सरकार गम्भीर भएर जनताका समस्या समाधानमा लाग्नुपर्छ : सांसद राई
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार जनताका समस्या समाधानमा गम्भीर भएर लाग्नुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले भदौ १० गते भएको घटनालाई नेपालमा पछिल्लो सय वर्षयताकै ठूलो विपत्तिका रूपमा उल्लेख गरे ।
उनले उक्त घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । बेपत्ताको खोजी र घाइतेको उपचारलाई प्राथमिकता दिन पनि उनले सरकारसँग आग्रह गरे ।
राईले सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै गम्भीर विषयमा सरकारले जिम्मेवार ढंगले काम गर्नुपर्ने बताए । उनले सरकारका गतिविधि स्पष्ट र गम्भीर नदेखिएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, 'सरकारलाई हाम्रो सल्लाह छ, यो केटाकेटी खेले जस्तो र लुकीछिपी गरे जस्तो पारा, गतिविधि भइरहेको छ कि, कम्तीमा विषय गम्भीर छ भने सिरियस्ली लाग्नुहोला। नभएदेखि कुन हिसाबबाट सरकारले यो गतिविधि गरिरहेको छ, म सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।'
त्यस्तै, मुलुकमा बढ्दो अभाव, भोकमरी तथा आत्मदाहका घटनाप्रति पनि उनले चिन्ता व्यक्त गरे । यस्ता समस्याका कारण सरकार र संसद्प्रति जनतामा नकारात्मक धारणा बन्ने अवस्था आउन नदिन सरकारले समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ थियो ।
प्रतिपक्षमा रहे पनि जनताका समस्या समाधानका लागि सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको राईले बताए । उनले जनताका आवाजलाई गम्भीरतापूर्वक लिएर आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरे ।
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ ।
ललितपुर जिल्लास्थित कान्तिलोकपथ सडकखण्ड अन्तर्गत पाङ्दुरमा पहिरो खस्दा असोज ९ गते बिहान ०६ः३० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बागमती गाउँपालिका वडा नं. ०३ टाकुर्चेमा पहिरो खस्दा असोज ११ गते राति ३ः४० बजे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । हालसम्म पनि उक्त खण्डहरूमा यातायात सञ्चालन हुन सकेको छैन ।
सोलुखुम्बु जिल्ला भित्र पर्ने सिद्धिचरण लोकमार्ग लगायत अन्य भित्री सडकहरूमा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सवारी साधन र पैदल यात्रीहरूको रात्रि आवातजावतमा पूर्ण रूपमा रोक लगाइएको छ ।
भोजपुरस् सम्भावित क्षति रोकथामका लागि असोज ०८ गतेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्म
भोजपुर जिल्ला अन्तर्गत पर्ने मध्य पहाडी लोकमार्ग तथा सम्पूर्ण भित्री सडकहरूमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म आवागमनमा रोक लगाइएको छ । एम्बुलेन्स, दमकल, र खाद्यान्न ढुवानी जस्ता अत्यावश्यक सवारी भने नजिकको प्रहरी एकाइसँग समन्वय गरी सञ्चालन गर्न सकिने बताइएको छ ।
शिवपुरी गाउँपालिका–८, घट्टेखोलास्थित टोखा–छहरे सडक खण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मका लागि दैनिक राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
चितवन जिल्ला तथा आसपासका क्षेत्रमा सम्भावित बाढी–पहिरोको जोखिमका कारण यही ८ गते दिउँसो १४ बजेदेखि अर्को सूचना नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक खण्ड भएर चल्ने सम्पूर्ण सवारी साधनहरूको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।
