मङ्गलबार, ०२ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KXAQSFG26J42SF4JH5ZF01Z6.jpeg

कमल खेतीले फेरियो पूर्वी चीनको अर्थतन्त्र

काठमाडौं । पूर्वी चीनको सुजाउ सहरमा कमल खेतीले कृषि, पर्यटन र स्थानीय व्यापारलाई जोड्दै बहुआयामिक उद्योगको रूप लिएको छ । गर्मीयाममा फुल्ने कमल अहिले स्थानीय बासिन्दाका लागि आकर्षक आम्दानीको स्रोत मात्र नभई पर्यटक तान्ने प्रमुख माध्यमसमेत बनेको छ ।

सुजाउका किसानहरू बिहान सबेरैदेखि कमलका ताजा फूल टिपेर स्थानीय बजारमा पु¥याउने गर्छन् । विशेषगरी कृषि कार्य कम हुने मौसममा कमल खेतीले धेरै परिवारलाई अतिरिक्त आम्दानीको अवसर दिएको छ ।

७४ वर्षीय किसान शेङ वेइछ्वानका अनुसार विगतमा करिब ०.७ हेक्टर क्षेत्रफलको कमल पोखरीबाट वार्षिक ३ हजारदेखि ४ हजार ५ सय अमेरिकी डलरसम्म आम्दानी हुनु राम्रो मानिन्थ्यो । अहिले उचित व्यवस्थापन गर्न सके यही क्षेत्रबाट ६ हजारदेखि ७ हजार अमेरिकी डलर वा त्यसभन्दा बढी आम्दानी गर्न सकिने अवस्था सिर्जना भएको छ ।

अर्की किसान लिन सियाओवानले कमलका फूल बिक्री गरेर दैनिक १५० देखि ३०० अमेरिकी डलरसम्म आम्दानी हुने बताइन् । उत्पादन लागत कटाएपछि पनि दैनिक १०० देखि १३० अमेरिकी डलरसम्म बचत हुने उनको भनाइ छ ।

कमलको व्यवसाय केवल खेती र बिक्रीमा सीमित छैन । पर्यटकहरूले डुंगामा सयर गर्दै कमलबाट बनेका परिकार तथा पेय पदार्थको स्वाद लिनुका साथै कमल विषयवस्तुमा आधारित हस्तकलाका सामग्री र स्मरणिका खरिद गर्ने अवसर पनि पाउँछन् । यसले स्थानीय पर्यटन व्यवसायलाई समेत उल्लेखनीय रूपमा चलायमान बनाएको छ ।

नान्जिङबाट घुम्न पुगेकी एक पर्यटकले सुजाउको कमल संस्कृतिको अनुभव लिन आएको बताउँदै करिब ७ अमेरिकी डलरमा कमलको फूलको गुच्छा र १० अमेरिकी डलरमा दुईवटा पेय पदार्थ खरिद गरेको जानकारी दिइन् । उनका अनुसार कमलले भरिएको वातावरण गर्मीयामका लागि निकै आकर्षक र ताजगीपूर्ण अनुभव बनेको छ ।

स्थानीय तथ्यांकअनुसार कमल बजारबाट मात्रै दैनिक करिब ६० हजार अमेरिकी डलर बराबरको कारोबार हुने गरेको छ । सेप्टेम्बरसम्म सञ्चालन हुने यो मौसमी बजारले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याइरहेको छ । सीसीटीभी

प्रकाशित मितिः आइतबार, २८ असार २०८३
https://jawaaf.com/storage/01KXAM91KE806P10QSSSTSKAEJ.jpeg

खोसिएको जागिर र बेरोजगारीको पीडा पछि विवेकले रोजे आत्मदाहको बाटो

सर्लाही । विज्ञान विषयमा स्नातकोत्तर (एमएस्सी) गरेका ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेपछि अहिले काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटिया निवासी मण्डलको शरीरको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो मण्डलले आफ्नै शरीरमा आगो लगाएका थिए । घटनालगत्तै उनलाई प्रादेशिक अस्पताल मलङ्गवामा पु¥याएर प्राथमिक उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शुक्रबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको हो ।

