आजको मौसम : बागमती, गण्डकी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, १४ भदौः हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आज राति देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउ विभागले अनुरोध गरेको छ ।
तत्कालीन थारू राजा दङ्गीशरणको हुलाक टिकट प्रकाशन गरिँदै
तुलसीपुर (दाङ), १४ भदौ : तत्कालीन थारू राजा दङ्गीशरणको स्मरणमा हुलाक टिकट प्रकाशन गरिने भएको छ । यसका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको तुलसीपुर उपमहानगरपालिका–११ का वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिनुभयो ।
उहाँका अनुसार तुलसीपुर–११ सुकौरामा थारू राजा दङ्गीशरणले राज गरेको जनाउँदै उक्त क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्नका लागि टिकट प्रकाशन गर्न लागिएको हो । सुकौराको इतिहासलाई जीवन्त राख्नका लागि यो कार्यले भूमिका खेल्ने वडाध्यक्ष रावतको भनाइ छ । “यो एतिहासिक ठाउँलाई साँच्चिकै व्यवस्थित गर्नका लागि हामीले हुलाक टिकट प्रकाशन गर्न लागेका हौँ”, उहाँले भन्नुभयो, “यसले सुकौरालाई जीवन्त राख्नेछ ।”
टिकटमा राख्ने नाम र फोटो वडाले सिफारिस गरेर पठाएमा तत्काल टिकट बन्ने जनाउँदै केही दिनमा उक्त सिफारिस पठाइने वडाध्यक्ष रावतको भनाइ छ । उहाँका अनुसार टिकटमा ‘दङ्गीशरण थारू राजाको दरबार, सुकौरा दाङ’ राखेर पठाउने तयारी रहेको छ । थारू अगुवाहरूसँग छलफलपछि उक्त नाम टुङ्ग्याएको जनाउँदै सोही नाम नै सिफारिस गर्ने उहाँले बताउनुभयो । साथै राजदरबार क्षेत्रको भग्नावशेषको फोटो राख्ने सहमति भएको छ ।
थारू कल्याणकारिणी सभा दाङ क्षेत्र नं ३ का सचिव जितेन्द्र चौधरी टिकट निर्माण कार्य सराहनीय भएको बताउनुभयो । तर नाम भने ‘दङ्गीशरण थारू राजाको दरबार, सुकौरा दाङ’ नै राख्नुपर्ने सुझाव दिनुभयो । त्यसबाहेक अन्य नाम राख्दा थारू राजाको इतिहास नै मेटिने भन्दै यसमा ख्याल गर्नुपर्ने बताउनुभयो । त्यो नाम नराखिएमा थारू समुदायले विरोध जनाउने बताउनुभयो ।
थारू राजाले राज गरेको ऐतिहासिक ठाउँ भएकाले त्यहाँको भग्नावशेष जोगाउनु अतिआवश्यक रहेको भन्दै अन्य संरचना निर्माण गर्ने नाममा इतिहास मेटाउन नहुने सोही वडाका थारू अगुवा महेश थारूले बताउनुभयो । टिकट निर्माण भएमा त्यहाँ हेर्न जानेको पनि उत्तिकै घुइँचो लाग्न सक्ने भन्दै त्यहाँको ऐतिहासिक कुरालाई जोगाउन सक्नुपर्ने उहाँको भनाइ छ ।
सुकौराकोटको इतिहास
सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका दङ्गीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोटलगायत संरचना अहिले पनि देख्न सकिन्छ । राजकाज गर्ने समयमा दाङमा औलो लाग्ने भएकाले दङ्गीशरण राजा गर्मी छल्न जाने जाने ठाउँलाई राजाकोट भन्ने गरिन्छ । सुकौराकोटबाट सिधैँ दक्षिणतर्फको चुरे पर्वतको सबैभन्दा अग्लो ठाउँमा गर्मीयाममा बस्ने भएकाले यसलाई राजाकोट भनिएको किंवदन्ती रहेको छ । त्यस्तै राजाको दरबार रहेको ठाउँबाट उत्तरमा पर्ने वनमा दङ्गीशरणले सिकार खेल्ने गर्थे ।
दङ्गीशरण रानीवनका साथै दाङको पश्चिम मठौरीमा रहेको एक्ला पहाड, चुरे तथा महाभारत लेकमा सिकार गरेर फर्किने क्रममा आफ्नी रानीसँगै बुल्बुल्या तालमा नुहाएर सुकौराकोटमा फर्किने गरेको किंवदन्ती छ । थारू अगुवा महेश थारूका अनुसार दङ्गीशरण निःसन्तान रहेका र सन्तान प्राप्तिका लागि दङ्गीशरण र उनकी रानी बुल्बुल्या तालमा नुहाउने गरेका थिए ।