यही ९ गते बिहान ७ बजेदेखि धादिङ जिल्ला तथा आसपासका क्षेत्र भई चल्ने पृथ्वीराजमार्ग सडक खण्डमा बाढी–पहिरोको जोखिमका कारण अर्को सूचना नभएसम्म सम्पूर्ण सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । बेनिघाट रोराङ गाउँपालिका–१० पानीधारामा पहिरो गएकाले उक्त खण्ड भने पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिर, वडा नं. ३ गौमतीखोला, र गजुरी गाउँपालिका वडा नं. २ चालिसे तथा परेवाभिरमा पहिरो खसेका कारण राजमार्ग एकतर्फी सुचारु रहेको छ ।
‘सुरक्षा’ कारण देखाउदै पक्राउ परेका पूर्वप्रधानन्यायाधीश जवरालाई छाडियो
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा जोखिम देखिएकाले आफूहरुको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । हाल उनलाई परिवारको जिम्मा लगाइसकेको छ ।
शनिबार मध्यराति घरबाटै पक्राउ परेका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइसकिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । ‘डिस्कर्ड ग्रुप’मा जबराविरुद्ध विभिन्न अफवाह फैलिएको भन्दै सुरक्षाका निम्ति नियन्त्रण लिइएको प्रहरीको दाबी छ ।
उनलाई भेट्न भनेर कार्यालय पुगेको मानव अधिकार आयोगको टोलीलाई पनि प्रहरीले भेट्न दिएन । गेटमा करिब ४५ मिनेट कुर्दा पनि भेट्न नदिइएपछि आयोगको टोली फर्किएको थियो । प्रहरीले जबरालाई पक्राउ गर्नुपर्ने स्पष्ट कारण नखुलाएपनि सुरक्षा प्रमुख कारण देखाएको छ ।
अरनिको राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध
रामेछाप । अविरल वर्षाका कारण पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ। काभ्रेको धुलिखेल नगरपालिका–८, जिपलाइनस्थित अरनिको राजमार्ग सडकखण्डमा आज बिहान करिब ८ः५५ बजे सडक माथिबाट ढुङ्गा–माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पहिरोका कारण उक्त सडकखण्ड भएर काठमाडौं आवतजावत गर्ने यातायातका साधन रोकिएका छन् ।
सडक अवरुद्ध भएपछि काठमाडौंँबाट काभ्रेको कोसीपारी क्षेत्र, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुरलगायत पूर्वी जिल्लातर्फ जाने सबै सवारीसाधन प्रभावित भएका छन् ।
यसअघि नै बीपी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको अवस्थामा अरनिको राजमार्ग पनि बन्द भएपछि पूर्वी जिल्लातर्फ जाने यातायातका लागि थप समस्या सिर्जना भएको छ ।
बीपी राजमार्ग अवरुद्ध भएपछि दोलखा, रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, खोटाङलगायत पूर्वी जिल्लातर्फ जाने सवारीसाधन अरनिको राजमार्ग हुँदै आवतजावत गर्दै आएका थिए । तर अरनिको राजमार्गसमेत पहिरोका कारण अवरुद्ध भएपछि काठमाडौंसँग पूर्वी जिल्लाको सडक यातायात सम्पर्क थप प्रभावित भएको छ ।
पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको भए पनि लगातारको वर्षाका कारण थप पहिरो खस्ने जोखिम रहेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि विभिन्न स्थानबाट आएका तथा पूर्वतर्फ जान लागेका सवारीसाधन बाटोमै रोकिएका छन् ।
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक
इलाम । लगातार केही दिनदेखिको झरीका कारण अस्तव्यस्त बनेको इलामको मौसम अहिले खुलेको छ । वर्षा रोकिएसँगै शनिबार इलाम सदरमुकामसहित आसपासका क्षेत्रमा टलटलापुर घाम लागेको छ ।