परिवारका अनुसार विवेकले विज्ञान विषयमा एमएस्सी उत्तीर्ण गरेका थिए । उनका बुवा उपेन्द्र मण्डलका अनुसार उनी करिब एक वर्षअघिसम्म महोत्तरीको गौशालास्थित एक विद्यालयमा पढाउने काम गर्दथे । त्यहाँ करिब तीन वर्ष शिक्षकका रूपमा काम गरेका विवेक विद्यालयभित्रको राजनीतिक चलखेलका कारण जागिर छोड्न बाध्य भएको परिवारको दाबी छ ।

उनको नजिकका साथीहरुका अनुसार अध्यापनको क्षमता राम्रो हुँदाहुँदै पनि राजनीतिक चलखेल गरेर उनलाई त्यहाँबाट जागिर छोड्न बाध्य बनाईएको थियो ।

जागिर गुमाएपछि विवेक घरमै बस्दै आएका थिए । त्यसयता उनले विभिन्न शैक्षिक संस्थामा रोजगारीका लागि पहल गर्नुका साथै लोक सेवा आयोगका परीक्षामा समेत सहभागिता जनाएका थिए । तर, कुनै पनि प्रयास सफल हुन सकेन ।

बिबेककि श्रीमती रिनादेवी मण्डलका अनुसार बेरोजगारी लम्बिँदै जाँदा उनी निराश बन्दै गएका थिए । आफूले आमाबुवाको सम्पत्ति खर्च गरेर उच्च शिक्षा हाँसिल गरेपनि उपलब्धि हासिल गर्न नसकेको भन्दै उनी बेलाबेला परिवारसँग दुःखेसो पोख्ने गर्दथे ।

विवेककी आमा मन्टुटिया देवीका अनुसार आर्थिक अभाव र लामो समयको बेरोजगारीका कारण उनी मानसिक तनावमा परेका थिए । केही समयअघि उनको उपचारसमेत गरिएको थियो ।

परिवारमाथि आर्थिक भार पनि कम छैन । बुवा उपेन्द्र मण्डलका अनुसार विवेकको अध्ययन र घरखर्चका क्रममा गाउँघर तथा बैंकबाट लिएको ऋण गरी अहिले करिब ३५ लाख रुपैयाँ तिर्न बाँकी छ ।

विवेकका दाजु विगत चार वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा छन् । परिवारका अनुसार दाजुकै कमाइबाट घरखर्च र विवेकको उच्च शिक्षाको खर्च जुटाइएको थियो । एमएस्सी पूरा गरेर शिक्षकको जागिर पाएपछि परिवारले आर्थिक अवस्था सुधारिने अपेक्षा गरेको थियो । तर, त्यो रोजगारी लामो समय टिक्न सकेन ।

विवेकका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा हाल महोत्तरीस्थित मामाघरमा बसेर अध्ययन गरिरहेका छन् भने छोरी परिवारसँगै घरमा छिन् । पहिलेदेखि नै कमजोर आर्थिक अवस्थासँग संघर्ष गरिरहेको मण्डल परिवार अहिले विवेकको उपचारका कारण थप आर्थिक समस्यामा परेको छ । परिवारले गाउँघर र बैंकको गरी करिब ३५ लाख रुपैयाँ ऋणसमेत तिर्न बाँकी रहेको जनाएको छ ।

प्रकाशित मितिः आइतबार, २८ असार २०८३
https://jawaaf.com/storage/01KX84AJNQRY320HY63096BYC1.jpg

राधास्वामी होल्डिङ सेन्टर बाढीले जलमग्न, व्यवस्थापन नगरेको भन्दै भूमिहीनको गुनासो

काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी सत्सङ होल्डिङ सेन्टरमा बाढी पसेर जलमग्न भएको छ । शुक्रबार राति १२ बजेदेखि नै होल्डिङ सेन्टरमा पानी पसेपछि त्यहाँ बस्दै आएका भूमिहीन तथा सुकुम्बासी प्रभावित भएका छन् ।

सुकुम्बासी भूमिहीन अभियन्ता दलमर्दन कामीले सरकारले उचित व्यवस्थापन नगरी आफूहरूलाई समस्यामा पारेको आरोप लगाए ।

उनले भने, ‘सरकारले प्रहरी लगाएर वर्षौंदेखि बस्दै आएका उनीहरूको घर भत्कायो र १५ दिनभित्र व्यवस्थापन गर्छु भनेर होल्डिङ सेन्टरमा ल्याएर राख्यो । तर आज तीन महिना बितिसक्दा पनि सुकुम्बासी भूमिहीनको कुनै व्यवस्थापन गरिएको छैन । बरु जबरजस्ती उठाउने र पठाउने रणनीति अपनाइएको छ ।’

