‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले कांग्रेस र एमालेलाई दुई जना गभर्नर बनाउन व्यंग्यात्मक सुझाव दिएका छन् ।
उनले गभर्नर नियुक्तीमा दुई दलबीच लडाईं चलेको उल्लेख गर्दै दुईवटा गभर्नर बनाउन सुझाव दिएका हुन् ।
उनले भने,‘म गठबन्धन सरकारलाई जे गर्नुछ यो ३१ महिनाभित्र गरिभ्याउनुहोस् भन्छु । चल्या छ लडाईं, दुईवटा गभर्नर बनाउनुस् न, एउटा विचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने, अर्को काम पनि गर्नुहोस् । ३१ महिनामा कि त्यो छापिएको नोटमा हुन्छ नि आफ्ना चुनाव चिन्ह राख्नुहोस् ।’
साथै उनले अहिले नेपालमा दलीयकरणको अभ्यास भइरहेको बताए । उनले गभर्नर एउटा विचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने बनाउन आग्रह गरे ।
गाजामा इजरायली हवाई आक्रमण, ८० जनाको मृत्यु
काठमाडौं । इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा ८० जनाको मृत्यु भएको छ । गाजाको उत्तरपश्चिम जबालिया क्षेत्रमा गरिएको हमलामा ५० जनाको मृत्यु भएको इन्डोनेसियाली अस्पतालले बताएको छ । मृतकमध्ये २२ बालबालिका र १५ महिला परेका छन् । नजिकैको अल–अव्दा अस्पतालले थप नौजनाको शव प्राप्त गरेको छ । जसमध्ये ७ बालबालिका छन् ।
इजरायली सेनाले भने उत्तरी गाजामा हमास र प्यालेस्टिनी इस्लामिक जिहाद लडाकुहरूलाई आक्रमण गरेको दाबी गरेको छ । इजरायलतर्फ रकेट हमला भएपछि मंगलबारदेखि जबालिया र छिमेकी क्षेत्रका बासिन्दालाई क्षेत्र खाली गर्न आग्रह गरेको थियो ।
यसैबीच, संयुक्त राष्ट्रसंघका मानवीय सहयोग प्रमुख टोम फ्लेचरले गाजामा भइरहेको नरसंहार रोक्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्यहरूलाई तत्काल कदम चाल्न आह्वान गरेका छन् ।
नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ : मन्त्री राणा
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपाल हिमाली देश भएको हुनाले, नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको बताएकी छन् ।
बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यशाला दक्षिण एसियाका लागि जलवायु अनुकूलन र लचिलोपन परियोजना कार्यक्रममा उनले नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको भन्दै सगरमाथा संवादले विश्वका नीति निर्माता, पत्रकार र विभिन्न समाजलाई जलवायु परिवर्तको बारेमा छलफल गर्न एकै ठाँउमा ल्याउने बताएकी हुन् ।
उनले भनिन्, ‘नेपाल हिमाली देश भएको हुनाले, नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ । सगरमाथा संवादले विश्वका नीति निर्माता, पत्रकार र विभिन्न समाज सबैलाई जलवायु परिवर्तको बारेमा छलफल गर्न एकै ठाँउमा ल्याउने काम गर्छ । हामीले यो संवादमा विशेष गरेर हिमालहरुलाई प्राथमिकता दिने छौ ।’
यस्तै, उनले नेपाललाई बलियो पूर्वाधारको आवश्यकता भएको भन्दै अन्य देशका साझेदारहरूको साथ प्राकृतिक जलवायु स्थिर गर्न र जीविकोपार्जन सहज गर्ने तर्फ लागेको बताईन् ।
उनले भनिन्, ‘नेपाललाई बलियो पूर्वाधारको आवश्यकता छ । यसैले हामी अन्य देशका साझेदारहरूको साथ हाम्रो देशको सेवा गर्न चाहन्छौं । प्राकृतिक जलवायु स्थिरीकरणकर्ताको रूपमा, आर्थिक पुलको रूपमा विकास गर्दै, र जीविकोपार्जनमा पनि योगदान पु¥याउन चाहन्छौं ।’