लामो समयसम्म परेको वर्षापछि खुलेको घामले इलाम बजार र आसपासका क्षेत्रको जनजीवनसमेत सामान्य बन्दै गएको छ । घाम लागेसँगै इलाम बजारसहित चियाबारी क्षेत्रको दृश्य झनै मनमोहक देखिएको छ ।
वर्षाले भिजेका हरिया चियाबारी, डाँडाकाँडा र खुलेको आकाशले इलामको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाएको छ । केही दिनदेखि लगातार वर्षाका कारण धुम्मिएको वातावरण घाम लागेसँगै खुलेपछि स्थानीयवासी तथा आगन्तुकले समेत खुलेको मौसमको आनन्द लिएका छन् ।
वर्षापछिको स्वच्छ वातावरणमा हरियालीले ढाकिएका चियाबारी र खुलेका डाँडाकाँडाको दृश्यले इलामको प्राकृतिक सुन्दरतामा थप रौनक ल्याएको छ । अहिले इलामको मौसम र चियाबारीको मनमोहक दृश्यले जो–कोहीको ध्यान खिचिरहेको छ ।
खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए
काठमाडौं । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् ।
शनिबार बिहान ६ बजेपछिको जलसतह मापन अनुसार कोशी ब्यारेजमा प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक मापन भएको छ ।
जलसतह निकै माथि पुगेपछि ४३ वटा ढोका खोलिएको हो । शुक्रबार बिहान १० बजे प्रतिसेकेन्ड एक लाख ९८ हजार २ सय २० क्युसेक पानीको बहाव हुँदा २५ वटा ढोका खोलिएका थिए ।
दिउँसो १ बजे पानीको बहाव प्रतिसेकेन्ड दुई लाख २९ हजार ९ सय ६० क्युसेक पुगेपछि ३० वटा ढोका खोलिएको थियो । दिउँसो २ बजे पानीको बहाव दुई लाख ४० हजार ५ सय ५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको थियो ।
कोशी ब्यारेजमा पानीको बहाव बढेपछि सर्वसाधारणलाई सचेत गराउन जोखिमको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ । जलसतह निरन्तर बढिरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ ।
कोशी ब्यारेजमा पानीको बहाव २ लाख २९ हजार क्युसेक प्रतिसेकेण्ड, सतर्कता अपनाउन आग्रह
इनरुवा । पूर्वी पहाडि तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोशी ब्यारेज भएर वग्ने पानीको बहाव बढ्दो क्रममा रहेको छ । शुक्रबार १ ः १५ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर वग्ने पानीको बहाव २ लाख २९ हजार ९६० क्युसेक प्रतिसेकेण्ड रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका मुल ५२ वटा र नहरको ४ वटा गरेर कुल ५६ वटा ढोकामध्ये ३० वटा ढोका खुल्ला गरिएको उनले जानकारी दिए ।
पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो वत्ति बालिएको छ ,भने रातो झण्डा समेत फहराइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान सहित जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको कन्ट्रोल रुमले जनाएको छ ।
नदीको बहाव बढेसँगै कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउनका लागि सुरक्षा कर्मीले माइकिङ्ग गरिरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए । सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढ्दो क्रममा रहेकाले सतर्क रहनका लागि आग्रह गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले जानकारी दिए ।
सप्तकोशी नदीमा पानीको बहाव बढेका बेलामा दहतरबहतरबाट आउने काठ दाउरा झिक्नका लागि गएका बेलामा जोखिम हुन सक्ने बिषयलाई मध्यनजर गर्दैै नजानका लागि सर्वसधारणलाई आग्रह गरिएको प्रजिअ अर्यालले बताए ।
नेपाल मौसम विज्ञान विभागद्वारा जारी विशेष मौसमी बुलेटिनअनुसार आगामी असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह
इनरुवा । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहावमा वृद्धि भएको छ ।
शुक्रबार बिहान ९ः१५ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर बग्ने पानीको बहाव १ लाख ९० हजार ६८० क्युसेक प्रतिसेकेन्ड रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी होम ओलीले जानकारी दिए ।
पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका मूल ५२ वटा र नहरको ४ वटा गरेर कुल ५६ वटा ढोका मध्ये २४ वटा ढोका खुल्ला गरिएको उनले जानकारी दिए ।
पानीको बहावबढेसंगै कोसी ब्यारेजमा खतराको सङकेत स्वरूप रातो बत्ती बालिएको छ भने रातो झन्डा समेत फहराइएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान सहित जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको कन्ट्रोल रुमले जनाएको छ ।
नदीको बहाव बढेसँगै कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिए ।
नेपाल मौसम विज्ञान विभागद्वारा जारी विशेष मौसमी बुलेटिनअनुसार आगामी असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
बाढी, जलवायु न्याय र विश्वव्यवस्थाबारे प्रधानमन्त्री बालेन शाहको सम्बोधन : ‘हिमालयको चेतावनी सुन्न र त्यसअनुसार काम गर्न तयार रहौँ’
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत विश्व समुदायसामु प्रस्तुत गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिमालयबाट आएको जलवायु संकटको चेतावनीलाई विश्वले अब सुन्ने मात्र नभई त्यसअनुसार तत्काल काम गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री शाहले चार साताअघि नेपालका हिमाली क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’ भनिएको उल्लेख गर्दै भोटेकोशी–त्रिशूली विपद् नेपालमा मात्र सीमित त्रासदी नभई विश्वका लागि चेतावनी भएको बताए ।
विकास, लोकतन्त्र, शान्ति र युवा राष्ट्रको आशाबारे बोल्नुपर्ने अवस्थामा आफू मृत्यु र विनाश, आफन्तको प्रतीक्षामा रहेका परिवार, बेपत्ता नागरिक तथा बाढीले बगाएका पुल, सडक, विद्यालय, घर र जीविकोपार्जनका साधनबारे बोल्न बाध्य भएको उनले बताए ।
जलवायु संकटबारे वैज्ञानिकहरूले लामो समयदेखि दिँदै आएको चेतावनीलाई विश्वका राजनीतिक नेतृत्वले आवश्यक गति र स्तरमा कार्यान्वयनमा रूपान्तरण गर्न नसकेको प्रधानमन्त्री शाहको भनाइ थियो। तापक्रम वृद्धि हुँदा हिमालयको संवेदनशील पारिस्थितिक प्रणाली अस्थिर बन्दै गएको, पर्माफ्रोस्ट पग्लिँदा हिमाली ढलान कमजोर भएको तथा हिमपहिरो, बाढी, पहिरो र अन्य जोखिम बढिरहेको उनले बताए। ‘जलवायु परिवर्तनले सीमा चिन्दैन’ भन्ने सन्देश दिँदै उनले हिमनदी र बाढीले पासपोर्टमा भिसा लगाएर यात्रा नगर्ने टिप्पणी गरे ।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले विपद्पछि नेपाललाई सहयोग गर्ने भारत, चीन, संयुक्त राष्ट्रसंघीय प्रणाली, मानवीय सहायता निकाय, परोपकारी संस्था तथा विश्वभरका नागरिकप्रति आभार व्यक्त गरे । उनले कम्तीमा १ हजार ४ सय जनाको मृत्यु पुष्टि भएको र ६ हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेको उल्लेख गर्दै भौतिक पुनःस्थापनाको आवश्यकता कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत बराबर रहेको प्रारम्भिक मूल्यांकन प्रस्तुत गरे ।
विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु संकटको ठूलो मूल्य नेपालले चुकाइरहेको प्रधानमन्त्री शाहले बताए । हिमनदी पछाडि हट्नु, हिमाली ढलान अस्थिर हुनु र नदीको प्रवाह अनिश्चित बन्दै जानुले नेपालको विकास उपलब्धिमाथि समेत जोखिम थपेको उनको भनाइ थियो। जलवायु विपद् नेपालका लागि मानवीय संकट मात्र नभई विकास संकटसमेत भएको उनले बताए ।
जलवायु परिवर्तनलाई कुनै देश वा महादेशलाई दोष दिने विषय नबनाई साझा जिम्मेवारी र ऐक्यबद्धताका आधारमा अघि बढ्नुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिए । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचनाअन्तर्गत स्वीकार गरिएको ‘साझा तर विभेदित जिम्मेवारी र सम्बन्धित क्षमता’को सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उनले बताए। ऐतिहासिक रूपमा बढी योगदान गरेका र प्रतिक्रिया दिन बढी क्षमता भएका पक्षले बढी जिम्मेवारी लिनुपर्ने उनको धारणा थियो ।
नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ प्रस्ताव
प्रधानमन्त्री शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रस्ताव गरेका छन्। हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनसँग जोडिएको उल्लेख गर्दै उनले हिमालयलाई पृथ्वीको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा बताए।
प्रस्तावित संयन्त्रमार्फत स्याटेलाइट तथ्यांक र विशेषज्ञता आदानप्रदान गर्ने, जोखिमयुक्त हिमतालको निगरानी गर्ने, संयुक्त पूर्वसूचना प्रणाली बलियो बनाउने तथा विपद्का समयमा सीमापार सहायता समन्वय गर्ने प्रस्ताव उनले अघि सारे। हिमालयलाई खण्डित सूचनाको सीमारेखा नभई अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्ने उनको भनाइ थियो ।
नेपालले आफ्नो पारिस्थितिक योगदानभन्दा बढी विश्वव्यापी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपालको भूभागको करिब आधा क्षेत्रमा वन पुनःस्थापना भएको बताए। स्वच्छ ऊर्जाको आवश्यकता पूरा गर्न जलविद्युत् विकास अघि बढिरहेको, विद्युतीय सवारीको प्रयोग बढिरहेको र स्थानीय तहमा जलवायु अनुकूलनलाई बलियो बनाइरहेको उनले बताए। बढ्दो विपद्को तीव्रता र आवृत्तिसँग जुध्न नेपालले थप तयारी गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।
‘राहत, पुनस्र्थापना, पुनर्निर्माणसँगै जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता’
जलवायु संकटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने प्रधानमन्त्री शाहले बताए। विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनलेLoss and Damage Fund, lGobal Environment Facliity लगायतका विद्यमान वित्तीय संयन्त्र पर्याप्त नभएको बताए।
जलवायु वित्तमा पहुँचका लागि कमजोर मुलुकले वर्षौंसम्म कागजी प्रक्रिया पूरा गरेर सहयोग माग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ थियो। विपद्का बेला तत्काल सहयोग आवश्यक हुने उल्लेख गर्दै उनले जलवायु न्यायको अर्थ व्यवहारमै देखिनुपर्ने बताए।
न्यायपूर्ण विश्वव्यवस्थाको आवश्यकता
प्रधानमन्त्री शाहले वर्तमान अन्तर्राष्ट्रिय व्यवस्थामाथि समेत प्रश्न उठाएका छन्। संयुक्त राष्ट्रसंघको स्थापना सार्वभौमिकता, अन्तर्राष्ट्रिय कानुन, मानव मर्यादा र कमजोर पक्षको अधिकार संरक्षणका लागि भएको उल्लेख गर्दै उनले अहिले अन्तर्राष्ट्रिय प्रणाली दबाबमा रहेको बताए।