हरेक वर्ष १ माघमा सन्तान प्राप्तिका लागि बुल्बुल्या तालमा नुहाउने गरेको धार्मिक मान्यता छ । सोहीअनुसार सन्तान नभएका दम्पतीले नुहाउन आउने गर्दछन् । बुलबुल गरेर पानी निस्कने भएकाले उक्त ताललाई बुल्बुल्या भनिएको हो । बुल्बुल्या तालमा मासिक रक्तश्राव भएका महिलाले नुहाउन नमिल्ने भनिन्थ्यो । मासिक रक्तश्राव भएकाले नुहाए महिला बिरामी पर्ने गर्थे । राजकाज गर्ने क्रममा जनताको पिरमर्का बुझ्न दङ्गीशरण दरबार बाहिर निस्केपछि रातगाउँस्थित जरुवाको पानी पिउने गरेको थारू अगुवा रामशरण चौधरीले बताउनुभयो ।
अन्य राजारजौटाबाट आफ्नो सम्पत्ति जोगाउन राजा दङ्गीशरणले दङ्गीशरण गाउँपालिका–१ रहपुरस्थित चुरे पर्वतको फेदमा धन गाडेको भन्ने गरिन्छ । त्यस ठाउँमा अहिले पनि ढुङ्गाजस्तो देखिने चिल्लो खालको प्राचीन रुपैयाँ र परापूर्वकालमा प्रयोग भएका माटाका भाँडा र इँटाका टुक्रा अवशेषका रूपमा देख्न सकिन्छ । राजा दङ्गीशरणले आफूसँग भएका रुपैयाँ, पैसा सोही टापुमा गाडेकाले त्यसको नाम धनटाकुरा रहन गएको भन्ने जनविश्वास छ ।
पशुपालन गर्दै दङ्गीशरण गाउँपालिका–१ रहरपुरस्थित चुरे पर्वतको फेदमा आइपुगेका गोपाल वंशका बाह्रजना ग्वालाले गाडेको लट्ठी उम्रेको इतिहासस्वरूप सालको रूख अहिले पनि देख्न सकिन्छ । गाई, भैँसी चराउँदै आएका बाह्रजना ग्वालाले रोपेको रूख भएको सो ठाउँलाई ‘बार बर्दियन्हक लठ्ठा’ भन्ने गरिन्छ । बाह्र ग्वालाले आफूमध्येका एकजनालाई समूहबाट हटाएको र समूहबाट हटाइएका ग्वालाले रोपेको रूख पनि अहिलेसम्म जीवितै रहेको दाबी छ ।
खेतीपातीका लागि पानी नपरे पूजा गर्ने ठाउँलाई ‘बैकरह्वा पर्वत’ भनिन्छ । पानी नपरेमा पानी पारिदिनका लागि ‘बैकरह्वा’ देवताको पूजा गरेपछि पानी पर्ने विश्वास छ । चुरे पर्वतअन्तर्गत दङ्गीशरण गाउँपालिका–१, मलई भन्ने स्थानमा उक्त बैकरह्वा देवता रहेका छन् । बैकरह्वालाई थारू जातिले इन्द्रदेवताका रूपमा पूजा गर्ने गरेका छन् ।
विसं १९४२ मा दङ्गीशरण गाउँपालिका–४ बैवाङका रघुनाथ चौधरीकी श्रीमती सति गएको स्थानमा ‘सतिदेवी’ मन्दिर निर्माण गरिएको छ । उनी सति जाने बेला सतिप्रथा अन्त्य भइसकेको थियो । सति मन्दिर रहेको स्थानमा बबई नदी रहेको र सो स्थानमा ठूलो ताल थियो । रघुनाथको मृत्यु भएपछि उनकी श्रीमतीले सति जाने इच्छा गरिन् । तर प्रहरी प्रशासनले रोक लगाए । तैपनि उनले पतिसँग सति गएरै छाड्ने अडान लिएको किंवदन्ती छ ।
ताप्लेजुङका विद्यालयमा रेडपाण्डा र हिउँचितुवा संरक्षण शिक्षा
फुङ्लिङ (ताप्लेजुङ), १४ भदौः जिल्लाका विद्यालयमा हिमाली संरक्षण मञ्चले रेडपाण्डा नेटवर्कको सहयोगमा वातावरण र हिउँचितुवा संरक्षण शिक्षासम्बन्धी स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । दुलर्भ वन्यजन्तु हिउँचितुवा र रेडपाण्डाको महत्त्व तथा संरक्षण गर्ने उद्देश्यले विद्यालयमा शिक्षण सुरु गरिएको हो ।
संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार जिल्लाका १३ विद्यालयमा कार्यक्रम लागू गरिएको छ, जसबाट छ सय ५० विद्यार्थी लाभान्वित हुँदै आएका छन् । पाठ्यक्रमको मुख्य उद्देश्य भविष्यका पुस्तालाई वातावरणीय संरक्षणमा सचेत बनाउँदै दुर्लभ वन्यजन्तु रेडपाण्डा र हिउँचितुवाको संरक्षणको महत्त्वबारे जानकारी दिनु रहेको उहाँले बताउनुभयो ।