विपद् जोखिम व्यवस्थापनमा धेरै चुनौतीहरुको सामना गर्नुपरेको भन्दै नेपाल विपद् जोखिम न्यूनिकरण, व्यवस्थापन, नीति निर्माण र प्रविधिको विकासको क्षेत्रमा गम्भिर भएर लागि रहेको पनि उनको भनाई छ ।
साथै, उनले नेपालमा बढ्दो तापक्रम, हिमनदीहरू पग्लने जस्ता कारणले गर्दा गम्भीर जलवायु–प्रेरित प्राकृतिक प्रकोपहरूको सामना गर्नु परेको भन्दै यसले ठूलो मात्रामा विनाश र क्षति र खडेरी निम्त्याएको पनि बताइन् ।
उनले भनिन्, ‘हालैका वर्षहरूमा, नेपालले बढ्दो तापक्रम, कारखानाहरूको अनियमित तापक्रम र हिमनदीहरू पग्लने जस्ता कारणले गर्दा गम्भीर जलवायु–प्रेरित प्राकृतिक प्रकोपहरूको सामना गर्नु परेको छ । बाढीका हिमनदी तालहरूले ठूलो मात्रामा विनाश र क्षति र खडेरी निम्त्याएको छ । पानीको अभाव र वन डढेलोले देशभरका मानिसहरूलाई अप्रत्याशित पीडा ल्याएको छ । दुःखको कुरा, विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनको तीव्र प्रभावहरू तिनीहरूलाई व्यवस्थापन गर्न लागत र स्रोतहरू भन्दा धेरै बढी छन् । त्यसैले आजको जस्तो कार्यशाला धेरै महत्त्वपूर्ण छ ।’
जनकपुरधामस्थित चरणपादुका पक्षालसर पोखरीमा एक पुरुषको शव फेला
जनकपुर । जनकपुरधामस्थित चरणपादुका पक्षालसर पोखरीमा एक पुरुषको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–६ मा रहेको उक्त सार्वजनिक पोखरीमा बुधबार विहान जनकपुरधाम वडा नं. ४ का अन्दाजी ४० वर्षीय रविन कर्णको शव फेला परको हो ।
उनी हिजो बेलुका करीब ५ बजे पोखरीमा डुबेर बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वार्टर धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक विकास थापाको नेतृत्वमा डिएम तालिम प्राप्त ३ जना र गोताखोर तालिम प्राप्त १ जना सहित ९ जनाको टोलीले हिजो उनको खोजीमा परिचालन गरिएको थियो ।
टोलीले हिजो दुई घण्टासम्म खोजी कार्य गरेपनि बेपक्ता कर्णलाई फेला पार्न सकेको थिएन । आज विहान मृतक कर्णको शव तैरिरहेको अवस्थामा पोखरीमा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बरामद भएको कर्णको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने घटनाको अनुसन्धान पनि सुरु भएको छ ।
भूमिसम्बन्धी विधेयक संसदमा पेस
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गरिएको छ ।
बुधबार बसेको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त विधेयक संसदमा प्रस्तुत गरेका हुन् ।
मन्त्री अधिकारीले विधेयक प्रस्तुत गर्दै विसं २०२१ देखि २०२८ सालसम्म नापी हुँदा विभिन्न कारणले नापजाँच नमिलेको वा नापीमा छुटेको स्थानमा अहिले बस्ती प्रसस्त बसेकाले बस्ती उठाउन नसकिने र राजश्व पनि नतिरेको अवस्थामा समस्या फुकाउन विधेयकमा आवश्यक व्यवस्था गरिएको जानकारी गराए ।
ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध
काठमाडौं । अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दोस्रो कार्यकालको पहिलो आधिकारिक विदेश भ्रमण अन्तर्गत मंगलबारदेखि साउदी अरेबियाको भ्रमणमा छन् ।
उक्त भ्रमणका क्रममा साउदी अरेबियाका राजधानी रियादमा बोल्दै ट्रम्पले सिरियाविरुद्ध लगाइएका सबै प्रतिबन्ध हटाउने घोषणा गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरबलाई अमेरिकाको सबैभन्दा बलियो साझेदार भन्दै भ्रमणको पहिलो दिन नै साउदी अरेयिबासँग १४२ अर्ब डलरको हतियार सम्झौता सार्वजनिक गरेका छन् ।
