आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार
काठमाडौं । आख्यानकार विजय हितानको लाहुरे दाइको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।
गैर आवासीय नेपाली सङ्घको भाषा, साहित्य समितिले स्थापना गरेको दुई लाख नगद राशिको अरनिको अन्तर्राष्ट्रिय पुरस्कारको यो तेस्रो संस्करण हो । विदेशमा बस्ने नेपाली लेखकहरूको उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति, प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार विजय हितानलाई प्रदान गरे । प्रमुख अतिथि काइँलाले मास्टर मित्र सेनको सैनिक र कलाकारिता जीवनलाई पठनीय किसिमले प्रस्तुत गरेकोमा कृतिकार हितानलाई बधाई दिए । नेपाली सेनाका अवकाश प्राप्त रथी साहित्यकार बाबुकृष्ण कार्कीले सो कृति सेना, पुलिसका अतिरिक्त साहित्यका सबै पाठकलाई रोचक रहेको बताए ।
आख्यानकार नयनराज पाण्डेले लेखनका अनेक विषयमा अहिले युद्ध साहित्य हाबी हुँदै आएको जनाए । गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष एवम् अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष कवि हिक्मत थापाले संस्थाले प्रवासमा रहेका नेपाली प्रतिभाहरूलाई समेट्दै प्रोत्साहन गर्न यो पुरस्कार स्थापना गरी वितरण गर्दै आएको जानकारी दिए । कवि रमेश पौडेलले बेलायती सेनामा कार्यरत नेपाली सर्जकको सिरानीमा बन्दुक भए पनि हृदयको कलमले मलहम लाउन सिपालु भएको बताए ।
पुरस्कृत प्रतिभा विजय हितानले आदि गायक मास्टर मित्र सेन थापाको जीवनीमाथि लामो खोज र अनुसन्धान पछि सो कृति प्रकाशन गरेको र यो पुरस्कारले युद्ध साहित्यको अनुसन्धानमा अगाडि बढ्न प्रेरणा मिलेको बताए । कार्यक्रममा साहित्यकारहरू प्रतीक ढकाल, भवानी खतिवडा, कृष्ण बाउसे, सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक दुर्जकुमार राई लगायतको उपस्थिति थियो ।
देशभरका मुस्लिम समुदायले आज बकर इद मनाउदैँ
काठमाडौं । आज देशभरका मुस्लिम समुदायले बकर इद मनाउदैँ छन् । मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्वको रुपमा रहेको बकर इद आज देशभरका मस्जिदमा मनाइँदै छ ।
इदुल फित्र अर्थात रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिदमा गई सामूहिक नमाज पढ्छन् ।
यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ र आजबाट मक्कामा जाने हज यात्राको औपचारिक समापन हुन्छ । मक्का मदिना जान नपाउने हजयात्रीसमेतले घर घरमै बकर ईद मनाउँछन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई बली दिन्छन् । बली गर्न नपाउने मुसलमानहरूले आफ्नो गाउँ लगायतका सामीप्य रहेको स्थानमा पैसा पठाउने गर्दछन् ।
मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग ६ हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी घोपेर बलि दिएको देखेपछि भोलिपल्ट बिपनामा त्यसै गरी छुरी हान्दा छोरालाई केही नभई आफूसँग रहेको भेडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो ।
आजको दिन मुस्लिम समुदायले आफ्नो परम्परागत पोसाक लगाएर शुभेच्छा, मिठा परिकार तथा प्रार्थनाहरू एकापसमा साटासाट गर्दछन् । यो पर्व तीन दिनसम्म मनाइन्छ ।
एकता, परिश्रम र आत्मनिर्भरता नै राष्ट्र विकासको मूल आधार : मेयर साम्पाङ
धनकुटा । श्रमदान अभियानका अभियन्ता तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आज धनकुटाको टुँडिखेलमा आयोजित "हर्क साम्पाङ अ रिभोलुसन" टिम धनकुटा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय एकता, अथक परिश्रम र पूर्ण आत्मनिर्भरता नै नेपालको समग्र विकास र प्रगतिका लागि अपरिहार्य आधारशिला रहेको बताएका छन्। उनले यी तीन आधारभूत स्तम्भबिना समृद्ध नेपालको परिकल्पना अधुरो रहने स्पष्ट पारे।
साम्पाङले आफ्नो भाषणको सुरुवात कविता वाचनबाट गरेका थिए । उनले भौतिक सम्पन्नताभन्दा नैतिकता र असल चरित्रको महत्त्व छ भन्दै मानिसहरूलाई सच्चा 'मानव' बन्न र आपसी एकताको भावनालाई बलियो बनाउन आग्रह गरे। "मानवता नै सबैभन्दा ठूलो धर्म हो र यसैको जगमा मात्र सामाजिक सद्भाव र प्रगति सम्भव छ," उनले भने।
प्रमुख साम्पाङले आफ्नो धनकुटा यात्रालाई व्यक्तिगत स्वार्थ नभई मानवीय अभियानको एक हिस्सा भएको स्पष्ट पारे। उनले राष्ट्रिय एकताको आवश्यकतालाई विशेष जोड दिँदै देश निर्माणका लागि हरेक नागरिकमा कडा परिश्रम र आत्मनिर्भरताको भावना जगाउनुपर्नेमा जोड दिए। वर्तमानमा विदेश पलायन हुने युवा शक्ति बढिरहेको उल्लेख गर्दै उनले देशमै पसिना बगाउने संस्कृति विकास गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा बोल्दै उनले समाजमा व्याप्त अन्याय, भ्रष्टाचार र विकृति विरुद्ध निर्भीक भएर आवाज उठाउन पनि सबैलाई आग्रह गरेकाथिए । प्रमुख साम्पाङले पारदर्शिता र जवाफदेहिताका लागि नागरिक समाजको भूमिका महत्त्वपूर्ण हुने बताए।
समस्याको मूल जरो संविधानमा छ, पुनर्लेखनको विकल्प छैन : उपेन्द्र यादव
कपिलवस्तु । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हाल देशमा देखिएका सबै समस्याको मूल जरो वर्तमान संविधानमा रहेकोले यसलाई पुनर्लेखन गर्न माग गरेका छन ।
शुक्रवार तौलिहवामा जसपा नेपाल कपिलवस्तुको आयोजित जिल्लाको प्रथम अधिवेशनको उद्घघाटन गर्दै अध्यक्ष यादवले संविधान नसच्याए मुलुकले योभन्दा कठिन र जटिल अवस्थाको सामना गर्न बाध्य हुने दाबी गरे ।
फोहोर भैसकेको खोलाको मुहान पहिले सफा गरौँ, पानी आफै स्वच्छ हुन्छ भन्दै अध्यक्ष यादवले भने, ‘मुलुकलाई निकास दिन ढिला नगरौँ, दफावार धारा पिच्छे त्रुटिपूर्ण रहेको यो संविधानलाई पुनर्लेखन गर्नुको विकल्प नै छैन ।’
संविधान संशोधनकै एजेन्डा अघि सारेर बनेको वर्तमान सरकार सत्तालिप्सा, भ्रष्टाचारी, कमिसनखोर, बिचौलिया र भू माफिया जस्ता देशका धमिरालाई संरक्षण गर्नु बाहेक संविधानका त्रुटिहरू सच्याउने तर्फ गम्भीर नभएको उनले टिप्पणी गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार देशमै संविधान कार्यान्वयन नभएको भन्दै अध्यक्ष यादवले जारी भएदेखिन यो विकृत संविधानकै कारणले एक दशकदेखि मुलुक अनिर्णयको बन्दी बन्न बाध्य भएको बताए ।
उनले भने, ‘ठूला भनिएका तीन दल आफैँले ल्याएको संविधानको कवरमा संघीय लोकतान्त्रिक गणतन्त्र लेखेपनि यसको कार्यान्वयनमा इमानदार छैनन ।’ अध्यक्ष यादवले, ‘यदि संविधान कार्यान्वयन हुँदैन भने त्यसले लोकतन्त्रलाई झन् कमजोर बनाउँछ, त्यसैले संविधानलाई संशोधन गरेर त्यसको मूलमर्म अनुसार पुनर्लेखन गर्नुपर्छ ।’
काँग्रेस र कम्युनिस्ट जस्ता दलहरू संविधान र संघीयताको कार्यान्वयनप्रति गम्भीर र जिम्मेवार नदेखिएको आरोप लगाउँदै यादवले प्रतिबद्धता बिना कुनै पनि संविधान दीर्घकालीन बन्न सक्दैन, भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको विश्वास प्राप्त गर्न बलियो सरकारको आवश्यकता रहेको बताए ।
अख्तियारलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न दिनुपर्छ : गगन थापा
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा अनुसन्धान गर्न दिनुपर्ने बताएका छन् ।
शुक्रवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हाल गृहमन्त्री रमेश लेखकसम्बन्धी उठिरहेको विषयमा प्रत्यक्ष राजनीतिक हस्तक्षेप गर्न नहुने बताएका हुन् ।
उनले यस प्रकरणले कानुनी सुधारको खाँचो औँल्याएको भन्दै भविष्यमा अख्तियार र अन्य अनुसन्धान निकायको संरचना, भूमिका र प्रक्रियामा व्यापक सुधार आवश्यक रहेको उल्लेख समेत गरेका छन् ।
त्यसैगरी, पार्टीको आगामी १५औँ महाधिवेशनको सन्दर्भमा बोल्दै महामन्त्री थापाले अहिले त्यसबारे सोच्ने समय नभएको स्पष्ट पारे । उनले आफूलाई १४ औँ महाधिवेशनमा दिइएको जिम्मेवारी पुरा गर्ने कार्यमा केन्द्रित रहेको समेत बताए । महामन्त्री थापा लोकतन्त्रवादी याक्थुङ संघको अधिवेशनमा सहभागी हुन धरान आएका हुन् ।
माधव नेपालसहितका नेताहरूमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
विराटनगर । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षको बजेट अधिवेशनमै विद्यालय शिक्षा ऐन र निजामती सेवा ऐन पारित गरिने स्पष्ट पारेका छन् ।
शुक्रवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले विगत लामो समयदेखि प्रतीक्षित दुवै विधेयक यही अधिवेशनमा पारित हुने विश्वास व्यक्त गरे ।
राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित केही नेतामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दा नियमित प्रकृया अनुसार भएको मन्त्री गुरुङको भनाइ छ ।
गृहमन्त्री रमेश लेखकविरुद्ध विपक्षीले उठाएको राजीनामाको मागप्रति असहमति जनाउँदै मन्त्री गुरुङले राजनीतिक प्रतिशोधस्वरूप यस्तो माग गरिएको टिप्पणी गरे ।
जिल्लाबाट नै आमाको नाममा नागरिकता दिने व्यवस्था मिलाऔँ : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जिल्लाबाट नै आमाको नाममा नागरिकता दिनुपर्ने बताएका छन् । शुक्रवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सबैखालका नागरिकता जिल्लाले दिइरहेको अवस्थामा आमाको नामबाट दिने नागरिकता पनि जिल्लाले दिनुपर्ने बताएका हुन् ।
‘सबैखालका नागरिकता जिल्लाले दिइरहेको छ भने नेपाली आमाबाट जन्म भइ नेपालमा नै स्थायी बसोबास गरेका बाबुको ठेगाना नभएको अथवा बेपत्ता भएको, अथवा सहयोग नगरेको मानिसलाई किन मन्त्रालयले दिने ? सबै नागरिकता जिल्लाले दिने आमाको नाममा नागरिकता चाहीँ मन्त्रालयले दिने भन्ने हुन्न । यसलाई जिल्लामा पठाउनुपर्छ भन्ने कुरामा म प्रस्ट छु,’उनले भने ।
उनले आमाको नामबाट सहजरुपमा नागरिकता दिन नियमावली नै संशोधन गरी अगाडि बढ्ने बताए ।
‘त्यसका लागि नियमावली नै संशोधन गर्ने कुरामा अगाडि बढेका छौ । नियम नै संशोधन गरेपनि काठमाडौँको मन्त्रालयमा भएका फाइलहरू सबै जिल्लामा पठाउने हो,’उनले भने ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले एनआरएनए नागरिकहरूको नागरिकताले मताधिकार नहुने भन्दै त्यसको औचित्य नभएको बताए ।
पत्रकारमाथि दुर्व्यवहार गरेकोमा तत्काल क्षमा याचना गर्न माग
काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि दुर्व्यवहार गरेको घटनाप्रति अनलाइन टिभी पत्रकार संघले आपत्ति जनाएको छ ।
बिहिवार प्रेस वक्तव्य जारी गर्दै संघले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै तत्काल क्षमा याचना गर्न माग गरेको हो ।
‘प्रेस स्वतन्त्रता र पत्रकारको भूमिकाका बारेमा पर्याप्त जानकार व्यक्तिबाटै भएको यस प्रकारको व्यवहारले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । त्यसैले सञ्चारकर्मी माथि आक्रमण गर्नु भएका वरिष्ठ अधिवक्ता थापालाई तत्काल क्षमा याचना गर्न हामी माग गर्दछौँ,’प्रेस वक्तव्यमा लेखिएको छ ।
बिहिवार नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालयमा रिपोर्टिङका लागि गएका नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्कीको क्यामरामा अधिवक्ता थापाले हानेका थिए ।
सञ्चारकर्मीहरू नागरिकलाई सत्य सूचना प्रवाह गर्न निरन्तर खटिरहेका भन्दै सञ्चारकर्मीको काममा कुनै बाधा अवरोध नगन सरोकारवालालाई ध्यानाकर्षण समेत गराएको छ ।
आज पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । हाल देशको पश्चिम र मध्य भू—भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने पूर्वको अधिकांश भू—भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राती भने कोशी प्रदेशलगायत देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
सुम्निमा पारुहाङ प्रतिमा निर्माणका लागि सन्तमणि राईद्वारा आर्थिक सहयोग
धरान, सुनसरी । धरान-२० स्थित चिण्डेडाँडामा निर्माणहुने सुम्निमा पारुहाङ प्रतिमाका लागि भूतपूर्व ब्रिटिस गोर्खा आर्मी सन्तमणि राईले २ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
केपिलासगढी गाउँपालिका वडा नं. २ (साविक खार्ताम्छा – ६) स्थायी घर भई हाल इटहरी - २०, सुनसरीमा बस्नुहुने राईले आफ्ना कान्छा छोरा नविन राईमार्फत बिहीबार धरान - १८ स्थित ग्रीन टीहाउसमा सुम्निमा पारुहाङ प्रतिष्ठान नेपालका कोषाध्यक्ष दत्त लिम्बुलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नविन राईले, "सृष्टिकर्ता सुम्निमा र पारुहाङको प्रतिमा निर्माण हुँदा हाम्रो परिवारले सकेको आर्थिक सहयोग गरेको हो I बाबा सन्तमणि राई र आमा कुमारी राईको तर्फबाट प्राप्त यो सहयोग रकमले प्रतिमा निर्माण कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।"
नविन राईले थप्नुभयो, "यस्तै सहयोगहरूबाट प्रतिमा निर्माण हुने र धरानको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप उचाइमा पुर्याउने विश्वास हामीले लिएका छौँ। धरानको धार्मिक, सांस्कृतिक विकास जस्तो पवित्र कार्यमा हाम्रो परिवारले सकेको आर्थिक योगदान गर्न पाउनु खुसीको कुरा हो ।"
यो निर्माण कार्यले आउने सबै सन्ततिहरूका लागि आफ्नो सभ्यता, भाषा र धर्मको संरक्षण गर्ने प्रेरणा मिलोस् भन्ने हाम्रो परिवारले आशा राखेको छ। उहाँहरूका अनुसार, यो स्थान भावी पुस्तालाई सही जानकारी दिन सक्ने एक धार्मिक र सांस्कृतिक स्थल बन्नुका साथै इतिहास, संस्कृति र पहिचानलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेल्ने पनि विश्वास व्यक्त गर्नुभयो।
सन्तमणि राईको परिवार तर्फबाट सुम्निमा पारुहाङ प्रतिष्ठान नेपाललाई यस पवित्र कार्यको सफल सम्पन्नताका लागि शुभकामना समेत व्यक्त गरेका थिए।




