कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, छलफल आजबाट
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले सोमवार प्रदेश सभामा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माणलाई मूल लक्ष्य बनाएको स्पष्ट पारे ।
प्रदेश सरकारले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहको पारदर्शिता र प्रभावकारिता, र विधिको शासनलाई सुदृढ गर्ने विभिन्न रणनीतिहरू अघि सारेको छ । मुख्यमन्त्री ड्यासबोर्ड सुधार, गुनासो सुनुवाइ प्रणाली सशक्तीकरण, र कर्मचारी मनोबल अभिवृद्धिका कार्यक्रमहरू पनि प्राथमिकतामा छन् ।
प्रदेशभर सडक, पुल, झोलुङ्गे पुल, भवन, खानेपानी र सिँचाइ पूर्वाधार निर्माणमा तीव्रता दिइनेछ । प्रादेशिक सडक सञ्जाल गुरुयोजना र सौर्य/जलविद्युत् परियोजनामा लगानी बढाइने नीति कार्यक्रममा उल्लेख रहेको छ ।
रैथाने बालीको संरक्षण, उन्नत बीउ प्रवर्धन, जैविक खेतीमा जोड, पशुपन्छीका रोग नियन्त्रण, वनजन्य उद्योग प्रवर्धन, जडीबुटी व्यवसायीकरण र सहरी वन विकासलाई विशेष प्राथमिकता दिइएको छ ।
सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, नमुना विद्यालयका रूपमा धनकुटा आवासीय विद्यालय विकास, महिला र बालबालिकाको पोषण, स्वास्थ्य पहुँच तथा स्वास्थ्य विमामा जोड, हृदयरोग अस्पताल, आयुर्वेद अस्पताल र मोबाइल अस्पताल सेवा विस्तार गरिने उल्लेख गरिएको छ ।
उद्यमशीलताको प्रवर्धन, स्टार्टअप कार्यक्रम, एक निर्वाचन क्षेत्र एक विशेष उद्यम कार्यक्रम, र युवा लक्षित सूचना प्रविधि आधारित रोजगारी योजनाहरू अघि सारिएका छन् । साना तथा मझौला उद्यममा पहुँचका लागि बैङ्किङ सहजीकरण गरिनेछ ।
वातावरणीय प्रभाव मूल्याङ्कन, हरियाली विस्तार, चुरे संरक्षण, नदीजन्य पदार्थको व्यवस्थापन, र हरित ऊर्जा प्रवर्धन योजनाहरू समावेश छन् । कोशी पर्यटन वर्ष २०८२ मा पदमार्ग, धार्मिक स्थल, प्राकृतिक र ऐतिहासिक क्षेत्रहरूमा लगानी बढाइनेछ । कोशी र खुवालुङ क्षेत्रको विशेष विकास योजना अघि बढाइनेछ उल्लेख गरिएको छ ।
प्रदेश सरकारले यस कार्यक्रमलाई नागरिकको विश्वास जित्ने साधन बनाउने प्रतिबद्धता जनाएको छ । भने सङ्क्षिप्त प्रतिकृयाहरू जनाउँदै विपक्षीहरूले कार्यक्रम कर्मकाण्डी रूपमा प्रस्तुत भएको जनाएका छन् ।
सोमवार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि मंगलबारबाट सभामा छलफल सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण शुभारम्भ
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ गरेका छन् ।
सोमवार एक कार्यक्रमकाबिच मन्त्री यादवले सिंहदरबार भित्र मेलम्चीको शुद्ध, सुरक्षित खानेपानी वितरण कार्यको शुभारम्भ गरेका हुन् ।
आजबाट विधिवत् रुपमा शुभारम्भ गरिएको मेलम्चीको पानी अब यहाँका सबै मन्त्रालय एवं कार्यालयहरूमा वितरण गरिने मन्त्री यादवले बताए ।
उनले भने, ‘आजबाट सिंहदरबारमा विधिवतरुपमा मेलम्चीको पानी आएको छ । यसभन्दा पहिले भूमिगतको पानी सिंहदरबारमा आएको थियो । अब यहाँ मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी वितरण हुनेछ ।’
यसैगरी मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि अबदेखि सिंहदरबार क्षेत्रभित्र प्रयोग हुँदै आएको जार र बोतलको पानी विस्थापित गरिने बताए ।
उनले भने, ‘सिंहदरबारमा मेलम्ची खानेपानी वितरण कार्यको विधिवत् रूपमा शुभारम्भ गरेको छु । अब जार र बोतलको पानी विस्थापित हुन्छ ।’
सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालयहरू तथा कार्यालयहरूमा मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी र्पुयाउनका लागि पाइप लाइनको विस्तार गरिने समेत मन्त्री यादवले जानकारी दिए ।
उक्त कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलदेबी शाक्य बज्राचार्य, सहसचिव ई.मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठ, केयुकेएलका प्रमुख अशोक पौडेल लगायतको सहभागिता रहेको थियो ।
अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोष्टेट क्यान्सर
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको पत्ता लागेको छ । ८२ वर्षीय बाइडेनलाई गत हप्ता मूत्र सम्बन्धी लक्षणहरूका लागि डाक्टरले जाँच गरेपछि शुक्रबार क्यान्सर भएको पत्ता लागेको बीबीसीले जनाएको छ ।
बाइडेन र उनका परिवारले उपचारका विभिन्न विकल्पहरूमा विचार गरिरहेको समाचारमा बताइएको छ । पूर्वराष्ट्रपतिको कार्यालयले यो क्यान्सर हर्मोन–सेन्सिटिभ भएको बताएको छ ।
यो खबर प्रकाशित भएपछि दुवै राजनीतिक दलका नेताहरूले पूर्वराष्ट्रपतिलाई सान्त्वना दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक संजालमा पोष्ट गर्दै बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको खबरले आफू दुःखी भएको बताएका छन् । उनले भनेका छन्, ‘हामी उनको परिवारप्रति आफ्नो न्यानो माया र शुभकामना पठाउँछौँ । हामी जोको छिटो र सफल स्वास्थ्य लाभको कामना गर्छौं ।’
बाइडेनको उपराष्ट्रपति रहेकी कमला ह्यारिसले सामाजिक संजाल एक्समा पोष्ट गर्दै उनी र उनका पति डग एमहफ बाइडेन परिवारको साथ रहेको बताएकी छिन् ।
ह्यारिसले भनिन्, ‘जो एक योद्धा हुन् र मलाई थाहा छ कि उनले आफ्नो जीवन र नेतृत्वमा देखाएको त्यही बल, सहनशीलता र आशासँग यो चुनौतीलाई सामना गर्नेछन् ।’
बाइडेनलाई क्यान्सर भएको खबर पूर्वराष्ट्रपतिले आफ्नो स्वास्थ्य र उमेरको चिन्ताका कारण सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनबाट आफ्नो उमेदवारी फिर्ता लिन बाध्य भएको लगभग एक वर्ष पछि आएको हो । उनी अमेरिकी इतिहासमा सबैभन्दा अधिक उमेरमा राष्ट्रपति बनेका व्यक्ति हुन् ।
हमास र इजरायलबीच कतारमा वार्ता, मध्यस्थता गर्दै कतार र अमेरिका
एजेन्सी । हमास र इजरायलबीचको अप्रत्यक्ष वार्ता शनिबार कतारको राजधानी दोहामा पुनः सुरु भएको छ। हमासका वरिष्ठ अधिकारी महमूद मर्दावीका अनुसार गाजापट्टीमा युद्धविराम गर्न र बन्धक आदानप्रदान सम्झौतालाई अन्तिम रूप दिन कतारी र अमेरिकी मध्यस्थतामा वार्ता भइरहेको बताए।
यसैबीच, इजरायली रक्षामन्त्री इजरायल काट्जले शनिबार हमाससँग वार्ता पुनः सुरु भएको पुष्टि गरे । हमास वार्ताको टेबलमा फर्कनुले अहिलेसम्म गरेका अस्वीकारहरुलाई परिवर्तन गर्ने संकेत गरिएको छ ।
इजरायली सार्वजनिक रेडियो कानका अनुसार दोहामा छलफल भइरहेको हालको प्रस्तावमा डेढ देखि दुई महिनासम्मको युद्धविरामको बदलामा लगभग १० वा सोभन्दा बढी बन्धकहरू रिहाइ हुनुपर्ने मुद्दा समेटिएको छ ।
सम्झौता अनुसार इजरायलले लगभग २०० देखि २५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ। एक इजरायली अधिकारीले शनिबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सम्झौताको निष्कर्षलाई प्रवद्र्धन गर्न इजरायली वार्ता टोलीलाई सोही दिन अस्थायी रूपमा कतारमा बस्न निर्देशन दिएको बताए।
जनवरीमा, इजरायल र हमासले गाजा पट्टीमा युद्धविराम सम्झौतामा पुगेका थिए । तर दोस्रो चरणको युद्धविराम वार्ता अगाडि बढ्न सकेको थिएन् । अमेरिकी सरकारले प्रस्ताव गरेको युद्धविराम योजनालाई हमासले अस्वीकार गरेको थियो । त्यसपछि इजरायलले मार्च १८ देखि गाजा पट्टीमा ठूलो मात्रामा हवाई आक्रमण र स्थलगत कारबाही पुनः सुरु गरेको थियो। (सीसीटीभप्लस)