उनले अहिले होल्डिङ सेन्टरमा रहेका नागरिकलाई कहाँ जाने र कसरी व्यवस्थापन हुने भन्ने कुनै टुंगो नभएको बताए । उनका अनुसार अहिले उक्त स्थानमा २२० जनाभन्दा बढी मानिस बसिरहेका छन् । होल्डिङ सेन्टरमा ४७ जना वालवालिका, ४ जना नवजात शिशु लगायत विरामी बृद्धबृद्धा समेत रहेका छन् । 

‘सरकारले हामीलाई उचित व्यवस्थापन गरे मात्र यहाँबाट उठ्छौं भनिरहेका छन् यहाँका नागरिकहरू । होइन भने अर्को ठाउँमा लगेर फेरि यही कष्ट दिने हो भने हामी यही कष्ट भोगेर यहीँ मर्छौं, यहाँबाट जाँदैनौं भनिरहेका छन्,’ उनले भने । 

प्रकाशित मितिः शनिबार, २७ असार २०८३
https://jawaaf.com/storage/01KX7RZ3R0TJ4Q55ZX328K8PEV.jpeg

बुद्धनगरमा एक युवकले गरे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक युवकले आज बिहान आत्मदाहको प्रयास गरेका छन् ।

शनिबार बिहान ४५ वर्षीय अश्विन राउतले आफ्नै डेरामा आत्मदाहको प्रयास गरेका हुन् ।

राउतको हाल वीर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । अस्पताले राउतको शरीरको ५५ प्रतिशत जलेको जनाएको छ । 

उनले भने, ‘आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतलाई उद्धार गरेर वीर अस्पतालमा पुर्याएका थियौं । उनको हाल वीर अस्पतालमा उपचार जारी छ ।’ 

प्रकाशित मितिः शनिबार, २७ असार २०८३
https://jawaaf.com/storage/01KX7K29DWR1TNEPJ4XGG0NG1H.jpeg

शोकमा डुब्यो गणेश नेपालीको पुर्खौली गाउँ, उचित क्षतिपूर्ति दिनुपर्ने माग

मुगु । काठमाडौं त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्दा मृत्यु भएका २५ वर्षीय गणेश नेपाली पुर्खौली गाउँ शोकमा डुबेको छ । उनी जन्मिएको घर सुनसान छ ।

मुगुको सोरूँ गाउँपालिका–१ सदरमुकाम गमगढीबाट गाडीमा करिब ६ घण्टा लाग्छ । उनको निधनको खबरले गाउँ जलधारा शोकमग्न भएको छ । 

गाउँमा रोजीरोटी कठिन भएपछि परिवारको साथ गणेश भक्तपुरमा बस्दै आएका थिए । राइड सेयरिङ अर्थात् पठाओको सेवा दिएर आफू र परिवारको पालनपोषण गर्दै आइरहेका थिए ।

स्थानीय पदम बहादुर मल्लका अनुसार गणेशको पारिवारिक अवस्था कमजोर रहेको औँल्याउँदै पठाओका लागि प्रयोग भइरहेको मोटरसाइकल पनि भाडामा लिएको जानकारी छ । यस्तो अवस्थामा उनको परिवारलाई राज्यले उचित रेखदेख गर्नुपर्ने मल्लले बताए ।

अर्का स्थानीय सुरेश साहीका अनुसार गणेशको परिवार न्यून स्तरको भएको र आयस्तर कमजोर रहेको बताए । गणेशको जग्गाजमिन पनि थोरै रहेको र हाल बाँझो अवस्थामा रहेको उनले सुनाए । उनले गणेशको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै राज्य छ भन्ने अनुभूति हुनुपर्ने औँल्याए ।

गरिबीकै कारण गणेशको निधन भएपछि आफूहरू मर्माहत एवम् शोकाकुल भएको मल्ल र शाहीले बताए ।

भक्तपुरमा डेरा गरी परिवारका साथ बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे। प्रत्यक्षदर्शीका अनुसार बिहीबार उनले रोकिराखेको मोटरसाइकलमा काठमाडौं महानगर प्रहरीले ह्विल लक लगाएर लैजाने प्रयास गरेपछि विवाद भएको थियो।

