउँदै विद्यार्थीलाई पठनपाठन गराउने उद्देश्यले भोजपुरका विद्यालय तथा क्याम्पसमा ‘इ–लर्निङ सेन्टर स्थापना’ अभियान सञ्चालन भइरहेको छ ।
पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला नेतृत्वको ईश्वर मन्दिर काठमाडौँ नामक संस्थाको सहयोगमा जिल्लामा इ–लर्निङ सेन्टर स्थापना भइरहेका हुन् । अभियानको क्रममा आज जिल्लाको टेम्केमैयुङ गाउँपालिका—२ छिनामखुमा रहेकोे त्रिभुवन धर्मोदय माध्यामिक विद्यालयमा इ–लर्निङ सेन्टर स्थापना गरिएको छ ।
विसं २००५ सालमा स्थापना गरिएको विद्यालयमा सञ्चालन गरिएको सेन्टरको २० थान कम्प्युटर सेट र स्मार्ट टिभी लगायतका विद्युतीय सामानको व्यवस्था गरिएको सहयोगी संस्थाका अध्यक्ष प्रमेश केसीले बताउनुभयो । विद्यार्थीलाई सूचना प्रविधिसँग अभ्यस्त गर्दै सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले आफ्नो संस्थाले विद्यालयमा इ—लर्निङ सेन्टर स्थापना गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधिको वर्तमान युगमा विगतमा जस्तो अध्ययनले मात्र हुँदैन, विद्यार्थीलाई प्रविधिसँग जोड्न जरूरी छ । त्यसैले ग्रामीण क्षेत्रका विद्यालयमा पनि इ–लर्निङ सेन्टर स्थापनामा सहयोग गरिरहेका छौँ । यसले पठनपाठनमा सहज हुने विश्वास लिएका छौँ ।”
छिनामखुमा रहेकोे त्रिभुवन धर्मोदय माध्यामिक विद्यालयमा मात्रै होइन सो संस्थाले भोजपुर नगरपालिकामा रहेका भोजपुर बहुमुखी क्याम्पस, विद्योदय मावि, जनसेवा आधरभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, आदर्श शिशु आधारभूत विद्यालय, हतुवागढी गाउँपालिकामा रहेको सगरमाथा मावि, षडानन्द नगरपालिकामा रहेको अरुण मावि, अरुण गाउँपालिकाको शारदा माविमा समेत सो संस्थाले कम्प्युटर लगायतका सामग्री सहयोग गरी इ—लर्निङ सेन्टर स्थापनामा योगदान गरिसकेको छ ।
संस्थाका महासचिव संकेत कोइरालाले पनि प्रविधि सहितका पुस्तकालय स्थापनाले पठनपाठनमा सहज भएको प्रतिक्रिया आफूहरूले पाएको बताउनुभयो । “आधुनिक प्रविधिको युगमा विद्यार्थीको हातमा कलम र कपी मात्र होइन, अहिलेका कम्प्युटर पनि हुन जरूरी छ, त्यसैले हामी त्यही अभियानअन्तर्गत अहिले भोजपुरका विद्यालयमा सहयोग गरिरहेका छौँ । यसलाई अन्य ठाउँमा पनि विस्तार गर्दै लैजाने हाम्रो लक्ष्य छ ।
त्रिभुवन धर्मोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक राजन राईले ‘विद्यार्थी साथमा, कम्प्युटर हातमा’ भन्ने अभियानले विद्यालयको शैक्षिक सुधारमा निकै सहयोग पुगेको बताउनुभयो ।
टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले पनि विद्यालयमा स्थापना गरिएका इ—लर्निङ सेन्टरले शैक्षिक गुणस्तर सुधारका साथै विद्यार्थीलाई अध्ययनमा अभिप्रेरित गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका सल्लाकार पूर्वअर्थमन्त्री कोइरालाले आगामी दिनमा पनि विद्यालयलाई प्रविधिमैत्री बनाउन भोजपुरका अन्य विद्यालयमा पनि सहयोग अभियान सञ्चालन गरिने बताउनुभयो । “अब विद्यालयमा प्रविधि मैत्री इ–लर्निङ सेन्टर स्थापना हुनुपर्छ, त्यसका लागि हामीले सहयोग अभियान सुरूगरेका हौँ”, कोइरालाले भन्नुभयो ।
आज केही उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
काठमाडौँ I हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।
त्यसैगरी आज राति देशको पहाडी भागमा आंशिक देखि साधारणतया बदलीसम्म हुने तथा बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा हुने सम्भावना छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । मधेश
प्रदेश लगायत कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनाका साथै मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरीको सम्भावना पनि रहेका जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
नेवारी र तामाङ भाषालाई बागमतीमा सरकारी कामकाजमा प्रयोग गरिने
मकवानपुर I बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशमा अब सरकारी कामकाजमा नेवारी र तामाङ भाषा पनि प्रयोग गरिने बताउनुभएको छ । उहाँले यही वैशाख २४ गतेबाट व्यावहारिक रूपमा प्रयोगमा ल्याइने बताउनुभयो ।
मन्त्री बज्राचार्यले आज संक्षिप्त कुराकानी गर्नुहुँदै वैशाख २४ गते बिहान ९ बजे काठमाडौँको वसन्तपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त दुवै भाषा सबै सरकारी कार्यालयमा प्रयोगमा ल्याइने कार्यक्रमको समुद्घाटन गर्नुहुने भएको जानकारी दिनुभयो ।
