पूर्वसांसद आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालो मोसो प्रहार
रौतहट । रौतहट राजपुर बमकाण्डमा जन्मकैद पाएका काँग्रेस पूर्वसांसद आफताब आलमलाई उन्मुक्ति दिने न्यायाधीशमाथि कालो मोसो प्रहार भएको छ । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज न्यायाधीश डा. खुसीराम थारुलाई कालो मोसो प्रहार गरेका हुन् ।
कालो मोसो प्रहार गर्दै उनीहरूले नेकपा बहुमत जिन्दाबाद, जनताको कर खाने र जनताकोविरुद्धमा फैसला गर्ने एवं नेकपा बहुमत पार्टीले नेपालभर भ्रष्टाचारविरुद्धमा यसरी कारबाही गरेको छु भनेका छन् । उनीहरूले कार्यकक्षमै पुगेर कालो मोसो प्रहार गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ ।
कालो मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । न्यायाधीश थारू सहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।
२०६४ चैत २७ गते पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पूर्वसांसद आलमलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएकोमा उच्च अदालतले यसलाई उल्ट्याउँदै आलमलाई सफाइ दिएको थियो ।
एयर इन्डियाको विमान भारतमा दुर्घटना
काठमाडौं । भारतबाट ब्रिटेनका लागि उड्न लाग्दा एयर इन्डियाको दुर्घटनामा परेको छ । एयर इन्डियाको जहाज गुजरातको अहमदावादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थाल नजिक दुर्घटना भएको हो ।
लन्डन ग्याटविक गन्तव्यका लागि उडेको एआई १७१ उडान नम्बरको विमान बिहीबार अहमदाबादमा दुर्घटनामा परेको हो ।
अहमदाबादको मेघाणी नगर क्षेत्रमा विमान खस्दा ठूलो आगलागी भएको पुष्टि गरिएको छ । एयर इन्डियाले आफ्नो आधिकारिक एक्स (पूर्व ट्विटर) खातामा दुर्घटनाको पुष्टि गर्दै भनेको छ, ‘अहमदाबाद–लन्डन ग्याटविक उडान एआई १७१ आज, १२ जुन २०२५ मा दुर्घटनामा परेको छ ।’
विमानमा २३० यात्रु र १२ चालक दलका सदस्य सवार रहेको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ । हालसम्म कति मानिस घाइते वा मृत भए भन्ने आधिकारिक जानकारी प्राप्त भएको छैन ।
एयर इन्डियाले थप विवरण संकलन भइरहेको र छिटो अर्र्को अद्यावधिक जानकारी दिने बताएको छ । घट्ना भएपछि नागरिक उड्डयन मन्त्री राम मोहन नायडू किंजरापुले व्यक्तिगत रूपमा स्थितिको अवलोकन गरिरहेका छन् ।
एमसीसी अघि बढ्ने संकेतः सन् २०२६ का लागि गरियो बजेट प्रस्ताब
काठमाडौं । अमेरिकी सहयोगको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले सन् २०२६ को लागि बजेट बिनियोजन गर्न प्रस्ताव गरेको छ । यस्तो प्रस्ताबसँगै अमेरीका सरकारले गत जनवरीमा स्थगित गर्ने निर्णय गरेको उक्त परियोजना फेरी अघि बढ्ने संकेत देखिएको हो ।
एमसीसीले आफ्नो वेबसाइटमा राखेको पछिल्लो विवरण अनुसार सन् २०२६ का लागि कुल २२ करोड़ ४० लाख अमेरिकी डलर बजेट विनियोजन गर्न प्रस्ताव गरेको छ । यद्यपी, एमसीसीले यसअघिको बजेटको तुलनामा भने यसपालि ठुलो मात्रामा कटौती गरेको देखिएको छ । बजेट प्रस्ताव घटेसँगै नेपाललगायत देशको कार्यक्रम प्रभावित हुने देखिएको छ ।
सन् २०२५ मा एमसीसीका लागि ९३ करोड़ अमेरिकी डलर बजेट विनियोजन गरिएको थियो । आगामी वर्षका लागि प्रस्ताव गरिएको बजेटमध्ये आधाभन्दा बढ़ी प्रशासनिक खर्चका लागि छुट्याइएको छ । उक्त शीर्षकमा १२८ मिलियन डलर छुट्याइएको एमसीसीद्वारा गत मेमा सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।
यस्तै कम्प्याक्ट डेभलपमेन्ट ओभरसाइट शीर्षकमा ९१.५ मिलियन डलर र इन्सपेक्टर जनरलको कार्यालयका लागि ४.५ मिलियन डलर विनियोजनको प्रस्ताव गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा पदभार ग्रहण गरेपछि (गत जनवरी २० मा) एमसीसी परियोजना ९० दिनका लागि स्थगित गर्ने निर्णय गरेका थिए ।
तेह्रथुम पावर कम्पनीको हकप्रद शेयर असार १६ देखि निष्कासन हुने
