प्रधानमन्त्रीका बारेमा कुरा होला भनेको मेरो बारेमा भएछ : डा.कोइराला
विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति निवासमा भएको पदाधिकारी बैठक आफ्नो बारेमा मात्रै केन्द्रीत रह्यो भन्ने सुन्दा अचम्म लागेको बताएका छन् ।
मंगलबार विराटनगरमा आयोजित काँग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद् उद्घाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
उनले भने,‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, भर्खरै प्रधानमन्त्रीले १५ गते काठमाडौँ कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला तर कुरा त मेरै बारेमा मात्रै भएछ ।’
कोइरालाले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैर राजनीतिक र मुठभेडको भाषा बोल्दा समेत कांग्रेसले यसबारेमा आधिकारिक रूपमा कहिंकतै नबोलेकोमा आफूलाई छक्क लागेको बताए ।
उनले प्रधानमन्त्री व्यक्ति मात्रै नभएर संस्था पनि भएको भन्दै त्यो पदमा बस्ने मान्छेले बोल्ने हरेक कुराले अर्थ राख्ने बताए ।
‘के बाध्यता आइपर्यो त्यस्तो प्रधानमन्त्रीले जे जे गरेपनि काँग्रेसले छुट दिँदै जाने ?’उनले प्रश्न गरे । पछिल्ला दिनमा काँग्रेसले आफ्नो सैद्धान्तिक मौलिकता बिर्संदै गएकोमा चिन्ता समेत व्यक्त गरे ।
आज पनि घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको एक लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ सोमबार एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य एक हजार ९९५ रुपैयाँ निर्धारण गरिएको छ ।
मकवानपुरमा बसको ठक्करले ३ जनाको मृत्यु, ३ जना घाइते
हेटौंडा । मकवानपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मकवानपुर थाहा नगरपालिका–३ विद्युत प्राधिकरण स्थित त्रिभुबन राजपथ सडकखण्डमा सोमबार अपरान्ह बज्रबाराहीको गोपाली गाँउबाट थानाबजार तर्फ जादै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भई सडकमा हिडिरहेका ६ जनालाई ठक्कर दिएको थियो । ती मध्य तीन जनाको मृत्यु भएको हो ।
बसको ठक्करबाट स्थानीय झम्केश्वरी माविका शिक्षक लोकेन्द्रकुमार ठाकुर, लेखापढी गर्ने कृष्ण बलामी र झम्केश्वरी माविकै शिक्षक रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । घाइते मध्य ठाकुर र बलामिको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा मृत्यु भएको छ भने यादवको ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो ।
उक्त घटनामा बाराको जितपुर सिमरा घर भएका अन्दाजी ३२ वर्षीय छेयाङ दोर्ज लामा र बाराको कोल्वी घर भइ झम्केस्वरी माविमै पढाउने शिक्षक अन्दाजी ३० वर्षीय रामगुलाम चौधरी घाइते भएका छन् । घाइते दुवैको पालुङमा उपचार भइरहेको छ र कमलेश कुमार साहको काठमाण्डौ ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बसले थाहानगरका उप प्रमुख भरत गोपालीको घरमा समेत क्षति पुगेको छ । बस पैदलयात्रीलाई ठक्कर दिएर घरको पर्खालमा ठोक्किन पुगेको थियो ।
आजको मौसम : पहाडी भूभागमा चट्याङसहित वर्षा सम्भावना
काठमाडौं । देशमा पश्चिमी तथा स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मधेश तथा लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो, देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राती भने मधेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
मधेश र सुदुरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बोलेको पुरा गरेन भने नेता र ज्योतिष उस्तै’ : केदार कार्की
