अवैध समान सहितको ट्रक प्रहरी नियन्त्रणमा
रौतहट । सर्लाही प्रहरीले अवैध समान सहितको एक ट्रकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले आइतबार बिहान बागमती नगरपालिका १२ चेकपोष्टबाट ट्रकलाई नियन्त्रणमा लिएको हो ।
सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार बुटवलबाट विराटनगरका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९४६० नम्वरको ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
ट्रकमा लोड भएका समानको प्रज्ञापन पत्र नभएको र कतिपय समानको भ्याटबिल समेत नभएको पाइएको उनले जानकारी दिए ।
ट्रकबाट औषधि, मेसिन, हार्डवेयर, जिरा पाउडर, कस्मेटिक, टायर, हेल्मेट, मोटर पार्टस्, ब्याट्री, र किचेनका समान बरामद भएको उनले उल्लेख गरेका छन ।
बरामद गरिएको ४७ लाख ९७ हजार ५०१ रुपियाँ बराबरको समान र ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
रास्वपाको केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक हिजो ४ बजे बसेको थियो भने त्यसको निरन्तरता स्वरूप केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो ।
बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चले दिएको आदेश, पछिल्लो राजनीतिक घटनाक्रम, भिजिट भिसामा जानेहरूबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको चर्चालगायत विषयमा छलफल हुनेछ ।
गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसँग सम्बन्धित पछिल्ला घटनाक्रमबारे सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै गृह मन्त्रालयले स्पष्टिकरण दिएको छ । मन्त्रालयले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै ती समाचारहरू कपोलकल्पित, भ्रामक र आधारहीन भएको दाबी गर्दै खण्डन गरेको हो ।
‘मन्त्रालयको नेतृत्व कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा संलग्न छैन र भविष्यमा पनि संलग्न हुने छैन,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्रालयले सत्यतथ्य जानकारीका आधारमा मात्र समाचार प्रकाशन तथा प्रसारण गर्न मिडिया हाउस र आम सर्वसाधारणलाई आग्रह गरेको छ ।
विज्ञप्तिमा मन्त्रालयले शान्ति, सुरक्षा र सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको जानकारी दिएको छ । साथै, सबै प्रकारका अनियमितता तथा अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै नीतिगत तथा संस्थागत सुधारको प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयसम्बन्धी मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा छानबिन भइरहेको भन्दै अनुसन्धान पूरा भएपछि सत्यतथ्य बाहिर आउने मन्त्रालयले जनाएको छ । मन्त्रालयले छानबिन प्रक्रियामा आयोगलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
विश्वमै पहिलो पटक रोबोट फाइटिङ प्रतियोगिता हुँदै
एजेन्सी । विश्वको पहिलो रोबोट फाइटिंङ(कुस्ती) प्रतियोगिता चीनमा आयोजना गरिदैछ । पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउ शहरमा आइतबार सुरु हुँदैछ ।
प्रतियोगितामा अत्याधुनिक प्रविधिले सुसज्जित मानवजस्तै रोबोटहरू प्रतियोगितामा उत्रिनेछन् । चाइना मिडिया ग्रुप (सीएमजी) वल्र्ड रोबोट कन्टेस्टः मेक कम्ब्याट एरिना प्रतियोगिताको प्रत्यक्ष प्रशारण समेत गर्ने भएको छ ।
प्रतियोगिता हाङझाउको ओलम्पिक स्पोट्र्स सेन्टरमा आयोजना हुँदैछ। सहभागी ह्युमनोइड रोबोटहरूले सिधा मुक्का, हुक र साइड किक जस्ता फाइटिङ सीपहरू प्रदर्शन गर्नेछन् । त्यो भन्दापनि भुइँमा खसेपछि पनि छिटो उभिन सक्ने उनीहरुको क्षमतालाई विशेष चासो राखिएको छ ।