ताप्लेजुङका विद्यालयमा वातावरणीय शिक्षासम्बन्धी पाठ्यक्रम आवश्यक छ । यस्ता कार्यक्रमले विद्यार्थीलाई वातावरण संरक्षणको महत्त्वबारे जागरूक बनाउनुका साथै उनीहरूलाई सक्रिय सहभागीका रूपमा तयार पार्छ । वातावरणीय संरक्षण केवल सरकार र गैरसरकारी संस्थाको जिम्मेवारीमात्र नभएर, स्थानीय समुदाय, विशेषगरी विद्यार्थीलाई पनि यसमा समावेश गर्नु अनिवार्य रहेको संयोजक राईले बताउनुभयो ।
वन्यजन्तु र वनस्पतिको संरक्षणको महत्त्व विश्वव्यापी छ, तर स्थानीयस्तरमा यसबारे जनचेतना कम रहेको विषयको पाठ्यक्रम तयार गरी पठनपाठन गरिएको मञ्चका सचिव विवश केदेमले बताउनुभयो ।
कार्यक्रम संयोजक राईका अनुसार, वातावरणीय शिक्षासम्बन्धी पाठ्यक्रम कक्षा ६ र ७ मा लागू गरिएको छ । यस पाठ्यक्रममा दुर्लभ वन्यजन्तु रेडपाण्डाको बासस्थान, संरक्षणका उपाय र स्थानीय समुदायको भूमिकालाई केन्द्रित गरेर तयार गरिएको छ । फुङ्लिङ नगरपालिकास्थित मयाम मावि फुरुम्बु, पाथीभरा याङवरक गाउँपालिकास्थित सिद्धिकुमारी आधारभूत विद्यालय सिरिङ्गे र फक्ताङ्लुङ गाउँपालिकास्थित सिँवा मावि तथा महेन्द्र आधारभूत विद्यालय लिङखिममा पाठ्यक्रम लागू गरिएको छ ।
यसैगरी, सिरिजङ्गा गाउँपालिकास्थित लक्ष्मी मावि मामाङ्खे, कञ्चनजङ्घा मावि याम्फुदिन र फक्ताङलुङस्थित सरस्वती च्यारिवुक मावि लेलेपमा पनि पाठ्यक्रम लागू गरिएको छ । तीन सय १० जना विद्यार्थी उक्त पाठ्यक्रमबाट लाभान्वित भएका छन् । हिउँचितुवा संरक्षण शिक्षासम्बन्धी पाठ्यक्रम कक्षा ६, ७, र ८ का तीन सय ४१ विद्यार्थीलाई लक्षित गर्दै छवटा विद्यालयमा लागू गरिएको छ । फक्ताङलुङको सावादिन, तापेथोक र घुन्साका विद्यालयमा पाठ्यक्रम प्रयोगमा रहेको छ । पाठ्यक्रमको उद्देश्य हिउँचितुवा संरक्षण र महत्त्वबारे विद्यार्थीलाई जानकारी दिनु रहेको संयोजक राईले बताउनुभयो ।
रेडपाण्डा र हिउँचितुवा दुवै दुर्लभ वन्यजन्तु हुन्, जसको संरक्षण गर्न विश्वभरका वैज्ञानिक, संरक्षणकर्मी र स्थानीय समुदाय निरन्तर प्रयासरत छन् । जैविक विविधताले भरिपूर्ण क्षेत्रमा यस्ता वन्यजन्तुको संरक्षण अत्यन्त महत्त्वपूर्ण छ । रेडपाण्डा र हिउँचितुवाका बासस्थान विनाश र वातावरणीय असन्तुलनले यी प्रजातिलाई सङ्कटमा पारेको छ । यसलाई मध्यनजर गर्दै विद्यालयस्तरमा नै विद्यार्थीलाई यी वन्यजन्तु संरक्षणको महत्त्व बुझाउनु जरुरी भएको हिमाली संरक्षण मञ्चका कार्यवाहक अध्यक्ष भिङमारे हेल्लोकले बताउनुभयो ।
राष्ट्रपति पौडेलद्वारा टिआरसी विधेयक प्रमाणीकरण
काठमाडौँ, १३ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो । सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो ।
पोखरामा बजार अनुगमनः खाद्य ‘स्टोर्स’लाई रु एक लाख जरिवाना
कास्की, १३ भदौ : जिल्ला प्रशासन कार्यालय कास्कीले चाडपर्वलक्षित बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–५ मा अवस्थित सगरमाथा एग्रो प्याकेजिङ स्टोरलाई रु एक लाख जरिवाना गराएको छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै सामान बिक्री गरेको पाइएपछि बुधबार कारबाही गरिइएको हो । साथै सो उद्योगबाट म्याद गुज्रिएका र लेवल नभएका रु ५५ हजार आठ सय ९२ मूल्य बराबरका सामान जफत गरी नष्ट गरेको बजार अनुगमन समितिका संयोजक एवं कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