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आगामी असार १६ देखि हकप्रद शेयर निष्कासन गर्न लागेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
लगानीकर्ताले हकप्रद शेयरका लागि आगामी साउन ४ गते सम्म आवेदन दिन पाउनेछन् । यसअघि कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका जेठ ५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्र हकप्रद शेयर खरिदका आवेदन दिन पाउने छन् ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १९ गते हकप्रदका लागि स्वीकृती पाएको थियो ।
सुनचाँदीका गहनामा विलासिता कर खारेज नगरे व्यवसायनै बन्द गरि आन्दोलनमा होमिने चेतावनी
काठमाडौं । सरकारले सुनचाँदी र हिरा लगायतका बहुमूल्य गरगहनामा विलासिता कर र भ्याट लगाउने घोषणा गरेपछि सुनचाँदी व्यवसायीहरुले त्यसको खारेजीको माग गर्दै व्यवसाय नै बन्द गरेर आन्दोलनमा होमिने चेतावनी दिएका छन् ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ र सुनचाँदी व्यवसायी संघले बुधबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२÷८३ को बजेट मार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेको छ ।
आम सर्वसाधारण उपभोक्ता देखि सबै बर्गका मानिसले उपयोग गर्ने सुनचाँदीमा सरकारले विलासिता शूल्क र भ्याटको नाममा चर्को भार थोपर्न नहुने भन्दै व्यवसायीहरुले त्यसको खारेजीको माग गर्दै आएका छन् ।
‘सरकारले बजेट मार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाएको छ । यस्तो कर पटकै पिच्छेको विक्रीमा लागु हनुे बहुकर प्रणाली (राउन्ड ट्रिपिङ) हो । झट्ट सुन्दा २ प्रतिशत जस्तो मात्र लागेपनि व्यवहारीक रुपमा भने ग्राहकहरुको लागि कम्तिमा पनि ६ प्रतिशत माथि थप मूल्य तिर्नुपर्ने बाध्यकारी कर प्रणाली हो,’ विज्ञप्तीमा भनिएको छ ।
सरकारले सुनमा घुमाउरो पारमा ६ प्रतिशतको विलासिता कर थोपरेको र सुनका गहनामा प्रयोगहुने धातु तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट जोडदा १९ प्रतिशत सम्मको मूल्य वृद्धिमा व्यवसायी र उपभोक्तालाई पार्न खोजेको आरोप व्यवसायीहरुको छ ।
सरकारले गरेको यस्तो व्यवस्थाले सुनचाँदी बजारलाई अझ महामन्दि तर्फ अग्रसर बनाउने व्यवसायीहरुको तर्क छ । त्यसकारण जसरी भएपनि यस्तो कर तथा भ्याट खारेज हुनुपर्ने उनिहरुको माग छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । छैटौँ अधिवेशनको २७ औँ बैठक बिहिबार दिनको ३ बजेका लागि बोलाइएको हो । तर केही दिनदेखि संसद् अवरोधका कारण बैठक निरन्तर स्थगित हुँदै आएको छ ।
आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
यसैगरी उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आ.व. २०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा आ।व। २०८२र०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।
त्यस्तै राज्य व्वस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ ।
किरात पुमा राई तुप्खाबाङ्खालालाई सामुदायिक भवन निर्माणका लागि आर्थिक सहयोग प्राप्त
धरान, सुनसरी। किरात पुमा राई तुप्खाबाङ्खाला, जिल्ला कार्य समिति सुनसरीको सामुदायिक भवन निर्माण अभियानले आर्थिक सहयोग प्राप्त गरेको छ। धरान–१६ निवासी राजकुमार पुमा राई र उहाँकी श्रीमती सुजता पुमा राईले २७ गते मंगलबार आफ्नो निजी निवासमा उक्त अभियानका लागि पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ प्रदान गर्नुभएको हो।
किरात पुमा राई तुप्खाबाङ्खाला जिल्ला कार्यसमिति, सुनसरीले सहयोगदाता राजकुमार पुमा र सुजता पुमा राईसहित उहाँहरूको सम्पूर्ण परिवारप्रति धन्यवाद व्यक्त गर्दै, यस सहयोगले भवन निर्माण अभियानलाई थप गति प्रदान गर्ने विश्वास लिइएको जनाएको छ।
समितिले धरान–१७ मा एक कठ्ठा जग्गा खरिद गरिसकिएको जानकारी गराएको छ। अब सहयोग संकलन कार्यलाई तीव्रता दिई भवन निर्माणको कार्य जतिसक्दो चाँडो सुरु गरिने कुरा पनि समितिले अवगत गराएको छ।