प्रतियोगितामा मुख्यतया दुई भागहरू हुनेछन–प्रदर्शनी खेलहरू र प्रतिस्पर्धात्मक खेलहरू। कार्यक्रमको पूर्वसन्ध्यामा, विकासकर्ताहरू र रोबोटहरू दुवैले हरेक दिन उच्च तीव्रताको सीप प्रशिक्षण लिइरहेका छन्।
सबै रोबोटहरूले घरेलु रूपमा विकसित मुख्य प्रविधिहरू अपनाउनुपर्नेछ । व्यावसायिक रेफ्री र टिप्पणीकारहरूका अतिरिक्त, सम्बन्धित क्षेत्रका विज्ञहरूलाई रोबोटहरूको हरेक चालको गहन विश्लेषण गर्न प्रतिस्पर्धा स्थलमा आमन्त्रित गरिएको छ ।
किरात राई यायोक्खा धरान १४ को अध्यक्षमा कौशिला राई चयन
धरान । राई समुदायहरूको छाता संस्था किरात राई यायोक्खा धरान वडा नँ. १४ को प्रथम अधिवेशन शुक्रवार सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनका लागि आयोजित अधिवेशनले अध्यक्षमा कौशिला राईको नेतृत्वमा जम्मा पन्ध्र सदस्यरहेको किराया धरान १४ वडा समिति चयन गरेको हो ।
एक वर्ष अगाडी वडा तदर्थ समितिको रूपमा गठन भएको सोही समितिलाई प्रथम अधिवेशन सम्पन्न गरी पूर्णता दिइएको, चयन भएका समितिका अध्यक्ष कौशिला राईले जानकारी गराए ।
उक्त अधिवेशनको उद्घाटन प्रमुख अतिथि किरात राई यायोक्खाका सुनसरी जिल्ला अध्यक्ष राजेन्द्र राईले गरेका थिए । त्यसैगरी किरात राई यायोक्खा धरान नगर समितिका अध्यक्ष लीला राईको पनि उपस्थिति थियो, लगायत शुभेच्छुकहरू राई जातिको आफ्नो मौलिक भेषभूषामा सजिएर अधिवेशन स्थलमा देख्न सकिथ्यो ।
रुस र युक्रेनबीच आक्रमण जारी, विस्फोटपछि धेरै स्थानमा आगलागी
एजेन्सी । रुसी सेनाले धेरै दिशामा कारबाही जारी राखेको बताएको छ । तर युक्रेनले धेरै रुसी आक्रमणहरूलाई विफल पारेको दाबी गरेको छ ।
आफ्नो दैनिक व्रिफिङमा रूसी रक्षा मन्त्रालयले रुसी सेनाले मे १७ देखि २३ सम्म सुमी, खार्किभ र डोनेट्स्कमा छ वटा बस्तीहरू नियन्त्रणमा लिएको जनाएको छ ।
रूसी सेनाले युक्रेनी ट्याङ्कहरू, बख्तरबंद सवारी साधनहरू, तोपखानाहरू, इलेक्ट्रोनिक युद्धका लागि आधार स्टेशनहरू र गोला बारुद डिपोहरू नष्ट गरेको दाबी पनि गरेको छ ।
रूसी वायु रक्षा प्रणालीले रकेट प्रोजेक्टाइल र युक्रेनी सेनाका एक हजार भन्दा बढी ड्रोनहरूलाई रोकेको मन्त्रालयले जनाएको छ।
सोही दिन, युक्रेनी पक्षले अग्रपंक्तिमा १४१ लडाईं भएको जनाएको छ । युक्रेनी हवाई, क्षेप्यास्त्र र तोपखाना बलले धेरै रूसी पक्षहरुलाई आक्रमण गरेको युक्रेनी सशस्त्र बलका जनरल स्टाफले जानकारी दिए ।
युक्रेनी सेनाले खार्किभ, लिमन, टोरेत्स्क, पोकरोभस्क र कुस्र्क जस्ता स्थानहरुमा रुसी आक्रमणहरूलाई विफल पारेको र रुसी ट्याङ्क, बख्तरबंद सवारी साधन, तोपखाना प्रणाली, ड्रोनहरु नष्ट गरेको दाबी गरेको छ ।
शनिबार बिहान युक्रेनको राजधानी किभमा रूसी क्षेप्यास्त्र र ड्रोनले आक्रमण गरेको थियो, शहरभरि विस्फोटको आवाज सुनिएको थियो। हवाई हमलामा कम्तिमा आठ जनाको मृत्यु भएको र विस्फोटका कारण शहरभरि धेरै ठाउँमा आगो लागेको बताइएको छ ।
युक्रेनी वायुसेनाले रुसले किभमा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको बताएको छ। युक्रेनी मिडियाहरुका अनुसार युक्रेनको आकाशमा ५० वटा आक्रमणकारी ड्रोनहरू पत्ता लागेको र जसमध्ये धेरैजसो किभतर्फ गइरहेका थिए।(सीसीटीभीप्लस)
जुम्लाको तिलामा अटो दुर्घटना हुँदा चालकको मृत्यु
मुगु । जुम्लाको तिला गाउँपालिका–४, भोटचौरमा शुक्रबार भएको अटो दुर्घटनामा चालकको मृत्यु भएको छ । क.१ ह.३१ नम्बरको अटो दुर्घटना हुँदा ४४ वर्षीय चालक रणबहादुर कुँवरको ज्यान गएको कुडारी प्रहरी चौकीका प्रहरी हवल्दार बैजु महत्तोले जानकारी दिए ।
प्रहरीका अनुसार तातोपानी गाउँपालिका–१ राँकाबाट तातोपानी–७ सर्मीगाउँतर्फ धान बोकेर जाँदै गरेको अटो सडकबाट करिब ६० मिटर तल खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक कुँवरलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