यसरी म्याद गुज्रिएर जफत गरिएका सामग्रीमा अलैँची १६ केजी, चक्रचिप्स १९ केजी, पिप्ला आठ केजी, मेथीपत्ता चार बट्टा, पास्ता एक केजी, ओखर १६ केजी र अन्य तिललगायत मसला पाँच केजी रहेको छ । यसैगरी स्टोरमा मूल्यसूची नराखी जथाभावी सामान बिक्री वितरण गरेको पाइएपछि सम्पूर्ण कागजातसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन समितिले निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “उपभोक्ताले गुनासो गर्नुभएपछि जिल्ला अनुगमन समितिबाट अनुगमन गरेका हौँ । सो क्रममा उपभोक्ता संरक्षण ऐनका विपरीतका कुसर गर्नुभएकाले पसल सञ्चालकलाई जरिवाना र अखाद्य सामग्री जफत गरेका छौँ ।”
यसैगरी अन्यत्रबाट खुला ल्याई उक्त उद्योगमा प्याकेजिङ गरिएको सोयाविन मस्यौरा प्रयोगशाला परीक्षणका लागि खाद्य नियन्त्रण तथा गुणस्तर कार्यालयमा पठाइएको क्षेत्रीले जानकारी दिनुभयो । सो स्टोरका सञ्चालक भारतको मोतिहारी जिल्ला ढाका गाउँ पञ्चायत–२ स्थायी घर भएका अशोक जैसवाललाई अब आइन्दा उपभोक्तामाथि खेलवाड नगर्न सचेत गराइएको छ ।
बजार अनुगमन टोलीमा नापतौल तथा गुणस्तर कार्यालय पोखराका प्रतिनिधि जनप्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि तथा उपभोक्ता मञ्च र सञ्चारकर्मीको सहभागिता रहेको थियो । यसैगरी चाडपर्व नजिकिएसँगै मूल्यवृद्धि, सामानको कृत्रिम अभाव, कालोबजारी र उपभोक्ता हकहितविरुद्धका कार्य हुनसक्ने भन्दै पोखरा महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । महानगरले विभिन्न मासु पसल, दूध डेरीहरूमा अनुगमन बढाएको छ ।
लगानीअनुसार जुटले मूल्य पाएन
बेलबारी (मोरङ), १३ भदौः जुटले उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । पूर्वी तराई क्षेत्रमा वर्षौँदेखि नगदे बालीका रूपमा लगाउने गरिएको जुटखेतीले पछिल्लो समय किसानको लागत खर्च पनि उठ्न छाडेको छ । धनपालथान गाउँपालिका–१ नोचाका किसान काशीनाथ चौधरीले भन्नुभयो, “जुटखेतीतर्फ आकर्षण घटेको छ । जुट उत्पादनमा लगानी धेरै लाग्छ । लगानीअनुसारको बजार मूल्य नपाउँदा पुस्तौँदेखि गर्दै आएको जुटखेती छाड्दै गएका हौँ ।”
विगत वर्षहरूमा तीनदेखि पाँच बिघासम्ममा जुटखेती गर्दै आएकामा यस वर्ष एक बिघा १० कठ्ठामा मात्र खेती गरिएको उहाँले चौधरीले बताउनुभयो । तराईका अन्य खेतीभन्दा धेरै जुटखेती झन्झटिलो भएका कारण पनि आकर्षण घट्दै गएको जनाइएको छ । विगत वर्षहरूमा जुट सफाइ (धुने) गर्ने मजदुरलाई ४० मुठा धोएबापत छ मुठा दिने चलन थियो, अहिले ४० मुठा धोएबापत १० मुठासम्म दिँदा पनि धुने मानिस भेट्न छाडिएको किसान काशीनाथ चौधरी बताउनुभयो ।
धनपालथानका किसान चौधरीजस्तै जहदा–७ का किसान राजनिश सिंहले जुटखेतीलाई आधुनिकीकरणतर्फ जोड्न नसक्दा र उचित मूल्य नपाउँदा पछिल्लो समय जुटखेतीको आकर्षण घट्दो रहेको बताउनुभयो ।