सैन्य तथा आर्थिक शक्तिले कसको आवाज सुनिने भन्ने विषय निर्धारण गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले थप न्यायपूर्ण विश्व आर्थिक व्यवस्थाको आवश्यकता औँल्याए।
नेपालको जनजीवन र आपूर्ति प्रणालीका समस्यालाई पनि अन्तर्राष्ट्रिय व्यवस्थासँग जोड्दै उनले किसानले समयमा मल नपाउने, सडक निर्माणका लागि बिटुमिन अभाव हुने र परिवारले खाना पकाउने इन्धनको अभाव सामना गर्नुपर्ने अवस्थाको उल्लेख गरे। युद्धका हतियार विश्वका विभिन्न ठाउँमा समयमै पुग्ने तर किसानका लागि मल र इन्धनको आपूर्ति सहज नहुने अवस्थामाथि प्रश्न उठाउँदै उनले विश्वले युद्धका लागि प्रभावकारी आपूर्ति प्रणाली तर खाद्यान्नका लागि कमजोर आपूर्ति प्रणाली निर्माण गरेको टिप्पणी गरे।
बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकालगायत क्षेत्रका मुलुकले पनि जलवायु संकट र युद्धका असर भोगिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तन र युद्धका कारण सिर्जित संकटले विश्वव्यापी सहकार्यको वर्तमान व्यवस्थामा रहेका कमजोरी उजागर गरेको बताए।
आफू यस वर्ष महासभालाई सम्बोधन गर्ने सबैभन्दा कम उमेरका सरकार प्रमुख भएको जानकारी पाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनको केन्द्र आफू नभई विश्वका कमजोर समुदायको आवाज भएको बताए। विश्वमा जहाँसुकै हतियार पु¥याउन सक्ने क्षमता हुँदा किसानलाई सम्मानजनक जीवनयापनका लागि आवश्यक साधनबाट वञ्चित राख्न नहुने उनको धारणा थियो।
बहुपक्षीयताप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै उनले साना तथा गरिब मुलुकको उपस्थिति र आवाज प्रभावकारी हुने संयुक्त राष्ट्रसंघ आवश्यक रहेको बताए। जलवायु न्याय आर्थिक सहयोगमा मात्र सीमित नभई लागत कसले व्यहोर्ने, निर्णय प्रक्रियामा कसको आवाज सुनिने र भावी पुस्ताको भविष्यलाई कसरी समान महत्व दिने भन्ने विषयसँग जोडिएको उनले बताए।
नयाँ पुस्ता, नयाँ जिम्मेवारी
सम्बोधनको अन्तिम भागमा प्रधानमन्त्री शाहले विश्व अहिले गम्भीर अनिश्चितताको अवस्थामा रहेको र नयाँ पुस्ताको आकांक्षा प्रतिबिम्बित गर्ने नयाँ लोकतान्त्रिक जनादेशको आवश्यकता रहेको बताए। नेपालका युवाले इमानदारी र जवाफदेहिताको राजनीति मागेको उल्लेख गर्दै उनले यसलाई द्वन्द्व, असमानता र अवसरको अभावविरुद्ध विश्वव्यापी पुस्तान्तरणको हिस्सा बताए।
राज्यले नागरिकलाई सेवा दिने, सम्मानजनक रोजगारी र सामाजिक सुरक्षा उपलब्ध गराउने तथा प्रत्येक नेपालीलाई स्वदेशमै अघि बढ्ने समान अवसर सिर्जना गर्ने आफ्नो सरकारको प्रतिबद्धता रहेको उनले बताए।
नेपालका पछिल्ला बाढीले बढ्दो जलवायु जोखिमको भविष्य संकेत गरेको भन्दै प्रधानमन्त्री शाहले पुराना आधाररेखा अब पर्याप्त नभएको बताए। आकस्मिक प्रतिक्रियाबाट तयारीको संस्कृतितर्फ जानुपर्ने, उत्थानशीलतामा लगानी गर्ने, बीमा र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, बलियो पूर्वाधार तथा संस्थाहरू निर्माण गर्ने, जीवाश्म इन्धनमा निर्भरता घटाउने र पूर्वसूचना तथा जीवनरक्षा प्रणाली बलियो बनाउनुपर्ने उनले बताए।
सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले भने, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्। यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्। धन्यवाद, नमस्ते।’
सी जिनपिङको अमेरिका भ्रमण : ट्यारिफ र व्यापारिक अवरोधहरू कम गर्ने आशा
एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग महत्वपूर्ण भेटका लागि अमेरिका पुगेपछि व्यवसायीहरुमा नयाँ आशा पलाएको छ ।
अमेरिकी व्यवसायी तथा कृषि उत्पादकहरूले सी र ट्रम्पको भेटले शुल्क (ट्यारिफ) र व्यापारिक अवरोधहरू कम गर्ने आशा व्यक्त गरेका छन्।
सी जिनपिङ ट्रम्पको निमन्त्रणामा तीन दिने राजकीय भ्रमणका लागि अमेरिका आएका हुन्।
यो भ्रमण ट्रम्पले मे महिनामा चीनको राजकीय भ्रमण गरेपछि भएको हो। ट्रम्पको चीन भ्रमण करिब नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपतिले गरेको पहिलो भ्रमण थियो।
अमेरिका–चीनबीच सीमापार कर्पोरेट रणनीतिमा विशेषज्ञता राख्ने कानुनी फर्मका वरिष्ठ साझेदार जोसायाह हेन्सनका अनुसार, दुई देशबीचको आर्थिक सहकार्यले दीर्घकालीन र व्यापक ढाँचाको आधार तयार गर्न सक्छ।
हेन्सनले भने,‘दुवै देशका अर्थतन्त्रलाई एकसाथ जोडेर सम्पूर्ण मानवजातिको हितका लागि काम गर्ने लक्ष्य दुवै नेताहरूलाई आकर्षित गर्न सक्छ भन्ने मलाई लाग्छ। त्यसैले यो भविष्यको विरासत निर्माण गर्ने दिशामा पहिलो कदम हुन सक्छ।’
चीनमा आधारित अन्तर्राष्ट्रिय एक स्वास्थ्य सेवा कम्पनीकी उपाध्यक्ष रोबर्टा लिप्सन पनि दुई देशबीचको सम्बन्धबारे आशावादी देखिन्छिन्।
यसै महिनाको सुरुवातमा उनी राष्ट्रपति सी र राष्ट्रपति ट्रम्पबीचको बैठकअघि चिनियाँ प्रधानमन्त्री ली छ्याङसँग भेट गर्ने प्रतिनिधिमण्डलमा सहभागी भएकी थिइन्।
लिप्सनले भनिन्,‘समग्रमा हामी निकै आशावादी थियौँ। यद्यपि, समाधान गर्नुपर्ने केही कठिन विषयहरू छन् भन्ने स्पष्ट रूपमा स्वीकार गरिएको थियो। तर बैठकप्रति देखिएको स्वागत, स्वीकार्यता र अपेक्षाले हामीलाई निकै उत्साहित बनायो।’
व्यवसायी नेताहरूका लागि शुल्क र व्यापारिक अवरोध घटाउनु प्रमुख प्राथमिकता बनेको छ।
लिप्सनले भनिन्,‘व्यक्तिगत रूपमा मलाई लाग्छ, औषधिमा शुल्क लगाउनु हुँदैन। त्यसैले यो विषयमा पनि छलफल होस् भन्ने मेरो आशा छ।’
धेरैजसोको धारणा भने ठूलो मात्रामा शुल्क हट्ने सम्भावना कम रहेको छ। तर केही विशेष क्षेत्रमा लक्षित रूपमा शुल्क घटाउन सकिने आशा गरिएको छ।
हेन्सनले भने,‘हामीले शुल्कहरू चाँडै नै पूर्ण रूपमा हट्ने वा निश्चित रूपमा स्थायी रूपमा समाप्त हुने अवस्था देख्ने सम्भावना कम छ।’
चीनमा व्यवसाय गरिरहेका कम्पनीहरूको प्रतिनिधित्व गर्ने वकिल राल्फ विन्नीले बजारमा अझ बढी पहुँच, जनस्तरको आदानप्रदानमा वृद्धि र भिसा प्रक्रिया सहज हुने अपेक्षा गरेका छन्।
दक्षिण डकोटाका सोयाबिन किसान माइक म्याकक्रेनीले तीन दशकभन्दा बढी समयदेखि चीनलाई आफ्नो प्रमुख निर्यात बजारका रूपमा निर्भर गर्दै आएका छन्।
शिखर वार्ताअघि चीनले सोयाबिन खरिद बढाएको छ। कृषि क्षेत्रमा हुने प्रगतिलाई यी बैठकबाट देखिन सक्ने सकारात्मक परिणाममध्ये एकका रूपमा हेरिएको छ।
म्याकक्रेनीले भने, ‘चीनले आफ्नो आगामी बजार वर्षका लागि सोयाबिन खरिद गरिरहेको छ। अहिले मैले उत्पादन गरिरहेको बाली पनि त्यसैमा पर्छ। यस्तो भइरहेको देख्दा मलाई लाग्छ, दुई देशबीचको सम्बन्ध धेरै राम्रो हुँदै गएको छ।’ (सीसीटीभीप्लस)