उहाँले काठमाडौँका वसन्तपुरबाट सोही दिनको बिहान ७ बजे विभिन्न वेषभूषा र झाँकीसहित ¥यालीले काठमाडौँ नगरको परिक्रममा गर्ने पनि उल्लेख गर्नुभयो । बागमती प्रदेश सरकारले प्रदेशमा नेवाः (नेपाल)-तामाङ भाषा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याइएको खुसीयालीमा सो दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनीमन्त्री गङ्गानारायण श्रेष्ठले राससलाई बताउनुभयो ।
उक्त भाषा प्रयोगमा ल्याइएको खुसीयालीमा हुने कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न संस्कृतिमन्त्री बज्राचार्यको अध्यक्षतामा तीन सय पाँच सदस्यीय आयोजक समिति निर्माण गरिएको छ ।
बागमती प्रदेशसभाको केही महिनाअघि बसेको बैठकले प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा नेवारी र तामाङ भाषाको विधेयक पारित गरिएको प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।
आँबुखैरेनीमा ‘नमुना युवा संसद्’ अभ्यास सुरु
दमौली (तनहुँ) I तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद अभ्यास तथा नमूना गाउँ सभा प्रशिक्षण सुरु भएको छ । ‘समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ युवाको हकहितको संरक्षण र सम्बर्द्धन गरी समुन्नत मुलुक निर्माण गर्ने उद्देश्यका साथ प्रशिक्षण सञ्चालन गरिएको हो ।
शुक्रबारदेखि सुरु भएको प्रशिक्षण चार दिनसम्म सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँले आँबुखैरेनीको विकासका लागि युवालाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै सार्थक सहभागिता सुनिश्चित गरी गाउँपालिकालाई आधुनिक, न्यायपूर्ण र समृद्ध बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले परिषद्को सशर्ततर्फको कार्यक्रमअन्तर्गत गाउँपालिकामा नमुना अभ्यास गराइएको बताउनुभयो । युवामा उद्यमशीलता र नेतृत्व विकास गरी देशको नेतृत्व लिन सक्ने जनशक्ति उत्पादनमा कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ छ ।
प्रशिक्षणमा शिक्षा विकास तथा समन्वय इकाइका निमित्त इकाइ प्रमुख विश्वप्रकाश रेग्मी, राष्ट्रिय युवा परिषद्का पूर्वप्रमुख प्रशासकीय अधिकृत रमाकान्त शर्मा र अनुप घिमिरेले सहजीकरण गर्नुहुनेछ ।
विश्व प्रेस स्वतन्त्रता दिवस आज
काठमाडौँ I आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपाल सहित विश्वभर मनाइदै छ ।
स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।
जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सुजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो । यो दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ । यसै अवसरमा युनेस्कोको आयोजनामा चिलीको राजधानी सान्टियागोमा सम्मेलन भइरहेको छ ।
म्याग्दीमा सुन्तला निकासीबाट रु २१ करोड भित्रियो
म्याग्दी I म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१ करोड भन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो । म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट रु २१ करोड ६० लाखको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी सम्झना आचार्यका अनुसार गत वर्ष रु १७ करोडको सुन्तला उत्पादन र बिक्री भएको थियो । सुन्तला प्रतिकिलो रु ५५ देखि रु ६० का दरले बिक्री भएको छ ।
बेनी नगरपालिकाबाट सबैभन्दा बढी रु तीन करोड ३८ लाखको सुन्तला उत्पादन तथा बिक्री भएको छ । मालिका गाउँपालिकाबाट रु एक करोड ३६ लाख, अन्नपूर्ण गाउँपालिका र मङ्गला गाउँपालिकाबाट क्रमशः रु एक करोड ३० लाखको दरले सुन्तला बिक्री भएको छ ।
धवलागिरि गाउँपालिकाबाट रु ३० लाख ७० हजार तथा रघुगङ्गाबाट रु २५ लाखको सुन्तला बिक्री भएको सूचना अधिकारी शर्माले बताउनुभयो । बेनी नगरपालिका–३ भकिम्ली, मरेक र राखु क्षेत्रबाट मात्रै रु दुई करोड २० लाखको सुन्तला निकासी भएको छ । बेनी नगरपालिका–४ को सिङ्गास्थित थामडाँडा, बास्कुना र सुर्केमेलाबाट रु एक करोड १० लाखको सुन्तला निकासी भएको वडा सदस्य समेत रहेका किसान सन्दीप खत्रीले बताउनुभयो ।