ट्रम्पले २०१७ मा आफ्नो पहिलो कार्यकालको सुरुआत पनि साउदी अरेबियाको भ्रमणबाट गरेका थिए ।
मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।
यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । केही भूभागमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षा भइरहेको छ ।
मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभाग लगायत पहाडी भूभागका धेरै स्थानमा अधिकतम तापक्रम बढेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
‘धुर्मुस सुन्तली’ ले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्ध क्रिकेट रंगशालाको काम गाह्रो छ भन्दा भन्दै पनि सुरु गरेको बताएका छन् ।
मंगलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको उद्घाटन गर्दै उनले रंगशाला सुरु गर्दा गाह्रो छ बाबुनानु नथाल भन्दाभन्दै ध्रुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरेको भन्दै धेरै दुःख पाएको बताए ।
उनले भने, ‘मैले गाह्रो छ बाबुनानु त्यहाँ नथाल भन्दाभन्दै ध्रुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरेर धेरै दुःख पाए । माया लाग्छ । तर त्यो क्रिकेट मैदान पनि बन्छ । उनीहरूको दुःखकष्ट पनि हट्छ एकदिन । मैले त यही दुःख पाइन्छ भनेर नगर भनेको हो । यति ठूलो काम आँट्या एक दुईवटा केही साना कामहरूमा साथी भाईहरू धेरै नै हौसिन्छन् । हामी छौ भन्छन् । चन्दा उठाएर नै बनाइन्छ भन्छन् तर सहयोग नगर्न सक्छन् ।’
भारतमा केही उडान अझै रद्द, यात्रुहरूलाई ट्राभल एड्भाइजरीमा सतर्क रहन आग्रह
काठमाडौं । एयर इन्डियाले मङ्गलबारका लागि केही उडानहरू रद्द गरेको छ । भारत र पाकिस्तानबीच हालै भएको चार दिनको सैन्य झडपपछि १० मेमा युद्धविरामको सहमति भएको थियो । तर त्यसपछि पनि सीमावर्ती क्षेत्रमा तनाव कायम रहेकाले भारतका केही प्रमुख एयरलाइन्सहरूले सावधानी अपनाउँदै उडान रद्द गरेका छन् ।
भारतको निजी विमान सेवा प्रदायक एयर इन्डिया र इन्डिगोले मङ्गलबार सीमावर्ती क्षेत्रका केही विमानस्थलहरूबाट हुने उडानहरू रद्द गरेको जानकारी दिएका छन् ।
एयर इन्डियाले आफ्नो एक्स (पूर्व ट्विटर) खातामा लेखेको छ, ‘हालको घटनाक्रम र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै १३ मे मङ्गलबार जम्मु, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ़ र राजकोटबाट हुने सबै उडानहरू रद्द गरिएको जानकारी गराउँछौं ’
इन्डिगोले पनि जम्मु, अमृतसर, चण्डीगढ़, लेह, श्रीनगर र राजकोटबाट हुने उडानहरू मङ्गलबारका लागि रद्द गरिएको जनाएको छ ।
दुवै एयरलाइन्सहरूले यात्रुहरूलाई अधै हुने परिवर्तन वा जानकारीका लागि आफ्ना वेबसाइटहरू वा ग्राहक सेवा केन्द्रमार्फत सम्पर्क गर्न अनुरोध गरेका छन् ।
यसबीच, भारतीय सेनाले सोमबार जम्मु कश्मीरको साम्बा क्षेत्रमा संदिग्ध ड्रोन देखिएको दाबी गरेको छ, जसले अझै पनि सुरक्षा अवस्था संवेदनशील रहेको संकेत गर्दछ ।
यात्रुहरूलाई ट्राभल एड्भाइजरीको पालना गर्दै आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ ।
आठ घण्टादेखि बीपी राजमार्ग अवरुद्ध
काठमाडौं । वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मंगलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन । प्रहरी टोली तथा स्थानीयको पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।
गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो ।