यातायात व्यवसायीको आन्दोलनले कोशीमा जनजीवन प्रभावित
इटहरी । निजी प्रयोजनका सवारीसाधनलाई भाडाका गाडीसरह प्रयोग गर्न दिने गण्डकी प्रदेश सरकारको ‘राइड सेयरिङ’सम्बन्धी नियमावली खारेजीको मागसहित सोमबार बिहान देखि नै कोशी प्रदेशमा पनि सार्वजनिक सवारीसाधन ठप्प छन् ।
संयुक्त आन्दोलनको समर्थनमा धरान र इटहरी क्षेत्रमा बिहानैदेखि साना तथा ठुला कालो प्लेटका यात्रुवाहक गाडी सञ्चालनमा आएका छैनन् । केही ट्याम्पो र दुईपांग्रे सवारीहरू मात्रै सञ्चालनमा छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जानकारी दिए अनुसार कोशी प्रदेशका १४ ओटै जिल्लाहरूमा लामा तथा छोटा दुरीका सवारीका सार्वजनिक बस नचल्दा यात्रुहरू समेत समस्यामा परेका छन् ।
कोशी प्रदेश नेपाल यातायात व्यवसायी संयोजक सरोज श्रेष्ठले ‘राइड सेयरिङ’ नियमावलीप्रति पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले बाध्य भएर बन्द सुरु गरिएको बताए ।
यातायात बन्द : यात्रु सास्तीमा, व्यवसायी भन्छन्, ‘दमन र ज्यादतीविरुद्धको संघर्ष हो’
काठमाडौं । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभर सार्वजनिक सवारी साधन ग्यारेजमै थन्किएका छन् । अनिश्चितकालीन यातायात बन्दको घोषणा भएसँगै विशेष गरी काठमाडौं उपत्यकामा सार्वजनिक सवारी ठप्प हुँदा यात्रुहरू गन्तव्यमा पुग्न निकै सास्ती खेपिरहेका छन् ।
राजधानीका सडकहरूमा सार्वजनिक बस नचल्दा बिहानैदेखि स्कुल जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी र अस्पताल जाने बिरामीहरू प्रभावित भएका छन् । वैकल्पिक सवारी साधन कम हुँदा हिँडेरै यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ ।
यता, यातायात व्यवसायीहरूले भने सरकार र ट्राफिक प्रशासनद्वारा भइरहेको ‘दमन’ र ‘अत्याचार’विरुद्ध आन्दोलन गर्नुपरेको बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अन्तर्गत अरनिको बस इकाइ कमिटीका सदस्य राजन गिरी भन्छन्, ‘नेपाल सरकारले हामीलाई दमन गरिरहेको छ । ट्राफिक र प्रहरी प्रशासनले व्यवसायी तथा मजदुरमाथि ज्यादती गर्दै आएका छन् अहिले हामी एकजुट भएर सडकमा उत्रन बाध्य भएका हौं ।’
उनको भनाइमा सरकारले पठाओ लगायतका राइड सेयरिङ सेवामाथि नियन्त्रण गर्नुपर्ने माग पनि छ ।
त्यस्तै, यातायात व्यवसायी अर्जुन श्रेष्ठले आन्दोलन आफ्नो अस्तित्वको रक्षाका लागि भएको बताए । ‘हामी यातायात व्यवसायी भएनौं भने राज्य नै चल्दैन,’श्रेष्ठले भने, ‘सरकार र प्रहरी प्रशासनको दमनविरुद्ध हाम्रो यो आन्दोलन जारी रहनेछ । वार्ताले समाधान निकाल्दैन भने आन्दोलन थप चर्किन्छ ।’
हालसम्म सरकार र संघर्ष समितिबीच औपचारिक वार्ता भने सुरु भइसकेको छैन । यात्रुहरु भने तत्काल सेवा पुनः सञ्चालन गरियोस् भन्ने अपेक्षामा छन् ।
राजवादी समूहले घोषणा गरेको उपत्यका बन्द फिर्ता
काठमाडौं । संयुक्त जनआन्दोलन समितिले आह्वान गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिइएको छ । समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेता तथा कार्यकर्ता रिहा भइसकेको भन्दै बन्दको कार्यक्रम फिर्ता लिइएको बताए ।
आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेपछि समितिले बन्दको घोषणा गरेको थियो । यसअघि हिजो नारायण चौरमा आयोजित कार्यक्रमस्थलबाट प्रहरीले हस्तक्षेप गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा लगायत केही नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।
कमल थापालाई भेट्न काठमाडौं प्रहरी परिस पुगेका राप्रपाका सांसद तथा नेता दीपकबहादुर सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नेता तथा कार्यकर्ता पक्राउ परेपछि संयुक्त जनआन्दोलन समितिले आन्दोलनलाई थप चर्काउने र उपत्यका बन्द गर्ने घोषणा गरेको थियो ।