तर उपचारका क्रममा शनिबार बिहान ५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले पुष्टि गरेको छ । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिएका छन् । शुक्रवार जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत कास्की पुगेका प्रचण्डले आफू राजावादीहरूसँग मिल्ने योजनामा भएको भन्ने गलत अव्यिक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिएका हुन् ।
प्रेस सेन्टर गण्डकी प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘तपाईहरूले सुन्नुभयो प्रधानमन्त्री पोखरा नै आएका थिए, तीनैले प्रतिनिधि सभामा भनेका थिए, प्रतिगामीका विरुद्ध भव्य र सभ्य आयोजना गरेका भनेर बोल्दै थिए । म सुन्दै छु, राजावादीहरूसँग मिल्ने योजना हो प्रचण्ड जी को भनेर कही न कही बोले रे भन्ने सुन्छु । अहिले त धेरै भन्नु छैन, यदी त्यसो भनेको हो भने म प्रधानमन्त्री ज्यूलाई मानसिक अस्पतालमा जचाउन म सल्लाह दिन चाहन्छु ।’
उनले माओवादीले प्रतिगामीहरूको विरुद्ध गरेको प्रतिवादले अहिलेको सरकारलाई राहत पुगेको बताए ।
‘हामीले राजावादीहरूका विरुद्ध, प्रतिगामीहरूको विरुद्ध गरेको प्रतिवाद सायद अहिलेको भष्ट्रचारीहरूको सरकारलाई केही न केही राहत पुगेको हामीले महसुस गरेका छौ । उनीहरूप्रति बढ्दै गरेको आक्रोशलाई हामीले प्रतिगामीहरूको राजावादीहरूको, निरङकुसतावादीहरूको भन्डाफोर गरिदिदाँ सरकारले थोरै भएपनि राहत महसुस गर्यो,’उनले भने ।
उनले माओवादीको जनजागरण अभियानहरू राष्ट्रिय एकतालाई सुदृढ गर्ने अभियान बन्न पुगेको बताए ।
खुकुरी प्रहार गरी बुहारीको हत्या
रामेछाप । मन्थली नगरपालिका १२ गेलुका एक वृद्धले आफ्नै बुहारीको हत्या गरी प्रहरी समक्ष आत्मा समर्पण गरेका छन् ।
शुक्रबार अपराह्न ४ः३० बजे तिर ६१ वर्षीय मटक बहादुर बुढाथोकीले २८ वर्षीय बुहारी पवित्रा बुढाथोकीको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता कौशल न्यौपानेका अनुसार बुढाथोकीले बुहारीको हत्या पछि प्रहरी चौकी खिम्तिमा आत्मा समर्पण गरेका छन् ।
उनका श्रीमानले गत साउनमा आत्महत्या गरेपछि पवित्रा मन्थली नगरपालिका–११ गेलु स्थित माइतमा बस्दै आएकी थिइन् । उनको ९ वर्षको छोरो भने हजुरबा मटकबहादुरसँग बस्दै आएका थिए तर पवित्राले छोरा आफूसँग राख्न पाउनु पर्ने बताउँदै आएकी थिइन् ।
मटक बहादुरले नाति आफूसँग राख्न पाउनु पर्ने माग राखेर जिल्ला अदालत रामेछापमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालतले बच्चालाई आमासँग नै राख्न दिने गरी फैसला सुनाएको थियो । अदालतको आदेश अनुसार छोरो लिन ससुराको घरमा पुगेकी पवित्रा र ससुरा बिच झगडा भएको थियो । सोही क्रममा मटक बहादुरले बुहारी माथि खुकुरी प्रहार गरेका स्थानीयले बताएका छन् ।
छोराले आत्महत्या गर्नुको कारण बुहारी भएको आरोप मटक बहादुरको रहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ
सर्वोच्चद्धारा रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
सर्वोच्चले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत बुटबलले गरेको आदेश सदर गरिदिएपछि उनी थुनामुक्त नहुने भएका हुन् ।
न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार लामिछानेलाई उच्च अदालत बुटवल इजलासले थुनामा पठाउन गरेको आदेश नै सदर गरेको हो ।
त्यस्तै छविलाल बन्जाडेलाई पनि थुनामै राख्ने गरी मातहत अदालतको आदेश सर्वोच्चले सदर गरेको छ।
लामिछानेकी श्रीमती निकिता पौडेलले आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै यही वैशाख ७ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिएकी थिइन् ।