इटहरी । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आफूले बोलेको कुरा पुरा गर्न सक्ने नेतृत्वलाई मात्र जनताले विश्वास गर्ने बताएका छन् । सोमवार विश्व ज्योतिष महासंघले इटहरीमा आयोजना गरेको सम्मेलनमा बोल्दै कार्कीले नेताहरूले बोलेजसरी काम नगरेको भन्दै आलोचना खेप्नुपरिरहेको बताएका हुन् ।
‘नेता र ज्योतिष उस्तै हुन् । ज्योतिषले पनि बोलेको पुरा नभएमा उसको विश्वास गुम्छ । नेताको पनि उस्तै हो ।’ कार्कीले भने । नेपाली कांग्रेसका नेता समेत रहेका कार्कीले ज्योतिष विज्ञानलाई नेपालमा अध्यनको क्षेत्र बनाउन सकिने बताउँदै त्यसको नेतृत्व नेपालले लिएकोमा धन्यवाद ज्ञापन गरेका छन् ।
‘ज्ञानलाई कुनै पनि सिमानाले छेक्न सक्दैन । उनले थपे, ज्योतिष त्यस्तो विज्ञान हो, जसको विद्धतालाई कुनै पनि सिमानाले छेक्न सक्दैन ।’
गृहमन्त्रीको राजीनामा माग्ने नेताहरुमाथि स्पष्टीकरण सोध्ने कुरा भएको छ : डा.शशांक
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वमहामन्त्री डा.शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोप गलत भएको बताएका छन् । सोमबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा आयोजित पदाधिकारी एवम पूर्वपदाधिकारी बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै डा.कोइरालाले लेखकको बचाउ गरेका हुन् ।
लेखकले बैठकमा भिजिट भिषा प्रकरणबारे स्पष्ट कुरा राखेकाले उहाँमाथि आरोपमात्र लागेको डा.कोइरालाको भनाइ थियो । बैठकमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने पार्टीभित्रकै नेताहरुलाई कारवाही गर्नुपर्छ भन्ने अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिएको पनि उनले बताए ।
बैठकमा डा.शेखर कोइराला, डा.सुनिल शर्मा र राजेन्द्र बजगाईंले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर अभिव्यक्ति दिएकाले कारवाहीको कुरा उठेको पनि डा.शशांकले बताए ।
‘हामीले सभापतिलाई उनीहरूलाई बोलाउनुस् र के भएको हो सोध्नुस् भनेका छौं। सभापतिजीले पनि स्पष्टीकरण लिनेबारे हुन्छ वा हुन्न भन्नु भएको छैन्, हेर्छुमात्रै भन्नुभएको छ,’उनले भने । तीन जना नेतालाई स्पष्टीकरण सोध्नैपर्ने डा.शशांकको भनाइ थियो ।
बराहक्षेत्रको बिचपानीमा हर्षोल्लास पूर्ण साकेला उभौली मनाइयो
बराहक्षेत्र, सुनसरी। देशभर तथा विदेशमा रहेका किराँत राईहरूले महान चाड साकेला २०८२ सालको उभौली तथा एले सम्वत् ५०८५ मनाइरहँदा सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बिचपानीमा पनि विधिवत् रूपमा िहजो आइतवार हर्षोल्लासका साथ कार्यक्रम सम्पन्न भएको छ।
साकेला प्रारम्भिक कार्य समिति बराहक्षेत्र–३ बिचपानी ले आयोजना गरेको उक्त कार्यक्रममा किराँत राई यायोक्खा बराहक्षेत्र नगर अध्यक्ष नरेश राई प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा किराँत राई यायोक्खा नगर सदस्य मणि प्रसाद राई, समाजसेवी तथा पूर्व ३ नम्बर वडा अध्यक्ष रुद्र दाहाल, किराँत राई बान्तावा खिम जिल्ला सदस्य तथा यायोक्खा नगर सदस्य धनराज राई, समाजसेवी रामेश्वर तामाङ, किराँत राई यायोक्खा बराहक्षेत्र १ अध्यक्ष शुभधन राई, समाजसेवी तथा किराँत राई यायोक्खा भरौल प्रा. क. स. सदस्य सूर्य चाम्लिङ राई, र जाल्पा आधारभूत प्राथमिक विद्यालयका प्र.अ. अनुसा वन लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।
वक्ताहरूले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । राज्यले सबै संस्कृति र सभ्यताहरूलाई समान रूपमा हेर्नुपर्नेमा जोड दिएका थिए।