तर, पक्राउ परेका कुल आठ जनामध्ये कमल थापा र दीपकबहादुर सिंहसहित सात जनालाई भने अबेर साँझ रिहा गरिएको थियो । आफ्ना नेता तथा कार्यकर्ता रिहा भएपछि समितिले बन्दको कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो ।
देशका केही भूभागमा आज वर्षाको सम्भावना
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । कोसी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ ।
समाजवादी विद्यार्थी युनियनको प्रशिक्षण तथा केन्द्रीय बैठक धरानमा, शीर्ष नेताहरूको उपस्थिति रहने
धरान, जेठ १८ । जनता समाजवादी पार्टी (जसपा) को विद्यार्थी भातृ संगठन, समाजवादी विद्यार्थी युनियनले सुनसरीको धरानमा राष्ट्रिय स्तरको बृहत् प्रशिक्षण कार्यक्रम र केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक आयोजना गर्ने भएको छ।
युनियनका सचिव पनन राईका अनुसार, जेठ २० गते प्रशिक्षण कार्यक्रम र जेठ २१ गते केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक बस्ने निश्चित भएको बताए। दुवै कार्यक्रम धरान–८ स्थित हरियाली सामुदायिक वनको भवनमा आयोजना हुनेछन्। राईले यस कार्यक्रमले विद्यार्थी नेताहरूको क्षमतामा अभिवृद्धि र साङ्गठनिक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
प्रशिक्षण कार्यक्रममा युनियन मातहत समितिमा आबद्ध पदाधिकारी र सदस्यहरूलाई पाँच फरक–फरक विषयमा प्रशिक्षण दिइनेछ। यसका लागि पार्टीका राष्ट्रिय स्तरका शीर्ष नेताहरूले प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन्।
जसपा राष्ट्रिय परिषद् अध्यक्ष तथा पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, पार्टी केन्द्रीय अध्यक्ष, पूर्व मन्त्री तथा सांसद मा. अशोक राई, उपाध्यक्ष तथा सांसद मा. सुशीला श्रेष्ठ, राजनीतिक समिति सदस्य भीम राई, युनियनका केन्द्रीय अध्यक्ष प्रकाश चाम्लिङ प्रशिक्षक रहनेछन् ।
प्रशिक्षण समापन पश्चात्, जेठ २१ गते केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक बस्नेछ। यस बैठकमा युनियनका भावी रणनीति, संगठन विस्तार र कार्ययोजना बारे विस्तृत छलफल गरी महत्वपूर्ण निर्णयहरू लिइनेछ। यो भेलाले विद्यार्थी राजनीतिलाई थप सक्रिय र प्रभावकारी बनाउन मार्गप्रशस्त गर्ने विश्वास गरिएको छ।
सोमबार देखि यातायात ठप्प पार्ने व्यवसायीहरुको घोषणा
काठमाडौं । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको विरोधमा आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायीले सोमबार (भोलि) देखि यातायात सेवा ठप्प पार्ने भएका छन् ।
गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिने वैधानिक व्यवस्था मिलाएको भन्दै आन्दोलित व्यवसायीले सोमबार देखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।
आइतबार पोखरा र काठमाडौमा प्रदर्शन गरेका व्यवसायीहरुले थप कार्यक्रम अघि सारेका हुन् । आन्दोलनमा सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सक्रिय छन् ।
बरिष्ठ साहित्यकार रसिकको निधन, अन्तिम संस्कार सोमबार मात्र गरिने
काठमाडौं । बरिष्ठ साहित्यकार एवम गीतकार गणेश रसिकको निधन भएको छ । ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको उनी निकट संचारकर्मी राजकुमार दाहालले जानकारी दिए ।
७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए । रसिककी छोरी बेलायतबाट भोलि(सोमबार)नेपाल फर्किएपछि अन्तिम संस्कार गरिने भएको छ ।
अहिले उनको शव टिचिङ अस्पताल महाराजगन्जमा राखिएको छ । भोजपुर, छिनामखुमा २००४ सालमा जन्मेका रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए ।