किसानले जुटखेतीतर्फको आकर्षण घट्दो बताए तापनि तथ्याङ्कमा भने वार्षिक रूपमा उत्पादन बढेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा मोरङमा सात हजार तीन सय ५१ दशमलव ५० मेट्रिक टन, आव २०७९/८० मा सात हजार चार सय नौ दशमलव ५० मेट्रिक टन र आव २०८०/८१ मा सात हजार सात सय ३१ मेट्रिक टन जुट उत्पादन भएको हुँदा विगत वर्षमा भन्दा यस वर्ष उत्पादन बढेको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताउनुभयो ।
उहाँले मोरङमा गत वर्ष पाँच हजार एक सय १० हेक्टर जमिनमा जुटखेती गरिएकामा यस वर्ष वृद्घि भई पाँच हजार एक सय २५ हेक्टर जमिनमा जुटखेती गरिएकोे बताउनुभयो । उहाँका अनुसार यस वर्ष प्रतिहेक्टर एक दशमलव ४५ मेट्रिक टन उत्पादन भएको छ । आव २०७८/७९ मा प्रतिक्विन्टल रु ११ हजारमा कारोबार भएको जुटको मूल्य घटेर आव २०७९÷८० मा प्रतिक्विन्टल नौ हजार पाँच सयसम्ममा र हाल प्रतिक्विन्टल आठ हजार एकसय ५० मा कारोबार भइरहेको प्रमुख सिंहले बताउनुभयो ।
कोशी प्रदेशमा छ हजार नौ सय नौ सय ६२ हेक्टर जमिनमा जुटखेती गरिन्छ । प्रदेशभित्र अन्य जिल्लाको तुलनामा झापा, मोरङ र सुनसरीमा जुटखेती बढी गर्ने गरिएको छ । ज्ञान केन्द्रका अनुसार मोरङका १७ पालिकामध्ये धनपाल, जहदा, ग्रामथान, कानेपोखरी गाउँपालिका र सुनवर्षी, रतुवामाई र रङ्गेली नगरपालिकामा जुटखेती गर्ने गरिएको छ ।
नेपालमा उत्पादित जुट सबै स्वदेशमै खपत हुन्छ । नेपालमा भारत र बङ्गलादेशबाट जुट आयात हुने गरेको छ । नेपालमा उत्पादन हुने जुटलाई तीन वर्गमा विभाजन गरिएको छ । रातो खैरो रङको जुटलाई एक नम्बर, सेतो रङको जुटलाई दुई नम्बर र कालो रङको जुटलाई तीन नम्बरमा विभाजन गरिएको छ ।
बोयर बोका र खरी जातको बाख्राको माग उच्च
दमौली (तनहुँ), १३ भदौः तनहुँको बन्दीपुर गाउँपालिकामा अवस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी खरी जातको बाख्रा उत्पादन गरेको छ । केन्द्रले एक वर्षको अवधिमा ३४ खरी बाख्रा उत्पादनको लक्ष्य राखेकामा ७० बाख्रा उत्पादन गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा ३६ बढी बाख्रा उत्पादन भएको केन्द्रका प्रमुख राजु कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रबाट खरी, सिन्हाल, बारबरी, जमुनापारी क्रस, शुद्ध बोर, बोर क्रस, शुद्ध सानन र सानन क्रस बाख्राका पाठापाठी उत्पादन गरिएको छ ।
सोही वर्ष बारबारीका छ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा छ, सिन्हालका चार पाठापाठी उत्पादन लक्ष्य राखिएकामा १२, शुद्ध बोरका ८० पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ५९, शुद्ध बोरका ८० पाठापाठी लक्ष्य उत्पादन राखिएकामा ५९, बोर क्रसका एक सय ७३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा एक सय ५९, शुद्ध साननका १५ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा २५, सानन क्रसका ३३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ६६ पाठापाठी उत्पादन भएको छ ।
सानन दूध दुई हजार लिटर उत्पादन लक्ष्य राखिएकामा पाँच हजार सात सय ९१ लिटर, सानन चिज दुई सय किलो उत्पादन लक्ष्य राखिएकामा छ सय १२ किलो उत्पादन भएको केन्द्रका प्रमुख कँडेलले जानकारी दिनुभयो । अनुसन्धान केन्द्रमा बोयर जातको बोकाको माग उच्च रहेको छ । उहाँले भन्नुभयो, “स्थानीय जातको भन्दा बोयर जातको बोकाको माग बढी छ, जमुनापानी, खरी जातको बाख्राको माग पनि उत्तिकै छ ।”

