आइतबार, ०७ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HVY2PZTCJCYYD5GNYAECJ654.jpg

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

फुङ्लिङ (ताप्लेजुङ), ८ वैशाख I ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ हजार चार सय ३८ भक्तजन पूजापाठका लागि पुगेका छन् । 

चैतेदसैँको छेकमा पूजापाठ गर्न उत्तम हुने र मौसम समेत खुलेकाले भक्तजनको आगमन बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । अन्य दिनको तुलनामा शनिबार र मङ्गलबार पाथीभरामा भक्तजनको चाप बढ्ने गरेको छ । स्वदेशी तथा विदेशी तीर्थयात्री यस मन्दिरमा आउने गरेका छन् । भक्तजनको चाप बढेपछि सहज रूपमा पूजापाठका लागि जनशक्ति खटाएर आवश्यक प्रबन्ध मिलाइएको समितिले जनाएको छ । 

चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक लाख ६८ हजार चार सय ६८ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको तथ्याङ्क समितिले सार्वजनिक गरेको छ । भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३, कात्तिकमा ४९ हजार एक सय ६३ भक्तजन पाथीभरा आएको समितिले जनाएको छ । 

यस्तै मङ्सिरमा २० हजार चार सय १६, पुसमा पाँच हजार छ सय ५५, माघमा छ हजार एक सय एक, फागुनमा १७ हजार नौ सय १२ भक्तजन पाथीभरा पुगेका छन् ।

प्रकाशित मितिः शनिबार, ०८ वैशाख २०८१
https://jawaaf.com/storage/01HVXRZTZSY0B1NSTVRKAWW3ZC.jpg

म्याग्दीमा मगरात सभ्यताको अध्ययन-अनुसन्धान गरिने

गलेश्वर (म्याग्दी) ८ वैशाख I मगर बाहुल्यता रहेको म्याग्दीमा मगर जातिको उत्पत्ति, दर्शन र मगरात सभ्यताको अध्ययन–अनुसन्धान गरिने भएको छ ।     
     
नेपाल मगर सङ्घ केन्द्रीय समितिको आयोजना र नेपाल मगर सङ्घ जिल्ला समन्वय समितिको संयोजनमा वैशाख १० गतेदेखि पहिलो चरणमा जिल्लाका रघुगङ्गा, मालिका र धवलागिरि गाउँपालिकामा अध्ययन गरिने नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकबहादुर पुनमगर (लोकेश) ले जानकारी दिनुभयो ।     
     
उहाँका अनुसार वैशाख १० गते रघुगङ्गा गाउँपालिका–६ पाखापानीबाट गरिने भएको छ । वैशाख ११ गते दरबार भग्नावशेष अवलोकन, अन्तरक्रिया कार्यक्रम गरिने छ भने सोही दिन मालिका गाउँपालिका–५ देविस्थान, र वैशाख १२ गते धवलागिरिको केन्द्र मुनामा कार्यक्रम गर्ने बताइएको छ ।     
     
 नेपालमा जातिगत जनसङ्ख्याको हिसाबले मगर नेपालको तेस्रो ठूलो जाति हो भने आदिवासी जनजाति समुदायको पहिलो हो ।     
 

प्रकाशित मितिः शनिबार, ०८ वैशाख २०८१
https://jawaaf.com/storage/01HVXFC9XE94W54P81T9V6Y4MQ.webp

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी (म्याग्दी) ८ वैशाख I अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक भ्रमणको सिलसिलामा म्याग्दी आउनुभएको थियो । ट्रेकिङ पर्यटकका रूपमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को पर्यटकीय स्थल खोप्रा–खयर क्षेत्रको भ्रमणमा आउनुभएका पिटर अहिले सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा सक्रिय हुनुहुन्छ ।     
     
नेपालको पहिलो भ्रमणका क्रममा खोप्रा–खयर क्षेत्रमा पुग्नुभएका पिटर यहाँको प्राकृतिक सौन्दर्ययताले लोभिनुभयो । भ्रमण सकेर स्वदेश फर्किएपछि पिटरको समूह सन् १९९८ मा पुनः सोही क्षेत्रको भ्रमणमा निस्किए । दोस्रो पटकको भ्रमणमा पिटरको समूहले खोप्रा–खयर क्षेत्रको पदयात्रा मात्रै गरेनन्, उनीहरूले यसै पदमार्गमा पर्ने पाउद्वार गाउँमा पुगेर गाउँको अवस्था र समस्यासँग अन्तर-घुलन हुने प्रयास गरेका थिए ।     
     
“पहिलो पटक हामी हिमाल हेर्न नेपाल आएका थियौँ, दोस्रो पटक हामी यहाँको लालीगुराँस हेर्न आयौँ, त्यस बखत हामीले यहाँको जनजीवन र अवस्थासमेत बुझ्न पायौँ, यहाँका स्थानीयसँग भेट भएपछि हामी समुदायको अगुवाइमा शैक्षिक सुधारमा जोडिन पुगेका हौँ”, पिटरले भन्नुभयो । हिमाल र गुराँसलाई नजिकबाट हेर्न डाँडाकाँडामा घुम्न नेपाल आउनुभएका पिटर यस बिचमा १९ पटक नेपाल आउनुभएको छ ।     
     
सन् २००१ मा तेस्रो पटक पिटर दम्पती नेपाल भ्रमणको सिलसिलामा पुनःपाउद्वार गाउँमा पुग्नुभएको थियो । यस पटक पिटरको भ्रमण पाउद्वार गाउँको शैक्षिक सुधारमा योगदान गर्ने उदेश्यमा केन्द्रित थियो । पिटर दम्पतीलाई स्थानीय पाउद्वार माविमा भव्य स्वागत भयो । गाउँलेको अगुवाइमा सञ्चालन भएको पाउद्वार माविसहित यस क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधारमा पिटरको चासो र ध्यान केन्द्रित भयो ।     
     
चौथो पटक सन् २००८ मा नेपाल आउनुभएका पिटरले ग्रामीण भेगका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षण सिकाइ र शैक्षिक सामग्रीको व्यवस्थापन सम्बन्धमा शिक्षकलाई तालिम दिने योजना अघि सार्नुभयो । तत्कालीन शिख गाविसअन्तर्गतका विभिन्न छ वटा विद्यालयका शिक्षकलाई पिटरले व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेर रिड नेपालमार्फत तालिम दिन सुरु गर्नुभएको थियो ।     
     
सुरुआतका बर्षहरूमा व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्दै आउनुभएका पिटरले पछिल्लो एकदशक यता भने संस्था गतरुपमा आर्थिक सहयोग गर्दै आउनुभएको छ । तत्कालिन पाउद्धार माविका शिक्षकसमेत रहनुभएका कृष्ण तिलिजाको नेतृत्वमा नेपालमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न) संस्था र अष्ट्रेलियामा पिटरको नेतृत्वमा क्वालिटी एजुकेशन संस्था दर्ता गरेर सहयोगलाई व्यवस्थित र पारदर्शी तथा शिक्षक तालिमलाई प्रभावकारी बनाउन थालिएको छ ।     
     
 लर्न र क्वालिटी एजुकेशनको साझेदारीमा तत्कालीन शिख गाविसका विद्यालयमा सुरु गरिएको शिक्षक तालिम अहिले म्याग्दीका तीन वटा स्थानीय तहमा विस्तार भएको छ । अन्नपूर्ण गाउँपालिकाका सबै विद्यालयमा कार्यरत शिक्षकलाई आधारभूत तथा स्तरीय शिक्षण सिकाइ सम्बन्धमा तालिम प्रदान गरिसकेको यस अभियानअन्तर्गत रघुगङ्गा र धवलागिरि गाउँपालिकाको साझेदारीमा समेत शिक्षक तालिमलाई कार्यान्वनयमा ल्याइएको लर्नका निर्देशक कृष्ण तिलिजाले बताउनुभयो ।     
     
“अभियन्ता पिटरको नेतृत्वमा क्वालिटी एजुकेसन मार्फत हामीलाई वार्षिकरुपमा रु ७० देखि ७५ लाख बराबरको सहयोग आउँछ, हामीले यहाँ स्थानीय तहसँग साझेदार गरेर शिक्षकलाई तालिम प्रदान गर्छौँ, हामीले प्रदान गर्ने तालिमले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा रचनात्मक सहयोग पुग्ने गरेको छ, आगामी वर्षमा म्याग्दीका थप पालिकाहरूमा शिक्षक तालिमको अभियानलाई जोड्ने जमर्को गरेका छौँ”, तिलिजाले भन्नुभयो ।     
     
नेपालको हिमाललाई नजिकबाट नियाल्न भ्रमणमा आउनुभएका पिटरले यहाँको अवस्थालाई बुझेर शैक्षिक उन्नयनमा पु¥याउनुभएको योगदान प्रशंसनीय रहेको उहाँले बताउनुभयो । लर्न र क्वालिटी एजुकेशनसँग गाउँपालिकाले साझेदारीमा शिक्षकहरूलाई कक्षाकोठामा शैक्षिक सामग्री निर्माण, प्रयोग, कक्षाकोठा व्यवस्थापन, विषयगत शिक्षण सिकाइ तथा सिर्जनात्मक कलालगायत विषयमा तालिम प्रदान भएपछि सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारमा महत्वपूर्ण उपलब्धि भएको रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।     
     
“गाउँपालिकाभित्रका सबै विद्यालयका शिक्षक कर्मचारीलाई छुट्‍टाछुट्‍टै ठाउँमा तालिम दिएका छौँ, यो तालिमले शिक्षकलाई सिर्जनात्मक बनाउन र कक्षा कोठालाई शैक्षिक सामग्रीयुक्त बनाउन सहयोग गरेको पाएका छौँ ”, अध्यक्ष भण्डारीले भन्नुभयो । लर्न र क्वालिटी एजुकेसनले शिक्षक तालिमसँगै सामुदायिक विद्यालयहरूमा आधुनिक कम्प्युटर प्रयोगशालासमेत स्थापना गर्न थालेको छ ।     
     
क्वालिटी एजुकेसन नेपाल, अष्टेलिया र एजुटेक नेपाल, न्युजिल्यान्डको आर्थिक सहयोगमा लर्नले विद्यालयहरुमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना गर्न थालेको हो । यस वर्ष जिल्लाको रघुगगा–३ मौवाफाँटको ज्ञानोदय मावि, अन्नपूर्ण–४ नारच्याङको प्रभा मावि र धवलागिरि–४ मुदीको बुद्धिविकास माविमा २०÷२० वटा कम्प्युटरको व्यवस्थापन गरेर सर्भर प्रणाली जडान भएको साथै कम्प्युटर कक्ष र प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।     

प्रकाशित मितिः शनिबार, ०८ वैशाख २०८१
https://jawaaf.com/storage/01HVT2XP0A52B72JR3P68769NT.jpg

हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख छात्रवृत्ति

खोटाङ, ७ वैशाख I हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख प्रदान गरेको छ । पालिकाले छात्रवृत्ति स्वरूप उक्त रकम उपलब्ध गराएको हो । नगरपालिकाले बिहीबार वडा नं ४ बडहरेका विकेश सिलवाल र वडा नं ६ मङ्गलटारका हेमन राईलाई उक्त रकम प्रदान गरेको हो । नगर कार्यपालिकाद्वारा पारित छात्रवृत्ति कार्यक्रम अन्तर्गत पहिलो पटक दुई छात्रलाई प्रोत्साहन रकम उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो ।


“नगरपालिकाले रोजगारमूलक गुणस्तरीय शिक्षामा जोड दिएको छ । नगरपालिका भित्रका छात्रछात्रालाई प्राविधिक विषय अध्ययन गर्न प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ”, उहाँले भन्नुभयो, “चिकित्साशास्त्र, कृषि तथा पशु विज्ञान, वन तथा वातावरण विज्ञान, इन्जिनीयरिङ र सूचना प्रविधिका विषय गरी पाँच विषयमा उच्च शिक्षा अध्ययन गर्नेलाई रकम प्रदान गरिने छ ।” यसै बिच, हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर क्रमशः सुधार भएको छ । गत वर्षको परीक्षामा करिब २२ प्रतिशत विद्यार्थीमात्र सबै विषयमा उत्तीर्ण भएकामा यस वर्ष ४० दशमलव ६३ प्रतिशत उत्तीर्ण भएको नगरप्रमुख राईले बताउनुभयो ।

Advertisement

गत वर्षदेखि नगरपालिकाले सामुदायिक विद्यालयको परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन व्यवस्थित गर्न थालेको थियो । कक्षा ४ देखि ९ सम्मको वार्षिक परीक्षामा फरक विद्यालयका शिक्षकलाई फरक विद्यालयमा परीक्षा केन्द्राध्यक्ष बनाएर खटाइएको थियो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाको मातहतमा प्रश्नपत्र बनाउने र उत्तरपुस्तिका परीक्षण गरी नतिजा प्रकाशन सुरु गरिएको थियो । शैक्षिक सत्र २०८०-८१ मा कक्षा ४ देखि ९ सम्म नगरपालिकाका सबै सामुदायिक विद्यालयबाट दुई हजार सात सय पाँच जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यसमध्ये एक हजार ९९ विद्यार्थी उत्तीर्ण भएका छन् । 

प्रकाशित मितिः शुक्रबार, ०७ वैशाख २०८१
https://jawaaf.com/storage/01HVQSMA7H034MEGEM3MYZT1PR.jpg

सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा, ६ वैशाख I गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ । 

जिल्लाका ११ पालिकामध्ये पाँच वटा पालिकाले पालिका भित्र सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने निर्णय गरेका हुन् । गोरखाको भीमसेन थापा गाउँपालिका, अजिरकोट गाउँपालिका, गोरखा नगरपालिका, धार्चे गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाले सूचना जारी गरेर सार्वजनिक पदमा रहेका सबैले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिइसकेका छन् ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारसँगै अभिभावक र बालबालिकाको आर्कषण बढाउन जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्यलगायत सबै सार्वजनिक पदमा रहेका व्यक्तिले बालबालिका सामुदायिक विद्यालयमा पढाउनै पर्ने निर्णय भएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

“सामुदायिक विद्यालयलाई व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चिता गर्न सहयोग पु¥याउने उद्देश्यले यस्तो निर्णय गरिएको हो”, अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले भन्नुभयो, “सार्वजनिक पदमा रहेका व्यक्तिले बालबालिका बाहिर नपठाएपछि अरुलाई पनि सामुदायिक विद्यालयमा पढाउन हौसला पुग्छ ।”

बारपाक सुलिकोट गाउँपालिकाले पनि गाउँसभाको निर्णय बमोजिम सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति लागू गरेको बारपाक सुलिकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोदराज भट्टले जानकारी दिनुभयो ।

बारपाक सुलिकोटले चालु शैक्षिकसत्र २०८१ देखि यस्तो नीति लागू गरेको हो । गाउँपालिकाको यो निर्णयले शिक्षालाई बालमैत्री, गुणस्तरीय, प्रतिस्पर्धी र नजितामुखी बनाउन सहयोग पुग्ने विश्वास भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले व्यक्त गर्नुभयो । भीमसेन थापा गाउँपालिकाले सवै वडामा सार्वजनिक पदमा रहेका व्यक्तिका बालबालिका कुन–कुन विद्यालयमा अध्ययनरत छन् भन्ने विवरणसमेत पठाउन सबैलाई निर्देशन दिएको उहाँको भनाइ छ । भीमसेन थापा गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ अभियानसमेत सम्पन्न गरिसकेको छ ।

प्रकाशित मितिः बिहिबार, ०६ वैशाख २०८१
https://jawaaf.com/storage/01HVQS2YP3XPK508P6VNB198GS.jpg

ताप्लेजुङ विद्युत् उत्पादनको केन्द्र बन्दै

फुङलिङ (ताप्लेजुङ) ६ वैशाख I ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् । विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङ्लुङ गाउँपालिकामा निर्माणाधीन छन् । ती आयोजनाबाट एक हजार छ सय ५४ दशमलव ५१ मेगावाट बिजुली उत्पादन हुनेछ । मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलाबाट चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । मेवाखोलामा निर्माण भइरहेका आयोजनाबाट एक सय ७८ दशमलव ४२ मेगावाट विद्युत् उत्पादन हुने छ । काबेली खोलामा चारवटा आयोजना निर्माण भइरहेका छन् । ती आयोजनाबाट ९५ दशमलव ४३ मेगावाट बिजुली उत्पादन हुनेछ ।


यसैगरी,पालुङखोलामा निर्माणाधीन दुई आयोजनाबाट ५१ मेगावाट विद्युत् उत्पादन हुने छ । सोना खोलामा हिमाली हाइड्रोपावरले नौ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ । सिदिङ्वा गाउँपालिका–१ इवा खोलामा तीनजुरे हाइड्रोपावरले चार दशमलव ६ मेगावाट क्षमताको आयोजनालाई द्रुत गतिमा अघि बढाएको छ ।

प्रकाशित मितिः बिहिबार, ०६ वैशाख २०८१
https://jawaaf.com/storage/01HVNGRH5JVV8545AJHCD1PQZ4.jpg

अभिभावकको प्रयासमा सुधारिएको सामुदायिक विद्यालय

धरान, ५ वैशाख I सरकारको मात्र मुख नताकी विद्यालय आफ्नै प्रयासमा पनि सुधार गरी अभिभावक र विद्यार्थी आकर्षित हुन्छन् भन्ने उदाहरण बनेको छ, धरान उपमहानगरपालिका-१२ स्थित ‘पब्लिक हाइस्कुल’ । धरानकै अन्य विद्यालयमा विद्यार्थीको सङ्ख्या घटिरहेका बेला पब्लिकमा भने बर्सेनि विद्यार्थी बढेका बढ्यै छन् । विद्यार्थीको चाप अत्यधिक भएपछि विद्यालयले हरेक वर्ष प्रवेश परीक्षाबाट छनोट गरेर क्षमता अनुसारका मात्र विद्यार्थी भर्ना गर्ने गरेको छ । 


नयाँ शैक्षिकसत्रमा भर्ना हुने विद्यार्थीको सङ्ख्या दोब्बर भन्दा बढी भएपछि विद्यालयमा मङ्गलवार प्रवेश परीक्षा सञ्चालन भयो । विद्यालयले नर्सरी देखि कक्षा ९ सम्म जम्मा तीन सय १४ विद्यार्थीका लागि भर्ना आह्वान गरेकोमा प्रवेश परीक्षामा सात सय १२ जना सहभागी भएको विद्यालयका संयोजक वीरेन्द्र बहादुर साहले जानकारी दिनुभयो । मङ्गलवार पब्लिक हाइस्कुलमा आफ्ना सन्तानलाई प्रवेश परीक्षाका लागि ल्याउनेमा इटहरी स्थित सिबी कलेजमा प्रिन्सिपल सागर भट्टराई पनि एक हुनुहुन्थ्यो । उहाँले पब्लिकमा पढाइ राम्रो भएकाले छोरालाई भर्ना गराउन चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला आफूले पढाएका धेरै विद्यार्थी अहिले यही विद्यालयमा शिक्षक छन्, उनीहरू प्रतिको विश्वासले पनि दिल्ली पब्लिक स्कुलबाट छोरालाई यहाँ ल्याउन चाहेको हुँ ।” 


धरानका सुदर्शन श्रेष्ठले पनि निजी विद्यालयमा पढिरहेका छोरालाई पब्लिकमा प्रवेश परीक्षाका लागि ल्याउनुभएको थियो । उहाँले सो विद्यालयमा पढाइरहेका अन्य अभिभावकले पढाइ राम्रो रहेको बताएपछि आफूले पनि ल्याउन चाहेको जानकारी दिनुभयो । अभिभावक प्रविना लिम्बुले सामुदायिक विद्यालय भएपनि पब्लिकमा गाडी र अन्य धेरै सुविधा पनि भएकाले आफू आकर्षित भएको बताउनुभयो । त्यस्तै राधिका कार्कीले पनि विभिन्न विषयको पढाइ हुने जानकारी पाएर यही विद्यालयमा भर्ना गर्न चाहेको बताउनुभयो । 


विद्यालयका शिक्षक–अभिभावक सङ्घ अध्यक्ष राजेन्द्र किरातीले विद्यालयले अभिभावकसँग पटक–पटक छलफल र सहकार्य गरेर पठनपाठनमा सुधार गर्दै लगेका कारण अभिभावकहरूको आकर्षण बढेको बताउनु भयो । उहाँ भन्नुहुन्छ, “पहिला यो विद्यालय पनि अन्य सामुदायिक विद्यालय भन्दा फरक थिएन तर जब विद्यालयले अभिभावकसँग समस्या राखेर समाधानको बाटो खोज्यो त्यसपछि अभिभावककै सहयोगमा विद्यालय चलीरहेको छ । हामी अभिभावक पनि खुसी छौँ ।” विद्यालयले विद्यार्थीका अभिभावकसँग आर्थिक सहयोग जुटाएर विभिन्न सुविधा थप गरिरहेको छ । पब्लिकसँग हाल छ वटा विद्यालय बस छन् । ल्याब, पुस्तकालय तथा मन्टेश्वरी कक्षा पनि सञ्चालन छ । 


विद्यालयका प्रधानाध्यापक डा इन्द्रमोहन झा अभिभावकको सहयोगकै भरमा विद्यालयको स्वरूप परिवर्तन भएको बताउनुहुन्छ । उहाँका अनुसार विद्यालयमा शिक्षक र कर्मचारी गरेर हाल एक सय ९२ जना कार्यरत हुनुहुन्छ । त्यसमध्ये जम्मा ४० जनाको मात्र सरकारले तलब दिन्छ । बाँकीलाई अभिभावकसँग सहयोग जुटाएर तलबको व्यवस्थापन गरिएको छ । उहाँ भन्नुहुन्छ, “दश वर्ष अघिसम्म यो विद्यालय पनि अरू सामुदायिक विद्यालयभन्दा फरक थिएन । गुणस्तर कमजोर थियो । हामीले अभिभावक र सरोकारवालासँग छलफल गरेर सुधारको प्रयास गर्दा अभिभावकले सहयोग गर्नुभयो । अहिले त्यसैको भरमा चलेका छौँ ।” विद्यालयमा नर्सरी देखि कक्षा १२ सम्म जम्मा तीन हजार पाँच सय हाराहारी विद्यार्थी छन् ।


यो विद्यालयलाई सरकारले नमुना विद्यालयका रूपमा समेत छनोट गरेको छ । यस पटक बाट सरकारले विज्ञान पठनपाठनका लागि कार्यक्रम सञ्चालन गर्न पब्लिकलाई पनि छनोट गरेको छ । विद्यालयमा हाल इलेक्ट्रिकल इन्जिनियरिङ, कम्प्युटर साइन्स, कम्प्युटर म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ब्युटिसियन कक्षा समेत सञ्चालन भइरहेका छन् । हाल नर्सरीदेखि ९ कक्षासम्म अंग्रेजी माध्यम र १० देखि १२ सम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठनपाठन भइरहेको प्रधानाध्यापक डा झाले बताउनुभयो । 


सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घको कोशी प्रदेश समिति सचिव तथा पब्लिक हाइस्कुल विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिबहादुर कार्की विद्यालय र अभिभावककै पहलमा शैक्षिक वातावरण सुधार गरिएका सामुदायिक विद्यालयहरूमा आकर्षण बढेको बताउनुहुन्छ । सरकारले निःशुल्क शिक्षा घोषणा गरेपनि सबै विद्यालयहरूलाई पूर्वाधारयुक्त बनाउन नसक्दा धेरैमा समस्या रहेको उहाँको गुनासो छ । उहाँ भन्नुुहुन्छ, “अहिले विद्यालय र अभिभावकको सहकार्य भएका सामुदायिक विद्यालयहरूमा पठनपाठन राम्रो छ तर सरकारको मात्र भर परेर बसेका विद्यालयहरूमा विद्यार्थी सङ्ख्या घटिरहेका छन् । यस विषयमा सरकारले बेलैमा ध्यान दिनु जरुरी छ ।”

प्रकाशित मितिः बुधबार, ०५ वैशाख २०८१
https://jawaaf.com/storage/01HVKFPZDS9RDHZA0TVZZCP54A.jpg

वैशाख २९ देखि दोस्रो अल्फा विटा ओपन बास्केटबल हुने

धरान बास्केटबल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा दोस्रो अल्फा बिटा ओपन महिला पुरुष बास्केटबल प्रतियोगिता हुने भएको छ सुनसरी बास्केटबल संघको प्राविधिक सहयोगमा यही वैशाख २९ गते देखि सुरु हुन लागेको प्रतियोगितामा पुरुष तर्फ १२ र महिला तर्फ ८ टिमले सहभागिता जनाउने मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराए ।


प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि व्यक्तिगत विद्या तर्फ प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले पुरुष तर्फ नगद १० हजार र महिला तर्फ नगद ५ हजार, ट्रफि, प्रमाणपत्र र अल्फा बिटा निःशुल्क छात्रवृत प्राप्त गर्नेछ ।

Advertisement

प्रतियोगिताको राइजिङ प्लेयरको पुरुष तर्फका उपाधि विजेताले नगद ५ हजार र महिला तर्फका विजेताले नगद २ हजार ५ सय रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल म्याच अघि प्रकाश पौडेल थी्र पोइन्ट कम्पिटिसन हुने भएको छ । खेलाडीहरूको हौसला बढाउन पूर्व बास्केटबल खेलाडी तथा चर्चित गायक प्रकाश पौडेलको प्रायोजनमा थी्र पइन्ट कम्पिटिसन हुन लागेका हुन ।


थी्र पइन्ट कम्पिटिसनका महिला र पुरुष विजेताले जनही ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सम्पूर्ण खेल धरान १६ स्थित धरान रङ्गशाला इन्डोर बास्केटबल कोर्टमा सम्पन्न हुनेछ । प्रतियोगितामा धरान, भापा, मोरङ, इलाम, उदयपुर, धनकुटा लगायत जिल्ला वाट सहभागिता जनाउने छ । प्रतियोगितामा  धरान २ स्थित अल्फा बिटा कोयला एजुकेशन कन्सलटेन्ट मुख्य प्रायोजकको रूपमा रहेको छ । अल्फा बिटाले स्वदेशी तथा वैदेशिक अध्ययनका लागि परामर्श गर्नुका साथै अध्ययनका लागि तयारी कक्षा सञ्चालन गर्दछ ।  

Advertisement

सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदिको अध्यक्षतामा अल्फा बिटाको सभा हलमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघका केन्द्रीय सदस्य रोशन राई, सुनसरी बास्केटवलका उपाध्यक्ष तथा धरान १० न. वडाका वडाध्यक्ष विवेक राई, अल्फा बिटाका प्रोप्राइटर सन्जिव बान्तावा, अग्रज पत्रकार हर्ष सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः मङ्गलबार, ०४ वैशाख २०८१
https://jawaaf.com/storage/01HV986RG720P5T0GXTZHQYAVR.jpg

इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव

इलाम, अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुई दिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गा कुमार बरालले बताए । उपप्रमुख बरालका अनुसार महोत्सवको पहिलो दिन आज ‘सूर्योदय आइडल’ को ‘ग्रान्ड फाइनल’, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र साङ्गीतिक कार्यक्रम राखिएको छ । महोत्सवको दोस्रो दिन भोलि अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदानप्रदान, लोपोन्मुख लेप्चा जातिको वेशभूषा प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, खाद्य परिकारका स्टल, ‘सूर्योदय आइडल’को विजेता घोषणा, पुरस्कार वितरण र साङ्गीतिक कार्यक्रमलगायत राखिएको बरालले जानकारी दिए ।


‘सूर्योदय आइडल’को ग्रान्ड फिनालेमा आठजना प्रतिस्पर्धीबाट विजेता छनोट गरिनेछ । महोत्सवमा कलाकार याम बराल, भूपेन्द्र राई, पूजन प्रधान, गणेश पराजुली, शोभा पराजुली, फुटी शेर्पालगायतको प्रस्तुति रहनेछ । महोत्सवका अवसरमा नगरपालिकाले लागुपदार्थ दुर्व्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी सन्देशमूलक कार्यक्रम राखेको बरालले जानकारी दिए । “पर्यटकीय नगरी सूर्योदयलाई सर्वकालीन पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको छ”, उपप्रमुख बरालले भने “यसले अन्तुको मात्र नभई समग्र जिल्लाको पर्यटन विकासमा टेवा पुर्‍याउने अपेक्षा छ ।” महोत्सवमा आउने पर्यटकका लागि अन्तुमा रहेका ६६ वटा घरबास (होमस्टे), निजी ढङ्गले चलेका होटेल र कटेजमा गरी पाँच हजार जनाले रात बिताउन सक्नेगरी व्यवस्थापन गरिएको संयोजक बरालले बताए ।