जन्मथलो भोजपुर भएपनि कर्मथलो इलाम बनाएका उनका ‘क्षितिजलाई ‘छुन खोज्दा’ (कथा संग्रह २०२४), ‘एउटा सारंगी छुन खोज्दा’ (कथा संग्रह २०२७), ‘रसिकका गीतहरु’ (गीत संग्रह २०४५), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास २०४८), ‘जब सिस्नुहरु टेक्दै हिँडेँ’ (संस्मरण २०५५), ‘बिलाउँदै गएका गीत’ (कथा सङ्ग्रह) २०५८, ‘दशगजामा उभिएर हेर्दा’ (उपन्यास २०६३), ‘स्वाधिनताको पीडा’ (गीत सङ्ग्रह २०६८), ‘पेरुङ्गो संस्करण’ (पाँच कृति २०७३) लगायत कृतिहरु बजारमा छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । जुलुस लिएर बालुवाटार जाने क्रममा थापालाई पक्राउ गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।
राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा उनी आइतबार नक्सालको नाराणचौरबाट पक्राउ परेका हुन् । प्रहरी टोलीले उनलाई तान्दै भ्यानमा हालेको थियो । यस क्रममा थापाले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
७ बुँदे माग राख्दै सार्वजनिक यातायात बचाऊ संघर्ष समिति प्रदर्शनमा
काठमाडौं । सार्वजनिक यातायात बचाऊ संघर्ष समितिले आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेको छ । आज यातायात सम्बन्धि ७ बुँदे माग पुरा गराउनको लागि सरकार समक्ष दबाब सिर्जना गर्नका लागि विरोध प्रदर्शन गरेको हो ।
समितिले विदेशी एप्लिकेसन मार्फत निजी २ (दुई) तथा ४ (चार) पाङ्ग्रे सावारी साधनले गैरकानुनी रूपमा आफूखुशी भाडा तोकी यात्रुहरुलाई सेवा दिईरहेको कार्य तत्काल बन्द गर्न माग गरेको छ ।
प्रदर्शनमा सहभागी व्यवसायी सरोज सिटौलाले राजनीतिक पार्टीको एजेण्डा नभई नितान्त सार्वजनिक यातायात बचाएर गरि खान देउ भन्नको लागि यातायात व्यवसायीहरु सडकमा आएको बताए ।
उनले भने,‘नेपाली यात्रुवाहक सवारी साधन, मालवाहक सवारी साधन हाम्रो विस्थापित भईसक्यो । अब रातो प्लेटका कारण हामी पनि विस्थापित हुने समय भयो । हामी कुनै राजनीतिक एजेण्डा लिएर आएका हैनौँ । नितान्त सार्वजनिक यातायात बचाएर गरि खान देउ भन्नको लागि हो । लाखौँ यातायात व्यवसायी र स्वरोजगार साथिहरुलाई विस्थापित गर्ने ऐन आएको छ त्यो फिर्ता हुनुपर्छ ।’
साथै उनले पटक पटक सरकारसँग गरेका मागहरु र सर्वाेच्चको गरेको निणर्य कार्यन्वयन गर्नुपर्ने बताए ।
संघर्षका कार्यक्रमका मागहरु यस्ता छन्:
१.बागमती प्रदेश सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्न माग गर्दछौं ।
२.विदेशी एप्लिकेसन मार्फत निजी २ (दुई) तथा ४ (चार) पाङ्ग्रे सावारी साधनले गैरकानुनी रूपमा आफूखुशी भाडा तोकी यात्रुहरुलाई सेवा दिईरहेको कार्य तत्काल बन्द गर्न माग गर्दछौं ।
३.बागमती प्रदेश सरकारले मिटर जडित ट्याक्सीको सट्टा भर्नामा लगाएको सिण्डिकेट खारेज गरि संघीय सरकारले तयार पारेको मापदण्ड यथासिघ्र लागुगरी सट्टा भर्नाको समस्या समाधान गर्न माग गर्दछौं।
पोखरामा आज पनि ‘राइड सेयरिङ’ लाई मान्यता दिएको भन्दै विरोध
पोखरा । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानूनी मान्यता दिएको भन्दै व्यवसायीले आज पनि पोखरामा आन्दोलन गरेका छन् । यातायात व्यवसायीहरुले आइतबार बिहानैदेखी सडकमा सवारी साधन चल्न दिएका छैनन् । आन्दोलन कारण पोखरामा कम संख्यामा सवारी साधन गुडेका छन् ।
गण्डकीमा राइड सेयरिङ वा सेल्फ ड्राइभले कानूनी मान्यता पाएपछि त्यसको विरोधमा यातायात व्यवसायी उत्रेका हुन् । गत शुक्रबार देखि आन्दोलरत रहेका यातायात व्यवसायीहरुले माग पुरा नभए १९ गते देखि देशभर यातायात बन्द गर्ने बताउदै आएका छन् । पोखरामा बन्दको प्रभाव परेको देखिन्छ ।