महानगर प्रहरीको ज्यादती र विवाद सहन नसकी उनले राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए । आगो लागेपछि गणेशलाई वीर अस्पताल पुर्‍याइएको थियो ।

उपचारका क्रममा शुक्रबार बिहान गणेशको निधन भएको हो । शुक्रबार बिहान चिकित्सकहरूले गणेशको अवस्था चिन्ताजनक रहेको र थप उपचारका लागि नयाँ दिल्ली रिफर गर्ने तयारी गरिए पनि स्वास्थ्य अवस्था थप बिग्रने खतराका कारण रोक्नुपरेको जानकारी दिएको थियो। त्यसको केही बेरमै उनको निधन भएको थियो । 

प्रकाशित मितिः शनिबार, २७ असार २०८३
https://jawaaf.com/storage/01KX5KW53VNZDBRJYG0KM8JJ3J.jpeg

आत्मदाह प्रयास गरेका गणेश नेपालीको अन्तिम संवाद : ‘दाइ, मेरो गल्ती थिएन’

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको निधन भएको छ ।

उनको निधनअघि वीर अस्पतालमा उपचारका क्रममा दाइ मदन नेपालीले भाइसँग भएको अन्तिम संवाद सम्झिँदै भावुक अभिव्यक्ति दिएका छन् ।

वीर अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मदनले गणेशले आफूलाई अन्तिम अवस्थामा पनि ‘मेरो गल्ती थिएन’ भनेर पटक–पटक भनेको बताए ।

मदनका अनुसार घटनाको अघिल्लो दिन गणेश र उनकी श्रीमती उनको कोठामा आएका थिए । साँझ करिब ९ बजेतिर गणेश बाहिर निस्किएका थिए । दुर्गम क्षेत्रबाट आएका कारण काठमाडौंमा मासु खान कठिन हुने गरेको उल्लेख गर्दै मदनले गणेशले खसीको खुट्टा ल्याएको र आफूलाई पकाइदिन भनेको सुनाए ।

उनले भने, ‘दाइ उठ्नुस् न बनाउनू भनेर उसले भनेको थियो । मैंले भयो छाड भनेँ । त्यसपछि उसले त्यही भात खाएर सुत्यो।’

घटनाको दिन बिहान आफूले गणेशलाई बाइकको किस्ता तिर्नुपर्ने भएकाले पठाओ(बाइक राइड) चलाउन जान भनेको मदनले बताए । त्यसपछि गणेश बाइक लिएर बाहिर निस्किएको उनले सुनाए । 

उनले भने ‘मंैले बिहान भनेँ–गणेश उज्यालो भयो, पर्सि बाइकको किस्ता बुझाउने दिन आइसक्यो । पठाओ गर्न जाऊ भनेर भनेँ,’ मदनले भने, ‘ऊ उठेर बाइक निकाल्यो । छिमेकीलाई असर नहोस् भनेर बाइक बाहिर लगेर स्टार्ट गरेको थियो।’

गणेश बिहान निस्किएपछि दिउँसोसम्म पनि घर नफर्किएपछि आफूले पर्खिरहेको उनले बताए । दिउँसो साढे २ बजेतिर प्रहरीको फोन आएपछि मात्र घटनाबारे जानकारी पाएको उनले बताए ।

‘प्रहरीको नम्बरबाट फोन आयो । तपाईंको मान्छेले पेट्रोल छर्केर यहाँ घटना गर्नुभएको रहेछ । वीर अस्पताल आउनुस् भन्नुभयो,’ उनले भने, ‘म तीन बजे अस्पताल आइपुगेँ।’

अस्पतालमा भेट्दा गणेशको बोली कमजोर अवस्थामा रहेको र उनले केही शब्द बोलेको उनले बताए ।

‘दाइ, बाबा–मम्मीलाई राम्रो गर्नुस् भनेको भन्यै ग¥यो,’ उनले भावुक हुँदै भने, ‘त्यसपछि उसले दाइ मेरो गल्ती थिएन है भनेर दुई पटक भन्यो।’

मदनका अनुसार गणेशले आफूले गल्ती नगरेको भन्दै ह्वील लक र ट्राफिक कारबाहीको कुरा गरेका थिए ।