महोत्सव अवधिभर १० हजार पर्यटक भित्रिने अपेक्षा गरिएको उनको भनाइ छ । महोत्सव आयोजना गर्न रु १० लाख खर्च हुने आयोजकको अनुमान छ । अन्तु पुग्ने पर्यटकले अन्तुडाँडाबाट सूर्योदयको दृश्यावलोकन, विभिन्न हिमशृङ्खलाको दृश्यावलोकन, अन्तुपोखरीमा डुङ्गा सयर, हरियाली चियाबारी र सल्लाघारीको आनन्द लिएर फर्कने गरेका छन् । यसका साथै चियाबगान बीचमा बनाइएका कटेज तथा होमस्टे, स्थानीय स्रोत साधनको प्रयोग गरी थुम्का-थुम्कामा बनाइएका घर, विभिन्न जातजातिको कला–संस्कृति समेत पर्यटकका रोजाइ बन्ने गरेका छन् ।


प्रकाशित मितिः शुक्रबार, ३० चैत २०८०
https://jawaaf.com/storage/01HV6XEXZ5GESXWVNRAQYTAAJ0.jpg

छात्राबास जीर्ण अवस्था : विद्यार्थी जोखिममा


तुलसीपुर तुलसीपुर उपमहानगरपालिका–१८ स्थित नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठको छात्राबासको भवन जीर्ण अवस्थामा रहेको छ । 
पुराना भवनबम साथै भवनभित्र रहेका सुत्ने खाट पनि पुराना हुँदा विद्यार्थी जोखिम मोलेर बस्नुपर्ने अवस्था रहेको विद्यार्थी उद्यम पोख्रेलले बताए । “हावाहुरी लाग्दा भित्रै धुलो पस्ने अवस्था छ । यहाँ बस्ने विद्यार्थी पनि डराइडराई बस्नुपर्ने अवस्था छ”, उनले भने “भवन पुरानो छ, भत्किन्छ कि भन्ने डरले बस्नुपर्छ ।” 
भवनको वरिपरि घाँस उम्रिएका छन् । भित्तामा पानी चुहिएको जस्तो देखिन्छ । विसं २०४९ मा उक्त छात्राबासको भवन निर्माण भएको थियो । तीस वर्ष पुगिसकेको उक्त भवनका हरेक संरचना कमजोर बन्दै गएका छन् । 
आफूहरू बस्दा भवन राम्रै भए पनि अहिले आएर निकै जीर्ण भएको पूर्वविद्यार्थी भीमलाल मरासिनीले बताए । “म सात वर्ष यही भवनमा बसेँ । विसं २०५५ देखि २०६२ सालसम्म छात्राबासमै बसेर उत्तर मध्यमादेखि आचार्यसम्म अध्ययन गरेँ”, उनले भने “यो बीचमा भवन पनि राम्रै थियो । अहिले आएर हेर्दा भत्किएलान् भन्ने डर, वरिपरि उम्रिएका घाँसले सर्पको डर, धेरै समस्या रहेछ ।” 
छात्राबासमा अहिले आठजना विद्यार्थी बसिरहेका छन् । उक्त छात्राबास जीर्ण भएपछि नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाइएको विद्यापीठका प्राचार्य योगराज शर्माले बताए । भारतीय दूतावासमा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेर पठाइएको भन्दै आगामी आर्थिक वर्षमा बजेट आउने आश्वासन पाएको उनको भनाइ छ ।
विद्यार्थीहरू जीर्ण भवनमा रात कटाउन बाध्य हुँदा शिक्षकहरूको भने नयाँ भवन निर्माण भइसकेको छ । करिब रू एक करोडको लागतमा दुई वर्षअघि निर्माण भएको विजौरीस्थित भवनमा बाहिरबाट आएका शिक्षक बस्ने गरेका छन् । 

“सहसचिव, उपसचिवस्तरका शिक्षक बाहिरबाट आएका छन् । उनीहरूलाई गाउँमा कोठा खोज्न पनि समस्या, भनेको बेला नपाइने अवस्था थियो”, प्राचार्य शर्माले भने “त्यसैले शिक्षकका लागि प्राथमिकता दिएर भवन बनाइएको हो ।” विगत केही समय छात्राबासमा बस्ने विद्यार्थी पनि नभएकाले केही समय छात्राबास खाली रहेको वताए ।

प्रकाशित मितिः बिहिबार, २९ चैत २०८०