म्याग्दीमा आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकामा चार सय २० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो । “सुन्तलाको प्रतिहेक्टर आठ दशमलव छ मेट्रिक टन उत्पादकत्व रहेको छ”, उहाँले भन्नुभयो, “अनुकूल मौसम, रोग तथा कीराको प्रकोप नियन्त्रण, किसानलाई बीउमल, विषादी, कृषि औजार एवं सामग्रीमा अनुदान सहयोग तथा क्षेत्रफल विस्तारले सुन्तलाको उत्पादन बढेको हो ।”
कृषि ज्ञान केन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए ।
जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिन लगायतका बजारमा सुन्तला निकासी भएको बेनी नगरपालिका–३ राखुका किसान खिम पुनले बताउनुभयो । राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् ।
यातायात सुविधा भएकाले ब्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै पुग्ने गरेका छन् । सुन्तला खेती विस्तार, बगैँचा व्यवस्थापन र नर्सरी स्रोत केन्द्र स्थापना सम्बन्धी कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले ५१ वटा फार्म, समूह र सहकारीका लागि रु ६२ लाख अनुदान दिन छनोट गरेको जनाएको छ ।
देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ I हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हुरी बतासको सम्भावना छ ।
आज राति कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।
कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सेन्झाउ–१७’ चालक दल छ महिनाको अन्तरिक्ष अध्ययनपछि बेइजिङमा अवतरण
तीन सदस्यीय ‘सेन्झाउ–१७’ चालक दल छ महिनाको अन्तरिक्ष अध्ययन अभियान पछि बुधबार बिहान विमानबाट बेइजिङ आइपुगेको छ । सेन्झाउ–१७ एक चिनियाँ अन्तरिक्ष उडान हो जुन सन् २०२३ अक्टुबर २६ मा प्रक्षेपण भएको थियो ।
चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) का अनुसार, मङ्गलबार अन्तरिक्ष यात्री ताङ होङ्बो, ताङ शेङ्जी र जियाङ सिनलिनलाई लिएर सेन्झाउ–१७ को यान उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको डोङफेङस्थित अवतरण स्थलमा बेइजिङको समय अनुसार साँझ ५ः४६ मा अवतरण गरेको छ । चालक दल सबैले साँझ ६ः ३७ मा यानबाट बाहिरिएका थिए ।
उडानको १८७ दिन सम्म कक्षमा बसेपछि फर्केका तीनै जना अन्तरिक्ष यात्रीको स्वास्थ्य राम्रो रहेको र सेन्झाउ–१७ मानव यात्रा सफल भएको सीएमएसएले जानकारी दिएको छ ।
चिनियाँ अन्तरिक्ष निकायले टोलीको छिट्टै स्वास्थ्य परीक्षण गरिने जनाएको छ । स्वास्थ्य परीक्षणपछि त्यसपछि टोलीका सदस्यले बेइजिङमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।
हेटौँडा उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू
१९ वैशाख, बागमती I हेटौँडा उपमहानगरपालिकाले चालु शैक्षिकसत्र देखि सामुदायिक तथा संस्थागत सबै विद्यालयको कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू गरेको छ ।
उपमहानगरपालिकाको सम्पन्न ४३औँ कार्यपालिका बैठकले चालु शैक्षिकसत्र देखि उपमहानगर क्षेत्र भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागूगरी अनुगमन गर्ने निर्णय गरेको हो ।
कार्यपालिका बैठकले हेटौँडा–६ कान्तिराजपथ स्थित सडक क्षेत्रमा निर्माण गरिएका घर, टहरा लगायतका भौतिक संरचना हटाई सडकको क्षेत्राधिकार कायम गर्ने निर्णय गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै कार्यपालिका बैठकले उपमहानगरपालिकालाई आवश्यक पर्ने चारवटा कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार बैठकले हेटौँडा उपमहानगरपालिका पूर्वनिर्मित भवन अभिलेखीकरण तथा नियमित कार्यविधि २०८१, हेटौँडा उपमहानगरपालिका तयारी कक्षा एवं भाषा शिक्षण सम्बन्धी निर्देशिका २०८१, सामुदायिक विद्यालय दरबन्दी मिलान तथा प्राधानाध्यापक व्यवस्थापन कार्यविधि, २०८१ र उपमहानगरपालिका वृति मार्गनिर्देशन सेवा सञ्चालन सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गरेको छ ।
त्यस्तै कार्यपालिका बैठकले उपमहानगरपालिकालाई आवश्यक रहेको चार कानुन तर्जुमा र संशोधन गर्न सैद्धान्तिक सहमति दिएको छ । उपमहानगरपालिका उद्योग व्यवसाय दर्ता सम्बन्धी ऐन, सार्वजनिक सम्पत्ति व्यवस्थापन तथा सञ्चालन सम्बन्धी कार्यविधि, उद्यमी समूह गठन, व्यवस्थापन तथा सञ्चालन अनुदान कार्यविधि, २०८० को पहिलो संशोधन र कृषि तथा पशुपालन अनुदान वितरण कार्यविधि, २०७९ को पहिलो संशोधन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको प्रवक्ता न्यौपानेले बताउनुभयो ।