केन्द्रले सो वर्ष एक सय ४२ बाख्रा वितरण गरेको छ । नेपालका अधिकांश जिल्लामा यहाँबाट उत्पादन हुने बाख्रा वितरण हुने गरेको कँडेलको भनाइ छ । एक सय प्रतिशत बोर बाख्रा ४५ वटा वितरण गरिएको छ । उक्त बाख्रा म्याग्दी, सोलुखुम्बु, पाल्पा, गोरखा, कैलाली, कास्की, काठमाडौँ, दाङ, रामेछाप, चितवन, तनहुँ, दोलखा, उदयपुर, लमजुङ, स्याङ्जा, रुकुमपश्चिम, धादिङमा वितरण भएको केन्द्रका प्रमुख कँडेलको भनाइ छ ।
बोर ९६ दशमलव ८७ प्रतिशत दुई, बोर ९३दशमलव ७५ प्रतिशत पाँच, बोर ८७ दशमलव ७५ प्रतिशत १२, बोर ७५ प्रतिशत १६, बोर ५० प्रतिशत नौ, सानन एक सय प्रतिशत ११, सानन ९३.७५ प्रतिशत चार, सानन ८७ दशमलव पाँच प्रतिशत तीन, सानन ७५ प्रतिशत चार, सानन ५० प्रतिशत दुई, बारबारी दुई, खरी २६ वटा बाख्रा वितरण गरिएको छ ।
बाख्राको अनुसन्धानका लागि केन्द्रले विभिन्न ठाउँमा स्रोतकेन्द्र स्थापना गरेको छ । केन्द्रका अनुसार जिल्लाको भानु नगरपालिकास्थित बरभज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको नीलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् । त्यसमध्ये बरभञ्ज्याङमा एक सय ५५, बक्राङ गोरखामा १३, बरादी तनहुँमा एक सय ९३, पेखुथाना स्याङ्जामा दुई सय ३२, घिरिङ तनहुँमा ७७, नीलकण्ठ धादिङमा ६३ र निजगढ बारामा ४३ बोर क्रसका पाठापाठी उत्पादन भएको छ ।
केन्द्रमा बाख्रालाई चरिचरनको घाँसमा बाह्य जनावरबाट क्षति हुने गर्दा समस्या हुने गरेको छ । त्यस्तै हिउँद तथा सुक्खा मौसममा बाख्रालाई घाँसको कमी हुँदै आएको छ । त्यसका लागि सरपानी तथा आलेगाउँमा जमिन सम्याइ घाँस लगाइएको छ । केन्द्रमा कुल २४ जनाको दरबन्दी रहेकामा दरबन्दीअनुसार पाँचजना कार्यरत छन् । त्यस्तै तीनजना काजमा आएका छन् भने एकजना काजमा गएका छन् । प्राविधिक कर्मचारीको कमी, प्राविधिक कर्मचारीलाई प्रोत्साहन तथा तालिमको कमीका कारण सोचेअनुसारको काम हुन नसकेको प्रमुख कँडेल बताउनुहुन्छ ।
कुल ८० हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा बाख्राका लागि आवश्यक पर्ने डालेघाँस, भुइँघाँसको खेती गरिएको छ । बाख्रालाई विशेष गरेर नेपियर, मोलाटो, सेटारिया, सिग्नल घाँस, किम्भु खनायोलगायत घाँस खुवाउने गरिएको छ । देशका विभिन्न जिल्लाबाट केन्द्र भ्रमणका लागि आउने गरेका छन् । कृषि, पशुपालन, वनविज्ञानका विद्यार्थी अध्ययन तथा अवलोकन भ्रमण लागि आउने गरेको केन्द्रमा मन्त्री, सांसदलगायत विभिन्न पार्टीका नेताहरूले अवलोकन गर्ने गरेका छन् ।
‘जहाँ हाटबजारमा पनि डेउडा गुञ्जिन्छन्’
घोडाघोडी (कैलाली), १३ भदौ : कैलालीको घोडाघोडी नगरपालिका–१ की ६० वर्षीया पद्मादेवी धामी शनिबार कहिले आउँदा भनेर औँला गन्दै बस्ने गर्नुहुन्छ । शनिबार आयो कि आफूले गर्न सक्ने काम छिटोछिटो भ्याएर नजिकैको सुख्खड बजारमा जाने हतारो हुन्छ उहाँलाई । त्यसको कारण हो डेउडा खेल्नु ।
शनिबारका दिन घोडाघोडी–१ सुखडमा डेउडा खेल्ने गरिन्छ । धामीले भनिन्, “अछामकी हुँ हजुर ! पहिँले पहिँले पहाडमा खुवै खेल खेल्लो छिया, तराई आएपछि खेल्ल पाहिन्या छियोन, आजकाल हाटबजारमा खेल लाग्दो छ । यैँ भएर शनिबार कैल आउला मान्नो छु ।”
धामीलाई जस्तै घोडाघोडी नगरपालिका–८ की धनसरा जोशीलाई पनि शनिबारको पर्खाइ हुन्छ । उहाँ भन्नुहुन्छ, “यो खेल लाग्न सुरू भएदेखि प्रत्येक शनिबार डेउडा खेल्न आइपुग्छु । देउडा खेल्न पाउँदा आफ्ना बाल्यकालका दिन याद आउँछन् ।”