‘मैंले कसको के भएको हो भनेर सोधेँ । उसले मेरो गल्ती थिएन, त्यो ह्वील लक लायो, ह्वील लक लगाउँदा–लगाउँदै ट्राफिक आएर त्यस्तो भयो भन्यो,’ मदनले भने ।

त्यसपछि गणेशको बोली बन्द भएको र थप कुरा गर्न नसकेको उनले बताए । गणेशको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो ।

प्रकाशित मितिः शुक्रबार, २६ असार २०८३
https://jawaaf.com/storage/01KX4X0YDN1MRJYECQ53D8J70V.avif

ठोरीमा भारतीय सवारीसाधनलाई ‘अस्थाई पास’, संसदमा कांग्रेसको आवाजपछि खटाइयो कर्मचारी

काठमाडौं । पर्साको ठोरीमा भारतीय सवारीसाधनलाई प्रवेशमा रोक लगाइएको विषय प्रतिनिधि सभा बैठकमा उठेपछि तत्कालका लागि अस्थायी समाधान निकालिएको छ ।

नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले असार २२ गतेको प्रतिनिधि सभाको बैठकमा ठोरीमा भारतीय पर्यटकका सवारीसाधनलाई प्रवेशमा रोक लगाइएको विषय उठाएकी थिइन् । 

उनले ठोरीमा रहेको छोटी भन्सार कार्यालयको भवनमा कर्मचारी व्यवस्थापन गरेर पर्यटकका सवारीसाधनलाई भन्सार रसिद काटेरै सहज आवागमन सुनिश्चित गर्नुको साटो उल्टै पर्यटकका सवारीसाधन फर्काइएको भन्दै तत्काल कर्मचारी राखेर भन्सार कार्यालय सञ्चालन गर्न र भन्सार गरेरै पर्यटकका सवारीसाधन आउने वातावरण बनाउन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

त्यसलगत्तै वीरगन्ज भन्सार कार्यालयले असार २३ गतेदेखि ठोरीमा रहेको छोटी भन्सार कार्यालयमा दुई जना कर्मचारी खटाएको हो ।

वीरगन्ज भन्सार कार्यालयका भन्सार अधिकृतसमेत रहेका सूचना अधिकारी उदयसिंह विष्टले ठोरी छोटी भन्सारमा एक जना सुब्बा तहका कर्मचारी र अर्का एक जना कार्यालय सहयोगी गरी दुई जना कर्मचारी खटाइएको जानकारी दिए ।

‘ठोरीको छोटी भन्सारमा सुब्बा र कार्यालय सहयोगी गरी तत्कालका लागि दुई जना कर्मचारी खटाइएको छ, त्यहीबाट भारतीय सवारीसाधनलाई निःशुल्क रूपमा नै अस्थायी पास उपलब्ध गराइने व्यवस्था भएको छ,’ भन्सार अधिकृत विष्टले भने ।

उनका अनुसार ठोरीको छोटी भन्सार कार्यालयबाट नै भारतीय सवारीसाधनका लागि अस्थायी प्रवेश पास उपलब्ध गराउन सुरु गरिएको छ । पास वाहक सवारीसाधन ठोरी क्षेत्रमा मात्र सञ्चालन हुन सक्ने छन् ।

‘हालका लागि ठोरी क्षेत्रमा मात्र सञ्चालन हुन पाउने गरेर पास दिइएको छ, बाँकी विषयमा मन्त्रालयबाट केही निर्णय होला, हामीले पत्र पठाएर मन्त्रालयमा जानकारी गराइसकेका छौं,’ विष्टले अगाडि भने।

असार १९ गतेदेखि ठोरीमा सशस्त्र प्रहरीले ‘माथिको आदेश भन्दै भारतीय पर्यटकहरूका सवारीसाधनलाई नेपाल प्रवेशमा रोक लगाएको थियो । सो अवस्थापछि ठोरीका स्थानीय पर्यटन व्यवसायीहरूले विरोध जनाएका थिए भने उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई समेत निर्णय सच्याउन भन्दै ज्ञापन पत्र बुझाएका थिए ।

पछिल्लो समय ठोरी मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । ठोरीमा दर्जनौँ होटेल तथा रिसोर्टहरु भारतीय पर्यटकलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको छ भने सयौँ व्यक्तिले स्थानीय स्तरमा नै रोजगारी पाएका छन् ।