सागरनाथ वन क्षेत्र अतिक्रमण प्रकरणमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी गैरकानुनी रूपमा माछापोखरी निर्माण गरिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले रु. ५६ करोड ७१ लाखभन्दा बढीको बिगो दाबी गर्दै संलग्नहरूलाई कैद, जरिवाना र विगो असुलको माग गर्दै आरोपपत्र पेश गरेको हो ।
सार्वजनिक गरिएको प्रेस विज्ञप्तिअनुसार, सर्लाही जिल्लाको बागमती नगरपालिका वडा नं. ४ र १२ मा सागरनाथ वन विकास परियोजनाको मुर्तिया वन क्षेत्र अतिक्रमण गरी ढुंगा, गिट्टी, बालुवा तथा माटो जथाभावी उत्खनन गरिएको र त्यसपछि माछापोखरी निर्माणका नाममा संघीय तथा प्रदेश सरकारको करोडौँ रकम खर्च गरिएको उल्लेख गरिएको छ ।
अख्तियारको अनुसन्धानमा वन क्षेत्रभित्र संरचना निर्माण गर्दा आवश्यक कानूनी प्रक्रिया र वातावरणीय अध्ययनको पालना नगरी अनियमित रूपमा विकास आयोजना सञ्चालन गरिएको पाइएको छ । आयोगले यो कार्यले सरकारी सम्पत्तिलाई प्रत्यक्ष हानी पु¥याएको र भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दण्डनीय अपराध भएको ठहर गरेको छ ।
आरोपितहरु विजय कुमार, तत्कालीन मधेश प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रीलाई रु. २९ करोड ९९ लाख ८६ हजारको बिगो, भरत कुमार थापा, तत्कालीन नगरप्रमुख, बागमती नगरपालिका रु. ५६ करोड ७१ लाख ७ हजार, लीला कुमारी मुक्तान, तत्कालीन उपप्रमुख – सोही बिगो, बिमल कुमार पोखरेल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत – सोही बिगो , गोकुल भुजेल, तत्कालीन कानुन अधिकृत, मधेश प्रदेश – रु. २९ करोड ९९ लाख ८६ हजार, निरन्जन लामीछाने, तत्कालीन इन्जिनियर – रु. १० करोड १४ लाख ९५ हजार, सागर पौडेल, तत्कालीन इन्जिनियर – रु. ४६ करोड ५६ लाख १२ हजार र विश्वराज पोखरेल, तत्कालीन लेखा अधिकृत – रु. ५६ करोड ३ लाख ३४ हजार बिगो रकम देखाइएको छ ।
अख्तियारले सो परियोजनामा कुनै वातावरणीय अध्ययन, लागत योजना, वा कानूनी अनुमतिबिना कार्य सञ्चालन गरिएको, अनुदान रकमको दुरुपयोग गरिएको, र निर्माण कार्यमा बदनियत देखिएको निष्कर्ष निकाल्दै दोषीमाथि भ्रष्टाचार निवारण ऐनको दफा १७ तथा अन्य प्रावधानअनुसार कारबाहीको माग गरेको हो ।
आयोगले आरोपित सबैलाई कैद सजाय, बिगो बराबर जरिवाना, विगो असुल उपर गर्ने र सार्वजनिक पदमा रहेकाहरूमाथि थप कडा सजायको माग समेत गरेको छ ।
सगरमाथा संवाद आज समापनहुँदै
काठमाडौं । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’भन्नेमुख्यविषयमा सुरु भएको सगरमाथा संवादआज(आइतबार) समापनहुँदैछ । शुक्रबारदेखि सुरु भएको सुरु भएको सगरमाथा संवादआज समापनहुनलागेको हो ।
जलवायु न्यायकाकार्य तथावित्तीयचुनौतीविषयउच्चस्तरीय कार्यक्रमपछिआजकाठमाडांै घोषणापत्र जारी हुनेछ । समापन सत्र सम्पन्नभएपछि सगरमाथा संवादपनि औपचारिक रूपमा समापनहुनेछ ।
सगरमाथा संवादमा विभिन्न १२ विषयका समानान्तर सत्र सम्पन्नभइसकेका छन् । शुक्रबार भएको उद्घाटन समारोहमा प्रधानमन्त्री केपीशर्मा ओलीले विशेष सम्बोधन गरेका थिए ।
सम्मेलनमा विभिन्न देशका एक सय ७५ विदेशीपाहुना सहित तीन सय ५० जनाभन्दा धेरै विशिष्टव्यक्तित्वको सहभागिता छ ।
माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश
दैलेख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली आज सुदूरपश्चिमबाट कर्णाली प्रदेशमा पुगेको छ ।
मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको अभियान सुदूरपश्चिममा सकिएपछि कर्णाली प्रदेशमा प्रवेश गरेको हो ।
बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो । उक्त झण्डा सुदूरपश्चिम इञ्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टिमले कर्णाली इञ्चार्ज कालीबहादुर मल्ल नेतृत्वमा रहेको टिमलाई हस्तान्तरण गरेका छन् ।
कर्णाली प्रदेशका माओवादी नेताहरूले अध्यक्ष ‘प्रचण्ड’ सहितको टोलीलाई भव्य स्वागत गरेका छन् । अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेशप्रति धन्यवाद व्यक्त गर्दै राकम पुल हुँदै सुर्खेतबाट कर्णाली प्रदेशमा प्रवेश गरेका हुन् ।
आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भागका केही स्थानमा र बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेशलगायत कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । तराई भागका केही स्थानमा र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कांग्रेस र कम्युनिष्ट पार्टीहरु मिल्नुपर्ने अवस्था आयो : माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले विगतमा वामपन्थी र दक्षिणपन्थी विचार बोकेकाहरु मिलेर नै आन्दोलनहरु सफल भएको बताएका छन् ।
शनिबार ३२ औँ मदन—आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको परिस्थिति अनुरुप कांग्रेस र कम्युनिष्ट मिल्नुपर्ने बताएका हुन् ।
उनले भने,‘कमरेड पुष्पलालले भन्नुभएको थियो–जवसम्म यहाँ नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीले हातेमालो गदैनन्, निरङकुस राजतन्त्रलाई पञ्चायती तानाशाहीलाई पराजित गर्न सकिदैन । यो विचारलाई कांग्रेसका नेता बीपी कोइरालाले अस्विकार गरेका थिए । फलस्वरुप बीपी बाचँुन्जेलसम्म नेपाली कांग्रेसबाट एक्लै आन्दोलन सफल भएन । पछिल्लो ०६२/६३ वामपन्थी र दक्षिणपन्थी विचार बोकेर पनि देशको परिस्थितीमा निरङकुश राजतन्त्रको विरुद्धमा जुध्ने मानसिकताले दुईले हातेमालो गरे र राजतन्त्रको अन्त्य पनि भयो । यो वास्तविकतालाई सबैले महसुस गर्नुपर्छ । कितावको पाना पल्टाएर होइन देशको परिस्थिती अनुसार अगाडि बढ्नुपर्छ ।’
उनले जनताको विश्वास अनुरुप काम गर्नुपर्ने भन्दै सबै एकतावद्ध भएर काम गर्नुपर्ने बताए ।
कुनै पनी अपराध गरेको छैन, तर राज्य मेरो विरुद्ध लागेको छ : रवीन्द्र मिश्र
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राज्य विरुद्धको कसुर संगठित अपराध र अपराधिक उपद्रोह आफूबाट नभएको बताएका छन् । शुक्रबार सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएसँगै सञ्चारकर्मीहरुसंग कुरा गर्दै मिश्रले कुनै पनि अपराध नगरेको भए पनि राज्य आफू विरुद्ध लागेको बताएका हुन् ।
उनले भने, ‘राज्य विरुद्धको कसुर संगठित अपराध र अपराधिक उपद्रोह म बाट केही पनि भएको छैन मैले आज त्यति मात्रै टिप्पणी गरे । म हाजिरी जमानीमाछुटेको हुँ । त्यसमा म धेरै खुसी हुने पक्षमा छैन । किनभने राज्य म विरुद्ध लागेको छ भनेर सम्मानित अधिवक्ताहरुले पनि भनिसक्नु भएको छ ।’
साथै उनले चैत १५ गतेको घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले जति जनधनको क्षति भयो त्यसमा समेत दुख व्यक्त गरे ।
उनले भने, ‘सबैभन्दा पहिले चैत १५ गतेको घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । जति जनधनको क्षति भयो त्यसमा दुख व्यक्त गर्न चाहन्छु । ’
गत १५ चैतमा राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले हिंसा भड्काउन संलग्न रहेको भन्दै सोही दिन बेलुका पक्राउ गरेको थियो ।
राज्यविरुद्धको कसुरजन्य, संगठित अपराधजन्य र अपराधिक उपद्रवजन्य मुद्दामा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । त्यसयता प्रहरीले आठ पटकसम्म म्याद थप गरेर हिरासतमा राखेको थियो ।