विभिन्न मेला महोत्सव आयोजना गरिने सुखड बजारको हेलिप्याडमा शनिबारका दिन एकातिर कृषकले तरकारी बेचिरहेका हुन्छन् भने अर्कोतिर डेउडा खेल लागिरहेको हुन्छ । पद्मा र धनसरा जस्तै घोडाघोडी नगरपालिकाभित्रका डेउडा पारखीहरूलाई शनिबारको पर्खाइ हुन्छ । ताजा तरकारीसँगै अन्य सामान पनि किनमेल त गर्न पाइन्छ नै डेउडा खेल खेल्न र मनोरञ्जन पनि लिन पाइने डेउडा खेल्न पुुग्ने गरेका डम्बर विष्ट बताउनुहुन्छ ।
रमाइलोसँगै डेउडा खेल्न थालेदेखि व्यापार पनि राम्रो हुने गरेको व्यवसायी लक्ष्मी चौधरीको भनाइ छ । “मङ्गलबार हाटबजार लाग्ने गर्छ तर शनिबार त व्यापार र रमाइलो हुने भएकाले अचेल हामीलाई पनि रमाइलो लाग्न थालेको छ”, उहाँले भन्नुभयो ।
हाटबजारमा हरेक मङ्गलबार बिहान १० बजेदेखि कृषकले तरकारी बेचिरहेका हुन्छन भने शनिबार तरकारीसँगै दिउँसो ३ बजेपछि डेउडा खेलिने गरेको घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गाप्रसाद गौतमले जानकारी दिनुभयो ।
गएको माघदेखि हाटबजारमा नियमित रूपमा डेउडा खेल हुने गरेको उहाँले बताउनुभयो । “कृषकको व्यवसायसँगै हाटबजारमा डेउडा संस्कृतिको पनि संरक्षण गरिरहेका छौँ । यसले कृषकलाई पनि फाइदा पुगेको छ”, उहाँको भनाइ थियो । घोडाघोडीसँगै जिल्लाको बर्दगोरिया गाउँपालिका, लम्की चुहा नगरपालिकास्थित गुलरामा हाटबजारमा पनि डेउडा संस्कृति जोगाउने प्रयास गरिँदै आइएको छ ।
हाटबजारमा डेउडा लाग्ने दिन निकै भिड हुने गरेको बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बम बताउनुुहुन्छ । ‘संस्कृति बचाउ’ भन्ने उद्देश्यका साथ एक वर्षदेखि निरन्तर रूपमा डेउडा खेल हुने गरेको उहाँले सुनाउनुभयो । “आइतबार र बिहीबार गरी दुई दिन हाटबजार लाग्ने गर्छ”, अध्यक्ष बमले भन्नुभयो,“बिहीबार डेउडा खेलाउने गर्दछाँै । डेउडा खेल्नका लागि धनगढी, अत्तरिया, लम्की, महेन्द्रनगरका डेउडा कलाकारलाई बोलाउने गरिएको छ । गएको साउनदेखि निरन्तर डेउडा खेल खेलाइने गरेको छ ।”
धेरै जसो ज्येष्ठ नागरिकहरू डेउडा खेल्न आउने गरेकाले रमाइलोसँगै सुखदुःख साँट्ने र आफ्ना पुराना दिन स्मरण गर्दै रमाउनका लागि यो कार्य उपयोगी भएको छ ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् टि एन जोशी डेउडा खेल सुदूरपश्चिमका लागि निकै महत्वपूर्ण भएकाले यसलाई जोगाउनु सबैको दायित्व रहेको बताउनुहुन्छ । “यो यहाँको मौलिक संस्कृति हो, त्यसका लागि हाटबजारमा हरेक शनिबार यस्ता कार्यक्रम गर्नु पनि मौलिक नै छ । अब हरेक क्षेत्रबाट सुदूरपश्चिमका संस्कृति जोगाउने खालका कार्य हुन आवश्यक छ”, उहाँले भन्नुभयो,“यसले नयाँ पुस्तालाई आफ्नो संस्कृति बुझ्न सघाउ पुगेको छ । डेउडासँगै सुदूरपश्चिमका अन्य संस्कृतिलाई पनि विभिन्न कार्यक्रममार्फत जोगाउन लाग्नुपर्छ ।”
प्रदेश १ मा दुग्धजन्य पदार्थको बिक्री बढ्न थाल्यो : व्यवसायी उत्साहित
झापा, १३ भदौः दुग्धजन्य वस्तु बिक्री नभएर सङ्कट झेलिरहेका डेरी व्यवसायीहरूमा सुधारको आशा पलाएको छ । डेरीबाट उत्पादन गरिएका नौनी घिउ, छुर्पी र पाउडर दूधको बिक्री बढ्न थालेपछि व्यवसायीमा आशा पलाएको हो ।