पूर्ववडा अध्यक्ष रुद्र दाहालले यस्ता महत्त्वपूर्ण चाडपर्वहरूमा समाजसेवी, संघसंस्था, जनप्रतिनिधि र स्थानीय सरकारहरूको सहयोग र बजेट विनियोजनमा महत्त्वपूर्ण भूमिका आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी, किराँत राई यायोक्खा बराहक्षेत्र नगर सदस्य मणि प्रसाद राईले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकोले सबैखाले फूल फुले मात्र सुन्दर देश नेपाल देखिने धारणा राख्नुभयो।
रामेश्वर तामाङ, सूर्य चाम्लिङ राई, शुभधन राई लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि नरेश राईले नेपाल धेरै जाति, धर्म र संस्कृति भएको देश भएकाले तहगत सरकारले विभेदरहित समान रूपमा हेर्न आवश्यक रहेको बताउनुभयो।
उहाँले इतिहास, सभ्यता र पहिचानको आधारमा प्रदेश नम्बर १ को नाम पहिचान झल्कने गरी पुन: नामाकरण गरिनुपर्नेमा जोड दिँदै "कोशी मान्दैनौ, जय किराँत" भन्दै आफ्नो मन्तव्य टुङ्ग्याउनुभयो।
कार्यक्रमको अध्यक्षता जितराज राईले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव बलराज चाम्लिङ राई र जमा बाम्बुले राई ले संयुक्त रूपमा गरेका थिए।
माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण हुँदै
काठमाडौं । आज नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीका बिचमा पार्टी एकीकरण हुने भएको छ ।
सोमबार बिहान ११ः३० बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा पार्टी एकीकरण घोषणा सभा राखिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
घोषणासभा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउन आग्रह गरेका छन् ।
प्रेस चौतारी नेपालका पदाधिकारी र सचिवालय सदस्यसँग सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले जनताको सङ्घर्षको प्रतिफलका रुपमा प्राप्त गणतन्त्र दिवसलाई सरकारीस्तरका साथै जनस्तरबाट पनि मनाउन आग्रह गरेका हुन् ।
नेपाल सरकारले यही जेठ १५ गतेको गणतन्त्र दिवस मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षताका मूल आयोजक समितिको समेत गठन गरेको छ ।
‘गणतन्त्र दिवस, जनताको दिवस हो । यसलाई जातजातिगत विविध बाजागाजा र झाँकीसहित हरेक ठाउँबाट उत्सवका रुपमा मनाउनुपर्छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘जनताले लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका पक्षमा हामी छौँ र यसका लागि सञ्चार क्षेत्रबाट जनताका बीचमा सही सूचना दिएर प्रचारप्रसार गरिनुपर्दछ ।’
सोमबार सम्पन्न एमालेको सचिवालयको बैठकले पनि गणतन्त्र दिवसलाई सांस्कृतिक झाँकीसहित मनाउने निर्णय गरेको थियो । सो निर्णयको कार्यान्वयनका क्रममा सञ्चारमाध्यम र डिजिटल मिडियामा समेत प्रचारप्रसार गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड दिए ।
उनले आफूलाई देशभक्तहरु प्यारो लाग्ने र देशद्रोही तथा प्रतिक्रियावादीहरु मन नपर्ने स्पष्ट गर्दै जस्तो सुकै प्रतिकूल अवस्थामा पनि सत्य र परिवर्तनका पक्षमा सम्झौता नगर्न आग्रह गरे ।
तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटना सम्बन्धमा दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जसमध्ये ११ जनालाई आपराधिक उपद्रवमा मात्रै छुट्टै मुद्दा दायर गरिएको हो ।
प्रहरीले राजावादी आन्दोलनका जनकमान्डर प्रसाईंलाई कर्तव्य ज्यान, संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवसहितका मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।
त्यस्तै, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, संगठित अपराध, आपराधिक उपद्रवसहित पाँच वटा मुद्दामा ५० जनालाई प्रतिवादी बनाइएको हो ।
उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो। जसमा पत्रकार सुरेस रजकको आन्दोलनकारीले घरमा आगो लगाउँदा र कीर्तिपुरका सविन महर्जनको प्रहरीको गोली लागि ज्यान गएको थियो।