ठोरीमा अहिले दैनिक दुई सय भन्दा बढी निजी भारतीय सवारीसाधन मार्फत पर्यटकहरू आउने गरेका छन् भने पछिल्लो समय यहाँको पर्यटन व्यवसाय चलायमान हुँदै गइरहेको छ ।तर भारतीय सवारीसाधन आवागमनमा अवरोध हुँदा यहाँको पर्यटकीय गतिविधि ठप्प बनेको थियो ।

प्रकाशित मितिः शुक्रबार, २६ असार २०८३
https://jawaaf.com/storage/01KX38EQ4VBZCB8MZ5G2KFEZWQ.jpeg

स्वतन्त्रता दिवसको उत्सवसँगै अर्जेन्टिनाको ध्यान विश्वकप उपाधि जोगाउने लक्ष्यमा

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले आफ्नो २१०औँ स्वतन्त्रता दिवसको अवसरमा समर्थक तथा सम्पूर्ण देशवासीलाई शुभकामना दिँदै फिफा विश्वकप २०२६ मा उपाधि रक्षा अभियानलाई निरन्तरता दिएको छ ।

अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीले सामाजिक सञ्जाल एक्समार्फत ‘स्वतन्त्रता दिवसको शुभकामना’ सन्देश सार्वजनिक गर्दै देशवासीसँग उत्सव मनाएको हो ।

अर्जेन्टिनाले हरेक वर्ष जुलाई ९ मा स्वतन्त्रता दिवस मनाउने गर्दछ । सन् १८१६ मा टुकुमान कांग्रेसले स्पेनी शासनबाट स्वतन्त्रताको घोषणा गरेको सम्झनामा यो दिवस मनाइन्छ । ऐतिहासिक घोषणापत्र उत्तरी सहर सान मिगेल दे टुकुमानस्थित फ्रान्सिस्का बाजान दे लागुनाको घरमा हस्ताक्षर गरिएको थियो, जुन अहिले ‘कासा हिस्टोरिका दे ला इन्डिपेन्डेन्सिया’ संग्रहालयका रूपमा संरक्षण गरिएको छ ।

यस अवसरमा अर्जेन्टिनाभर सैन्य परेड, सरकारी समारोह, सांस्कृतिक कार्यक्रम तथा परम्परागत परिकारसहित विभिन्न कार्यक्रम आयोजना गरिन्छ । राजधानी ब्युनस आयर्सस्थित विश्वकै सबैभन्दा फराकिलो सडक मानिने ‘एभेनिडा ९ दे जुलियो’ पनि यही ऐतिहासिक दिनको सम्मानमा नामकरण गरिएको हो ।

यस वर्ष स्वतन्त्रता दिवसको उत्साहलाई राष्ट्रिय फुटबल टोलीको उत्कृष्ट प्रदर्शनले थप उचाइ दिएको छ । प्रशिक्षक लियोनेल स्कालोनीको नेतृत्वमा अर्जेन्टिनाले हालसम्म खेलेका सबै पाँच खेल जित्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । टोलीले प्रतियोगितामा हालसम्म १४ गोल गरेको छ, जुन फ्रान्ससँग संयुक्त रूपमा सर्वाधिक हो ।

कप्तान लियोनेल मेस्सी अर्जेन्टिनाको सफल यात्राका मुख्य नायक बनेका छन् । ३९ वर्षीय मेस्सीले प्रतियोगितामा आठ गोल गरिसकेका छन्, जुन उनको विश्वकप करियरकै एक संस्करणमा सर्वाधिक गोल हो । साथै उनले लगातार नौ विश्वकप खेलमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमानसमेत कायम गरेका छन् ।

अर्जेन्टिनाले समूह चरणमा अल्जेरियालाई ३–०, अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले पराजित गर्दै अपराजित रूपमा नकआउट चरणमा प्रवेश गरेको थियो । नकआउट चरणमा भने टोलीले कडा चुनौतीको सामना गर्यो । राउन्ड अफ ३२ मा विश्वकप डेब्यु टोली काबो भेर्डेलाई अतिरिक्त समयमा ३–२ ले हराएको अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टविरुद्ध २–० ले पछि परेको अवस्थाबाट अविस्मरणीय पुनरागमन गर्दै ३–२ को जित निकालेको थियो ।