नेपाल डेरी एशोसिएसनका वरिष्ठ उपाध्यक्ष राजन चिमरियाले मौज्दातमा रहेका दुग्धजन्य पदार्थको दसैँतिहारसम्म ५० देखि ६० प्रतिशत खपत हुने बताउनुभयो । विगतमा सरकारले दुग्धजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएसँगै यहाँ उत्पादित सामग्रीले बजार पाएको हो ।
कोशी प्रदेशमा सहकारी र निजी डेरीले किसानबाट सङ्कलन गरेको दूधको भुक्तानी एक महिनामात्र ‘होल्ड’ गरेर सबै भुक्तानी गर्दै आएको बताउनुभयो । यसका कारण किसान पनि उत्साहित बनेका छन् । छ महिनाअघिसम्म कोशीका डेरी उद्योगमा नौनी घिउ, एसएमपी र छुर्पीको मौज्दात पाँच लाख केजीभन्दा ज्यादा रहेको थियो । भारतीय दूधको आयात घटेसँगै आन्तरिक खपतमा स्थानीय उत्पादन र उद्योगीलाई पहिलो प्राथमिकता दिने सरकारको निर्णयले हाल व्यवसायमा सुधार आएको उहाँले बताउनुभयो ।
उहाँले कोडिभ महामारीपछि ठूला गाईफार्म धामधम बन्द हुन थालेपछि हाल दूध उत्पादन घटेको बताउनुभयो । “किसान पछिल्लो समय पलायन भएका छन् । इलाम, पाँचथर, झापालगायत स्थानमा सञ्चालित धेरै गाईफार्म बन्द भए”, उहाँले भन्नुभयो, “करिब ३० प्रतिशत उत्पादन घटेसँगै बजारमा यसको बिक्रीमा सुधार आयो ।”
उहाँले यहाँ उत्पादित छुर्पी भने अन्तर्राष्ट्रिय बजारमा सहज रूपमा निर्यात भइरहेको बताउनुभयो । छुर्पीजस्तै घिउ, बटर र पाउडर दूध निर्यातमा समेत सरकारले गम्भीर भएर पहल गर्न आवश्यक रहेको उपाध्यक्ष चिमिरियाको भनाइ छ । उहाँका अनुसार देशभर हाल आठ लाख ५० हजार लिटर खुला दूधको दैनिक कारोबार हुँदै आएको छ । यसमध्ये कोशी प्रदेशमा मात्र तीन लाख ५० हजार लिटरको कारोबार हुने गरे तापनि रु ४५ करोड बढीको बटर नौनी अझै मौज्दात रहेको उहाँका भनाइ छ ।
‘मिस भिवा’का १६ प्रतिस्पर्धी सार्वजनिक
काठमाडौँ, १२ भदौः ‘मिस भिवा’ का १६ जना प्रतिस्पर्धी सार्वजनिक गरेको छ । आज आयोजित एक समारोहका बीच उमङ्ग क्रियशनले प्रतिस्पर्धीसहित (ताज) क्राउन सार्वजनिक गरेको हो ।
‘मसि भिवा’ संस्कृत शब्द रहेकाले यसको नेपाली अर्थ ब्रेभ, बोर्ड, ब्युटीको रहेको उमङ्ग क्रियशनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले बताउनुभयो । मिस भिवाका विजेताले मिस ग्रान्ड नेपालमा सहभागिता जनाउन पाउने उहाँले बताउनुभयो ।
प्रतियोगितामा जम्मा १६ जना प्रतिस्पर्धी सहभागी रहेका छन् । जसमा मिमोशा राई, अस्मिता शाह, डा काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्क, रिंसा शाक्य, कृशला गुरूङ, प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, सञ्जु केसी, सुधिरा यादव र जेनिता सेञ्चुरी सहभागी रहेका छन् । प्रशान्त ताम्राकारको कोरियोग्राफीमा प्रतिस्पर्धीलाई सार्वजनिक गरिएको थियो ।
कार्यक्रमा सबैभन्दा महँगो रु २५ लाख बराबरको क्राउन सार्वजनिक गरिएको थियो । यो अपाला ज्वेलर्सले नेपाली संस्कृति र पहिचान झल्कने गरी डाइमन तथा ह्वाइट गोलबाट निर्माण गरेको त्यस अवसरमा जानकारी दिइयो । प्रबन्धक अधिकारीले इन्टरनेशनल फ्रेञ्चाइजसहित पहिलो चरणमा अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट २० मा पु¥याइसकेको र अब मिस भिवालाई अन्तर्राष्ट्रिय प्याजेन्टका रूपमा नेपालमा नै गर्ने लक्ष्यका साथ अगाडि बढाइएको बताउनुभयो ।
विजेताले मिस ग्राण्ड इन्टरनेशनलमा प्रतिनिधित्व गर्ने छन् । ‘मिस भिवा’ थाइल्याण्डको फ्रेञ्चाइज हो ।





