प्रतिनिधि सभा बैठक २९ गते बस्नेगरि स्थगित
काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक जेठ २९ गतेको लागि स्थगित भएको छ ।
बुधबार जेठ २८ गते १ बजे बस्ने गरि तय भएको बैठक प्रतिपक्षको विरोधका कारण जेठ २९ गते बिहिबार दिनको ३ बजे बस्ने गरि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिएका हुन् ।
प्रतिपक्षको दलको सांसदहरुले गृहमन्त्रीको राजीनामा र उच्च स्तरिय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गरेका हुन् ।
अत्यधिक गर्मीले जनजीवन प्रभावित, धमाधम विद्यालय बन्द
इटहरी । कोशी प्रदेशका तराईका जिल्लाहरूमा पछिल्ला दिन अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । जसका कारण इटहरी लगायत प्रदेशका विभिन्न पालिकाले विद्यालय बन्द गर्ने निर्णय नै गराएका छन् ।
तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेपछि बालबालिकाको स्वास्थ्यमा असर पर्ने चिन्तासहित स्थानीय तहहरूले विद्यालय बन्द गर्ने निर्णय लिएका हुन् । विराटनगर महानगरपालिकाले जारी गरेको सूचनामा आज (२८ गते) सहित भोलि र पर्सि विद्यालय बन्द गर्न निर्देशन नै दिएको छ ।
यसैगरी इटहरी उपमहानगरपालिकाले समेत आजका लागि दिएको विदा थप गरेर भोली र पर्सिसम्मै कायम गरिरिदिएको छ । प्राप्त जानकारी अनुसार सुनसरीकै इनरुवा नगरपालिका र झापाको कमल गाउँपालिकाका विद्यालय समेत बन्द गर्ने निर्णय भएको हो ।
कोशी प्रदेशका तराईका जिल्लाहरूमा पछिल्ला केही दिनदेखि लगातार गर्मी बढिरहेको छ । मौसममा हावा नचल्ने र आकाश खुलेकै अवस्थामा तापक्रम उच्च हुने क्रम जारी रहेकाले सर्वसाधारणको दैनिकीसमेत प्रभावित भएको देखिन्छ ।
धरानमा असार ५ देखि कोशी प्रदेशस्तरीय ओपन बास्केटबल प्रतियोगिता सुरु हुने
धरान । धरानमा आगामी असार ५ गतेदेखि कोशी प्रदेशस्तरीय ओपन बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ। धरान बास्केटबल संघको आयोजनामा, कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजन, धरान उपमहानगरपालिकाको विशेष सहयोग तथा सुनसरी बास्केटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
धरान–१८ स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको बास्केटबल कोर्टमा असार ५ देखि ८ गतेसम्म सञ्चालन हुने प्रतियोगनाबारे संघले सोमवार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। आयोजकका अनुसार प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिता रहनेछ।
प्रतियोगितामा कोशी प्रदेशभित्रका जिल्लाका टिमहरू मात्र सहभागी हुन पाउने छन् भने बाह्य जिल्लाबाट आएका खेलाडीहरूका लागि खाना तथा बसोबासको व्यवस्था गरिएको छ। वि.सं. २०५९ देखि विद्यालयस्तरबाटै बास्केटबलको प्रवर्धनमा सक्रिय धरान बास्केटबल संघले प्रतियोगितामार्फत नयाँ खेलाडी उत्पादन, खेलको विकास तथा धरानलाई प्रदेशस्तरीय खेलकुद केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।
प्रतियोगिताको अनुमानित बजेट २० लाख रुपैयाँ रहेको छ। संघले विगतमा काठमाडौंमा आयोजना हुने विभिन्न उमेर समूहका राष्ट्रिय प्रतियोगितामा धरानका खेलाडीलाई सहभागी गराउँदै आएको छ।
त्यस्तै, १३औं दक्षिण एशियाली खेलकुदमा धरानका खेलाडी तथा प्राविधिकहरूले कास्य र रजत पदक जितेका थिए। धरानमा ब्रिटिस क्याम्पमार्फत प्रवेश गरेको बास्केटबल खेल अहिले व्यावसायिक बन्दै गएको संघको भनाइ छ। प्रतियोगितामार्फत युवामाझ खेलप्रतिको आकर्षण, भाइचाराको भावना तथा सकारात्मक सोचको विकासमा योगदान पुग्ने अपेक्षा आयोजकले व्यक्त गरेका छन्।
प्रतियोगिताका विजेता टिमलाई नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेताले १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, उत्कृष्ट खेलाडी (एभिपी) लाई १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।