क्रिस्टियन रोमेरो र मेस्सीले बराबरी गोल गरेपछि इन्जुरी समयमा एन्जो फर्नान्डेजले निर्णायक हेडर गर्दै टोलीलाई क्वार्टरफाइनल पु¥याएका थिए । अब अर्जेन्टिनाले जुलाई ११ मा क्यान्सस सिटीमा स्विट्जरल्यान्डसँग क्वार्टरफाइनल खेल्नेछ । यो भेट सन् २०१४ को विश्वकपको अन्तिम १६ को सम्झना पनि हो, जहाँ एन्जेल डि मारियाको अतिरिक्त समयको गोलमा अर्जेन्टिना विजयी हुँदै अन्ततः फाइनलसम्म पुगेको थियो ।

यदि स्विट्जरल्यान्डलाई पराजित गर्न सके अर्जेन्टिना पछिल्ला चार संस्करणमध्ये तेस्रो पटक सेमिफाइनल पुग्नेछ र लगातार दोस्रो तथा समग्रमा चौथो विश्वकप उपाधि जित्ने अभियानलाई थप मजबुत बनाउनेछ । एएनआई

प्रकाशित मितिः बिहिबार, २५ असार २०८३
https://jawaaf.com/storage/01KX2SQFP61WDFQC9C235SZXJF.jpg

मेची राजमार्गको माइखोला खण्डमा सडक भासियोः चार जिल्लाको आवागमन ठप्प

इलाम । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठुलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ ।

निरन्तरको वर्षा, कमजोर भूबनोट तथा जमिनभित्रको आन्तरिक समस्याका कारण सडक भासिएर बगेपछि पूर्वी पहाडी जिल्लाहरूको लाइफलाइन मानिने यो राजमार्ग अवरुद्ध भएको हो ।

सडक भासिएर सवारी साधन वारपार गर्नै नमिल्ने भएपछि इलाम, पाँचथर र ताप्लेजुङलाई झापा (तराई) सँग जोड्ने मुख्य मार्ग बिहीबार बिहानबाट विच्छेद भएको छ । 

राजमार्ग ठप्प हुँदा दैनिक उपभोग्य सामग्री बोकेका मालवाहक सवारी साधन, बिरामी बोकेका एम्बुलेन्स र गन्तव्यतर्फ हिँडेका सयौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

तराईबाट पहाडतर्फ आउँदै गरेका गाडीहरू माइखोला बजार क्षेत्रमा र पहाडबाट झापातर्फ जाँदै गरेका गाडीहरू गोलाखर्क भञ्याङ क्षेत्रमै रोकिँदा यात्रुहरू हिँडेरै जोखिमपूर्ण बाटो पार गर्न बाध्य छन् ।

राजमार्ग अवरुद्ध हुँदा सबैभन्दा ठुलो मारमा बिरामी परेका छन् । पहाडी जिल्लाहरूमा सुविधासम्पन्न अस्पताल नहुँदा आकस्मिक उपचारका लागि झापा वा विराटनगर रेफर गरिएका बिरामीहरूलाई हिलो र जोखिमपूर्ण सडकमा स्ट्रेचरमा बोकेर लैजानुपर्ने बाध्यता छ ।

यसका साथै इलाम र पाँचथरका कृषकहरूले उत्पादन गरेको दूध तथा तरकारी जस्ता कुहिने सामानहरू बजारसम्म पु¥याउन नपाउँदा लाखौँको आर्थिक क्षति व्यहोर्नुपरेको स्थानीय व्यवसायीहरू बताउँछन् । 

यता सडक डिभिजन कार्यालय इलाम र जिल्ला प्रशासन कार्यालयले अवरोध हटाउन स्काभेटर तथा आवश्यक जनशक्ति परिचालन गरेपनि वर्षा नरोकिएकाले काममा अवरोध पुगेको छ । सडक डिभिजनका अनुसार सडकको धेरै भाग खोलातर्फ खसेकाले केवल पहिरो पन्छाएर मात्र तत्काल सडक सुचारु गर्न सम्भव छैन । खोलाको बगरबाटै ठुलो ग्याबियन पर्खाल उठाएर काम सम्पन्न भएपछि मात्रै दीर्घकालीन रूपमा सडक सञ्चालन गर्न सकिने अवस्था छ ।

मुख्य राजमार्ग ठप्प भएपछि बैकल्पिक सडक प्रयोग गर्न खोजिए पनि यात्रु र चालकहरूले थप सास्ती भोग्नुपरेको छ ।

मुख्य सडक अवरुद्ध भएपछि सवारी साधनहरूले बेलासे–इलाम वैकल्पिक सडक प्रयोग गर्न खोजेका छन्, तर मेची करीडोर सडक अन्र्तगत पुवाखोलामा पुल नहुँदा साना, ठुला तथा मालवाहक सवारी साधनहरू वारपार गर्न सकेका छैनन् । बाढी र हिलोका कारण वैकल्पिक मार्ग पनि भरपर्दो नहुँदा गाडी चल्न सकेका छैन्न ।

यस्तै मुख्य राजमार्ग अवरुद्ध भएपछि स्थानीय प्रशासन र प्रहरीको समन्वयमा सिमल गोलाई–तिल्किने सडक खण्डबाट साना सवारी साधनहरू (जस्तै जिप, ट्याक्सी) लाई मात्र आंशिक रूपमा सञ्चालन गराइएको छ ।

तर, ग्रामीण सडक साँघुरो र हिलाम्मे भएकाले साना सवारी साधन सञ्चालनमा पनि निकै जोखिम र ढिलाइ भइरहेको छ । ठुला बस र मालवाहक सवारी साधन पूर्ण रूपमा रोकिँदा यात्रुहरू हिँडेरै वा साना गाडी परिवर्तन गर्दै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

प्रकाशित मितिः बिहिबार, २५ असार २०८३
https://jawaaf.com/storage/01KWXCF66EEWCCYSPB0T0PPSTT.jpeg

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिए जयवीर देउवा, विभागले काट्यो सात दिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु गरेको छ ।

विभागले आइतबार (असार २३ गते) एक सार्वजनिक सूचना जारी गर्दै जयवीरलाई सात दिनभित्र विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो । जयवीरमाथि शंकास्पद धन आर्जन गरेको र सो रकम विभिन्न क्षेत्रमा लगानी गरेको आशंकामा विभागले लामो समयदेखि सूक्ष्म अनुसन्धान गरिरहेको थियो ।

विभागद्वारा जारी सूचनामा डडेलधुरा जिल्ला साबिक आसिग्राम गाविस वडा नं ५ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–२, बुढानीलकण्ठ बस्ने ३१ वर्षीय जयवीर सिंह देउवालाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम उपस्थित हुन भनिएको छ ।

विभागले उनीसँग केही कुरा बुझ्नुपर्ने भएकाले सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको भवनमा रहेको विभागको कार्यालयमा हाजिर हुन म्याद दिएको हो ।

जयवीरको नाममा रहेका केही व्यावसायिक कम्पनीहरू र त्यसमा भएको लगानीको स्रोत नखुलेपछि विभागले उनीमाथि निगरानी बढाएको थियो । साथै विवादास्पद व्यवसायी दिपक भट्टसँग पनि उनको व्यवसायीक सम्बन्ध रहेकाले विभागले उनिमाथि निगरानी बढाएको र हाल अनुसन्धानका लागि उपस्थित हुन सुचना जारी गरेको विभाग स्रोतले जनाएको छ । व्यवसायी भट्ट र उनका साझेदार सुलभ अग्रवाल भने हाल पुर्पक्षका लागि थुनामा छन् ।

विभागले यसअघि पनि उनलाई सम्पर्क गर्ने प्रयास गरे तापनि उनी मुलुक बाहिर रहेको र सम्पर्कमा नआएका कारण सार्वजनिक सूचना नै जारी गर्नुपरेको विभाग स्रोतले जनाएको छ ।

विभागले आफ्नो सूचनामा स्पष्ट पारेको छ कि तोकिएको म्यादभित्र जयवीर उपस्थित नभएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान अधिकृतले बयानका लागि बोलाउँदा उपस्थित नहुनुलाई अनुसन्धानमा असहयोग गरेको मानिने र यसले कानुनी जटिलता थप बढाउन सक्ने प्रावधान रहेको छ ।

प्रकाशित मितिः मङ्गलबार, २३ असार २०८३